विकासन्युज

ग्वार्कोमा निसान र डाटसन गाडीको नयाँ शोरुम उद्घाटन

काठमाडौँ । काठमाडौं उपत्यकाको निसान र डाटसन गाडीको आधिकारिक बिक्रेता कम्पनी मेगा मोटर्सले ग्वार्काेमा नयाँ शोरुम उद्घाटन गरेको छ । शोरुमको उद्घाटन निसान र डाटसन गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाले गरेका हुन् । शोरुम उद्घाटनको अवसरमा ‘मेगा एक्सचेन्ज अफर’ पनि ल्याइएको कम्पनीले जनाएको छ । यो शोरुम मेगा मोटर्सको काठमाडौं उपत्यकाभित्र दोस्रो आउटलेट हो ।

जीवन बीमा कम्पनीले आर्जन गरे ७१ अर्ब ८४ करोड बीमा शुल्क, कसले कति ?

काठमाडौ । जीवन बीमा गर्ने कम्पनीहरुले आर्थिक बर्ष २०७५/७६ मा ७१ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार कम्पनीहरुको प्रथम बीमा शुल्क कुल २९ अर्ब २६ करोड रुपैयाँ र नविकरण शुल्क ३९ अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको बीमा समितिले जनाएको छ । नेशनल लाईफ इन्स्योेरेन्सले बीमा शुल्क ७ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ । यसमध्ये प्रथम बीमा शुल्क २ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने नबीकरण बीमा शुल्क बापत ५ अर्ब ३२ करोड रुपैयाँ आर्जन गरेको हो । नेपाल लाईफ ईन्स्योेरेन्सले बीमा शुल्क २२ अर्ब ८६ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको प्रथम बीमा शुल्क ९ अर्ब १ करोड रुपैयाँ रहेको छ भने नविकरण शुल्क भने १३ अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेको छ । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसीले बीमा शुल्क १३ अर्ब ६४ करोड रुपैयाँ आर्जन गरेको छ, जसमध्ये प्रथम बीमा शुल्क ४ अर्ब ४९ करोड रुपैयाँ नबिकरण शुल्क ९ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।  मेट लाइफ एलिकोले बीमा शुल्क ४ अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क १ अर्ब ५४ करोड र नबिकरण शुल्क २ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । एशियन लाईफ इन्स्योरेन्सले बीमा शुल्क ४ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको छ, जसमध्ये कम्पनीको प्रथम बीमा शुल्क १ अर्ब ७१ करोड रुपैयाँ र नबिकरण शुल्क २ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको हो । यसैगरी सूर्या लाईफ इन्स्योरेन्सले बीमा शुल्क २ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क १ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने १ अर्ब १८ करोड रुपैयाँ नबिकरण शुल्क आर्जन गरेको छ । गुराँश लाईफ इन्स्योरेन्सले बीमा शुल्क १ अर्ब ९४ करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क ७० करोड रुपैयाँ र नविकरण शुल्क १ अर्ब २४ करोड रुपैयाँ आर्जन गरेको हो ।  प्राइम लाइफ इन्स्योरेन्सले बीमा शुल्क २ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ, जसमध्ये प्रथम बीमा शुल्क ९७ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीले नबिकरण शुल्क १ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ । यता, आइएमई लाईफ इन्स्योरेन्सले बीमा शुल्क ९० करोड रुपैयाँ आर्जन गरेको छ । युनियन लाईफ इन्स्योरेन्सले बीमा शुल्क २ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ भने नबिकरण शुल्क २५ करोड रुपैयाँ आर्जन गरेको हो । ज्योति लाईफ इन्स्योरेन्सले बीमा शुल्क १ अर्ब रुपैयाँ आर्जन गरेको तथ्याङ्क बीमा समितिमा बुझाएको छ । कम्पनीले प्रथम बीमा शुल्क ८३ करोड रुपैयाँ र नविकरण शुल्क १६ करोड रुपैयाँ आर्जन गरेको हो । सन नेपाल लाईफ ईन्स्योरेन्सले बीमा शुल्क ८६ करोड रुपैयाँ आर्जन गरेको छ, जसमध्ये प्रथम बीमा शुल्क ६९ करोड रुपैयाँ छ भने नबिकरण शुल्क १६ करोड रुपैयाँ आर्जन गरेको हो । रिलायन्स लाईफले बीमा शुल्क ७२ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क ४२ करोड रुपैयाँ र नबिकरण शुल्क ३० करोड रुपैयाँ आर्जन गर्यो । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले बीमा शुल्क १ अर्ब ३५ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क १ अर्ब २७ करोड रुपैयाँ र नबिकरण शुल्क भने ७ करोड रुपैयाँ रहेको छ । यता, सिटिजन लाईफ इन्स्योरेन्सले बीमा शुल्क १ अर्ब ११ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क ४९ करोड रुपैयाँ र नबिकरण ६२ करोड रुपैयाँ आर्जन गरेको हो । सानिमा लाईफ इन्स्योरेन्सले बीमा शुल्क ४३ करोड रुपैयाँ आर्जन गरेको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । प्रथम बीमा शुल्क ३५ करोड रुपैयाँ र नविकरण शुल्क भने ८ करोड रुपैयाँ आर्जन गरेको हो । प्रभु लाईफ इन्स्योरेन्सले बीमा शुल्क ४५ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क ३९ करोड रुपैयाँ र नबिकरण शुल्क ५ करोड रुपैयाँ रहेको छ । यसैगरी, महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा शुल्क २० करोड रुपैयाँ आर्जन गरेको छ भने कम्पनीको प्रथम बीमा शुल्क २० करोड रुपैयाँ रहेको छ । यता, राष्ट्रिय बीमा संस्थानले बीमा शुल्क ६ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको जनाएको छ ।

