विकासन्युज

वैदेशिक रोजगार बोर्डले प्रस्तुत गर्याे कार्य विवरण, ६२ करोडबढी खर्च

काठमाडौं । आर्थिक वर्ष २०७५।०७६मा वैदेशिक रोजगार बोर्डले ६२ करोड ३६ लाख ५४ हजार ८८ रुपैयाँ खर्च गरेको तथ्याङ्क सार्वजनिक गरेकाे छ । गत वर्ष वैदेशिक रोजगारमा गएका मृतक कामदारका परिवारलाई बोर्ड ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ प्रदान गरेका छन् । ७ सय ५३ जनाको मृत्यु भएकोमा २३ जना महिला रहेका छन् । १४ सय ३३ जना वैदेशिक रोजगारका लागि छात्रवृत्ति वितरणका लागि १ करोड ४८ लाख ६५ हजार २४ रुपैयाँ खर्च गरेको छ । त्यस्तै अंगभंग भएका ३ सय ३५ कामदारलाई ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ प्रदान गरेको छ । ७ सय ८३ जना मृतकको शव घरसम्म ढुवानी गर्दा १ करोड ५७ लाख ६० हजार ५ रुपैयाँ खर्च भएको तथ्याङ्क सार्वजनिक भएको छ । ७८ अलपत्र कामदार नेपाल झिकाउन ६५ लाख ६५ हजार ५ सय ५४ रुपैयाँ खर्च भएको छ । १ हजार ४ सय ८० जना अभिमुखीकरण तालिमका लागि १० लाख ३६ हजार रुपैयाँ भने २९ जना कामदारको परिवारलाई औषधोपचारका लागि १२ लाख १५ हजार रुपैयाँ बोर्ड प्रदान गरेको तथ्याङ्क बोर्डले सार्वजनिक गरेको छ । २०६५ साल साउन १ देखि २०७६ साल असार २९ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने ७ हजार ४ सय ६७ जना रहेका छन् । जसमा १ सय ७१ महिला र ७ हजार २ सय ९६ जना रहेका वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनवन्धु सुवेदीले जानकारी दिएका छन् । बोर्डले बर्षाैदेखि वैदेशिक रोजगारमा गई मृत्यु भएका सबै कामदारको परिवारलाई राहत र विदेशमा अल्पत्र परेका नेपाली युवाहरुलाई फर्काएर आत्मनिर्भर बनाउने काम बोर्डले गरिरहेको प्रवक्ता सुवेदीले जानकारी दिएका छन् । यस्ताे छ गत वर्षकाे तथ्याङ्क  ः

प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान अवरुद्ध, अन्तर्राष्ट्रिय उडान भने नियमित

काठमाडौं । प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ । आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले राससलाई जानकारी दिएका छन् । उनका अनुसार वर्षाका कारण देशका पश्चिमी क्षेत्रका केही विमानस्थल मात्र सञ्चालन छन् भने मध्य र पूर्वी भेगका अधिकांश विमानस्थलको सेवा अवरुद्ध छ । अहिले भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल मात्रै सञ्चालनमा छ ।पूर्वका चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला तथा भरतपुर, पोखरालगायत विमानस्थल बन्द अवस्थामा छन् । आगामी तीन दिनसम्म देशभर बदली भई अधिकांश स्थानमा वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिकै अवस्थित रहेकाले मनसुनी वर्षा केही दिन सक्रिय हुनेछ । देशका पूर्व, मध्य र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ । रासस

विश्वकप एशिया छनोटमा नेपालद्वारा मलेसिया सात विकेटले पराजित

काठमाडौं । सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित नौ ओभरमा सात विकेट गुमाउँदै ८३ रनको योगफल बनायो । ८४ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रिएको नेपालले आठ ओभरमा तीन विकेट गुमाउर्दै लक्ष्य पूरा गर्यो । वर्षाले प्रभावित भएपछि २० ओभरको खेललाई छोट्टाएर नौ ओभरमा झारिएको थियो । नेपालको जीतमा कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरे । २१ बल खेलेका उनले तीन छक्का र पाँच चौका प्रहार गर्दै सर्वाधिक ५१ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै प्रदीप ऐरी १२ रनमा बाहिरिए भने विनोद भण्डारी अविजित १३ तथा दिपेन्द्र सिंह ऐरीले २ रन जोडे । बलिङतर्फ मलेसियाका लागि मुहम्मद सहदायत एक्लैले तीन विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित नौ ओभरमा सात विकेट गुमाउँदै ८३ रन बनाएको थियो । उसका लागि सैयज अजीजले सर्वाधिक ३० रन जोडे भने वीरनदीप सिंहले २१ तथा अहमद फैजले नौ रन जोडे । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने वसन्त रेग्मीले दुई तथा सन्दीप लामिछाने र करण केसीले एक/एक विकेट झारे । जीतसँगै नेपालले जारी प्रतियोगितामा दुई अङ्क जोडेको छ । प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउने छन् । रासस

