सोलुखुम्बुमा पुनर्निर्मित सडक हस्तान्तरण
काठमाडौँ । भूकम्पीय आपतकालीन सडक आयोजना अन्तर्गत पुनर्निर्माण सम्पन्न सोलुखुम्बुको गार्मा–नेले–बोगल सडक हस्तान्तरण गरिएको छ । असार १३ गते नेलेमा आयोजित एक कार्यक्रममा उक्त सडक जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार राईले १ नम्बर प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालय ओखलढुंगा डिभिजन कार्यालयलाई हस्तान्तरण गरे । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७ जोरबुद्धबाट सुरु हुने २२ किलोमिटर लामो सडक थुलुङ दुधकोशी गाउँपालिका–७ बोगलसम्म पुग्छ । सडक ३४ करोड २ लाख ६९ हजारमा पुनर्निर्माण भएको हो । सडकको पुनर्निर्माणबाट महाकुलुङ गाउँपालिका, सोताङ गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकाका भूकम्पीडित लाभग्राहीलाई घर पुननिर्माणका लागि निर्माण सामग्री लैजान सजिलो भएको छ । आयोजना हेर्ने बरिष्ठ इञ्जिनियर बुद्धिनारायण श्रेष्ठका अनुसार यी गाउँपालिकाका ३,९८८ क्षतिग्रस्त घरमध्ये २,९०७ वटाको पुनर्निर्माणका लागि निर्माण सामग्री ढुवानी गर्न यो सडकले ठूलो मद्दत गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राई सडक निर्माणपछि अन्य स्थानीय पूर्वाधार निर्माण गर्न सहज भएको, किसानलाई आफ्ना उत्पादन बजारसम्म लैजान सजिलो भएको तथा अन्य शाखा सडक निर्माण गर्न सकिएको बताउँछन् । हस्तान्तरण कार्यक्रममा आफ्नो धारणा राख्दै केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का आयोजना उपनिर्देशक अमृत श्रेष्ठले सडक ठूलो बजेटमा पुनर्निर्माण भएको, बारम्बार पुनर्निर्माणको अवसर नआउने भएकोले सडकको हेरविचार गर्न सम्बन्धित कार्यालय र स्थानीय तहका पदाधिकारी एवं उपभोक्तालाई आग्रह गरे । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) सोलुखुम्बुका निमित्त आयोजना प्रमुख विष्णु लामिछानेले ठूलो संख्याका भूकम्प प्रभावित लाभग्राही लाभान्वित हुने सडक पुनर्निर्माणमा योगदान गर्न पाउँदा खुशी लागेको बताए । सडक निर्माण गरेको स्वछन्द–रौतहा जेभीले हस्तान्तरणको एक बर्षसम्म सडकमा निर्माणसम्बन्धी कुनै खराबी आएमा मर्मतसंभार गर्नेछ ।
गोठाटार र सूर्यबिनायकमा मुक्तिनाथको शाखा बिस्तार
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले भक्तपुर जिल्लाको सूर्यविनायक र काठमाडौं जिल्लाको गोठाटारमा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ । सूर्यविनायक शाखाको समुद्घाटन प्रतिनिधि सभाका सदस्य तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले गरे । शाखाकार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि बस्नेतले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवाप्रदान गर्नु पर्नेमा जोड दिए । गोठाटार शाखाको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले गरेका हुन् । उक्त कार्यक्रममा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, बैंकका ब्राण्ड एम्बेसडर सीताराम कट्टेल(धुर्मुस), संस्थापक सेयरधनी, स्थानीय समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।
