एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिङ्गापुर विजयी
काठमाडौं । मलेसियामा मंगलबारदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सिङ्गापुर विजयी भएको छ । सिङ्गापुरले चीनलाई आठ विकेटले पराजित गरेको हो । उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेको चीनले २३ ओभरमा सबै विकेट गुमाउँदै २८ रन मात्र बनायो । सिङ्गापुरले २९ रनको विजयी लक्ष्य ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । सिङ्गापुरका लागि साई हर्ष बेनुगोपालले अविजित १५ रन र विनित चेतेस मेहताले ११ रन बनाए । बलिङतर्फ चीनका टियान सेन कुनले दुई विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा चीनका सात ब्याट्सम्यान शून्य रनमा आउट भए । वेई गुइलीले सर्वाधिक ७ रन बनाए । चीनलाई न्यून स्कोरमा समेट्ने क्रममा सिङ्गापुरका विनित चितेस मेहताले सात विकेट लिए । सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित चीन र सिङ्गापुर छन् भने समूह ‘बी’मा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन् । प्रतियोगिताको विजेताले श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कप खेल्नेछ । रासस
बैंकर्स संघको बैठकः ‘बिहे’ कसरी को सँग गर्ने थाहा छैन, तर तयारीबारे रिपोर्टिङ गर्ने सहमति
काठमाडौं । ब्याजदर र बैंकहरुको सम्भावित मर्जरमा लागि वाणिज्य बैंकहरुले छलफल अघि बढाएका छन् । मंगलबार बिहान बसेको नेपाल बैंकर्स संघको पूर्ण बैठकमा नेपाल राष्ट्र बैंकले दिएको मर्जरसम्बन्धी निर्देशन र बजारमा तोकिएको अधिकतम ब्याजदर सीमाको परिवर्तनका सम्बन्धमा छलफल भएको बताइएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिभन्दा अघि नै बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि सम्भावित पार्टनर खोज्न निर्देशन दिँदै मौद्रिक नीतिमा बाध्यकारी मर्जरसम्बन्धी व्यवस्था आउन सक्ने संकेत गरेको थियो । राष्ट्र बैंकले दिएकै अवधिमा मर्जरका लागि पार्टनर खोज्न सम्भव नदेखेका बैंकरहरुले छलफल गर्ने छलफलमा जे विषय उठ्छ सोही विषयका सम्बन्धमा राष्ट्र बैंकलाई रिपोर्टिङ मात्रै गर्ने सहमति गरेका हुन् । ‘राष्ट्र बैंकले भनेजस्तो मर्जर सजिलोपनि छैन, कोही मर्जरमा जानै चाहँदैनन्, कोही गएपनि एक्विजिसन गरेर अरु बैंकलाई आफ्नोमा गाभ्न चाहन्छन्, मर्जर वा एक्विजिसनमा सहमत हुनेहरुपनि त्यसभित्रका अन्य विषयमा स्पष्ट हुन चाहन्छन्, राष्ट्र बैंकलाई हामी सहमतिमा पुग्यौं भनेर रिपोर्टिङ गरे, भोलि मर्जर सम्भव नभए कारबाही हुनसक्छ, त्यसैले राष्ट्र बैंकको निर्देशन नटेरेको जस्तो नदेखिने गरी रिपोर्टिङ गर्ने सहमति गरेका छौं, तत्कालै कुनैपनि बैंक मर्जरको स्पष्ट खाका बुझाउन सक्ने अवस्थामा छैनन्’ एक बैंकरले भने । ती बैंकरले मौद्रिक नीतिले दिने सहुलियतपछि मात्रै मर्जरका विषयमा गहन ढंगले अघि बढ्ने आशय बैंकरहरुमा देखाएको समेत बताए । ‘राष्ट्र बैंकले पक्कैपनि केही सहुलियत दिन्छ होला, त्यसपछि कुन मोडेलमा जाने भन्ने तय हुन्छ, त्यसैअनुसार हामीहरु अघि बढ्छौं’ उनले भने । बैठकमा मर्जरसम्बन्धी राष्ट्र बैंकको नीतिलाई कसैले विरोध नगरेको भएपनि राष्ट्र बैंकले लिन सक्ने बाध्यकारी नीतिका सम्बन्धमा भने विभिन्न आशंका व्यक्त गरेको समेत ती बैंकरले बताए । राष्ट्र बैंकको कडा निर्देशनपछि मर्जरको तयारीका लागि भन्दै केही बैंकहरुले ‘मर्जर कमिटी’ नै बनाएका छन् । यद्यपि मौद्रिक नीतिपछि मात्रै त्यो कमिटीको कार्यदिशा स्पष्ट हुने ती बैंकरको भनाई थियो । बैठकमा ब्याजदर नियमित गर्ने विषयमा पनि छलफल भएको छ । बैंकर्स संघले हाल तोकेको ब्याजदरको सीमालाई थप परिमार्जन गर्नुपर्ने माग केही बैंकरले गरेका थिए भने कतिपय बैंकरले यस्तो ब्याजदर निर्धारण नियम विपरित भएको भन्दै त्यसलाई खारेज गर्न माग समेत गरे ।
ग्लोबल आईएमई बैंकले अर्को बैंक प्राप्ति गर्ने, छलफल तेस्रो पुस्ताका बैंकसँग केन्द्रित
काठमाडौं । ग्लोवल आईएमइ बैंकले अर्को वाणिज्य बैंक प्राप्ति गर्नको लागि आफ्ना संयन्त्रहरु परिचालन गरेको छ । बैंकले तेस्रो पुस्ताको बैंक प्राप्ति गर्ने लक्ष्य लिएको छ । ‘हामी तेस्रो पुस्ताका बैंकहरु मध्ये एउटा प्राप्ति गर्ने लक्ष्य लिएका छौं । मेगा र सेञ्चुरी बैंकसँग छलफल चलेको छ’ बैंकका उच्च अधिकारीले भने । पुरानो बैंकबाट कुमारी बैंकसंग प्राप्तिको लागि पनि कुरा चलिरहेको उनले बताए । अर्थमन्त्रीले बजेटमा ठूला बैंकलाई मर्जर जान प्रोत्साहित गर्ने नीति सार्वजनिक गरे लगत्तै ग्लोवल आईएमई बैंकले मर्जरलाई गम्भिर रुपमा लिएर उपयुक्त साझेदार बैंकको खोजी गर्न र समझदारीको लागि प्रयास गर्न आफ्ना संयन्त्र परिचालन गरेको उनले बताए । ग्लोबल आईएमईले आफू अर्को बैंकमा विलय नहुने निर्णय पनि लिएको छ । ‘हाम्रो नेटवर्क पनि ठूलो छ । ग्राहकको आधार पनि ठूलो छ । ब्राण्ड पनि स्थापित भईसक्यो । हामी अर्को बैंकमा विलय हुँदैनौ’ स्रोतले भन्यो । ‘हामीले मर्जर कमिटि पनि गठन गरेका छौं । विभिन्न चरणमा छलफल पनि अगाडि बढाएका छौं’ स्रोतले भन्यो । ग्लोवल आईएमई बैंकसँग विभिन्न बैंकले मर्जरको लागि चासो पनि दिएका छन् । मर्जरमा जाने उद्देश्यले बैंकले रिक्त भएको प्रमुख कार्यकारी अधिकृत पदपूर्ति नगरेको स्रोतले बतायो । ‘तीन महिनाभन्दा बढी सीईओ पद खाली राख्न नमिल्ने राष्ट्र बैंकको निर्देशन हो । हामी मर्जरको तयारीमा रहेकोले स्थिति सहज बनाउन नयाँ सीईओ नियुक्ती गर्न ढिलाई गरेका हौ । राष्ट्र बैंकलाई पनि अनौपचारिक रुपमा जानकारी दिएका छौं’ एक जना सञ्चालकले भने । हाल बैंकमा डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्मेवारी समालिरहेको छन् । अर्थमन्त्री र गभर्नरलाई खुलापत्र-‘बैंकहरुबीच प्रेम होस्, करणी नहोस्’
