विकासन्युज

पाँचतारा साकोसमा नयाँ कार्यसमिति, अध्यक्षमा भोलाना पाठक निर्वाचित

काठमाडौँ । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आागामी ४ वर्षे कार्यकालको लागि भोलानाथ पाठकको अध्यक्षतामा निर्विरोध नयाँ सञ्चालक समिति चयन गरेको छ । संस्थाको द्वितीय उपाध्यक्षमा विजया मल्ल, सचिवमा लोचनहरि प्रसाईं, कोषाध्यक्षमा कुमार बिमली र सदस्यहरुमा रेणुका प्रधान, विन्दा कुँवर, हरिबंश कडरिया र गोपालबहादुर तामाङ रहेका छन् । त्यसैगरी लेखासमिति संयोजकमा सुशील प्रसाईं र सदस्यहरुमा खेमराज पोखरेल र नवराज प्रसाईं रहेका छन् । त्यसैगरी ऋण उपसमिति सदस्यहरुमा अवलेशकुमार पाण्डे र मनिषकुमार शिवाकोटी चयन भएका छन् भने शिक्षा उपसमितिको संयोजकमा उत्तम राजभण्डारी र सदस्यहरुमा युवराज प्रसाईं र चेतनाथ सिंह बस्नेत रहेका छन् । नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभाले संस्थाको आर्थिक २०७५/७६को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनलाई पारित गरेको छ । गतआवको अन्त्यसम्म संस्थाको शेयरपूँजी ६ करोड २६ हजार, बचत संकलन ३८ करोड ९ लाख र ऋण लगानी ३६ करोड ८८ लाख७७हजार रहेको कोषाध्यक्ष कुमार बिमलीले जानकारी दिए । संस्थाले गत आवमा २ करोड १४ लाख ९५ हजार सञ्चालन नाफाआर्जन गरेको छ भने त्यस अवधिमा प्रत्यक्ष र अन्य कर गरी ५२ लाख रुपैया राजश्व तिरेको छ । संस्थामा हाल १ हजार ७७८ शेयर सदस्य रहेका छन् । संस्थाको जगेडा कोष, प्राकृतिक विपत्ति कोष, अन्य खर्च नहुने कोष, घाटापूर्ति कोष र ऋण नोक्सानी कोषमा गरी ५ करोड ३४ लाख ६२ हजार रकम सञ्चित रहेको छ ।

