विकासन्युज

आरएमडीसीले दियो ३२ वटा सहकारीलाई आन्तरिक लेखा परीक्षण तालिम

काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा आन्तरिक लेखा परीक्षण सम्बन्धी २ दिवसीय तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैँचा, मोरङ्गमा सम्पन्न भएको छ । उक्त तालिम असार १६ र १७ गते सम्पन्न भएको हो । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका ३२ वटा सहकारी संस्थाहरुका लेखा समितिका पदाधिकारी तथा सञ्चालक समितिका ३२ जना प्रतिनिधिहरुकोे सहभागिता रहेको थियो । उक्त तालिम कार्यक्रमको संचालन तथा संयोजकत्व आरएमडीसी ईटहरीका शाखा प्रबन्धक गोविन्दप्रसाद पौडेलले गरेका थिए । तालिमको उद्घाटन सत्रको क्रममा तालिमका संयोजक पौडेलले तालिमको उद्देश्य तथा महत्वबारे प्रष्ट पार्दै सहभागीहरुलाई कार्यक्रममा स्वागत गरेका थिए । उक्त तालिम कार्यक्रमको सहजकर्ताको भूमिका प्रबन्धक बासुदेब लामिछानेले निर्वाह गरेका थिए ।

एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । छात्रवृत्ति तथा उत्कृष्टता सम्मान ललितपुर स्थित होटल हिमालयमा आयोजित एक विषेश कार्यक्रममा विद्यार्थीका अभिभावकहरु, ईन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकहरु र अन्य पाहुनाहरुको माझ प्रदान गरिएको हो । एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम अन्तर्गत, एनसेलले २०७६ साल देखि २०८० साल सम्म ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई रु १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ । यस अघि एनसेलले उत्कृष्ट विद्यार्थीहरुलाई २०७१ देखि २०७५ सम्म रु ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ । एक जिम्मेवार व्यावसायिक नागरिकका रुपमा, प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पुर्याउदै दक्ष जनशक्तिको विकासका लागि योगदान पुर्याउन ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा २०७१ मा यो छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरिएको थियो । २०७१ देखि २०७५ सम्मको पाँच वर्ष अवधिमा ६० जना विद्यार्थीहरुले एनसेल छात्रवृत्ति पाएका छन् भने २० जना विद्यार्थीहरु एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन् । यो वर्ष, एनसेल छात्रवृत्ति एनसेलका प्रमुख प्रविधि अधिकृत मुहम्मद अदील इस्रार, वित्तिय प्रमुख कनिश्क गयान विक्रमा, चिफ स्ट्राटिजी अफिसर इरविन एम. युसुफ र सुरक्षा तथा प्रशासन प्रमुख महेन्द्र कुमार भट्टचनले प्रदान गरेका थिए । त्यसैगरी एनसेल उत्कृटता सम्मान ईन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन प्राध्यापक रामचन्द्र सापकोटा र एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले संयुक्तरुपमा विद्यार्थीहरुलाई प्रदान गरेका थिए । यस वर्ष १८ वटा शीर्षक अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, कम्प्युटर, सिभिल र मेकानिकल संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ ।

