विकासन्युज

नेपालकाे पहिलो ‘नेटवर्क आर्क ब्रिज’ पुल

निर्माणाधीन बिजुलीबजारस्थित धोबीखोलाको पुल । सो पुलको निर्माण आगामी पुससम्म सम्पन्न हुने काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । तस्वीर ः सञ्चिता घिमिरे

उद्योग क्षेत्रमा १९ प्रतिशतले लगानी घट्यो, किन आकर्षित भएनन् लगानीकर्ता ?

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालको उद्योग क्षेत्रमा १९ प्रतिशतले लगानीमा कमी आएको छ । पछिल्लो समय नेपाली उद्योग क्षेत्रमा हुने लगानी खस्किँदै गएको छ । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा स्वदेशी र विदेशी लगानी अवस्था निराशाजनक छ । उद्योग विभागको तथ्याङ अनुसार अघिल्लो आर्थिक वर्षमा ३ खर्ब ५० अर्ब ७३ करोड २० लाख उद्योगमा लगानी आएको थियो भने गत आर्थिक वर्ष २०७५/०७६ मा २ खर्ब ८२ अर्ब ६७ करोड ९० लाख मात्रै उद्योगमा लगानी भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ६८ अर्ब ५ करोड ३० लाखले लगानी घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष उद्योग दर्ताको संख्यापनि घटेको छ । अघिल्लो आर्थिक वर्ष विभिन्न प्रकृतिका ४९८ वटा उद्योग दर्ता भएका थिए भने गतआर्थिक वर्षमा ४३६ वटा मात्रै उद्योग दर्ता भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ६२ वटा उद्योगको संख्या पनि घटेको छ । उद्योग विभागमा विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । कृषिजन्य, निर्माण, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवामूलक तथा पर्यटन उद्योगमा बढी आकर्षण देखिन्छ । गत आर्थिक वर्षको तथ्यांक अनुसार विभागमा दर्ता भएका उद्योगमा सबैभन्दा धेरै आकर्षण उत्पादनमूलक र पर्यटन क्षेत्रमा छ । विभागमा दर्ता भएका ४३६ वटा उद्योगमध्ये उत्पादनमूलक उद्योगका ११८ वटा दर्ता छन् । पर्यटनमूलक उद्योग भने ११७ वटा दर्ता भएका छन् । यसैगरी, सेवमूलक उद्योग १०२ वटा, उर्जा क्षेत्रका ४७ वटा, कृषि तथा बनजन्यमा २७ वटा, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा २१ वटा, खनिजमा २ वटा उद्योग दर्ता भएका छन् । पछिल्लो समय उद्योग व्यवसायमा लगानी घटेको सम्बन्धमा उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने– ‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन(फिटा) निर्माण हुन २ महिना लाग्यो र सो समयमा विदेशी लगानी स्विकृती नभएकाले पनि नेपालमा आउने लगानीमा कमी देखिएको हो ।’ अहिले १० करोड भन्दा तलको लगानी प्रदेश सरकारले र ६ अर्बभन्दा माथिको लगानी उद्योग विभागले नहेर्ने भएकाले पनि कमी देखिएको सिंहले बताए । उनले फिटाले कृषिजन्य क्षेत्रमा लगानी रोकेकाले पनि विदेशी लगानीमा केही प्रभाव परेको बताए । विदेशी लगानीको नियमावली आउने क्रममा रहेको र यो आइसकेपछि लगानी वृद्धि हुने सिंहले जानकारी दिए । उद्योगी उमेशलाल श्रेष्ठले पछिल्लो समयमा उद्योग क्षेत्रमा लगानी घट्नु र नेपालको समग्र उद्योग क्षेत्रको लगानीमा कमी आउनुमा उपयुक्त नीति नहुनु कारक रहेको बताए । नेपालमा उद्योग सञ्चालन गर्दा मुनाफा कम भएरपनि विदेशी लगानीकर्ताको लगानीमा कमी आएको श्रेष्ठले बताए ।

नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’ पुलकाे निर्माण अन्तिम चरणमा

