विकासन्युज

सर्वोच्चले रोकेन लोक सेवाको विज्ञापन, असार ३ गते छलफलमा बोलायो

काठमाडौँ । सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलिएको विज्ञापन रद्द गर्ने सहित अन्तरिम आदेशको माग गर्दै परेको रिटमा बुधबार सुनुवाई गरेको छ । न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम आदेश जारी गरेन भने यसबारे छलफल गर्न दुबै पक्षलाई असार ३ गते बोलाएको छ । गत जेठ १५ गते लोकसेवाले स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै विज्ञापन खुलाएको थियो । विज्ञापन समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । आयोगको विज्ञापन रद्द गर्न माग गर्दै अधिवक्ता विकास ठाकुरले सर्वोच्चमा रिट दायर गरेका हुन् । दुबैपक्षलाई छलफलमा बोलाएर विषय टुङ्ग्याउने अदालतको कदमपछि विज्ञापन नरोकिने संकेत मिलेको जानकारहरु बताउँछन् ।

चट्याङ परेर आगजनी हुँदा ३९ घर नष्ट

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो । आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । उनले आगजनी पीडितलाई राहत वितरणको तयारी गरिएको बताए । यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं ६ सिमलघारीमा पनि आज चट्याङपछि स्थानीय गोरख विकको घरमा आगलागी भएको छ । आगलागीबाट अन्नपात लत्ताकपडा जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो । स्थानीय, प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो ।

डा. भट्टराईको आखाँबाट यस्तो देखियो नेपाल,‘अठारौँ शताब्दीमा २५ विकसित देश भित्र पथ्र्यो’

काठमाडौँ । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले ‘बाबुराम भट्टराईको आखाँबाट नेपाल’ भन्ने शीर्षकमा बुधबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सो अन्तरक्रियाको मुख्य उद्देश्य पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजनीतिक जीवनको अनुभव र उनले नेपालको अबको भविष्य कस्तो देखेका छन् भन्ने कुरा सुन्ने थियो । अन्तरक्रियामा डा. भट्टराई राजनीति व्यापार तथा उद्योगबाट अलग नरेहेकोमा जोड दिंदै युवा उद्यमीहरुलाई राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि आग्रह समेत गरे । नेपाल किन बाँकी विश्वभन्दा धेरै पछाडि परेको छ भन्ने युवा उद्यमीहरुको प्रश्नमा पूर्व प्रधानमन्त्री डा. भट्टराईले केही ऐतिहासिक तथ्यहरु उल्लेख गरे । उनले भने–,‘अठारौँ शताब्दीमा नेपाल २५ वटा विकसित देश भित्र पथ्र्यो । तर, शाह तथा राणा शासनकालमा नेपाल बाँकी विश्वसँग अलग रही नागरिकको ओहोर दोहोर नहुँदा प्रगति रोकिन पुग्यो । तर, अहिले नेपाल विकासको बाटोमा अघि बढेको छ ।’ चीन र भारतको बीचमा रहेकाले नेपाललाई दुई देशबीचको गतिशील पुलको रुपमा आर्थिक विकास गर्ने अवसर प्राप्त भएको पनि उनले उल्लेख गरे । चीनसँगको सम्बन्धले महत्व राखेपनि भारतसँगको ऐतिहासिक, भौगोलिक सांस्कृतिक र आर्थिक सम्बन्धले भारतसँग नेपाल थप नजिक रहेकोपनि पूर्वप्रधानमन्त्री भट्टराईले बताए । उनले निर्वाचित राष्ट्रपतीय प्रणालीले नेपाललाई फाइदा पुग्ने आफ्नो विस्वास रहेकोपनि महत्वका साथ उल्लेख गरे । नेपालको भविष्य सकारात्मक रहेको पूर्वप्रधानमन्त्री भट्टराईको जोड थियो । कार्यक्रमको प्रारम्भमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले डा. भट्टराईको स्वागत गर्दै उद्योग व्यवसायको वस्तुस्थितिबारे परिसंघको धारणा व्यक्त गरेका थिए ।

