अशोक लेलैण्डका गाडी किन्दा सिर्जना फाइनान्सबाट ७० प्रतिशत कर्जा पाइने
काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जनाफाइनान्स लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईं र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । यस सम्झौताअनुरुपआईएमईमोटर्सबाट सिफारिस पाएकाग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा सिर्जना फाइनान्स लिमिटेडबाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने जनाइएको छ ।
१४ करोड भ्रष्ट्राचार गर्ने शम्भु भारती भैसेपाटीबाट पक्राउ
काठमाडौं। दुई वर्ष अघि १४ करोड बीस लाख आठ हजार तीन रूपैयाँ तीन पैसा भ्रष्ट्राचार गर्ने शम्भु भारती पक्राउ परेका छन्। भारतीलाई केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले भैसेपाटी, ललितपुरबाट पक्राउ गरेको हो। भारतीलाई सर्वोच्च अदालतको मिति २०७४।१।१७ को फैसालाले ख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा १४ करोड बीस लाख आठ हजार तीन रूपैयाँ तीन पैसा जरिवाना र एक बर्ष कैद तोकेको थियो। डडेल्धुरा जिल्ला रूपाल गा.वि.स वडा नं ४ स्थायी घर भई साविक ललितपुर जिल्ला साविक सैंबु गा.वि.स. वडा नं. ८ का ४९ बर्सिय भारती २ बर्ष देखी फरार रहेका थिए।
व्यापारीहरुले अर्थमन्त्री समक्ष भने-‘भन्सारका घुस्याहा कर्मचारीलाई कहिले कारवाही हुन्छ ?’
काठमाडौं । व्यापारीहरुले समान आयात गर्दा भन्सारका कर्मचारीलाई घुस दिनु परेको गुनासो गरेका छन् । भन्सारका कर्मचारीलाई घुस नदिए समान अड्काई दिन्छन्, शुक्रबार राजधानीमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा आयोजित कार्यक्रममा व्यापारीहरुले भने-‘भन्सारका घुस्याहा कर्मचारीलाई कहिले कारवाही हुन्छ ?’ नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका चेम्बर अफ कमर्शका अध्यक्ष प्रकाश साउदले नेपालमा व्यापार गर्न सामान आयात गर्दा सरकारी कर्मचारीलाई घुस दिंदै आएको खुलासा गरे । उनले भने-‘ मैले सामान आयात गर्दा १० प्रतिशत घुस दिने गरेको छु ।’ अर्थमन्त्रीज्यू नेपालका व्यापारीले यो समस्या कहिलेसम्म भोगिरहने हो ? ‘म त्यो घुस लिने कर्मचारीको नाम दिन सक्छु, नाम दिए बापत मलाई कानुनी कार्वाही हुन्छ भने म जेल जान तयार छु’-उनको भनाई थियो । नेपालमा सामान ल्याउँदा कार्मचारीलाई दिने घुसको कारणले नै भारतमा १ सय नेपाली रुपैयाँमा पाइने सामान नेपालमा १ सय ५० रुपौयाँ पर्ने गरेको बताए । नेपालमा भन्दा भारतमा सामान सस्तो हुने कारण नेपालीहरुले भारतमा नै गएर सामान किने गरेको उनको भनाई थियो । ‘नेपालको अर्थतन्त्रका विद्ययमान अवसर तथा चुनौती’ विषयक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले घुसका कुरा बहानाबाजी मात्रै भएको बताए । उनले भने–‘जसले घुस मागेको छ, जानकारी गराउनुस्, कार्वाही भएन भने मलाई भोलिदेखि नै आलोचना गर्नुस् ।’ जानाजान गल्ती गर्ने व्यापारीलाई एक दिन मात्रै भए पनि सरकारले जेल हालेर नै छाड्ने बताए । विश्वमा राष्ट्रपति, सेलिबे्रटी र ठूला व्यापारीहरु पनि कानून अनुसार नै एक दिन भए पनि जेल बसेको थुप्रै उदाहरण भएको उल्लेख गरे । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यापारी र उद्योगीहरुको लागि व्यापार र उद्योग सञ्चालन गर्ने समस्या भएको र यसलाई सरकारले गहन रुपामा लिएर उद्योगी व्यवसायीहरुलाई उद्योग स्थापना र व्यापार गर्ने वातावरण सिर्जना गर्नु पर्ने बताए ।
