विकासन्युज

नुवाकोट गोल्डकप जारी, आइतबार पुलिस र सशस्त्र भिड्दै

विदुर । नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लवमाथि संकटा क्लबले जित हासिल गरेकोछ । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा शनिवार सम्पन्न खेलमा आर्मीमाथि २ गोल हानी २–० गोलको जित निकाल्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा पाएको मौकाको सदुपयोग गर्न नसक्दा आर्मी पहिलो खेलबाटै बाहिरिनु परेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलमा आर्मीले आफ्नो दवाब कायम गरेपनि गोल गर्न भने सकेन । संकटाको लागि जर्सी नं १९ का लक्ष्मण रुचालले खेलको मध्यान्तर पछि गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि लगातार संकटाको पोष्टमा आक्रमण गरेको आर्मीको प्रयास असफल भएको थियो । थप समयको तेस्रो मिनेटमा संकटाको लागि पुन रुचालले गोल गर्दै संकटाको जित निश्चित पारे । खेलमा २ गोल गरेका रुचाल नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार र ट्रफी हात पारे । सेमिफाईनल प्रवेश गरेको संकटाले फाईनल प्रवेशको लागि मनाङ र च्यासल क्लबबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिता अन्तरगत आइतबार दुई विभागिय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ । जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ ।

बाँकेमा सङ्घीय सरकारले विनियोजन गर्यो तीन अर्ब बजेट

काठमाडौं । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा बाँकेका आठ स्थानीय तहका लागि दुई अर्ब ९० करोड ११ लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब ३२ करोड २३ लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ एक अर्ब ५७ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको हो । सङ्घीय सरकारले बाँकेका स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट नेपालगञ्ज उपमहानगरपालिकालाई विनियोजन गरेको छ । उक्त उपमहानगरपालिकाले ६९ करोड ५६ लाख रुपैयाँ सङ्घीय सरकारबाट पाउने छ । जसमध्ये वित्तीय समानीकरणतर्फ ३१ करोड ४८ लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ ३८ करोड आठ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, कोहलपुर उपमहानगरपालिकाका लागि सरकारले आगामी आवका लागि ४१ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कोहलपुरले वित्तीय समानीकरणतर्फ १९ करोड १५ लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ २२ करोड २२ लाख रुपैयाँ प्राप्त गर्नेछ । बाँकेमा रहेको उपमहानगरपालिका र नगरपालिकाका लागि गरिएको बजेट विनियोजन गाउँपालिकाको भन्दा बढी छ । गाउँपालिकामध्ये खजुरा गाउँपालिकाका लागि सरकारले सबैभन्दा बढी रकम विनियोजन गरेको छ । खजुरा गाउँपालिकाले आगामी आवमा ३८ करोड ८२ लाख रुपैयाँ सङ्घीय सरकारबाट प्राप्त गर्नेछ । जसमा वित्तीय समानीकरणतर्फ १५ करोड तीन लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ रु २३ करोड ७९ लाख रहेको छ । गाउँपालिकामा खजुरा गाउँपालिकापछि राप्ती सोनारी गाउँपालिकाको बजेट रहेको छ । राप्ती सोनारी गाउँपालिकाले खजुरा गाउँपालिकाकै हाराहारीमा कूल ३७ करोड २४ लाख रुपैयाँ सङ्घीय सरकारबाट प्राप्त गर्दैछ । सो गाउँपालिकाले वित्तीय समानीकरणतर्फ १६ करोड २४ लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ २१ करोड रुपैयाँ प्राप्त गर्दैछ । राप्ती सोनारीले वित्तीय समानीकरणतर्फ बाँकेका गाउँपालिकामा सबैभन्दा बढी बजेट प्राप्त गरेको हो । यसरी विकासमा पछि परेको भनिएको राप्ती पारीको नरैनापुर गाउँपालिकाले बाँकेमा सबैभन्दा कम बजेट सङ्घीय सरकारबाट प्राप्त गरेको छ । नरैनापुरले २२ करोड ६८ लाख रुपैयाँ आगामी वर्षका लागि पाउने भएको हो । जसमा वित्तीय समानीकरणतर्फ १० करोड ९६ लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ ११ करोड ७२ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । त्यस्तै, जानकी गाउँपालिकाको लागि पनि सङ्घीय सरकारले नरैनापुरकै हाराहारीमा बजेट विनियोजन गरेको छ । सो गाउँपालिकाले आगामी आवमा सङ्घीय सरकारबाट २२ करोड ७८ लाख रुपैयाँ प्राप्त गर्नेछ । वित्तीय समानीकरणतर्फ १२ करोड आठ लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ १० करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ । डुडुव गाउँपालिकामा आगामी आवका लागि सरकारबाट २३ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरणतर्फ ११ करोड ७५ लाख रुपैयाँ र सःशर्त अनुदानमा ११ करोड ९९ लाख रुपैयाँ रहेको छ ।त्यसैगरी, बैजनाथ गाउँपालिकाका लागि ३२ करोड ९२ लाख रूपैयाँ  विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरणतर्फ १५ करोड ५४ लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ १८ करोड ३८ लाख रुपैयाँ रहेको छ । बाँकेका स्थानीय तहले बजेट बनाउँदैछन् । सङ्घ र प्रदेशबाट छुट्याइएको बजेट र आन्तरिक स्रोतको मूल्याङ्कन गरी बजेट बनाइरहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिदैं भने, “असार १० गतेभित्र उपमहानगरपालिकाको बजेट ल्याउने तयारी गरिएको छ” । अन्त्यमा, बाँकेका अन्य स्थानीय तह पनि बजेट बनाउने र चालू आवको अन्तिम महिना शुरु हुन लागेका बाँकी विकास निर्माणको कामहरु सक्ने गरी व्यस्त भएका छन् । सरकारले प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकाङ्क, पूर्वाधार, खर्चको आवश्यकता, राजश्व क्षमता तथा ती तहमा रहेका आर्थिक सामाजिक तथा अन्य विभेदका आधारमा उक्त अनुदान दिने व्यवस्था बजेटमा गरिएको हो । रासस

