विकासन्युज

गुठी विधेयक खारेजीको माग गर्दै उर्लियो जनसागर (फोटो फिचर)

काठमाडौं । गुठी विधेयक फिर्ता मात्र भई खारेजीको माग गर्दै माइतीघर मण्डलामा विशाल जनसागर उत्रिएका छन् । गुठी विधेयक सरकारले फिर्ताको घोषणा गरेता पनि गुठियारहरुको त्यस विषय प्रति चित्त बुझाएका छैनन् । लामो समयदेखि गुठी विधेयकको विषयमा गुठियारहरुले परम्परागत गुठीको संरक्षण एवं संवद्र्धन विपरित विधेयक ल्याएकोमा असन्तुष्टि व्यक्त गर्दै विरोध जनाउँदै आएका थिए । मंगलबार पत्रकार सम्मेलन गर्दै भुमि व्यवस्था मन्त्री पद्मा अर्यालले गुठी विधेयकमा भएका केहि त्रुटी सुधार गर्नु पर्ने भन्दै सो विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् । सो विधेयक फिर्ता लिएर मात्र नभई खारेज गर्नु पर्ने भन्दै उपत्यकाबासीले काठमाडौंको माइतीघरमा दिनभर वृहत प्रदर्शन गरेका छन् । ४० भन्दा बढी गुठीहरुका गुठीयारहरु तर्फबाट सहभागिता जनाएका थिए । उक्त प्रदर्शनले दिनभर काठमाडौं उपत्यकाको यातायात व्यवस्थामा समस्या भएको थियो । हेर्नुहाेस्  फोटो फिचर :

सिप्रदी ट्रेडिङ्ग प्रालिले ल्यायो विशेष आर्कषणका साथ मनसुन मेनिया कार्यक्रम

काठमाडौंं । टाटा मोटर्सको आधिकारिक बिक्रेता रहेको सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडले मनसुनको अवसरमा मनसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमम ४ गते देखि ८ गते सम्म टाटा मोटर्सको थापाथली स्थित अत्याधुनिक सोरुममा संचालन गर्ने भएको हो । उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतको गाडीहरु अबलोकन तथा टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरुमा एक्सचेन्जको सुविधा उपलब्ध गराएको छ । कार्यक्रममा नगद छुट, गाडीको एक्सचेन्जमा बिशेष सुविधा, प्रत्येक बुकिङ्गमा स्मार्ट फोन, प्रत्येक गाडीको मुल्याङ्कनमा इन्धन सुविधा र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगायतका विशेष आर्कषणहरु रहेका छन ।

७ सय ५३ स्थानीय तहमा ६ सय ५४ होटल, कुन स्तरका कति ?

