गरिमाका ग्राहकलाई ग्राण्डीमा विशेष छुट
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ग्राण्डी इन्टरनेशनल हस्पिटलले विशेष छुट दिने भएको छ । उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो । मंगलबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ग्राण्डी इन्टरनेशनल हस्पिटलको तर्फबाट व्यावसाय तथा बजार प्रमुख दिनेश पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका भिजा कार्ड होल्डरहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट प्राप्त गर्ने छन् ।
क्रिकेटमा चीनलाई १० विकेटले हराउँदै नेपालकाे उत्कृष्ट विजयी शुरूवात
काठमाडौं । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा बुधबार भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चीनले नेपाललाई ५४ रनको सामान्य लक्ष्य दिएको थियो । ५४ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रेको नेपालले पाँच ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । नेपालको लागि पवन सर्राफले सर्वाधिक ४६ रनको योगदान दिए । उनले २१ बलमा तीन छक्का र छ चौकाको मद्दतमा ४६ रन बनाएका हुन । त्यस्तै रित गौतमले अविजित १० रन जोडे । जीतसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । पराजित चीन भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा दुई खेल खेलेको चीन दुवै खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो खेलमा चीन सिङ्गापुरसँग पराजित भएको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको चीनले २३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटिएको थियो । चीनका लागि लियाङ चेन र गुओहाओले समान १३÷१३ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क बटुल्न सकेनन् । बलिङतर्फ नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिँदा तिलक भण्डारीले तीन तथा कमल सिंह ऐरीले एक विकेट झारे । नेपालले समूह चरणको अन्तिममा सिङ्गापुरसँग खेल्ने कार्यक्रम छ । उक्त खेल यही असार २० गते हुनेछ । रासस
एसईईको ग्रेडवृद्धि परिक्षा साउनको अन्तिम साता
काठमाडौं। एसईईको ग्रेडवृद्धि परिक्षा साउनमा हुने भएको छ। राष्ट्रिय परिक्षा बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गर्दै परिक्षा साउन २६ र २७ गते हुने जानकारी दिएको हो। एसईई परिक्षामा दुई विषयमा सी वा सी भन्दा कम ग्रेड आएका विद्यार्थीहरुले ग्रेडवृद्धिको परिक्षा दिन पाउने छन्। यस्तै तीन वा तीन भन्दा बढी बिषयमा ग्रेडवृद्धि परिक्षा दिने विद्यार्थीले आगामी सालको चैत महिना कुर्नुपर्नेछ। एउटा मात्र ग्रेडवृद्धि परिक्षामा सहभागी हुने विद्यार्थीले साउन २६ गते परिक्षा दिनुपर्ने र दुई वटामा ग्रेडवृद्धि परिक्षा दिने विद्यार्थीले साउन २७ मा परिक्षा दिनुपर्ने परिक्षा बोर्डले प्रकाशित सुचनामा जनाएको छ। परिक्षा बिहान ८ बजे देखी ११ बजेसम्म हुनेछ।
बाजुरामा चार महिनामै स्याउ फल्न थाल्दा किसान भए हर्षित