‘ई-सेवा’मा खाता खोल्ने २० लाख नाघे

काठमाडौँ । ‘ई-सेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको छ । विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएपछि ई–सेवामा एकाउन्ट खोल्नेको संख्या तीब्र रूपमा बढ्दै गएको हो । ई–सेवाले पछिल्लो समय सुरु गरेको ‘रिफर एण्ड अर्न’ अफरका कारण पनि इसेवामा खाता खोल्नेको संख्या बढेको जनाएको छ । २५ जनवरी २००९ बाट सेवा सुरू ई–सेवाको मोबाईल एप्स् डाउनलोड गरी कारोबार गर्नेको संख्या पनि करिब १३ लाख पुगिसकेको छ । त्यस्तै, देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङमार्फत करिब एक करोड व्यक्तिले इसेवाका सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब ५५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन् । त्यसैगरी इसेवामा रहेका मर्चेन्टको संख्या पनि २५ हजारभन्दा बढी पुगेको छ । पछिल्लो समय विभिन्न रेष्टुरेन्ट, होटल, किराना पसलदेखि विभिन्न डिपार्टमेन्टल स्टोरसम्म इसेवाको ‘क्युआर कोड’मार्फत् रकम भुक्तानी गर्न सकिने भएपछि मर्चेन्टको संख्या ह्वात्तै बढेको हो । पान पसलदेखि ठुला डिपार्टमेन्टल स्टोरसम्म क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने सुविधालाई इसेवाले आक्रामक रूपमा बढाउँदै लगेको छ । ‘हामीले डिजिटल ट्वान्टी–ट्वान्टी भन्ने महत्वाकांक्षी योजना अगाडी सारिरहेको अवस्थामा इसेवामा मात्र खाता खोल्नेको संख्या २० लाख पुग्नुले अत्यन्त खुसी तुल्याएको छ । यसबाट हामी क्यासलेस सेसाइटी निर्माणको बाटोमा नजिक–नजिक पुगिरहेका छौँ भन्ने थप पुष्टि भएको छ,’ ई–सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले भने । ई–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायत सेवाहरूको शुल्क भुक्तानी गर्न सकिने जनाइएको छ ।

दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम अहिले आएर धमाधम रुपमा सञ्चालन भइरहेको छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माण कार्य शुरु गरिएको विमानस्थलमा कालोपत्रको काम बल्ल आएर शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । विमानस्थलमा कालोपत्रको काम एक हप्ताभित्रमा सकिने उक्त विमानस्थल निर्माणको जिम्मा पाएको सपना ग्याल्भा तथा जेभी कन्स्ट्रक्सनका साइड प्रमुख राजेन्द्र विष्टले बताए । उनले भने, “मौसमले सात दिए हामी एक हप्तामा पिचको काम सक्छौँ र बाँकी काम त्यसपछि शुरु हुने छ ।” विमानस्थलमा रन वे रेखाङ्कन लगायतका काम गर्न भने बाँकी छ । दिपायल विमानस्थलको कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले बल्ल आएर कालोपत्रको काम शुरु गरेको दिपायलका स्थानीयवासी तेजबहादुर डुम्रेलले बताए । रासस

प्रहरीमाथि गोली चलाउने लागुऔषध कारोवारीको नाइके पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका–१ का कुमार भनिने राजु स्याङ्तानलाई साढे ३१ किलो गाँजा, एक थान पेस्तोल, पाँच थान गोली र एक थान खोखासहित आज सार्वजनिक गरेको हो । स्याङ्तान गएराति प्रहरीमाथि गोली चलाउने व्यक्ति भएको, प्रहरीको खोजी सूचीमा रहेको र पटकपटक आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ । लागुऔषध कारोवारीको नाइकेका रूपमा स्याङ्तानले समूह बनाएर गाँजाको कारोवार गर्ने गरेको प्रहरीको भनाइ छ । मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार विगत लामो समयदेखि राजमार्गमा डकैती र लागुऔषधको कारोवार गर्ने स्याङतान पाँच वर्षअघि काठमाडौँमा १०० केजी गाँजासहित पक्राउ परेर तीन वर्षभन्दा बढी जेल सजाय काटिसकेका व्यक्ति हुन् । राक्सिराङका अन्य गाँजा कारोवारीलाई धम्क्याएर गाँजा लुटपाट मच्चाउने स्याङतानलाई मकवानपुर प्रहरीले निकै नै लामो प्रयासपछि पक्राउ गरेको सिंहको भनाइ छ । स्याङतानलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई देख्नासाथ आफूसँग भएको पेस्तोलबाट गोली चलाएको उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीका प्रमुख प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । तत्काल प्रहरीले जवाफी फायर गरेपछि उनीसँग भएका अरु साथी भागेको र उनलाई पक्राउ गरिएको बुढाथोकीको भनाइ छ । विगतमा पनि स्याङतानले गाँजा ओसारपसार गर्ने गरेको र गोली चलाउँदै भाग्ने गरेको प्रहरीको भनाइ छ । प्रहरी र स्याङतान समूहबीच मकवानपुरको मनहरीमा गएराति गोली हानाहान भएको थियो । स्याङतानलाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी सामान्य घाइते भएको प्रहरी उपरीक्षक सिंहले बताएका छन् । रासस

म्यानपावर कम्पनीहरुले नयाँ शाखा खोल्न नपाउने

काठमाडौं । म्यानपावर कम्पनीहरुले नयाँ शाखा खोल्न नपाउने भएको छन् । हालै संसोधित ऐनमा भएको व्यवस्था बमोजिम कार्यविधि स्वीकृत नहुँदासम्म विभागले नयाँ शाखा खोल्न अनुमति नदिने बैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिए । महानिर्देशक भूषालले विगतमा बैदेशिक रोजगार व्यवसायीहरुले विभागबाट नयाँ शाखा खोल्न अनुमति पाएको स्वीकृतिलाई विभागको सूचना प्रणालीमा अद्यावधिक गर्न पूरा गरिएको प्रक्रियासँग सम्बन्धित कागजात सार्वजनिक गर्दै फैलाएको हल्लाप्रति ध्यान केन्द्रित भएको बताएका छन् ।

