विकासन्युज

एनआईबिएल समृद्धी फण्ड-१ का इकाईधनीलेले ६.५ प्रतिशत लाभांश पाउने

काठमाडौँ । एनआईबिएल समृद्धी फण्ड-१ का इकाईधनीलेले ६.५ प्रतिशत लाभांश पाउने भएका छन् । एनआईबिएल एस क्यापिटल सञ्चालक समितिको विहीबार बसेको बैठक लाभांश दिने निर्णय गरेको हो । एनआईबिएल समृद्धि फण्ड १ का इकाईधनीहरुलाई कर सहित ६.५ प्रतिशतले हुन आउने रकम ६ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय भएको नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मेखबहादुर थापाले जनाएका छन् ।

एनएलजी इन्स्योरेन्सको साधारण सभा असोज ८ गते, बुक क्लोज कहिले ?

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीको तेह्रौँ वार्षिक साधारण सभा असोज ८ गते हुने भएको छ । कम्पनी सञ्चालका समितिको विहीबार साँझ बसेको बैठकले बिहान ११ बजे अम्रपाली ब्याङ्केट बालुवाटार काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि भदौ २५ गते १ दिन सेयर दाखिला खारेज बन्द(बुक क्लोज) हुने जनाइएको छ । सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०७४/७५ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिने छ । साथै लेखा परीक्षकको प्रतिवदेन सहितको २०७५ असार मसान्तसम्मको वासलात, आव २०७४/७५ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने जनाइएको छ । कम्पनीको हालको पूँजी ६४ करोड ४ लाख ६ हजार २ सय रुपैयाँ रहेको छ । यसअघि जेठ १४ गते सम्पन्न विशेष साधारण सभाबाट हालको चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित भएको थियो ।

एनआईसी एशियाको नयाँ योजना, ‘विदेशबाट आएको पैसा प्राप्त गर्नेलाई रु.१०० को रिचार्ज’

काठमाडौँ । एनआईसी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद रु. १०० को मोबाइल रिचार्ज गर्ने योजना ल्याएको छ । साथै विदेशबाट बैंकको खातामा रकम पठाउँदा रु. ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ । उक्त विप्रेषण रकम बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई एवम् ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ । यो योजना अंग्रेजी महिनाको १ सेप्टेम्बर २०१९ देखि ३१ अक्टोबर २०१९ सम्म दुई महिनाको लागि लागू हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले जनाएका छन् ।

एस्सिडब्लुइसीले बर्मामा नेपाली उत्पादनको प्रदर्शनी गर्ने

काठमाडौँ । सार्क चेम्बर महिला उद्यमी परिषद, नेपाल(एस्सिडब्लुइसी ) संग आबद्ध एक टोली शुक्रबार नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्ने उद्देश्य सहितवर्माको याङ्गनतफ प्रस्थान गर्दैछ । वर्मास्थित नेपाली राजदुताबासको निमन्त्रणामा एस्सिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित सो टोलीले वर्माको याङ्गनमा भ्रमण गर्न लागेको हो । सो टोलीले याङ्गनको पाइनओ ओलीन शहरमा अवस्थित नेपाली दुताबासको प्राङ्गणमा भदौ १४ देखि १६ गते सम्म नेपालका विभिन्न उत्पादनहरुको प्रबद्र्धनात्मक प्रदर्शनीको आयोजना गर्ने भएको जनाइएको छ । सो प्रदर्शनीमा नेपाली हस्तकलाका सामाग्री, महिलाहरुले प्रयागगर्ने पोते, किलीप , चुरा, कुशन कभर, दौरा सुरुवाल, साडी र चोली, मखमलीचप्पल, बिभिन्न प्रकारका हाते झोलाहरु, गाग्री , खड्कुलो जस्ता सामाग्रीहरुको प्रदर्शनीमा राखिने भएको छ । त्यसैगरी सो टोलीले बर्माका विभिन्न शहरहरुमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गरी नेपालमा पर्यटक भित्र्याउने पनि योजना बनाएको छ ।

