विकासन्युज

कोपा अमेरिका कपबाट अर्जेन्टिना आउट !

काठमाडौं । कोपा अमेरिका कपबाट अर्जेन्टिना आउट हुने संघारमा पुगेको छ । कोलम्बीयासँग पराजित भएको अर्जेन्टिनाले पाराग्वेसँग बराबरी खेलेको छ । सुरुमै एक गोलले पछि परेको अर्जेन्टिनाले मेस्सीको पेनाल्टीबाट बराबरी खेलेको हो । ३७ औं मिनेटमा गोल खान पुगेको अर्जेन्टिनालाई ५७ औं मिनेटमा पाएको पेनाल्टीले हारबाट जोगाएको हो । हारबाट जोगिए पनि अर्जेन्टिनाको कोपा अमेरिका कपको यात्रा भने कठिन बनेको छ । ग्रुप बीमा रहेको अर्जेन्टिनाको १ अंक रहेको छ भने पहिलो स्थानमा रहेको कोलम्बीयाको ६ अंक छ । दोश्रो स्थानमा रहेको पाराग्वेको २ अंक छ । अब अर्जेन्टिनाले कतारमाथी स्पष्ट जित निकाले मात्रै अघिल्लो चरण प्रवेशको सम्भवना रहनेछ ।

तीन मन्त्रीकाे राजीनामा नआई गुठी आन्दाेलन नराेकिने, विधेयक फिर्ता लिन सरकार उदासिन

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको ठुठी ऐनविरुद्धको आन्दोलन नरोकिने भएको छ । राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिले जारी आन्दोलनलाई नरोक्न जनाएको हो । समितिले उक्त विधेयक ल्याउने भूमिसुधारमन्त्री पद्मा अर्याल, गुठी विधेयकविरुद्धको आन्दोलनमा दमन गर्न लगाउने गृहमन्त्री रामबहादुर थापा र गुठीयारहरुलाई सामन्ती भन्ने सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामाको माग गरिएको छ । सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लिने हिजो बताए पनि अहिलेसम्म त्यसको लागि कुनै प्रक्रिया अघि बढाएको छैन । प्रचलित कानून र संघीय संसदको कार्यसञ्चालन नियमावली अनुसार पेश भएको विधेयक फिर्ता लिन मन्त्रीपरिषद्ले प्रस्ताव पेश गरी त्यसलाई संघीय संसदको दुवै सदनको बहुमतले अनुमोदन गर्नुपर्छ । बुधबार घाेषणा गरिएकाे सम्भावित आन्दाेलन टार्न भूमिसुधारमन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ताकाे घाेषणा गरेकी थिइन् तर त्यसकाे केही समयपछि पत्रकार सम्मेलन गरेका प्रधानमन्त्रीले साे समाचार आफुले पनि मिडियाबाट थाहा पाएकाे भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए ।

१० महिनामा ८ खर्ब २६ अर्ब रेमिट्यान्स भित्रियो, हिमाल महङ्गो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारबाट आठ खर्ब २६ अर्ब रेमिट्यान्स भित्रिएको छ । यो अवधिमा नेपाल भित्रिएको रेमिट्यान्स गएको आवको सोही अवधिकोभन्दा १९.४ प्रतिशत हो । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आवको खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.७ प्रतिशत रहेको छ भने हिमाल सबैभन्दा मह्गो भएको छ । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ । चालु आवको यस अवधिमा देशको व्यापार घाटा १० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा ११ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु तथा सेवा नेपाल भित्रिएका छन् भने ७८ अर्ब ५३ करोडको निर्यात भएको छ । यस अवधिमा चालु खाता घाटा विस्तार भएर दुई खर्ब २१ अर्ब पुगेको छ । गत आवको सो अवधिमा यस्तो घाटा एक ९२ अर्ब रहेको थियो । १० महिनाको यो अवधिमा मुलुकको शोधनान्तर स्थिति ६८ अर्ब २० करोड घाटामा रहेको छ । गएको आवको शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रहेको थियो ।

त्रिविका सहायक डिन ५० हजार घुससहित पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान संकायका सहायक डिन ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक डिन प्राध्यापक डाक्टर शम्भु प्रसाद पटेललाई ५० हजार घुसहित पक्राउ गरेको हो । कलेजको सम्बन्धन नवीकरण गराईदिने भन्दै सेवाग्राहीसँग ५० हजार घुस लिँदै गर्दा आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको होे । सहायक डिनलाई किर्तिपुर ट्यङ्लाफांट स्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