नेपाली र भारतीय मेडिकल व्यवसायीबीच छलफल, सहकार्यमा जोड

काठमाडौं । नेपाली र भारतीय मेडिकल उद्यमी व्यवसायीहरू बीच मेडिकल क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल भएको छ । आपसी सहकार्यका विषयमा अध्ययन गर्न नेपाल भ्रमणमा आएको भारतीय उद्योग परिसंघ, पूर्वी क्षेत्रका मेडिकल व्यवसायमा आवद्ध उद्यमीहरू र नेपाली हस्पिटल/मेडिकल उद्यमी व्यवसायीहरू बीच आज नेपाल उद्योग वाणिज्य महासंघ सचिवालमा सो छलफल भएको हो । छलफलमा नेपाली निजी क्षेत्रको प्रतिनिधित्व महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र भारतीय टोलीको नेतृत्व सीआईआई हेल्थकेयर इस्टर्नका अध्यक्ष्ँ रूपक बरूवाले गरेका थिए । सीआईआई प्रतिनिधिमण्डलमा १४ जना उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो । सो अवसरमा भएको छलफलमा मेडिकल क्षेत्रमा हुन सक्ने संयुक्त लगानी, जनशक्ति विकास, तालीमको आदान प्रदान, अध्ययन अनुसन्धान, दुई देश बीच हाल रहेको नीतिगत व्यवस्था, स्वास्थ्य क्षेत्रको यथार्थ अवस्था लगायतमा बृहद छलफल भएको छ । बैठकमा नेपाल र भारत छिमेकी मुलुक भएकाले स्वास्थ्य सेवा लिन दुवै देशका नागरिक दुवै देश आउने/जाने परम्परा रहेतापनि नेपालीहरू भारतमा गएर उपचार गर्दा भाषागत समस्या, अपरिचित डाक्टर लगायतका केहि कठिनाईहरू रहेकोले ती कठिनाईहरूलाई सुल्झाउन पर्ने नेपाली पक्षबाट जोड दिइयो । बुधकार नै सीआईआई प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव समक्ष स्वास्थ्य मन्त्रालयमा भेटगरी नेपाल र भारत बीच स्वास्थ्य क्षेत्रमा हुन सक्ने सहकार्यका विषयमा छलफल गरेको थियो ।