नगरबस सञ्चालन गर्ने तयारीमा उपमहानगरपालिका, करिब साढे तीन करोडमा सात बस खरिद

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करिब रु साढे तीन करोडमा सात बस खरिद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिएका छन् । उनका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना तीन बस रु एक करोड २९ लाख ७४ हजार ७०० र ठूला चार बस रु दुई करोड १५ लाख ७६ हजारमा खरिद गरेको हो । खरिद गरिएका बस एक महिनादेखि उपमहानगरपालिकामै थन्किएका छन् । उपमहानगरलाई अन्य नगर तथा गाउँपालिकासँग जोड्ने गरी महिलामैत्री बस सञ्चालन गरिने उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि निर्माणसँगै चालक छनोट प्रक्रिया पनि अघि बढाएको छ । मङ्गलबार चालक छनोटका लागि प्रयोगात्मक परीक्षा लिइएको रिजालले जानकारी दिएका छन् । चालक छनोट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय, यान्त्रिक कार्यालयको सहयोगमा प्रयोगात्मक परीक्षा (ट्रायल) लिइएको उनले बताए । यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र लिएको भए पनि भर्ना प्रक्रियालाई पारदर्शी बनाउन पुनः ट्रायल लिइएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले उल्लेख गरे । अहिले नेपालगञ्जदेखि कोहलपुर, खजुरा, जानकी, डुडुवालगायतका स्थानीय तहमा सार्वजनिक बस सञ्चालन हुँदै आएका छन् । उपमहानगरपालिकाले पनि यही रुटमा बस सञ्चालनको तयारी गरेको छ । रासस