धार्मिक पर्यटनको गन्तव्य स्थल बन्दै सुपा देउराली, मन्दिरको संरक्षण र विकासमा राज्यस्तरबाट ध्यान जाओस्
काठमाडाैं । नेपालका विभिन्न तीर्थस्थल जसको आआफ्नै महत्व छ । तीमध्येको एक हो अर्घाखाँचीको सुपा देउराली । जे भाकल गर्योे त्यो पुग्ने जनविश्वासका आधारमा यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमि दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूलाठूला पहाडको खोचमा प्राचीन शैलीमा निर्मित सुपा देउरालीको मन्दिर छ । प्राकृतिक रुपमा अत्यन्त रमणीय, शान्तियुक्त स्थानमा रहेको यस मन्दिरमा मनोकांक्षा पूरा हुने विश्वासका कारण दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष प्रितम थापाले जानकारी दिएका छन् । यस तीर्थस्थलको स्थापनाका सम्बन्धमा विभिन्न किंवदन्ती पाइन्छ । मन्दिर परिसरमा भगवान् रामकी पत्नी सीताले बनाएको चुलो, जातो, विभिन्न शिलासमेतले यसको अस्तित्व त्रेता युगदेखि नै भएको विश्वास गरिन्छ । बाइसे चौबिसे राज्यका समयमा खाँचीकोट राज्यका राजकुमारी र भारतको बलराम पुरकी राजकुमारबीच विवाह गरी घरतर्फ ल्याउँदा बाटोमा केही कुरा ढाँटछल गरी विवाह गरेको हल्ला दुलहीले सुनिछन् । डोलीमा बोकेर ल्याएकी दुलहीलाई हालको मन्दिर भएको स्थानभन्दा करिब ५० मिटर दक्षिणमा ल्याई पुर्याउँदा रगतको थोपा झरेछ । अनि सुपा देउराली मन्दिर रहेको ठाउँमा आई डोलीमा हेर्दा दुलही मृतावस्थामा थिइन् । सो घटनापछि खाँचीकोटमा विभिन्न रोगव्याधी महामारी फैलियो । पछि एकजना खनाल थरका ज्योतिषीले धामीझाँक्री गर्दा त्यहाँ दैवी शक्ति उत्पत्ति भएको र कालो पाठी बलि दिनुपर्छ भने पछि त्यही समयदेखि हालसम्म त्यस राज्यका राजा ठकुरी (शाह) राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कूल पूजा गर्दै आएको पाइन्छ । मन्दिरमा मनकामना पूरा होस् भनी भाकल गर्नेले विभिन्न जिन्सी सुन, ध्वजा, वस्त्र, रातो फूलमाला चढाउने र पाठापाठीको बलि पूजाका साथै परेवा उडाउने प्रचलन छ । अर्को किंवदन्तीमा खाँची घर भएका एक व्यक्ति धन कमाउन भारत जानुभन्दा अघि सुपामाईसँग राम्रो जागिरको लागि प्रार्थना गर्दै फर्केर आउँदा भेटी चढाउनेछु भनी ढोगी गएछन् । भारत बसाईमा उनले राम्रै धन कमाए । फर्केर आउँदा भेटी नचढाई मन्दिरमाथिको जङ्गलको बाटो हुँदै जान लाग्दा जङ्गलबीच बाटोमा सुपामाईले पहाडको चट्टानमा लाहुरेलाई टाँसेको किंवदन्ती छ । मन्दिरमा दर्शन गर्न आउनेमध्ये अधिकांशले लाहुरे टाँसेको ठाउँ हेरेर फर्कने गर्दछन् । मन्दिरमा विशेषगरी शनिबार अत्याधिक भीड लाग्ने गरेको स्थानीयवासी