तीन दिनदेखि दैलेखमा विद्युत् आपूर्ति बन्द, जनजीवन कष्टकर बन्दै

काठमाडौं । दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीसँगै पोल ढलेका कारण शुक्रबारदेखि विद्युत आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ । सुर्खेतको गरगरेमा छ वटा बिजुलीका पोल ढलेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेख प्रमुख धीरेन्द्र बजगाईंले बताएका छन् । उनले ढलेको पोल बनाइसकेको , रातानाङलासम्म विद्युत सेवा आपूर्ति भएको र दैलेख तर्फको विद्युत लाइन मर्मत गरिरहेको उल्लेख गरे । विद्युत आपूर्ति नहुँदा सरकारी कार्यालयको कामसमेत प्रभावित भएका छन् । दैलेखका दुई वटै सामुदायिक रेडियो र स्थानीय पत्रपत्रिकाहरु बन्द भएका छन भने व्यवसायसमेत ठप्प छन् । विद्युत् आपूर्ति नहुँदा यहाँका सरकारी कार्यालयले सेवाग्राहीलाई सहज सेवा दिन सकेका छैनन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले विद्युत् सेवा नियमित गर्न बेवास्था गरेको स्थानीयवासीको गुनासो छ । त्यसैगरी, दैलेखका आम नागरिक अघोषितरूपमा हुने लोडसेडिङको मारमा परेका छन् । अघोषित लोडसेडिङले आम उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको छ । आधिकारिक रूपमा लोडसेडिङ नगरे पनि अघोषित लोडसेडिङ घण्टैपिच्छे हुने गरेको छ । उक्त घण्टैपिच्छे हुने अघोषित लोडसेडिङले आम उपभोक्ता ग्रसित छन् । यसरी झ्याप्प–झ्याप्प जाने विद्युत् सेवाले आम उपभोक्तामा मात्रै होइन, अत्यावश्यक सेवा क्षेत्र अस्पताल, यातायात, सञ्चारलगायतका क्षेत्रहरु समेत प्रभावित बनेका छन् । रासस

२४ अर्ब रुपैयाँ बराबरकाे धितोपत्र प्रक्रियामा, २०७६ भित्र थप १५ अर्बको बोनस र साधारण सेयर आउँदै

