विकासन्युज

छोरीको योजनामा १२ लाख दिएर आमाको हत्या, चार पक्राउ

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी सो घटना दिउँसो हत्या गरिएकी भट्टराईकी छोरी ईश्वरीकै योजनाअनुसार भएको बताएको हो । प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै मोहम्मद रहिश र अभियुक्त ईश्वरीलाई पक्राउ गरेको हो । प्रहरीले नौसादलाई धादिङको गजुरीबाट आइतबार साँझ सात बजे र भोला कुमार र मोहम्मद रहिसलाई राति तीन बजे मकवानपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । मृतककी छोरीलाई भने भक्तपुरबाट पक्राउ गरिएको हो । पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले मृतककी छोरी ईश्वरीले आफ्ना प्रेमी नौसादसँग भएको प्रेम सम्बन्धबारे आमाले थाहा पाउने र आफ्नो प्रेममा आमाले विरोध गर्ने डरले आमालाई मार्ने योजना बनाएको अनुसन्धानमा खुलेको बताए । “आमालाई मार्नका लागि ईश्वरीले रु १२ लाख दिने सहमतिअनुसार नौसादले एक्लै मार्न नसक्ने भएकाले भारतबाट साथी बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । घटनामा संलग्नमध्ये भोला कुमारले हात समाउने, मोहम्मद नौसादले मुख थुन्ने र मोहम्मद रहिसले घाँटी रेटेको अनुसन्धानमा खुलेको थापाले बताए । मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको महाशाखाले जनाएको छ । रासस

गरिमा विकास बैंकका ग्राहकलाई चरक मेमोरियल अस्पतालमा १५ प्रतिशत छुट

काठमाडौँ । चरक मेमोरियल अस्पताल प्रालि पोखरामा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र चरक मेमोरियल अस्पताल प्रालिबीच सम्झौता सम्पन्न भएको छ । आईतबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र चरक मेमोरियल अस्पताल प्रालिको तर्फबाट अस्पताल अध्यक्ष डा. बद्री पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले चरक मेमोरियल अस्पताल प्रा.लि.पोखरामा उपचार गराउँदा सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन ।

सरस्वतीको मूर्ति राख्न कृषि विकास बैंकद्वारा ३ लाख सहयोग

काठमाडौँ । कृषि विकास बैंक लि. शाखा कार्यालय जितपुरले सिद्धार्थ बहुमुखी क्याम्पस जितपुर कपिलवस्तुको परिसरमा निमार्ण भएको सरस्वती मन्दिरमा मुर्ति स्थापनाका लागि कृषि विकास बैंक लि.ले रु.३ लाख सहयोग उपलव्ध गराएको छ । नवनिर्मित सरस्वति मन्दिरको उद्घाटन ५ नं. प्रदेश सभासद विष्णु पन्थी र कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय भैरहवाका कामु निर्देशक सुदीपकुमार दहाले संयुक्त रुपमा गर्नु गरेका हुन् । मन्दिर उद्घाटन कार्यक्रमको सिलसिलामा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सभासद पन्थीले बैंकले सरस्वतिको मूर्ति स्थापना गरिदिएकोमा विशेष धन्वाद दिंदै कृषि विकास बैंकले आफ्नो स्थापनादेखि हालसम्म निरन्तर देशका कुनाकाप्चा पुगेर बैकिङ्ग सेवा पुर्याई गरिव किसानको जीवन उकास्नमा महत्वपूर्ण भूमिका खेलेको चर्चा समेत गरे । कार्यक्रममा बैंकका क्षेत्रीय निर्देशक तथा उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथि दहालले मूर्ति स्थापनाका लागि रु.३ लाखको चेक क्याम्पसलाई हस्तान्तरण गर्दै यस प्रकारको सहयोग गर्न सकेकोमा प्रसन्नता व्यक्त गरे ।

विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा परिसंघको सहभागिता, लगानीको वातावरणबारे छलफल हुने

