आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत हुँदै, हेर्नुहाेस् लाइभ
आर्थिक वर्ष २०७६/०७७ को बजेट हेर्न यसमा क्लिक गर्नुहोस् ।
संसदमा बजेट पेश, अर्थमन्त्री डा. युवराज खतिवडा प्रस्तुत गर्दै
काठमाडौँ । सरकारले संघीय संसदमा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा अहिले बजेट प्रस्तुत गरिरहेका छन् । यसकाे प्रत्यक्ष प्रसारण विकासन्युज डटकममा भइरहेकाे छ ।
मन्त्रिपरिषद्ले अनुमोदन गर्यो बजेट, अर्थमन्त्री संसद जाँदै
काठमाडौं । मन्त्रिपरिषद्ले बजेटसम्बन्धी तीन विधेयकहरु अनुमोदन गरको छ । केही समय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले आर्थिक वर्ष २०७६/७७ को बजेटसँग सम्बन्धित तीन विधेयकहरु विनियोजन विधेयक, राजश्व परिचालन विधेयक र राष्ट्रऋण उठाउने विधेयक अनुमोदन गरेको हो । अनुमोदन भएका विधेयकसहित बजेट बक्तव्य बोकेर अर्थमन्त्री युवराज खतिवडा संसद जाने तयारी गरेका छन् । उनले आज अपराह्न ४ बजे संघीय संसदमा बजेट वक्तव्य प्रस्तुत गर्नेछन् भने सोलगत्तै बस्ने प्रतिनिधिसभा बैठकमा ती विधेयकहरु पेश गर्नेछन् । त्यसका लागि प्रतिनिधिसभाको अर्को बैठक साँझ ६ बजे बोलाएको छ । मन्त्रिपरिषद् बैठकअघि राष्ट्रिय याेजना आयाेगमा बजेटबारे आयाेग र अर्थका अधिकारीहरुबीच छलफल भएकाे थियाे ।
टेलिकमले पुरानो बक्यौतामा लाग्ने जरिवानामा छुट दिने, ‘ग्राहकको माग सम्बोधन’
काठमाडौँ । नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ । २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिएको टेलिकमले जनाएको छ । दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई पुरानो बक्यौता बुझाउन सकिने छ । पुरानो बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुको मागलाई मध्यनजर गरी कम्पनीले उक्त छुटको व्यवस्था गरेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जनाएका छन् ।
कलंकी-कोटेश्वर सडक विस्तारपछि सर्बसाधारणकाे अनुभव, सुविधासँगै सास्तीपनि थपिए
काठमाडौँ । केहीवर्ष अघिसम्म अस्तव्यस्त रहेको कलंकी-कोटेश्वर सडक अहिले आठ लेनको बनेको छ । सडक हेर्दा सुन्दर देखिन्छ । तर, व्यवस्थापन राम्ररी हुन नसक्दा पैदलयात्रु र सवारी चालकहरुले सास्ती खेप्दै आएका छन् । चीन सरकारको सहयोगमा ५ वर्षमा निर्माण सम्पन्न भएको सो सडक २०७५ साल माघ १४ गते नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । चीन सरकारले कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक बिस्तार र निर्माणमा सहयोग गरेको थियो । चीनले २७ किलोमिटर लामो चक्रपथको सडक खण्डमध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड सरकारलाई हस्तान्तरण गरेको हो । आठ लेनको कोटेश्वर–कलंकी सडक तीन भागमा बाँडिएको छ । बीचमा चार लेनको एक्सप्रेस वे छ । जहाँ ५० किमि प्रतिघन्टाको गतिमा सवारी चल्छन् । दायाँ–बायाँ दुई–दुई लेनका सहायक सडक छन्, जसमा २० किमि प्रतिघन्टाको गतिमा सवारी चल्छन् । त्यसपछि दुवैतर्फ सर्भिस लेन पनि रहेको छ । ट्राफिक जाम कम कलंकी-कोटेश्वर सडक निर्माणसँगै ट्राफिक जाम कम भएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले सडक विस्तारपछि ट्राफिक व्यवस्थापन सहज भएको र जाम कमी भएको बताए । दुई वर्षदेखि चक्रपथमा सवारी गुडाईरहेका चालक हरि विष्ट भन्छन्–‘सडक निर्माणपछि जाम कम भएको छ भने यात्रा अवधि पनि छोटो भएको छ ।’ तर साे सडकमा पर्याप्त मात्रामा जेब्राक्रसिङ नहुँदा सर्वसाधारणहरुले सास्ती खेप्दै आएका छन् । कोटेश्वर चोक नजिकको जेब्राक्रसिङबाट बाटो काट्ने क्रममा भेटिएका रामेछापका घनश्याम गुरुङले ‘पैदल यात्रुका लागि ठाँउ ठाँउमा जेब्राक्रसिङ र आकाश पुल नहुँदा कठिनाई भोग्नु परिरहेको बताए । कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना र बल्खुमा मात्र जेब्रा क्रसिङ राखिएको छ । त्यस्तै, कोटेश्वर, बिएन्डबी अस्पताल अगाडि र बागडोलमा आकाशे पुल बनाइएको छ । १०.