विकासन्युज

सुक्खा बन्दरगाह निर्माणको काम अलपत्र, ९ वर्ष भो उल्लेखनीय प्रगति छैन

नेपालगञ्ज । बाँके जिल्लाको नेपाल-भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणको काम अलपत्र परेको छ । करीब नौ वर्षअघि निर्माणको काम थालिए पनि उल्लेखनीय प्रगति भएको पाइँदैन । नौ वर्षअघि सो क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणको योजना तयार गरी काम शुरु गरिए पनि जग्गा अधिग्रहण र तारबारबाहेक खासै प्रगति भएको छैन । “अर्को वर्ष बन्छ भन्दाभन्दै आठ वर्ष बितिसक्यो, यस्तो पाराले बन्ने छाँट देखिँदैन”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको चिन्ता छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा सुक्खा बन्दरगाह निर्माणका लागि करीब ९१ बिगाहामा जमीन अधिग्रहण गरिएको छ । अधिग्रहण गरिएको कूल जग्गामध्ये ६७ बिगाहामा कार्यालय, गोदाम लगायतका संरचना निर्माण हुने र २४ बिगाहा जग्गा बाटोका लागि छुट्याइएको सङ्घीय आयोजना एकाइ कार्यालय नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसाल बताउँछन् । सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारका तर्पmबाट हुने सम्झौता भएको छ । “सुक्खा बन्दरगाहा निर्माण क्षेत्रमा केही कार्यालय संरचनाबाहेक अन्य पूर्वाधार निर्माणका काम भएको छैन् । भारत सरकारले नै बनाउने सम्झौता भएकाले हामीले पर्खी बस्नुबाहेक अरू केही गर्न सक्दैनौँ”, इञ्जिनीयर भुसालको भनाइ छ । सुक्खा बन्दरगाहा निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी–व्यापारीहरुको बुझाइ छ । सुख्खा बन्दरगाहमा मालसामान आयात—निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालयहरु स्थापना हुनेछन् । नेपालका प्रदेश ५, ७ र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयात–निर्यातलाई सहज व्यवस्थापन गर्न सुख्खा बन्दरगाहा कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ । तर ढिलो गरी गरिने कामले योजनाअनुसार प्रतिफल दिँदैन भन्नेतर्पm राज्य गम्भीर हुनु पनि उत्तिकै आवश्यक छ । रासस

हेटौँडा-काठमाडौं चल्ने सुमोमा जोरबिजोर प्रणाली

हेटौँडा । हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको फाखेल र सिस्नेरी सडकमा जोरबिजोर प्रणालीमा सुमो सञ्चालन हुने भएको छ । स्थानीय व्यवसायीले सवारी सञ्चालनमा अवरोध गर्ने चेतावनी दिएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको उपस्थितिमा बसेको बैठकले गत आर्थिक वर्षमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा निर्णय भएको भन्दै जोरबिजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको हो । समस्या समाधानका लागि बसेको बैठकमा फाखेल तथा सिस्नेरी मार्गमा जोर विजोर प्रणाली लागू गरी सुमो सञ्चालन गर्ने यसअघि निर्णय भएकोमा यसलाई निरन्तरता दिई कार्यान्वयन गर्ने निर्णय भएको हो । त्यस्तै, भीमफेदी–कुलेखानी सडक रुट प्रयोग गरी ईन्द्रसरोवर गाउँपालिकाका ग्रामीण भेगमा कृषि उत्पादन, दैनिक उपभोक्ता वस्तु तथा निर्माण सामग्री ढुवानी गर्न गाउँपालिकाका मिनि ट्रक सञ्चालन गर्न पाउने बताइएको छ । गर्मीयाममा बिहान ५ बजे अगाडि र बेलुकी ८ बजे पछाडि, जाडो याममा बिहान ६ बजे अगाडि र बेलुका ७ बजे पछाडि मात्रै भीमफेदी कुलेखानी रुटमा ६ टन भन्दा कम भार वहन क्षमताको मिनि ट्रकप्रयोग गरी ढुवानी गर्ने निर्णयलाई कार्यान्वयन गर्ने निर्णय भएको छ । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमाकुमारी लामा, वडा नं –२ वडाध्यक्ष राजुमान महर्जन, ३ नं- अध्यक्ष चिरञ्जीवी पौडेल, मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराई सशस्त्रका प्रहरी उपरीक्षक विकास घिमिरे लगायतको सहभागिता रहेको थियो ।

सुविसुमा आगलागीः ‘१ अर्बको इन्स्योरेन्स छ, अनुसन्धान हुँदैछ, यति नै क्षति भयो भन्न सकिन्न’

