विदेशमा ज्यान गुमाएका ७१५ ले पाए साढे ४८ करोड क्षतिपूर्ति
काठमाडौं । गत आथिर्क वर्ष वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका सात सय १५ जनाले ४८ करोड ४५ लाख क्षतिपूर्ति पाएका छन् । वैदेशिक रोजगारीमा ज्यान गुमाएकालाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले क्षतिपूर्ति वापत आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । बोर्डले उपलब्ध गराएको सो रकम मृतक परिवारले प्रति मृतक ६ लाख ७७ हजारका दरले पाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ६ लाख १२ हजार ६ सय ८५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । गत आर्थिक वर्षमा पाँच लाख आठ हजार आठ सय २८ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए । बोर्डले गम्भिर घाईते, अंगभंग भएका ३३५ कामदारलाई ९ करोड १४ लाख रुपैंयाँ उपचार खर्च प्रदान गरेको छ । बोर्डले सम्बन्धित देशको कुटनीतिक नियोगसँग समन्वय गरेर मृतक परिवारलाई आर्थिक सहयोग र घाइतेलाई उपचार खर्च उपलब्ध गराउँदै आएको छ । नेपालले १ सय ३४ वटा देशमा श्रम स्वीकृति लिएको छ । श्रम स्वीकृती लिएका देशहरूमा कामदार पठाउँदै आएको छ ।
नबिल बैंकका १२२ जना कर्मचारीले गरे रक्तदान
काठमाडौँ । नबिल बैंकले ३५ औं वार्षिक उत्सव मनाउने क्रममा साउन ४ गते प्रधान कार्यालयमँ रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा १२२ जना बैंकका कर्मचारीहरुबाट रक्तदान गरे । ग्रान्डी इन्टरनेशनल अस्पतालले देशमा रहेको विद्यमान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंशा गरेको बैंकले जनाएको छ । त्यसैगरी, बैंकको ३५ औँ बार्षिकोत्सवको अवसरमा गत हप्ता आयोजित बैंक स्तरीय फुटसल, क्रिकेट, ब्याड्मिन्टन, स्नुकर र चेस प्रतियोगिताका विजेता टिम र उपविजेता टिमहरुलाई नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले मेडल सहित पुरस्कारहरु वितरण गरेका थिए । ३५ औँ बार्षिकोत्सवका अवसरमा रक्तदान, खेलकुद लगायत सामाजिक कार्यक्रमहरु आयोजना भएकोमा अध्यक्ष पौड्यालले खुशी व्यक्त गरे ।
लगानीकर्ताले पत्याएनन् ओली सरकारलाई, घट्यो विदेशी लगानी प्रतिबद्धता
काठमाडौं । पछिल्लो समय नेपालमा विदेशी लगानी प्रतिवद्धता खस्किँदै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानी प्रतिवद्धता १३२ प्रतिशत घटेको छ । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा विदेशी लगानीको अवस्था निराशाजनक देखिएको हो । उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक २०७४/७५ मा ५५ अर्ब ७५ करोडको लगानी प्रतिबद्धता आएको थियो भने आर्थिक वर्ष २०७५/७६ मा २३ अर्ब ९४ करोड ९० लाख मात्रै विदेशी लगानी प्रतिवद्धता आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानी प्रतिबद्धता ३१ अर्ब ८१ करोड १० लाखले कमि आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानीका उद्योग दर्ताको प्रतिबद्धताको संख्यापनि कमि आएको छ । अघिल्लो आर्थिक वर्षमा ३९९ वटा उद्योग खोल्ने प्रतिबद्धता आएको थियो भने गत आर्थिक वर्षमा ३३७ वटा मात्रै उद्योग खोल्ने प्रतिवद्धता आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानीका उद्योग दर्ताको प्रतिबद्धताको संख्यापनि ६२ वटाले कमि आएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानीका उद्योगहरुमा रोजगारी प्रतिवद्धतामा भने थोरै मात्राले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १३ हजार ९४० जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको थियो भने गत आर्थिक वर्षमा १४ हजार १०२ जनालाई रोजगारी दिने प्रतिबद्धता आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानीका उद्योगहरुमा १६२ जनालाई रोजगारी प्रतिबद्धतामा वृद्धि भएको छ । उद्योग मन्त्रालय अन्तरगत विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले भने-‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन(फिटा) निर्माण हुन २ महिना लाग्यो र सो समयमा विदेशी लगानी स्वीकृती नभएकाले पनि नेपालमा आउने विदेशी लगानीमा कमी देखिएको हो ।’ फिटाले कृषिजन्य क्षेत्रमा लगानी रोकेकाले पनि विदेशी लगानीमा केही प्रभाव परेको बताए । विदेशी लगानीको नियमावली आउने क्रममा रहेको र यो आइसकेपछि लगानी वृद्धि हुने बोहराले जानकारी दिए ।
