विकासन्युज

दुई कपडा पसलमा आगजनी, डेढ करोड बढीको क्षति

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारी टोलमा दुई कपडा पसलमा आगजनी हुँदा रु डेढ करोड बढीको क्षति भएको छ । कृष्ण बुढाको प्रेरणा फेन्सी स्टोर र मदनकुमार शाहको बडिमालिका अर्डर एण्ड सप्लायर्समा मङ्गलबार राति आगलागी भएको थियो । आगलागीबाट दुवै पसलमा रहेका सामान जलेर नष्ट भएकाले रु डेढ करोडको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिएका छन् । उनका अनुसार, बडिमालिकाबाट शुरु भएको आगो छेउमा रहेको प्रेरणा फेन्सी स्टोरमा सल्किएको थियो । विद्युत् चुहिएर आगलागी भएको आशङ्का गरिएको छ । उपमहानगरपालिकाको दमकल र सुरक्षाकर्मीले आगो निभाएका थिए । पछिल्लोपटक नेपालगञ्जमा विद्युत् चुहिएर पसलमा आगजनीका घटना बढेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले वैशाखयता मात्रै चार पसलमा आगलागी भई करोडौँको क्षति भएको बताए । उनले आगलागी पीडित व्यवसायीलाई राहत र क्षतिपूर्तिको व्यवस्थापनका लागि आफूले पहल गर्ने बताउँदै सहयोगका लागि उद्योगी, व्यवसायीलाई आग्रहसमेत गरेका छन् । रासस

सुनको मूल्य आकासिँदै, प्रतितोला ७० हजारमा कारोबार

काठमाडौं । पछिल्लो समय सुनको मूल्य आकासिँदै प्रतितोला ७० हजारमा कारोबार भईरहेको छ । साताको पाँचौ दिन बिहीबार बुधबारको तुलनामा ५ सय रुपैयाँ बढेको छ । बुधबार प्रतितोला ६९ हजार ५ सयमा कारोबार भएको सुनले आज नयाँ रेकर्ड कायम राख्न सफल भएको छ । बुधबार प्रतितोला ६९ हजार २ सय कारोबार भएको तेजावी बिहीबार ६९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोला १५ रुपैयाँ बढेर ८२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । यस्ताे छ सुनकाे बढ्दाे मूल्य : आजपनि १५ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ? पछिल्लो समय सुनको मुल्य निरन्तर बढ्दो, ६८ हजारमा कारोबार

छोराछोरीसहित नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु

कावासोती । नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महिनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ । आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार गरेका छन् । आमा सुधा विश्वकर्मा प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताएका छन् । आमा स्वयंले दुवै बच्चा साथमा लिएर नारायणी नदीमा हामफालेकी थिइन् । उनका श्रीमान प्रहरी युक्ती तालिम महाविद्यालय जर्गाहा नवलपरासीमा कार्यरत रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी गरेका छन् । रासस

निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग

मुग्लिन । चितवनकाे निर्माणाधीन आश्रम इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित इच्छाकामना मन्दिर परिसरमा निर्माण भइरहेको आश्रमका लागि विभिन्न व्यक्तिबाट रु पाँच लाख ६२ हजार २०० सहयोग प्राप्त भएको छ । एक स्थानीयवासी इच्छाकामना–४ कुरिनटारका ध्रुवराज त्रिपाठीले रु पाँच लाखको चेक गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । यसैबीच स्थानीय खोमप्रसाद त्रिपाठी र बिजुला त्रिपाठीले रु ५१ हजार १०१, पदमकुमारी सिलवालले रु पाँच हजार १०० र श्रीमाया अधिकारीले रु पाँच हजार सहयोग हस्तान्तरण गरेका छन् । बुधबार एक कार्यक्रमबीच उनीहरूले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । रु एक करोड लागतमा बन्ने उक्त भवन वृद्धाश्रम, सत्तल, पुस्तकालय सभाहललगायत सामाजिक कार्यमा प्रयोग गरिने मन्दिर समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवालले बताए । भवन निर्माणका लागि गाउँपालिकाले गत वर्ष रु चार लाख सहयोग गरेको उल्लेख गरे । साथै उनले अन्य रकम स्थानीयवासी विभिन्न उद्योगी/व्यवसायी तथा सामाजसेवीको सहयोगमा भवन निर्माण भइरहेको जानकारी दिएका छन् । अहिलेसम्म रु १९ लाख खर्च भइसकेको र भवन निर्माण सम्पन्न गर्न रु एक करोड लाग्ने मन्दिर निर्माण समितिका अध्यक्ष शङ्कर सिलवाल बताउँछन् । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले भवन सम्पन्न गर्नका लागि गाउँपालिकाले यस आर्थिक वर्षमा रु ११ लाख रकम छुट्याइएको बताएका छन् । रासस