काठमाडौ । संघीय नेपालको ७ सय ५३ स्थानीय तहमा कुल ६ सय ५४ होटल दर्ता भएका छन् । पर्यटन विभागका अनुसार ५ तारे होटलदेखि पर्यटक स्तरका होटल दर्ता भएका हुन् । नेपालको विभिन्न स्थानमा घुम्न जाने स्वदेशी र विदेशी पर्यटक तारे होटलदेखि सामान्य होटलसम्म रम्दै आएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार होटल दर्ता हुने क्रम बढिरहेको छ । विभागका निर्देशक सुरेन्द्र थापाका अनुसार देशभरी कै तथ्याङ्क हेर्दा होटल संख्या ६ सय ५४ पुगेको हो । कुन प्रदेशमा कति छन् ५ तारे होटल ? नेपालमा हाल १४ वटा पाँच तारे होटल रहेका छन् । ती मध्ये २ वटा भने सञ्चालनमा रहेका छैनन् । कुल संख्या मध्येमा प्रदेश नम्बर १, २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मा पाँच तारे होटल छैनन् । यस्तै, प्रदेश नम्बर ३ मा ९, गण्डकी प्रदेशमा २ र ५ नम्बर प्रदेशमा ३ वटा रहेका छन् । ४ तारेको संख्या कति ? ४ तारे होटलको संख्या १० वटा रहेको छ । प्रदेश नम्बर १ र कर्णालीमा ४ तारे होटल छैनन् । प्रदेश नम्बर २ मा १, प्रदेश नम्बर ३ मा ४, गण्डकी प्रदेशमा १, ५ नम्बर प्रदेशमा ३ वटा र सुदुर पश्चिम प्रदेशमा एउटा मात्रै छ । ३३ वटा छन् ३ तारे ३ तारे होटलको संख्या भने ३३ वटा छ । प्रदेश नम्बर १ मा २ वटा, प्रदेश नम्बर २ मा १ वटा, प्रदेश नम्बर ३ मा २४ वटा, गण्डकी प्रदेशमा २ वटा, प्रदेश नम्बर ५ मा ४ वटा छ । कर्णाली र सुदूरपश्चिम भने ३ तारे होटल एउटापनि छैन । कर्णाली र सुदूरपश्चिममा छैनन् २ तारे नेपालमा २ तारे होटलको संख्या सबैभन्दा बढी छ । हालसम्म २ तारे होटको संख्या ४३ वटा छ । सो मध्ये प्रदेश नम्बर १ मा १ वटा, प्रदेश नम्बर २ मा ३ वटा, प्रदेश नम्बर ३ मा २७, गण्डकी प्रदेशमा १० र ५ नम्बर प्रदेशमा २ वटा छन् । कर्णाली र सुदूरपश्चिम भने २ तारे होटलको संख्या शून्य छ । ६ वटा प्रदेशमा छन् १ तारे, कर्णालीमा छैन हालसम्म १ तारे होटलको संख्या ३४ वटा छ । प्रदेश नम्बर १ मा १ वटा, प्रदेश नम्बर २ मा २ वटा, प्रदेश नम्बर ३ मा २४ वटा, गण्डकी प्रदेशमा २ वटा, प्रदेश नम्बर ५ मा ४ वटा र सुदुर पश्चिम प्रदेशमा एउटा छ । कर्णाली प्रदेशमा भने १ तारे होटल नभएको पर्यटन विभागले जनाएको छ । पर्यटक स्तरका होटल २० वटा नेपालमा पर्यटक स्तरका साधारण होटलको संख्या भने ५ सय २० वटा रहेको छ । प्रदेश नम्बर १ मा ९ वटा, प्रदेश नम्बर २ मा १ वटा, प्रदेश नम्बर ३ मा ४ सय ९६ वटा, गण्डकी प्रदेशमा ९ वटा, ५ नम्बर प्रदेशमा ४ वटा, र कर्णाली प्रदेशमा एउटा छ । पर्यटक स्तरको होटल सुदुरपश्चिममा भने छैन ।

प्रोग्रेशिभ फाइनान्सका सञ्चालक श्रेष्ठ बर्खास्त, किन भए अयोग्य ?

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेड सञ्चालक समितिका सदस्य रणदेवकृष्ण श्रेष्ठ बर्खास्त भएका छन् । कम्पनीका प्रमुख प्रशासकीय अधिकृत विशाल हुमागाईँले नेपाल स्टक एक्सचेञ्जलाई सञ्चालक समितिका सदस्य श्रेष्ठ सञ्चालक पदमा बहाल रहन नसक्ने पत्र लेखेका छन् । सञ्चालक समितिको असार २ गतेको बैठकको निर्णय अनुसार सञ्चालक समिति सदस्य श्रेष्ठ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १८ को उपदफा १(घ) मा भएको व्यवस्था लागु हुने देखिएको सञ्चालक रहन नसक्ने पत्रमा उल्लेख छ । सोही ऐनको दफा १९ मा सञ्चालक पदमा बहाल रहन नसक्ने अवस्था अन्तरगतको उपदफा १(क) अनुसार श्रेष्ठ सञ्चालक सदस्यका रुपमा रहिरहन नमिल्ने देखिएको भन्दै नेप्सेलाई जानकारी गराइएको छ ।