आज साउन महिनाको पहिलो सोमबार, शिवालयमा भक्तजनको भीड
काठमाडौँ । साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । भक्तजन भने बिहान ३ः३० बजेदेखि पूजा एवं दर्शनका लागि लाममा बसेका थिए । अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट-उमाकुण्ड-रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयबागेश्वरी-भुवनेश्वरी-शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान् शिवको महीना एवम् बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ । रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । साउनको सोमबारलाई लक्षित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको सदस्य सचिव ढकालले जानकारी दिए । विवाहित महिलाले श्रीमानको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउँछन् । यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ । गोकर्णेश्वरमा बालयन्त्रको दर्शन यसैगरी, राजधानीको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि भीड लागेको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ । वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाइरहेका छन् । यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् । भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महीनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घरमा नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यतासमेत छ । नागेश्वरमा भक्तजनको भीड यसैगरी पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिए । मन्दिरमा दर्शनका लागि भारतीय भक्तजनको पनि भीड लागेको छ । बिहानैदेखि झरी परे पनि छाता ओढेर भक्तजन लाममा बसिरहेका छन् । रासस
५०० प्रतिशत कर वृद्धि, विरोधमा उत्रिए व्यापारी
विराटनगर । विराटनगर महानगरपालिकाले व्यावसायिक करमा अत्याधिक वृद्धि गरेको भन्दै व्यापारी विरोध गर्दै आन्दोलनमा उत्रिएका छन् । पहिले तिर्दै आएको करमा ५०० प्रतिशत वृद्धि भएपछि विभिन्न सङ्घसंस्थामा आबद्ध भएका व्यापारी आन्दोलनमा उत्रिएका हुन् । महानगरले बढाएको कर संशोधन गरी घटाउनुपर्ने माग राख्दै औषधि व्यवसायी सङ्घ, होटल तथा पर्यटन व्यवसायी र विराट व्यापार सङ्घ आन्दोलित भएका छन् । महानगरपालिकाले कर वृद्धि गरेको भन्दै आइतबार नेपाल औषधि व्यवसायी सङ्घले विरोध र्यालीसहित महानगरपालिकामा धर्ना दिई प्रमुख भीम पराजुलीलाई ज्ञापनपत्र बुझाएको थियो । होटल तथा पर्यटन व्यवसायीले पनि र्यालीसहित छुट्टाछुट्टै रूपमा प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नागढुङ्गाबाट दुई किलो सुनसहित एक जना पक्राउ
काठमाडौँ । काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख ६५२ नंको यात्रुवाहक बस जाँच गर्ने क्रममा रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसी घर भएका भीमबहादुर तामाङ पक्राउ परेका हुन् । कपडाले कम्मरमा बाँधेर ल्याएको अवस्थामा दुई किलो सुन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए । विशेष सूचनाका आधारमा परिसर र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले गए राति चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा गाडी जाँच गर्ने क्रममा उक्त बसमा सवार तामाङ सुनसहित पक्राउ परेका हुन् । तामाङलाई आवश्यक कारवाहीका लागि आज राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ । गाँजा बरामद