काठमाडौं । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महिनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महिनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिएका छन् । सो स्थानमा फुजी, गाला र गोल्डेन जातका स्याउ फल्न थालेको हो । लगाइएको तीन जातमध्ये गोल्डेन र गाला जातको स्याउ फलेको जेटिएको कट्टेलको भनाइ थियो । प्रतिबोट झण्डै रु एक हजार १०० पर्ने सो स्याउ एग्रो मनाङसँग समन्वय गरी इटालीबाट ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हाल स्याउ, दाँते ओखर, आँप, अनार, जैतुन, लिचीलगायत सुख्खा ठाउँमा हुने फलफूललाई प्राथमिकता दिई उक्त गाउँपालिकाको देउरा क्षेत्रमा रोपिएको जानकारी दिएको छ । यसरी, कर्णाली करिडोरको बाटो खुलेसँगै गाउँपालिकाले फलफूल खेतीलाई जोड दिँदै माटो परीक्षण गरी ठाउँअनुसार फलफूल खेतीलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए । । गाउँपालिकाले यो परीक्षण सफल भएपछि आगामी दिनमा थप विस्तार गर्ने तयारीमा रहेको उनको भनाइ थियो । यसअघि जिल्लाको गौमुल गाउँपालिकामा समेत सोही प्रजातिको स्याउ फलेको थियो । उक्त गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश विकका अनुसार स्याउ लगाएको चार महिनामै फलेपछि आगामी दिनमा समेत सोही प्रजातिका स्याउ लगाउनेतर्फ किसान जागरुप भएको विकको भनाइ थियो । रासस
अब विद्यार्थीको रोजाइ निजी होइन सरकारी विद्यालय बन्नुपर्छ
काठमाडौं । विगत ३० वर्षदेखि सामुदायिक विद्यालयमा शिक्षामा देखिएको विकृति र विसङ्गतिलाई निर्मूल पार्न विराटनगर महानगरपालिकाको सत्यनारायण माध्यमिक विद्यालय जोडतोडले लागेको छ । पचास वर्ष अघि स्थापना भएको सो विद्यालयमा हाल एक हजार ६०० विद्यार्थी अध्ययनरत छन् । अङ्ग्रेजी र नेपाली माध्यमबाट पठनपाठन भइरहेको सो विद्यालयमा कक्षा १२ सम्मको अध्ययन शुरु भइरहेकामा यस वर्षदेखि विज्ञान विषयको पनि अध्यापन हुने र यसका लागि अनुभवी तथा योग्य शिक्षक, गुणस्तरीय प्रयोगशाला, शैक्षिक सामग्री, शैक्षिक वातावरण, पुस्तकालय र अन्य शैक्षिक क्रियाकलापमा विद्यालयले ध्यान दिएको प्राधानाध्यापक धमेन्द्र खरेलले जानकारी दिएका छन् । विसं २०४६ को राजनीतिक परिवर्तनपछि सामुदायिक विद्यालयको गुणस्तर तथा शैक्षिक वातावरण खस्किँदै गएको र यसमा राज्यको लगानी पानी बराबर भइरहेको अवस्थामा यो विद्यालयले गरेको प्रयासलाई विद्यार्थी र अभिभावकले सराहना गरिरहेका छन् । राम्रो शिक्षाका लागि विगतमा अभिभावक र विद्यार्थीका रोजाइ निजी तथा आवासीय विद्यालय थियो । यो अवस्थालाई सरकारले चाहेर पनि निर्मूल गर्न नसक्नुका कारण शिक्षकले राजनीतिक भूमिका नै मुख्य थियो । सरकारले लगानी गरेअनुसारको प्रतिफल सामुदायिक विद्यालयले दिन नसकेकाले विद्यार्थी र अभिभावको रोजाइ निजी तथा आवासीय विद्यालय थियो । अहिलेको अवस्थामा सरकारी विद्यालयको गुणस्तर सुधार्न स्वयं विद्यालय व्यवस्थापन समिति र शिक्षक लाग्नुपर्ने आवश्यकतालाई उक्त मावि उदाहरण बनेको छ । विराटनगरमा अहिले आदर्श मावि, पोखरीय मावि र जनता माविमा पनि अङ्ग्रेजी र नेपाली माध्यमबाट पठनपाठन भइरहेको छ । पोखरीय माविमा जनता मावि गाभिएको छ । यी विद्यालयले शिक्षाको गुणस्तर र पठनपाठनमा देखाएको जागरुकता, तदारुकताले समस्त विराटनगर र वरपरका अभिभावक खुशी भएका छन् । सत्यनारायण माविका सञ्चालक समितिका अध्यक्ष कुलचन्द्र वस्तीले विद्यालयमा केही समय विकृति र विसङ्गतिले गर्दा गरिब, आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीमात्र आउने गरेका थिए