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौताका लागि छानबिन समिति गठन

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले विभिन्न उद्योगले विद्युतको डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेबापत नेपाल विद्युत् प्राधिकरणले उठाउनु पर्ने बक्यौताका सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न छानबिन उपसमिति गठन गरेको छ । डा मीनेन्द्र रिजाल संयोजक रहनुभएको उक्त उपसमितिका सदस्यमा सूर्य पाठक, तेजुलाल चौधरी, पार्वती विशङ्खे र प्रदीप यादव छन् । प्राधिकरणले उक्त सेवा लिने उद्योगबाट उठाउन बाँकी करीब रु नौ अर्ब बक्यौता रहेको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए । उक्त विषयमा यसअघि समितिले विद्युत् प्राधिकरणका पदाधिकारी र उद्योगीसँग छलफल गरिसकेको छ । प्राधिकरणले विद्युत्भार कटौतीका बेला विद्युत् स्टेशनबाट विशेष सेवाका रूपमा सिधै डेडिकेटेड र ट्रङ्कलाइन उपलब्ध गराएबापत लिनुपर्ने शुल्क समयमै नउठाएका कारण बाँकी रु नौ अर्ब रुपैयाँ उठ्न नसकेको विषयमा छानबिन गर्न उपसमिति गठन गरिएको सांसद राजन केसीले बताए । खासगरी भैरहवा र वीरगञ्ज करिडरमा रहेका सिमेन्टलगायतका ठूला उद्योग विद्युत्भार कटौती हुँदा समस्यामा परेपछि उद्योग सञ्चालन गर्न सहज होस् भन्ने हेतुले केही बढी महसुल लिएर डेडिकेटेड र ट्रङ्कलाइन उपलब्ध गराउने प्राधिकरणले निर्णय गरेको थियो । सामान्य ग्राहकलाई प्रतियुनिट नौ रुपैयाँ लाग्दै आएकामा डेडिकेटेड र ट्रङ्कलाइन लिन चाहनेले २२ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने व्यवस्था थियो । प्राधिकरणबाट कतिपय उद्योगलाई सामान्य ग्राहकसरहकै बिल पठाएका कारण नौ अर्ब बक्यौता रहन गएको बताइएको छ । यस विषयमा समितिमा विस्तृत छलफल भएपछि थप अध्ययनका लागि उपसमिति गठन गरिएको सांसद केसीले जानकारी दिए । डेडिकेटेड र ट्रङ्कलाइन उपलब्ध भएका ग्राहकले शुल्क त्यहीअनुसार तिरे कि तिरेनन् तथा त्यसबाट राष्ट्रलाई केकस्तो घाटा भयो, बक्यौतालाई कुन ढङ्गले उठाउने भन्ने विषयमा उपसमितिले एक महीनाभित्र प्रतिवेदन दिनेछ । समितिका सदस्य अमनलाल मोदीले भने, “ट्रङ्क र डेडिकेटेड लाइनसम्बन्धी समस्या के हो, त्यसबारेमा के भएको हो, यत्रो समयसम्म राज्यको पैसा किन उठेन, प्राधिकरणभित्रको हो वा नीतिगत समस्याका कारण यस्तो स्थिति भएको हो भन्नेबारे छानबिन गर्न उपसमिति गठन गरिएकोे हो ।” रासस

सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठमा खोल्यो नयाँ एक्सटेन्सन् काउन्टर

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र भित्र वडा नम्बर ११ को वडा कार्यालयमा एक्सटेन्सन् काउन्टर सुचारु गरेको छ । सो काउन्टरको आइतबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा वडा अध्यक्ष राजु अधिकारीले उद्घाटन गरेका हुन् । बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पु¥याउने उद्देश्य राखेको छ । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो ।