त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मा सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवा आयोगको परिक्षाको परिणाम फेरवदल गरेको प्रमाण फेला परेपछि बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपुर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीहरुका आफन्तहरुलाई जागिर खुवाएको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले अध्यक्ष चैतन्य प्रसाद शर्मा, सदस्य चिन्तामणी पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोईराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी ईन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह-प्राध्यापक राजेश्वर न्यौपाने, सह-प्राध्यापक तारा प्रकाश पौडेल र रामबहादुर पाण्डे क्षत्री सहित १० जना विरुद्ध मुद्धा दायर गरेको हो । उनीहरुले थोरै नम्बर ल्याउने परिक्षार्थीहरुलाई नम्बर थपिदिएर सेवा आयोगको परिक्षा उतिर्ण गराई जागिर खुवाएका थिए । अख्तियारले गरेको लामो अध्ययनपछि उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।
बैंकिङ् कसुर मुद्दामा कृषि विकास बैंकका कर्मचारीसहित तीन पक्राउ
काठमाडौँ । बैंकिङ कसुरमा कृषि विकास बैंकका कर्मचारीनै संलग्न रहेको फेला परेको छ । कृषि विकास बैंक रत्नपार्क कार्यालयको छाप, दस्तखत तथा लेटरप्याडसमेत अनाधिकृत रुपमा प्रयोग गरी ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार गरेर बैंकलाई हानीनोक्सानी पुर्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका कर्मचारीसहित तीन जनालाई पक्राउ गरेपछि उक्त तथ्य फेला परेको हो । पक्राउ पर्नेमा बैंकका कर्मचारी भक्तपुर बालकोटका छविलाल ढकाल, ठेकेदार कम्पनी एमएस एमके र वाइपीका प्रतिनिधि धनकुटा, महालक्ष्मी नगरपालिका-७ बस्ने रणधिर तुम्बा, र बाजुरा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने देवजङ्ग शाही रहेको ब्यूरोले जनाएको छ । हाल निलम्बनमा रहेका तत्कालीन बैंकका शाखा अधिकृत ढकालले उनीहरुसँग मिलेर बैंकलाई नोक्सानी पुर्याउने उद्देश्यले तीन वर्षअघि रु एक करोड १० लाखको ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार गरी बैंकिङ अपराध गरेको प्रहरीले जनाएको छ । उनीहरुको विषयमा अहिले पाटन उच्च अदालतबाट म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । उनीहरुले २०७३ साल असारमा साविक भोजपुर प्राविधिक कार्यालय र ठेकेदार कम्पनी एमएस एमके र वाइपीका बबरमहल काठमाण्डौँबीच भोजपुर-टक्सारकोट-गोगने-लेखर्क सडक स्तरोन्नतिको लागि रु बाह्र करोड ५५ लाख ९७ हजारमा ठेक्का सम्झौता हुँदा नक्कली जमानत पेश गरेको खुल्न आएको छ । सो क्रममा बैंकका कर्मचारी ढकालले बैंकबाट ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार पारी उनीहरुलाई उपलब्ध गराएको पाइएको छ । उनीहरुले सविक प्राविधिक कार्यालय भोजपुरबाट दुई किस्तामा रु एक करोड १० लाख झुक्तानी लिई सकेकोसमेत खुल्न आएको प्रहरी उपरीक्षक रेगमीले जानकारी दिनुभयो । हाल उक्त सडकको ठेक्का स्थगित भएको जनाइएको छ ।