काठमाडौं । धितोपत्र बजारमा कूल २४ अर्ब १९ करोड १३ लाख रुपैयाँ थपिँदै छ । बजारमा साधारण सेयर(आईपीओ), हकप्रद, ऋणपत्र र म्युचअल फण्ड मार्फत सो मात्राको रकम थपिने भएको हो । पाइपलाईनमा बाहेक कम्तिमा १५ अर्ब रुपैयाँ बराबरको बोनस सेयर र साधारण सेयर पनि २०७६ सालमा थपिने छ । हालसम्म ३१ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिई सो मात्राको रकम बजारमा ल्याउने प्रकृया अघि बढाएका हुन् । जसमा १३ कम्पनीले आईपीओ, ९ कम्पनीले हकप्रद, ४ कम्पनीले ऋणपत्र र ५ कम्पनीले म्युचअल फण्ड गरी कूल ३१ वटा कम्पनीको सो मात्राको रकम बजारमा आउने क्रममा रहेको हो । जसमध्ये सबैभन्दा बढी रकम ऋणपत्र मार्फत धितोपत्र बजारमा भित्रिने भएको छ । हालसम्मको डाटा हेर्दा विभिन्न चार वटा कम्पनीले ११ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बोर्डसँग अनुमति मागेका छन् । त्यसपछि म्युचअल फण्ड मार्फत ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको रकम बजारमा भित्रिने छ । ५ कम्पनीले प्रति इकाई १० रुपैयाको दरले सो मात्राको फण्ड जारी गर्न बोर्डमा आवेदन दिएका छन् । त्यस्तै, बजारमा भित्रिन लागेको कूल रकम मध्ये ४ अर्ब ८७ करोड ३२ लाख ६७ हजार रुपैयाँ हकप्रद मार्फत बजारमा आउने भएको छ । बोर्डको अनुमतिको पर्खाइमा रहेका ९ वटा कम्पनीले अनुमति पाएपश्चात ४ करोड ८७ लाख कित्ता हकप्रद सेयर बजारमा निष्काशन गर्ने छन् । त्यसैगरी, आईपीओ मार्फत कूल २ अर्ब ६ करोड ८० लाख ३६ हजार रुपैयाँ बजारमा भित्रिने छ । जुन माथि उल्लेखित धितोपत्र किसिमहरुको तुलनामा सबैभन्दा कम हो । बजारमा कूल १३ वटा कम्पनीले सो मात्रा अर्थात २ करोड ६ लाख ८० हजार कित्ता साधारण सेयर बजारमा बिक्री गर्ने तयारीमा छन् । जसमध्ये अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन् भने अन्य वित्तीय संस्थाहरु रहेको छन् । सबैभन्दा बढी अपी पावरले २ अर्ब रुपैयाँ बढीको सेयर बिक्री गर्ने छ । नियामक निकाय बोर्डको अनुमतिको पर्खाइमा रहेका यी ३१ वटै कम्पनीले बोर्डको अनुमति पाए पश्चात बजारमा सो मात्राको रकम भित्र्याउने छन् । यी बाहेक अधिकांश बीमा कम्पनीहरुले गत वर्षको नाफाबाट बोनस सेयर वितरण गर्दैछन् । त्यस्तै, यसै आर्थिक वर्षभित्रमा १० वटा जीवन बीमा कम्पनीहरुको र केही उत्पादन मुलक कम्पनीहरुको साधारण सेयर आउँदैछ । १०७६ सालभित्र अतिरिक्त १५ अर्बभन्दा बढीको बोनस सेयर र साधारण सेयर थपिन सक्ने देखिएको छ ।

नाडा अटो शो भदौ १० देखि १५ गतेसम्म हुने, सोमबारदेखि स्टल बुकिङ खुला

काठमाडौँ । नाडा अटोमोवाईल्स एशोसिएशनको आयोजननामा यसवर्षको नाडा अटो शो भदौ १० गतेदेखि १५ गतेसम्म हुने भएको छ । नाडाले प्रत्येक वर्ष अटो शो गर्दै आएको छ । यसवर्षपनि भृकुटी मण्डपमा अटो शो गरिने नाडाले जनाएको छ । शोमा अटोमोबाइल्सका नयाँ मोडल तथा नयाँ प्रविधिहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा डिलर, उत्पादक, विक्रेता र उपभोक्ताको जमघटको अवसरका रुपमा रहनेछ । उक्त शो मा स्टल राख्न इच्छुक कम्पनीहरुले यही जेठ २७ गतेदेखि ३० गतेसम्म स्टल बुकिङ खुला गरेको जनाएको छ ।