आशा लघुवित्तद्वारा एकै साथ दश शाखा कार्यालय विस्तार

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले एकै साथ दश वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । भदौ १२ गते एकैसाथ नयाँ शाखा सञ्चालनमा ल्याएको हो । मोरङ्ग जिल्लाको धनपालथान गाउँपालिका, धनुषा जिल्लाको औरही र बट्टेश्वर गाउँपालिका, महोत्तरी जिल्लाको सोनमा गाउँपालिका, सर्लाही जिल्लाको चन्द्रनगर र रामनगर गाँउपालिका, रौतहट जिल्लाको गढीमाई नगरपालिका, नवलपरासी (पश्चिम) जिल्लाको सुस्ता गाउँपालिका, कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका र दाङ्ग जिल्लाको बबई गाउँपालिकामा शाखा स्थापना गरिएको हो । यी शाखा कार्यालयहरु थप भएसंगै वित्तीय संस्थाको ७ वटै प्रदेशको २९ जिल्लामा ५५ वटा शाखा कार्यालयहरु सञ्चालनमा आएको जनाइएको छ । विपन्न वर्गलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्ने उद्देश्य लिई स्थापित वित्तीय संस्थाले ग्रामीण भेगमा वित्तीय पहुँच अभिवृद्धिका क्रममा शाखा कार्यालयहरु स्थापना गरेको प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले जानकारी दिए । नेपाल राष्ट्र बैंकबाट घ वर्गको वित्तीय संस्थाको रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले ४६ हजार भन्दा बढी सदस्यहरुलाई समूहमा आवद्ध गराई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । रु. १ अर्ब ९७ करोड भन्दा वढी कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट करिब ५१ करोड भन्दा वढी निक्षेप संकलन गरेको प्रमुख कार्यकारी अधिकृत दुलालले बताए ।

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छिन् । भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले शर्मालार्ई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो । शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रुपमा कार्य गरिसकेको अनुभव रहेको छ ।

नेपाल टेलिकमको खुद नाफा ७ अर्ब घट्यो, सेयरमा आकर्षण भने कायमै

काठमाडौ । नेपाल टेलिकमको नाफा घटेपनि तुलनात्मक रुपमा सेयरमा आकर्षण भने कायमै रहेको छ । आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा खुद नाफा ७ अर्ब २८ करोडले घटेको छ । एक वर्षअघि प्रति कित्ता ७ सय ३२ रुपैयाँ रहेको सेयर मूल्य भने अहिले ६ सय ६७ रुपैयाँमा कायम छ । यसरी हेर्दा नेपाल टेलिकमको नाफा जसरी घटेको छ, त्यही मात्रामा सेयर मूल्य भने घटेको छैन । यसले नेपाल टेलिकमको सेयरमा लगानीकर्ताहरुको आकर्षण दखाउँछ । कम्पनीले दिने नगद लाभांशका कारण सेयर लगानीकर्तामा सकारात्मक प्रभाव परेका टेलिकमले जनाएको हो । नेपाल टेलिकमले गत आवमा सरकारलाई तिर्दै आएको करमा ५ अर्ब कर्पोरेट ट्याक्स र लाइसेन्सका लागि थपिन गएकाले नाफा घटेको बताएको छ । खुद ७ अर्ब २८ करोड घट्यो नेपाल टेलिकमको खुद नाफा आव २०७४/७५ भन्दा गत आव २०७५/७६ मा ७ अर्ब २८ करोड रुपैयाँ घटेको छ । आव २०७४/७५ मा कम्पनीको खुद नाफा १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ थियो भने आव २०७५/७६ मा घटेर १० अर्ब २० करोड ८१ लाखमा सीमित भएको छ । यस्तो छ सेयर मूल्य २०७५ साल भदौ १७ गते आईतबार नेपाल टेलिकमको सेयर मूल्य ७ सय ३२ रुपैयाँ थियो । झण्डै एक वर्ष पश्चात २०७६ साल भदौ १३ गते बिहीबार सो मूल्य ६ सय ६७ रुपैयाँमा झरेको पाइन्छ । २०७५ साल मंसिर १८ गते टेलिकमको सेयर मूल्य प्रतिकित्ता ८ सय रुपैयाँसम्म पुगेको थियो । १५ करोड कित्ता सेयर सूचीकृत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल टेलिकमको १५ करोड कित्ता सेयर सूचीकृत छ । हाल कम्पनीको चुक्ता पूँजी भने १५ अर्ब रुपैयाँ रहेको छ । बजार पूँजीकरण भने १ खर्ब ५ करोड रुपैयाँ रहेको छ । के भन्छन् सेयर लगानीकर्ता ? एशियन सेक्यूरेटीजमा आवद्ध एक लगानीकर्ता माधव खनालले भने–‘वर्तमान अवस्थामा अन्य कम्पनीमा लगानी गर्नुभन्दा नेपाल टेलिकम राम्रो विकल्प भएका कारण लगानीकर्ताहरुले टेलिकम रोजेका हुन् ।’ यस्तै, सेकुअर्ड सेक्यूरिटीजमा आवद्ध एक लगानीकर्ता डुपेन्द्र भट्टराईका अनुसार नेपाल टेलिकमको सेयरमा आकर्षण हुनुको मुख्य कारण भनेको आकर्षक रिजर्भ कोषका हो । नेपाल टेलिकमले नगद लाभांस दिने भएकाले पनि सेयर मूल्यमा तलमाथि हुन पनि केही समय लाग्ने बताए । साथै, राम्रो आम्दानी भएका व्यक्तीहरुले मात्र टेलिकमको सेयर खरिद गर्ने कारण हत्तपत्त मूल्य तलमाथि नहुने उनको बुझाई छ । ‘लगानीकर्ताको विश्वास छ’ नेपाल टेलिकमका म्यानेजिङ्ग डाईरेक्टर डिल्लीराम अधिकारीले ‘सेयर लगानीकर्ताको मर्म हामीले बुझेका छौँ, सोही कारण लगानीकर्ताले पनि हामीलाई विश्वास गर्छन् ।’ उनले पछिल्लो समय आफूहरुले लगानीकर्ताको पक्षमा काम गरेकाले सेयर मूल्य धेरै नघटेको बताए ।

