विकासन्युज

सामसङले तार्केश्वर नगरपालिकामा गर्यो विशेष सहयोग

काठमाडौँ । सामसङ(दक्षिण कोरिया)ले काठमाडौंको तार्केश्वर नगरपालिका वडा नं. २ र ३ मा एकीकृत विकासका कार्यक्रमहरुलाई विशेष सहयोग प्रदान गरेको छ । स्वयम्सेवी अभियान नेपालद्वारा तार्केश्वर नगरपालिका वडा न २ र ३ मा आयोजना गरिएको महिला उद्यमशीलता, सूचना प्रविधि र अनलाईन बजार प्रबर्धन तथा सीप विकास तालिमलाई सासमङले आफ्नो तर्फबाट विशेष सहयोग प्रदान गरेको हो । स्वयम्सेवी अभियानले महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत महिला समूहहरु गठन गरी शिक्षा र जीवनोपयोगी सीप, लघुवित्त र उद्यमशीलता विकास परियोजनाहरु संचालन गर्दै आइरहेको छ । उक्त परियोजनालाई सामसङले प्राविधिक सहयोग प्रदान समेत गर्दै आएको छ । हालसम्म तार्केश्वर नगरपालिका वडा नम्बर २ मा ३८ महिला समूह गठन भई ३४६ जना र वडा नम्बर ३ मा १०९ महिला समूह गठन भई ७७६ जना महिलाहरु प्रत्यक्ष संलग्न भएका छन् । सामसङ इलेक्ट्रोनिक्सले विगतका केही वर्षदेखि नेपालमा पनि महिला उद्यमशीलताको लागि नेपाल स्थित विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी विभिन्न कार्यहरु सञ्चालन तथा त्यस्ता कार्यक्रमहरुमा सहयोग प्रदान गर्दै आएको छ ।

एभरेष्ट इन्स्योरेन्सको एजीएम असोज १ गते, मर्जरमा जाने प्रस्ताव पारित गरिने

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा(एजीएम)मा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पेश हुने भएको छ । असोज १ गते हुने कम्पनीको २४औं वार्षिक साधारण सभामा उक्त विशेष प्रस्ताव पेश गरिने भएको हो । विहीबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले असोज १ गते दिउँसो २ बजे अग्रवाल भवन कमलपोखरीमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि भदौ २२ गते कम्पनीको सेयर दाखिला खारेज बन्द(बुक क्लोज) हुने कम्पनी सचिव भद्रबहादुर विष्टले जनाएका छन् । साधारण सभाले आव २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सम्बन्धी अनुसूचिहरु पारित गर्ने कम्पनीले जनाएको छ ।

रिचार्जर एपको नयाँ भर्सन सार्वजनिक, भदौ ११ गतेदेखि ग्याजेट्स मेला

काठमाडौँ । मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ । उक्त उपलक्ष्यमा रिचार्जर एप डाउनलोड गरी खाताखोल्नेहरु मध्येबाट एक जनालाई सामसुङको ए ट्वान्टी मोबाइल बितरण गर्ने भएको छ । भदौ २५ गते रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी मोबाइल विजेता घोषणा गर्ने रिचार्जरले जनाएको छ । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै रिचार्जरले घरघरमै ग्याजेट्स मेला सञ्चालन गर्ने भएको छ । ‘बिजीलाईफ, इजी सोलुसन’भन्ने नाराका साथ सेवा दिइरहेको रिचार्जरले भदौ ११ गतेदेखि २ सातासम्म ग्याजेट्स मेला संचालन गर्न लागेको हो । ‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजना सहित रिचार्जरले मेला सञ्चालन गर्न लागेको हो । विभिन्न बैंक तथा ब्राण्डसँगको सहकार्यमा रिचार्जरले ग्याजेट्स मेला सञ्चालनगर्न लागेको हो । डिजिटल सपिङ हबमा आफुलाई अब्बल बनाउँदै गएको रिचार्जरले नेपालमै पहिलो पटक मोटर साइकल, गाडी समेत बुकिङ गरी किस्ताबन्दीमा किन्न सकिने व्यवस्था मिलाएको छ । अनलाइन मेलामा सस्तो मूल्यामा मोबाईल तथा ईलेक्ट्रोनिक्स ग्याजेटहरु शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिने रिचार्जरले जनाएको छ । भदौ ११ गतेबाट हुने ग्याजेट मेलामा अफर भित्र अफर अन्तरगत सेवाग्राहीले सरप्राईज गिफ्टह्याम्पर पाउने छन् । अफर भित्र अफर सहित ६० प्रतिशतसम्मको छुटमा सामानकिन्न सकिन्छ । मेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कण्डिसनर, रेफ्रिजिरेटर लगायतका उपकरणहरु शुन्य प्रतिशत व्याजदरमा घरमा बसेर अर्डर गर्न सकिने छ । यसका साथै बुबाको मुख हेर्ने दिनलाई लक्षित गर्दै रिचार्जरले उपहारको सामानसंगै केक तथा फुलको गुच्छा सहितको गिफ्ट प्याकेज उपत्यका भित्र १ घण्टामा घरमै डेलिभरी दिने व्यवस्था मिलाएको जनाएको छ ।

