कृषि विकास बैंकमा ३८४ जनालाई अवसर, वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको विज्ञापन
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले ३८४ जना कर्मचारी माग गरेको छ । बैंकको आव २०७५÷०७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेका कर्मचारी लोक सेवा आयोगको सहमतिमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागेको बैंकले जनाएको छ । बैंकले नवौँ तह वरिष्ठ शाखा प्रमुख ८ जना, सातौँ तह वरिष्ठ लेखा अधिकृत २२ जना, वरिष्ट इञ्जिनियर(आइटी) २० जना, पाँचौ तह व्यवसाय सहायक १०७ जना, एमआइएस सहायक १३ जना, ओभरसियर(सिभिल) ५ जना, चौथो तह लेखापाल(विराटनगर केन्द्र) ६७ जना, लेखापाल(भैरहवा केन्द्र) १०० जना र लेखापाल(सुर्खेत केन्द्र) ४२ जना माग गरेको हो । माग भएका कर्मचारी मध्ये खुल्ला २०९ जना, महिला ५६ जना, आदिवासी जनजाति ५० जना, मधेसी ३७ जना, दलित १७ जना, अपाङ्ग १० जना र पिछडिएको क्षेत्रका लागि ५ जना कोटा विभाजन गरिएको छ । सम्बन्धित पदमा इच्छुक र योग्यता पुगेकाहरुले असार ३१ गतेदेखि साउन २० गतेसम्म अनलाइन मार्फत दरखास्त दिन सक्नेछन् । साउन २१ गतेदेखि २७ गतेसम्म दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ । तह ४ र ५ का लागि खुलातर्फ रु.८०० र समावेशीतर्फ प्रत्येक समूहका लागि थप रु.४००, तह ७ र ९ का लागि खुलातर्फ रु.१००० र समावेशीतर्फ प्रत्येक समूहका लागि थप रु.५०० शुल्क बुझाउनु पर्नेछ ।
अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, संस्थापक सेयरधनीतर्फ ४ जना सञ्चालक निर्वाचित
काठमाडौँ । निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्स लिमिटेडले सोमबार प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै सर्वसाधारणका लागि सेयर निष्काशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ । साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् । संस्थापक सेयरधनीका तर्फबाट आजाद श्रेष्ठ, रामबहादुर गुरुङ, सागर ुूरुङ र चिरञ्जीवी ध्वा सञ्चालन निर्वाचित भएका हुन् । कम्पनीले चालु आवको हालसम्म ४९ हजार ४ सय बीमालेख जारी गरी रु. ४१ करोड बीमा शुल्क आर्जन गर्नुका साथै ३३० वटा दाबी बापत २ करोड ८३ लाख दाबी भुक्तानी गरेको जनाएको छ । त्यसैगरी हाल कम्पनीका संस्थापक सदस्यहरुबाट कायम रहेको चुक्ता पूँजी रु. ७० करोड रहेको छ । लगानीतर्फ ७८ करोड ५ लाख पुगेको छ । कम्पनीले प्रधान कार्यालय लगायत प्रादेशिक र शाखा कार्यालय सहित ३० कार्यालय, १ ग्राहक सेवाकेन्द्र र १७ वटा तेश्रो पक्ष बीमा काउण्टर मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले २०७६ बैशाख १ गतेदेखि ३६५ दिननै बीमा सेवा प्रदान गर्दै आएको छ । सेवा छिटो र पारदर्शी बनाउने उद्देश्यले फास्ट ट्रयाक दाबी भुक्तानी नीति अवलम्बन गरी २ लाखसम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको जनाएको छ ।
आज गुरु पूर्णिमा, गुरुप्रति सम्मान भाव प्रकट गरी मनाइँदै
काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यासजयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यासजयन्ती मनाउने गरिएको हो । गौतम बुद्धले आजकै दिन धर्मचक्र प्रवत्र्तन अर्थात् पहिलो उपदेश दिएका थिए । व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । यस वर्ष गुरुपूर्णिमाका दिन चन्द्रग्रहण परे पनि गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने पर्व बिहान पर्ने भएकाले कुनै असर नगर्ने समिति अध्यक्ष गौतमले बताए । पूर्णिमा व्रत पनि यस वर्ष मङ्गलबार नै परेको छ । रासस
नेपाल वायुसेवा निगमको प्रवक्तामा चन्द
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का नायब महाप्रबन्धक गणेशबहादुर चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले चन्दलाई आइतबार निगमको प्रवक्ता तोक्नुभएको संस्थाका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमको आर्थिक विभागमा वरिष्ठ अधिकृतको रुपमा सेवा प्रवेश गर्नुभएका चन्दले संस्थागत विभागको प्रमुखको रुपमा पनि काम गरिसकेका छन् । बैतडी स्थायी घर भएका चन्दले त्रिभुवन विश्वविद्यालयबाट एमबिए अध्ययन गरेका छन् । यसअघि निगमको प्रवक्तामा वरिष्ठ क्याप्टेन विजय लामा थिए । नवनियुक्त प्रवक्ता चन्दले निगमको संस्थागत सुधारका लागि आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । निगमले राष्ट्रियतर्फ नौ विमानमार्फत २२ गन्तव्य तथा अन्तर्राष्ट्रियमा दुई वाइड बडी, दुई न्यारो बडी जहाजले छ मुलुकका विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएको छ । निगमले अन्तर्राष्ट्रियस्तरको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) प्रदान गर्दै आएको छ । रासस
बाढी पहिरोबाट हालसम्म ६९ जनाको मृत्यु, ३१ जना बेपत्ता
काठमाडौँ । यही असार २६ गतेदेखि देशका विभिन्न स्थानहरुमा भएको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण मुलुकभर हालसम्म ६९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्तिमार्फत विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भई हालसम्म ६९ जनाको मृत्यु भएको, ३१ जना बेपत्ता भएका, ३८ जना घाइते भएका र १६ हजार ५२० घरपरिवार अस्थायी रुपमा विस्थापित भएको जनाएको छ । त्यस्तै हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट तीन हजार ३६६ जना व्यक्तिलाई उद्धार गरिएको छ । उद्घार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरु क्रियाशिल छन् । यस कार्यमा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, रेडक्रसलगायतका सामाजिक तथा मानवीय क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरु र स्थानीयवासी परिचालित भएको मन्त्रालयले जनाएको छ । शीघ्रातिशीघ्र उद्धारको काम प्रभावकारी रुपमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बन्धित सबैलाई निर्देशन र अनुरोधसमेत भइसकेको छ । मन्त्रिपरिषद्को असार २९ गतेको बैठकले सरकारका सबै निकाय र जनशक्तिलाई परिचालित गरी तत्काल राहतका