काठमाडौं । बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महिनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको आयोजनाले जनाएको छ । सरकारले चार वर्ष पहिले एउटै ठेक्कामार्फत दुई पुलको निर्माण शुरु गरेको थियो । धोबीखोला पुल र वाग्मती पुल निर्माणको जिम्मेवारी दुई फरक ठेकेदार कम्पनीलाई दिइएको थियो । वाग्मती पुलको निर्माण लामो समयदेखि ठप्प भए पनि धोबीखोला पुलमा भौतिक प्रगति राम्रो रहेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वबिजयलाल श्रेष्ठले बताए । सडकको मुख्य लेनको दुवैतर्फ काम शुरु गरिएकामा एकातिर सम्पन्न भइसकेको र अर्कातिर काम भइरहेको हो । उनले भने, “एकातिर सम्पन्न भएर सवारी साधनसमेत चल्न थालेका छन् भने अर्कातिर साइटमा काम भइरहेको पाइन्छ ।” यो सडक पुल तोकिएकै अवधि आगामी पुससम्म सम्पन्न गर्ने लक्ष्यका साथ कामअघि बढेको इञ्जिनीयर श्रेष्ठले बताए । बाँकी रहेको साइडमा स्लाप राख्ने र ढलानको काम सकिएको उनले जनाएका छन् । स्टिलको डण्डी (आर्च) राख्ने, फुटपाथ निर्माण र ‘एप्रोच रोड’ निर्माण गर्न बाँकी रहेको उनले बताउँदै भने, “त्यहाँ रहेका सबै अवरोध हटिसकेकाले अहिले ठेकेदार कम्पनीलाई काम गर्न कुनै बाधा छैन ।” आयोजना आफैँले यहाँका संरचना हटाएर काम गर्ने स्थान खाली गरेको थियो । नेपालमा पहिलोपटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त रहेको इञ्जिनीयर श्रेष्ठ बताउँछन् । अरू पुलमा भार बहन पुलको तल्लो भागले गर्ने भए पनि यसमा भार माथिल्लो भागमा पर्छ । अरू सामान्य प्रविधि (आरसिसी) भन्दा पुल हेर्दा सुन्दर देखिने र लामो आयु अरू पुलको औसत आयु ५० वर्ष भएकामा यसको एक सय वर्ष हुन्छ । के हो नेटवर्क आर्क ब्रिज ? ‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हुन्छ । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ । यसलाई निर्माण गर्दा शुरुमा खोला र खोल्साको वारिपारि सडकको चौडाइ बराबरकै ‘अब्युटमेन्ट’ अर्थात् बलियो जगसहितको संचरना निर्माण गरिन्छ । यो ‘अब्युटमेन्ट’ पुलको भार थेग्ने प्रमुख संरचना हो । आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच÷बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क फिक्सीङ गरिन्छ । र, माथिल्लो भागमा बाङ्गो आकारका आर्क राखिन्छ । आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ । त्यसैका कारण पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ । यो पुल बनाउन अहिले प्रयोगमा रहेको प्रविधि भन्दा सजिलो छ किनभने खोलाको बीचमा पिल्लर ठड्याउनु पर्दैन, जसका कारण कम खर्चिलो पनि छ । यस पुल निर्माणका लागि विसं ०७१ पुसमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । जेई कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मेवारी पाएको थियो । पुल तीन वर्षमा सक्नेगरी पहिलो पटक ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अवधिमा सम्पन्न नभए पनि पुल निर्माणमा सोही ठेकेदारलाई म्याद थप गर्दा काम सम्पन्न हुने भन्दै आयोजनाको सिफारिसमा सरकारले आगामी पुसम्मका लागि एक वर्ष अवधि थप गरेको हो । सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ । रासस

हुवासिन सिमेन्टलाई जग्गा भाडामा दिनेसम्बन्धी सम्झौता खारेज गर्न उपसमितिको सिफारिस

काठमाडौं । चिनियाँ लगानीको हुवासिन सिमेन्टलाई जग्गा भाडामा दिनेसम्बन्धी सम्झौता खारेज गर्न सार्वजनिक लेखाअन्तर्गतको उपसमितिले सिफारिस गरेको छ । उद्योग सिमेन्ट कम्पनीलाई ५० वर्षका लागि जग्गा भाडामा दिनेसम्बन्धी सम्झौता गरिएको थियो । लेखराज भट्ट संयोजक रहेको उपसमितिले सो सम्झौता खारेज गर्न सिफारिस गरेको छ । सिमेन्ट कम्पनीले प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) मा उल्लेख भए बमोजिमको शर्तहरू समेत पालना गरेको छैन– सिफारिस पत्रमा भनिएको छ । हाल विवादित निर्माणाधीन कम्पनीको सडकका अधिकांश भाग खोलाकिनारा र खोलाकै भागमा बनेको छ । डीपीआर अनुसार खोलाकिनारको न्यूनतम १ सय मिटरभित्र सडक निर्माण हुनुपर्नेमा अनाधिकृत रुपमा सडक निर्माण भएको उपसमितिको ठहर छ । उपसमितिले आइतबार समितिलाई बुझाएको प्रतिवेदनमा सम्झौतामा संलग्न सरकारी अधिकारीहरुलाई कारबाही गर्न पनि सिफारिस गरेको छ । उद्योगले उद्योग दर्ता गर्दा पालना गर्नुपर्ने साधारण नियम पनि पालना नगर्दा उपसमितिले सम्झौता रद्द गर्न सिफारिस गरेको संयोजक भट्टले बताए । चिनियाँ लगानीमा धादिङको तत्कालीन महादेवस्थान र नकवानपुरको खैराङ गाउँपालिकामा १५ अर्ब रुपैयाँ लगानीमा  उक्त सिमेन्ट उद्योग निर्माण भइरहेको छ । लगानी बोर्ड ऐन २०६८ को दफा १० को उपदफा ९ तथा लगानी बोर्ड नियमावलीको नियम १९ को उपनियम ४ बमोजिम सिमेन्ट उद्योगमा लगानी गर्न अनुमति प्राप्त गर्दा र उद्योग विभागबाट उद्योग दर्ता प्रमाणपत्र लिन पालना गर्नुपर्ने शर्तहरु पालना नगरेकोले सम्झौता रद्द गर्न सिफारिस गरेको समितिले जनाएको छ ।

