विद्युतीय एसयूभी एमजी जेडएसको प्रि-बुकिङ शुरु
काठमाडौँ । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्स प्रा.लि.ले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडीका लागि प्रि-बुकिङको घोषणा गरेको छ । यो नयाँ विद्युतीय एसयूभीमा सुरक्षालाई मध्यनजर गर्दै ६ वटा एयरब्यागहरु राखिएको छ, प्रिमियम विशालदर्शी सनरुफ तथा आरमदायी विद्युतीय सिट जस्ता विशेषताहरु पनि रहेका छन् । यसमा ३ वटा ड्राइर्भिङ मोडहरु रहेका छन् जसले गर्दा डाइभरहरुले इच्छा अनुसारको मोडहरु प्रयोग गर्न सक्नेछन् । यस्ता छन् विशेषता विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८०% सम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । मूल्य ४९ लाख ९९ हजार नयाँ एसयूभी एमजी जेडएसको शुरुवाती मुल्य रु ४९,९९,००० रहेको छ र यस मुल्यमा ७ किवा एसी चार्जरको मुल्य पनि समावेश गरिएको छ । ग्राहकहरुले रु १ लाख डिपोजिट गरेर आफ्नो लोकप्रिय गाडी प्रिअर्डर गर्न र रिजर्भ गर्न सक्नेछन् । यो विद्युतीय गाडी ग्राहकहरुलाई नेपालमा सेप्टेम्बरदेखि वितरण गरिनेछ । यो जेडएस इभी रातो, निलो र सेतो गरेर तीनवटा रंगमा उपलब्ध हुनेछ ।
माछापुच्छ्रे बैंकको ३० लाख कित्ता ऋणपत्र साउन ६ देखि, न्यूनतम २५ कित्ता आवेदन गर्न सकिने
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको रु.१,०००/– अङ्कित दरका ३०,००,०००/– कित्ता ऋणपत्र साउन ६ गतेदेखि जारी गरेको छ । वार्षिक १०.२५ प्रतिशतको आर्कषक ब्याजदर सहित बैंकले३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको १०.२५ माछापुच्छ्रे ऋणपत्र २०८५ नामक ऋणपत्रको कुल निष्काशित ३० लाख इकाई मध्ये सामूहिक लगानी कोषका लागि छुट्टाइएको ६० हजार सहित १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रूपैयाँ बराबरको सर्वसाधारणका लागि खुला छ । बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री हुने बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ९ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा भदौ ३ गतेसम्म खुला रहनेछ ।
एभरेष्ट बैंकद्वारा सिरहाका बाढी पीडितलाई राहत वितरण
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले सिरहाका बाढी प्रभावितका लागि सहयोग उपलब्ध गराएको छ । सिरहा पटेर्वाका बाढी पीडितलाई चामल, सोयाबिन, चना, नुन, भाँडा, सेनिटरी प्याड, दन्त मन्जन, ब्रस, स्कुल व्याग, बालबालिकाका लागि कपडालगायतका विभिन्न राहत सामग्री बितरण गरेको हो । बैंकका तर्फबाट राहतका लागि ओमेन फ्रेण्ड्ली ग्रुपअन्तर्गत मिडिया एड्भोकेसी ग्रुपलाई शुक्रबार ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी उपरीक्षक सोम गुरुङ लगायतको सहभागिता थियो । सो रकमबाट स्थानीय बाढी प्रभावितलाई राहत सामग्री बितरण गरिने बताइएको छ ।
काठमाडौं मेरिएट होटलद्वारा राजस्थानी भोजन मेवार र मारवार फुड फेस्टिभल आयोजना