पर्यटकीय क्षेत्र सौराहका भवनमा वातावरणमैत्री रङ, व्यवसायीले गरे स्वागत
चितवन । रत्ननगर नगरपालिकाले सौराहामा भवन निर्माण मापदण्ड लागू गरी भवन र त्यसमा लगाउने रङमा एकरुपता ल्याउने भएको छ । सौराहाको पर्यटन विकासका लागि नगरपालिकाले रचनात्मक कामको शुरुआत गरेको भन्दै व्यवसायीले त्यसको स्वागत गरेका छन् । सौराहाको प्राकृतिक सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीसँग सहकार्य गरी भवन निर्माण र रङमा एकरुपता लयाउन लागेको हो । छ महिनाअघि लागू गरिएको मापदण्डमा साढे दुई तल्लाभन्दा माथि भवन निर्माण गर्न नपाउने र सबै भवनमा वातावरणमैत्री रङ लगाउनुपर्ने अनिवार्य गरिएको नगर प्रमुख नारायण वनले जानकारी दिए । “यो व्यवसायीलाई समस्यामा पार्न गरिएको काम होइन”, उनले भने, “सौराहालाई आर्कषक बनाउन शुरु गरिएको अभियान हो ।” भवन निर्माण मापदण्ड कार्यान्वयनका लागि नगरपालिकाले बिहीबार सौराहाका व्यवसायीसँग छलफल गरेको छ । सो अवसरमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र प्रदेशसभा सदस्य कृष्णप्रसाद खनालले भवन निर्माण मापदण्डले सौराहाको महत्व जीवन्त राख्ने बताए । सौराहामा १२० होटल र ८० रेष्टुराँ रहेका छन् । नगरपालिकाले होटल सञ्चालनका लागि बनाउने भवनको जग्गाको क्षेत्रफल र खुला क्षेत्रसमेत निर्धारण गरी एकदेखि दुई कट्ठामा भवन बनाउँदा ६० प्रतिशत खुला क्षेत्र, दुईदेखि चार कट्ठामा भवन निर्माण गर्दा ५० प्रतिशत खुला क्षेत्र र चार कट्ठामाथि भवन बनाउँदा ४० प्रतिशत खुला क्षेत्र हुनुपर्ने अनिवार्य गरेको छ । रेष्टुराँको हकमा जग्गाको क्षेत्रफल छ घुरदेखि एक कट्ठासम्म ६० प्रतिशत खुला क्षेत्र र एक कट्ठाभन्दा माथि ५० प्रतिशत खुला क्षेत्र हुनुपर्ने छ । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरे, नगर उपप्रमुख विमला दुवाडी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख नारायण काफ्ले, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख रामकुमार अर्याल, प्रहरी उपरीक्षक दानबहादुर मल्ल, वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल, होटल सङ्घ नेपालका केन्द्रीय सदस्य ज्ञानेन्द्रकुमार विष्ट, रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मी, प्रहरी नायब उपरीक्षक भावेश रिमाल, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, व्यवसायी धु्रव गिरी, सुवासचन्द्र गौतम, गिरिधारी चौधरी, टीका गिरीलगायतले आआफ्नो राय दिएका थिए ।
खानीलाई उत्खनन्ः डेढ महिनामै ४ लाई अनुमति
काठमाडौँ । खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महिनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो । विभागका खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले खनिज उत्खननका लागि आएका निवेदनलाई आवश्यक अनुसन्धान गरेर अनुमति दिएको जानकारी दिए । विभागले आव २०७५/०७६ मा खनिज उत्खननका लागि नौ कम्पनीलाई अनुमति दिएको थियो । जसमध्ये चुनढुङ्गा उत्खननमा मात्र छ वटा रहेका रहेका छन् । विभागका अनुसार आव २०७५/०७६ मा चुनढुङ्गा उत्खननका लागि स्वीकृत दिएको कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प्रालि, सम्राट सिमेन्ट कम्पनी प्रालि र पञ्चकन्या सिमेन्ट प्रालि रहेका छन् । गत आवमा देशभर ८२ कम्पनीले खनिज उत्खनन गरेका खनिज सम्पदा महाशाखा प्रमुख घिमिरेले बताए । जसबाट सरकारले रु ६१ करोड ८१ लाख ५६ हजार १६५ राजश्व सङ्कलनसमेत गरेको थियो । यस्तै, विभागले आव २०७५/०७६ मा ऋद्धि गणेश हिमाल जेम्स एण्ड मिनिलर प्रालि र हिमालय रक एण्ड ह्याण्डिक्राफ्ट प्रालिलाई खनिज उत्खनन् रोक्का गरेको छ ।
पानी र पाउरोटी उद्योगको अनुगमन, अनुज्ञापत्रबिना नै उद्योग सञ्चालन
सुरुङ्गा । झापामा सञ्चालित केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा रहेका पाइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले बिर्तामोडमा सञ्चालित पानी र पाउरोटी उद्योगको अनुगमन गर्दा यस्तो पाइएको हो । अनुगमनका क्रममा दीपिका पाउरोटी उद्योग र सान्त्वना पानी उद्योगले अनुज्ञापत्र नलिएको पाइएपछि तत्काल अनुज्ञापत्र लिन निर्देशन दिइएको छ । पाउरोटी उद्योग मदन राजवंशी र पानी उद्योग रमेशराज उपाध्याय तथा आनन्द आचार्यले सञ्चालन गरेको बताइएको छ । बजारमा अखाद्य बस्तु बिक्री हुने गरेको गुनासो बढेसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बिहीबार अनुगमन शुरु गरेको हो । अनुगमनका लागि कार्यालयका खाद्य निरीक्षक भरत पुरी, बिर्तामोड नगरपालिकाका प्रतिनिधि लक्ष्मीप्रसाद बाँस्कोटा, राष्ट्रिय उपभोक्ता मञ्चकी सदस्य शीला उप्रेती, संवाद समूह झापाका प्रतिनिधि, सञ्चारकर्मी सहभागी थिए । रासस
यतीको भरतपुर-पोखरा उडान आइतबारदेखि, भाडा दर सस्तो
चितवन । यती एयरलायन्सले यही भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान शुरु गर्ने भएको छ । दैनिक पोखराबाट भरतपुर र सोही जहाज भरतपुरबाट पोखरा जाने गरी नयाँ उडान भर्ने भएको हो । एयरलायन्सका भरतपुर शाखा व्यवस्थापक अनुप ढकालका अनुसार बिहान ११ः३० बजे भरतपुरबाट पोखरा जहाज उड्ने छ । यती एयरलायन्सको ३० सिटको जेडस्टिम जहाज पोखरा-भरतपुर उडान गरिने उनले जानकारी दिए । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दुई पर्यटकीय गन्तव्य जोड्ने गरी यतीले उडान शुरु गर्न लागेको हो । पोखरा देशकै दोस्रो र चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । एकतर्फी उडानको रु दुई हजार ५०० मात्र भाडादर तय गरी उडान गर्न लागिएको ढकालले जानकारी दिए । भरतपुर-पोखरा हाल बुद्धएयरले उडान भर्दै आएको छ । सो एयरलायन्सले एकतर्फी भाडा रु तीन हजार ८०० लिने गरेको छ । यती एयरलायन्सले हाल भरतपुर-काठमाडौँ दैनिक चार वटा उडान भर्दै आएको छ । रासस
माथिल्लो तामाकोशीको ९९ प्रतिशत निर्माण पूरा, बाँकी काम सकिन अझै ८ महिना लाग्ने
काठमाडौँ । दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य ९९ प्रतिशत सकिएको छ । बाँकी १ प्रतिशत काम पूरा गर्न अझै ८ महिना लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७३/०७४ मा सम्पन्न गर्ने भनिएपनि अझै सकिएको छैन । आर्थिक वर्ष २०६७/०६८ देखि निर्माण कार्य शुरु गरिएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा विविध समस्या र कारणहरुले समयमै निर्माण कार्य सम्पन्न गर्न कठिन भएको आयोजना बताउँछ । वि.स २०७२ को विनाशकारी भुकम्पले निर्माण गरेका संरचनाहरु पनि भत्काएकोले क्षतिग्रस्त संरचनाहरु पुननिर्माण गर्नमै एक वर्ष लागेको माथिल्लो तामाकोशी आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । ‘भुकम्प अघि अर्थात २०७१ चैत्र सम्म करिब ७९ प्रतिशत निर्माण सम्पन्न भएको थियो’ उनले भने,–‘भुकम्पले पुर्याएको क्षति तथा अवरोध र त्यसपछि मधेश आन्दोलन र भारतको नाकाबन्दीका कारण ढुवानी र इन्धन आपूर्तिमा आएको समस्याले आयोजनाको कार्य प्रगतिमा प्रतिकुल असर पर्न गयो ।’ माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले २०७३/०७४ मा कार्य सम्पन्न गर्न नसकेपछि आर्थिक वर्ष २०७४/७५ मा सार्यो । त्यो अवधिमा पनि काम गर्न नसकेपछि गत आर्थिक वर्ष २०७५/०७६ को पुसमा सक्ने लक्ष्य लियो । बीचमा केहि प्राविधिक र हाइड्रो मेकानिकल काममा ढिलाई हुने भन्दै आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षको अन्तिमसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । ९९ प्रतिशत निर्माण स्वदेशी लगानीमा निर्माणधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको हाल सम्मको भौतिक निर्माण कार्य ९९ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृ श्रेष्ठले हाइड्रोमेकानिकल बाहेकका सिभिल, मेकानिकल तथा इलेक्ट्रिकल, प्रसारण लाइन तथा सबस्टेशनका कार्यहरु करिब सम्पन्न भइसकेको बताए । लट न. १ को सिभिल कार्यतर्फ हेडवक्र्स निर्माणमा डाइभर्सन बाँध, इन्टेक र डिस्याण्डरको सिभिल निर्माण कार्य अन्तिम चरणमा रहेको बताए उनले बताए । यस्तै सुरुङहरु खन्ने र विद्युत गृह कम्प्लेक्स निर्माण गर्ने कार्य सम्पन्न भएको छ । यस्तै, लट न. २ को हाइड्रो मेकानिकलतर्फ बाँधको र्याडिअल गेट न.१, २ र ३ को जडान कार्य, इन्टेक ब्लक अन्तर्गत दुईटै गेटको जडान कार्य, विद्युत गृह युनिट १ देखि ६ सम्मको टर्बिन आउटलेट गेटको सिल बिम राख्ने लगायतका कार्यहरु सम्पन्न भएको जनाइएको छ । लट न. ३ को मेकानिकल तथा इलेक्ट्रिकल अन्तर्गत सम्पूर्ण युनिटहरुको टर्विनको जडान, एमआइभी जडान, कुलिङ वाटर सिस्टम जडान लगायतका धेरै कार्यहरु जडान भइसकेका छन् । लट न. ४ को प्रसारण लाइन तथा सवस्टेशन अन्तर्गत गोगर–खिम्ती २२० के.भी २२० केभी प्रसारण लाइनमा निर्माण गरिने १२७ टावर मध्ये सबै टावरहरुको जग निर्माण गरी १२३ वटा टावरको पूर्ण रुपमा जडान सम्पन्न भइसकेको जनाइएको छ । यस्तै खिम्तीमा निर्माण भइरहेको नयाँ खिम्ती सवस्टेशनको कन्ट्रोल रुम विल्डिङको जगको सम्पूर्ण कार्य सम्पन्न भई ब्रिक वालको कार्य भइरहेको जनाइएको छ । ५० मिटर पेनस्टक पाइप जडान माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा करिब ५० मिटर पेनस्टक पाइप जडान भएको छ । ३ सय ७२ मिटर लामो सुरुङको तल्लो खण्डमा ३५ मिटर पेनस्टक पाइप जडान भएको आयोजनाले जनाएको हो । ३ सय १० मिटर लामो माथिल्लो खण्डमा साढे १२ मिटर पेनस्टक पाइप जडान पूरा भएको छ । आयोजना प्रमुख श्रेष्ठले यो वर्षभित्र पाइप जडानको काम पूरा गरेर निर्माण कार्य सक्ने बताए । लामो प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ र माथिल्लोमा ९ गतेदेखि पाइप जडान सुरु भएको हो । पेनस्टक पाइप आपूर्ति तथा जडानको(लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ । आयोजनाको हाइड्रो मेकानिकल अन्तर्गत टेक्स्म्याकोले बाँध, इन्टेक र डिस्याण्डरमा गेटहरु, स्टपलगहरु, पेनस्टक पाइप आदीको डिजाइन, ढुवानी, जडान र परीक्षण काम गर्नेछ । आयोजनामा १ सय ३४ मिटर पेनस्टक पाइप जडान गर्नु पर्नेछ । हाल सम्मको खर्च कति ? माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा हाल सम्म ५५ अर्ब ५५ करोड ७० लाख ६२ हजार रुपैयाँ खर्च भएको छ । २०७५ असार मसान्त सम्मको निर्माण अवधिको व्याज पुँजिकरण भएको रकम १५ अर्ब ७ करोड ५० लाख ६० हजार सहित उक्त रकम खर्च भएको जनाइएको छ । सोहि अवधिमा स्थिर सम्पतितर्फ ९३ लाख ६६ हजार खर्च भएको जनाइएको छ । प्रशासनिक खर्चका रुपमा कर्मचारी खर्च, मर्मत सम्भार खर्च तथा