गर्मी महिनामा फाउन्डेसन र बिबि क्रिमको प्रयोग कम गरौं, छालाको स्याहार यसरी गरौँ

काठमाडौं। सुन्दर छाला हरेक व्यक्तीको चाहना हो। आजको सोसियल मिडिया प्रेमी युगमा आफ्नो स्वरुप र सुन्दरताले जति प्राथमिकता पाएसँगै सुन्दर र स्वस्थ छाला प्रतिको मानिसहरुको सचेतना पनि बढ्दो छ। यधापी बढ्दै गएको वातवरण प्रदुषण र मौसमी विविधताले छालालाई थप असर पार्दै पनि गईरहेको छ। त्यसैले यस्तो वातवरणमा छालालाई स्वच्छ एवम् सुन्दर राख्न मानिसहरुले धेरै कुरामा ध्यान दिनु पर्छ। मानिसको खानपान, जीवनशैली, व्यवसाय, योग, घामको एक्सपोजर लगायत् दैनिक जीवनमा प्रयोग हुने कस्मेटिक्स् र क्रिमहरुको छालामा महत्वपुर्ण भूमिका छ। कस्मेटिक (cosmeceutical) र पोषणयुक्त आहार Neutraceutical को व्यापार चुलिएको औद्योगिक युगमा सहि खानेकुरा र कस्मेटिक्स् छान्न गाह्रो छ। अहिले बजारमा मकेअप र क्रिमहरु च्याउझैँ उत्पादन र बिक्री भैरहेका छन् तर यि सबै क्रिमहरु भने पक्कै पनि लाभदायी छैनन्। विशेष गरी गर्मी महिनामा फाउन्डेसन र बि.बि क्रिमहरुको व्यापक प्रयोगले गर्दा डन्डीफोर, चाया, पोतो र एलर्जी निम्त्याउँछन्। हिजोआज बजारमा उपलब्ध धेरै क्रिममा स्टिरोइड नामको कडा केमिकल मिसिएको पाइएको छ। मिसावट भएको क्रिम लगाउदा छाला बिग्रिन सक्छ। यसरी बिग्रिएको छाला संवेदनशील हुन्छ र यसलाई चिसो, तातो, हावा र अन्य कुराले छिटो एलर्जी गर्ने किसिमको हुन्छ। त्यसैले सही किसिमको क्रिम र आफ्नो छालालाई सुहाउँदो प्रकारको क्रिम छान्न चिकित्सकको परामर्श लिदा राम्रो हुन्छ। विज्ञापनको पछाडी नलागी आफ्नो छाला र छालाको प्रकृति हेरेर डाक्टरको सल्लाह अनुसारको कस्मेटिक्सको नियमित प्रयोगले धेरै पैसा खर्च नगरी छालाको उचित स्याहार गर्न सकिन्छ। छालालाई आवश्यक सामाग्री : छालाको लागि आवश्यक र अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने क्रिमहरु सनस्क्रिन, फेसवास, भिटामिन सि सिरम ,रेटिनोल र मोइस्चुराइजर् पर्छन्।सनस्क्रिनको नियमित प्रयोगले घामबाट हुने पोतो, दाग एलर्जी, चाउरी र क्यान्सरबाट जोगाउँछ। सम्पूर्ण सरक्षाका लागि ब्रोड स्पेक्ट्रम सनस्क्रिन दिनको ३ पटक १-१ चम्चा अनुपातमा प्रयोग गर्नुपर्छ। धेरै सनस्क्रिनमा सानो पाउडरयुक्त रसायन हुनाले सनस्क्रिन लगाउदा धेरै माड्न हुदैन। कसैकसैलाई माडेर लगाउदा एलर्जी हुन सक्छ। कसरी स्याहार गर्ने ? छालालाई स्वस्थ राख्न जहिले पनि साँझ सफा गरेर धुन पर्दछ र सबै मकेअप पुस्नु पर्छ। दिनभरिको विकारक तत्वले अनुहारका स- साना नली(pores) थुनिने हुनाले फेसवास अत्यनत जरुरी छ। प्रदुषण र धुलोबाट जोगिन फेसवास प्रयोग गर्नुपर्छ। छालाको सतहमा १-२ मिनेट मात्र रहने फेसवासको प्रमुख काम छालाको सफाई गर्नु हो। पानीले मात्रमुख धुँदा सबै विकार र प्रदुषणका कण फाल्न सक्दैन। त्यसैले फेसवास र नरम किसिमका क्लेनजरले पानीले मात्र नजाने तैलिय विकारक केमिकललाई अनुहारबाट फाल्छन्। फेसवास किन्दा आफ्नो छाला अनुसार किन्दा फाइदा छ। तैलिए छाला हुनेले जेल बेसको फेसवास प्रयोग गर्ने र सुख्खा छाला हुनेले क्रिम बेसको फेसवास प्रयोग गर्ने हो। फेसवासले छालाको बिकारसंगै हामीलाई चाहिने छालाको स्वास्थ्यबर्दक प्राकृतिक तेल पनि फाल्न सक्छ।त्यसैले दिनमा एक पटक मात्र साझमा जेन्टल फेसवास प्रयोग गर्नु पर्छ। सकेसम्म छालाको तेलको सतहलाई विगार्ने एसिडयुक्त फेसवास प्रयोग नगरेको राम्रो हो तर धेरै चिल्लो छाला हुने र डन्डीफोर हुने व्यक्तिले यस किसिमका एसिडयुक्त फेसवास प्रयोग गरेमा , त्यसपछि मोइस्चुराइजर् क्रिम लगाउनुपर्छ। यसरी नै राति सुत्ने बेला के-के लगाउने भन्न कुरा धेरैले सोध्छन्। राति मुख धोएर सफा भएपछी भिटामिन सि सिरम लगाउने अनि हाइरोनिक एसिड क्रिम लगाउने हो। २० वर्ष उमेर कटेपछि छालामा कोलाजेन सतह घट्दै जाने हुनाले यो उमेरपछि रेटिनोल अथवा भिटामिन ए क्रिम राति नै लगाउन जरुरी छ। दिनहुँ राति भिटामिन सि युक्त क्रिम लगाउनाले धेरै कोलाजन सतह बनाउने कुरा रिसर्चले देखाएको छ। यसले छालाको सतह बाक्लो र जवान राख्न मद्दत गर्छ। लामो अन्तरालमा चाउरी पर्न दिदैन। यसरी नै छालाका क्रिमहरु लगायत पोषणयुक्त खानेकुराले पनि छालालाई सुन्दर र स्वास्थ्य राखन ठुलो भूमिका निर्वाह गर्छ। सोया मील्क, सोयाविन, क्याल्सियम, आइरन, जिङ्क, प्रोवायोटिक, दहि, वॊलिभ आयल, ग्रीनटी, गाजर, हरियो काउली, बदाम, वाइन, फर्सीको सीड, माछाको तेल, कागती, कटहर, अंगुर इत्यादी खानाले कपाल र छाला स्वस्थ राख्न मद्दत गर्छ भने धेरै कर्बोहाइडेट रहेका खानेकुराले छालाका विभिन्न समस्या निम्त्याउने कुरा रिसर्चहरुले पुष्टि गरेका छन्। यसै गरि अनुहारमा डन्डीफोर आउँदा कहिले पनि कोट्त्त्यौनु हुँदैन, यसो गर्नाले अनुहारमा दाग र खाटा बस्ने हुन्छ र छाला अस्वस्थ देखिन्छ। बरु चिकित्सकको सल्लाह लिएर यी समस्याको समाधान गर्न सकिन्छ। साथै चाया र पॊतोबाट जोगिनको लागि घामबाट बच्नु अत्यन्त जरूरी छ। चिकित्सककै सल्लाह बमोजिमको सामान प्रयोग गर्दा अझ लाभदायी हुने गरेको पाइन्छ। नियमित व्यायम र स्वस्थ खानपानले पनि छालालै स्वस्थ राख्न मद्दत पुर्याउँछ।