काठमाडौँ । मित्र राष्ट्र चीनको डालियान अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा जुलाई १ देखि ३ गतेसम्म हुन लागेको विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिन परिसंघको एक प्रतिनिधि मण्डल त्यसतर्फ प्रस्थान गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेतृत्व गरेको उक्त प्रतिनिधि मण्डलमा परिसंघका उपाध्यक्षद्वय अनुज अग्रवाल तथा सुलभ अग्रवाल, राष्ट्रिय परिषद सदस्य आश्मी राणा तथा सदस्य मनोज गोयल रहेका छन् । उक्त प्रतिनिधि मण्डलले चीनमा रहँदा चीनको अन्तराष्ट्रि व्यापार प्रवद्र्धन परिषदका उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्नेछ । सो भेटघाटमा चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन परिसंघले आग्रह गर्ने कार्यक्रम छ । त्यस्तै मित्रराष्ट्र बंगलादेशबाट उक्त सम्मेलनमाभागलिन डालियानमा आउने मन्त्री लगायत उच्चपदस्थ अधिकारीहरुसंग समेत नेपालको लगानीको वातावरणका सम्बन्धमा छलफल हुने कार्यक्रम तय भएको छ । नेपालको प्रतिनिधि मण्डलले डालियानमा रहँदा अन्य देशहरुका समकक्षीसंग समेत सहकार्यका लागि छलफल गर्ने जनाइएको छ ।

दोर्दी खोला जलविद्युत आयोजनाद्धारा पाइपलाइन विस्तार, स्थानीयवासी आन्दोलनमा

लमजुङ । २७ मेगावाटको हिमालयन पावर पार्टनर लिमिटेडद्धारा संचालित दोर्दी खोला जलविद्युत आयोजनाले आफूहरुलाई मुआब्जा नै नदिई पाइपलाइन विस्तार गरेको भन्दै स्थानीयले आन्दोलन शुरु गरेका छन् । बेसीशहर नगरपालिका ११ चितिका स्थानीयले स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरी (एफ्पिक) तथा अधिकार मञ्च सघर्ष समिति गठन गरेर आइतबार नारा जुलुशसहित दोर्दी खोला जलविद्युत आयोजनाको कार्यालय घेराउ गरे । उनीहरुले मुआब्जाको विषयलाई लिएर आफ्नो जग्गामा पर्ने बाटो नै बन्द गरिदिएका छन् । समस्या समाधान नभएसम्म उनीहरुले बाटो नखोल्ने बताएका छन् । उनीहरुले पीडितलाई सत्प्रतिशत क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने, छरछिमेक कार्यक्रमको बजेट पारदर्शी हुनुपर्ने, ईआईए रिपोर्ट नेपाली भाषामा हुनुपर्ने, पानी मुहानको पहिचान गरेर प्रभावित स्थानीयलाई खानेपानी र सिंचाईको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् । १५ मिटर जग्गा प्रयोग गर्ने भनी स्थानीयसँग सम्झौता गरेपनि आयोजनाले ३०-४० मिटर जग्गा अतिक्रमण गरको छ । पहिरोले गर्दा कतिपय घरहरु उच्च जोखिम परेका छन् । जलविद्युत आयोजनालाई धेरै पटक मुआब्जाको विषयमा जानकारी गराउँदा पनि कुनै चासो नदिएकोे स्थानीयहरुको गुनासो छ । आफ्नै घर छेउँमा धमाधम निर्माण भइरहेका आयोजनाहरुले आफूहरुको मुहार उज्यालो बनाउनु भन्दा थप पीडा दिएको स्थानीयले बताएका छन् । जलविद्युत आयोजनाले भने अतिक्रण भएको ठाउँमा स्थानीय र आयोजनाबीच समन्वय गरेर मुआब्जा दिने बताउँदै आएको छ ।

कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण

बिदुर । नुवाकोटको विदुर नगरपालिकाले कृषक समूह, फार्म र सहकारीलाई आइतबार ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । असारे धान दिवसको अवसरमा विदुरमा एक कार्यक्रमको आयोजना गरी विदुर नगरपालिकाको कृषि शाखाले नगर क्षेत्रभित्रका कृषक समूह, फार्म र सहकारीलाई २२ वटा हाते ट्रयाक्टर वितरण गरेको विदुर नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ । कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक कृषक एक उपकरण पुर्याउने विदुर नगरपालिकाको योजनाअनुसार ट्र्याक्टर वितरण गरेको भन्दै आगामी दिनमा कृषकलाई प्रविधिमैत्री बनाएर व्यावसायिक उत्पादनलाई बढवा दिने बताए । प्रमुख पण्डितले हिजोको दिनमा भनसुनको आधारमा केही व्यक्तिले कृषि औजार पाउने गरेको भन्दै अबका दिनमा मापदण्डको आधारमा वितरण गरिने बताए । फाइल तश्वीर, पोखरा कार्यक्रममा विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिवाकर चापागाईंले कृषकलाई प्रोत्साहन गर्न र उत्साही र खाद्यान्नमा आत्मनिर्भर बनाउन ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको बताए । हाते ट्रयाक्टर पाएपछि कृषकले खुशी व्यक्त गरेका छन् । हाम्रो सहकारी संस्था लिमिटेडका प्रतिनिधि बद्री रिजालले गाउँमा खेती गर्न गोरु पाउन छाडेकाले नयाँ हाते ट्रयाक्टर पाएकोमा खुशी व्यक्त गरे । उनले नगरपालिकाले कृषकलाई ५० प्रतिशतमा दिएको अनुदान अझै कम भएको बताए । नगरपालिकाले वितरण गरेको २२ वटा हाते ट्रयाक्टर विभिन्न १३ कृषक सहकारी, कृषि समूहलाई वितरण गरेको विदुर नगरपालिकाको कृषि शाखाले जनाएको छ । यसअघि पनि गत पुस महीनामा नगरपालिकाले किसानलाई २६ हाते ट्रयाक्टर वितरण गरेको थियो । रासस

लोकसेवाको स्थानीय तहको विवाद ‘हेर्दाहेर्दै’ मा, आज सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा ‘हेर्दाहेर्दै’ मा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आइतबार बहस हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दैमा सूचीमा सोमबारका लागि राखिएको हो । यसअघि यही असार ११ गते सो इजलासले सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना नगरिएका कारण आइतबारसम्मका लागि स्थगित गरिएको हो । उक्त आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ शुरु गरिएकामा न्यायाधीशद्वय कार्की र डा खतिवडाको संयुक्त इजलासले बहस नसकिएकाले आइतबाका लागि ‘हेर्दाहेर्दै’को सूचीमा राखेको थियो । यसअघि न्यायाधीशद्वयको सोही इजलासले यही असार ४ गते दायर भएका सबै विवादलाई एउटै इजलासमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै ती रिट निवेदन दायर गरिएका थिए । ती पदहरुमा ४ लाख बढीले आवेदन दिएका छन् ।

