युरोपकाे सबैभन्दा ठूलाे बैंक ‘डच बैंक’ ३ अर्ब ६० करोड डलर घाटामा, २२ हजार कर्मचारी हटाइने
फ्रान्कफर्ट । जर्मनीको सबैभन्दा ठूलो लगानीकर्ता बैंक ‘डच बैंक’को दोस्रो चौमासिकमा तीन अर्ब ६० करोड अमेरिकी डलर (३ अर्ब २० करोड युरो) खूद नोक्सानी भएको छ । पुनर्संरचनाका क्रममा रहेको उक्त बैंक युरोपेली मुलुकहरुमै ठूलो मानिन्छ । बैंकका कार्यकारी प्रमुख क्रिस्चियन सेविङ्गले एक वक्तव्य प्रकाशन गरी डच बैंकको सुधारका लागि धेरै कामहरु भइसकेका र त्यसले नतिजा दिन थालिसकेको बताएका छन् । यसै महिनाको शुरुमा डच बैंकले सन् २०२२ सम्ममा विश्वभर छरिएर रहेका बैंकका करिब २२ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । साथै, बैंकले शेयर कारोबारमा लगानी कम गर्ने तथा जर्मनी र युरोपेली मुलुकमा मात्र आफूलाई केन्द्रित गर्ने योजना सार्वजनिक गरिसकेको छ । यसअघि दशौं वर्ष डच बैंकले अमेरिकी वालस्ट्रिटसँग प्रतिस्पर्धा गर्ने क्रममा बैंकको सञ्चालन खर्च ह्वात्तै बढेको थियो । बैंकले आफ्नो वार्षिक खर्चमा पनि झण्डै छ अर्ब युरो कटौती गर्ने योजना बनाएको छ । यसै वर्षको अप्रिलदेखि जुन महिनामा डच बैंकको राजश्वमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ अर्ब २० करोड युरो कमी भएको थियो । यसैबीच, डच बैंकले गरिरहेका कतिपय व्यापारिक कृयाकलापहरु बिक्री गर्न फ्रान्सेली बैंक बिएनपी परिवाससँग वार्ता जारी छ । डच बैंकले यही सिलसिलामा झण्डै ९०० कर्मचारी हटाइसकेको छ । रासस
लुम्बिनी जनरल इन्स्योरेन्सको एजीएम साउन २९ गते, बुक क्लोज कहिले ?
काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारण सभा(एजीएम) साउन २९ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले बिहान ११ बजे अमृतभोग कालीकास्थान डिल्लीबजारमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि साउन १५ गते १ दिन सेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गरिने कमपनीले जनाएको छ । साधारण सभाले आव २०७४/०७५ को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ । कम्पनीको हालको चुक्ता पूँजी ८८ करोड रहेको छ । बैशाख २५ गते विशेष साधारण सभा गरिएको र उक्त साधारण सधाको निर्णय बमोजिम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् ।
निसान माेटरले १० हजार कर्मचारी हटाउने, कम्पनीकाे नाफामा ९० प्रतिशत गिरावट
टोकियो । जापानी कार निर्माता निसानले १० हजारभन्दा बढी कामदार हटाउने निर्णय गरेको छ । निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने निर्णय गरेको थियो । निसानमा विश्वभर एक लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन् । कम्पनीका पूर्व प्रमुख कार्लोस घोउनको गिरफ्तारी र संयुक्तराज्य अमेरिका तथा युरोपमा कारको बिक्री घटेपछि कम्पनीमा समस्या उत्पन्न भएको छ । निसानका एक जना प्रवक्ताले कर्मचारी कटौतीका बारेमा सोधिएको प्रश्नमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरे । जापानको निक्की दैनिकले बुधबार प्रकाशन गरेको समाचारमा अमेरिकामा कारको बिक्रीमा भएको मन्दीका कारण निसानको संचालन नाफामा पहिलो चौमासिक अवधिमा करिब ९० प्रतिशत कमी रहेको उल्लेख छ । यही विवरण बिहीबार कम्पनीले सार्वजनिक गर्न लागेको पनि निक्कीले लेखेको छ । निसानको पछिल्लो समय फ्रान्सेली साझेदार कार निर्माता कम्पनी रेनल्टसँग पनि विवाद चुलिएको छ । रेनल्टको जापानी कार निर्माता निसानमा करिब ४३ प्रतिशत शेयर लगानी छ । निसानको कर्मचारी कटौती योजनाले दक्षिण अमेरिका समेतका अरु केही क्षेत्रमा स्थापित कारखानामा असर पर्नेछ । खासगरी ज्यादै कम नाफा भइरहेका क्षेत्रका कारखाना बन्द हुनेछन् । रासस
वार्षिक साढे छ अर्बको काठ आयात गर्छ नेपाल, बढी भारतबाट