तर विद्यालयले यस क्षेत्रमा गरेको प्रयास मेहनतले विद्यालयमा विद्यार्थीको भर्ना चाप बढ्दा सम्हाल्न पनि मुस्किल भइरहको अध्यक्ष वस्तीको भनाइ छ । शिक्षण राम्रो र परीक्षामा पनि राम्रो परिणाम आउन थालेपछि नाम चलेका निजी तथा आवासीय विद्यालय पनि त्रस्त छन् । यो अवस्थालाई हामी सबै मिलेर कायम राख्ने र अब विद्यालय शिक्षाको रोजाइ सरकारी विद्यालय नै बनाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता अध्यक्ष वस्तीले गरे । यस विद्यालयमा दश जोड दुईमा पत्रकारिता विषयको पढाइ पनि भइरहेको छ । उक्त माविका अर्का शिक्षक पुरुषोत्तम गुरागाइँले सरकारी विद्यालय सुधार गर्न सरकारले ठोस कदम चाल्ने पर्ने र निजी तथा सरकारी विद्यालयको भिन्नता देखाउन सकेमात्र सरकारले यस क्षेत्रमा गरेको लगानीले सही प्रतिफल आउने विश्वास व्यक्त गरेका छन् । रासस
मिर्गौला पीडितले पाउने भए निर्वाह भत्ता
काठमाडौं । इलामको देउमाई नगरपालिकाले मिर्गौला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौलाले काम नगर्ने भएर प्रत्यारोपण गराएका बिरामीलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो । नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले सो भत्तास्वरुप मासिक रू तीन हजार ५०० आगामी साउन महिनादेखि उपलब्ध गराउने जानकारी दिएका छन् । “साउन शुरुदेखि नगरभित्र मिर्गौला रोगीको तथ्याङ्क सङ्कलन गरिने छ । यस्ता बिरामीलाई थोरै भए पनि राहत पुर्याउन यो कार्यक्रम ल्याएका हौँ”, उनले भने । यसपालिको नगरसभाले यो निर्णय गरेको नगरपालिकाका कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले बताएका छन् । मिर्गौला पीडितका परिवारले उपचार गराउन नै धेरै रकम सक्ने र बिरामीको हेरचाहमा अधिकांश समय बिताउनु परेपछि आर्थिक भार बढ्ने भएकाले सहयोग गर्न लागिएको कार्यकारी अधिकृत दाहालले बताएका हुन् । नेपाल सरकारले पनि दीर्घरोगीलाई उपचार खर्च भनेर यसअघि नै रु एक लाख सहयोग गर्ने निर्णय गरिसकेको छ । रासस
टीकापुरका दुई युवा ‘टिस्यु कल्चर’बाट केराको बेर्ना उत्पादन गर्दै
काठमाडौं । कैलालीका दुई युवा कैलालीको टीकापुरमा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन कार्यमा लागेका छन् । केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण बढ्दै गइरहेका बेला टीकापुरका दुई युवा कृषकले टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन शुरु गरेका हुन् । बीउ अभावका कारण अन्य खेती अपेक्षाअनुसार उत्पादन लिन नसकेपछि टीकापुर नगरपालिका–४ का युवा कृषक टेकेन्द्र धामी र देवीराम कोइरालाले केराको बेर्ना उत्पादन शुरु गरेको हो । केराको पकेट क्षेत्रका रूपमा विकसित हुँदै आइरहेको टीकापुरमा बेर्ना उत्पादन शुरु भएपछि अझ केरा व्यवसायीको सङ्ख्यामा वृद्धि भएको छ । आठ वर्ष पहिले केराखेती शुरु गरेका कृषकद्वयले गतवर्षदेखि टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन थालेका हुन् । भारतको गुजरात राज्यस्थित अहमदाबादको एबिसी बायो टेक्नोलोजी कम्पनीबाट टिस्यु कल्चर प्रविधिसम्बन्धी उनीहरुले तालिम लिएपछि केराको बेर्ना उत्पादन शुरु गरेको कृषक धामीले बताए । “गुजरातको एबीसी कम्पनीमा गएर गत वर्ष तालिम लिएपछि केराको बेर्ना उत्पादन शुरु गरेका