अल्जेरियाका पूर्वमन्त्रीमाथि भ्रष्टाचारको आरोप, थुनामा राख्न आदेश

अल्जियर्स । अल्जेरियाको सर्वोच्च अदालतले पूर्व कानुन मन्त्री तयिब लोउलाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा थुनामा राख्न बिहीबार आदेश दिएको छ । सरकारी अभियोजनकर्ताका अनुसार पूर्वमन्त्री लोउमाथि शक्तिको दुरुपयोग, न्यायमा अबरोध, सरकारी कागजात तोडमरोड तथा पक्षपातमा संलग्न रहेको आरोप लागेको छ । अदालतको आदेशलगत्तै पूर्वमन्त्री लोउलाई गिरफ्तार गरिएको छ । गत अगस्ट ८ मा सर्वोच्च अदालतले लोउमाथि प्रारम्भिक सुनुवाई गरेको थियो । लोउको पासपोर्ट जफत गर्नुका साथै देश छाड्न प्रतिबन्ध लगाइएको छ । लोउ अल्जेरियाका पूर्व राष्ट्रपति अब्देलाजिज बाउतेफ्लीकाको शासनकालमा सन् २०१३ देखि २०१९ सम्म अल्जेरियाका निकै प्रभावशाली कानुन मन्त्री थिए । दुईजना पूर्व प्रधानमन्त्री अब्देलमलिक सेल्लाल र अहमद ओयाहिया समेतका धेरै जना वरिष्ट सरकारी अधिकारीहरुलाई पनि पदको दुरुपयोग तथा भ्रष्टाचारको आरोपमा पक्राउ गरी जेलमा राखिएको छ । गत फेब्रुअरी २२ देखि अल्जेरियामा जारी जनप्रदर्शनबाट राष्ट्रपति बोतेफ्लीकाको शासन ढलेको थियो । प्रदर्शनकारीहरुले मुलुकमा सुशासन कमजोर बनेको, भ्रष्टाचार बढेको तथा प्रहरी दमन बढेको भन्दै दोषीमाथि कारबाही गर्न निरन्तर माग गरी प्रदर्शन गरेका थिए । रासस÷सिन्ह्वा

श्रीलङ्कामा चार महिना लामो सङ्कटकाल अन्त्य

कोलम्बो । श्रीलङ्कामा चार महिनादेखि जारी रहेको सङ्कटकालीन अवस्थाको अन्त्य भएको घोषणा सरकारले गरेको छ । इस्लामिक अतिबादी समूहले विभिन्न होटल र चर्चहरुमा गरेको भीषण आक्रमणपछि यहाँको सरकारले सङ्कटकालको घोषणा गरेको थियो । त्यस आक्रमणमा परी २ सय ५८ जनाको मृत्यु भएको थियो । सो आतङ्ककारी हमलापछि श्रीलङ्काको राजधानी कोलम्बोमा असुरक्षाको अवस्था महसुश भएको थियो । गत अप्रिल २१ मा श्रीलङ्काका तीन ओटा होटल र तीन ओटा चर्चमा भएको भीषण आक्रमणपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सङ्कटकाल घोषणा गरेका थिए । राष्ट्रपति सिरिसेनाको कार्यालयले बिहीबारबाट यहाँ सङ्कटकालीन अवस्था हटाइएको जानकारी गराएको हो । उक्त सङ्कटकालीन अवस्थाको समय बिहीबार सकिएको भए पनि राष्ट्रपति सिरिसेनाले समयावधि नबढाएको जानकारी उक्त कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । श्रीलङ्काका पर्यटनमन्त्रीले गत हप्तामात्र पनि यहाँ सङ्कटकालीन अवस्था लम्ब्याउन आवश्यक नरहेको विषयमा आफ्नो सार्वजनिक धारणा राखेका थिए । श्रीलङ्कामा सङ्कटकालीन अवस्थाका कायम रहँदा पर्यटन व्यवसाय पनि सङ्कटमा परिरहेको भन्दै राज्य व्यवस्थालाई सामान्य अवस्थामा फर्काउन पर्यटनमन्त्री तथा पर्यटन व्यवसायीहरुले आग्रह गर्दै आएका थिए । उक्त आतङ्ककारी आक्रमणमा सहभागीहरुलाई पक्राउ गर्नका लागि कोलम्बो प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । तर ती आक्रमणमा संलग्नहरु मारिएका या पक्राउ परिसकेका प्रहरीले जनाएको छ । आक्रमणको जिम्मा लिने जिहादीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । रासस/एएफपी