मर्मत भयो धावनमार्ग, आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन

काठमाडौँ । तोकिएको समयमै काम सम्पन्न नहुने रोग नयाँ होइन । जतिसुकै ठूला परियोजना पनि विभिन्न बहानामा पर सार्ने, समय लगाउने र लागत बढाउने प्रवृत्तिले विकास निर्माणका लागि बाधक बन्दै आएको छ । गर्नुपर्ने निकायले काम नगर्ने र सरकारले कामै गरेन भन्ने आलोचना सहनुपर्ने बाध्यता उत्तिकै व्याप्त छ । जिम्मेवार निकायले इमान्दार भएर प्रयास गर्यो भने कठिनभन्दा कठिन काम पनि तोकिएको समयमा पूरा हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत कार्यले । सरकारको सार्थक प्रयास तथा प्रधानमन्त्री स्वयम्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीसहित विशेष चासो तथा राष्ट्रिय आवश्यकताले विमानस्थल मर्मतको काम सकिएको छ । हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको एउटा सपनासमेत पूरा भएको छ । सरकारी निकायले ध्यान नदिँदा ठूला आयोजनामा रुग्ण बनिरहेका छन् । निर्माण व्यवसायीले पनि समय बढाउन पाए अनेक फाइदा हुन्छ भन्ने लालसा राख्ने गरेका छन् । निर्माणाधीन ठूला आयोजनाको हविगतले यही भन्छ र तथा तथ्य तथ्याङ्कले पनि त्यही देखाउँछ तर विमानस्थल मर्मतको काममा भने निराशाका कुरा सुन्नु परेन । एकाध दिन निर्माण सामग्रीको आयातमा समस्या देखिए पनि दृढ इच्छाशक्ति, नेपाल नागरिक उड्डयन प्राधिकरणको सचेत पहल तथा निर्माण व्यवसायीको मिहिनेतले काम तोकिएको समय अर्थात् ९० दिनमा नै पूरा भयो । नेपालको परिचय अन्तर्राष्ट्रियजगत्मा स्थापित गर्ने एक मात्र विमानस्थल धावनमार्गको स्तरोन्नति गर्ने काम निर्धारित समयमै सकिएको छ । विमानस्थलको मर्मतको काम सकिएपछि सोमबारदेखि नै २१ घण्टा सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलले जनाएको छ । मर्मतको काम शुरु हुँदा निर्माण सामग्री उपलब्ध होला कि नहोला भन्ने चिन्ता पनि उत्तिकै थियो । निर्माण व्यवसायीले जटिल मानिएको सो काम पूरा गर्ला त भन्ने आशङ्का पनि त्यत्तिकै थियो । एक दिन पनि विमान उडान र अवतरण बन्द गर्ने अवस्था पनि थिएन । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडाका कारण पनि उडान र अवतरण रोकेर काम गर्ने स्थिति सरकारसँग पक्कै पनि थिएन । न त कुनै विकल्प नै थियो । मर्मतको काम बढीमा ९० दिनभित्र सकिने लक्ष्य निर्धारण गरिए पनि जटिल काम आफैँमा थियो नै । त्योभन्दा बढी काम शुरु भएपछि लगातार भइरहेको वर्षाका कारण पनि जटिलता उत्पन्न होला भन्ने चिन्ता व्याप्त थियो । काठमाडौँ क्रमशः निन्द्रामा मस्त निदाइरहेको बेला धावनमार्ग भने धमाधम भत्काइन्थ्यो । तीन सय नेपाली र चिनियाँ कामदार रातभर खट्थे, भत्काएको धावनमार्गमा निर्माण सामग्री हालिन्थो र कालोपत्र गरेर जस्ताको तस्तै बनाइन्थ्यो । बिहान ८ बजे विमानस्थल खुल्थ्यो, जहाजको उडान र अवतरण शुरु हुन्थ्यो । रातभर कहाँ काम गरियो भन्ने आम मानिसले खासै हेक्का पाउँदैनथे तर जटिल मानिएको तीन हजार ५० मिटर लामो धावनमार्ग मर्मतको काम तोकिएको समयमा नै पूरा गरेर काम नहुने प्रवृत्तिमा सुधार आएको उदाहरण प्रस्तुत भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले असाध्यै जटिल मानिएको धावनमार्गको मर्मत कार्य आइतबार राति पूर्णरुपमा सम्पन्न भएको जानकारी दिए । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा जहाज उडान र अवतरणमा समस्या पर्दै आएको थियो । विशेषगरी वर्षायाममा बढी समस्या देखिन्थ्यो । मालिन्दो र टर्किस एयरलाइन्स दुर्घटनामा पर्दा लामो समयसम्म विमानस्थल बन्द भएको नमीठो उदाहरण सबैको दिमागमा परेकै थियो । चिनियाँ निर्माण कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेशनले सरकारको अपेक्षा र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर तोकिएको समयमा नै सम्पन्न गरेको छ । बाँकी रहेको छिट्फुट काम भने केही बाँकी रहे पनि त्यसलाई पनि छिट्टै सम्पन्न गरिनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पोखरेललाई पनि काम नसकिएका कि भन्ने उस्तै चिन्ता थियो । बीचमै केही गडबढी भइहाल्यो भने त मुलुकको प्रतिष्ठामा नै समस्या आउँछ । त्यसको जवाफ कसरी दिने भन्ने छटपटीले पोखरेललाई सताएको थियो । काम कसरी समयमै सम्पन्न गर्नुभयो त भन्ने जिज्ञासामा पोखरेल भन्छन्, “हामीले आवश्यकता र बाध्यतालाई केन्द्रमा राख्यौँ । निर्माण व्यवसायीलाई सोहीअनुसार आग्रह गर्यौँ । निर्माण सामग्रीको जोहो पनि त्यसरी नै गर्यौँ । त्यसले हामीलाई जटिल काम समयमै सक्ने वातावरण बनायो ।” धावनमार्गमा आवश्यकताअनुसार नयाँ कालोपत्र राखिएको छ । आयोजनाका निर्देशक भन्छन्, “तीन हजार मिटर लामो धावनमार्गमा आवश्यकताका आधारमा २० देखि २५ सेन्टिमिटर नयाँ पिच हालिएको छ ।” निर्माण कम्पनीले मूल्यअभिवृद्धि करसहित रु चार अर्ब २७ करोडमा धावनमार्ग स्तरोन्नतिको जिम्मा लिएको थियो । मर्मत कार्यको प्राविधिक रेखदेखका लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनियरिङ कर्पोरेशन कोरियाले जिम्मा लिएको थियो । धावनमार्ग मर्मतको काम कोटेश्वरतर्फको ‘जिरो टू’देखि शुरु गरिएको हो । प्राधिकरणका अनुसार एक हजार ६०० मिटरसम्म धावनमार्गमा अत्यन्तै बिग्रिएको थियो । विमानस्थल मर्मतमा पहिलो पटक ‘मेलिङ मेशिन’ प्रयोग भएको निर्देशक पोखरेल बताउँछन् । काम समयमै सकिँदा असाध्यै खुशी देखिनुभएका पोखरेलले भने, “ठूलो काम सम्पन्न भएको छ । बाँकी रहेका केही काम भने क्रमशः अगाडि बढाइनेछ ।” सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकामा पहिलोपटक कालोपत्र परिवर्तन गरिएको हो । काठमाडौँ निदाइरहेको बेला हरेक दिन ८० देखि १०० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामग्री फालेर विभिन्न तहमा निर्माण सामग्री राखिन्थ्यो । राति भत्काइएको धावनमार्ग बिहान ८ बजे उडान तथा अवतरणका लागि जस्ताको तस्तै बनाइयो । गौचरनबाट शुरु भएको विमानस्थलको ७० वर्षे इतिहासमा निकै उतारचढाव पूर्ण अवस्था पनि व्यहोर्यो । सन् १९७५ मा स्तरीकरण गर्दै धावनमार्गलाई तीन हजार ५० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बनाएपछि उक्त विमानस्थलमा प्रायः सबै प्रकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय विमान उडान र अवतरण गर्न थालिएको थियो । हाल यो विमानस्थलबाट १९ सिट क्षमताका साना देखि बोइङ–७७७ जस्ता ठूला विमान उडान अवतरण हुँदै आएका छन् । ‘गोरखा भूकम्प’ले अन्य स्थानमा ठूलो क्षति पुर्याएपनि विमानस्थलमा खासै प्रभाव पारेन तर विमानस्थलका जानकार तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय परामर्शदाताले धावनमार्ग र ट्याक्सी वेका ‘पेभमेन्ट’ उप्काएर नयाँ प्रविधि प्रयोग गरी नयाँ कालोपत्र राखी मर्मत गर्न सुझाएका थिए । गत चैत १८ गतेदेखि शुरु गरिएको धावनमार्ग मर्मत आइतबार राति सम्पन्न भएको हो । विमानस्थलबाट हाल १०० भन्दा बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुने गरेका छन् । धावनमार्ग मर्मतको अवधिमा १५ प्रतिशत मात्रै उडान कटौती गरियो । जुन नगन्य जस्तै हो । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहज हुनाका साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विश्वास लिइएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने लक्ष्यसमेत राखेको सन्दर्भमा विमानस्थल २४सै घण्टा पूर्ण सञ्चालनमा आउनु देशकै लागि पनि सुखद खबर हो । यसले नेपालमा समयमा काम हुँदैन भन्ने आम सोचाइमा समेत परिवर्तन ल्याइदिएको छ । जुन नेपालका अन्य ठूला भौतिक पूर्वाधार निर्माणमा यही उदाहरण अनुकरण गर्ने हो भने ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा हुन्छ भन्ने विश्वास गर्न सकिन्छ । रासस