बाढी पहिरोका कारण ७८ जनाको मृत्यु, सत्र हजार घरधुरी विस्थापित
काठमाडौं । मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण कार्यलाई तीव्रता दिएको बताएका छन् । अझै केही दिन आंशिक र केही स्थानमा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ । अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ । बेपत्ताको खोजी र राहत कार्य तीव्र पारिएको सरकारले जनाएको छ । तीनै तहका सुरक्षा निकायका ४१ हजार बढी जनशक्ति उक्त अभियानमा सक्रिय छन् । रासस
बैंकमा पैसा थुप्रियाे, लगानी याेग्य पुँजी ९७ अर्ब रूपैयाँ
काठमाडाैं । असार मसान्तसँगै बैंकिङ क्षेत्रमा तरलता बढेकाे छ । हाल वाणिज्य बैंकहरूमा मात्र ९७ अर्ब रूपैयाँ जम्मा भएकाे नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले बताएका छन् । सरकारी ठेक्काका भुक्तानी निकासा भएकाे, असार मसान्तसँगै निजी क्षेत्रबाट पनि बाँकी रकम भुक्तानी गर्ने अभ्यास भएकाे, कर्जाकाे व्याज, किस्ता बैंकमा जम्मा भएकाेले बैकिङ क्षेत्रमा तरलता बढेकाे गभर्नरले बताएका छन् । तरलता वृद्धिसँगै सरकारले ऋणपत्र निष्काशन गरिरहेकाे छ । नेपाल राष्ट्र बैंकले सोमवार रु २० अर्ब बराबरको ट्रेजरी बिल निष्काशन गरेकाे छ । यसका लागि बैंकहरूले असार मसान्तकै दिन बोलकबोलको प्रक्रियाबाट लिन सक्छन् त्यस्तै बैंकले गत आइतबार मात्रै रु ११ अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गरेको छ । त्यस्तै, बैंकले यसअघि यही असार २३ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।
तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ हुने
काठमाडौं । असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ हुने भएको छ । शारिरीक सुगठन तथा फिटनेश संघले उक्त कार्यक्रमको आयोजना गरेको हो । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजकले यस्तो जानकारी गराएको हो । कपिलवस्तुको तिलौराकोटलाई विश्वभरि चिनाउने उद्देश्यले गर्र्न लागिएको उक्त प्रतियोगितामा कम्तिमा पनि एक सय जनाले प्रतिष्पर्धा गर्नेछन् । ६ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५+) गराईने प्रतियोगिताकै विजेता हुनेलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ । यसरी, उक्त प्रतियोगितामा आफ्नो वजन समूहमा विजेता हुनेहरुलाई क्रमशः पन्ध, दश र पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिने पनि संघका अध्यक्ष जीवन गिरीले जानकारी दिएका हुन् । प्रतियोगितामा जम्मा १३ लाख लाग्ने बताउँदै गिरीले अहिलेसम्म कार्यक्रम सफल तुल्याउनको लागि कपिलवस्तु नगरपालिकाले पाँच लाख सहयोग प्रदान गरिसकेको र अन्य संघ, संस्था र गाउँपालिकाहरुले पनि सहयोगको प्रतिबद्धता रहेको बताएका छन् ।
वडाध्यक्षको नक्कली हस्ताक्षर गर्ने एक युवक पक्राउ
काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालाजुस्थित अटोपार्ट्सका कर्मचारी रवीन खत्री रहेका छन् । आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष रिजालको हस्ताक्षर गरेर वडामा फाइल पेश गरेको पाइएकाले प्रहरीले उनलाई पक्राउ गरेको हो । वडाध्यक्ष रिजालले दर्ता शाखामा आफ्नै हस्ताक्षर गरेर फाइल पेश गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिएका छन् । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले बताए । कार्कीले अटो पार्ट्सका मालिक टेकबहादुर रायमाझीको निर्देशनमा आफूले फाइल वडामा ल्याएको तर यसबारे थप जानकारी आफूलाई नभएको बयान दिएको बताइएको छ । वडाध्यक्ष रिजालले भने, “उहाँले क्लोजिङका लागि फाइल दर्ता शाखामा पेश गर्नुभएछ, मेरो स्टाफले नक्कली हस्ताक्षर भएको आशङ्कामा म कहाँ फाइल ल्याएपछि हस्ताक्षर नक्कली नै भएको पाइएपछि प्रहरी बोलाएर जिम्मा लगाएका हौँ ।” रासस
७ वर्षदेखि हुन सकेन राष्ट्रिय बीमा कम्पनीको एजीएम, बीमा समिति भन्छ-स्पष्टीकरण खोई ?