महासंघको प्रतिनिधिमण्डल चीन साउथ एशिया फोरम बैठकमा सहभागी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा महासंघको प्रतिनिधि मण्डलले बुधबार चीनको कुनमिङमा आयोजित १४ औं चीन–दक्षिण एशिया व्यवसाय फोरमको बैठकमा भाग लिएको छ । अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया परिषद र सार्क उद्योग वाणिज्य संघद्वारा संयुक्त रूपमा चीनको युनान प्रान्तको कुनमिङ शहरमा फोरमको बैठक आयोजना भएको हो । फोरम बैठकमा नेपाल लगायत चीन, भारत, अफगानिस्तान, भुटान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेशका व्यवसायिक नेताहरू, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सहित पदाधिकारीहरू, बाह्य देशका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको छ । बैठकमा महासंघको व्यापार मेला समितिका सभापति दीलसुन्दर श्रेष्ठ, नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य,महासंघका सहायक निर्देशक अरुण श्रेष्ठ, अधिकृत कृति खतिवडा सहितको महासंघको प्रतिनिधिमण्डलको सहभागिता रहेको छ । बैठककै क्रममा सीसीपीआईटी र सार्क राष्ट्रका उद्योग वाणिज्य महासंघहरूका तर्फबाट एक समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघ÷नेपालको तर्फबाट महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले हस्ताक्षर गरे । समझदारीपत्रमा चीन र दक्षिण एशियाली राष्ट्रहरू बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षण, व्यापार सहजीकरण, आपसी सहकार्य लगायतका विषयमा जोड दिइएको छ । सोही अवसरमा कुनमिङमा आयोजना भएको चाइना आयात निर्यात व्यापार तथा दक्षिण एशियाली व्यापार मेला समेत आयोजना भएको छ । उक्त मेलामा नेपालबाट १०० वटा स्टलहरू मार्फत नेपाली वस्तुहरूको प्रदर्शनी भैरहेको छ । उक्त मेलाको विशिष्ठ सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल सहित महासंघको प्रतिनिधिमण्डलले अवलोकन गर्यो । मेलामा विशेष गरी नेपाली हस्तकलाका सामाग्रीहरूको प्रदर्शनी गरिएको छ । त्यसअघि मंगलबार चीनको कुनमिङमा योग्सी शहरमा आयोजना भएको चाइना साउथ एशिया सहयोग मंचको दोस्रो बैठकलाई महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष ढकालले सम्वोधन गरेका थिए । र्नुभयो । सो कार्यक्रमलाई संबोधन गर्नुहुंदै उहांले सार्क राष्ट्रहरूको अर्थतन्त्र विविधात्मक भएकाले यस क्षेत्रको आर्थिक विकासमा सदस्य राष्ट्रहरू बीचको बलियो सहकार्यमा जोड दिए । सार्क राष्ट्रहरूमा भौगोलिक, सास्कृतिक विविधता, सहज यातायात लगायत पर्यटनकोे लागि सार्क क्षेत्र विशेष भएको महासंघका पूर्व अध्यक्ष ढकालले बताए । उनले भने–‘नेपालले बीआरआइलाई एउटा महत्वपूर्ण कनेक्टीभिटीको रूपमा मानेको छ । नेपालमा भएका युवाहरूलाई परिचालन गर्न र नेपालको उत्पादकत्व बढाउन यसले मद्दत गर्छ ।’ बीआरआईले नेपाललाई सार्क क्षेत्र र चाइना जोड्ने कनेक्टीभिटी हवको रूपमा स्थापित गर्नसक्ने पनि उनले बताए । चीनले विश्वमा आफुलाई उत्पादन विविधिकरण र निरन्तर आर्थिक विकास गरीरहेको मुलुकको रूपमा चिनाईरहेको बेला नेपालले पनि त्यसबाट सिक्न आवश्यक रहेको बताउनु भयो । चीन नयाँ प्रविधिको विकासको कारण विश्वमा चिनिएको बताउँदै उनले नेपालले ती प्रविधिलाई ग्रहण गर्न सक्नुपर्नेमा जोड दिए ।

वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी देउजा पक्राउ, साढे एक वर्ष जेल सजाय

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ का सुमन देउजालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले फरार रहेका देउजालाई जेठ २८ गते काठमाडौंको रानीवनबाट पक्राउ गरिएको हो । टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७१ माघ ४ गतेको फैसलाअनुसार उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । ठगी मुद्दामा फरार प्रतिवादी देउजालाई एक वर्ष छ महीना कैद र एक लाख ५० हजार जरिवाना ठहर भएकोमा सजाय बेरुजु रही ब्युरोको टोलीले पक्राउ गरेको हो । साथै, देउजालाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार कैद भुक्तानको लागि काठमाडौंको कारागार कार्यालय जगन्नाथ देवल पठाइएको ब्युरोले बताएका छन् ।

मेगा बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसँगै मेगा बैंकका ग्राहकहरूले प्राइम लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा तथा सुविधाहरु अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् । मेगा बैंकका देशभरका १ सय २ शाखाबाट प्राइम लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

बाल्ट्राको पहिलो शोरुम कान्तिपथमा, नायिका प्रियंका कार्कीले गरिन् उद्घाटन

काठमाडौँ । विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपाली उपभोक्ताहरु माझ बिक्री-वितरण गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सले राजधानीको कान्तिपथमा आफ्नो पहिलो र भव्य शोरुमको उद्घाटन गरेको छ । बुधबार शुभारम्भ गरिएको बाल्ट्राको शोरुमलाई नेपालकी चर्चित नायिका प्रियंका कार्कीले उद्घाटन गरेकी हुन् । बाल्ट्राका उत्पादनहरुको विभिन्न रेञ्ज रहेको उक्त शोरुमबाट ग्राहकहरुले एउटै छत मुनि बाल्ट्राका सबै उत्पादनहरु खरिद गर्न सक्ने छन् । ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सले देशका विभिन्न स्थानहरुमा शोरुमहरु खोल्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।