काठमाडौँ । काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट राजस्थानी भोजनको फुड फेस्टिभल आयोजना गरेको छ । फुड फेस्टिभलमा मेवार र मारवार व्यञ्जनबाट पे्ररित भएर राजस्थानको क्वीलिनेरि उस्तादले बनाएको योे भोजनको अनुभव लिन सकिने छ । मेवार र मारवारको दाल बाटी, लाल मास, गट्टा करी, मिठाइमा गिवार तथा लाइभ हट सिज्लिङ कवावको प्रचुर बफेको मज्जा उठाउनुहोस । यो खानाले तपाईंलाई राजस्थानी लोक भाकाको आनन्द प्रदान गर्दै तपाईंलाई नेपालमै बसेर राजस्थानमा भएको महशुस गराउँछ । बफे साँझ ६ः३० बजेबाट बेलुका १०ः३० बजेसम्म खुल्ला रहनेछ । यसको मुल्य नेपाली २४०० रुपैयाँ रहेको छ र रु ३००० तिरेर अनलिमिटेड काल्सबर्गको आनन्द लिन पनि सक्नुहुन्छ । काठमाडौं मेरिएट होटलमा यो मेवार र मारवार फुड फेस्टिभल २८ जुलाई सम्म जारी रहनेछ ।
विपद्बाट १९५ को मृत्यु, १२ हजार ९९० घरपरिवार प्रभावित
काठमाडौं । यसवर्ष विपद्बाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनीधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदङ्शलगायतका एक हजार ५२५ घटनामा परी १९५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने बताए । प्रमुख खनालका अनुसार बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, लेकलागेर १३, जनावरको आक्रमणबाट नौ, हावाहुरीबाट आठ, भारीवर्षाबाट सात, सर्पदङ्श छ, हवाई दुर्घटनाबाट तीन जना र अन्य तीन जनाको मृत्यु भएको बताएका छन् । विपद्को घटनामा परेर ३५ वेपत्ता र ४८८ जना घाइते भएका छन् । बेपत्ता हुनेमा बाढीबाट २४, पहिरोबाट नौ, डुङ्गा पल्टेर एक र हिउँपहिरोमा परी एक जना छन् । घाइते हुनेमा चट्याङबाट १६३, हावाहुरीमा १४९, बाढीबाट दश, पहिरो २९, आगलागीबाट ६८, जनावरबाट ३५, भारीवर्षाबाट १४ जना भएका मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका अनुसार ती घटनामा करिब रु दुई अर्ब ६८ करोड ५३ लाख ४७ हजार ६१९ क्षति भएको छ । सबैभन्दा बढी क्षति बाढीबाट एक अर्ब पाँच करोड पाँच लाख चार हजार रुपियाँ क्षति भएको छ । बाढीपछि आगलागीबाट एक अर्ब ५३ करोड ९७ लाख ६५ हजार, हावाहुरीबाट ६ करोड ५५ लाख ३३ हजार, पहिरोबाट एक करोड ७८ लाख तीन हजार रुपियाँ, चट्याङबाट २६ लाख दुई हजार रुपियाँ, भारी वर्षाबाट ८२ लाख २० हजार पाँच सय रुपियाँ र जनावर आतङ्कबाट नौ लाख १९ हजार रुपियाँ क्षति भएको जनाइएको छ । उपसचिव खनालका अनुसार विपद्बाट १२ हजार ९९० घरपरिवार प्रभावित भएका छन् । सबैभन्दा बढी हावाहुरीबाट १० हजार ६९७ घरपरिवार प्रभावित भएका हुन् । यसैगरी, आगलागीबाट एक हजार ५६, बाढीबाट ६९९, चट्याङबाट २०७, पहिरोबाट १५८, लेक लागेर १८, जनावर आतङ्क ७५, भारी वर्षाबाट ५० र सर्पदङ्शबाट १० घरपरिवार प्रभावित भएका छन् । विपद्बाट एक हजार २६४ घर आंशिक र ७२९ घर पूर्ण रुपमा क्षति भएको छ । त्यस्तैगरी, एक हजार १७८ पशु चौपाया मरेका र ३८४ गोठमा क्षति पुगेको जनाएको छ । चट्याङबाट ४१८, बाढीबाट ५१, पहिरोबाट ९२, आगलागीबाट ५५८, जनावर आतङ्कबाट नौ, हावाहुरीबाट ३७, भारी वर्षाबाट सात, असिनाबाट छ वटा चौपाया मरे । केही दिन अघि आएको अविरल वर्षाका कारण करिब ९० जनाको ज्यान गएको थियो । रासस
इलामभन्दा झापामा आठ गुणा बढी चिया उत्पादन