सुगम पोखरेलको नयाँ गीत ‘लैजा हावा’ सार्बजनिक

 काठमाडौं। सदा वहार संगीत क्षेत्रमा आवद्ध गायक सुगम पोखरेलको लैजा हावा नामक गीत सार्वजनिक भएको छ । सुगम पोखरेलको स्वर र शैलेन्द्रमान प्रधान “बाबु”को संगीत संयोजन रहेको गीतमा प्रेम बिछोडमा तड्पिने प्रेमीहरुका भावना व्यक्त गरेका छन् । मोरङ बिराटचोक निवासी हाल कर्मभूमी अमेरिकामा रही विभिन्न ब्यबसायमा संलग्न, ब्यबसायी राजन भुजेलले “लैजा हावा” बोलको गीत दर्शक श्रोता माझ ल्याएका छन् । गीतको लय तथा संगीत राजन भुजेलको रहेको उक्त गीत शनिबार युट्युव मार्फत सार्वजनिक भएको हो । निर्देशक दिलिप समनको निर्देशन रहेको सो म्युजिक भिडियोमा अभिलाषा शर्मा र सागर थापालाई अभिनयमा देख्न सकिन्छ । भिडिया हेर्न क्लिक गर्नुहोस् । 

हिमालय एयरलाइन्सकाे काठमाडौँ–ढाका उडान सोमबारबाट शुरू

काठमाडाैं । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्षित गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने जनाएको हो । काठमाडौँ–ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले राससलाई जानकारी दिएका छन् । उनले पर्यटकीय सम्भावना बोकेको गन्तव्य बङ्गलादेशमा आफ्नो सञ्जाल विस्तार गर्न पाएकामा निकै उत्साहित भएको उल्लेख गरेका छन् । हिमालयको तालिकाअनुसार एचनाइन ६७८ काठमाडौँबाट स्थानीय समय ११ः१० मा उडान भर्नेछ र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । सोही दिनको ढाकाबाट एचनाइन ६७९ जहाजले स्थानीय समय २ः१० मा उडान गरी काठमाडौँमा दिउँसो ३ः२० मा अवतरण हुनेछ । उक्त एयरलाइन्सले १५० इकोनोमी क्लास र आठ वटा प्रिमियम इकोनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ विमानबाट ढाका उडान गर्नेछ । एयरलाइन्ससँग नयाँ एयरबस ३२०–२०० को तीन वटा जहाज छन् । व्यावसायिक, अध्ययन तथा घुमघाम प्रयोजनका लागि बङ्गालादेश जाने दुवै प्रकृतिका यात्रुलाई लक्षित गरेर उडान तालिका सार्वजनिक गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । दुईतर्फी उडानमै प्रिमियम इकोनोमी क्लासमा २५ किलोसम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजीसम्मका लागि छुट हुने विज्ञप्तिमा भनिएको छ । हिमालयले हाल कतारको दोहा, दुबई/आबुधावी र दमामको नियमित उडान गर्दै आएको छ । सन् २०१९ भित्रै चीनका विभिन्न गन्तव्यमा समेत उडान गर्ने कम्पनीको योजना रहेकाे छ । नेपाली पर्यटनका लागि बङ्गलादेश ठूलो स्रोत बजार हो । नेपाल पर्यटन बोर्डको विवरणअनुसार बङ्गलादेशबाट सन् २०१८ मा २६ हजार २५५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्लो वर्ष २९ हजार ६० पर्यटक नेपाल आएका थिए । रासस

चापागाउँमा प्रभु बैंकको शाखा बिस्तार

काठमाडौँ । प्रभु बैंक लिमिटेडले साउन ५ गतेदेखि ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १० स्थित चापागाउँमा आप्mनो १८८ औं शाखा कार्यालयको रुपमा सञ्चालनमा ल्याएको छ । बैंकको चापागाउँ शाखा कार्यालयको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन उद्घाटन गरेका हुन् । बैंकको चापागाउँशाखाकार्यालय समुद्घाटनकार्यक्रममाविभिन्न संघ संस्थाकाप्रतिनिधिहरु, स्थानीयव्यापारी, बुद्धिजिवीलगायतठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । चापागाउँ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवम् अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने बैंकले जनाएको छ ।

दिपायल विमानस्थलमा कालोपत्रे गरिदै

दिपायलमा निर्माण भैरहेको बिमानस्थलमा कालोपत्रे गरिदै । विमानस्थलको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । रासस