आधा प्रतिष्ठान अझै सरकारी नियमनबाहिर

काठमाडौं । नेपालमा रहेका करिब आधा व्यवसायिक प्रतिष्ठानहरु बिनादर्ता सञ्चालनमा रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकमा देशभरका ४९.९ प्रतिशत त्यस्ता प्रतिष्ठानहरु दर्ता नै नगरी सञ्चालनमा रहेको जनाइएको हो । विभागले अघिल्लो वर्ष गरेको राष्ट्रिय आर्थिक सर्भेक्षणमा देशभरमा ९ लाख २३ हजार ३५६ ओटा व्यवसायिक प्रतिष्ठानहरु अस्तित्वमा रहेको जनाइएको छ, जसमध्ये ४ लाख ६० हजार ४२२ ओटा प्रतिष्ठान दर्ता नभएकोमा बाँकी ४ लाख ६२ हजार ६०५ ओटा संस्था मात्रै दर्ता भएर सञ्चालनमा भएको उल्लेख गरिएको छ जुन ५०.१ प्रतिशत हो । देशभर रहेका उक्त संख्याका प्रतिष्ठानहरुमध्ये ३ लाख ९४ हजार २१९ ओटा संस्थाहरु पछिल्लो ३ वर्षमा दर्ता भएका हुन् । त्यस्तै, कुल प्रतिष्ठानहरुमध्ये ४६.७ प्रतिशतको आफ्नै भवन रहेको, ४९.७ प्रतिशत भाडामा बसेको र बाँकी ३.६ प्रतिशत भौतिक उपस्थितिबिनै सञ्चालनमा रहेको जनाइएको छ । सर्भेक्षणले व्यवसायिक कार्यमा सहभागी हुनेको कुल संख्या ३२ लाख २८ हजार ४५७ रहेको समेत जनाएको छ जुन प्रतिप्रतिष्ठान ३.५ जना हुन आउँछ । कुन प्रदेशमा कस्तो अवस्था ? प्रदेश १ मा कुल १ लाख ६८ हजार ५१८ व्यवसायिक प्रतिष्ठानहरु रहेका छन । सो प्रदेशमा २ लाख २४ हजार ३७ जना पुरुष र २ लाख २० हजार ४२ जना महिला गरि ५ लाख ४४ हजार ७९ जनाले सहभागी छन् । प्रदेश २ मा कुल १ लाख १७ हजार ६७० व्यवसायिक प्रतिष्ठानहरु रहेका छन् । सो प्रदेशमा २ लाख ६८ हजार २७९ जना पुरुष र ८६ हजार ७१५ जना महिला गरि ३ लाख ५४ हजार ९९४ जनाले सहभागिता जनाएका छन् । प्रदेश ३ मा २ लाख ८२ हजार ९२० व्यवसायिक प्रतिष्ठानहरु रहेका छन । सो प्रदेशमा ७ लाख ३१ हजार ७८३ जना पुरुष र ४ लाख ८६ हजार ७४१जना महिला गरि १२ लाख १८ हजार ४९७ जना संलग्न रहेको जनाइएको छ । गण्डकी प्रदेश मा १ लाख ६८७ व्यवसायीक प्रतिष्ठानहरु रहेका छन । सो प्रदेशमा १ लाख ८५ हजार ४ सय जना पुरुष र १ लाख ४७ हजार ७२ जना महिला गरि ३ लाख ३२ हजार ४७२ जना छन् । प्रदेश ५ मा १ लाख ४७ हजार ७८९ व्यवसायिक प्रतिष्ठानहरु रहेका छन् । सो प्रदेशमा ३ लाख ६ हजार ८९२ जना पुरुष र १ लाख ६७ हजार ३७२ जना महिला गरि ४ लाख ७४ हजार २६४ जनाले रोजगारी पाएका छन् । कर्णाली प्रदेश मा ४२ हजार ८०७ व्यवसायीक प्रतिष्ठानहरु रहेका छन । सो प्रदेशमा ७० हजार ८१४ जना पुरुष र ४८ हजार १३७ जना महिला गरि १ लाख १८ हजार ९५१ जनाले रोजगारी पाएका छन् । सुदुरपश्चिम प्रदेशमा ६२ हजार ९६८ व्यवसायीक प्रतिष्ठानहरु रहेका छन । सो प्रदेशमा १ लाख २५ हजार ३२ जना पुरुष र ६० हजार १६८ जना महिला गरि १ लाख ८५ हजार २ सय जनाले रोजगारी पाएका छन् ।

१५ कम्पनीका पौने ३ लाख कित्ता शेयर लिलामीमा, घट्दो बजारमा सस्तोमा शेयर उठाउने अवसर

काठमाडौं । ग्लोबल आईएमई बैंक, नेपाल बैंक, साञ्जेन हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर लगायत १५ कम्पनीका करिब पौने ३ लाख कित्ता शेयरको बोलकबोल सुरु भएको छ । सिद्धार्थ क्यापिटले सञ्चालन गरेको सिद्धार्थ इक्विटी ओरियन्ट स्कीमको स्वामित्वमा रहेको १५ कम्पनीका २ लाख ७६ हजार ११ कित्ता शेयर र ३ ओटा म्युचुअल फण्डका २६ हजार ईकाईहरु बोलबकोल बढाबढमार्फत् बिक्रीका लागि लिलामीमा राखिएको हो । सो बिक्री सोमबारदेखि खुला भई भदौ २२ गतेसम्म खुला रहनेछ । उक्त लिलामीमा युनिर्भुल पावरको सर्वाधिक ६७ हजार ४८० कित्ता, ग्लोबल आईएमई बैंकको ६५ हजार ९७७ कित्ता, नेपाल बैंक लिमिटेडको ५३ हजार १०६ कित्तासहित नबिल बैंक, साञ्जेन र रसुवागढी हाइड्रोपावर, ओम डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स लगायतका शेयरहरु समेत समावेश छन् । उक्त लिलामीबाट आर्जित रकम फण्डले आफ्ना इकाईधनीहरुलाई फिर्ता गर्नेछ भने योसँगै उक्त स्कीम बन्द हुनेछ । यसअघि नबिल बैंकको नबिल ब्यालेन्स फण्डले समेत आफ्नो अवधि पूरा गरी रकम फिर्ता गरेको थियो । अहिले नेपाल शेयर बजार परिसूचक घट्दो क्रममा छ । सोसँगै सबैजसो कम्पनीको शेयरमूल्यमा समेत क्रमशः गिरावट आइरहेको छ । यो समयमा खुलेको लिलामीले लगानीकर्तालाई आफुले रोजेको कम्पनीको शेयर सस्तोमा छानीछानी किन्ने अवसर प्राप्त हुनेछ । सामान्यतया दोस्रो बजारको मूल्यभन्दा यस्तो लिलामीको कटअफ मूल्य कम हुने गरेको नजिर छ ।

