विकासन्युज

एनआईसी एशियाका ग्राहकलाई सीपी हस्पिटल धनगढीमा २० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सीपी हस्पिटल, प्रालि धनगढी चटकपुरबीच सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई सीपी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सीपी हस्पिटलको तर्फबाट हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरेका हुन् ।

बीओके क्यापिटलले शुरु गर्यो पोर्टफोलियो ब्यवस्थापन सेवा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त बीओके क्यापिटल मार्केट लिमिटेडले सेवाग्राहीको लगानीलाई व्यवस्थापन गर्नको लागि पोर्टफोलियो ब्यवस्थापन(पीएमएस) सम्बन्धी कार्य शुरु गरेको छ । मंगलबारबाट सञ्चालन गरेको पीएमएसबाट आफूसँग भएको पूँजी लगानी गर्न पर्याप्त समय तथा पूर्ण दक्षताको कमी महशुस भएको कारण कम्पनीका दक्ष अनुभवी व्यक्तिहरुबाट सेवाग्राहीले सहजै सेवा लिन सक्ने छन् । लगानीकर्ताको आवश्यकतालाई मध्य नजर गरी पोर्टफोलियो व्यवस्थापन(पीएमएस) अन्तरगत स्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा गैर स्वच्छिक लगानी व्यवस्थापन सेवा गरी २ प्रकारका सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीले धितोपत्र बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार, निक्षेप सदस्य र सेयर प्रत्याभूतिकर्ताका सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

शेयर बजारमा सामान्य सुधार, एनसीसी बैंकको सबैभन्दा बढी कारोबार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९६ बिन्दुले बढेर एक हजार २६१.०७ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४ बिन्दुले बढेर २७१.४४ मा पुगेको छ । सामान्य अङ्कले बढेको बजारमा आज कारोवार रकम भने सामान्य देखिएको छ । कूल १७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता शेयर रु ३६ करोड ४७ लाख ७३ हजार ३३० बराबरको खरीद–बिक्री भए । स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज ६ उपसमूहको शेयर बढेको छ भने ६ उपसमूहको शेयर भने घटेको छ । बैंकिङ १.३९, जलविद्युत् १.०२, निर्जीवन बीमा ५.३१, उत्पादन १९.९५, लघुवित्त २.२३ र जीवन बीमा ०.३ अङ्कले बढेको छ । यस्तै व्यापार २.६२, होटल २१.२५, विकास बैंक ०.५२, वित्त ०.७ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ । स्टकका अनुसार आज कारोबारका आधारमा एनसीसी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ५३ लाख ८४ हजार ७१६ बराबरको कारोबार भयो । त्यस्तै प्रभु बैंकको रु दुई करोड २८ लाख ८२ हजार ८४४, शिवम् सिमेन्ट रु एक करोड ९१ लाख ९२ हजार ३०९, नेपाल बैंक लिमिटेड रु एक करोड ७९ लाख ४० हजार २४२, सिद्धार्थ बैंक रु एक करोड ३६ लाख ९५ हजार ३११, र मुक्तिनाथ विकास बैंकको रु एक करोड ३६ लाख बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.९२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ७.५६, लक्ष्मी लघुवित्त वित्तीय संस्था ४.१५ र युनिलिभर नेपालका लगानीकर्ताले ४.०३ प्रतिशतले कमाए । यस्तै मल्टिपर्पोज फाइनान्स कम्पनी ९.६६, राधी विद्युत् कम्पनी ५.५९, गुराँस लघुवित्त वित्तीय संस्था ४.७६, अरुण काबेली पावर ४.२१ र मुक्तिनाथ विकास बैंकका शेयरधनीले ३.५ प्रतिशतले गुमाए ।

भारतीय पक्ष विद्युत खरिद गर्न तयार, इप्पान भन्छ-‘सरकारले छलफल अघि बढाओस्’