आर्ट अफ लिभिङ पोखराले शुक्रबार खुल्ला योग शिविर सञ्चालन गर्ने, प्रवेश निशुल्क

काठमाडौं । आर्ट अफ लिभिङ पोखराले शुक्रबार खुल्ला योग शिविर सञ्चालन गर्ने भएको छ । जुन २१ मा अन्तराष्ट्रिय योग दिवस मनाइने हुदाँ सोही दिन पारेर पोखरामा पनि योग शिविरको आयोजना गर्न लागिएको आर्ट अफ लिभिङ पोखराका संयोजक विश्वमोहन अधिकारीले बताएका छन् । संयोजक अधिकारीका अनुसार शिविर बिहान ६ बजेदेखि बेलुका ७ बजे सम्म केदारेश्वर मन्दिर परिसर मैदानमा हुनेछ । योग शिविरलाई भव्य रुपमा सम्पन्न पार्न विभिन्न उप–समितिहरु गठन समेत गरी तयारीलाई तिव्र पारिएको छ । आर्ट अफ लिभिङको कोर्ष अनुसार योग शिक्षकले नै सहभागीलाई योग सिकाउनेछन् । योग शिविरमा सहभागी हुने सबैलाई प्रवेश निशुल्क गरिएको जनाइएको छ । शुक्रबार हुने उक्त योग शिविरमा बढीभन्दा बढी सहभागी जुटाउन आर्ट अफ लिभिङ पोखराले आइतबारबाट पोखरा क्षेत्रका विभिन्न स्कुल, कलेज, धार्मिक संघ संस्थामा योग शिविरको प्रचार प्रसार गर्दै शिविरमा सहभागीतालाई आग्रह गरेको छ । हालसम्म विश्वभर १५५ देशमा आर्ट अफ लिभिङका सेन्टर स्थापित छन् । यसका गुरु रबिशंकर हुन् । पोखरामा मात्र करिब १८००० जनाले आर्ट अफ लिभिङको कोर्ष लिइसकेका छन् । हालैमात्र आर्ट अफ लिभिङ पोखराले अध्यात्म, उद्यमशिलता र गतिशिलता विषयक ४ दिने यूवा परियोजना सञ्चालन गरिसकेको संयोजक विश्वमोहन अधिकारीले बताएका छन् ।

