विकासन्युज

जुलाईदेखि सबै इलेक्ट्रोनिक भुक्तानी निःशुल्क गर्दै भारत, आरबीआईले गर्यो यस्तो व्यवस्था

काठमाडौं । छिमेकी मुलुक भारतमा इलेक्ट्रोनिक माध्यमबाट हुने सबै भुक्तानीहरु निःशुल्क हुने भएको छ । भारतीय रिजर्भ बैंकले इलेक्ट्रोनिक कारोबार सञ्चालन गर्ने आफ्नो नियमनका बैंकिङ तथा गैरबैंकिङ संस्थाहरुलाई आगामी जुलाई महिनादेखि सबै कारोबारहरु निःशुल्क रुपमा सञ्चालन गर्न निर्देशन दिन लागेको हो । बैंकको मौद्रिक नीति समितिले मंगलबार त्यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आरटीजीएफ र एनईएफटी सेवाअन्तर्गत लाग्ने सम्पूर्ण शुल्कहरु निःशुल्क गन बैंकिङ तथा गैरबैंकिङ संस्थालाई परिपत्र भने केही दिनभित्र हुने बताइएको छ । हाल ती संस्थाहरुले एनईएफटी सेवाको शुल्क १ रुपैंयादेखि ५ रुपैंया भारु र आरटीजीएफको मूल्य ५ रुपैंयादेखि ५० रुपैंया लिँदै आएका छन् । एनईएफटी प्रणालीले २ लाखसम्म र आरटीजीएफ प्रणालीले २ लाख भन्दा बढी रकम एकअर्काको खातामा भुक्तानी गर्न प्रयोग हुन्छ । आरबीआईले एटीएमको सेवाशुल्क कम गर्ने सन्दर्भमा अध्ययन गर्न एउटा समिति पनि बनाएको छ । भारतीय बैंकर्स संघका मुख्य कार्यपालक अधिकारीको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो । सो समितिले सो सेवालाई अधिकतम कतिसम्म सस्तो गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल गरि आरबीआईलाई सिफारिस गर्नेछ ।

आइएमई लिमिटेड १९औं वर्षमा प्रवेश, सीईओ पोखरेल सहित ७० जनाले गरे रक्तदान

काठमाडौं । रेमिटेन्स कम्पनी आइएमई आजदेखि १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।  रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग संजालको आवश्यकता महसुस भइरहेको अवस्थालाई मध्यनजर गर्दै सन् २००१ मा आइएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट शुरु गरेको हो । ‘१९औं वार्षिकोत्सव सशक्तिकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागिएको वार्षिकोत्सवको अवसर पारेर पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरियो । हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केहि न केहि सामाजिक कार्य गर्ने परम्परा अनुरुप यस वर्ष आयोजना गरिएको रक्तदान कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल सहित ७० जना कर्मचारीहरूले रक्तदान गरेका छन् । १९औं वार्षिकोत्सवको अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले आम सेवाग्राही, व्यावसायिक साझेदार, सहकर्मी मित्रहरु, नियामक निकाय, शुभेच्छुक–शुभचिन्तक सबैलाई धन्यवादसहित हार्दिक आभार प्रकट गरेका छन् । १९औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय १ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १० हजार सवएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको जनाएको छ ।

