विकासन्युज

प्लास्टिकमुक्त शहर बनाउने अभियानमा लाग्याे नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जलाई प्लास्टिकमुक्त शहर बनाउने अभियान थालेको छ । उक्त उपमहानगरपालिकाको यो अभियानमा सहयोग पुर्याउने भनी यहाँका राजनीतिक दलहरुले पनि लिखित प्रतिबद्धता जनाएका छन् । अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लास्टिकजन्य फोहरले गरेको असर र यसको निकासका लागि ‘ऐना फोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्रीहरु तयार गरेर नगरका चोकचोकमा झुण्ड्याएको छ । गैरसरकारी संस्थाहरुसँग सहकार्य गरेर विकल्पका रुपमा कपडा र कागजका झोला र बोराहरु उत्पादन गरेर वितरण पनि गरिएको छ । उपमहानगरपालिकाले प्लास्टिकजन्य प्रयोगलाई न्यूनीकरण गर्दै निषेध गर्नेसम्मको तयारी गरिरहेकोे जनाए पनि गत वर्षदेखि लागू गरिएको फोहरमैला व्यवस्थापन ऐनले प्लास्टिकजन्य फोहरलाई भने समेट्न सकेको छैन । सो ऐनलाई अद्यावधिक गर्नुपर्ने अवस्था भए पनि यस वर्षको कार्यक्रम र बजेटमा पनि फोहरमैला व्यवस्थापनको दीर्घकालीन योजना बनाउने विषय समेटिएको छैन । “नमिलेको विषयवस्तु हामी मिलाउँछौँ, ऐन, नियम बनाउनेदेखि संशोधनसम्म गर्ने, बजेट विनियोजन गर्नेलगायत सबै कुरा अभियानको कार्यक्रमभित्र समेटिनेछ”, नगरप्रमुख डा. धवलशम्शेर राणाको भनाइ थियो । अभियानअन्तर्गत अहिले विभिन्न सङ्घसंस्थाले प्लास्टिकजन्य फोहर सङ्कलन पनि गरिरहे छन् । प्लास्टिकजन्य पदार्थलाई छुट्याएर राख्ने गरिएको छैन । उपमहानगरपालिकाले विशेषगरी पोलिथिन प्रयोग नियन्त्रण र कपडा तथा कागजको झोला प्रयोगलाई प्रोत्साहन गरिरहे पनि प्लास्टिकजन्य प्रदूषण रोक्न सरकारी निकायको पहलले मात्र सम्भव छैन । “प्लास्टिक नियन्त्रणका लागि स्थानीय तहले पनि थप अग्रसरता देखाउनुपर्छ”, नगरप्रमुख राणाको भनाइ थियो, “वातावरण मैत्री व्यवसायका लागि उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ ।” प्लास्टिकजन्य फोहर व्यवस्थापनका अभियन्ता हरि सुवेदीले प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि तयार गरिएको उपमहानगरपालिको वार्षिक र त्रिवर्षीय योजनालाई कार्यान्वयन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । “यो योजनालाई प्रभावकारी कार्यान्वयनतर्फ लग्न जरुरी छ । यसका लागि उपमहानगरपालिका स्वयंले अगुवाइ गरेर सरोकारवाला पक्षबीच थप समन्वय र सहकार्य गर्नुपर्दछ । अनि मात्र प्लास्टिकजन्य फोहरमुक्त शहर निर्माण गर्न सक्छौ,” उनले भने । रासस