नक्कली प्रमाण पत्र पेश गरेर जागिर खाएको आरोपमा पूर्व सई मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालय, नक्साल (विशेष व्यूरो)मा कार्यरत पूर्व प्रहरी नायव निरीक्षक सरोज क्षेत्रीलाई नक्कली प्रमाण पत्र पेश गरेर जागिर खाएको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले क्षेत्रीले प्रहरी नायव निरीक्षक सरोज क्षेत्री केसीले माध्यमिक शिक्षा परिषद, हरिश्चन्द्र इन्टर कलेज, वरहज, देवारिया, उत्तरप्रदेश भारतबाट प्राईभेट आइकम पास गरेको नक्कली एवम् झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिई प्रहरी नायव निरीक्षक समेतको ओहदामा बढुवा भएको पुष्टि हुन आएको हुँदा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।

ट्रेड युनियनद्वारा प्राधिकरणमा तालाबन्दी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । कर्मचारी सरुवाको विषयलाई लिएर राष्ट्रिय कर्मचारी युनियनअन्तर्गतका कर्मचारीले कर्मचारी प्रशासन महाशाखा प्रमुख डोलनाथ कँडेल र कर्मचारी प्रशासन शाखा प्रमुख जमुना खड्काको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । प्राधिकरणले हालै एक हजार पाँच सय ७४ कर्मचारीको सरुवा गरेको छ । त्यही सरुवाको विषयलाई लिएर कर्मचारीहरुले तालाबन्दी गरेका हुन् । युनियनले आफुले सिफारिस गरेअनुसार कर्मचारीको सरुवा नगरेको भन्दै तालाबन्दी गरिएको हो । विगतमा आधिकारिक युनियनको चुनावका बेलामा गरिएको सहमतिअनुसार तीन वर्षभन्दा लामो समयदेखि सरुवा हुन नपाएका कर्मचारीलाई कार्यविधि संशोधन गरी कर्मचारीहरुलाई सरुवा गर्नुपर्नेमा यसका विपरित अपायक हुनेगरी सरुवा गरिएको आन्दोलनरत कर्मचारीको भनाइ छ । समस्या समाधानको लागि पाँच सदस्यीय कमिटी गठन गरिएको छ । मंगलबार कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशक शान्तीलक्ष्मी शाक्य र आधिकारिक ट्रेड युनियनका संयोजक रामेश्वर पौडेल सहितको छलफलपछि पाँच सदस्यीय कमिटी गठन गरिएको हो । पछिल्लो समय देखिएको विवाद तीन दिनभित्र सल्टाउने कार्यदेश कमिटीले पाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे प्रालिबीच सम्झौता

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्पारो पे प्रालिबीच खल्ती (डिजिटल वालेट) सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीचको सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र स्पारो कम्पनीको तर्फबाट उक्त कम्पनीका निर्देशक धु्रब अधिकारीले हस्ताक्षर गरे । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु जस्तै मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स आदि सुविधाहरु दिंदै आएकोमा हाल निकै प्रचलनमा रहेको पेमेन्ट गेटवे खल्तीसंग सम्झौता गरेको छ । यो सुविधा अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम खल्तीमा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सकिन्छ । यो सेवालाई सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुका काउन्टरबाट डिपोजिट फर्म भरेर पनि यो सुविधा उपयोग गर्न सकिन्छ ।

फेरी राष्ट्रपति बन्न ट्रम्पले शुरु गरे प्रचार अभियान

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन प्रचारप्रसार अभियान औपचारिक रुपमा शुरु गरेका छन् । आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान उनले मङ्गलबार राति फ्लोरिडाको ओल्र्याण्डोबाट शुरु गरेका हुन् । ओल्र्याण्डोमा आयोजित र्यालीलाई सम्बोधन गर्दै उनले भने, “मैले अमेरिकाको राष्ट्रपतिमा अर्को एक पटक निर्वाचित हुनका लागि आजदेखि औपचारिक रुपमा प्रचार अभियान शुरु गरेको छु ।” सम्बोधनका क्रममा उनले फ्लोरिडा राज्य आफ्नो “दोस्रो घर” भएको बताउँदै समर्थकहरूलाई अर्को चार वर्षका लागि “एक ढिक्का रहन” आग्रह पनि गरे । बलियो अर्थतन्त्र र आप्रवासीबारे कडा नीतिका कारण आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी गर्दै उनले आफू सधैँ अमेरिकी जनतालाई प्राथमिकता दिने पक्षमा रहेको बताए । थप चार वर्षको कार्यकालका लागि राष्ट्रपति बन्न खोजेका ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरुको चर्को आलोचना गरे । प्रारम्भिक मत सर्वेक्षणले डेमोक्र्याटिक तर्फका सम्भावित उम्मेदवारभन्दा उनी पछाडि रहेको देखाएकाले ट्रम्प उनीहरुप्रति थप आक्रोशित भएको बताइएको छ । सन् २०१६ को चुनावमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५औँ राष्ट्रपति बन्नु भएको थियो । अहिले शुरु भएको चुनावी र्यालीमा प्रथम महिला मेलानिया ट्रम्प पनि सहभागी भएका थिए । रासस/सिन्ह्वा