पशुपतिको ‘तारे’ धर्मशाला अझै सञ्चालन भएन, ब्यापारिक योजनाको सकस

काठमाडौ । पशुपति क्षेत्रस्थित बाग्मती किनारमा रहेको नेपाल-भारत मैत्री पशुपति धर्मशाला एक वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । दर्शनार्थीले बुझाउने शुल्क तय हुन नसक्दा तारे होटल स्तरको सुबिधा दिने धर्मशाला सञ्चालन हुन नसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । गतबर्ष भदौ १५ गते बिमस्टेक सम्मेलनका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सो धर्मशालाको संयुक्तरुपमा उद्घाटन गरेका थिए । पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखाका प्रवक्ता प्रेमहरी ढुङ्गानाले दर्शनार्थीले कति तिर्नु पर्छ, धर्मशालाले कतिसम्म शुल्क राख्न पाउने भन्ने एक किसिमको व्यापारिक योजना तयार नभइसकेकाले धर्मशाला सञ्चालन हुन नसकेको बताए । उनले ब्यापारिक योजना स्वीकृत भएपछि मात्र भवन सञ्चालनमा आउने बताए । कतिपय कुरामा धर्मशाखाको हिजो गरेको डिजाईन आज फेर बदल गर्नु पर्ने अवस्थामा पुगेको प्रवक्ता ढुङ्गानाको तर्क छ । १५ जना बस्न मिल्ने एउटा हलमाभन्दा भक्तजनहरु एक्लै बस्न रुचाउने हुँदा दुवै किसिमका भक्तहरुलाई सुविधा दिन आवश्यक हुने कोषको बुझाई छ । तरपनि धर्मशाला छिट्टै सञ्चालनमा आउने कोषले जनाएको छ । त्यसका लागि तयारी भइरहेको छ–प्रवक्ता ढुंगानाले बताए । भारत सरकारको सहयोगमा उक्त धर्मशाला २० करोड भन्दा बढी खर्चर बनाईएको हो । विकास कोषको २४ रोपनी जग्गामा नेपाल–भारत मैत्री धर्मशाला निर्माण भएको हो । यस्तो छ धर्मशाला पशुपति नेपाल-भारत मैत्रीमा ८८ वटा कोठा रहेको छ । ती कोठामा ३ सय ९८ वटा वेड रहेका छन् । ४ वटा कोठा भने विषेश अतिथिको कक्ष(भीआइपी रुम)को रुपमा छुट्याईएका छन् । एउटा ठूलो सभा हल रहेको सो धर्मशालामा २ सय जनाले एकै पटक खाना खान सक्ने छन् । उक्त धर्मशालाको शिलान्यास २०६४ साल फागुन ७ गते गरिएको थियो । शिल्यान्यास नेपालका लागि तत्कालीन भारतीय राजदुत शिवशंकर मुखर्जीले गरेका थिए । निकै पटक निर्माणको टेण्डर कार्य अघि सार्दापनि काम सुचारु भएको थिएन । तर २०७३ साल साउनबाट रमन कन्ट्रक्सनले निमार्ण ठेक्का पाएर १ वर्ष अघि नै काम सम्पन्न गरिसकेको छ ।

हिमाल दोलखाकोे आइपीओ असार २५ गतेदेखि, १ लाख कित्तासम्म भर्न पाइने

काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर(आइपीओ) असार २५ गतेदेखि खुल्ने भएको छ । हिमाल दोलखाको ७६ लाख ७२ हजार २ सय १० कित्ता सेयर खुल्न लागेको हो । जसमध्ये ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सर्वसाधारणलाई, १ लाख ५३ हजार ४ सय ४४ कित्ता कम्पनीका कर्मचारीलाई र २५ हजार कित्ता सामुहिक लगानी कोषलाई दिइने छ । उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । असार २५ गतेदेखि खुल्ने सेयर छिटोमा असार २९ गते र ढिलोमा साउन २४ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । यस कम्पनीको जलविद्युत उत्पादन केन्द्रहरु इलाम जिल्लाको इलाम नगरपालिका वडा नम्बर ९ र १० तथा माइ नगरपालिका वडा नम्बर ९ मा रहेको छ ।

वित्तीय क्षेत्रमा ४५५ जनालाई जागिर खुल्यो, सेञ्चुरीमा १६९, हिमालयनमा ८६ र जनता बैंकमा २ सयलाई अवसर

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडमा २५५ जनालाई जागिरको अवसर खुलेको छ । सञ्चुरी कमर्सियल बैंकले १ जना डेपुटी म्यानेजर, १ जना असिस्टेण्ड म्यानेजर, १ जना अफिसर, १ जना असिस्टेण्ट अफिसर, १ जना सुपरभाइजर, ३ जना सिनियर असिस्टेण्ट, १ जना सिनियर असिस्टेण्ड(आईटी सिस्टम), म्यानेजमेन्ट ट्रेनी ३० जना, ५ जना जुनियर असिस्टेण्ट(आइटी डिपार्टमेन्ट) र १२५ जना ट्रेनी असिस्टेण्ट गरी १६९ जना कर्मचारी माग गरेको हो । बैंकले माग गरेको आवश्यक योग्यता पूरा गरेका इच्छुक उम्मेदवारहरुले साउन १ गते भित्र आवेदन दिन सक्ने जनाइएको छ । यता, हिमालयन बैंक लिमिटेडमा ८६ जनालाई जागिरको अवसर खुलेको हो । बैंकले ४३ जना सुपरभाइजर र ४३ जना जुनियर असिस्टेण्ड माग गरेको छ । ४२ सुपरभाइजका लागि फाइनान्स, बैंकिङ र इकोनोमिक्समा स्नातकोत्तर उत्तीर्ण तथा १ जना अर्का सुपरभाइजरका लागि एलएलबी उत्तीर्ण गरेको तथा ३५ वर्ष ननाघेको हुनु पर्नेछ । त्यसैगरी जुनियर असिस्टेण्टका लागि फाइनान्स, बैंकिङ र इकोनोमिक्समा स्नातक उत्तीर्ण र २८ वर्ष ननाघेको हुनु पर्नेछ । योग्यता पुगेका उम्मेदवारहरुले साउन १ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । यता, जनता बैंकले पनि २ सय जना कर्मचारी माग गरेको छ । म्यानेजमेन्ट ट्रेनी पदमा ५० जना र जुनियर असिस्टेन्टका लागि १५० जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुकहरुले साउन १ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