कलंकी मालपोत कार्यालय नमूना घोषणा, लिन चाहेको सेवाबारे घरैमा बसेर जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका-१४ कलङ्कीस्थित मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा गरेका छन् । अपाङ्गमैत्री उक्त कार्यालयमा सहयोगी कक्ष, सेवा केन्द्र, टोकन प्रणाली, सेवाग्राहीले लिन चाहेको कामका बारे घरैमा बसेर जानकारी प्राप्त गर्न सकिनेलगायत व्यवस्था छ । कार्यालयमा गरिएका काममाथि भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्रालयमा बसेर अनुगमनसमेत गर्न सकिने छ । आज आयोजित घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले विकास र सेवाका कार्यमा प्रविधिको अधिकतम उपयोग गरी सेवाग्राहीलाई छिटोछरितो सेवा दिने नीति सरकारले लिएको बताउँदै मुलुकलाई समृद्ध बनाउन भूमिमा आधुनिकीकरण तथा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए । जनताको सहजतालाई ध्यान दिन निर्देशन दिँदै उनले भने,“प्रविधिले सेवामा सहज, सुगम, पारदर्शिता ल्याउँछ, यसले उत्पादकत्व वृद्धि गर्छ, कृषि, औद्योगिकलगायत क्षेत्रमा यसको समुचित प्रयोग गरिनुपर्छ । जैविक विविधताले भरिपूर्ण मुलुकमा प्रकृतिले उपलब्ध गराएका हिमाल, तालतलैया, नदी, झरनालगायत स्रोतसाधनलाई उपयोग गरी देश विकास गर्न सकिने उनको भनाई थियो । सरकारले आगामी वर्ष सन् २०२० मा २० लाख पर्यटक पुर्याउन भ्रमण वर्षसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको बताउँदै आफूले फ्रान्स भ्रमणका समयमा यसबारे प्रचार गरेको जानकारी गराए । सो अवसरमा भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सरकारले जनताको सम्पत्तिलाई रक्षा गर्ने उद्देश्यले भूमि प्रशासनमा जग्गाका स्रेस्तालाई डिजिटलाइज्ड गरेको बताउँदै उक्त प्रणालीलाई आगामी दुई वर्षभित्र स्थानीय तहमा हस्तान्तरण गरिने जानकारी दिए । उनले जनताका काम परिरहने मन्त्रालय मातहतका सबै कार्यालयमा पारदर्शी रुपमा चाँडो काम हुने खालको परिवर्तन सेवाग्राहीले चाहेको बताए । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मालपोत कार्यालयमा सेवाग्राहीलाई सबै सुविधा एकद्वार प्रणालीअन्तर्गत उपलब्ध गराउन आजदेखि नमूना कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिए । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि भुर्तेलले अनलाइन सेवा प्रारम्भ भएपछि सेवाग्राही लाभान्वित भएको बताउँदै अहिले राजश्व सङ्कलनमा देखिएको वृद्धिले चालु आवमा ४० अर्ब राजश्वको प्रक्षेपण गरिएको जानकारी दिए ।

कञ्चनपुरको महेन्द्रनगरमा महिला क्रिकेट शुरु : पहिलो खेलमा सुदूरपश्चिम विजयी

काठमाडाैं । कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा बुधबारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका शिला रेग्मीले १९ र सुशिला गुरुङले १७ रन बनाए । सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान दुई विकेट तथा कविता जोशीले एक विकेट लिएका थिए  भने तीन खेलाडी रन आउट भएका छन् । लक्ष्य पूरा गर्न ब्याटिङमा उत्रेको सुदूरपश्चिमले एक विकेट गुमाएर निर्धारित २० ओभरको खेलमा सात ओभरमै लक्ष्य भेटाएको थियो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाएका थिए । गण्डकीका तर्फबाट मनिषा उपाध्यायले  एक विकेट लिएकी थिइन् भने खेलको म्यान अफ दी म्याच कविता कुँवरलाई घोषित गरियो । रासस

बिपी राजमार्गका होटलमा खाद्य स्वच्छता स्टिकर टाँसियाे,अधिकांशले पाए पहेँलो रङको स्टिकर