३९ किलोमिटर सडकमा यो पर्याप्त होइन । बालकुमारी क्षेत्रका पैदल यात्रुले सडक पार गर्न कि बीच बाटोमै जोखिम मोलेर दौडिनुपर्छ कि कोटेश्वर वा ग्वार्को पुग्नुपर्छ । यो समस्या पैदल यात्रुको मात्र होइन । सवारी हाँक्नेले पनि बालकुमारीबाट रिङरोड निस्केर विपरीत लेन छिर्न लगभग आधा किलोमिटर पर कोटेश्वर, ग्वार्को वा सातदोबाटो पुग्नुपर्छ । यति फराकिलो सडकका कुनै पनि चोकमा ट्राफिक बत्ती जडान गरिएको छैन । यो सडकमा पर्याप्त मात्रामा बस बिसौनी बनाइएको छैन । कोटेश्वरबाट कलंकी जाँदा कोटेश्वर, ग्वार्को, बिएन्डबी अगाडि, चापागाउँ दोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना र बल्खुमा मात्र बस बिसौनी बनाइएको छ । त्यस्तै, कलंकीबाट कोटेश्वर आउँदा बल्खु, कुसुन्ती, महालक्ष्मीस्थान, सातदोबाटो, बिएन्डबीअगाडि, ग्वार्को, बालकुमारी र कोटेश्वरमा मात्र बस बिसौनी छ । कलंकीमा पनि बस बिसौनी बनाइएको छैन । सवारी क्रस गर्ने ९ स्थान कलंकी–कोटेश्वरको अत्याधुनिक सडकमा सवारी क्रस गर्ने जम्मा ९ वटा स्थान छन् । कोटेश्वरबाट गुडेकाे गाडी ९ सय ७० मिटर कटेपछि बालकुमारी पुलबाट क्रस गर्न मिल्छ । त्यसपछि १ हजार २ सय ४ मिटर दुरीमा ग्वार्कोमा क्रस गर्न पाइन्छ । त्यसपछि १ हजार १ सय ४९ मिटर गुडेकाे सातदोबाटोमा मात्र क्रस गर्न मिल्छ । त्यहाँबाट २ सय ४० मिटरमै पर्ने चापागाउँ दोबाटोमा क्रस गर्ने ठाउँ बनाइएको छ । चापागाउँ दोबाटोबाट ५ सय ७४ मिटर दुरीमा महालक्ष्मीस्थानमा बाटो क्रस गर्न पाइन्छ । त्यसपछि १ हजार १ सय ६० मिटरपछि एकान्तकुना र २ हजार १ सय ९१ मिटरपछि सानेपामा क्रस गर्न पाइन्छ । त्यसपछि ३ सय २९ मिटर अगाडि गएपछि बल्खु र २ हजार ३६ मिटर अगाडि गएपछि कलंकीबाट मात्र क्रस गर्न पाइन्छ । कोटेश्वर, बिएन्डबी र बागडोलमा राखिएका आकाशे पुल बनेको छ तर प्रयोग गर्ने त्यतिधेरै देखिदैनन् । यी पुल मान्छेको बढी भीड हुने ठाउँ र चोकबाट धेरै टाढा देखिन्छ । बस्ती, चाेक र दुरी सन्तुलन मिलाइ जेब्राक्रस, पुल, बस स्टेशन मिलाएकाे भए सर्बसाधारणलाइ यात्रा गर्दा थप सहज हुने थियाे ।
मकवानपुरमा लिफ्ट सहितको १७ तल्ले भ्यूटावर बन्दै, बैशाखदेखि सञ्चालन हुने
काठमाडौं । मकवानपुर जिल्लामा लिफ्ट सहितको १७ तल्ले भ्यू टावर बन्ने भएको छ । हेटौँडाका व्यवसायी राजाराम बोगटीले उक्त भ्यू टावर बनाउन लागेका हुन् । मकवानपुरको गढी गाउँपालिकाको वडा नम्बर ४ को मनकामनाको मन्दिरसँगै ‘स्काइ टच’ भ्यूटावर बन्न लागेको हो । यो भ्यूटावर १५ करोड रुपैयाँको लागतमा बनाउन लागिएको व्यवसायी बोगटीले बताए । भ्यूटावर २०७७ साल बैशाखदेखि सञ्चालन हुने गरी निर्माण कार्य शुरु गरिएको छ। भ्यूटावर फलामको बन्ने भएकाले बैशाखमा नै सञ्चालन हुने उनले बताए । स्काइ भ्यूटावर ५० मिटर अग्लो बन्ने छ । लिफ्टमा एक पटकमा ६ जनाले भ्यूटावर चढ्न सक्नेछन् । टावर माथिबाट ३० जनासम्मले हेटौँडा बजार लगाएतका ठाउँमा अबलोकन गर्न सक्ने छन् । लगानीकर्ता बोगटीले नेपालमा नै पहिलो पटक लिफ्ट सहितको १५ तल्ले स्काई भ्यूटावर निर्माण कार्य सुरु भएको बताए । टावर निर्माणपछि गढी गाउँपालिकामा पर्यटकहरुलाई आकर्षण गर्नेछ । भ्यूटावर सँगसँगै सो क्षेत्रमा होटल र लजपनि निर्माण गर्ने बोगटीले बताए । गढी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिनाले निर्माण हुन लागेको भ्यूटावरले पर्यटक आकर्षण गर्ने बताए । अहिले मनकामना मन्दिर अवलोकनका लागि प्रति महिना १५ सयदेखि २ हजारको हजारको हाराहारीमा पर्यटक आउने गरेको छन्, भ्यूटावर सञ्चालनमा आएपछि पर्यटक आगमनमा वृद्धि हुनेछ-उनले बताए ।
बाह्रौ गणतन्त्र दिवस तश्विरमा यस्तो देखियो(फोटो फिचर)
काठमाडौँ । जेठ १५ गते १२ औं गणतन्त्र दिवस संघीय राजधानी काठमाडौं सहित देशका विभिन्न स्थानमा प्रभातफेरि, अन्तरक्रिया, खेलकुद जस्ता कार्यक्रम गरी मनाइदै छ । केही तश्विरमा हेरौँ गणतन्त्र दिवसको झलक: तश्विरः रासस
सेञ्चुरी बैंक र मेटलाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मंगलबार बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका उपाध्यक्ष एवम् महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।