सन् २०२० मा सिएपिए कतार एभियशन एरोपोलिटिकल एण्ड रेगुलेटरी सम्मिट आयोजना हुने
दोहा, कतार । कतार एयरवेजले सिएपिए-उड्डयन केन्द्रसँगको सहकार्यमा ५-६ फेब्रुअरी २०२० मा दोहामा सिएपिए कतार एभियशन एरोपोलिटिकल एण्ड रेगुलेटरी सम्मिट पुनः आयोजना गर्ने भएको छ । २०१९ को फेब्रुअरीमा आयोजित मध्यपूर्वी क्षेत्रकै पहिलो एरोपोलिटिकल सम्मेलन अत्यन्तै सफल रहेको थियो जहाँ ‘दोहा डेक्लेरेशन’ सम्झौता भएको थियो । उक्त घोषणापत्रले अन्तर्राष्ट्रिय हवाई यातायातका लागि लचिलो नियामक संरचना स्थापना गर्न उदारीकरणको सिद्धान्तमा सबैको राजनैतिक प्रतिबद्धताका लागि पहल गर्दछ । उक्त सम्मेलनले उड्डयन, कानुन तथा सरकारी क्षेत्रका ३५ भन्दा धेरै विशेषज्ञ वक्ताहरुबाट सुन्न ३०० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुलाई जोड्न सफल रह्यो । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकारी अक्बर अल बकरले भने–‘कतार एयरवेज २०२० मा सिएपिए कतार एभियेशन एरोपोलिटिकल एण्ड रेगुलेटरी सम्मिट पुनः आयोजना गर्न अत्यन्तै उत्साहित छ । भविष्यको रणनीतिक दिशा एवं हाम्रो यस उद्योगको चालु उदारीकरणको वादविवादलाई बढावा दिने छलफललाई निरन्तरता दिन यस उद्योगका अग्रणी तथा वरिष्ठ निर्णयकर्ताहरुलाई दोहामा स्वागत गर्न प्रतीक्षामा छौँ ।’
‘इजीट्याक्सीनेपाल’ एप्स, ५ मिनेटमै घरमा आउँछ ट्याक्सी
काठमाडौं । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सीसेवा दिन शुरु गरेको छ ।उपत्यकाका ५ हजार भन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरु आबद्ध समाजले आफ्ना यात्रुहरुको सुविधाका लागि प्रविधिमा आधारित ट्याक्सी सेवाको शुरुवात गरेको हो । प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै समाजले मोबाइल एप्स ‘इजीट्याक्सीनेपाल’ मार्फत वैशाखदेखि नै यात्रुहरुलाई दिने सेवाको परीक्षण गर्दै आएको छ । अब भने समाजले इजीट्याक्सीनेपाल मार्फत आबद्ध ट्याक्सीहरुमार्फत प्रविधिमा आधारित रहेर यात्रुले सेवा लिन सकिने घोषणा गरेको हो । इजीट्याक्सीनेपाल ट्याक्सी सेवा हाल काठमाडौं उपत्यका भरी संचालनमा आईसकेको छ । यसको लागि ‘इजीट्याक्सीनेपाल एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यसको लागि कस्टमर लगइन रजिस्टर बनाईएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा रियलटाइम म्यापमा आफू बसेको स्थान देखिन्छ भने जाने गन्तव्य छनौट गर्नुपर्दछ । यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकहरुले सोही एप्समार्फत सो अनुरोधलाई स्वLकार गर्नेछन् । त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले-‘अब नेपालमा पनि प्रविधिमा आधारित ट्याक्सी सेवा शुरु भएको छ । सरकारले पर्यटकहरु नेपाल भित्र्याउन भिजिट नेपाल २०२० अभियान गर्दैछ भने इजीट्याक्सीनेपाल एप्सले पनि सोहि अभियानलाई साथ दिन प्रचास प्रसार गर्दै स्वदेशी र विदेशी पर्यटकहरुलाई यात्रुमैत्री सेवा प्रदान गर्नेछौं ।’