नेपाल हाते कागज संघको अध्यक्षमा किरणकुमार डंगोल निर्वाचित

काठमाडौँ । नेपाल हाते कागज संघको हालै सम्पन्न १४ औं साधारण सभाले लोटस पेपर काफ्टका किरणकुमार डंगोलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । त्यसैगरी संघको उपाध्यक्षमा इको क्राफ्ट नेपालका राधाकृष्ण धौभडेल, सचिवमा तिवारी हातेकागज उद्योगका भक्तबहादुर बस्नेत, कोषाध्यक्षमा हिमाल चेरी उमन क्राफ्ट नेपालका जुनु जोशी निर्वाचित भएका छन् । सदस्यहरुमा हिमालयन बायो ट्रेड प्रालिका सरस्वती राई गुरुङ, नमस्ते नेपाल हाते कागज उद्योगका इश्वरकुमार श्रेष्ठ, लोक्ता पेपर क्राफ्टका शिवहादुर श्रेष्ठ, गौरीशंकर पोर्ट रेसा एण्ड नेपाली कागजका चित्रकुमार श्रेष्ठ, पिके हिमचुली नेपाली कागज उद्योगका गणेशबहादुर बस्नेत, जुगल नेपाली हाते कागज उद्योगका बेनुदास श्रेष्ठ र नेचुरल रिसोर्सेज आर्ट पेपरका लेटरबहादुर केसी निर्वाचिन भएको निर्वाचन अधिकृत ऋषिराज सुवेदीले जनाएका छन् । संघको निवर्तमान अध्यक्षमा नेपाः भोँका मोहनकृष्ण मानन्धर रहेका छन् । संघमा १२२ वटा उद्योेगहरु सदस्य छन् । दिगो लोक्ता व्यवस्थापान र गुणस्तरीय कागजको उत्पादन गर्न प्रोत्साहित गर्ने र कागजसँग सम्वन्धित उद्योगहरुको हकहीतका लागी सरकारी तथा गैर सरकारी निकायसँग समन्वय गर्नु संस्थाको उद्देश्य रहेको नव निर्वाचित अध्यक्ष किरणकुमार डंगोलले बताए ।

घट्यो चिया निकासी

इलाम । विदेशबाट नेपाल आयातित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घटेको देखिएको छ । देशको पूर्वी क्षेत्रमा उत्पादित चिया आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा घटेको तथ्याङ्कले देखाएको छ । देशको व्यापार सन्तुलन कायम गर्न महत्वपूर्ण हिस्सा राख्ने चिया निर्यात घट्दा भने व्यापार सन्तुलन गर्नसमेत समस्या हुने देखिन्छ । आव २०७४/७५ को भन्दा २०७५/७६ मा एक दशमलब पाँच प्रतिशतले घटेको देखिन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका तथ्याङ्कअनुसार आव २०७४/७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ केजी चिया निर्यात भएकामा गत आव २०७५/७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ केजी निर्यात भएको तथ्याङ्कले देखाउँछ । यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ । सरकारले चियाका लागि पर्याप्त युरिया मल उपलब्ध नगराउनु, पर्याप्त श्रमिक नहुनेलगायत समस्या भएकाले चिया निकासी घटेको चिया उद्यमी उदय चापागाईं बताउँछन् । “सरकारले चियासम्बन्धी स्पष्ट नीति नल्याएकाले पनि चियामा नैराश्यता बोध भएको हो”, चापागाईंले भने, “आन्तरिक खपत बढेकाले पनि निकासी घटेको हुन सक्छ । सरकारले प्राङ्गरिक चिया प्रवद्र्धन गर्न नसक्नु र चिया किसान–श्रमिकलाई प्रोत्साहित गर्न नसक्नाले पनि यो समस्या भोग्नुपरेको हो ।” उनका अनुसार गुणस्तरीय चिया उत्पादन गरेमा बाहिरी खपत बढ्ने र आम्दानीसमेत बढ्ने देखिन्छ । नेपालमा १६ हजार ३६ मेट्रिक टन चिया सिटिसी उत्पादन हुने गरेको छ भने अर्थोडक्स दुई हजार ६७० मेट्रिक टन, २२० मेट्रिक टन ग्रीन टी र स्पेसियल टी ३२ मेट्रिक टन तयारी चिया उत्पादन हुने पाइएको छ । रासस

सीतापाइलाबाट अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेका नौ बालबालिकाको उद्धार

काठमाडौं । नागार्जुन नगरपालिका–४ सीतापाइला, ख्वपाटोलस्थित एक घरमा अत्यन्त जोखिमपूर्ण अवस्थामा राखिएका चार बालक र पाँच बालिका गरी नौ बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद्को नेतृत्वमा महानगरीय प्रहरी वृत्त स्वयम्भू, बालबालिका खोजतलास केन्द्र, वडा कार्यालय, बालहेल्पलाइन तथा स्थानीय प्रतिनिधिको समन्वय र सहकार्यमा ‘नमूना प्रगतिशील महिला समाज र युवा सामुदायिक सेवा केन्द्र’ द्वारा सो घरमा जोखिमपूर्ण अवस्थामा राखिएका बालबालिकाको उद्धार गरिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुसालले जानकारी दिएका छन् । पाँचदेखि ११ वर्ष उमेर समूहका ती बालबालिकामध्ये बर्दियाका चार, कालीकोटका चार र कैलालीका एक रहेका छन् । उक्त संस्थाले आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ मा भएको व्यवस्था विपरीत उचित खानपान, आवास तथा शिक्षा र संरक्षणको प्रबन्ध नगरेको पाइएकाले बालबालिकाको उद्धार गरिएको परिषद्ले जनाएको छ । हाल बालबालिकाको अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ । उक्त संस्थाका सञ्चालक तथा संलग्न व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