लोकसेवा विज्ञापनमा संसदीय समितिको कु, आवेदन नरोक्ने प्रष्टोक्ति

काठमाडौं । लोकसेवा आयोगले पूर्ण बैठक मार्फत स्थानीय तहमा पठाउने कर्मचारीको विज्ञापन रोक्ने सम्बन्धी संसदीय समितिको निर्देशनबारे निर्णय गर्ने भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संबिधान विपरिद भएको आरोप लगाउँदै तत्काल रोक्न निर्देशन दिएको थियो । आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले संविधान सम्वत रुपमा विज्ञापन गरेको जिकिर गर्दै आयोगको पूर्ण बैठकबाट समितिको निर्देशनबारे निर्णय गर्ने स्पष्ट पारेका हुन् । आयोगले समितिको निर्देशन तथा निर्णयलाई सम्मान गर्ने उनको भनाई छ । उनले भने,‘समिति आफैंमा सार्वभौम निकाय हो । हामी समितिको निर्णय पालना गर्छौं ।’ यद्धपी उनले आयोग उम्मेद्धवारप्रति पनि उतिकै उत्तरदायी र जिम्मेवार रहेको सुनाए । उनले थपे,‘समितिको निर्देशन आयोगमा दर्ता भैसकेको छ । अब यस सम्बन्धमा छलफल गरेरमात्रै हामी यथाशक्य छिटो निश्कर्षमा पुग्छौं ।’ उनले आयोगको पूर्ण पदाधिकारीको बैठक नबसुञ्जेल आवेदन प्रक्रिया नरोकिनेपनि स्पष्ट पारे । उनले भने,‘हामी छिट्टै यसको समाधान दिन्छौं । उम्मेद्धवारलाई अप्ठ्यारो नपरोस भन्नेतर्फ आयोग सचेत छ ।’ लोकसेवा आयोगका पूर्व कार्यवाहक अध्यक्ष टिकादत्त निरौलाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनलाई प्रशासनिक ‘कू’ को संज्ञा दिए । उनले भने,‘२०१७ सालमा राजा महेन्द्रले राजनीतकि कु गरेका थिए, अहिले समितिले त्यस्तै प्रशासनिक कु गरेजस्तो लाग्यो ।’ आयोगको मुख्य काम भनेको नै विज्ञापन गर्नु भएको सुनाउँदै उनले यसलाई नै रोक्नु भनेको आयोगलाई भंग गरे जस्तै समितिको निर्णय भएको उनको आरोप छ । समितिले रिक्त पदमा करारद्वारा पुर्ति गर्न भनेर दिएको निर्देशनप्रति टिप्पणी गर्दै यो पनि गलत भएको उनको तर्क छ । उनले भने,‘यो पनि गलत हो । पहिला राजा महेन्द्रको पालामा करारमा आफ्ना आसेपासे नियुक्ती गरिन्थ्यो अनि पछि तिनीहरुलाई नै स्थायी गरियो । अहिलेपनि त्यस्तै भैरहेको छ । महिला विकास अधिकृतहरु स्थायी भए ।’ उनले भने,‘९ हजार १ सय ६१ कर्मचारी भर्ना गर्न कुनै अवरोध छैन । संसदीय समिति, लोकसेवा आयोग र मन्त्रालय बसेर अघि मैले भनेजस्तो प्रत्येक स्थानीय तह भन्ने शब्द हटाउँदा समस्या हल हुन्छ ।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले लोकसेवा आयोगले संविधान, समावेशी–समानूपातिक सिद्वान्त र संघीयताअनुरूप विज्ञापन नभएकोले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले रद्द गर्ने निर्देशन दिएको स्पष्ट पारिन् । राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्यसमेत रहेकी नेतृ संग्रौलाले भनिन,‘मन्त्रीज्यूले समितिले दिएको निर्देशन मान्दिन भन्नु र विज्ञापनलाई अघि बढाउँछु भन्नुभएको छ, उहाँले समितिको निर्णयलाई नै त्रुटिपूर्ण भन्नुभयो, यस्तो भन्ने अधिकार उहाँलाई छैन ।’

पुरानो मेडिकल कलेजमा फेरी शुरुभयो मिर्गौला प्रत्यारोपण

काठमाडौँ । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा लामो समयपछि मिर्गौला प्रत्यारोपण भएको छ । चारबर्षअघि नै लाइसेन्स पाएको कलेजले त्यतिनै समयको अन्तरालमा तेस्रो मिर्गौला प्रत्यारोपण गरेको हो । गत सोमबार प्राडा राकेश बर्माको टोलीले साढे तीन घण्टा लगाएर भक्तपुर–६निवासी ५४बर्षीय विष्णुगोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको हो । उनलाई २५बर्षीय भान्जा रिजनबीर जोशीले मिर्गौला दिएका हुन्।