चन्द्र खनालले जानकारी र्दिए । मन्दिरमा आउने भक्तजनबाट उठेको भेटी दानदातव्यबाट हुने आम्दानीले खाँचीको आदर्श मावि, सीतापुरको शान्ति माविलाई सहयोग गर्नुका साथै गाउँमा बाटाघाटोे, बिजुली, खानेपानी, दैवीप्रकोप राहतलगायतका मानवीय सेवाका क्षेत्रमा खर्च गरिएको अध्यक्ष थापाले जानकारी दिएका छन् । खनाल थरका बह्माण मूल पुजारी रहेको यस मन्दिरमा दैनिक व्यवस्थापनमा दुई जना, पुजारी दुई जना र सहयोगी एक जना गरी पाँच जना खटाइएको अध्यक्ष थापाले जानकारी दिए । मन्दिरमा २२ जना खनाल पालैपालो खटिँदै आएका छन् । हाल रहेको मन्दिर नरनारायण बाबाको विशेष सक्रियता एवं भक्तजनको सहयोगमा २०६५ सालमा निर्माण भएको अध्यक्ष थापाले जानकारी दिएका हुन् । मन्दिरका कर्मचारी हरिप्रसाद घिमिरेका अनुसार मन्दिरमा गुल्मी, कपिलवस्तु, पाल्पा, रुपन्देही, प्युठानलगायत देशभर तथा भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् । दिन प्रतिदिन धार्मिक पर्यटकको आकर्षण बन्दै गएको सुपा देउरालीको प्रबर्धनमा पर्यटन सम्बद्ध सङ्घ संस्थाले पनि चासो दिन थालेका छन् । नेपाल पर्यटन बोर्डको प्रबर्धन एवं पर्यटन यातायात समिति, पोखराको आयोजनामा हालै सुपा देउरालीको प्रबर्धनात्मक भ्रमण गरिएको समितिका अध्यक्ष बोबरजङ्ग गुरुङले बताए । धार्मिक पर्यटकको आकर्षणयुक्त यस्ता स्थलको विश्वास एवं महत्वलाई उजागर गर्दै राज्यस्तरबाटै संरक्षण र विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । रासस
रु ५६ लाखमा कञ्चनरुप नगरपालिकाद्वारा बारुणयन्त्र खरिद
काठकाडौं । सप्तरीको कञ्चनरुप नगरपालिकाले आगलागीबाट हुने विपद् न्यूनीकरणका लागि बारुणयन्त्र खरिद गरेको छ । आगलागीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न नगरपालिकाले बारुणयन्त्र खरिद गरेको नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले बताएका छन् । सांसद साझेदारी कार्यक्रमअन्तर्गत रु ५६ लाख २६ हजार ५०० मा पोर्टेवल पम्पसहित फायर फायटिङ बारुणयन्त्र खरिद गरी ल्याएको सामाजिक विकास शाखा प्रमुख राजेशकुमार यादवले बताए । नगरपालिकाले बारुणयन्त्र खरिद गरी नगरपालिका ल्याएपछि नगरवासी खुशी भएका छन् । कञ्चनरूप नगरपालिकामा बारुणयन्त्र आएपछि छिमेकी स्थानीय तह सप्तकोशी नगरपालिका, तिरहुत र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा समेत सेवा पुग्ने बताइएको छ । कञ्चनरुपमा आगलागी हुँदा बारुणयन्त्रको अभावमा सदरमुकाम राजविराज र अन्यत्र जिल्ला सुनसरी, मोरङबाट मगाउनुपर्ने बाध्यता रहेको थियो । रासस