काठमाडौ । राष्ट्रिय बीमा कम्पनीको वार्षिक साधारण सभा(एजीएम) ७ वर्षदेखि रोकिएको छ । आर्थिक बर्ष २०६८/६९ देखि हालसम्म कम्पनीले साधारण सभा नभएको हो । कम्पनीले आव २०६८/०६९ को १ सय २० प्रतिशत बोनश प्रस्ताव गरी वित्तीय विवरण बीमा समितिमा बुझाएको थियो । तर समितिले सो वित्तीय विवरणलाई स्वीकृत प्रदान गरेन, हालसम्म पनि सो समस्याको निकास नआउँदा सात वर्षदेखि साधारण सभा रोकिएको हो । समितिले यस समन्धमा कम्पनीसँग स्पष्टिकरण माग गरेपनि कम्पनीले स्पष्टिकरण बुझाउन अटेरी गर्दै आएको छ । समितिले स्पष्टिकरण माग गरेको अवधि १ वर्ष नाघि सकेको छ । यस सम्बन्धमा राष्ट्रिय बीमा कम्पनीको कम्पनी सचिव निरञ्जन आचार्यले भने-‘हामी चुक्तापूँजी पुर्याउने तयारीमा छौँ, राष्ट्रिय बीमा संस्थान र कम्पनी अलग भए केही कमजोरी देखिएका छन्, त्यसले काम गर्न केही समस्या भएको हो ।’ आचार्यले आर्थिक बर्ष २०६८/६९ को वित्तीय विवरण बीमा समितिमा पठाएको र सोही विषयमा १२० प्रतिशत बोनश नराख्न समितिले निर्देशित गरेको बताए । छिट्टै समस्याको निकास आउने पनि उनले बताए । कम्पनीका एक अधिकारीले भने-‘आव २०७५/०७६ को तेस्रो क्वाटरको रिर्पोट हेर्नुस्, हामीसँग ५६ करोड रुपैयाँ नाफा रहेको छ ।’ ती अधिकारीले पूँजीकोषमा समेत १ अर्ब रुपैयाँ रहेकोमा जोड दिए । लामो समयदेखि कम्पनीको रोकिएको वार्षिक साधारण सभा गर्नका लागि बीमा समितिले बाटो फुकुवा गर्नु पर्ने ती अधिकारीको तर्क छ । यस सम्बन्धमा विकासन्युजको जिज्ञासामा बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँले भने–‘हामी कहाँ राष्ट्रिय बीमा कम्पनीले प्रस्ताव ल्याएको कुरा सहीँ हो, तर सो प्रस्ताव आए पश्चात हामीले केही कुराको सफाई माग गरेका छौ, त्यो अहिलेसम्म प्राप्त भएको छैन ।’ विगत केही वर्षदेखिको समस्याको समाधान कम्पनी आफैले गर्नु पर्छ-अध्यक्ष चापागाईँले भने । सेयरको अवस्था: राष्ट्रिय बीमा कम्पनीको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २६ लाख ६६ हजार कित्ता सेयर सूचीकृत छ । कम्पनीको बजार पूँजीकरण २५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता ९ हजार ४ सय रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्यले लगानीकर्तामा रहेको विश्वास झल्काउँछ । सो विषयमा कम्पनीले आफूहरुले आर्जन गर्ने नाफा, बलियोे पूँजीकोष लगायतका कुरा कम्पनीलाई विश्वास गर्ने बलियो आधारको रुपमा रहेको दाबी गरेको छ । बीमा समितिले दिएको निर्देशन अनुसार कम्पनीको चुक्तापूँजीको विषयमा पनि आफ्नो प्रयास जारी रहेको बतायो । सो विषयमा भने केही दिनमा बोर्ड बैठकले निर्णय गर्ने कम्पनीले जनाएको छ । राष्ट्रिय बीमा कम्पनीले विगतका बोनश लगायतका विषयमा छानबिन गर्न सिए समेत नियुक्त गरेको जनाएको छ । सिएले ५–६ महिना लगाएर वित्तीय अनुसन्धानपनि गरेका छन् । सोही अनुसन्धानले निकास दिने बुझिएको छ ।
पर्यटन विभागद्वारा काठमाडौंका चार क्यासिनोको अनुगमन, बाँकीको पनि गरिने
काठमाडौं । पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ । नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ । पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिएका छन् । बाँकी क्यासिनो पनि क्रमशः अनुगमन गरिनेछ । नेपालमा साना र ठूला गरी २० क्यासिनो सञ्चालनमा छन् । साना क्यासिनो सबै सर्वोच्च अदालतको निर्णयको प्रतिक्षामा छन् । प्रत्येक आर्थिक वर्षमा क्यासिनो नवीकरण गरिन्छ । ठूला क्यासिनोले रु चार करोड र साना (मिनी) क्यासिनोले रु एक करोड वार्षिक राजश्व बुझाउनुपर्छ । त्यस्तै नवीकरण दस्तुरबापत ठूला क्यासिनोले रु एक करोड र साना क्यासिनोले रु ५० लाख बुझाउनुपर्छ । ठूला क्यासिनोको निवेदन दस्तुर रु पाँच लाख र सानाको रु दुई लाख लाग्ने विभागले जनाएको छ । विभागको सगरमाथा हिमालपछि सबैभन्दा बढी राजश्व असुल हुने क्षेत्रमध्ये क्यासिनो नै प्रमुख हो । अघिल्लो आर्थिक वर्षमा विभागले रु एक अर्ब २० करोड राजश्व असुल गरेको थियो । क्यासिनोबाट मात्रै रु ४५ करोडभन्दा बढी राजश्व जम्मा हुने गरेको छ । क्यासिनो अनुगमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह-सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो । सो समितिका सदस्यमा विभागका महानिर्देशक डण्डुराज घिमिरे, विभागकै निर्देशक मीरा आचार्य, होटल तथा घरवास कार्यक्रम ‘होमस्टे’ शाखाका प्रमुख, होटल एशोसिएशन अफ नेपाल (हान) का प्रतिनिधि रहेका छन् । रासस
अनरको बजेट स्मार्ट फोन नेपाली बजारमा
काठमाडौँ । नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजी प्रालिले एक महिना अगाडि बजेट सेग्मेण्टको अनर एट ए लञ्च गरे लगत्तै त्यही सेगमेण्टमा अनर एट एस नेपाली वजारमा भित्राएको छ । यो फोन कम्पनीले मध्यमवर्गका उपभोक्तालाई लक्षित गरी वजारमा ल्याएको जनाएको छ । यसको उपभोक्ता मुल्य १२,५००।– तोकिएको छ । उक्त फोन नेपाली वजारमा निलो र कालो रङ्ग मा उपलब्ध हुनेछ ।
सेजनको अधिवेशन भदौ १४ गते, अध्यक्षमा गौतम र ढकालले प्रतिष्पर्धा गर्ने
काठमाडौँ । आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २० औँ वार्षिक साधारण सभा एवम् अधिवेशन भदौ १४ गते हुने भएको छ । मंगलबार बसेको कार्य समितिको बैठकले भदौ १४ गतेसाधारण सभा गर्ने निर्णय गरेको हो । उक्त साधारण सभा र अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा सहभागी हुन साउन मसान्त भित्र सदस्यता नबिकरण गरारासक्नु पर्ने निर्णय भएको सेजनका महासचिव भीम गौतमले जनाएका छन् । परिचयपत्र नबिकरण गर्न आउँदा एक प्रति फोटो सचिवालयमा उपलव्ध गराउन समेत सेजनले आफ्ना सदस्यहरुलाई अनुरोध गरेको छ । अध्यक्षमा गौतम र ढकाल भिड्ने भदौ १४ गते अधिवेशनको मिति तोकिएपछि उक्त अधिवेशनले चयन गर्ने नेतृत्वका बारेमा आर्थिक पत्रकारहरु बीच चर्चा परिचर्चा शुरु भएको छ । सेजनको भावी नेतृत्वका लागि हालसम्म भीम गौतम र मोदनाथ ढकालले अध्यक्षमा प्रतिपष्र्धा गर्ने बुझिएको छ । गौतम सेजनका वर्तमान महासचिव हुन् भने ढकालले यसअघिपनि अध्यक्ष पदमा प्रतिष्पर्धा गरेका थिए । भीम गौतम मोदनाथ ढकाल अधिवेशन हुने मिति आउन डेढ महिना बाँकी रहेपनि केही समय अघिदेखि नै भावी नेतृत्वका लागि गौतम र ढकालले आन्तरिक भेटघाट र छलफललाई तिब्रता दिएका छन् । दुबै पक्ष आ–आफ्नो प्यानल बनाउन सक्रिय रहेको बुझिएको छ । प्यानलनै बनाएर चुनावमा प्रतिष्पर्धा गर्ने भएकाले उपयुक्त उम्मेदवारको सूची तयार गर्न दुबै पक्ष सक्रिय देखिएका छन् । अध्यक्षमा प्रतिपष्र्धा गर्न गौतम र ढकालले तयारी गरेको भएपनि अरु पदहरुमा भने अहिलेसम्म खुलेर कसैले उम्मेदवारी घोषणा गरेका छैनन् ।