काठमाडौं । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५/७६ मा विभिन्न मुलुकबाट रु छ अर्ब ६० करोड ६१ लाख ३९ हजारको काठ तथा काठजन्य सामग्री आयात भएको छ । भन्सार विभागका अनुसार गत आवमा भारत, इन्डोनेसिया, चीन, म्यान्मा, मलेसिया, सिङ्गापुर, जर्मनी, युक्रेन, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्सलगायत मुलुकबाट सो रकम बराबरका काठका गोलिया, चिरान, प्लाई, बोर्ड, झ्यालढोकामा प्रयोग हुने फ्रेम, टेबल, सजावटका सामग्री तथा अन्य काठजन्य सामान आयात भएका हुन् । कूल काठ आयातको ५४ प्रतिशत भारतबाट, १७ प्रतिशत इन्डोनेसिया, १३ प्रतिशत चीन, सात प्रतिशत म्यान्मा र तीन प्रतिशत मलेशियाबाट भएको तथ्याङ्क छ । बाँकी अन्य मुलुकबाट आयात भएको हो । सबैभन्दा बढी प्लाई प्रकारका काठजन्य करीब रु दुई अर्ब, चिरान एक अर्ब २७ करोड, फ्रेम तथा सोही प्रकारका अन्य सामग्री रु ७७ करोड, बोर्ड ५० करोड बराबरका आयात भएको तथ्याङ्क छ । बर्षेनी काठ आयात बढ्दै यसबाहेक काठको कोइला, काठको धुलो, सलाईदेखि दाँत कोट्याउने टुथपिकसम्मका काठजन्य सामान पनि आयात हुने गरेको विभागका निर्देशक एवं सूचना अधिकारी शिशिर घिमिरेले जानकारी दिएका छन् । विभागका अनुसार आव २०७४/७५ मा रु पाँच अर्ब ७५ करोडको काठ तथा काठजन्य सामग्री आयात भएको थियो । त्यस्तै आव २०७१/७२ मा दुई अर्ब १३ करोड रूपैयाँ बराबरको काठ आयात भएको देखिन्छ । नेपालबाट काठको निर्यात भने नगण्य मात्रामा छ । गत आवमा रु पाँच करोड ५६ लाख बराबरका प्लाई तथा काष्ठकलाका विविध सामग्री भारत, चीन, अमेरिका, बेल्जियम, नेदरल्यान्डलगायत मुलुकमा निर्यात भएको देखिन्छ । वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार आव २०७४/७५ मा मुलुकभित्र सरकारी, सामुदायिक र निजी वन क्षेत्रबाट गरी कूल एक करोड ७५ लाख ५२ हजार घनफिट काठ उत्पादन भएको थियो । काठको माग भने मुलुकभर वार्षिक तीन करोड घनफिटको हाराहारी छ । रासस
ग्लोवल आइएमइ बैंकको नाफा २ अर्ब ८० करोड, अघिल्लाे वर्षकाे तुलनामा ३३ प्रतिशतले बढी
काठमाडौं । ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिव ३३ प्रतिशतले बढी हो । असार मसान्तसम्ममा बैंकले १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ । त्यस्तै, कर्जा लगानी १ खर्ब १४ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको सेयर पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । रिर्जभसहित बैंकको कोर क्यापिटल पौने १६ अर्ब रुपैयाँ भएको छ । यस बैंकले ह्याथवे फाइनान्स एक्वाएर गर्दै छ भने जनता बैंक नेपाल पनि ग्लोबल आईएमई बैंकमा मर्ज हुँदैछ । त्यसपछि ग्लाेवल आइएमइ बैंक विभिन्न सूचकका आधारमा सबैभन्दा ठूलाे बैंक बन्ने छ ।
एकल विन्दु सेवा केन्द्र शुरु भएपछिको उत्साह, ८ अर्बले बढ्यो विदेशी लगानी प्रतिवद्धता
काठमाडौं । एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि आएपछि अघिल्लो वर्षको तुलनामा ७ अर्ब ८२ करोड ८० लाख विदेशी लगानी प्रतिवद्धतामा वृद्धि भएको छ । उद्योग सम्बन्धी सबै काम एकै ठाउँबाट हुने भएपछि उद्योगीहरु उत्साहित भएका हुन् । जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्र शुरु भएको हो । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा उद्योगमा स्वदेशी तथा विदेशी लगानी वृद्धि हुँदै गएको हो । उद्योग विभागको तथ्याङ्क अनुसार एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि (२०७६ जेठ १ गतेदेखी साउन ६ गते सम्म) १३ अर्ब ५२ करोड ५० लाखको लगानी प्रतिवद्धता भएका ७६ वटा उद्योग दर्ता भएका छन् । गतवर्ष (२०७५ जेठ १ गतेदेखी साउन ६ गते) सम्म ५ अर्ब ६९ करोड ७० लाखको लगानी प्रतिवद्धतामा १३६ वटा उद्योग दर्ता भएका थिए । लगानीमा वृद्धि भएपनि उद्योगको संख्यामा भने कमि आएको छ । अघिल्लो वर्ष १३६ उद्योग दर्ता भएको थियो भने यो वर्ष ७६ वटा मात्रै दर्ता भएको छ । २०७६ जेठ १ गतेदेखी साउन ६ गतेसम्मको तथ्यांक अनुसार विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगमा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका छन् । विभागमा दर्ता भएका विदेशी लगानीका ७६ उद्योगमध्ये उर्जा क्षेत्रका ४६ वटा छन् । उत्पादनमूलक उद्योग २३ वटा दर्ता भएका छन् । यसैगरी, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा २ वटा, सेवामूलकमा ४ वटा र कृषिजन्यमा १ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागमा लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । कृषिजन्य, निर्माण, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवामूलक तथा पर्यटन उद्योगमा बढी आकर्षण देखिन्छ । उद्योग विभागका महानिर्देशक तथा एकल विन्दु सेवा केन्द्रका प्रमुख विनोदप्रकाश सिंहले सेवाकेन्द्र संचालनमा आएपछि उद्योग दर्ता सहज र सरल तरिकाले भएको कारण उद्योग दर्ता र लगानीमा वृद्धि भएकोे बताए । उनले भने-‘डकुमेन्ट पूरा लिएर आएका सेवाग्राहीको काम सेवा केन्द्रबाट छिटोछरितो रुपमा भएको छ ।’ केन्द्रमा ८ वटा इकाईहरु सञ्चालनमा छन् । भन्सार तथा राजश्व, पूर्वाधार (उर्जा तथा सञ्चार समेत), जग्गा सहजीकरण, भिसा सहजीकरण, उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण र प्रशासन तथा कानून इकाईबाट काम भइरहेको छ । एकल विन्दु सेवा केन्द्रमा ४१ जना कर्मचारीको दरबन्दी रहेको छ । गत जेठ १ गते उद्योगमन्त्री मातृका यादवले एक समारोहका बीच केन्द्रको उद्घाटन गरेका थिए । २०४९ साल देखी एकल विन्दु सेवाकेन्द्रको अवधारणा आएपनि जेठ १ गते देखि सञ्चालनमा आएको हो ।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि दुई संस्थाद्वारा २५ लाखको चेक हस्तान्तरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न दुई संस्थाले आज बिहान रु २५ लाखको चेक हस्तान्तरण गरेका छन् । कोषमा केडिया अर्गनाइजेशन ट्रष्टले रु १५ लाख र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् । ट्रष्टका कोषाध्यक्ष मदनलाल केडिया र युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा उक्त चेक हस्तान्तरण गरेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले प्रशासनलाई स्वच्छ र पारदर्शी बनाउन कर्मचारीको सहयोग आवश्यक रहेको बताउँदै कर्मचारी सेवामुखी भए भने जनतामा सरकारप्रति सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले कर्मचारीले सरकारलाई सहयोग गरेन भनेर भ्रम छर्ने कामसमेत भइरहेको बताउँदै भने, “सरकारलाई कसरी अलोकप्रिय बनाउन सकिन्छ भनी केहीले सरकारले आधिकारिक ट्रेड युनियन बन्द गर्न खोजेको छ भनेर सरकार र कर्मचारीबीच भ्रम छर्ने काम गरिरहेका छन् । उनले जबसम्म कर्मचारीतन्त्र प्रभावकारी, स्वच्छ र सेवाउन्मुख हुँदैन तबसम्म सरकार आफ्ना वाञ्छित उपलब्धि हासिल गर्न सक्दैन भनी उल्लेख गरे । यसरी, सरकारले मन्त्रिपरिषद्बाट गर्ने निर्णय कार्यान्वयन कर्मचारीले नै गर्ने भएकाले कर्मचारी र सरकारबीच विश्वासको वातावरण बन्नुपर्ने उनले बताए । देशका लागि योगदान गर्ने समय आएको बताउँदे आलीले चुहावट र अनियमितता हटाउनका लागि मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली लागू गरिएको पनि स्पष्ट गरेका छन् । यसअघि बारा र पर्सामा आएको हावाहुरीबाट पीडितलाई सहयोग गर्नका लागि ट्रष्टले प्रदेश नं २ का मुख्ममन्त्री लालबाबु राउतलाई रु ११ लाख प्रदान गरेको ट्रष्टका विमल केडियाले जानकारी दिए । रासस
शिखरको साधारण सभा साउन २८ मा, चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव
काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारण सभा साउन २८ गते हुने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे केन्द्रीय कार्यालय थापाथलीमा साधारण सभा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको बैठकले चुक्ता पूँजी बृद्धि गर्नका लागि ३० प्रतिशतको दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा लैजाने निर्णय पनि गरेको छ । साथै, कम्पनीको संस्थापक समूहको सञ्चालकहरुको पदावधी वार्षिक साधारण सभा अघि नै सकिने भएकाले पदावधी थप गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरिने छ । नियमनकारी निकाय बीमा समितिबाट जारी भएको गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशिका २०७६ बमोजिम सम्पूर्ण प्रक्रिया अवलम्बन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय प्रस्ताव पनि साधारण सभामा प्रस्तुत गरिने छ । साधारण सभा प्रयोजनको लागि साउन १५ गतेदेखि कम्पनीको सेयर दाखिला खारेज बन्द गर्ने निर्णय गरिएको कम्पनी सचिव सुरज राजवाहकले जनाएका छन् ।