कार्यहरु तदारुकताका साथ गर्न निर्देशन भएबमोजिम सम्पूर्ण घाइतेको निःशुल्क उपचार, घाइते भई अपाङ्ग एवं अशक्त भएका र मृतकका परिवारलाई यथोचित व्यवस्था गर्ने कार्य भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले बाढी प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलिन नदिन सतर्कताका साथ औषधि र उपकरणसहित थप स्वास्थ्यकर्मीको टोली परिचालन गरिरहेको विज्ञप्तिमा जनाइएको छ । विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवालाई सहज बनाइराख्न सरकारी र गैरसरकारी संयन्त्रहरु प्रभावकारी रुपमा परिचालन भइरहेका छन् । उद्धार र राहतलगायतका कार्यहरुमा आवश्यक सहयोग पु¥याउन सरकारले जनप्रतिनिधिलगायत सबैलाई आग्रहसमेत गरिसकेको छ । आपत्कालीन उद्धार तथा राहतका लागि आवश्यकतानुसार हेलिकप्टर उडान भइरहेको तथा काठमाडाँैबाट हेलिकप्टरमार्फत जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा प्रवाहलाई सुचारू गर्न जेनेरेटर र धनुषाको लागि एक हजार १०० थान त्रिपाल पठाइएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै ललितपुर जिल्लाको महाँकाल गोटिखेलका २० र वाग्मती गाउँपालिकाको पिउटारका २० परिवारको लागि त्रिपाल, म्याट र कम्बल ४०÷४० थानका दरले हेलिकप्टरमार्फत पठाइएको छ । साथै सुर्खेत र इटहरीमा हेलिकप्टर तयारी हालतमा राखिएको छ । यसैगरी प्रदेश गोदामघर हेटौँडाबाट सिरहा, सर्लाही, रौतहट र महोत्तरी जिल्लाका लागि तीन÷तीन हजार थानका दरले १२ हजार थान त्रिपाल र चार रोल म्याटसहितको राहत सामग्री पठाइएको छ । इटहरीमा रहेको प्रदेश नं १ को गोदामघरबाट सप्तरीका प्रभावित परिवारलाई आश्रय प्रदान गर्न त्रिपाल वितरण गरिएको छ । घरबाट बाहिर सुरक्षित बसेकाहरुका लागि प्रदेश सरकार, स्थानीय तह र स्थानीयस्तरमा कार्यरत सङ्घसंस्थाबाट तत्कालको लागि खाद्यान्न व्यवस्थापन भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सम्भावित महामारीलाई मध्यनजर गरी प्रभावित जिल्लाहरुमा स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्थापन भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिहरुबाट उद्धार तथा बेपत्ताहरुको खोजीलाई तीव्रता दिइएको विज्ञप्तिमा जनाइएको छ । मकवानपुरस्थित इन्द्रसरोवर (कुलेखानी जलाशय) मा सामान्यतया कात्तिक महिनासम्ममा भरी हुने पानीको सतह अहिले नै भरिइसकेको छ । साठी मेगावाट विद्युत् उत्पादन गरी दुई सेन्टिमिटरको दरले पानीको सतह घटाउँदै लैजादासमेत पानीले अधिकतम सीमा रेखा नाघ्ने अवस्था आएमा जलाशयको ढोकाहरु खोल्नुपर्ने स्थिति आउन सक्ने बताइएको छ । हाल टर्बाइनबाट भएको निकासले पानीको सतह नियन्त्रणमा नै रहेको मन्त्रालयले जनाएको छ । ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रमा जनधनको क्षति हुन नदिने गरी सुरक्षा सतर्कता अपनाइएको छ । एसएमएसमार्फत अवस्थाको पूर्वसूचना दिने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ । रासस
आज खण्डग्रास चन्द्रग्रहणः के गर्ने के नगर्ने ?
काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच)बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले राससलाई जानकारी दिए । बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए । उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्न नहुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कर्कट, तुला, कुम्भ र मीन राशि भएकाहरुले भने ग्रहण हेर्नु हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकका नदी, ताल, तलाउ, पोखरी र सम्भव नभए घरमै स्नान गर्नुपर्ने ‘निर्णयसिन्धु’, ‘हेमाद्रि’ ‘कालमाधव’, ‘वीरमित्रोदय’ लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले बताउनुभयो । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । असार ३१ गते अपराह्न ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यतानुसार भोजन निषेध गरिएको छ । विश्वप्रसिद्घ वैज्ञानिक आइन्स्टाइनले आफ्नो प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेका बेलामा गरेका थिए । खगोलविद् तथा वैज्ञानिकका लागि भने ग्रहण एउटा प्रयोगात्मक प्रक्रियाको पुष्टि गर्ने सुनौलो अवसर भएको वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् जयन्त आचार्यले बताए । ग्रहणको प्रभाव केवल मानवजातिमा मात्र नभई पशुपन्छीमा पनि प्रत्यक्ष असर परेको अनुभव गर्न सकिने बताइएको छ । एक्काइसौँ शताब्दीमा जम्मा पचासी चन्द्रग्रहण पर्ने जनाइएको छ । ग्रहणसम्बन्धी आधुनिक एवं वैज्ञानिक धारणा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले मौसमले साथ दिएमा नेपालका सबै भागबाट पृथ्वीको छाया चन्द्रमामा आंशिक रुपमा परी ग्रहण लागेको देख्न सकिने जनाएको छ । ग्रेगोरियन पात्रोअनुसार ग्रहण जुलाई १७ तारिखको बिहान र नेपाली पात्रोअनुसार असार ३१ गते राति पर्छ । नेपाली पात्रोअनुसार सुर्योदयदेखि सूर्योदयसम्मको समयलाई एक दिन गणना गरिन्छ । ग्रेगोरियन पात्रोले मध्यरातदेखि मध्यरातसम्मको समयलाई एक दिन गणना गर्ने भएकाले समय फरक पर्न गएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्ने पनि सोसाइटीले जनाएको छ । वैज्ञानिक मान्यतानुसार चन्द्रग्रहण हेर्दा कुनै हानिनोक्सानी नहुने अध्यक्ष भट्टराईले बताए । मङ्गलबार राति १ः४६ बजे शुरु हुने खण्डग्रास ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा राति ३ः१५ बढी ढाक्नेछ । पूरै ढाक्ने भएको भए यसलाई खग्रास भनिन्थ्यो । अवलोकनकर्ताले १ः४६ बजेदेखि दुई घण्टा ५८ मिनेटसम्म अर्थात् ४ः४४ बजेसम्म चन्द्रमाको केही भागलाई तामा रङमा देख्न सक्नेछन् । यस अवधिलाई नै खण्डग्रास चन्द्रग्रहण भनिन्छ । ग्रहण नेपाललगायत भारत, चीन, मङ्गोलिया, जापान, रुस तथा अफ्रिका, दक्षिण अमेरिका, युरोप र अष्ट्रेलिया महादेशबाट देख्न सकिन्छ । क्यानडा तथा उत्तर अमेरिकामा बसोबास गर्ने मानिसले ग्रहणको अनुभव लिन नपाउने वाल्मीकि विद्यापीठका उपप्राध्यापक आचार्यले जानकारी दिए । एकाइसौँ शताब्दीमा पने ८५ चन्द्रग्रहणमध्ये यो एक भएको उनले सुनाए । “तान्त्रिकहरु तन्त्रको साधना तथा अघोरीमन्त्रहरुको साधना ग्रहणका बेलामा गर्दा सिद्घि हुने कुरामा विश्वास गरी यस्तो समयको उपयोग गर्छन्”, उनले भने । सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणलाई आँखाभित्र पस्न नदिन विभिन्न सावधानी अपनाइन्छ । चन्द्रग्रहण जो कोहीले पनि नाङ्गो आँखाले सजिलै हेर्न सक्छन् । चन्द्रग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामग्रीले हेर्दा केही असर गर्दैन । चन्द्रग्रहणमा आँखालाई हानिनोक्सानी पुर्याउने खालका किरण आएका हुँदैनन् । वैज्ञानिकले समेत ग्रहणका समयमा साधना गरेको उदाहरण छ । विश्वप्रसिद्घ वैज्ञानिक आइन्स्टाइनले आफ्नो प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेको बेलामा गरेका थिए भनिन्छ । रासस
अधिकांश दुग्ध उद्योगमा ढल र शौचालयको दुर्गन्ध, कुन डेरीको अवस्था कस्तो ?
