बिकेन हरियो चियापत्ति, विरोधस्वरुप किसानले सडकमै फाले
इलाम । उद्योगीले चिया खरिद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती फालेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब ५०० किलोग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया फालेका छन् । किसानले आइतबार साँझ नगरपालिका अगाडि, नयाँ चोक, र फिक्कल बजारमा चिया फालेर विरोध जनाए । यसअघि किसान र उद्योगीले सहमतिमा चिया खरिद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि २०७५ लागू गरेर हरियोपत्तीको न्यूनतम मूल्य प्रतिकिलो ग्राम रु ४० कायम गरेको थियो । उद्योगीले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दररेटमा चिया खरीद गर्न नसक्ने भन्दै असार १२ गतेदेखि उद्योग बन्द गरेका थिए । उद्योगीको सङ्गठन सूर्योदय टि प्रोड्युर्सस एशोसिएशनमा आबद्ध ५२ वटा चिया कारखाना एकै पटक बन्द भए पछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य सङ्घका प्रतिनिधिबीच उद्योग सञ्चालन गर्ने सहमति भएको थियो । समस्या समाधानका लागि तत्काल गुणस्तरका आधारमा मात्र नगरले तोकेको मूल्यमा चिया खरीद गर्ने र एक उच्चस्तरीय समिति बनाएर दीर्घकालीन रुपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको थियो । उद्योग सञ्चालनमा आएको १२ घण्टा नबित्दै किसानको चियाको गुणस्तर नपुगेको भन्दै कारखानाले चिया फर्काएपछि किसानले अर्को आन्दोलन थालेका हुन् । रासस
शेर्पा हाेटल बन्द गरेपछि मात्र कराेडौं फाइदा भयो, बैंकको सेयरमा सधैं बोनस आउँछ- प्रकाश श्रेष्ठ
प्रकाश श्रेष्ठ, अध्यक्ष-बैंक अफ काठमाण्डू लिमिटेड वित्तीय अवस्था राम्रो भएको, संस्थापक सेयरधनीको क्रसहोल्डिङ पनि नभएको, मर्जमा जान वाह्य दवाव पनि नपरेको बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच मर्ज निकै राम्रो मानिएको थियो । तर, मर्जपछि यो बैंकको विकास र विस्तार सुस्त छ । फेरि अर्थ मन्त्रालय र राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान चर्को दवाव दिइरहेका छन् । यस अवस्थामा यो बैंकले के गर्ला ? प्रस्तुत छः पर्यटन व्यवसायी, होटल एशोशिएशन अफ नेपालका पूर्व अध्यक्ष तथा बैंक अफ काठमाण्डूको अध्यक्ष प्रकाश श्रेष्ठसँग गरिएको विकास वहस । व्यवसायिक यात्रा कस्तो छ ? पर्यटन व्यवसायमा मैले लामो समय बिताए । भलै सोचे जस्तो सफलता हासिल गर्न सकिएको छैन । मैले मात्र होइन, नेपालले नै पर्यटन क्षेत्रमा राम्रो प्रगति गर्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको मचान वाईल्ड लाइफ रिसोर्ट बन्द भएपछि अहिले नवलपरासीमा मचान कन्ट्रि भिला चलाइरहेको छौं । मुग्लिन–नारायणगढ खण्डको सडक निर्माण अवधि लामो हुँदा र त्यस अवधिमा यात्रा निकै कठिन भएपछि