साउनबाट देशभरिका हलमा बक्स अफिसका साथै टेलिभिजनमा क्लिन फिल्ड लागु-मन्त्री बाँस्कोटा
काठमाडौं । साउनबाट मुलुक भरीका सिनेमा हलमा बक्स अफिस लागु हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आगामी साउनबाट मुलुकभरका सिनेमा हलमा बक्स अफिस प्रणाली लागू गर्ने बताए । चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सबको अवसरमा सोमबार आयोजित वार्षिक उत्सब तथा सम्मान कार्यक्रममा मन्त्री बाँस्कोटाले यस्तो भनाई राखेका हुन् । विभिन्न चलचित्रकर्मीहरुलाई सम्मान गर्दै मन्त्री बाँस्कोटाले टेलिभिजनमा क्लिन फिल्ड लागू गर्ने, साउनबाट सिनेमा हलमा बक्स अफिस प्रणाली लागू गर्ने, चलचित्र छायाङ्कनका लागि सुविधा सम्पन्न इन्डोर सुटिङ स्टुडियो निर्माण गर्ने, नेपालमा १ सय ८० दिन सिनेमा हलमा अनिवार्य नेपाली चलचित्र प्रदर्शन नियम लागू गर्ने बताए । यस्तै नेपाली चलचित्रको उद्योगको हितका लागि नेपाल चलचित्र विकास कम्पनी लिमिटेड, बालाजुलाई दिइएको जग्गा अहिले हराएको र त्यो जग्गालाई सरकारले जसरी पनि खोजी गर्ने प्रतिवद्धता जनाए । बोर्डको १९औं वार्षिक उत्सब कार्यक्रमलाई उद्घाटन गर्दै सो कार्यक्रमका प्रमुख अतिथि मन्त्री बाँस्कोटाले नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि २०५० को दशकसम्म योगदान पुर्याएका १५ जना चलचित्रकर्मीलाई बोर्डका तर्फबाट ‘चलचित्रकर्मी विशिष्ट योगदान सम्मान–२०७६’ बाट सम्मान गरेका हुन् । नेपाली चलचित्र क्षेत्रमा २०२२ देखि २०५० को दशकसम्म उल्लेख्य योगदान दिएर सम्मानित हुनु हुनेमा निर्देशकहरुबाट वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा, अभिनेताबाट वरिष्ठ अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसी, अभिनेत्रीबाट नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द , यस्तै संगीततर्फबाट वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, नृत्य निर्देशनतर्फ वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, द्वन्द्व निर्देशनतर्फ वरिष्ठ द्वन्द्व निर्देशक राजेन्द्र खड्गी ‘चलचित्रकर्मी विशिष्ट योगदान सम्मान’बाट सम्मानित भए । यस्तै छायाङ्कनबाट वरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठ, ध्वनीबाट वरिष्ठ ध्वानी विशेषज्ञ प्रदीपकुमार उपाध्याय, चलचित्र निर्माणबाट वरिष्ठ चलचित्र निर्माता छविराज ओझा, प्रचारतर्फबाट वरिष्ठ पोष्टर डिजाईनर सुन्दर श्रेष्ठ, चलचित्र पत्रकारिता तर्फबाट वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधार, चलचित्र विज्ञापन निर्माणतर्फबाट विज्ञापनका वरिष्ठ निर्माता निर्मलराज पौडेल, सञ्चार क्षेत्रबाट कामना पब्लिकेशन र नेपाली चलचित्रमा विदेशीको योगदान अन्तर्गत जापानी नागरिक डा. तोसिआकी इतोहलाई विशेष सम्मानबाट मन्त्री बास्कोटाले सम्मानित गरे । चलचित्र भवनतर्फ नेपाली चलचित्रको प्रदर्शन मार्फत् विकास र विस्तारमा योगदान पु¥याउने चार ओटा हललाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरियो । जसमा काठमाडौंको विश्वज्योति सिनेमा भवन, विर्तामोडको श्रीकृष्ण चलचित्र मन्दिर र पोखराको