पालुङमा सिन्धु विकास बैंकका शाखा कार्यालय स्थापना

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको पालुङ्ग बजारमा शाखा स्थापना गरेको छ । पालुङ्ग शाखा थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले उद्घाटन गरे । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हालसम्मको प्रगति तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राखे । बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको नारायणगढ, चनौली, विकासचोक, लाहुरे चोक र मकवानपुर जिल्लाको हेटौँडा बजार लगायतका विभिन्न स्थानमा शाखा तथा सीमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्ने जनाएको छ । २०६७ साल भदौ २२ गते सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय स्थापना भएको बैंकले बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा र हाल पालुङ्ग गरी कुल १७ शाखा तथा सुकुटे तथा सिलढुङ्गामा सीमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १९ स्थानबाट वित्तीय सेवा प्रदान गरिरहेको जनाएको छ ।

परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल ६० बर्षमा: दैनिक ६१ जनाको डेलिभरी, वार्षिक २० करोड आम्दानी

काठमाडौं। थापाथली स्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले स्थापनाको ६० औं बर्ष पार गरेको छ। सोही अवसरमा शुक्रबार एक समारोहका बीच वार्षिकोत्सव मनाएको छ । वार्षिकत्सवको अवसरमा अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले अस्पताललाई आगामी दिनमा अझै राम्रो बनाउँदै लैजाने बताए । ‘५०० बेडको अस्पताललाई अझै ठुलो बनाउन हामी लागि परिरहेका छौं’- गौतमले भने । यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. शुशिलनाथ प्याकुरेलले अस्पतालमा थप बेड थप्न भन्दा अन्य ठाउँमा सेवा विस्तार गर्न सुझाव दिएका छन्। कार्यक्रममा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव पुष्पा चौधरी, न्याम्सका भिसी तथा प्राध्यपक डिएन शाह तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक प्याकुरेलको उपस्थिती रहेको थियो । अस्पतालले वार्षिकोत्सवको अवसर पारेर आफ्ना कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गरेको थियो । स्थापना  पुरानो नाम परोपकार श्री ५ ईन्द्र लक्ष्मी देवी प्रसुती गृह हो । तत्कालीन राजा महेन्द्र युवराज हुँदाको समयमा उनकी श्रीमतीलाई गर्भवती अवस्थामा जटिलता आएको कारण मृत्‍यु भएकै कारण राजपरिवारले यसको स्थापना गरेको हो । त्यसैले अस्पताललाई उनकै नाममा दिईयो । राजपरिवारले २०१० सालमा थापाथलीमा २८ रोपनी जग्गा र कुपन्डोलमा ३५ रोपनी जग्गा व्यवस्था गरेर परोपकार संस्थासँग अस्पताल निर्माण सुरु गरेको हो । २०१६ सालमा अस्पतालको भवन निर्माण भएको हो र २०१६ सालमा यो ४० बेडको अस्पतालको रुपमा सुरु भएको हो । त्यसपछी अस्पताललाई परोपकार संस्थाले चलाईरहँदा नेपाल सरकारले अस्पताललाई आफुले लिएर चलाउन थालेको छ । अहिले अस्पतालमा १० प्रतिशत नेपाल सरकारका कर्मचारी रहेका छन् भने बाँकी ९० प्रतिशत समितिका कर्मचारी रहेका