बैंक अफ काठमाण्डूका सेयरधनीले १७ प्रतिशत लाभांश पाउने

काठमाडौँ । बैंक अफ काठमाण्डूले सेयरधनीहरुलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरणका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुने कम्पनी सचिव दीपक गौतमले जनाएका छन् ।

राष्ट्र बैंकले आठ अर्ब ६५ करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब ६५ करोड ५० लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये रु तीन अर्ब १३ करोड ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको टे«जरी बिल आगामी मङ्सिर १७ गते परिपक्व हुनेछ । यस्तै रु पाँच अर्ब ५२ करोड बराबरको ट्रेजरी बिल भने १८२ दिनमा परिपक्व हुनेछ । यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । रासस

देशभर सवा ९ लाख व्यवसायिक संस्था, तपाईँको प्रदेश र जिल्लामा कति ?

काठमाडौं । नेपालमा कुल ९ लाख २३ हजार व्यवसायिक प्रतिष्ठानहरु रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकमा कुल ९ लाख २३ हजार ३५६ व्यवसायिक फर्महरु सञ्चालनमा रहेको जनाइएको हो । उक्त फर्ममार्फत् कुल ३२ लाख २८ हजार जना त्यस्तो व्यवसायमा संलग्न भएको समेत विभागले जनाएको छ । जसमध्ये २० लाख १२ हजार पुरुष र १२ लाख १६ हजार महिलाको सहभागिता रहेको छ । विवरणअनुसार त्यस्ता प्रतिस्ठानहरुको स्थापनामा प्रदेश ३ सबैभन्दा अघि र कर्णाली प्रदेश सबैभन्दा पछि छ । प्रदेश ३ मा २ ला ८२ हजार प्रतिष्ठान रहेकोमा कर्णालीमा ४२ हजार ८ सय मात्रै प्रतिष्ठान दर्ता भएको उल्लेख गरिएको छ । त्यस्तै जिल्लागत आधारमा काठमाडौं जिल्लामा सबैभन्दा बढी १ लाख २५ हजार मनाङ जिल्लामा सबैभन्दा कम ४८७ प्रतिष्ठान रहेको समेत जनाइएको छ । कुन जिल्लामा कति प्रतिष्ठान ? [pdf id=169148]