भदौ १ देखि पोखराका सार्वजनिक यातायातमा ई-टिकेटिङ, ओम बैंकद्वारा स्मार्ट यात्रा कार्ड वितरण

काठमाडौँ । ओम डेभलपमेन्ट बैंकले पोखरा क्षेत्रमा यात्रा स्मार्ट कार्ड वितरण शुरु गरेको छ । पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि महानगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायातका बसहरुमा ई-टिकेटिङ लागु गर्ने भएपछि यात्रा स्मार्ट कार्ड वितरण शुरु गरेको हो । उक्त प्रयोजनका लागी आवश्यक यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंकले गर्ने बैकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) विश्वमोहन अधिकारीले बताए । पहिलो चरणमा पोखरा भित्रका स्कुल, कलेज अध्ययन गर्ने बिधार्थीहरु माझ वितरण शुरु गरिएको र लगत्तै पोखरा महानगर भित्रका सम्पूर्ण वडाहरु मार्फत सो कार्ड वितरण गरिने बताइएको छ । ओम डेभलपमेन्ट बैंकले प्रथम चरणमा पोखरा महानगरपालिका भित्र चल्ने करीब ८०० सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्रमा ३ लाख स्मार्ट कार्ड वितरण गरी पोखरालाई स्मार्ट सिटीको रुपमा विकसित गर्ने पोखरा महानगरपालिकाको अवधारणामा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । परियोजना सञ्चालनका लागी पोखरा महानगरपालिका, ओम डेभलपमेन्ट बैंक, एनक्लाउड प्रालि र पोखरा बस व्यबसायी समितिका पदाधिकारीहरुको उपस्थितिमा यसअघि नै सम्झौता पत्रमा हस्ताक्षर भइसकेको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

हुलाक बैंकले संकलन गर्याे पाँच करोड बढी निक्षेप

कलैया । बारा जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बैंकमा आर्थिक वर्ष २०७५/७६ मा कूल रु पाँच करोड ३५ लाख ३८ हजार ३०१ निक्षेप जम्मा भएको छ । यस वर्ष मात्र एक हजार ३२२ ग्राहकले रु चार करोड ६७ लाख पाँच हजार ३०२ निक्षेप जम्मा गरेकामा सोको ब्याज रु चार लाख तीन हजार ९५१ र गत वर्षको निक्षेप रु ६४ लाख २९ हजार ५७ समेत गरी कूल पाँच करोड ३५ लाख ३८ लाख ३०१ मध्ये निक्षेपकर्ताले रु चार करोड ८६ लाख ३० हजार ५६३ झिकेको र बाँकी ४९ लाख सात हजार ७४७ हुलाक कार्यालयको कूल सम्पत्ति रहेको कार्यालय प्रमुख सुरेन्द्र यादवले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७५/७६ मा हुलाक बचत बैंकले ४३ ग्राहकलाई रु ७० लाख २८ हजार ३०३ ऋण लगानी गरेको र २०७६ असार मसान्तसम्म आठ लाख २९ हजार ४४७ मौज्दात रहेकामा रु ३० लाख ५० हजार ३६८ हुलाकको केन्द्रीय चल्ती खातामा जम्मा रहेको प्रमुख यादवले बताएका हुन् । रासस

कोरियाको मोट्रेक्स कम्पनीले ४ महिनासम्म जग्गा पाएन, नेपालमै गाडी उत्पादन अनिश्चित