अन्य सञ्चालन खर्च समेत ५ करोड ३९ लाख ५ हजार खर्च भएको छ भने यस अवधिको मूल्य ह्रास कट्टी खर्च र विदेशी मुद्रा सटही दरमा भएको नोक्सानी लगायतका नाफा नोक्सानलाई समावेश गरेर १० करोड २९ लाख ६९ हजार ऋणात्मक हुन गएको जनाइएको हो । हालसम्म आयोजनाको कुल लागत ७३ अर्ब ६८ करोड हुने अनुमान गरिएको छ । विभिन्न समयमा निर्माण कार्यमा भएको अवरोधले काममा ढिलाई हुन गएको र अन्तराष्ट्रिय स्तरमा भएको मूल्यबृद्धि, वैदेशिक मुद्राको सटही दरमा भएको मूल्य बृद्धि जस्ता कारणले आयोजनाको लागतमा पनि बृद्धि भएको आयोजनाले जनाएको छ । निर्माण कार्य शुरु गर्दा शुरुको ब्याज बाहेक अनुमानित लागत ३५ अर्ब २९ करोड ४१ लाख थियो । त्यसपछि उक्त रकम कम हुने भएपछि २०७४ चैत्र ३० मा बसेको सञ्चालक समितिको बैठककले निर्माण अवधिको व्याज बाहेक ४९ अर्ब २९ करोड ५५ लाख ४३ हजार लागत रकम स्विकृत गर्यो । यसरी निर्माण अबधि बढ्न गएको कारण ब्याजको भार समेत बढ्न गएकोले आयोजनाको समग्र अध्ययन तथा वित्तीय विश्लेषणको प्रतिवेदन पेश गरी विस. २०७६ चैत्रसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्यको आधारमा आयोजनाको प्रक्षेपित लागत अनुमान ५१ अर्ब ९४ करोड र सोही मितिसम्मको व्याज २१ अर्ब ७४ करोड पूँजिकरण सहित आयोजनाको कुल लागत ७३ अर्ब ६८ करोड अनुमान गरिएको हो । यस आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब , नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २/२ अर्ब र अपुग १० अर्ब ५० करोड नेपाल सरकारले ऋण लगानी गरेको छ । आयोजनाका मुख्य समस्याहरु के छन् ? माथिल्लो तामाकोसी जलविद्युत आयोेजना निर्माणमा विविध समस्याहरु देखा परेका छन् । पहिले आयोजना निर्माणमा भूकम्पलले क्षति, भारतको नाकाबन्दी र मधेश आन्दोलनका कारण काममा ढिलाई भएका थियो । पछिल्लो अवस्थामा आयोजना कार्यालयले अन्य थुप्रै समस्याले गर्दा निर्माण कार्यमा ढिलाई हुन गएको बताएको छ । आयोजनाले विनियोजन गरिएको बजेट अनुसार आर्थिक श्रोतको अभाव रहेको, विदेशी श्रमिकहरुको भिसा तथा श्रम इजाजत, ठूला भारवहन उपकरणहरु ढुवानी कार्यमा समस्या आई उपकरण जडान कार्य प्रभावित भएको र स्टील पेनस्टक जडान गर्ने कार्य ढिलाइ भएको लगायतका समस्या भएको बताइएको हो । आयोजनाले फेरिएको बिगु गाउँपालिका ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले बिगु गाउँपालिका मात्र होइन दोलखाको नै मुहार फेरेको छ । जिल्लाको बिगु गाउँपालिका लामाबगरमा स्थित तामाकोसी जलविद्युत आयोजनाले त्यस क्षेत्रको पूर्वाधार विकास गर्न र जनचेतना बृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजना कार्यालय बताउँछ । ‘आयोजना जानु अघि कुनै विकासका पूर्वाधारहरु थिएनन्’ आयोजना प्रमुख श्रेष्ठले भने,–‘अहिले विकासका पूर्वाधारहरुको कमि छैन, हरेक मानिसहरुले आफ्नो नैसर्गिक अधिकारका बारेमा खुलेर बोल्न थालेका छन् ।’ माथिल्लो तामाकासी जलविद्युत आयोजनाले बिगु गाउँपालिकामा उल्लेख्य आर्थिक तथा भौतिक प्रगति गरेको जनाएको छ । आयोजना निर्माणकै क्रममा ६८ किलोमिटर सडक विस्तार, सात वटा पुलहरु निर्माण, शिक्षा, स्वास्थ्यमा स्थानीयको पहुँच बढाउने लगायतका पूर्वाधार विकासका गतिविधिमा आयोजनाले उल्लेख्य भूमिका खेलेको उनले बताए । आयोजनामा नै सयौं स्थानीयहरुले रोजगारी पाउनुका साथसाथै विद्युतको सेवा पनि पाएका छन् । राष्ट्रिय गौरवको आयोजना त्यहाँ गएपछि अन्य हाइड्रोपावरहरु पनि आकर्षित भएको जनाइएको छ ।