चितवन र आसपास क्षेत्रको पर्यटन व्यवसाय धरापमा परेको छ । त्यसैले नवलपरासीको होटल पनि सोचे जस्तो राम्रो हुन सकेको छैन । त्यस्तै, बैंक अफ काठमाण्डूको अध्यक्ष छु । बैकिङ मेरो कोर विजनेश होइन तर पनि बैंकका सेयरधनीहरुको सुझाव र सहयोगमा हामी अगाडि बढिरहेका छौं । कस्तो हुँदै छ बैंक अफ काठमाण्डूको विजनेश ? सबैलाई थाहा छ कि नेपालमा उद्योग व्यवसाय फस्टाउन सकेको छैन । नेपालका उद्योगहरूले चीन र भारतसँग प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता छ । उद्योग व्यवसाय विस्तार राम्रो भएको अवस्थामा मात्र बैंकहरूले राम्रो गर्न सक्छन् । त्यस्तै बैंकहरूबीचको विजनेश पनि निकै प्रतिस्पर्धात्मक छ । त्यति हुँदा हुँदै पनि बैंक अफ काठमाण्डूले राम्रो गरिरहेको छ । आजको दिनमा बैंक चलाउन कति गाह्रो छ ? पहिलाको तुलनामा अहिले स्थिति अनुकूल बनेको छ । आम नागरिकमा बैकिङ बानीको विकास हुँदै गएको छ । बैंकिङ कारोबार पनि सजिलो बन्दै गएको छ । कार्ड पेमेन्ट, डिजिटल पेमेन्टले बैकिङ कारोबार सहज भएको छ । बैकिङ क्षेत्रको ग्रोथ पनि राम्रो देखिन्छ । मैले पहिला पनि भने जब अरु व्यवसाय फस्टाउँछ तब बैंक पनिसँगै अगाडि जान्छ । उद्योग, जलविद्युत, पर्यटन, व्यापार, अन्य सेवाको क्षेत्र राम्रोसँग चल्यो भने बैंक पनि राम्रो हुन्छ । ८/१० वर्ष पहिले बैंक अफ काठमाण्डू नेपालका राम्रा ५/७ वटा बैंकभित्र पर्दथ्यो । बैंक अफ काठमाण्डू र एभरेष्ट बैंक उस्तै हैसियतमा थिए । इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंकले बैंक अफ काठमाण्डूलाई प्रतिस्पर्धी ठानेका थिए । दुई स्वस्थ्य अवस्थामा रहेका लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू मर्ज भएपछि यो बैंकले फड्को मार्ने अपेक्षा गरिएको थियो । तर, अहिले यो बैंक निकै पछाडि परेको देखिन्छ, किन ? तपाईले जे भन्नुभयो अरु धेरैबाट मैले यो कुरा सुन्छु । यस बैंकप्रति सकारात्मक रुपमा सोच्नेहरुले हामीलाई घच्घच्याई रहनुभएको छ । निश्चित रुपमा मैले पनि महसुश गरेको छु कि रेसमा हामी पछाडि परेका छौं । इतिहासका बारेमा म धेरै बोल्न चाहान्न । लुम्बिनी र बैंक अफ काठमाण्डू मर्जपछि म अध्यक्ष भएँ । त्यसपछि बैंक बलियो बन्दै गएको छ । बैंकले दिने सेवा राम्रो भएको छ । बैंकको वित्तीय अवस्था पनि बलियो छ । सेयरधनीले पनि राम्रो प्रतिफल पाएका छन् । गत आर्थिक वर्षमा हामीले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिएका थियौ । यो वर्ष पनि कम्तिमा १६÷१७ प्रतिशत लाभांश दिन सकिन्छ जस्तो लाग्छ । शाखा विस्तारमा, विजनेश विस्तारमा हामी केही सुस्त छौं तर बैंक बिग्रेको छैन । झन् राम्रो र बलियो बन्दै गएको छ । केही वाणिज्य बैंकको वासलात २५० अर्ब नजिक पुगेको छ । तर बैंक अफ काठमाण्डूको वासलातको आकार १ सय अर्बभन्दा पनि कम छ । धेरै पछाडि परियो भन्ने लाग्दैन ? हो, विजनेश एक्सपान्सनमा हामी एग्रेसिभ भएनौ । त्यसको रिस्क फ्याक्टरहरू पनि हामीले विश्लेषण गरेका छौं । हामीले धेरै जोखिम लिएनौ, हामी सुरक्षित यात्रालाई जोड दियौं । अब हामी एग्रेसिभ हुन्छौं । बैंक अफ काडमाण्डूको सुस्त ग्रोथको कारण बजार प्रतिकूल हुनु हो कि बैंक भित्रको आन्तरिक समस्या हुन् ? आन्तरिक समस्या केही पनि छैन । व्यवस्थापन र बोर्डबीच अत्यन्तै राम्रो सम्बन्ध छ । हामी शाखा विस्तार गर्न, ब्राण्डिङ गर्न, विजनेश विस्तार गर्न एग्रेसिभ देखिएनौ । अहिले पनि बोर्ड र व्यवस्थापनबीचको सम्बन्धमा बारेमा समाचारहरु आइरहेका छन् । सीईओ शोभनदेव पन्तको राजीनामा तपाईको खल्तीमा छ समेत भनिन्छ नि ? मलाई पनि धेरैले यस्तो प्रश्न सोधिरहेका छन् । तर, त्यस्तो केही समस्या छैन । शोभनदेवजीको चाहना कुनै बेला छोड्ने पनि थियो होला । तर अहिले उहाँले छोड्ने वा हामीले अर्को सीईओ ल्याउने विषयमा कुनै कुरा भएको छैन । त्यो सबै गलत हल्ला हो । बैंकलाई कसरी राम्रो बनाउने भन्ने विषयमा छलफल वहस हुन्छ । राजीनामा गरेको भन्ने हल्ला कहाँ बाट आयो ? म आफै छक्क परेको छु । बाणिज्य बैंकबीच आपसमा मर्जपछि एनआईसी एशिया, ग्लोबल आईएमई, प्रभुमा सिनर्जी इफेक्ट देखियो तर बैंक अफ काठमाण्डूमा देखिएन, किन ? दुई बैंकबीच मर्ज भएपछि कल्चर मर्ज हुन समय लाग्दो रहेछ । पहिलो १÷२ वर्ष त कल्चर मिक्स गर्न नै लाग्यो । जब हामी कल्चर, वर्किङ स्टाईल मर्ज गर्यौं र सहज अवस्थामा आईपुग्यौ तब बजारमा प्रतिकूल अवस्था पनि देखियो । तरलताको अभाव पनि देखियो । निक्षेप वृद्धि कठिन भयो । त्यसले पनि हाम्रो ग्रोथ अलि कमदरमा भयो । अर्थमन्त्री, गभर्नरले फेरी पनि मर्ज हुनुपर्छ भन्नुभएको छ । बैंक अफ काठमाण्डू के गर्छ ? पहिला पनि सरकारले बैंकहरूको संख्या घटाउन चाह्यो । अहिलेको अर्थमन्त्री गभर्नर हुनुहुन्थ्यो । उहाँले त्यतिबेला पनि बैंकहरूबीच मर्जरमा जोड दिनुभएको थियो । हामीले सरकारको नीतिमा सहयोग गर्दै मर्ज गर्यौं । मलाई के लाग्छ भने बैंकहरूको संख्या घटाउनु नै राम्रो हुन्छ । बैंक अफ काठमाण्डू फेरि पनि मर्जमा जान सक्छ । यो मेरो बैंक हो भनेर हामी समातेर बस्दैनौ । हामी राम्रो बैंकसँग मर्ज गरेर जानसक्छौं । अबको मर्ज के का लागि ? अझ राम्रो गर्नको लागि । अझ बलियो बैंक बन्नुपर्छ । हामी लुम्बिनी बैंक हुँदा हाम्रो क्षमता जति थियो अहिले धेरै बढेको छ । अब मर्ज भयौ भने हामी झन् बलियो हुनेछौं । मर्ज विना नै नविल, एसवीआई, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड लगायत बैंकहरु पनि बलिया भएका छन् । मर्ज नै अनिवार्य हो र ? तपाईले नाम लिएका बैंकहरू, इन्भेष्टमेन्ट, हिमालयन