छन् । ६३३ जना कर्मचारीको अहिले अस्पतालमा कार्यरत छन् । नेपालको मान्छे उत्पादन गर्ने फ्याक्ट्री नेपालमा सबैभन्दा बढी डेलिभरी हुने अस्पताल हो प्रसुती गृह, गत साल मात्र अस्पतालबाट २२ हजार १ सय जनाको डेलिभरी भएको थियो । अस्पतालमा हरेक दिन ६१ जनाको डेलिभरी हुने गर्छ । यस्तै ८ हजार मेजर अप्रेसन र २ हजार माईनर अप्रेसन भएका छन् । प्रसुती गृह मान्छे उत्पादन गर्ने फ्याक्ट्री जस्तो लाग्ने गरेको निर्देशक गौतम बताउँछन् । अस्पतालको शैक्षिक पाटो अस्पतालको आफ्नै नर्सिङ कलेज रहेको छ । यस्तै अस्पतालले एमडी लेभलको विद्यार्थीलाई पढाउने गरेको छ । अस्पतालले ग्लोबल स्तरको अनुसन्धान गर्दै आएको छ । अस्पतालले अनुसन्धानको आर्टिकलहरु अन्तरराष्ट्रिय जर्नलहरुमा प्रकाशित हुने गरेको छ । प्रसुतिका सबै सेवा नि:शुल्क अस्पतालको सबैभन्दा पुरानो भवनमा क्याबिन रहेको छ, जसमा उपचार गर्न भने शुल्क लाग्ने गर्दछ । त्यस बाहेक जेनेरल वार्डमा बस्ने बिरामीलाई डेलिभरी नि:शुल्क रहेको छ, साथै आमा बच्चालाई आईसियुमा राख्नु परे पनि नि:शुल्क र आमाको अपरेसन गर्नुपरे पनि नि:शुल्क रहेको छ । घर जाने बेला २ हजार खर्च र साथै ४ पटक एन्टीनेटल जचाउँन आउने बिरामीहरुलाई अस्पतालले २०० को दरले आठ सय रुपैंया दिने गरेको छ। नयाँ भवन भर्खरै नेपाल सरकारको समन्वय र जापान सरकार जाइकाको सहयोगमा परोपकारको नयाँ भवन बनेको छ । करिब १ करोड ३ अर्बमा अस्पताल निर्माण भएको हो । नेपाल सरकारले भने अस्पतालको फर्निचरको लागि १ करोड सहयोग गरेको छ । अस्पताल पहिलाको भन्दा राम्रो देखिएको छ। बच्चाको आईसियु १७ बेडबाट ४० बेड पुगेको छ। ३ वटा अपरेसन थिएटर, नर्सहरुले मात्र व्यवस्ता गर्ने लेबर रुम रहेको छ।अस्पताललाई सामान्य मानिसले सोच्दा प्रसुती सेवा मात्र उपलब्ध रहेको बुझ्छन् तर अस्पतालमा प्रसुती सेवासँगै महिला रोगसँग सम्बन्धित उपचार हुने गर्दछ । महिला स्वास्थ्यसँग सम्बन्धित हरेक रोगको निदान  रहेको अस्पताल दाबी गर्दछ । अस्पतालले अब छिट्टै मै टेस्टयुब बेबी सेवा सुरु गर्ने जनाएको छ । ईमर्जेन्सीमा २४ सैं घण्टा डाक्टर अन्य अस्पतालहरुमा इमर्जेन्सीको लागि डाक्टर खोजिरहनु पर्दा परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा भने २४ सै घण्टा १० जना डाक्टर जहिले पनि अस्पताल भित्रै रहिरहने निर्देशक गौतम बताउँछन् । डाक्टरहरु अस्पतालमा बस्ने खाने गर्ने गरेका छन् । अस्पतालमै जुन समयमा पनि अपरेसन गर्ने व्यवस्था छ । अस्पतालले एउटा डेलिभरी बराबर २५०० खर्च गर्ने गरेको छ । नेपाल सरकारले १५ सय रुपैयाँ दिने गरेको छ। एउटा अप्रेसन गर्दा अस्पतालको १० हजार खर्च हुन्छ भने नेपाल सरकारले ७ हजार दिने गरेको छ। आम्दानी ५ बर्षमा ९ करोड देखी २० करोड निर्देशक डा. जागेश्वर गौतम अस्पतालको आम्दानी बर्षमा २० करोड पुगेको छ। अस्पतालमा धेरै परिवर्तन भएको छ । अहिले अस्पतालमा ५०० बेड रहेको छ । ४१५ नेपाल सरकारबाट स्वीकृति प्राप्त रहेको छ भने बाँकी बेड अस्पतालले आँफै चलाएको छ । यस्तै ओपिडीमा ५ बर्ष अगाडि बिरामीको संख्या १ लाख थियो, अहिले बढेर २ लाख पुगेको  छ ।