बिदाको मौका छोपेर नेपाल छिरेका थिए चिनियाँ ह्याकर

काठमाडौँ । शनिबार अपराह्न पटक-पटक गरी शङ्कास्पदरूपमा ठूलो रकम दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट निकालियो । यसअघि एटिएम बुथबाट पटक-पटक व्यक्तिको पैसा निकालिएको घटनाका कारण नबिल बैंक उच्च सतर्कतामै थियो । प्रभु बैंकको रकम अस्वभाविक रुपमा आफ्नो बुथबाट निकालिएपछि उसले प्रभु बैंक र प्रहरीलाई खबर गर्यो । सूचना पाएलगत्तै महानगरीय प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोली दरबारमार्ग पुग्दा एक चिनियाँ नागरिक झू लियाङयाङ पैसा निकाल्दै गर्दा फेला परे । खानतलासी गर्दा उनीसँग २० थान नक्कली एटिएम कार्ड र भर्खरै निकालिएको रु ४५ हजार फेला परेपछि एटिएम बुथ नै ह्याक गरेर करोडौँ रकम लैजान लागेको रहश्य खुल्यो । यो काम एक्लैले गर्न सक्दैन भन्ने लागेर प्रहरीले खोजी थाल्यो । उनीसँग भएको साँचोको आधारमा प्रहरीले होटल पत्ता लगाएको थियो । नेपाली र अङ्ग्रेजी नबुझ्ने भएकाले ट्रान्सलेटर मगाएर प्रहरी होटलमा पुगेको थियो । घटनाबारे प्रहरी नायब उपरीक्षक बोगटीले भने, “साँचोको आधारमा हात्तीसारस्थित माया–मनोहर बुटिक होटलमा पुगेर एक्सन नलिएको भए ह्याकरको ठूलो गिरोह करोडौँ रुपैयाँ लिएर फरार हुनसक्थ्यो ।” उनको बयानको आधारमा अन्य चार जनालाई प्रहरीले होटलबाटै पक्राउ गर्न सफल भयो । हात्तीसारस्थित माया–मनोहर बुटिक होटलको कोठा नं २०१, ६०२ र ६०४ मा खानतलासी गर्ने क्रममा अन्य ह्याकर भाग्दै गर्दा पक्राउ परेका थिए । होटलको लिफ्टमा फेला परेका उनीहरुको साथबाट उक्त सामान बरामद भएको थियो । “हामी जुन लिफ्टबाट छ तलामाथि चढ्यौँ, उनीहरु त्यही लिफ्ट कुरेर झर्न लाग्दै रहेछन्, उनीहरु हतासमा थिए, झोला बोकेर भाग्न खोजेको जस्तो देखियो, अनि लिफ्टमा चढ्नलाग्दा रोक्यौँ, जाँच गर्दा सबै गिरोह एकैठाउँमा भेटियो”, प्रहरी नायब उपरीक्षक बोगटीले भने । केही सेकेण्ड मात्रै ढिला भएको भए चार जना फरार हुने प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा राहदानी नम्बर १९३७५५८ का झू लियाङ्याङ, राहदानी नं ०९५५२६३७४ का लुओ जियालेइ, राहदानी नं ३२३७७७१३ का लिन जियानमेङ, राहदानी नं ०२७७६५० किऊ युनकिङ र राहदानी नं ८९०५६८२५ का चेन विनविन रहेका छन् । “सबै काम समयमै हुँदा गिरोहबाट ठूलो क्षति बचाइयो”, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले रासससँग भन्नुभयो । नक्कली भिषाकार्ड प्रयोगबाट विभिन्न बैंकहरुको डाटा ह्याक गरेर एटिएम बुथबाट एकै दिनमा करोडौँ रकम निकाल्ने गिरोह यसरी नेपाल प्रवेश गरेको थिएन । यस्तो प्रकृतिको घटना नभएकोसमेत परिसरले जनाएको छ । “यसअघि सामान्य खालको एटिएमबाट पैसा चोरी भएको थियो, यस्तो गम्भीर प्रकृतिको घटना पहिलोपटक देखियो”, सुवेदीले भन्नुभयो । उहाँका अनुसार ह्याकरले व्यक्तिको पैसाभन्दा बैंकको पैसा निकाल्नुले पनि उनीहरुको योजना धेरै रकम निकाल्नु रहेको देखिएको छ । उनीहरुले नबिल बैंकको बुथ प्रयोग गरेर प्रभुसँगै एनआइसी एशिया, जनता, इन्भेष्टमेन्ट, कुमारी, ग्लोबललगायत बैंकको रकम निकालेको प्रहरीले जनाएको छ । धेरै नबिल बैंक प्रयोग गरेको देखिएको भन्दै प्रहरीले अन्य बैंकसमेत प्रयोग गरेको हुनसक्ने बताएको छ । प्रहरीले उनीहरुबाट रु एक करोड २६ लाख २९ हजार ४५, नौ हजार १०८ अमेरिकी डलर, एक हजार १९१ युआन, २५० युरो, पाँच हजार क्याम्बोडियन मुद्रा, ८० हङकङ डलर, १३२ थान नक्कली भिसाकार्ड, १७ थान सक्कली भिसाकार्ड, एक थान कार्ड प्रिन्टर मेसिन, छ मोबाइल तथा ल्यापटप, डाटा कार्डलगायत बरामद गरिएको छ । उनीहरुलाई बैंकिङ्कसुरअन्तर्गत आजै अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । उक्त कसुरअन्तर्गत तीन वर्ष कैद, बिगोबराबरको जरिवाना र क्षतिपूर्तिको व्यवस्था रहेको छ । ह्याकरहरु भदौ १३ गते चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेका थिए । सोमबार गते फर्कने योजनामा रहेका ह्याकरले नेपालमा बिदाको दिन पारेर एटिएम बुथ ह्याक गर्ने योजना बनाएका थिए । उनीहरुले विदेशमै बसेर योजना बनाउने गरेको खुलेको छ । यसअघि उनीहरु कम्वोडिया गएकोसमेत खुल्न आएको छ । अनुसन्धानका क्रममा उनीहरुले बिदाको दिनलाई उपयोग गर्ने गरेको पाइएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताए । प्रारम्भिक बयानमा उनीहरुले होटलको बारमा काम गर्ने जानकारी दिएको बताउँदै प्रहरीले विस्तृत कुरा भने अनुसन्धानपछि मात्रै थाहा हुने बताएको छ । रासस