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)ले नेपालका निजी क्षेत्रका उर्जा उत्पादकहरुसँग ६०० मेगावाट बिद्युत खरिद गर्न भारतीय पक्ष तयार भएको जनाएको छ । इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँको नेतृत्वमा १० सदस्यीय प्रतिनिधि मण्डल असार ३ गतेदेखि ५ गतेसम्म क्षेत्रीय उर्जा ब्यापारको संभावना तथा कार्यान्वयन बारे छलफल तथा अन्तरक्रिया गर्न भारत भ्रमणमा गएको थियो । भ्रमणको सिलासिलामा प्रतिनिधि मण्डलले भारतको विद्युत मन्त्रालय, सेन्ट्रल केन्द्रीय विद्युत प्राधिकरण लगायत उर्जा क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग भेटघाट तथा अन्तरक्रिया गरेको थियो । सो क्रममा भारतमा तत्कालै ६०० मेगावाट बिजुली बिक्री गर्न सकिने संभावना रहेको इप्पानका अध्यक्ष गुरागाईँले बताए । भारत भ्रमण र त्यहाँ नेपाली विद्युतको बजारका बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरिएको हो । सो अवसरमा इप्पानका उपाध्यक्ष कुमार पाण्डेले केही समयपछि नेपालमा पर्याप्त मात्रामा बिद्युत उत्पादन हुने र देशभित्रको माग भन्दा बढी उत्पादन हुने बताए । त्यसकारण भारतमा बिद्युत बिक्री गर्नका लागि पावर पर्चेज एग्रिमेन्ट(पीपीए) गर्नका लागि सरकारसँग स्वीकृतिको उनले माग गरे । विद्युतमा गरिएको निजी क्षेत्रको लगानीलाई जोगाउन समेत पीपीए गर्नु जरुरी रहेको उपाध्यक्ष पाण्डेको भनाई थियो । निजी क्षेत्रका लगानीकर्ताले उत्पादन गरेको विद्युतको बजार सरकारले खोज्नु पर्नेमा निजी क्षेत्र आफैंले बजार खोजेका छन्, यसमा सरकारले सहयोग गर्नु पर्छ-उपाध्यक्ष पाण्डले भने । यसका लागि नेपाल सरकारले भारतसँग थप छलफल गरोस् भन्ने हाम्रो माग हो–उनको भनाई थियो । भारतीय पक्षले पनि नेपाली निजी प्रवद्र्धकले विगतका केही वर्षमा हासिल गरेको प्रगतिप्रति उत्साहित हुँदै अध्ययन तथा विकास गरिरहेका १८ हजार मेगावाट क्षमताका आयोजनाप्रति चासो देखाएको अध्यक्ष गुरागाईँले बताए । पत्रकार सम्मेलन मार्फत इप्पानले सरकार समक्ष ६ बुँदे आग्रह गरेको छ ।

काठमाडौँ महानगरले ल्यायो १५ अर्ब ५० करोडको बजेट, पूर्वाधार सुधारमा ७ अर्ब ४३ करोड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार काठमाडौँ महानगरको पाँचौँ नगरसभामा  बजेट प्रस्तुत गरिएको हो । पूँजीगत सम्पत्ति खर्च १ अर्ब ५५ करोड ३४ लाख, तलब, पारिश्रमिक, सुबिधा खर्च १ अर्ब ४१ करोड ५ लाख, कार्यालय सञ्चालन खर्च ५९ करोड ४३ लाख ५० हजार, पूर्वाधार सुधार तथा अन्य विकास खर्च ७ अर्ब ४३ करोड, ९७ लाख ९२ हजार, नेपाल सरकार सशर्त अनुदानबाट पूँजीगत खर्च ३ अर्ब ३८ करोड ६ लाख, र जग्गा एकीकरण आयोजनाबाट १ अर्ब १२ करोड ८२ लाख ७० हजारको बजेट प्रस्तुत भएको हो ।

अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै निगम

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने भएको छ । निगमले भारतको नयाँ दिल्लीमा तीन र दुबई गन्तव्यमा एक उडान बढाउन लागेको जनाएको हो । अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै लैजाने प्रयासअनुरुप दुई गन्तव्यमा उडान वृद्धि गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनका अनुसार निगमका जहाजको उपयोगिता बढाउन तथा उपलब्ध पाइलटबाट बढीभन्दा बढी उडान गर्ने योजनाअनुरुप हाललाई दिल्ली र दुबई उडान थप गरिएको छ । ती गन्तव्यमा उडान थपका लागि विमानस्थलबाट ‘स्लट’ पनि प्राप्त भइसकेको छ । निगमले ‘वाइडबडी’ जहाज र ‘न्यारोबडी’ जहाजमार्फत काठमाडौँ–दिल्ली गन्तव्यमा समान सात उडान गर्नेछ । यसअघि दिल्ली गन्तव्यमा हरेक साता ११ उडान भइरहेकामा हाल १४ पुर्याएको छ । यो गन्तव्यमा साताको २१ उडान भर्ने निगमको योजना छ । यस्तै दुबईमा हरेक साता तीन उडान गरिँदै आएकामा एक उडान थप गरी चार उडान पुर्याइएको छ । निगमले आन्तरिक उडानमा पूर्ण क्षमताका साथ जहाज उडाउनका लागि विमान चालकको तालिम सञ्चालन गर्न संस्थागत कार्य अघि बढाइएको जनाएको छ । वाइ–१२ जहाज उडान गर्न दुई जना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालिम सम्पन्न गरी जहाज सञ्चालन गर्नेतर्फ निगम सक्रिय रहेको विज्ञप्तिमार्फत जनाएको छ । निगमको ट्विनअटर जहाज सञ्चालन गर्ने आवश्यक जनशक्ति व्यवस्था गर्दै जाने योजनाअनुरुप हाल एक जना वरिष्ठ क्याप्टेन नियुक्त गरी तालिम गरिरहेको, साथै दुई वर्षदेखि रोकिएको को–पाइलटको तालिम सञ्चालन गराई एक जनाको तालिम सम्पन्न गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स प्राप्तिको प्रक्रियामा रहेको जनाएको छ । आगामी साउन मसान्तभित्र सम्पन्न गर्ने गरी बाँकी तीन जनाको पनि तालिम सञ्चालन भइरहेको छ । अन्तर्राष्ट्रिय कम्पनी विसिटीले गरिरहेको विमान मर्मतसम्भार कार्य जुलाई महिनादेखि निगमका इञ्जिनीयरबाट गर्ने प्रक्रिया अगाडि बढाइएको छ । यसबाट निगमको मासिक रु ६० लाख बचत हुने निगमले जनाएको छ । निगमले गत जेठ महिनामा कन्टिन्युइङ एयरवर्डिनेश म्यानेजमेन्ट विभागले (आइएसओ ९००१ः२०१५०) को सफल अडिट गराई प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ । भूमिस्त व्यवस्थापन (ग्राउण्ड ह्याण्डलिङ) तर्फ आयटाले गरेको परीक्षण (आइसागो) नवीकरण गरी प्रमाणपत्र प्राप्त गरेकाले यसबाट अन्तर्राष्ट्रियस्तरको उडान सुरक्षाको सुनिश्चितता हुने निगमले दाबी गरेको छ । निगमले दुई वाइडबडी, दुई न्यारो बडी र एक बोइङमार्फत विभिन्न मुलुकका आठ गन्तव्यमा उडान भर्दै आएको छ । रासस

दीगाे शहरी विकासमा केन्द्रित ललितपुर महानगर, के के छन् याेजना ?