विन्ध्यवासिनी चलचित्र भवनलाई र नेपाली चलचित्रको प्रदर्शनीमा डिजिटल्ली क्रान्ति ल्याउन सफल क्युएफएक्स सिनेमा समूहलाई पनि विशेष सम्मानबाट सम्मानित गरियो । यस्तै २०७५ सालमा प्रदर्शित नेपाली चलचित्रबाट तीन ओटा चलचित्र गोपी, बुलबुल र कथा ’७२ लार्ई विशेष चलचित्रबाट सम्मानित गरियो । विशेष चलचित्र छनौट समितिका निर्णायकहरु दयाराम दाहाल, नवल खड्का, सुशिल पोखरेल, सुदर्शन श्रेष्ठ र निर्मला चौलागाईलाई पनि कार्यक्रममा प्रशंसापत्र प्रदान गरियो । प्रारम्भिक कालखण्डका पुराना चलचित्र एवम् एतिहासिक वृत्तचित्रलाई डिजिटाईजेसन गर्न उल्लेख्य योगदान पुर्याएबापत महेन्द्र प्रसाद साँखी, मञ्जुकुमार श्रेष्ठ, प्रदीपकुमार उपाध्याय, लोकेन्द्र पराजुली, प्रभाकर भट्टराई र चिरञ्जिवी गुरागाईंलाई पनि कदरपत्र प्रदान गरियो । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले मन्त्री बाँस्कोटाको निर्देशन अनुसार साउनबाट आफुहरुले बक्स अफिस मुलुकभरका सिनेमा हलमा लागू गर्ने, अर्को वर्षभित्र काठमाडौं उपत्याकामा इन्डोर सुटिङ्ग स्टुडियो निर्माण गर्ने, आगामी २७ असारमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिने र छायाङ्कनको लागि नेपाल कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाए। यस्तै आज सम्मानित हुने श्रष्टाहरुलाई केही रकम पनि चाँडै प्रदान गरिने अध्यक्ष भट्टराईले बताए । चलचित्र विकास बोर्डका सदस्य–सचिव महेन्द्रप्रसाद साँखीले बोर्डका वार्षिक गतिविधिबारे कार्यक्रममा प्रकाश पारे। वरिष्ठ चलचित्र निर्देशक एवम् बोर्डका प्रथम अध्यक्ष यादव खरेलले चलचित्र नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै बोर्डले पूराना चलचित्र डिजिटलाई जेशन गरेकोमा त्यसको प्रशंसा गरेका थिए । बोर्ड सदस्य दयाराम दाहालले बोर्डको भावी कार्यक्रम बारे जानकारी गराएका थिए ।
कर्णाली प्रदेशमा शुरु भयो टेलिकमको एफटिटिएच सेवा
काठमाडौँ । नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा पनि विधिवत् शुभारम्भ भएको छ । सोमबार दूरसञ्चार कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले विधिवत् रूपमा एफटिटिएच प्रविधि मार्फत समारोहस्थलमा जोडिएको फोनबाट प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर सेवाको शुभारम्भ गरे । सोही फोनमा सञ्चालित इन्टरनेट सेवा मार्फत सो कार्यक्रमको भिडियो स्थानीय टेलिभिजन च्यानलमा प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । उक्त कार्यक्रममा बोल्नुहुँदै मन्त्री भण्डारीले विज्ञान र प्रविधिको विकासले विश्वलाई एउटा गाउँमा परिणत गरेको र मानव जीवनलाई सहज बनाएको बिचार व्यक्त गरे । नेपाल टेलिकमको काम सह्राहनीय भएको उल्लेख गर्दै यसबाट डिजिटल नेपालको अवधारणा साकार पार्न ठूलो सहयोग पुग्ने अपेक्षा विश्वास व्यक्त गरे । कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीका सेवाहरु देशका कुनाकाप्चासम्म पु¥याई सरकारको डिजिटल नेपालको अवधारणा साकार पार्न कम्पनी प्रयासरत रहेको बताए । ५ सय १२ लाईन क्षमताका दुई थान फाइबर डिस्ट्रिव्युसन क्याविनेट (एफडिसी) जडान गरी कूल १ हजार २४ लाईन नेटवर्क क्षमताका साथ शुरु भएको सो सेवाको वितरण शुरु भइसकेको छ । सुर्खेतभरी नै यसको विस्तार तत्काल गर्ने कम्पनीको योजना रहेको छ । कार्यक्रममा सो सेवा लिइसकेका ग्राहकहरूलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।