साउन ११ गते देखी ग्लोबल रिचको अष्ट्रेलियन एजुकेशन फेयर हुँदै

काठमाडौं। ग्लोबल रिच नेपालको अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ । फेयर यही साउन ११ गते शनिबारदेखि चार विभिन्न ठाउँमा चार दिनसम्म सञ्चालन हुनेछ। फेयरमा अष्ट्रेलियाका ३५ वटा विश्वविद्यालय एवं कलेजहरु सहभागी हुने ग्लोबल रिचले बताएको छ। फेयरको पहिलो दिन जुलाई २७ (साउन ११ गते) काठमाडौंको होटल अन्नपूर्णमा हुने अष्ट्रेलियन एजुकेशन फेयर बिहान १० बजेबाट ५ बजेसम्म सञ्चालन हुनेछ । त्यसपछि  २८ तारिखमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेट एण्ड रेष्टुरेन्टमा, २९ तारिखमा चितवनको भरतपुर गार्डेन रिसोर्टमा र ३० तारिखमा बुटवलस्थित ग्लोबल रिचको कार्यालयमा  शैक्षिक मेला आयोजना हुनेछ । काठमाडौंको मेलामा अष्ट्रेलियाका ३५ वटा विश्वविद्यालयका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहन्छ भने अन्य स्थानका मेलामा २–४ वटा विश्वविद्यालय कम हुनसक्ने बताईएको छ। ग्लोबल रिचले हरेक बर्ष ठूलो संख्यामा अष्ट्रेलियाका विश्वविद्यालयलाई सहभागी गराई मेला गराउन सफल हुँदै आएको छ । विभिन्न संघसंस्था र इभेन्ट म्यानेजमेन्ट कम्पनीहरुले अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेला आयोजना गर्ने गरेकोमा ग्लोबल रिचले बिना एजेन्ट स्वयम अष्ट्रेलियाका ठूलो संख्यामा चर्चित विश्वविद्यालयहरु सहभागी गराई हरेक बर्ष मेला गर्दै आएको छ । विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गरी आफूले पढ्न चाहेको विषय, भर्ना प्रक्रिया, छात्रवृत्ति जस्ता कुराहरुमा परामर्श लिन सकिने यो सबैभन्दा ठूलो शैक्षिक मेला भएको ग्लोबल रिच नेपालका प्रमुख नारायण बजाजको भनाई छ । उनले अष्ट्रेलियाका विश्वविद्यालयको मेलामा आफै सहभागिता हुने भएकाले यहाँका स्थानीय साझेदारहरुको खासै भूमिका नहुने बताउँदै सहजकर्ता र पुनस्थापकीय भूमिकाको रुपमा आफूहरुले काम गर्ने बताए । विद्यार्थीहरुले एजेन्टहरुसँग नभई सोझै विश्वविद्यालयका प्रतिनिधिहरुसँग कुरा गर्न र बुझ्नसक्ने भएकाले पनि यो मेलाको विशेष महत्व रहेको बताउँदै बजाजले मेलाबाट विद्यार्थीहरुले सबै कुरा बुझेर प्रक्रिया अघि बढाउन सक्ने बताए । साथै, पढ्न जाने विद्यार्थीहरुका लागि शैक्षिक कर्जा लिने प्रक्रियाको जानकारीका लागि एनएमबि बैंक, नबिल बैंक, एसबिआई बैंक, सिद्धार्थ बैंक र माछापुछ्रे बैंकका स्टलहरु रहनेछन् । अष्ट्रेलिया पढ्न जाने सोच बनाएका विद्यार्थीलाई शैक्षिक कर्जादेखि भाषा परीक्षा, भर्ना प्रक्रिया जस्ता कुराहरु मात्रै नभएर भोलि पढन गइसकेपछि पनि कति समय काम गर्ने ? कस्तो काम गर्ने ? भन्ने कुराको समेत अन्योलमा मेलाबाट समाधान हुने भन्दै बजाजले जो विद्यार्थीहरु तयारीका साथ डकुमेन्ट लिएर आउँछन, उनीहरुले अन द स्पट एप्लिकेशनसमेत गर्न पाउने भएकाले अन्य मेलाको तुलनामा यसको विशेष महत्व रहेको बताए  । ग्लोबल रिचले सन् २०१२ देखि यस किसिमको मेला गर्दै आएको छ ।

विराटनगर राजश्व कार्यालयले उठायाे लक्ष्यभन्दा बढी राजश्व

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले गएको आर्थिक वर्षमा कूल रु सात अर्ब १३ करोड ७८ लाख २४ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले सो अवधिमा कूल रु छ अर्ब ४१ करोड ८१ लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । आर्थिक वर्ष २०७४र७५ मा कूल रु पाँच अर्ब २१ करोड ४२ लाख तीन हजार राजश्व सङ्कलन भएको थियो । तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्षभन्दा गएको आर्थिक वर्षमा रु एक अर्ब ९२ करोड ३६ लाख २१ हजार बढीले राजश्व सङ्कलन भएको कार्यालयको प्रगति विवरणमा उल्लेख छ । सङ्कलित राजश्वमा आयकर रु दुई अर्ब ११ करोड ४४ लाख ९३ हजार, बहालकर रु १० करोड ९२ लाख ३८ हजार, ब्याजकर रु सात करोड ५० लाख ८८ हजार, मूल्य अभिवृद्धिकर रु एक अर्ब ३७ करोड सात लाख १२ हजार, अन्तःशुल्क रु तीन अर्ब ४२ करोड ६५ लाख ४१ हजार, स्वास्थ्य सेवाकर रु दुई करोड ९९ लाख ४४ हजार र शिक्षा सेवाकर रु एक करोड ३७ लाख ९१ हजार छन् । कार्यालयको मातहतमा ९६ हजार ५०८ करदाता रहेकामा भ्याट दर्ता सङ्ख्या सात हजार ५३४, आयकर दर्ता सङ्ख्या ४८ हजार १९२ र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका सङ्ख्या ४८ हजार ३१६ रहेको कार्यालय प्रमुख गौतमले जानकारी दिएका हुन् । रासस