काठमाडौँ । कार्यालय प्रयोजनका लागि सञ्चय गरेर राखिएको डिजेलमा आगो सल्किँदा इन्टरनेट, इन्ट्रानेट र केवल टेलिभिजन सेवा प्रदायक कम्पनी सुविसु केवल नेट प्रालिमा ठूलो क्षति भएको छ । काठमाडौँ महानगरपालिका–४ स्थित बालुवाटारमा आज दिउँसो विद्युत् सर्ट भएर आगलागी भएको र पछि कार्यालय प्रयोजनका लागि ट्याङ्कीमा राखिएको दुई हजार लिटरभन्दा बढी डिजेलमा आगो सल्किएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवत्ता प्रहरी नायब उपरीक्षक होबीन्द्र बोगटीले जानकारी दिए । बोगटीले भने, “पानी छ्याप्ने पाँच वटा दमकल प्रयोग हुँदा निभाउन नसकेपछि फेरि धुवाँ फ्याँक्ने दुई वटा दमकल ल्याएर आगो निभाउनुपर्यो, डिजेलमा आगो लाग्दा ठूलो क्षति हुन पुग्यो ।” सय करोडको इन्स्योरेन्स गरेको सुविसुको कार्यालयमा बुधबार दिउँसो १२ः३० बजे आगो लागेको थियो । प्रारम्भिक अनुसन्धानमा विद्युत् चुहिएर आलो लागेको प्रहरीले जनाएको छ । शुरुमा जेनेरेटर राख्ने कोठाबाट सल्किएको आगो सञ्चित गरेर राखिएको डिजेल ट्याङकीमा पुगेपछि ठूलो रुप लिएको प्रालिका उपाध्यक्ष विजयलाल श्रेष्ठले बताए । “जब डिजेल ट्याङ्की ब्लाष्ट भयो, त्यसपछि आगो अनियन्त्रित भयो, श्रेष्ठले घटनाबारे भने । महँगा राउटर, उच्च प्रोसेसरसहितको सर्वर, एमपिएस राउटर, उच्च क्षमताको डिभाइस नष्ट भएको श्रेष्ठले जानकारी दिए । उक्त कम्पनीले इन्टरनेट सेवाका साथै डाटा ट्रान्सफर गर्ने प्रविधि इन्ट्रानेट, विभिन्न कम्पनीका लागि होस्टिङ सेवा र केवल टेलिभिजन सेवा ‘क्लियर टिभी’ उपलब्ध गराउँदै आएको छ । श्रेष्ठले कम्पनीको तर्फबाट आन्तरिक तथा इन्सुरेन्स कम्पनी र प्रहरीले छुट्टाछुट्टै रुपमा घटनाको अनुसन्धान गरिरहेको छ । इन्स्योरेन्स मात्रै रु एक अर्बको गरिएकाले यति नै क्षति भयो भनेर भन्न सकिने अबस्था नरहेको कम्पनीले जनाएको छ । उपकरण कुन बिग्रिएको छ, कुन छैन भनेर हेरेपछि मात्रै क्षतिको विवरण भन्न सकिने जनाइएको छ । आगो निभाउन प्रयोग भएको पानीको फोहरालेसमेत डिभाइस सर्ट हुनसक्ने भएकाले भ्याकुम लगाएर तानेपछि उपकरणको परीक्षण गरेर ठीक भए नभएको हेरिने श्रेष्ठले बताए । महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले काठमाडौँमा यति ठूलो आगलागी पहिलोपटक देखेकोे बताए । “आगोको मुस्लो नै ५० फिटमाथि देखिन्थ्यो, डिजेलका कारणले ठूलो क्षति भएको छ, उनले भने । दिउँसो १२ः३० मा लागेको आगो २ः०० बजे नियन्त्रणमा आएको थियो ।

प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुला, कहिले खुलाउला विज्ञापन ?

काठमाडौँ । प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवासम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो । पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश सरकार अब लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्नसक्ने छन् । सरकार गठन भएदेखि नै मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी अभावको कारण सरकारले प्रभावकारी रुपले काम गर्न नसकेको गुनासो गर्दै आउनुभएकोमा विधेयक पारित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, “अब प्रदेश नं २ सरकारले आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज र प्रभावकारी बनाउने छ ।” मुख्यमन्त्री राउतले भने, “लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । यसअघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरे पनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन । अब विधेयक प्रमाणीकरणलगत्तै लोकसेवा आयोग गठन प्रक्रिया अगाडि बढाइन्छ ।” त्यसैगरी प्रदेश नं २ को प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको बालबालिकाको हकअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था व्यवस्था गर्न बनेको विधेयक २०७५ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइएको छ । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले पेश गरेका प्रदेश नं २ को वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेशसभामा टेबलसमेत गरिएको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार दिनको ३ बजे बस्ने भएको छ ।