कोपा अमेरिका कपः अर्जेन्टिना आउट, ब्राजिल फाइनलमा

काठमाडौँ । कोपा अमेरिका कप फुटबलको आज बिहान सम्पन्न खेलमा अजेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा प्रवेश गरेको छ । प्रतिष्पर्धात्मक खेलमा ब्राजिलका लागि ग्राबिल जिससले १९ औँ र रोबर्टो फर्मिन्होले ७१ औं मिनेटमा गोल गरी फाइनल यात्रा सुरक्षित गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिना भने गोल गर्न असफल  हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । ब्राजिलले अब उपाधिका लागि चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।

आइफा अवार्डसम्बन्धी कार्य रोक्न संसदीय समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा गरिने भनिएको इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) पुरस्कार कार्यक्रमसम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले नेपालको सांस्कृतिक स्वत्व र राष्ट्रिय हितमा प्रतिकूल असर पार्ने उद्देश्यबाट उक्त कार्यक्रम प्रेरित भएको भन्दै कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो । भारतीय निजी कम्पनी बिजक्राप्ट इन्टरनेशनल प्राइभेट लिमिटेडलाई नेपालमा आइफा पुरस्कार कार्यक्रम गर्न दिने सम्बन्धमा नेपाल सरकार र उक्त संस्थासँग गरिने भन्ने सम्झौताको मस्यौदा नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मितामा आँच पु¥याउने रहेको समितिले ठहर गरेको छ । सम्झौताको मस्यौदामा नेपाल सरकारले व्यहोर्न पर्ने आर्थिक दायित्व अत्यन्तै अनुचित र अस्वभाविक किसिमले ठूलो भई नेपालको आर्थिक अवस्थाको दृष्टिकोणबाट उचित नदेखिएको समितिको निष्कर्ष रहेको छ । बैठकले सरकारसँग कार्यक्रमको समग्र र विस्तृत जानकारी माग गर्ने निर्णय गरेको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए । रासस

इञ्जिनियर अख्तर ४ लाख घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजामा कार्यरत इञ्जिनियर वासी अख्तर मोहम्मदलाई रु चार लाख घुससहित पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट गएको टोलीले इञ्जिनियर मोहम्मदलाई पुतलीबजार–१ स्थित इग्लिस बोर्डिङ स्कूल नजिकबाट पक्राउ गरिएको हो । आरोपी मोहम्मदको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै दुई वटा भारतीय मोटरसाइलकलाई छुटाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरीलाई रु १० हजार घुस दिन खोज्ने मर्चवारी गाँउपालिका–१ बस्ने रामराज यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार यादवले भारतीय अनुसनधानमा रहेको भारतीय मोटरसाइलक छुटाइदिने बहानामा प्रहरीलाई घुस दिन खोजेका थिए । आरोपी यादवविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको भए पनि आयोगले आज जानकारी दिएको हो । यस्तै आयोगले राष्ट्रिय माध्यामिक विद्यालय लकडमणि कैलालीका पूर्व प्रधानाध्यापक लालकुमार झासमेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०६६÷६७ देखि २०७०÷७१ मा प्राप्त भएको सरकारी रकम दुरुपयोग गरेको उनीहरुमाथि आरोप लागेको छ । आयोगले प्रधानाध्यापक लालकुमार झाविरुद्ध रु दुई लाख ५९ हजार ४८२, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहुप्रसाद डगौराले रु दुई लाख १० हजार २५२ र सोही विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष पवनकुमार महत्तोले रु ६३ हजार २३० बराबरको भ्रष्टाचार गरेको अध्ययनबाट फेला परेको आयोगले जनाएको छ । रासस