नेपाली जुत्ता घरको समर सेल अफर, ‘एसईई उत्तीर्ण विधार्थीलाई छात्रबृत्ति प्रदान गरिने’
काठमाडौं । नेपाली जुत्ताघरले २०७५ सालमा एसईई उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम तथा समर शेल अफर ल्याएको छ । नेपाली जुत्ता उद्योगबाट गुणस्तरीय जुत्ता निश्चित समयका लागि १५ देखि ५० प्रतिशतसम्म छुट र तीन सय देखि विशेष सहुलियत सहित बिक्री खरिदको व्यवस्था गरेको हो । यस योजना ग्राहकहरुले नेपाली विद्यार्थीको जुत्ताघर मार्फत जुुनसुकै ब्राण्डको जुत्ताचप्पल खरिद गर्दा लक्की ड्र कुपन मार्फत छुट हुनेछ । सोमबार आयोजित कार्यक्रममा बोल्दै नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले बिक्री भएको जुत्तामा प्रतिजोर २ रुपैयाँ संकलन गरी शैक्षिक छात्रवृत्ति अक्षयकोषको स्थापना गर्न तयारी रहेको बताए । उक्त कार्यक्रमका प्रमुख अतिथि एफएनसीसीआईका उपाध्यक्ष उमेशलाल श्रेष्ठले उत्पादित जुत्ता राम्रोे र नयाँ डिजाईनमा निर्माण गर्नुपर्नेमाा जोड दिए । यस्तो छ छात्रवृत्ति योजना जुत्ता किन्दा पाइने कुपनमा लक्की ड्र विजेतो छात्रबृति पाउने छन् । पहिलो हुनेले नगद ५० हजार, दोश्रोले २५ हजार, तेश्रोले १० हजार र सान्त्वना स्वरुप दुईजोर ड्रेस जुत्ता २० जनालाई उपलब्ध गराउने नेपाली जुत्ता घरले जनाएको छ । समर शेल अफरमा ५० हजार जोर जुत्ता चप्पल बिक्री गर्ने उपत्यकाको नेपाल जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारीपाटी, बुद्धमल बालाजु स्थित आफ्नै बिक्री कक्षमा आजदेखि स्टक रहुन्जेलसम्म यो योजना सञ्चालन हुनेछ । नेपालका चर्चित ब्रान्ड, शिखर शुज, बिएफ डियरहिल शुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच शुज, लेदर विङ्गस, टाकुरा शुज, इजी शुज, टम टेलर र शुल्याण्ड गरि १० वटा ब्रान्डका जुत्ता चप्पलहरु बिक्री वितरण हुनेछन् । उक्त समर शुज मेलामा करिब १ लाख ५० हजारको हाराहारीमा अवलोकन गर्न आउने र ४० देखि ५० हजार जोर जुत्ता चप्पल बिक्री गर्ने कम्पनी लक्ष्य रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
नेपाल-चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुलाधर निर्वाचित
काठमाडौँ । नेपाल चीन उद्योग वाणिज्य संघको काठमाडौंमा सोमबार सम्पन्न २० औं वार्षिक साधारण सभाबाट त्रिभुवनधर त्रिभुवनधर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संघका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष राजुबाबु श्रेष्ठ, उपाध्यक्ष राष्ट्रभुषण चाकुबाजी, महासचिव विवेक पौडेल, कोषाध्यक्ष जगत बहादुर श्रेष्ठ, चयन भएका छन् । त्यसैगरी कार्य समिति सदस्यमा अभिनव राणा, अन्जु पौडेल, विजय मुल्मी, ज्ञानेन्द्र लाल प्रधान, हुवाङ एर टोङ, लिमा अधिकारी, मदन मित्तल, मनिस राजभण्डारी, निराजन तिवारी, पासाङ नोर्बु, रविन श्रेष्ठ, राजेन्द्र मान शेरचन, विक्रम