हौँ”, धामीले भने, ‘‘ग्रिनहाउस (हरितगृह) निर्माण, ‘हाइटेक’ नर्सरी निर्माण, बोटको उपचार पद्दतिका बारेमा हामीले तालिम लिएपछि सजिलो भएको छ ।” ललितपुरमा रहेको जी सेभन कम्पनीको प्राविधिक सहयोगमा १० कठ्ठा जमिनमा स्थापना गरिएको एग्रिनेट र हाइटेक नर्सरीमा नेट हाउस र तापक्रम व्यवस्थापन गर्ने फोगर निर्माणमा झण्डै २० लाख रुपैयाँ लगानी भएको उनको भनाइ छ । नर्सरीबाट टिस्यु कल्चर प्रविधिमा जि नाइन र विलेयम जातका केराको बेर्ना, सुन कागती र अनारका बेर्ना पनि उत्पादन भइरहेका छन् । “ल्याबबाट तन्तु प्रजनन् गरेर बिरुवा निकाल्ने यो प्रविधिबाट उत्पादित तीन लाख केराका बेर्ना यस वर्ष बिक्री गरेका छौँ”, कृषक कोइरालाले भने, “अत्याधुनिक ल्याबबाट उपचारपछि उत्पादन गरिएका केराका बेर्नाहरुमा रोग कम लाग्ने, रोगसँग लड्ने क्षमता बढी हुने, एकैनासको उत्पादन दिने हुनाले कृषकको आकर्षण बढ्दै गइरहेको छ ।” कोइरालाले गत वर्ष ७० हजार बेर्ना बिक्री गरेको जानकारी दिए । कैलाली र कञ्चनपुरमा केरा खेती विस्तार भइरहेको छ । बेर्नाको परनिर्भरता हटाउने लक्ष्यका साथ आफूहरुले टिस्यु कल्चर प्रविधिबाट बेर्ना उत्पादन थालेको कोइराला बताउँछन् । “टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएको बिरुवामा रोगसँग लड्ने क्षमता हुने हुँदा रोपेपछि बोट पहेँलो हुँदै जाने, गुभो कुहिने र बोट सुक्दै जाने जस्ता समस्या हुँदैनन्”, कोइराला भन्छन्, “रोग नलाग्ने तथा केराको उत्पादकत्व समेत वृद्धि हुनाले यो प्रविधि लोकप्रिय बन्दै गएको हो ।” नर्सरीले उत्पादन गरिरहेका विलयम र जि नाइन जातका केरा कम समय र कम लगानीमा धेरै उत्पादन हुने गरेको केरा कृषक विनोद साह बताउँछन् । “टिस्यु कल्चर विरुवाबाट कम समय र कम लगानीमा राम्रो उत्पादन भएको पाएका छौँ”, साहले भने, “सकर विरुवाबाट पनि नहुने होइन, तर कृषकहरु पछिल्लो समय टिस्यु कल्चरमा आकर्षित भइरहेका छन् ।” आधुनिक प्रविधिमैत्री नर्सरी सञ्चालनमा रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्र्तगतका कृषि एकाइले सहयोग गर्दै आएको छ । आयोजनाले कृषकहरुका लागि चाहिने बीउ, कृषि उपकरण आदिमा अनुदान दिन थालेपछि समेत कृषकहरु केराखेतीतर्फ आकर्षित हुँदै आएका छन । टिस्युकल्चर प्रविधि एउटा स्वस्थ विरुवाको निकै सानो कोषबाट हजारौँ बिरुवा निकाल्न सकिने अत्याधुनिक प्रविधि हो । कुनै पनि स्वस्थ विरुवाको डाँठबाट सानो कोष निकालेर हाइटेक ल्याबमा बायोटेक इञ्जिनीयरहरुले बिरुवाहरु उत्पादन गर्दछन् । एउटा कोषलाई हाइटेक ल्याबमा रसायनहरुको प्रयोग गर्दै हुर्काउँदै सानासाना कोषहरुमा विभाजन गरेर हजारौँ बिरुवा उत्पादन गर्न सकिन्छ । बिरुवाको कोषलाई हुर्काउन ल्याबमै छ महिनासम्म समय लाग्दछ । वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झण्डै तीन महिनासम्म बिरुवालाई हुर्काइन्छ । तीन महिनासम्म ल्याबमा हुर्किएको विरुवालाई जहाँको माटोको लागि तयार गरिएको हो त्यही ठाउँमा ग्रिनहाउस निर्माण गरेर राखिन्छ । झण्डै तीन महिना ग्रिनहाउस नर्सरीमा हुर्किएपछि मात्र यो बिरुवा रोप्नका लागि तयार हुन्छ । कृषि विज्ञ कुलप्रसाद तिवारी भन्छन्, “टिस्युकल्चर बिरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्ष लाग्छ, अत्याधुनिक बायोटेक