कास्कीका दलित १२ परिवारको  निःशुल्क स्वास्थ्य बीमा

पोखरा । कास्कीको माछापुच्छे  गाउँपालिका–३ घाचोकस्थित परियारटोलका १२ दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले संयुक्तरूपमा सो टोलका गरीब तथा विपन्न अवस्थाका उनीहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले एक वर्षको बीमा गराएका हुन् । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले स्थानीय सुरेश परियारलाई बीमाकार्ड हस्तान्तरण गर्दै ‘सुखी नेपाल समृद्ध नेपाल’ निर्माणको अभियानलाई सफल बनाउन सङ्घसंसस्थाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् । गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङले वर्षको रु तीन हजार ५०० को बीमाबाट नागरिकलाई रु एक लाखसम्मको ऋणबाट मुक्त गर्न सकिने बताउँदै यस वर्ष पनि गरीब तथा विपन्न परिवारको बीमाका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको जानकारी दिए । दलित समुदायलाई स्वास्थ्य सेवासम्मको पहुँच सुनिश्चित गर्न रु ४२ हजारको लगानीमा एक वर्षको स्वास्थ्य बीमा गरिएको क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिएका हुन् । रासस

विद्युत् उत्पादनगृहमै मैनबत्ती बालेर बसे कर्मचारी

पर्वत । ग्राहकका घरघरमा उज्यालो पुर्याउन विद्युत् उत्पादन गर्ने विद्युत्गृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला, तर यो वास्ताविकता हो । बिजुली उत्पादन गर्ने पर्वतको मोदी गाउँपालिकास्थित पातीखोला जलविद्युत् आयोजनाका कर्मचारी विद्युत्गृहमै मैनबत्ती बालेर बस्न बाध्य छन् । पातीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि विद्युत् उत्पादन गर्न नसक्दा कर्मचारी चार दिनदेखि विद्युत्गृहमै मैनबत्ती बालेर बस्न बाध्य भएका हुन् । गाउँपालिका वडा नं ३ घुरुङ्गामा रहेको एक मेगावाट क्षमताको पातीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइन मर्मत गर्न नदिएपछि साउन ४ गतेदेखि विद्युत् उत्पादन बन्द भएको आयोजनाले जनाएको छ । गाउँपालिका वडा नं २ मा पर्ने ढाँडखेत बगरका बासिन्दाले घरमाथिबाट प्रसारण लाइन गएको र विद्युत्का तार खसेर चुहावट हुने खतरा रहेको भन्दै मर्मत गर्न दिएका छैनन् । प्रसारण लाइनको एउटा पोलमा रहेको बिग्रेको कण्डक्टर मर्मत हुन नसक्दा चार दिनदेखि उत्पादन ठप्प भएको आयोजनाका प्रबन्ध निर्देशक विष्णुराज कोइरालाले बताएका छन् । “प्रसारण लाइनको तार अड्याउने कन्डक्टरको पिन फेर्न नदिँदा विद्युत् उत्पादन ठप्प छ”, प्रबन्ध निर्देशक कोइरालाले भने, “विद्युत् उत्पादन गर्न नसक्दा कर्मचारीले रातभर मैन बालेर विद्युत्गृह कुर्दै आएका छन्”, वर्षायाममा आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ । एक दिन विद्युत् उत्पादन बन्द हुँदा कम्तीमा पनि रु एक लाख नोक्सान व्यहोर्न बाध्य भएको आयोजनाले जनाएको छ । प्रसारण लाइनका कण्डक्टरमा कहिलेकाहीँ समस्या आए पनि त्यसले खतरा नहुने आयोजनाको जिकिर छ । प्रसारण लाइन सञ्चालनमा आएको वर्षौपछि त्यसको नजिक घर बनाउने र अहिले अवरोध गर्ने कार्य भएको प्रबन्ध निर्देशक कोइरालाको भनाइ छ । आयोजनाले ११ वर्षदेखि विद्युत् उत्पादन गर्दै आएको थियो । आयोजनामा आएको समस्याका बारेमा गाउँपालिकामा दुवै पक्ष बीचमा छलफल गर्न आग्रह गरिएको र सहमति नभएमा प्रशासनले हस्तक्षेप गरेर पनि विद्युत् उत्पादन सञ्चालन गराइने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे ढकालले बताए । प्रसारण लाइन स्थानान्तरण गर्नका लागि जमिन पनि नदिने, रुख काट्नसमेत अवरोध भएकाले समस्या भोग्दै आएको आयोजनाले जनाएको छ । प्रसारण लाइन वरपरका बाँस हटाउन खोज्दासमेत स्थानीयवासीले एउटा बाँसको रु ५०० सम्म माग गर्दै आएका छन् । रासस