१६.५% सम्मले घट्यो म्युचुअल फण्डको एनएभी, लाभांश घोषणा र बजार गिरावटको असर

काठमाडौं । लाभांश घोषणा र बजार गिरावटको कारणले म्युचुअल फण्डहरुको प्रतिइकाई खुद मूल्यमा उच्च गिरावट देखिएको छ । सोही कारणले साउन महिनामा अघिल्लो महिनाको तुलनामा एनएभीमा १६.५ प्रतिशतसम्मको गिरावट देखिएको हो । बजारमा सञ्चालित १६ म्युचुअल फण्डहरुमध्ये सो अवधिमा १५ ओटा म्युचुअल फण्डको एनएभीमा गिरावट देखिँदा सीआईबीएल क्यापिटलको सिटिजन म्युचुअल फण्ड १ को एनएभीमा मात्रै सुधार देखिएको हो । यद्यपि लाभांश घोषणा भएका एनएमबि क्यापिटलको एनएमबि सुलभ फण्ड १ र एनएमबि हाइब्रिड फण्ड १ को एनएभीमा घोषित लाभांशभन्दा कममात्रै गिरावट आएकोले समग्रमा साउन महिनामा यी दुई फण्डहरुको प्रगति समेत सकारात्मक देखिएको छ । लाभांश घोषणा भएका बाँकी ५ म्युचुअल फण्डहरुको भने घोषित लाभांशको दरभन्दा उच्च दरमा एनएभीमा गिरावट देखिएको छ । एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरेले म्युचुअल फण्डहरुको घोषित लाभांशलाई एनएभीमा समावेश नगरी छुट्टै रिजर्भमा राख्नुपर्ने भएकोले यसरी एनएभी घटेको देखिए पनि समग्रमा एनएमबिको सबै फण्डहरुको प्रगति सकारात्मक देखिएको बताए । लाभांश घोषणा नगरिएका फण्डहरुमध्ये सबैभन्दा बढी लक्ष्मी क्यापिटलको लक्ष्मी भ्यालु फण्डको एनएभी सर्वाधिक ३.१४ प्रतिशतले घटेको छ । साउन १ गते शेयर बजार परिसूचप्से १२५९.०२ अंकबाट कारोबार सुरु भएकोमा साउन मसान्तमा आइपुग्दा १२२४.०४ अंकमा बन्द भएको थियो । समग्र बजार घटेको परिदृष्यमा अधिकांश म्युचुअल फण्डहरुको मूल्यमा गिरावट देखिएको हो ।