नेपालको पहिलो स्मार्ट फिल्म सिटी लमजुङमा, ५ अर्ब ९० करोड लागतकाे अनुमान
काठमाडौं । लमजुङ जिल्लाकाे बेसीसहर नगरपालिकामा नेपालको पहिलो स्मार्ट फिल्म सिटी निर्माण हुने भएको छ । ५ हजार रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त फिल्म सिटी, स्काई इन्टरटेन्मेन्ट इन्भेस्कमेन्ट प्रा.लि र नेपाल एण्ड वर्ल्ड एसिया होल्डिङ (एसआरएल)इटाली कम्पनीबीच सो ‘वर्ल्ड स्काई सिनेभिलेज नेपाल’ निर्माणको लागि सम्झौता भएको छ । उक्त फिल्म सिटी निर्माणका लागि ५ अर्ब ९० करोड रुपैयाँ लाग्ने अनुमान रहेको छ । नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्टका सञ्चालक तथा नेपाल चलचित्र उत्पादन संघका अध्यक्ष आकाश अधिकारी र इटालियन नेपाल एण्ड वर्ल्ड एसिया होल्डिङ एसआरएल कम्पनीका प्रमुख फ्रानसिस्को सिग्रिरियल्लोले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । प्रमुख अतिथि सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले फिल्म सिटी निर्माणको समयमा हुने समस्यालाई सरकारले हल गर्ने प्रतिवद्धता व्यक्त गर्दै फिल्म क्षेत्रमा धेरै विकास गर्ने मन हुँदाहुँदै पनि धन र प्रविधिको कारण पछि परेको बताए । उक्त सिनेसिटी करिब ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकाे मन्त्री बास्काेटाले भने । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा चलचित्र उत्पादन संघका अध्यक्ष तथा स्काई इन्टरटेन्मेन्टका सञ्चालक आकाश अधिकारीले करिब ५ अर्ब ९० करोड रुपैयाँबाट निर्माण कार्य सुरु गर्ने सो प्रोजेक्टका साथै सिनेमा अध्ययनका लागि विद्यालयको पनि स्थापना गर्ने बताए । उनले भने निर्माण हुने सो फिल्म सिटीमा जुनसुकै किसिमका सिनेमाहरुको छायाकंन गर्न सक्ने तथा अन्य देशमा छायाकंनका लागि निर्धारित मूल्यभन्दा कम मूल्यमा संचालन गर्ने याेजना रहेकाे छ । त्यस्तै कार्यक्रममा बोल्दै नेपाली सिनेमा क्षेत्रका निर्देशक तथा कलाकार निर शाहले राष्ट्रिय चलचित्र उद्योगको विकासका लागि कसरी अगाडी बढ्नु पर्छ भन्ने कुरा मनन् गर्दै अगाडी बढ्नु पर्ने बताए । शाहले उक्त फिल्म सिटी निर्माणका विषयमा आगामी दिनमा नकारात्मक कुरा भन्दा नि सकारात्मक विषयको चर्चा परिचर्चा सुन्ने अवसर सिर्जना गराउन निर्माण समुहलाई सचेत गराए । बेसीसहर नगरपालिकाका अध्यक्ष गोमानसिंह अर्यालले भने ‘बेसीसहर नगरपालिका वडा ३, ४, ५, ९ मा हुने फिल्म सिटी निर्माणका विषयमा स्थानियस्तरको साथ र समर्थन निर्माण सुरुवातदेखि समापनसम्म हुने छ ।’ अध्यक्ष अर्यालले उक्त ठाँउबाट १४ वटा भन्दा बढी हिमालहरु नजिकबाट अवलोक गर्न सक्नुका साथै इतिहासिक तथा धार्मिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह हुने उनको भनाई छ । नेपालमा पहिलो पटक निर्माण हुने उक्त स्र्माट फिल्म सिटी २ हजार ६० मिटरदेखि २८ सयससम्मको उचाईमा निर्माण भई विश्वकै उच्च स्थानको फिल्म सिटी हुने जानकारी दिएका छन् ।
सनराइज बैंकद्वारा नवलपुर कावासोतीमा शाखा बिस्तार