निजी आवास पुननिर्माणमा ८२ प्रतिशत प्रगति, दुई लाख २८ हजार घर बन्दै

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न र दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको जानकारी दिएको छ । संघीय संसदको दीगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये ५२ प्रतिशतले पुनर्निर्माण सम्पन्न गरेको, ३० प्रतिशतले घर बनाउँदै गरेको र समग्रमा ८२ प्रतिशत उपलब्धी हासिल भएको जानकारी दिए । निजी आवास पुनर्निर्माणका लागि हालसम्म ७ लाख ६७ हजार २ सय ४८ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये ९९ प्रतिशतले प्रथम किस्ता लिएका छन् भने ७६ प्रतिशतले दोस्रो किस्ता र ५७ प्रतिशतले तेस्रो किस्ता भुक्तानी लिएका छन् । सरकारले निजी आवास पुननिर्माणमा पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । प्राधिकरणले अनुदान लिएका लाभग्राहीलाई छिटो घर पुनर्निर्माण थाल्न आग्रह गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पलाई अवसरका रुपमा लिएको र निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सुरक्षा निकाय र सरकारी भवन पहिले भन्दा राम्रा, बलियो र सुरक्षित बनेको बताए । ‘निजी आवास पुनर्निर्माणलाई सबैभन्दा महत्व दिएर काम गरेका छौं, उनले भने–शैक्षिक संस्था, स्वास्थ्य संस्था, सम्पदा लगायत भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणका मूलभूत कार्य पूर्वनिर्धारित समयमा नै सम्पन्न गर्नैछौं ।’ राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पुनर्निर्माण उत्साहजनक रुपमा अघि बढेको बताए । ‘नवनिर्माणमा नयाँ ठाउँमा काम हुन्छ। पुनर्निर्माण गर्दा पुरानो ठाउँमा काम गर्नुपर्छ, पुराना कुराको संरक्षण गर्नुपर्ने हुन्छ ।जनताको भावनालाई सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसैले नवनिर्माणको तुलोमा राखेर तुलना गरे पुनर्निर्माणमा अन्याय हुन्छ’–सचिव कार्कीले भने । सांसद खिमकुमार विकले पुनर्निर्माणमा भएका उपलब्धीहरुले आशा जगाएको भन्दै भूकम्पपछिको चुनौतीलाई अवसरका रुपमा लिएर काम गरिरहेको बताए । उनले गलत विवरण दिएर कतिपय गुनासो पेश गरिएको भन्दै प्रस्तावहरुलाई अस्वीकार गर्न प्राधिकरणलाई आग्रह गरे ।सांसद महेशकुमार महराले पुनर्निर्माणका प्रगति राम्रो भएको टिप्पणी गर्दै भूमीहिन र सुकुम्बासीका मुद्दाहरुलाई सम्बोधन गरेर अघि बढ्न सुझाव दिए । अर्का सांसद चक्रप्रसाद स्नेहीले निकै जटिलताबीच पनि पुनर्निर्माण अघि बढेको टिप्पणी गर्दै अझ तीव्रताका साथ काम गर्न आग्रह गरे । सांसद रमेशजंग रायमाझीले कतिपय एकीकृत बस्ती गाउँमैत्री नभएको टिप्पणी गर्दै गाइवस्तु पाल्ने ठाउँ नराखिएकोमा आलोचना गरे । उनले उपभोक्ता समितिमार्फत गरिने पुनर्निर्माणमा अनियमितता हुन सक्ने भन्दै प्राधिकरणको ध्यानाकर्षण गरे । सांसद डा. बिमला राई पौड्यालले पछिल्लो समयमा प्राधिकरणले गरेका कार्यहरुले पुनर्निर्माणमा आशा जगाएको बताए । उनले भौतिक संरचनाहरुको पुनर्निर्माणमा राम्रो प्रगति भएको भन्दै जीविकोपार्जनका थप कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिए । सांसद भैरवसुन्दर श्रेष्ठले विश्व सम्पदा सूचीमा परेका सम्पदाहरुको पुनर्निर्माण निकै जटिल हुने भन्दै प्रतिबद्धताअनुसार प्राधिकरणले काम गरेकोमा धन्यवाद दिए । सांसद कमला ओलीले सुदुरपश्चिममा हावाहुरीले क्षति पुर्याए पनि प्राधिकरणले सहयोग नगरेको गुनासो गरे । अर्का सांसद प्रमिलादेवी यादवले धरहरा, रानीपोखरी, सिंहदरबार लगायतका काम भइरहेको प्राधिकरणलाई धन्यवाद दिँदै प्रदेश नम्बर दुईका विभिन्न स्थानमा हावाहुरी र बाढी पहिरो पीडितलाई सहयोग गर्न आग्रह गरे । सांसद ओली र यादवले गरेको आग्रहको जवाफ दिँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले संसदले बनाएको ऐनले नै प्राधिकरणलाई २०७२ सालको भूकम्प र त्यसपछिका परकम्पले पुर्याएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापना गर्ने अधिकार दिएको भन्दै हावाहुरी र बढी पीडितलाई सहयोगका लागि सम्बिधत निकायसँग समन्वय गर्न सांसदहरुलाई आग्रह गरे ।