अमेरिकी प्रतिबन्धपछि ‘फरक ढङ्गले’ तेल बेचिरहेको इरानको दावी

तेहरान । अमेरिकी प्रतिबन्धपछि पनि इरानले आफ्नो तेल उत्पादनलाई निर्यात गरिरहेको बताएको छ । “अमेरिकी प्रतिबन्धका कारण इरानको पेट्रोलियम पदार्थ खरिदमा विभिन्न मुलुक डराएपछि इरानले आफ्नो उत्पादनलाई ‘फरक ढङ्ग’ ले बजारमा पठाइरहेको छ,” इरानका तेल मन्त्री बिजान नाम्दार जान्गानेहले शनिबार स्थानीय पत्रिकालाई दिएको अन्तवार्तामा बताइएको छ । “हामीले अनाधिकारिक तथा फरक ढङ्गले तेलको विक्री गरिरहेका छौँ र यसबारे सबैकुरा गोप्य राखिएको छ । यदि यो अमेरिकालाई जानकारी भएमा अमेरिकाले यसलाई तत्काल रोक्छ,” इरानको पेट्रोल मामिला हेर्ने मन्त्रालयलाई उद्धृत गरी शाना न्यूज एजेन्सीले समाचार प्रकाशन गरेको छ । जानगानेहले कति मात्रामा तेलको निर्यात भइरहेको छ र कहाँबाट कसलाई तेल बेचिएको छ भन्नेबारे विस्तृत विवरण प्रतिबन्ध फुकुवा भएपछि मात्र बताइने उल्लेख गरे । इरानसँग विश्व शक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौताबाट संयुक्त राज्य अमेरिका औपचारिक रूपमा फिर्ता भएको घोषणा गत बर्षको मे महिनामा भएको थियो । त्यसपछि वासिङ्टनले इरानलाई नयाँ सम्झौता गर्न दवाब दिन पहिलेका प्रतिबन्धमाथि थप कडाइ गर्दै नयाँ प्रतिबन्धको समेत घोषणा गरेको थियो । इरानको तेल निर्यात गत बर्षको अक्टुबरमा प्रतिदिन १५ लाख ब्यारेल रहेकोमा नयाँ प्रतिबन्धपछि अप्रिलमा ५० प्रतिशत कमी (सात लाख ५० हजार ब्यारेल) आएको ब्लुमवर्गले आफ्नो समाचारमा उल्लेख गरेको छ । रासस/एएफपी

नासाले आफ्नो अन्तरिक्ष स्टेशन पर्यटकका लागि खुल्ला गर्ने

न्यूयोर्क । अमेरिकी वैज्ञानिक संस्था नासाले आगामी बर्षदेखि अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ र यो सन् २०२० पछि लागु हुनेछ । “पृथ्वीको परिक्रमा गर्ने सो स्टेशन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिनेछ,” नासाले भनेको छ । आईएसएसका उप निर्देशक रोबिन गेटेन्सका अनुसार प्रत्येक वर्ष निजी खर्चमा दुईवटा छोटा अन्तरिक्ष भ्रमण हुनेछन् । अमेरिकी अन्तरिक्षयानमा बसेर जाने पर्यटकहरूले आईएसएसमा ३० दिनसम्म बस्ने अनुमति पाउने उनले बताए । रासस÷एएफपी

रु. १२ लाख बराबरको लागतमा स्थानीय सरकारद्वारा मोटरेवल पुल निर्माण

काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको छ । बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना बनाउने अभियानअन्तर्गत बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा नं ८ मा रहेको मोटरेवल पुल निर्माण गरेको हो । पुल निर्माण सम्पन्नसँगै शनिबार नगरप्रमुख गुमानसिंह अर्यालले बेसीँशहरको झ्याङखोलामा रहेको पुलको उद्घाटन गर्दै अब नगरपालिका पक्की संरचना बनाउने अभियानमा लागेको बताएका छन् । वडा नं ८ का वडाध्यक्ष पवित्रा थापाले समृद्ध बेँसीशहर निर्माणमा नगरवासीको हातेमाले गर्दै अघि बढेकाले जनप्रतिनिधिलाई काम गर्न उत्साह मिलेको बताएकी  हुन् । झ्याङखोलाको मोटरेवल पुल नहुँदा सवारीसाधनलगायत पैदलयात्रीलाई आवतजावतमा समस्या हुँदै आएको थियो । विषेशगरी झिङ्गेखोलाले सास्ती दिँदै आए पनि पुल निर्माण भएसँगै स्थानीयवासी खुसी भएका छन् । झ्याङखोलस्थित पुल बेँसीशहर नगरपालिकाको ११ लाख रुपैयाँ र श्रमदान एक लाख १० हजार रुपैयाँ गरी कूल १२ लाख १० हजार रुपैयाँमा पुल निर्माण भएको निर्माण समितिका अध्यक्ष गोकुल रावलले बताए । त्यसैगरी, नगरपालिकाले गत वर्षको योजनाबाट बेसीँशहर नगरपालिका वडा नं २ मा रहेको भकुण्डे–राक्से–सानो धिमिरे सडकखण्डमा पर्ने खहरेखोलामा झण्डै ३० लाख रुपैयाँको लागतमा मोटरेवल पुल निर्माण गरिसकेको छ ।