लगायत बैंकहरू पहिला देखि नै ठूला र बलिया थिए । नयाँ र कमजोर बैंकहरू बलियो बन्नको लागि मर्ज एउटा उपयुक्त विधि हो । आजको दिनमा बैंक अफ काठमाण्डूको सेयरमा गरिएको लगानी कति सुरक्षित छ ? कति फाइदाजनक छ ? मलाई लाग्छ सुरक्षित छ र फाइदा पनि छ । आज होटलमा नै गरिएको लगानीले पनि कति नाफा दिन्छ र ? कम से कम बैंकमा गरिएको लगानी सुरक्षित छ । हुनसक्छ सेयर मूल्य नबढ्ला तर लाभांश आइरहेको हुन्छ नि । यतिबेला होटलमा लगानी निकै बढेको देखिन्छ । तपाईसँग होटल र बैकिङ दुबै क्षेत्रको अनुभव छ । कुन क्षेत्रमा गरिएको लगानी लाभदायक हुन्छ ? म एउटा उदाहरण दिन्छु, दरवार मार्गको शेर्पा होटल बन्द भयो । सञ्चालनमा रह्दा त्यो होटल कहिल्यै पनि नाफामा गएन । तर रियलस्टेटको मूल्य निकै बढ्यो र बेच्दा करोडौ फाइदा भयो । अरु देशमा जस्तो नेपालले पर्यटन क्षेत्रमा फड्को मारेन । नेपालको होटलमा म्यारिएट् आयो, शेराटन आउँदैछ । निजी क्षेत्रको लगानी जति भएको छ सरकारी तहबाट पूर्वाधार विकासमा त्यति लगानी भएन । पोखरा विमानस्थल बनेपछि, लुम्बिनी एयरपोर्ट बनेपछि हुनसक्छ, होटलहरुले पनि राम्रो नाफा गर्न सक्छन् । मेलम्चीमा फसेको पैसा आउँछ कि आउँदैन ? यस विषयमा धेरै पोजेटिभ डेभलपमेन्ट भएको छ । अदालतको अन्तिम फैसला बैंकका पक्षमा आउँछ भन्नेमा हामी विश्वस्त छौं ।
काठमाडौँको कोरिडोर-अण्डरपासः जाम घटाउने उत्तम विकल्प
काठमाडौँ । केही महिना अघिसम्म काठमाडौँको मैतीदेवी–पुरानो बानेश्वर जोड्ने धाबी खोलामाथिको साँघुरो पुलमा दैनिक नै गाडी जाम हुँदा यात्रुलाई उदेक लाग्थ्यो । उक्त बाटो जाम हुने वित्तिकै छ तिरबाट आएका गाडी एकैचोटी रोकिन्थे । सामान्य अवस्थामा समेत यहाँ सडक जाम हुनु नौलो कुरा थिएन । बिदाको दिन बाहेक प्रायः बिहान ९ः०० देखि ११ः०० र साँझ ४ः०० देखि ६ः०० बजेको बीचमा अत्यधिक जाम हुन्थ्यो । गाडीको लाइन मैतिदेवी चोकदेखि पुरानो बानेश्वरसम्मै पुग्थ्यो । यहाँको असर काठमाडौँको मुख्य सडकसम्म आइपुग्थ्यो तर केही महीना भयो, यहाँ यात्रुले यति ठूलो सास्ती खेप्नु परेको छैन । प्रायः उक्त सडक प्रयोग गर्नुहुने शेखरचन्द्र राईलाई सो सडकमा ठूलो जामको समस्याले पिरोलेको छैन । “अहिले धेरै सहज भएको छ, बाँकी कोरिडोर र अण्डरपास खोल्न सके उपत्यकाको जाम धेरै घट्छ”, राईले भन्नुभयो । यसरी जाम कम हुनुको मुख्य कारण हो कोरिडोर र अण्डरपास ९पुल मुनीको सडक० सञ्चालन । धाबीखोला कोरिडोरको मैतीदेवी क्षेत्रको पुलमुनीको सडक सञ्चालन भएपछि भने यहाँको जाम हटेको छ । बानेश्वर पट्टीको अण्डरपास अझै खुल्न नसक्दा केही जाम बाँकी नै छ । सोही खोलाको रातो पुल, कालोपुल र भत्केको पुलमुनीका सडकसमेत सञ्चालनमा आएपछि भने साना सवारी साधान उक्त कोरिडोर हुँदै सहज रुपमा जान