काठमाडौँ । भक्तपुर नगरपालिकाले औद्योगिक क्षेत्रभित्र रहेको दुग्ध डेरी तथा उद्योगमा गरेको अनुगमनका क्रममा अधिकांशमा फोहर भेटिएको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार गएको टोलीले गरेको अनुगमनमा शिवम् डेरी प्रालिमा ढल र शौचालयको दुर्गन्ध भएको पाइएको छ । त्यसैगरी भान्साको फोहर र अन्य फोहर छरप्रस्ट राखेको, डेरीभित्र पानी जमेको, ढल र शौचालयको दुर्गन्ध भएको, कामदारले एप्रोन, माक्स, बुट, हेयरनेटको प्रयोग नगरेको पाइएको खाद्य निरीक्षक कौशल ओझाले जानकारी दिए । ल्याबमा माइक्रोवायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्ने, बरफमा राख्ने लिची तथा भेनिला सुगन्ध म्याद नाघेको पाइएकाले त्यही नष्ट गरिएको जानकारी दिँदै उहाँले सफा गर्न, दूध जोख्ने मेसिनलाई खुल्ला नराख्ने, ल्याब रेर्कड दैनिक रुपमा राख्न निर्देशन दिइएकोे खाद्य निर्देशक ओझाले बताए । त्यस्तै जगदम्बा डेरी फुड एण्ड वेभरेजमा फिर्ता ल्याएको दूध फेरि प्रशोधन गरेको पाइएकाले पुनःप्रशोधन नगर्न, सरसफाइमा विशेष ध्यान दिने, डेरीभित्र पानी जमेकाले व्यवस्थित गर्न, कामदारलाई एप्रोन, माक्स, बुट, हेयरनेट अनिवार्य प्रयोग गर्न, ल्याबमा माइक्रोवायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्ने, टेक्नीसियनलगायत कामदारको परिचय खोल्न प्रमाणपत्र वा परिचयपत्र राख्न निर्देशन दिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए । त्यसैगरी भक्तपुर डेरी प्रालिमा ल्याब व्यवस्थित गरी माइक्रोवायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्र्न, फिर्ता ल्याएको दूध फेरि प्रशोधन गरेको पाइएकाले पुनःप्रशोधन नगर्र्न, सरसफाइमा विशेष ध्यान दिन, डेरीभित्र जमेको पानी व्यवस्थित गर्न, कामदार सबैले एप्रोन, माक्स, बुट, हेयरनेट अनिवार्य प्रयोग गर्न, दुध ल्याएको र बजारमा पठाएको व्यवस्थित रुपमा रेकर्ड राख्न निर्देशन दिइएकोे उनले बताए । रासस
राष्ट्र बैंकले थपिदियो ब्याज तिर्ने म्याद, व्यवसायीलाई एक महिना राहत
काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणको ब्याज तिर्ने समय एक महिना थप गरिदिएको छ । राष्ट्र बैंकले सर्कुलर जारी गर्दै आर्थिक वर्ष समाप्त भएको एक महिनासम्म ब्याज तिर्न सकिने व्यवस्था गरेको हो । हालसम्म आर्थिक वर्ष सकिएको १५ दिनसम्म मात्रै ब्याज तिर्न पाउने सुबिधा थियो । राष्ट्र बैंकले १५ दिन समय थपेर एक महिनाको सुबिधा दिएको हो । देशभर आएको बाढी, पहिरो र डुबानका कारण व्यवसायीहरुलााई सहुलियत दिएको राष्ट्र बैंकले जनाएको छ । पुस मसान्त अवधिमा प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने लगानीको सिमालाई पनि असार मसान्त अवधीसम्म वृद्धि गरिदिएको छ । बाणिज्य बैंकले कुल लगानीको २५ प्रतिशत, विकास बैंकले १५ र फाइनान्स कम्पनीले १० प्रतिशत कर्जा सापटी प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था छ । बाणिज्य बैंकहरुले भने कृषिमा १० र उर्जा तथा पर्यटन क्षेत्रमा १५ प्रतिशत लगानी गर्नै पर्ने व्यवस्था थियो ।