दश बर्ष भयो, बैंकबाट निक्षेपकर्ता खाली फर्कनुपरेको छैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आफू नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा ल्याएको वित्तीय क्षेत्रको सुधारले बैंकिङ क्षेत्रप्रतिको विश्वसनीयता र प्रभावकारिता वृद्धि हुँदै गएको दाबी गरेका छन् । नेपाल धितोपत्र बोर्डले आयोजना गरेको ‘एशिया प्यासिफिक क्षेत्रमा वित्तीय ग्राहकहरुको संरक्षण र शिक्षा’ विषयक कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्रमा सुरु गरिएको निक्षेपको बीमा कार्यक्रमबाट २ करोड ५० लाख निक्षेपकर्ताहरुले सुरक्षाको प्रत्याभुति पाएको दाबी गरेको भन्दै बैंकिङ क्षेत्रमा ल्याएको गुणात्मक सुधारका कारण बैंकिङ क्षेत्रप्रतिको विश्वसनीयता वृद्धि हुँदै गएको बताएका हुन् । उनले आफ्नो कार्यत्रकालमै संस्थागत सामाजिक उत्तरदायित्व, संस्थागत सुशासन लगायतका विषयहरु विद्यालयको पाठ्यक्रमै समावेश गर्ने प्रयास गरेको समेत बताए । बैंकिङ क्षेत्रमा यस्तो सुधारका बाबजुद अझै पनि यो लगायत बीमा, मर्चेन्ट बैंकर, ब्रोकर तथा अन्य गैरबैंकिङ वित्तीय संस्थाहरु अन्तराष्ट्रिय स्तरको र आधुनिक प्रविधिमैत्री हुन नसकेको र वित्तीय पहुँच बढ्दै गए पनि जनतामा वित्तीय ज्ञानभने अपेक्षाअनुरुप नबढेको समेत उनले भनाई थियो । कुन बैंक सुरक्षित छ, कुन बीमा कम्पनी बढी लाभदायक छ भन्ने ज्ञान अझैपनि वित्तीय क्षेत्रका अधिकांश ग्राहकसँग नभएको भन्दै अर्थमन्त्री खतिवडाले त्यसैकारण बजार विवेकशील ढंगबाट चल्न नसकेको बताए । आजकल हुने अधिकांश वित्तीय अपराधहरु र कानूनका उल्लंघनका घटनाहरु जानबुझ भन्दा पनि अज्ञानताकै कारण हुने गरेको समेत उनकाे भनाइ थियाे । जाेखिम नहुन्जेल आफू लाभ लिने र जाेखिम हुँदा सरकारलाई दाेष दिने प्रवृति ठीक नभएकाे पनि उनले बताए । ‘कुनै बैंक डुब्यो भने हामी केन्द्रीय बैंकमा गएर धर्नामा बस्छौं बैंकबाट लिने फाइदा भने हामी एक्लै खल्तीमा हाल्छौं, हाम्रो वित्तीय साक्षरता त्यही हो ।’ उनले भने – ‘जनतामा रहेको यस्तै अल्पज्ञान र विवेकशील व्यवहारको कारणले विभिन्न क्षेत्रमा सरकार र नियामकको हस्तक्षेपको आवश्यकता परेको हो ।’ उनले बजार आफैं चल्छ भन्ने मान्यतालाई २००८ को मन्दीले गलत स्थापित गरेको भन्दै बजारमा उपभोक्ताहरुले विवेकशील ढंगबाट व्यवहार गर्छन भन्ने सिद्धान्त गलत साबित भइसकेको दाबी गरे । अर्थमन्त्री खतिवडाले विश्वमा भित्रदै गएको नयाँ प्रविधिहरु नियामकको लागि थप चुनौती बन्दै गएको भन्दै नियामकहरु त्यस्तो प्रविधिप्रति जागरुक रहनु आवश्यक रहेको समेत बताए । आफू २५ वर्षसम्म नेपाल राष्ट्र बैंकमा बसे पनि क्लाउड सिस्टम के हो, यसले कसरी काम गर्छ भन्ने थाहा नभएको भन्दै यस्तो अवस्था आफूमात्र नभएर अधिकांशको रहेको समेत उनले बताए । सो कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सरकारले हाल वित्तीय साक्षरता रणनीति बनाइरहेको भन्दै यसलाई बोर्डले आफ्नो पक्षबाट सक्दा