ललितपुर । खैरो कोटसहित नेपाली राष्ट्रिय पोशाकमा उपस्थित भएका नगरसभा सदस्यहरुमाझ संघीय सरकारका मन्त्री, संघीय तथा प्रदेश सांसदलाई साक्षी राखेर ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ललितपुर महानगर क्षेत्रलाई दिगो विकाससहित स्वस्थ र समुन्नत सांस्कृतिक शहर बनाउने लक्ष्य लिएका छन् । उनले महानगरले ‘ललितपुर नगर स्वस्थ समुन्नत सांस्कृतिक शहर’ भन्ने दीर्घकालीन सोचसहित महानगर अघि बढेको समेत बताए । अगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत र बजेटमार्फत् ललितपुर महानगरपालिकाले मूलभुत रुपमा नगरपालिकाको सार्वजनिक सेवा प्रवाहमा सुशासन, पारदर्शिता र जवाफदेहीतालाई आगामी वर्षको प्रमुख लक्ष्य बनाएको छ । त्यस्काहेक रोजगारमुखी विकास, शहरी पूर्वाधार निर्माण सम्पदा संरक्षण, पर्यटन विकास, वातावरण संरक्षण, सामाजिक समानता र समावेशीकरण, माननव संशासन विकास, गरिबी न्यूनीकरणलाई बढी प्राथमिकता दिनेगरी नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । पूर्वाधार निर्माणका लागि महानगरले पूर्वाधार विकास अवधारणा निर्माण गरी सोहीअनुसार सडक र ढल निर्माण गर्ने जनाएको छ । त्यस्तै महानगर क्षेत्रभित्रको सडक ढल खानेपानी, भवन तथा पार्क निर्माणका लागि बहुवर्षीय योजना कार्यान्वयनका लागि रणनीतिक आवधिक योजना तयार गरिने उल्लेख गरिएको छ । ललितपुरले एक वडामा कम्तीमा पनि एउटा पार्क र सार्वजनिक शौचालय बनाउने व्यवस्था गर्ने र ५० लाखसम्मको लागत साझेदारीमा शौचालय बनाई १० वर्षसम्म सञ्चालन गर्नेगरी सम्बन्धित वडाले सम्झौता गर्नसक्ने व्यवस्था समेत गरेको छ । त्यस्तै, खानेपानी, ढल  र विद्युत् पोलहरुको पूर्वाधार पूरा भएका सडकहरुलाई पिच गर्दैजाने र एकपटक पिच भएका सडक २ वर्षसम्म भत्काउन नदिने व्यवस्था समेत महानगरले गर्ने भएको छ । महानगरले वातावरण सम्पदा संरक्षण गर्न भन्दै ४ मिटर भन्दा कम चौडा भएका स्थानमा ढलान नगर्ने बरु इँटा र ढुङ्गाको ब्लक छाप्ने व्यवस्था गर्ने भएको छ । त्यस्तै, पुरातात्विक सम्पदाहरुलाई ताररहित बनाउन सम्बन्धित संस्थाहरुसँग समन्वय गर्ने लक्ष्य समेत लिइएको छ । त्यस्तै, २४ नम्बर वडामा महानगरीय सभागृह, २७ नम्बर वडामा महानगरीय अस्पताल, महानगरीय व्यवसायिक शिक्षालय, तथा खेलकुद मैदानसमेत बनाउने, प्रत्येक ठूला सडकहरुमा साइकल लेन बनाउने, ठूला बसहर र विद्युतीय बसहरुलाई प्राथमिकता दिने लक्ष्य लिएको छ । महानगरका सबै सेवाहरुलाई छिटो गर्न भन्दै महानगरले विद्युतीय प्रणालीलाई विशेष महत्व दिएको छ जसअन्तर्गत सबै सेवाहरुको बारेमा मोबाइल एपमार्फत् जानकारी दिने, नक्सापास, बोलपत्र लगायतलाई विद्युतीय माध्यमबाट गर्ने, इमिडिया सचेतना कार्यक्रम गर्ने लगायतका कार्यक्रम छन् । नक्सापास भएको २ वर्षभित्र पनि भवन निर्माण सम्पन्न नभएका वा महानगरको सम्पर्कमा नआएकाको नक्सापास खारेज गर्ने, नक्सापास नगरी बनेका घरहरुलाई करको दायरामा ल्याउने व्यवस्था गर्ने योजना समेत महानगरको छ । रोजगारी अभिवृद्धि गर्ने भन्दै महानगरले महानगरले एक घर एक उद्यम नारासहित रोजगारी अभिवृद्धिमा जोड दिने भएको छ यसका लागि महिला र युवालक्षित स्वरोजगार कार्यक्रमलाई प्रभापकारी बनाइने नीति लिने लक्ष्य लिइएको छ । त्यस्तै कृषिमा आश्रितहरुलाई सहयोग पुग्नेगरी कृषि सूचना केन्द्र अद्यावधि गर्ने, अत्याधुनिक प्रविधिको प्रयोगमार्फत खेती गर्न प्रोत्साहित गर्ने, टनेल खेतीमा प्रोत्साहन तथा उच्च मूल्ययुक्त उत्पादनमा जोड दिने, बीउ एटीएम प्रविधिलाई प्रवद्र्धन गर्ने नीति समेत लिएको छ । कर तिर्नेलाई प्रोत्साहन, छल्नेको सुविधा कटौती महानगरले करको दायरामा नआएकाहरुलाई दायरामा ल्याइ नियमित रुपमा कर तिर्ने व्यवस्था गर्नेगरी राजश्व नीति ल्याउने भएको छ । त्यसका लागि कर तिर्न अटेरी गर्ने, झुटो विवरण पेश गरी कर छल्नेहरुलाई कारबाही गरी महानगरले दिने सेवा कटौती गर्दैजाने नीति समेत लिइएको छ । त्यसका लागि अन्य सुविधाहरु लिँदा सम्पत्ति कर चुक्ता प्रामाणपत्र अनिवार्य गर्ने व्यवस्था गर्न प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गर्ने समेत लक्ष्य लिइएको छ । पहिलोपटक करको दायरामा आउन चाहनेलाई आफ्नो सम्पत्तिको स्वघोषणा गरी कर तिर्ने छुटछ दिने, वडाबाट कुनै सफिारिस दिँदा करचुक्ता गरेको प्रमाणपत्र पेश गरे १५ प्रतिशत छुट दिने, नक्सा पासविना घरको तल्ला थप्नेलाई पछि नक्सापास गर्दा सामान्य भन्दा तेब्बर शुल्क लिने व्यवस्था समेत गरेको छ । महानगगर क्षेत्रभित्रका भूकम्पपीडित लाभग्राही सूचीमा रहेकाहरुको घरको नक्सापास भने महानगरले एकपटकका लागि नि:शुल्क गरिदिनेछ ।