ल्याबभित्र रसायनहरूको सहायताले हुर्किने हुनाले विरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्षको समय लाग्छ ।” यसरी, नर्सरीमै निकै सजगताका साथ हुर्किने हुनाले टिस्युकल्चर बिरुवा अन्यको तुलनामा रोग कम लाग्ने, बढी फल दिने, रोगसँग लड्ने क्षमता बढी हुने बताए । कृषि विज्ञ तिवारीका अनुसार नेपालमा टिस्यु कल्चर प्रविधिको ल्याब छैन । भारत लगायतका अन्य देशबाट टिस्यु कल्चर गरेर ल्याइएको बिरुवा केही महँगो पर्न जान्छ । नेपालमै यसको ल्याब र दक्ष जनशक्ति उत्पादन गर्न सके बिरुवाको बेर्ना उत्पादन गर्न सस्तो हुने उनले बताएका छन् । हाल नेपालमा टिस्यु कल्चर प्रविधिका बिरुवाहरु विशेषगरी भारतबाट आउने गरेका छन् । कैलाली जिल्लामा ७३० हेक्टर जमिनमा केरा खेती गरिएको छ र वार्षिक १० हजार ९५० टन केरा उत्पादन हुन्छ । रासस
गृहकार्यमा जुटे बैंक, सबलहरू कमजोरलाई गाभ्ने दाउमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरू सघन मर्जरको गृहकार्यमा जुटेको जानकारी दिएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको राष्ट्र बैंकले बैंक र बैंक संचालकहरू मर्जरका विषयलाई लिएर सघन गृहकार्यमा जुटेको प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘राष्ट्र बैंकलाई गराएको अनौपचारिक जानकारी अनुसार बैंकर्सहरू सघन मर्जर गृहकार्यमा जुटेका छन्,’ उनले भने ‘औपचारिक जानकारी भने आएको छैन ।’ यस अवधिमा केही बैंकले मर्जरका लागि पार्टनर खोज्न थालेका छन् भने केही बैंकको संचालक समिति बैठक बस्ने तयारीमा छ । ठूला भनिएका वा वित्तीय आधारमा सवल देखिएका बैंकहरू कमजोर बैंकले आफूमा गाभ्ने छलफल अघि बढाएका छन् भने कुनैले एक्विजिशन गर्ने रणनीति लिएका छन् । बिग मर्जरको पक्षमा रहेका तथा नेपाली अर्थतन्त्र अनुसार बैंकको संख्या धेरै भएको बताउदै आएका बैंकर्सहरूलाई अन्य वित्तीय व्यवस्थापन मिलाउन त्यति गाह्रो नभएपनि कर्मचारी व्यवस्थापन गर्न भने गाह्रो हुने देखिएको छ । यसअघि पनि मर्जरमा गएका बैंकहरूले यस्तै समस्या झेल्दै आएका छन् र कतिपय बैंकमा अझै यस्तो असर वाँकी नै छ । बलिया बैंक कम भएपनि पुग्ने बताउदै आएका बैंकहरूलाई मर्जरमा जान सबैभन्दा ठूलो समस्या कर्मचारी व्यवस्थापन भएको छ । ग्लोबल आईएममी बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरका लागि तीन-चार वटा बैंकसँग कुरा अघि बढाएको बताए । ‘अहिले नै हामी निर्णय गर्ने अवस्थामा पुगिसकेका छैनौ,’ उनले भने ‘केही बैंकसँग यस विषयमा कुरा भएको छ ।’ राष्ट्र बैंकले दिएको निर्देशनात्मक सल्लाह कार्यान्वयनका लागि बैंकहरू आ–आफ्नोतर्फबाट छलफलमा जुटेका छन् । यसै विषयलाई लिएर प्रभु र सानिमा बैंक संचालक समितिको बैठक बिहीबार बस्दैछ । नेपाल कमर्श एण्ड क्रेडिटले मर्जर कमिटी बनाएर यसको गृहकार्य अघि बढाएको छ । सानिमा बैंकले पनि मर्जर कमिटी बनाउने भएको छ । मर्जरका विषयलाई लिएर मंगलबार बैंकर्स एशोसिएसनको बैठक बसेको थियो । राष्ट्र बैंकले दिएको समयावधिभित्र मर्जर प्रक्रिया अघि बढाउनका लागि बैंकहरू खोज्न गाह्रो भएको र कुन मोडालिटीमा मर्जरमा जाने व्यवस्था स्पष्ट नभएको बैठकको निश्कर्ष छ । बैंकहरूले मर्जरमा जानका लागि राष्ट्र बैंकले सहजिकरणका साथै सहुलियत दिनेमा बैंकहरूमा विश्वस्त छन् ।