नवलपुर । सनराइज बैंकले नवलपुर स्थित कावासोतीमा शाखा बिस्तार गरेको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्धानिया थारु र संचालक समिति सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रmपमा उद्घाटन गरेका हुन् । यो समेत गरी बैंकको शाखा संख्या ११२ पुगेको छ ।
पिन्चेस आर्टकोर अब दरबारमार्गमा
काठमाडौं । उपत्यका कै प्रशिद्ध विभिन्न कस्टुमाइज्ड उत्पादनहरु बनाउने पिन्चेस आर्टकोरले दरबारमार्गको टाइमस स्क्वायर मलमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ । एक वर्षको सफलतापूर्वक व्यापार तथा ग्राहकहरुको बढ्दो मागले गर्दा पिन्चेस आर्टकोरलाई दरवारमार्गमा सेवा बिस्तार गर्न उत्प्रेरित गरेको हो । पिन्चेस आर्टकोरले ग्राहकहरुलाई विभिन्न कस्टुमाइज्ड उत्पादनहरु जस्तै कुसन, किरिङ, कोस्टर, ब्राइड रोब, मग, टम्बलर, मोबाइल कभर, मोबाइल ग्रीप, नोटबुक, स्यास, क्याउन नेम स्ट्यान्ड, बक्स लकेट, माउस प्याड, फोटो प्रप्, बुकमार्क लगायतका इच्छा अनुसारको आर्ट गरेर कस्टुमाइज्ड उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ । पिन्चेस आर्टकोर प्रा.लि.को फाउण्डर तथा सीईओ श्रेय जोशीले भनिन्–‘हामी दरबारमार्गमा नयाँ आउटलेट खोल्न पाउँदा अत्यन्तै खुशी छौं । छोटो समयमै हामीलाई सफलता हासिल गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण ग्राहकहरुमा म आभार प्रकट गर्न चाहान्छु ।’ पिन्चेस आर्टकोरले सन् २०१८, फेब्रअरी १ तारिकबाट बत्तिसपुतलिमा आउटलेट खोलेर ग्राहकहरुलाई सेवा पुर्याउँदै आइरहेको छ
पेट्रोलियम पदार्थको बिक्रीमा भयो मनपरी
काठमाडौं । सरकारले निर्धारण गरेकोभन्दा बढी मूल्यमा नुवाकोटमा पेट्रोलियम पदार्थ बिक्री भएको वर्षौ भइसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा सवारी चालक र उपभोक्ता ठगिँदै आएका छन् । बढी मूल्य नलिनका लागि जिल्ला प्रशासनमा स्थानीयवासीले पटक पटक आग्रह गरे पनि अझै घटाउन पहल भएको छैन । जिल्ला प्रशासनले पेट्रोल बिक्री वितरण गर्ने व्यवसायीहरुलाई गत माघ महिनाको दोस्रो साता बोलाएर छलफल गरेकामा उनीहरूले एक हप्ताभित्रै सरकारी मूल्यअनुसार नै पेट्रोलियम पदार्थ वितरण गर्ने प्रतिबद्धता गरेका थिए तर छलफल भएको छ महिना बितिसक्दा पनि बढी शुल्क लिएरै ती पदार्थ बिक्री वितरण गर्दै आएका छन् । प्रशासनले उपभोक्ता र व्यवसायीलगायत सरोकारवालासँग समन्वय गर्दै मूल्य सन्तुलन कायम राख्नेदेखि उपभोक्ताको अधिकार सुरक्षित पहल गरे पनि व्यवसायीहरुले अटेर गर्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल भन्छन्, “म कार्यालयमा हाजिर भएको धेरै भएको छैन । जिल्लाका समस्या र चुनौतिहरु के कस्ता छन् भनेर मैले बुझिरहेको छु । पेट्रोलियम पदार्थका सम्बन्धमा आफूलाई जानकारी नभएकाले अध्ययन गरेर सरकारी मूल्यअनुसार नै बिक्री गराउने प्रयास गर्नेछु” । उनले पेट्रोलियम पदार्थ विक्रेतालाई छिटै छलफलमा बोलाएर मूल्य सन्तुलन गर्ने बताएका छन् । रासस