व्यापारी केडियाले ५६ करोड ४२ लाख रुपैयाँ कर छलेको विभागको दाबी

काठमाडौँ । विद्युतीय कारोबार गर्ने न्यूरोडका व्यापारी अनिल केडियाले आर्थिक वर्ष २०६८/६९ यता साढे ५६ करोड रुपैयाँ कर छली गरेका छन् । आन्तरिक राजस्व विभाग अन्तरगतको नयाँसडक स्थित आन्तरिक राजश्व कार्यालयले बुधबार यस्तो तथ्य सार्वजनिक गरेको होे । व्यापारी केडियाले अनिल ट्रेड कन्सर्नबाट बास्तविक कारोवार लुकाई आयकर र मूल्य अभिवृद्धि करवापत ५६ करोड ४२ लाख रुपैयाँ राजस्व छलि गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त कम्पनीका कागजात २५ पुस २०७५ मै बरामद गरिएको जनाइएको छ । कर्मचारीका नाममा दर्ता गरेका फर्म/कम्पनीबाट टिभीका पार्टपूर्जा विदेशबाट आयात गरी सामसुङ, सोनी ब्राण्डमा टिभी उत्पादन गरी बजारमा पठाउने गरेको कार्यालयले तथ्य फेला पारेको कार्यालयले जनाएको छ । यस सम्बन्धमा छानबीन भइरहेको राजश्व अनुसन्धान विभागले जानकारी दिएको छ ।

सिभिल अस्पतालमा अब लाइन बस्नु पर्दैन, प्रभु पे बाट घरमै बसेर टिकट काट्न सकिने

काठमाडौं । सरकारी अस्पतालमा बिरामी जाँच गर्ने भन्ने वित्तिकै धेरैले लामो लाइन बसेर टिकट काट्न गर्नुपर्ने दुःख सम्झन्छन् । तर, अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा भएको छ । अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् । प्रभु पे मोबाइल वालेट मार्फत अस्पतालको ओपीडी टिकट काट्ने व्यवस्थाको सुरुवात सिभिल अस्पतालबाट भएको छ । मेडीफ्लो सोलुसनले प्रभु पे मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था शुरु गर्ने सिभिल अस्पताल पहिलो हो । मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने मेडीफ्लोका सिओओ सुरेन्द्र न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल बालेटसँगको सहकार्यमा शुरु गरेको छ । अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोवाइल वालेट मार्फत टिकट काट्ने व्यवस्था शुरु गरेको अस्पतालका कार्यकारी निर्देशक प्राडा दीर्घराज आरसीले जानकारी दिए । ‘अस्पतालमा ओपिडीको टिकट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भने–‘हामीले विभिन्न प्रविधिको प्रयोग मार्फत यसलाई व्यवस्थित बनाउने काम गरिरहेका छौं । अब मोबाइल एपबाट नै काट्न सकिने भएपछि बिरामीले घरबाट नै टिकट काट्न सक्ने भएका छन् ।’ कार्यकारी निर्देशक डा. आरसीका अनुसार अस्पतालमा हाल दैनिक ८०० सय बिरामी ओपीडीमा आउने गरेका बताइएको छ । अहिले यो सेवा मार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ । प्रभु पे मोबाइल बालेट बाट यो सेवा लिने ग्राहकको लागि बिशेष सहुलियतको ब्यबस्था गरिने प्रभु टेक्नोलोजीका जीेएम खुशल रेग्मीले जानकारी दिए ।

प्राइम बैंकको बिशेष साधारण सभा सम्पन्न, कन्काईलाई प्राप्ती गर्ने प्रस्ताव पारित

काठमाडौं । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवम् व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित प्राइम कमर्सियल बैंकको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । बिशेष साधारण सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्ने बिशेष प्रस्ताव पारित गर्दै कन्काई विकास बैंक लि.को १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ७१.५ कित्ता स्वाप रेसियो कायम हुने प्रस्ताव बिशेष साधारण सभाले पारित गरेको छ । प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पछि शाखा संख्या ९४ हुनेछ । बैंकले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल बिस्तार गर्दै सेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिने निमित्त कार्यकारी अधिकृत सञ्जीव मानन्धरले जनाएका छन् ।

बिक्री शुरु भएको छोटै अवधिमा बिक्री भए २२२ निसान किक्स

काठमाडौँ । नेपालका लागि निसान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले बिक्री बितरण शुरु गरेको छोटो अवधिमा २२२ भन्दा बढी निशान किक्स मोटर नेपाली बजारमा बिक्री गर्न सफल भएको छ । नेपाली बजारमा किक्स गाडीको बिक्री प्रारम्भ गरेको छोटो समयावधिमा नै ग्राहकहरुले निकै रुचाएको कम्पनीले जनाएको छ । अहिले पनि निसान किक्सको परिवारमा ग्राहकहरु निरन्तर थपिदै गएका छन् र भविष्यमा यसले नयाँ कीर्तिमान कायमगर्ने विश्वास गरिएको छ । किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा सहित आरामदायी सेवा प्रदान गरेको परिणामस्वरुप छोटो अवधिमा उल्लेखनीय सफलता प्राप्त गरेको जनाइएको छ । यसको फराकिलो भित्रीभाग, आकर्षक बाहिरी बनावट, आरामदायी र सुरक्षित बनावटले गर्दा ग्राहकहरुको रोजाईमा पर्न सफल भएको बताइएको छ ।