काठमाडौँ महानगरपालिका–९ गौशाला बसपार्कस्थित जनकपुर गेस्ट हाउसबाट प्रहरीले आज अवैध लागुऔषध गाँजा बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोली देखेपछि भागेका व्यक्तिले छाडेको तीन किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । अन्दाजी ३५ वर्षीय पुरुषलाई उक्त लागुऔषधसहित पक्राउ गर्ने क्रममा गाँजा छोडी फरार भएको र उनको खोजी गर्नाका साथै घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए । यसैबीच, काठमाडौँको तारकेश्वर नगरपालिका–१ स्थित पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेका सोही ठाउँ बस्ने उदयपुरका विष्णु सुनुवारको छोरा १२ वर्षीय सुरज सुनुवारको शव फेला परेको प्रहरीले जनाएको छ ।
एनआईसी एशिया डिबेन्चर २०८३/८४ निष्काशन सोमबारदेखि, ऋणपत्रको अवधि ७ वर्षको हुने
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले साउन ६ गते सोमबारदेखि ‘एन आई सी एशिया डिबेन्चर २०८३/८४’ विक्रीको लागि सार्वजनिक आह्वान गरेको छ । १०.२५ प्रतिशत वार्षिक ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४४ लाख कित्ता रहेको रु ४ अर्ब ४० करोडको उक्त ऋणपत्रको व्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्षको हुने छ । ऋणपत्रको निष्काशन रकम रु. ४ अर्ब ४० करोडको ६० प्रतिशत अर्थात् रू. २ अर्ब ६४ करोड व्यक्तिगत तवर मार्फत् निष्काशन गरिएको छ भने रु. ४ अर्बको ४० करोडको ४० प्रतिशत अर्थात् रू. १ अर्ब ७६ करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गरिनेछ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको उक्त ऋणपत्रको लागि मिति साउन ६ गतेदेखि सर्वसाधारणको लागि विक्री खुला भई छिटोमा साउन ९ गते तथा ढिलोमा भदौ ३ गतेसम्म बिक्री खुल्ला रहने छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने उक्त ऋणपत्र नेपालको ऋणपत्र बजारको विकासको लागि एक महत्वपूर्ण कडि हुने विश्वास बैंकले विश्वास लिएको छ ।
भेहिकल ट्राकिङ र प्यान विवाद सल्टाउन ५ सदस्यीय कार्यदल गठन, शुक्रबार प्रतिवेदन बुझाउने
काठमाडौं । भेहिकल ट्राकिङ सिष्टम(भीसीटीएस) र स्थायी लेखा नम्बर (प्यान) विवाद समाधान गर्न सरकारले कार्यदल गठन गरेको छ । आइतबार अर्थ मन्त्रालयमा आयोजित देशभरका उद्यमी व्यवसायीसँगको छलफलबाट अर्थमन्त्रालयका दुई, नेपाल उद्योग वाणिज्य महासंघका दुई र एक जना स्वतन्त्र विज्ञ सहितको ५ सदस्यीय कार्यदल गठन गरिएको हो । उद्यमी व्यवसायीसँगको करिब दुई घण्टाको छलफलपछि कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा अघि बढ्ने सहमति भएको अर्थ सचिव राजन खनालले बताए । ‘व्यवसायी र सरकारबीच भएको विवाद सल्टाउन गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा अघि बढ्ने सहमति भएको छ,’ खनालले भने- ‘कार्यदलले यहि शुक्रबार प्रतिवेदन बुझाउने छ । ‘अब कुनै अवरोध हुँदैन, महासंघकी अध्यक्ष भवानी राणाले भनिन्-‘सरकारी सिष्टमले काम गरिरहन्छ ।’ अहिले ढुवानीको विषयलाई लिएर देशव्यापी रुपमा आन्दोलन चलिरहेकोले यस विषयमा अर्थमन्त्रीसँग छलफल गरिएको बताइन् । प्यान नम्बर, भीसीटीआर तथा भ्याटमा देखिएका व्यवहारिक कठिनाइ हटाउने विषयमा छलफल भएको छ । विशेष गरी अस्थायी कर्मचारीका विषयमा प्यान दर्ता कसरी गर्ने कुरा भएको छ । सरकारले ल्याएको नीतिको विरोध गरेको होइन, यसको व्यवहारिक कठिनाईलाई बुझेर तीन महिनासम्म कुनै जरिवाना नगरी सरकारी कार्यक्रम अघि बढ्ने समेत उनले बताइन् । प्यान, भीसीटीएस, डिजेलहरूलाई भ्याट छुट विषयमा कुरा भएको नाडा अटोमोवाईल्स एशोसिएशनका पूर्व अध्यक्ष अञ्जन श्रेष्ठले बताए । ‘सबै नेपालीको प्यान हुनुपर्छ भन्ने कुरा अर्थमन्त्रीबाट आएको छ,’ उनले भने । गत बुधबार भीसीटीएस कार्यान्वयन आएको ५ दिनमा १६ हजार युजरले प्रणालीमा इन्ट्री गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।