काठमाडाैं । बिपी राजमार्गअन्तर्गत सिन्धुली सडकखण्डको चियाबारी, खुर्कोटका होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसेको हो । राजमार्ग भएर सवारी भित्रने र बाहिरिनेको सङ्ख्या बढेसँगै अस्वस्थ प्रतिस्पर्धामा होटल खुल्ने क्रम बढ्दै जाँदा उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै खाद्य स्वच्छता स्टिकर टाँसिएको हो । स्टिकरमा थोरैले मात्र खाद्य स्वच्छतामा राम्रो अङ्क प्राप्त गर्दै उक्त स्टिकर पाएका छन् । अधिकांश होटलले भने पहेँलो रङको स्टिकर पाएका छन् । डिभिजन कार्यालय सिन्धुलीले चियाबारीका २१ र खुर्कोटका २५ वटा होटलमा अहिलेसम्म खाद्य स्वच्छता स्टिकर टाँसेको कार्यालय प्रमुख प्रेम अर्यालले जानकारी दिएका छन् । पटक पटकको अनुगमन पछि खाद्य स्वच्छता स्टिकर टाँसिएको हो । उनले भने, “सिन्धुली चियाबारीका २१ होटलले पहेँलो स्टिकर पाएका छन्, जुन होटलमा लगाइएको स्टिकरले खाद्य स्वच्छताको दृष्टिकोणले सरसफाइ र होटलको व्यवस्थापनमा कमी भन्ने अर्थ लगाउँछ, हरियो रङको स्टिकर पाउने होटलमा उपभोक्ताले निर्धक्क खान सक्छन् ।” खुर्कोटमा होटलको अनुगमन गर्दा २५ होटलमा स्टिकर टाँसिएको र १५ वटा दर्ता बिना सञ्चालनमा रहेको पाइएको थियो । अब १५ वटा होटलमा स्टिकर टाँस्न बाँकी छ । “खुर्कोटका होटलमा भने पहिलाको अवस्थाभन्दा अहिले उल्लेख्य सुधार आएको पाएका छौँ”, कार्यालय प्रमुख अर्यालले भने । यसैगरी, खुर्कोटमा सात होटलले दुई स्टार भएको हरियो, १० वटाले एउटा स्टार भएको हरियो र आठ वटा होटलले पहेँलो रङको स्टिकर पाएका छन् । तीनवटा हरियो स्टिकर खाद्य स्वच्छताको स्तरमा क–अति उत्तम, ख–उत्तम, ग–सन्तोषजनक र पहेँलो रङको घ– सामान्य स्टिकर हुन् । तीनवटा हरियो स्टिकर रहेका होटलमा खाना निर्धक्कसाथ खान सकिने र पहेँलोमा खाना खान सोचेर मात्र खानुपर्ने भन्ने जनाउँछ । स्टिकर टाँस गर्न होटलको स्तरीकरण ५० वटा सूचकका आधारमा तयार गरिएको छ । डिभिजन कार्यालयले होटल स्तरीकरणसम्बन्धी निर्देशिका २०७४ बमोजिम गरेको मूल्याङ्कनमा होटलले सरसफाइ र खाद्य स्वच्छतामा सुधार गर्नुपर्ने देखिएको बताइएको छ । मूलकोट र भिमानलगायत अन्य क्षेत्रका होटलमा स्टिकर टाँस्ने जनाइएको छ । होटल व्यवसायी सङ्घ सिन्धुलीका अध्यक्ष अमृतबहादुर श्रेष्ठको संयोजकत्वमा जेठ १ गते खाद्य स्वच्छतास्तरीकरण समिति गठन गरिएको थियो । समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग विकास समिति सिन्धुली, स्थानीय जनप्रतिनिधि सदस्य र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली सदस्य सचिव छन् । सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले होटलमा स्टिकर टाँस गर्दै स्तर सुधार गर्न आग्रह गरेका छन् । मापदण्डमा सञ्चालन नभएका होटललाई स्तर सुधार गर्न केही समय दिइने र त्यसपछि पनि सुधार नगरे कारवाही गर्ने उनले बताएका छन् । पछिल्लो समयमा राजमार्गको विस्तारसँगै सवारीको चाप बढ्दै जाँदा दिन प्रतिदिन होटलको सङ्ख्यामा वृद्धि भएको र गुणस्तरहीन खाना, खाजा खुवाएको भन्ने गुनासो आएकाले विभिन्न निकायसँग सहकार्य गरेर अनुगमन गरिएको उनको भनाइ थियो । होटल व्यवसायी सङ्घ सिन्धुलीका अध्यक्ष श्रेष्ठले होटल व्यवसायीको हितका लागि होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएको बताएका हुन् । व्यवसाय सञ्चालन गर्दै गर्दा नियममा रहेर गर्नुपर्ने भन्दै उनले व्यवसायीले गुणस्तरीय व्यवसायको सन्दर्भमा काम गर्न आग्रह गर्दै कम्तीमा पनि खाद्य स्वच्छताको मापदण्ड पूरा गर्न व्यवसायीलाई आग्रह गरेका छन् । रासस