बैंकर्सप्रति अर्थमन्त्रीको आक्रोश, एक वर्षमै १० प्रतिशत ब्याज बढाउन पाइन्छ ?

फाइल फोटो काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्जा प्रवाह गरिसकेपछि पटक पटक ब्याज बढाउने बैंकर्स प्रति आक्रोश व्यक्त गरेका छन् । आज शुक्रबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यामान चुनौती तथा अवसर विषयक कार्यक्रममा अर्थमन्त्री डा.खतिवडाले एक वर्षमै १० प्रतिशत ब्याज बढाउनु भनेको असह्य भएको बताए । अटो कर्जामा लिएको लोन एक वर्षमा थप १० प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याएको गुनासो आएपछि अर्थमन्त्रीले आक्रोस व्यक्त गरेका हुन् । उक्त कार्यक्रममा एक व्यापारीले ५.९९ प्रतिशतमा लिएको अटो लोन एक वर्षको अवधिमा १० प्रतिशत बढाएर १५ प्रतिशत पुर्याएको थियो । यस्तो गुनासो सुनेपछि अर्थमन्त्री डा.खतिवडाले यस विषयमा सचेत हुन बैंकहरूलाई निर्देशन पनि दिएका छन् । यसरी ब्याज बढाउने कुरा ठिक होइन, अर्थमन्त्री खतिवडाले भने । ‘नेपाली परिवेशमा निक्षेपको ब्याजदर भनेको ५-६ प्रतिशत ठिक्क हो,’ उनले भने ‘कर्जाको ब्याजदर भने ९ र १० को बीचमा हुनु उपयुक्त हुन्छ ।’ कमसेकम एक वर्षको लागि भने ब्याजदर नबढाउन समेत उनले दवाव दिए । ब्याजदर स्थायी हुनुपर्ने उनको भनाइ छ । लगानीकर्तालाई बैंकले ब्याजदरमा निश्चितता दिनुपर्नेमा उनको जोड छ । पछिल्ला वर्षहरूमा वित्तीय बजारमा लगानी योग्य पुँजी अभाव भएपछि बैंकहरूले निक्षेपको ब्याजमा कार्टेलिङ गर्दै कर्जाको ब्याजमा भने मनोमानी गर्दै आएका छन् । अर्थमन्त्रीले करिब १ घण्टा लामो सम्बोधनमा राजस्व छल्ने व्यवसायीलाई एक दिन भएपनि जेल हाल्ने बताए । राजस्व छलीका ठूला मुद्दाका पतियारलाई एक दिन भएपनि जेल हाल्नु पर्छ,’ उनले भने । व्यवसायलाई असर नपर्ने गरी सामाजिक दण्डका रुपमा केहि दिन जेल हाल्नु पर्ने हुन्छ । संसार भर ठूला कर छलीमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री, कलाकार र खेलाडीलाई समेत जेल हालेर सुशासनमैत्री बनाइएको उनले बताए । कार्यक्रममा अर्थमन्त्री खतिवडाले एक हजार भन्दा बढी भुक्तानीमा स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गरिएको विषयमा आवश्यक संसोधनका लागि छलफल अघि बढेको जानकारी दिए ।