कार्यन्वयन गर्दैजाने प्रतिवद्धता समेत व्यक्त गरे । उनले हाल सेबोनले राष्ट्रव्यापी मिडिया तालिम तथा अन्तरक्र्रिया कार्यक्रम गरेको र यसले मिडियाकर्मीको माध्यमद्वारा वित्तीय जागरणमा सकारात्मक प्रभाव पर्दै गएको भन्दै उनले वित्तीय उपभोक्ताको शिक्षा र संरक्षण नै आफूहरुको अन्तिम लक्ष्य भएको समेत बताए । नेपाल धितोपत्र बोर्ड र आर्थिक सहकार्य र विकास संगठन (ओईसीडी) को सहकार्यमा भएको उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा मंगलबार र बुधबार काठमाडौंमा चल्नेछ जसमा ग्राहकको संरक्षण र शिक्षाका विषयमा करिब २० जना भन्दा बढी विज्ञहरुले आफ्नो प्रस्तुति दिने कार्यक्रम छ ।
पाल्पामा ५०० ज्येष्ठ नागरिक सम्मानित, खुशीले दङ्ग भए वृद्धहरु
काठमाडौं । रम्भा गाउँपालिका पाल्पाका ज्येष्ठ नागरिक सम्मान पाएपछि दङ्ग छन् । गाउँपालिकाले गाउँपालिकाभरिका करिब ५०० ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । पाँच वडा रहेको गाउँपालिकाका पाँचै वडाका नागरिकलाई मिठा खानेकुरा, फलफूल न्यानो कपडालगायत नगदले सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । कतिपयले घरपरिवारले समेत उमेर ढल्कँदै गएपछि माया, सम्मान नगरेका बेला गाउँपालिकाले गरेको सम्मानले आफूहरुलाई जीवन जिउन थप हौसला मिलेको बताएका छन् । रम्भा गाउँपालिका–२ का ज्येष्ठ नागरिक तुलवीर सिंजापतिले गाउँपालिकाले आफूहरुलाई निकै माया गरेको अनुभव सुनाए । “उनले उमेर ढल्कँदै गएका वृद्धवृद्धालाई स्याहार्नको दुःखले वृद्धाश्रम लैजाने गरेको सुनेको थिएँ, मलाई त उल्टै स्थानीय सरकारले सम्मान गर्यो निकै खुशी लागेको छ ।” उनी भन्छन्, “सरकारले वृद्धभत्ता पनि बढायो, कसैले नहेरे पनि आफैं स्वरोजगार भएझैँ लागेको छ ।” गाउँपालिका–२ मा ७५ वर्षमाथिका ९३ वृद्धवृद्धालाई नगद तथा ब्ल्याङ्केट वितरण गरिएको छ । गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, बीमा तथा परिचयपत्र वितरण गर्न लागेको वडाध्यक्ष उमानसिंह सारुले जानकारी दिएका छन् । रासस
प्रविधि मैत्री बन्दै बीमा समिति, एकिकृत सफ्टवेयरबाट यसरी हुन्छ काम
काठमाडौ । डिजिटल मोनिटरिङ (प्रविधि मैत्री निरीक्षण)मा पछाडि पर्दै आएको बीमा समितिले एकिकृत सफ्टवेयर सञ्चालनमा ल्याउने भएको छ । बीमा समितिले समग्र बीमा क्षेत्रलाई प्रविधि मैत्री बनाउने उद्देश्यले एकिकृत सफ्टवेयर प्रणाली सञ्चालन गर्ने भएको हो । बीमा समितिले एकिकृत सफ्टवेयरको लागि ३५ दिने टेन्डर समेत आह्वान गरेको छ । समितिले आइतबार टेण्डर निकालेको हो । टेण्डर भर्नेहरुको छनोट प्रक्रिया सकिए लगत्तै आर्थिक आर्थिक व्यवस्थापनमा जुटने बीमा समितिले जनाएको छ । एकीकृत सफ्टवेयरका लागि असार १६ गते टेण्डर आह्वान गरिएको हो । सो टेण्डरका लागि फारम बुझाउने अन्तिम मिति साउन १५ गते मध्यान्हको १२ बजेसम्म रहेको छ । यस्तै, प्रस्ताव खोल्ने मिति आगामी साउन १५ गते दिउँसोको २ बजे रहेको छ । बीमा समितिका निर्देशक राजुरमण पौडेलले भने–समयको माग अनुसार हामीले चल्न जरुरी छ र सोही अनुसार काम गर्न हामीले एकिकृत सफ्टवेयर सञ्चालनमा ल्याउने भएका हौँ ।’ बीमा क्षेत्रमा चालिएको प्रविधि मैत्री कदम ऐतिहासिक हुने उनले बताए । बीमा समितिले अबको दिनमा प्रविधि मैत्री हुन आवश्यक रहेकोमा जोड दिएको छ । बीमा समितिका एक कर्मचारीले पहिले आफूहरुले बिएसआईबी डट ओआरजी डट एनपी बाट काम गर्दै आएको तर पछिल्लो समय बीमा समितिमा एनआईबी डट जिओभि डट एनपी रहेको बताए । पहिले प्रयोग भई रहेको वेव साईटका लागि समितिले मासिक रुपमा २० हजार रुपैयाँ खर्चनु पथ्र्यो । तर, अहिले भने त्यसका लागि शुल्क लाग्दैन । सोही कारणपनि बीमा समितिमा २ लाख ४० हजार रुपैयाँ बचत भएको छ । समितिले नयाँ वेव साईटको सुरुवातमा ल्याएको ८ महिना भएको छ । प्रविधिमा पछाडि थियो बीमा समिति बीमा समितिमा सफ्टवेयरहरु भएको तर एकिकृत नभएकाले तथ्याङ्क संकलनमा ढिलाई भईरहेको थियो । बीमा समिति अनलाईन रिपोर्डिङमा अगाडि आउन सकेको थिएन । एजेन्ट तथा सर्भेयरको डाटाहरु अनलाईन प्रणालीमा थिएन । अभिकर्ता कार्ड वितरण प्रक्रिया अनलाइनमा उपलब्ध थिएन । बीमा समितिको हालसम्म पनि मोवाइल एप्स छैन । यस्ता कुराहरु सुधार गर्नु पर्ने आवश्यकता महशुस भइरहेको छ । एकिकृत सफ्टवेयरबाट के फाइदा हुन्छ ? एकिकृत सफ्टवेयर मार्फत बीमा कम्पनीहरुको तथ्याङ्कबारे जानकारी लिन सहज हुन्छ । साथै कम्पनीको बर्तमान अवस्थाबारे थाहा पाउन सहज हुन्छ । व्यापार व्यवसायको बिस्तारमा पनि यो सहयोगी हुने समितिको दाबी छ । के हो आईआरएमआईएस सफ्टवेयर ? एकिकृत सफ्टवेयरलाई ‘आईआरएमआईएस’ नामले चिन्न सकिन्छ । त्यसको पूरा रुप भने ईन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सेन्टर हुन्छ । यस्तो हुन्छ आइआरएमआइएस भित्र लेखा, मानव संसाधान, इजाजत, स्थलगत उजुरी व्यवस्थापन, कृषी तथा लघु बीमा, पुनर्बीमा लेखको प्रोडक्टहरुको बीमा सम्बन्धी सम्पूर्ण तथ्याङ्क व्यवस्थापन गर्न मिल्छ । एमआईएस रिपोर्ट विथ ग्राफिक्सले के गर्छ ? – बीमा कम्पनीले बीमा समितिलाई रिर्पोटिङ् गर्ने । – बार डाउग्रम अटोमेटिक रुपमा आउने । – पहिले कम्पनीले आफ्नो तथ्याङ्क चढाएपछि बार डायग्राम सिस्टमले नै बनाउने गर्छ । मोबाइल एप्स मोबाइल एप्स मार्फत आवश्यक सूचनाहरु दिन प्रयोग गरिन्छ । सो एप्स चलाउँदा बीमा क्षेत्रमा सूचना प्रवाहमा सहज हुन्छ । सर्भर हालसम्म बीमा समितिको आफ्नो सर्भर छैन । तथ्याङ्क भण्डारणमा सर्भर महत्वपूर्ण मानिन्छ । बीमा समितिले आफ्नो काम पेपरलेस बनाउन समेत मद्दत गर्छ ।