ललितपुर महानगरले ल्यायो ५ अर्ब १७ करोडको बजेट, पूर्वाधार विकासमा २ अर्ब

ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि ५ अर्ब १७ करोडको बजेट ल्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित तथा ललितपुर महानगर क्षेत्रबाट संघीय र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुकाे समेत उपस्थितिमा लितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले साे आकारबाे बजेट ल्याएका हुन् । मेयर महर्जनले आगामी आवका लागि कुल ५ अर्ब १७ करोड ९६ लाख ३२ हजार रुपैंयाको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा २१.७४ प्रतिशत चालु खर्च, ४९.५४ प्रतिशत पुँजीगत खर्च, ८.८८ प्रतिशत सामाजिक सुरक्षा खर्च र १९.८४ प्रतिशत अन्य साझेदारी कार्यक्रममा खर्च गर्ने प्रस्ताव गरिएको छ । महानगरले प्रस्ताव गरेको उक्त बजेटमा आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट २ अर्ब ६५ करोड उठाउने लक्ष्य लिएको छ । त्यस्तै नेपाल सरकारबाट सशर्त र समपुरक समेत गरी प्राप्त गरेको ९८ करोड ४६ लाख रुपैंया, प्रदेश सरकारबाट प्राप्त गरेको १२ करोड ३३ लाख रुपैंयाँ, विभिन्न साझेदारी कार्यक्रमका लागि अन्य दातृ निकायहरुमार्फत् ३८ करोड ५२ लाख रुपैंया तथा अन्य ४३ अर्ब अनुदान र अघिल्लो आर्थिक वर्षको बचत रकम ६० करोड रुपैंया समेत गरी उक्त आकारको बजेटको स्रोत प्रस्ताव गरेको हो । महानगरले आन्तरिक स्रोतबाट संकलन गरेको रकममध्ये ७६ करोड ९६ लाख रुपैंया प्रशासनिक खर्चमा विनियोजन गरेको छ । त्यस्तै, आर्थिक विकास शीर्षकमा ६ करोड ३२ लाख, सामाजिक विकासमा १० करोड ३० लाख, पूर्वाधार विकासमा १ अर्ब ४९ करोड ९५ लाख फोहो व्यवस्थापनका १ करोढ ५ लाख, वातावरण तथा विपद व्यवस्थापनमा १५ करोड ५० लाख, संस्थागत विकासमा २ करोड २५ लाख पुँजी निर्माणमा ६ करोड १० लाख र अन्य शीर्षकमा ६ करोड ६० लाख रुपैंया विनियोजन गरेको छ । त्यस्तै, नेपाल सरकारबाट प्राप्त गरेको ९८ करोड ४६ लाखमध्ये सशर्त अनुदानअन्तर्गतको ४३ करोड ६० लाख शिक्षा र स्वास्थ्या क्षेत्रको तलब भत्तामा, ८ करोड ६१ लाख स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा, ४६करोड सामाजिक सुरक्षा भत्ताको लागि र २५ लाख पर्यटन संस्कृति शीर्षकमा खर्च गरेको छ । त्यस्तै, साझेदारी कार्यक्रमअन्तर्गत रुहेको ३८ करोड ५२ लाख रुपैंया सडक बोर्ड, वृद्धाश्रम निर्माणका लागि भारत सरकारबाट पाएको अनुदान, निजी क्षेत्र सामाजिक उत्तरदायित्व, भवन निर्माण दानेपानी परियोजनाका लागि केयुकेएलसँगको साझेदारी लगायतमा खर्च गर्ने प्रस्ताव गरिएको छ । महानगरले अघिल्ला वर्षहरुमा सुरु भएका तर सम्पन्न हुन नसकेका क्रमागत योजनाका लागि करिब ५० करोड रुपैंया समेत विनियोजन गरेको छ । महानगरले ल्याएको यो बजेट अघिल्लो वर्षको भन्दा करिब १२ प्रतिशत बढी हो । अघिल्लो वर्ष ललितपुरले ४ अर्ब ६० करोडको बजेट ल्याएको थियो । उक्त बजेटमध्ये जेठ मसान्तसम्म १ अर्ब ७५ करोड रुपैंयामात्रै खर्च भएको महानगरले जनाएको छ, यो करिब ३८ प्रतिशत मात्रै हो ।