थालेका छन् । सबै क्षेत्र खुलाएर अण्डरपास गर्न सके जाम कम गर्न महत्वपूर्ण विकल्प हुने छ कोरिडोर । उपत्यकाका विभिन्न क्षेत्रका कोरिडोर सञ्चालनमा आएपछि भित्री सडक मात्रै होइन काठमार्डौँका मुख्य मार्गमा समेत जामको समस्या कम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तराज पन्तले बताए । महाशाखाकै अगुवाइमा अण्डरपास गर्ने र कोरिडोर खुलाउने काम भएको हो । सामान्य काम गर्दा पनि महत्वपूर्ण उपलब्धि हुन्छ भन्ने उदाहरण ट्राफिक प्रहरीले पेश गरेको छ । ठेक्कापट्टातर्फ लाग्दा प्रशासनिक झन्झटलगायतका कारणले कुनै काम शुरु गर्न नै दुई÷तीन महीना लाग्ने तितो यथार्थ छ । यसलाई चिर्दै प्रहरीले स्थानीय तह तथा निजी कम्पनीको सहयोग लिएर तीन महीनाको अवधिमा उक्त काम गरेको हो । कतिपय बोलपत्र नै गर्नुपर्ने जस्ता काम समेत प्रहरीको अगुवाइमा विभिन्न सङ्घ संस्थाको सहयोगमा भएको छ । इच्छाशक्ति भयो भने काम गर्न सकिन्छ भन्ने यो दरिलो प्रमाण हो । “रुख उखेल्नु पर्ने ठाउँमा पनि उखेल्यौँ, माटो, ढुङ्गा, गिटी हटाउने र थप्ने ठाउँमा पनि खटियौँ, महानगर, वडा कार्यालय, निजी कम्पनीको सहयोग लिग्यौँ, कतिले व्यक्तिगत रुपमा डोजरसमेत सहयोग गर्नुभयो, त्यसैले यो प्रगति हासिल भयो”, उक्त अभियानको अगुवाइ गर्नुहुने महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ शाहले अनुभव सुनाए । उनका अनुसार तीन महिने अभियानमा धेरै क्षेत्रका अण्डरपास र कोरिडोर खोलिएका र आगामी दिनमा बाँकी कामलाई अगाडि बढाइने छ । “ठेक्का पट्टाले समस्या होला भनेर ट्राफिकको दृष्टिकोणले बढी दबाब देखेपछि ठेक्काबिनै काम गर्न सकिन्छ भनेर लागेका हौँ” उनले भने । कहाँ कहाँ खोलियो कोरिडोर ? ट्राफिक प्रहरीले २०७५ चैत २१ बाट सञ्चालन गरेको तीन महीने कार्ययोजनाको मुख्य लक्ष्य कोरिडोर सञ्चालन गर्ने थियो । उक्त अभियानमा दैनिक ३०० ट्राफिक प्रहरी खटिने गरेका महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार अहिलेसम्म विष्णुमति कोरिडोरको बसपार्कदेखि भ्याली कोल्ड स्टोर्ससम्मको सडक सञ्चालन भएको छ । यहाँको अतिक्रमण समेत हटाएर बसपार्क पुलको अण्डरपाससमेत खोलिएको छ । धोबिखोला कोरिडोरको गोपिकृष्ण पुलदेखि अनामनगर सडकको सेतोपुलको पारी (पुरानो बानेश्वर पट्टि) बाहेक सबै अण्डरपास सञ्चालन भएका छन् । बालकुमारी कोरिडोरको नरेफाँट–शङ्खमुल सडकको केही क्षेत्र खोलिएको छ । आगामी योजना भने विष्णुमति कोरिडोरको भ्याली स्टोर्सदेखि बल्खुसम्म, बालकुमारीका अन्य बाँकी क्षेत्रमा काम गर्ने योजना प्रहरीको छ । अण्डरपासका कारण कतिपय ठाउँमा ट्राफिक बसेर सवारी पास गर्नुपर्ने र पालो गरेर जानुपर्ने अवस्था नरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले बताए । “अब हामीले