भन्सार छली ल्याएका एक  सय ४० भारतीय खसी र ट्रक सशस्त्रको नियन्त्रणमा

राजापुर । बर्दिया गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपमा काठमाडौँतर्फ लैजान लागेको ना६ख ९४९२ नं ट्रकसहित १४० वटा खसी प्रहरीले आज नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताएका छन् । यसरी, पछिल्लो समयमा तस्करहरुले बर्दियाबाट अवैध रूपमा बिना भन्सार भारतीय खसीहरू छिराएर काठमाडौँसम्म पुर्याउने गरेका छन् । रासस

ट्रेडमार्क दर्ता उत्साहजनक, पेटेन्ट र डिजाइनमा निराशा

काठमाडौं । व्यवसायमा बौद्धिक सम्पत्तिको रूपमा मानिने ट्रेडमार्कको दर्ता उत्साहजनक देखिएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा स्वदेशी १ हजार २५६ र विदेशी १ हजार १७५ वटा गरी २ हजार ४३१ वटा ट्रेडमार्क दर्ता भएको छ । आर्थिक वर्ष २०७४/७५ मा स्वदेशी र विदेशी गरी २ हजार मात्रै दर्ता भएका थिए । अहिलेसम्म ८३ हजार ट्रेडमार्क दर्ता आवेदन परेकोमा ४८ हजार ५ सय मात्रै दर्ता भएको छ । ट्रेडमार्क दर्ताको प्रक्रिया लामो हुने र अवेदन दिएकाहरुको छानबिन गर्नु पर्ने भएकाले पनि धेरै आवेदनकै रुपमा रहने उद्योग विभागका सूचना अधिकारी विनोद खड्काले बताए । पेटेन्ट र डिजाइनको दर्ता भने न्यून देखिएको छ । गत आर्थिक वर्षमा पेटेन्ट २ वटा र डिजाइन ४ वटा मात्रै दर्ता भएको थियो । पेटेन्ट दर्ताका लागि ७० वटा आवेदन परे पनि अहिलेसम्म ९ वटा मात्रै दर्ता भएको छ । डिजाइन अहिलेसम्म ९२ वटा दर्ता भएको उद्योग विभाको तथ्याङ्कमा उल्लेख छ । उद्योग विभागका ट्रेडमार्क शाखाकी निर्देशक सुप्रभा ढुङ्गेल भुसालले पेटेन्ट र डिजाइनमा निवेदन नै कम आउने गरेको बताइन् । अन्य मुलुकमा पेटेन्ट तथा डिजाइनलाई जति महत्व दिइन्छ हाम्रोमा त्यत्ति महत्व दिएको पाइँदैन । आफ्नो घर-जग्गाको हक अधिकार सुरक्षाका लागि जसरी लालपूर्जा बनाइन्छ, त्यसरी नै आफुले आविष्कार गरेको वस्तु, प्रविधि वा डिजाइन लगायतको हक अधिकार सुनिश्चित गर्नका लागि पेटेन्ट दर्ता गर्नुपर्ने उनले बताइन् । के हो ट्रेडमार्क, पेटेन्ट र डिजाइन ट्रेडमार्क कुनै कम्पनी वा उद्योगको आफ्नो व्यापारिक चिन्ह वा लोगो हो । कुनै वस्तुको उत्पादन वा आविष्कार गर्दा राज्यले सो व्यक्ति वा संस्थालाई वस्तुको प्रयोग, उत्पादन र बिक्रीका लागि दिने अधिकार नै पेटेन्ट हो । डिजाइन भनेको कुनै वस्तु लक्षित आविष्कार वा उत्पादन झल्काउने आकार हो । विभागमा पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ताको प्रस्ताव धेरै आए पनि आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा दर्ता कम हुने गरेको विभागका अधिकारी बताउँछन् ।