पाँडे, रमेश शर्मा, सोफी उपाध्याय, सोभित उप्रेती, सुमित कुमार अग्रवाल तथा ज्ञानेन्द्र रत्न तुलाधर निर्वाचित भएका छन् । नेपाल तथा चीनवीचको आर्थिक, व्यापारिक तथा पर्यटन प्रवद्र्धनका लागि सन् १९९९मा नेपाल चीन उद्योग वाणिज्य संघको स्थापना भएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तुृलाधरले सबै उद्योगी व्यवसायीहरुको सहकार्य तथा राय सुझाबबाट संघका गतिविधिहरु प्रभावकारी रुपमा अगाडि बढाउने बताए । चीनका विभिन्न संघ संगठनहरुसँग सम्बन्ध विस्तार गरी व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान, व्यापार मेलाहरुमा सहभागिता आदि कार्य गरी दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बढाउन प्रयास गर्ने बताए ।
एनआईसी एशिया बैंकको सर्पोट सेवा सञ्चालन, उत्कृष्ट सेवा प्रदान गरिने
काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न ‘एनआईसी एशिया सपोर्ट सेवा’ सञ्चालनमा ल्याएको छ । एनआईसी एशिया सपोर्ट पेजमार्फत् बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न माध्यमहरु एकै स्थानमा एकीकृत गरी ग्राहकवर्गको सुविधाको लागि एकै स्थानबाट गुनासो सुनुवाइ गर्नुका साथै आवश्यक सूचनाहरु समेत प्राप्त गर्न सकिनेछ । सेवाको प्रयोगबाट सेवाग्राहीले बैंकको वेबसाइटमा लगइन गरी लाईभ च्याटमार्फत् सहभागिता जनाउन तथा फिडब्याक पेजमार्फत् सुझावसमेत राख्न एवम् बैंकको सेवासम्बन्धी सूचना र नयाँ कार्यक्रमहरुबारे जानकारी पाउन सक्नेछन् । यो हेल्पडेस्क पेजमा साइनइन गरी सेवाग्राहीले सुझाव तथा गुनासोहरु राख्नुका साथै ती सुझाव तथा गुनासोहरुको सम्बोधनबारे जानकारी प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकहरुको सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।
जनता बैंकद्वारा एकै दिन ६ स्थानमा शाखा बिस्तार
काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले सोमबार एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट शाखाबाट कारोवार सुभारम्भ गरिएको हो भने काठमाडौं उपत्यका बाहिर बाग्लुङ्ग बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलमा नयाँ शाखा खोलिएको हो । तौलिहवा शाखाको उद्घाटन संघीय संसद बृजेशकुमार गुप्ताले गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंबर क्षेत्रीको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । यसैगरी काठमाडौं उपत्यकामा रहेको काँडाघारी वीरेन्द्रचोक शाखाको संचालक लङ्कबहादुर केसी, नस्थली खरिबोट शाखाको संचालक गौतमप्रसाद खनालले उद्घाटन गरेका हुन् । त्यसैगरी थानकोट शाखाको चन्द्रागरी नगरपालिकाका मेयर घनश्याम गिरी र बैंकका संचालक बिनितकुमार अग्रवालबाट संयुक्त रुपमा उद्घाटन सम्पन्न भयो । साथै, सेतोपुल धनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बैंकका चिफ बिजनेस अफिसर कल्याण पाँडेले संयुक्त रुपमा र बाग्लुङ्ग शाखाको बाग्लुङ्ग उद्योग बाणिज्य संघका अध्यक्ष युवराजजङ्ग राजभण्डारीले उद्घाटन गरेका हुन् । बाग्लुङ्ग शाखा उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यको उपस्थिति रहेको थियो ।