त्यो क्षेत्रमा पिच गर्नका लागि सम्बन्धी कार्यालयलाई अनुरोध गरेका छौंँ, त्यसपछि अझै सहज हुने छ” उनले भने । उपत्यकामा झण्डै १२ लाख सवारी सञ्चालन हुन्छन् । अधिकांश निजी सवारी गुड्छन् । ट्राफिक जाम, धुलो, धुँवा प्रदूषण उपत्यकाको मुख्य समस्या हो । मापसे, तीव्र गति, चालकको लापरवाही, लेन मिच्ने, जथाभावी रोक्ने, हर्न बजाउने समस्या उपत्यकामा कायमै छ । पछिल्लो समय कारवाहीमा केही कडाइ गरेपनि पर्याप्त हुनसकेको छैन । लापरवाही बढ्दो छ । चिल्ला सडकमा हुने तीव्रगतिका कारण जीवन क्षति हुँदै आएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पहिलो कुरा हामी आफैँले आफैँलाई नियन्त्रण गर्नु जरुरी रहेकाले ढिलो हिंड्ने र छिटो पुग्नुपर्ने मानिसको बानीका कारण जामलाई जटिलता बनाएको बताए । उनले मानवीय रुपमा नभइ अब प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए । रासस
ओपोद्वारा नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक, मूल्य रु. ८९,९९०
काठमाडौँ । ओपोले नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक गरेको छ । ओपोको नयाँ फ्ल्यागशिप रेनो सिरिज अन्तर्गतको यो फोन आईतवारदेखि नेपाल उपलब्ध गरिएको हो । ओपो रेनो १०एक्स जुम ईडिसनको प्रमुखआकर्षण, यसको नाम अनुसार स्वभाविक रुपमा १०एक्स लसलेस हाइब्रिड अप्टिकल जुम हो । ओपो रेनो १०एक्स जुम ईडिसनमा रहेको साइड–स्विङ सेल्फीक्यामेरा स्मार्टफोनको अर्को प्रमुख आकर्षण हो । ओपो रेनो १०एक्स जुम ईडिसनको ८ जीबी र्याम २५६ जीबी रोम संस्करणको मूल्य रु. ८९ हजार ९ सय ९० निर्धारण गरिएको छ । यो फोन जेट ब्ल्याक र ओसन ग्रिन गरी दूई आकर्षक रङमा उपलब्ध गरिएका छन् । ओपो १०एक्स जुम ईडिसन पहिलो पटक चीनमा र लगत्तै यूरोपमा ओपो रेनो र ओपो रेनो ५जीका साथमा सार्वजनिक गरिएको थियो ।
पायोनियर मोटो कर्पद्वारा निसान गाडीहरूका लागि मनसुन एक्सचेन्ज मेला आयोजना, ५ लाखसम्म छुट
काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक वितरक कम्पनि पायोनियर मोटो कर्पले निसान गाडीका लागि मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ । मनसुन एक्सचेन्ज मेला असार १६ देखिअसार २२ गते सम्म सन्चालन हुनेछ । मनसुन एक्सचेन्ज मेलाको सिमित अवधिसम्म ग्राहकहरूले विभिन्न आकर्षक अफरहरु जस्तै रू. ५ लाख सम्मको छूट, रू. ३ लाखसम्मको एक्सचेन्ज बोनस, रू. २५,००० सम्मको लोयल्टी बोनस, रू. २७,००० मुल्यको गाडी–एक्सेसरिजहरु, १ वर्ष सम्मको निःशुल्क बाटो कर, ३ वर्ष सरवीसिङका साथै ३ वर्षको वारेन्टीको सेवा आदि प्राप्त गर्न सक्छन् । मेलामा पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन र किस्ताबन्दीको सुविधापनि मेलामा नै तुरून्तै प्राप्त गर्न सकिनेछ । टेस्ट ड्राइभ गर्दा पनि ग्राहकहरुले उपहारहरु प्राप्त गर्नेछन् ।