काठमाडौं । लगानी बोर्डको २०७५ चैत १ गते नै बसेको बैठकले कोरियाको मोट्रेक्स कम्पनीलाई सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानिफ्याक्चरिङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाको लागि १० अर्ब ५४ करोडको लगानी स्वीकृत गरेको छ । तर, बोर्डले लगानी स्वीकृति दिएको ४ महिना बित्दापनि मोट्रेक्स कम्पनीले प्लाण्ट बनाउन जग्गा पाएको छैन । गाडी उत्पादक कम्पनी मोट्रेक्सले  प्लान्ट स्थापनाको लागि १ सय बिगाह जग्गा माग गरेको छ । लगानी बोर्डले औद्योगिक  क्षेत्र व्यवस्थापन लिमिटेडको क्षेत्राधिकारभन्दा बाहिर रहेको बुटवल धागो कम्पनी(हाल बन्द अवस्थामा रहेकाे) जग्गा उक्त गाडी कम्पनीलाई मिलाइदिन पत्र काटेको थियो । तर, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अधिकार भित्र सो जग्गा पर्दैन । त्यसकारण गाडी कम्पनी मोट्रेक्स अहिलेसम्म जग्गाको लागि लगानी बोर्डमै धाइरहेको छ । लगानी बोर्डका प्रवत्ता बलराम रिजालले उक्त कम्पनीलाई जग्गा मिलाइदिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई पत्र काटेको बताए । उनल भने-‘कोरियाको मोट्रेक्स कम्पनीलाई कति कर लगाउने र के के सुविधा दिने भनेर १५ दिनअघि अर्थमन्त्रालय फाइल गएको बताए । यता, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले लगानी बोर्डले बुटवल धागो कम्पनीको भवन र जग्गा कोरियाको मोट्रेक्स कम्पनीलाई दिन पत्र लेखेको स्वीकार गरे । तर , त्यो भवन र जग्गामा धागो कम्पनीकै स्वमित्व छ, त्यसमा केही गर्न नसकिने बताए । उनले भने-‘हामीले निर्माणाधीन रुपन्देही मोतिपुरको औद्योगिक क्षेत्रको जग्गाका लागि मोतिपुरमा मै गएर छलफल गरेका छौँ, सो क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन(ईआईए) बन मन्त्रालय गएर रोकिएकोले कोरियाको मोट्रेक्स कम्पनीलाई तत्कालै जग्गा दिन सकिन्न ।’ ईआईए स्वीकृत भएपछि ए ब्लकको जग्गा कम्पनीलाई दिने अध्यक्ष बस्नेतले बताए । सरकारले विदेशी लगानीलाई आकर्षण गर्न २०७५ मा लगानी सम्मेल समेत गरेर नेपालमा लगानी गर्न अग्रह गरेको थियो । तर, कोरियाको मोट्रेक्स कम्पनीले गाडी निर्माण गर्नका लागि जग्गा माग्दा ४ महिनासम्म सरकारले ठोस निर्णय दिन नसक्दा विदेशी लगानीकर्ता आकर्षित हुन सकिरहेका छैनन् । मोट्रेक्सले लामो समयसम्म जग्गा नपाउनुले नेपालमै गाडी उत्पादक कहिलेबाट शुरु हुन्छ भन्ने पनि अनिश्चित भएको छ ।

बैंक अफ काठमाडौंको नाफा १ अर्ब ९३ करोड, अघिल्लो आवकोभन्दा ६१ करोडले बढी

काठमाडौं । गत आर्थिक वर्षमा बैंक अफ काठमाडौंको नाफा १ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष बैंकले गरेको नाफा अघिल्लो आवकोभन्दा ६१ करोड ७१ लाखले बढी हो । बैंकले अघिल्लो आवमा एक अर्ब ३२ करोड नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३० करोड पुगेको छ । बैंकले गएको आवमा खुद ब्याजबाट ३ अर्ब ७७ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले बढी नाफा कमाएका कारण प्रतिसेयर २४.०४ पैसा दिन सक्ने भएको छ । आठ अर्ब ६ करोड चुक्ता पुँजी रहेको बैंकको बैंकको जगेडा कोषमा ४ अर्ब ५५ करोड रुपैंयाँ रहेको छ । बैंकले ग्राहकबाट ८२ अर्ब ९३ करोड निक्षेप संकलन गरेर ७१ अर्ब ७३ करोड कर्जा लगानी गर्दा सिडी रेसियो ७५.८० प्रतिशत कायम गरेको छ । बैंकको खराब कर्जा (एनपीएल) १.५० प्रतिशत छ भने आधार ब्याजदर ९.९८ प्रतिशत छ । बैंकको ४.४० प्रतिशत स्प्रेडदर र कस्ट अफ फण्ड भने ७.२६ प्रतिशत छ । बैंकको प्रति सेयर नेटवर्थ १७३.७२ रुपैंयाँ छ ।