इलाम । चियाका लागि प्रख्यात जिल्ला कुन हो ? उत्तर हुन्छ, इलाम । तर , पछिल्लो एक तथ्याङ्कअनुसार इलाममा भन्दा झापामा आठ गुणा बढी चिया उत्पादन हुने गरेको छ । इलाममा एक हजार ८८१ हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेकोमा झापामा छ हजार ५३४ दशमलव दुई हेक्टरमा चिया खेती हुने गरेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणअनुसार इलाममा एक करोड ५९ लाख ७० हजार ६७२ दशमलव आठ किलोग्राम हरियोपत्ती उत्पादन हुने गरेको र झापामा आठ करोड २५ लाख १७ हजार ४१५ दशमलव छ किलोग्राम हरियो चियापत्ति उत्पादन हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले ०७४ /०७५ मा गरेको सर्वेक्षणमा चिया खेती गर्ने व्यवासायी भने इलाममा बढी देखिएका छन् । इलाममा पाँच हजार ५९८ चिया खेती गर्ने व्यवसायी भएकोमा झापामा भने एक हजार ६०१ चिया व्यवसायी रहेको देखिएको छ । यस्तै, उत्पादन दिने चियाको विरुवाको पनि झापामै बढी भएको तथ्याङ्कले देखाएको छ । झापामा छ करोड ३५ लाख ४८ हजार ५७४ उत्पादन दिने चियाको विरुवा भएकोमा इलाममा चार करोड पाँच लाख ८१ हजार ३१८ उत्पादन दिने विरुवा रहेको पाइएको छ । सरकारले पूर्वका पाँच जिल्लालाई चिया क्षेत्र घोषणा गरेको भएपनि अन्य जिल्लामा भने चिया उत्पादन कम मात्र हुने गरेको देखिएको छ । सरकारले घोषणा गरेका जिल्लामध्ये धनकुटामा तीन लाख आठ हजार ९२६ दशमलव पाँच किलोग्राम, तेह्रथमुमा एक लाख ५० हजार ७४२ दशमलव छ किलोग्राम, पाँचथरमा सात लाख ६४ हजार ५५५ दशमलव आठ किलोग्राम हरियो चियापत्ति उत्पादन हुने गरेको तथ्याङ्कले देखाएको छ । देशका १४ जिल्लामा अहिले चिया खेती हुने गरेको छ । कुनैबेला सीमित र कम जिल्लामा मात्र चिया खेती हुने गरेको भएपनि विस्तारै अन्य क्षेत्रमा खेती गर्ने क्रम बढेको देखिएको छ । चिया खेती सुरु भएको डेढ सय वर्षभन्दा बढी भएपनि यसले व्यवासायिक रूप लिएको भने खासै बढी समय भएको छैन । सरकारले २०३९ सालमा पूर्वका पाँच जिल्लालाई चिया क्षेत्र घोषणा गरेपछि नेपालमा चिया खेतीले व्यावसायिक रूप लिएको हो । सर्वेक्षणअनुसार नेपालमा नौ हजार दुई सय ३६ व्यावसायिक चिया खेती हुने बगान रहेकामा २९ दशमलव नौ प्रतिशत मात्र प्राङ्गारिक चिया खेती हुने बगान रहेको पाइएको छ । चिया खेतीमा अधिकांश पुरुष नेपालमा हालसम्मको तथ्याङ्क हेर्दा चियाका व्यवसायीमध्ये ८५ प्रतिशत पुरुष र १५ प्रतिशत मात्र महिला रहेको देखिएको छ । सर्वेक्षणअनुसार नेपालमा सबैभन्दा बढी चिया सिटिसी चिया उद्योगबाट उत्पादित हुने गरेको पाइएको छ । त्यस्तैगरी, नेपालमा १६ हजार ३६ मेट्रिक टन चिया सिटिसि उत्पादन हुने गरेको छ भने अर्थोडक्स दुई हजार छ सय ७० मेट्रिक टन, दुई सय २० मेट्रिक टन ग्रीन टी र स्पेसियल टी ३२ मेट्रिक टन तयारी चिया उत्पादन हुने गरेको छ । रासस
मुक्तिनाथका ग्राहकलाई ग्राण्डी इन्टरनेशनलमा विशेष छुट
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र ग्राण्डी इन्टरनेशनल अस्पताल, टोखा काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ग्राण्डी अस्पतालको तर्फबाट वजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख दिनेश पौड्याल र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ग्राण्डी अस्पताल, टोखामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।