नेपालको स्वीजरल्याण्डमा ६ अर्बको ‘इकोलोजी पार्क’, बन्ला त जिरी पर्यटन गन्तव्य ?

जिरी । नेपालको स्वीजरल्याण्ड मानिने जिरीमा ६ अर्ब खर्चेर टोनी हेगन इकोलोजी पार्क बन्दैछ । स्वदेशी तथा विदेशी पर्यटनलाई जिरीसम्म आर्कषण गर्न ताइवानी धर्म गुरु खेम्पो नवाङ नुरुले पार्कको गुरुयोजना बनाएर निर्माण कार्य अघि बढाएका हुन् । पार्क निर्माणको लागि नेपाल सरकारले ७५ रोपनी जग्गा उपलब्ध गराएको छ । पार्क निर्माण गर्दा जग्गा नपुग भएमा आवश्यक जमिन उपलब्ध गराउन सकिने जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले बताए । ‘प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा उक्त पार्क निर्माण कार्य अघि बढेको हो, उनले भने- ‘ हामी जिरीलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटेका छौं । पार्कमा गुरु पद्म सम्भवको विश्वकै अग्लो प्रतिमा, बौद्ध गुम्बा, मेडिटेशन हल, आश्रमसहितको संरचना बनाउने गुरुयोजनामा उल्लेख छ । अबको तीन वर्षमा सम्पन्न हुने योजना सहित पार्क निर्माण कार्य अघि बढाइएको प्रमुख जिरेलले बताए । पिकनिकस्थल, पोखरी, झरनासहित प्रकृतिको मनोरम दृष्य रह्ने पार्कमा बोटबिरुवादेखि जनावर, चराचुरुङ्गीको समेत संरक्षण हुनेछ । सातवटा पार्क सहितको वनले ६ सय रोपनी क्षेत्रफल ओगट्ने छ । प्रमुख जिरेलका अनुसार पार्क निर्माण प्रदेश र स्थानीय दुवै सरकारको प्राथमिकतामा परेको छ । उक्त पार्क निर्माण गर्न चालु आवमा प्रदेश सरकारले २५ लाख र स्थानीय सरकारले १५ लाख बजेट विनियोजन गरेको छ । विश्वकै उच्च हिम शिखर सगरमाथा जाने पुरानो ट्रेकिङ रूटको रुपमा परिचित जिरीमा टोनी हेगन पार्क सहित तेन्जिङ हिलारी संग्रहालय, बुद्ध पार्क, दृष्यअवलोकनका लागि टावर, स्टोन पार्क, जिरी ताललगायतका नयाँ संरचना तयार हुँदैछ । ‘यसका लागि जिरी नगरपालिकाले वर्षैपिच्छे बजेट विनियोजन गर्छ,’ मेयर जिरेलले भने ‘आवश्यक परे हामी प्रदेश र संघीय दुबै सरकारको सहयोग लिनेछौ ।’ जिरी ताललाई यो क्षेत्रको ड्रिम प्रोजेक्टकै रूपमा अगाडि बढाएको जिरेलले बताए । जिरी खोलामा बन्ने तालको लम्बाइ १३ सय मिटर हुनेछ भने चौडाइ ३ सयदेखि ८ सय मिटरसम्म हुनेछ । जिरी खोला थुनेर निर्माण गर्न लागिएको उक्त तालमा ६० मिटर अग्लो ड्याम्प बन्नेछ । उक्त तालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जिरेलले बताए । साथै तालमा जम्मा हुने पानीबाट २.४ मेगावाट विद्युत समेत उत्पादन गर्ने तयारी स्थानीय सरकारको रहेको छ । ‘ताल निर्माणमा स्थानीय सरकारको भन्दा प्रदेश सरकारको बढी प्राथमिकता छ । जिरी नगरपालिकाले हाल जिरी मल्टिपल डेभलपमेन्ट प्रोजेक्ट (जीएमटी) बनाएर कार्य अघि बढाएको उनले बताए । जिरीमा ६० को दशकमै सानो जहाज बस्ने विमास्थल बनाइएको हो । त्यसपछि अर्को स्थानमा ट्विनअटर विमान चल्ने विमानस्थल बनाएको जिरेलले उल्लेख गरे । दोलखा पर्यटन विकास समितिका अध्यक्ष बैकुण्ठ प्रधानले यस क्षेत्रको पर्यटकीय गतिविधिलाई प्रर्वद्धन गर्न नयाँ र पुराना सबै योजना अघि बढाइएको बताए । अबको ३ वर्षमा दोलखालाई नेपालकै पहिलो पर्यटकीय गन्तव्य बनाउने उनको योजना छ । ‘जिरीदेखि दोलखा भीमेश्वर हुँदै कालिञ्चोकसम्म पर्यटकीय प्याकेज बनाएर यो क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ,’ उनले भने । को हुन् टोनी हेगन ? टोनी हेगन स्विस नागरिक हुन् । उनी सन् १९५७/५८ मा नेपाल घुम्न आएका बेला जिरी पुगेका थिए । जिरी उपत्यका देखेर उनलाई यहाँ धेरै गर्न सकिने स्थान रहेछ भन्ने लाग्यो । उनकै पहलमा जिरीलाई पहिलो विकास र पर्यटकीय आकर्षण रुपमा चिनाउन सुरु गरिएको हो । उनले जिरीमा स्विसबाटै ल्याएर गाईपालन गरेको जिरेलले बताए । उनले त्यतिबेला भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगाबाट जस्तापाता र किलाकाँटा बोकेर जिरी पुर्याएर भौतिक संरचना तयार पारिएको थियो । उनले स्थानीयलाई औषधि वितरण गर्न स्थापना गरिएको क्लिनिक अहिले जिरी अस्पताल बनेको छ ।

भायनेटको नयाँ शाखा अब ईटहरीमा

काठमाडौँ । इन्टरनेट र टिभी सेवा प्रदायक भायनेट कम्युनिकेसनले जेठ २९ गते आफ्नो नयाँशाखा ईटहरीमा संचालन गरेको छ । नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १४ औं शाखा नमुना चोक, ईटहरीमा खोलेको जनाएको छ ।

जनता बैंकद्वारा एकैदिन ६ शाखा कार्यालय बिस्तार, १३५ पुग्यो शाखा संख्या

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले बुधबार एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार शुरु गरेको छ । नयाँठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा बिस्तार गरेको हो । मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गरे । उक्त कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुरामकुँबर क्षेत्रीको उपस्थिति रहेको थियो । यसैगरी, फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका सञ्चालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले उद्घाटन गरेका हुन् । यी ६ वटा शाखा समेत गरी जनता बैंकको शाखा सञ्जाल पूर्वको ताप्लेजुङ्गदेखि पश्चिमको दार्चुलासम्म, शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १३५ पुगेको जनाइएको छ । यसैबीच, तनहुँको डुम्रेमा शाखा उद्घाटनसँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविरपनि संचालन गरिएको बैंकले जनाएको छ । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।