आँबुखैरेनीमा एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा संचालनमा
काठमाडौँ । एनआईसी एशिया बैंकले तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को सत्रसयमा आपm्नो ३७ औंं शाखारहित बैंकिङ्ग सेवा असार १३ गतेबाट संचालनमा ल्याएको हो । बैंकले संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन आँबुखैरेनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष किसान थापाले गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा सुशिला गुरुङ्गलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले मनायो १६ औँ राष्ट्रिय धान दिवस
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले १६औँ राष्ट्रिय धान दिवस मनाएको छ । बैंकले राजधानीको टोखा नगरपालिका वडा नं. १ स्थित झोर महाङ्कालमा रोपाइ गरी धान दिवस मनाएको हो । कृषिप्रधान देशमा धान दिवस मनाउने परम्परालाई जगेर्ना गर्न धान दिवसलाई उत्सवका रूपमा मनाइएको बैंकको भनाइ छ । रोपाइमा बैंकका कर्मचारी तथा स्थानीयको बाक्लो उपस्थितीे रहेको थियो । कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले धान रोपाइ र यसको महत्व बारे प्रकाश पारेका थिए । यसैगरी बैंकका नायब महाप्रबन्धक आरती राणाले कृषि प्रधान देशमा धान दिवस मनाउने परम्परालाई बैंकले उत्सवका रूपमा मनाउने गरेको बताइन् । यस्तै वडाध्यक्ष श्रीकृष्ण अधिकारी र वडा सचिव नवराज दुलालले बैंकले कृषि लगायत अन्य उत्पादन मुलक क्षेत्रमा दुर दराजसम्म गरेको सहयोग र लगानीको प्रसंशा गरे । धान दिवसकै अवसरमा धापासीस्थित शाखा कार्यालयबाट झोरसम्म साइकलयात्राको आयोजना गरिएको थियो । साइकलयात्रामा करिब ५ दर्जन व्यक्तिहरुको सहभागिता रहेको थियो । यस्तै दिवसकै अवसरमा झोरमै रहेको शाखारहित बैंकिङ सेवाका सञ्चालक राम शरण दुलाललाई सम्मान समेत गरिएको थियो ।
शाखा सञ्जाल बिस्तार गर्दै सनराइज बैंक, देशभर ११० पुग्यो
काठमाडौँ । सनराइज बैंकले आइतबार गोदावरीेमा शाखा बिस्तार गरेको छ । नगरपालिकाको मेयर हरिसिंह सावद र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । सोही दिन बैंकले आफ्नो पनौती शाखा पनि स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन पनौतीका मेयर भिम न्यौपानेले गरेका हुन् । उक्त कार्यक्रममा संचालक समितिका सदस्य ओमकृष्ण जोशी र ई. बच्छराज तातेडको उपस्थिति थियो । यसैबीच, बैंकले गत शनिवार आषाढ १४ गते डडेलधुरा, वडा नं ३, गन्यापधुरामा ३६ औ शाखा रहित बैंकिङ्गको उद्घाटन गरेको छ । सो शाखा रहित बैंकिङ्ग सेवा, वडा नं ३ का वडा अध्यक्षश्री चक्रबहादुर देउवाले उद्घाटन गरे । हालसम्म बैंकको शाखा संख्या ११० वटा पुगेको छ ।