अब नेपाली सेनाबाहेक सर्वसाधारणले ‘कम्ब्याक्ट’ पोशाक लगाउन नपाउने

काभ्रपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गैरसैनिकलाई ‘कम्ब्याक्ट’ पोशाक निषेध गरेको छ । कार्यालयले गैरसैनिकलाई कम्ब्याक्ट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशनसमेत दिएको हो । नेपाली सेनाका सकल दर्जाले लगाउने कम्ब्याक्ट पोशाक स्थानीय बजारमा सहज रूपमा बिक्री वितरण हुने हुँदा गैरसैनिकले ‘फेशन’का रूपमा प्रयोग गरेकाले यसलाई निषेध गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिएका छन् जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको बैठकमा उनले भने, “यो कुनै पार्टी विशेष जस्तो पनि देखिने हुँदा सर्वसाधारण अर्थात् गैरसैनिकलाई यस्तो पोशाक लगाउनबाट रोकिन्छ, तपाईंहरुले आ–आफ्नो क्षेत्रमा कडाइका साथ लागू गर्नुस् ।” प्रजिअ रानामगरले सदरमुकाम धुलिखेलमा कम्ब्याक्ट पोशाक लगाएर दुर्गमबाट आएका दुई जनालाई सचेत गराइएको बताए । “नजिकै घर भएको भए तुरुन्तै फेर्न लगाइन्थ्यो, टाढा भएकाले सचेत मात्रै गराइयो”, उनले भने । उनले आफ्नो क्षेत्रमा यस्ता व्यक्ति देखिए तुरुन्तै फेर्न लगाउने नभए नजिकको प्रहरीलाई खबर गर्न कार्यालय प्रमुखलाई आग्रह गरेका हुन्। गृह मन्त्रालयले गरेको परिपत्रअनुसार जिल्लामा कम्ब्याक्ट पोशाक निषेध गरिएको कार्यालयले जनाएको छ । जिल्लास्थित पसलमा स्टक रहेका कम्ब्याक्ट पोशाक (जुत्तासमेत) खरिद गरेको ठाउँमै फिर्ता गर्न व्यवसायीलाई समेत आग्रह गरिएको छ । केन्द्र सरकारको नीतिअनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनि कम्ब्याक्ट पोशाक निषेध गरिएको प्रजिअ रानामगरले बताएका छन् । नेपाली सेनाले आफ्नो पोशाकको दरुपयोग गरी सर्वसाधारण, विभिन्न निजी सेक्युरिटी कम्पनी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिले लगाएपछि गत साउनमा गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । त्यसपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई गैरसैनिकलाई कम्ब्याक्ट पोशाक निषेध गर्न परिपत्र गरेको थियो । रासस

अठार हजारभन्दा बढी पर्यटकले गरे कोशीटप्पुको अवलोकन

इनरुवा । अर्नाका लागि प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेका कोशीटप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा १८ हजार ७७३ जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७५÷७६ मा सो सङ्ख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् । गत आर्थिक वर्षमा आरक्षमा १८ हजार ३८५ नेपाली, ३६ सार्क मुलुकका र ३५२ विदेशी गरी कूल १८ हजार ७७३ पर्यटकले आरक्षको अवलोकन गरेको उनले जानकारी दिएका हुन् । आरक्षमा सबैभन्दा बढी कात्तिक महिनामा पर्यटकले अवलोकन गरेका छन् भने सबैभन्दा कम फागुन महिनामा पर्यटक आएको आरक्षको तथ्याङ्कले देखाएको छ । आरक्षमा कात्तिकमा दुई हजार सात सय चार जना पर्यटक आएका थिए । तीमध्ये दुई हजार ६६२ नेपाली, सात सार्क मुलुकका र ३५ जना विदेशी रहेका छन् । त्यस्तै फागुनमा महिनामा ८९६ जना पर्यटक आएको छ । तीमध्ये ८२९ नेपाली, तीन सार्क मुलुकका र ६४ जना विदेशी रहेका छन् । आरक्षमा विभिन्न किसिमका चराचुरुङ्गी, पुतली, अर्ना, हात्तीमा सवार गर्नका लागि पर्यटक आएको आरक्ष प्रशासनले जनाएको छ । रासस