सानिमा बैंकले गर्यो टिच फर नेपाललाई १० लाख सहयोग
काठमाडौं। शैक्षिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउँदै आएको शैक्षिक संस्था टिच फर नेपाललाई सानिमा बैंकले रु.१० लाख सहयोग गरेको छ। बैंकले शैक्षिक क्षेत्रमा टेवा पुर्याउने हिसाबले विगतको सहयोगलाई निरन्तरता दिदै रु. १० लाख सहयोग गरेको हो। सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताका लागि टिच फर नेपालले ६ वर्षदेखि यस क्षेत्रमा कार्यरत छ । टिच फर नेपालको मार्फत हाल १३८ जना प्रज्ञार्थी शिक्षकहरु देशका विभिन्न ७ जिल्लाका ६५ सामुदायिक विद्यालयहरुमा कार्यरत रही १० हजार भन्दा बढी विद्यार्थीहरुमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारिरहेका छ। बैंकले यसका साथै विगत ७ बर्ष देखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ।
शुक्रराज अस्पताललाई डेंगुको उपचारको सबै व्यवस्था मिलाउन राज्यमन्त्री यादवको निर्देशन
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले शुक्रराज ट्रपिकल अस्पताल अवलोकन गरेका छन्। राज्यमन्त्री यादवले अस्पतालको इमर्जेन्सी देखि सबै वार्डहरुको निरीक्षण गरि डेंगु लगाएत अन्य रोगका बिरामीहरुको स्वास्थ स्तिथी प्रत्यक्ष भेटी बुझेका हुन्। यादवले अस्पतालका,स्वास्थ सेवा विभाग,इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहशाखा,चिकित्सा महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायत सम्बन्धित सम्पुर्ण माहशाखा प्रमुखहरुलाइ बोलाइ डेंगुको उपचारको लागि निशुल्क गर्न आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका छन्। त्यस्तै डेगुको बिरामी शुक्रराज ट्रपिकल आएपछी अन्यन्त्र जानू नपर्ने गरि आवश्यक सबै प्रबन्ध मिलाउन पनि राज्यमन्त्री यादवले निर्देशन दिएका छन्।
अन्तिम घण्टाको सक्रियताले उचालियो शेयर बजार, २१ अंकको सुधार
काठमाडौं । कारोबारको अन्तिम घण्टामा बजारमा खरिदकर्ताहरु उत्साहित देखिएपछि शेयर बजार परिसूचक नेप्सेमा उच्च सुधार देखिएको छ । साताको तेस्रो दिन मंगलबार भएको कारोबारमा बजारको समग्र परिसूचक नेप्से २०.५७ अंकले बढेर ११९०.९० विन्दुमा पुगेको हो । मंगलबार परिसूचकसँगै कारोबार रकममा समेत सुधार भएर ५१ करोड पुगेको छ । शुक्रबार अन्य समूह र म्युचुअल फण्ड समूह बाहेकका सबै समूहहरुमा सुधार देखिएको छ । हाइड्रोपावर, जीवन र निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको परिसूचक २ प्रतिशत भन्दा बढीले बढेको छ । मंगलबार कारोबार भएका १७१ स्क्रिपहरुमध्ये १९ स्क्रिप घट्दा १५ ओटा स्क्रिपको मूल्य बराबर हुँदा १३७ स्क्रिपका मूल्यहरु बढेका छन् । युनिभर्सल पावर कम्पनीको शेयरमा सर्किट लाग्नुबाहेक अन्य कम्पनीहरुको उल्लेख्य वृद्धि नभए पनि समग्र बजारमा उच्च सुधार हुनुलाई विगतमा निरन्तरको घट्दो मूल्यको रिकभरीको रुपमा हेरिएको छ । सोमबारमात्रै सीडीएससीले परीक्षणको रुपमा भारित औसत लागत गणना सुरु गर्नाले पनि लगानीकर्तामा केही उत्साह मिलेको लगानीकर्ताहरु बताउँछन् ।
अब निगमको ओसाका उडान सातामा दुई दिनमात्रै
काठमाडौं । यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ । वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान भरेको निगमले तत्काललाई यात्रुको सङ्ख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो । निगमले अव सातामा मङगलबार र शनिबार मात्र उडान गर्नेछ । यसअघि सातामा तीन दिन मङलबार, आइतबार र शनिबार उडान गर्ने कार्यतालिका थियो । ओसाकास्थित कन्साई इन्टरनेशनल विमानस्थलमा निगमको २७४ सिट क्षमताको वाइड बडी ए–३०३०–२०० जहाजले पहिलो उडान गरेको थियो । त्यसयता जम्मा तीन उडान भएका छन् । पर्याप्त मात्रामा यात्रु नभएकाले उडान तालिका संशोधन गरी सातामा दुई दिन मात्रै ओसाका उडान गरिने निगमका सहायक प्रवक्ता सुलेख मिश्रले राससलाई जानकारी दिएका छन् । उनका अनुसार दसैँ, तिहार र त्यसपछिको समयमा हालको उडान सङ्ख्या बढाएर चार पुर्याइनेछ । सन् १९९४ देखि निगमले ओसाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको सङ्ख्या अपुग भएको भन्दै उडान स्थगन गरेको थियो । त्यसताका निगमले काठमाडौँदेखि चीनको साङ्घाई हुदैँ ओसाका उडाउने गरेको थियो । निगमको ध्यानाकर्षण नेपाल वायुसेवा निगमले आफ्नो संस्था र कार्यकारी अध्यक्ष मदन खरेलसँग जोडी विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष खरेल हाल अस्वस्थ्य भएकाले चिकित्सकको सल्लाह बमोजिम उपचारको सन्दर्भमा आराम गरिरहेको स्पष्ट पारेको छ । चिकित्सकका अनुसार अध्यक्ष खरेललाई मौसमी भाइरल र टाइफाइडबाट सङ्क्रमित भएकाले कम्तीमा पाँच दिन आराम गर्नुपर्नेछ । कार्यकारी अध्यक्ष विश्राममा रहेको प्रशङ्गलाई अतिरञ्जित समाचारको रुपमा आएकोमा सोको खण्डन गर्दै निगमले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस
जापानले नर्सिङ केयर गिभरमा नेपाली कामदार लैजाने, कात्तिकमा परीक्षा
काठमाडौं । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो । जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्ने छ । ‘स्पेसिफाइड स्किल्ड वर्कश’ अन्तर्गत जापानमा नर्सिङ केयर गिभरमा जान चाहनेले नर्सिङ केयर र जापानी भाषा परीक्षा उतीर्ण गर्नुपर्ने जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । नर्सिङ केयर गिभरमा जापान जान चाहनेले ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ अन्तर्गत ६० मिनेटमा ४५ वटा प्रश्नको लिखित उत्तर दिनुपर्नेछ । जसमा ‘फन्डामेल्टल अफ केयर’को १०, ‘मेकानिज्म अफ द माइन्ड एण्ड बडी’ को ६, ‘कम्युनिकेशन स्किल’ को ४, ‘फिजिकल केयर’ को २० र प्रयोगात्मक अभ्यास अन्तर्गत पाँच वटा प्रश्नको उत्तर दिनुपर्नेछ । प्रयोगात्मक परीक्षा कम्प्युटर प्रणाली (सिबिटी) माध्यमबाट दिनुपर्नेछ । यसैगरी परीक्षार्थीले ‘नर्सिङ केयर जापानीज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’ अन्तर्गत ३० मिनेटमा १५ वटा प्रश्नको उत्तर दिनुपर्नेछ । जसमा ‘टेक्निकल टम्र्स अफ केयर’ ५, ‘कम्युनिकेशन अफ केयर’ ५ र ‘डकुमेन्ट अफ केयर’को ५ गरी १५ अङ्कको भाषा परीक्षा दिनुपर्नेछ । भाषा र सीप परीक्षाका लागि एक हजार जापानी येन दस्तुर बुझाउनुपर्ने उल्लेख गरिएको छ । परीक्षा सम्पन्न भएको एक महिनापछि नतिजा सार्वजनिक हुनेछ । कम्तीमा ६० प्रतिशत अङ्क प्राप्त गर्ने परीक्षामा उतीर्ण हुने जापानी श्रम मन्त्रालयले जनाएको हो । कात्तिक १० देखि १२, १९ देखि २१ र २६ देखि २८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षाका लागि कसरी आवेदन गर्ने भन्ने बारेमा आगामी असोज १५ गतेभित्र जानकारी दिइने बताइएको छ । नेपाल सरकार र जापान सरकारबीच गत चैत ११ गते नेपाली श्रमिक पठाउने सम्बन्धी ‘सहयोग समझदारी’ (एमओसी)मा हस्ताक्षर भएको थियो । जापानले १४ वटा कार्यक्षेत्रमा विदेशी श्रमिक भित्र्याउने नीति अख्तियार गरेको छ । जापानले कृषि, नर्सिङ केयर, सवारी साधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिने जनाएको छ । नेपाली श्रमिकलाई १४ वटै कार्यक्षेत्रमा खुला गरिएको भए तापनि कुन कुन क्षेत्रमा के कति सङ्ख्यामा नेपाली श्रमिकको माग हुने हो भन्ने विषय निश्चत हुनु बाँकी रहेको श्रम मन्त्रालयले जनाएको छ । रासस
एशिया प्यासिफिक देशका डिपोजिटरीहरुको सेमिनार काठमाडौंमा हुने
काठमाडौँ । आगामी साता एशिया–प्यासिफिक क्षेत्रका देशहरुमा रहेका केन्द्रीय निक्षेप प्रणाली र राफसाफ सम्बन्धी संस्थाहरुको सेमिनार काठमाडौमा हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको आयोजनामा एशिया प्यासिफिक सेन्ट्रल सेक्युरिटी डिपोजीटरी ग्रुप (एसीजी) को मा आवद्ध संस्थाहरुको सेमिनार हुने भएको हो । उक्त सेमिनार सेप्टेम्बर ९ देखी १२ तारिखसम्म काठमाडौंको होटल सोल्टीमा संचालन हुनेछ । सो सेमिनारका क्रममा सेप्टेम्बर १० तारिखका दिन संस्थाको साधारणसभा समेत हुनेछ । सो कार्यक्रममा संस्थामा आवद्ध एशिया प्यासिफिक क्षेत्रका २६ देशका ३५ वटा संस्थाहरुको सहभागिता हुने सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । २/२ वर्षमा हुने उक्त साधारण सभाले आगामी २ वर्षको लागि संस्थाको नेतृत्व समेत चयन गर्नेछ । हाल संस्थाको नेतृत्व कोरियाको कम्पनीले गरिरहेको छ ।
जोन्टा क्लबद्वारा एभरेष्ट बैंकको सहयोगमा नवलपरासीको विद्यालयमा शौचालय निर्माण
काठमाडौं। जोन्टा क्लब काठमाडौंले एभरेष्ट बैंकको सहयोगमा तल्लो भ्यूरन मध्यबिन्दु नगरपालिका वडा नं. १५ स्थीत बालसिद्ध बेसिक स्कुलमा शौचालय निर्माण गरेको छ । एभरेष्ट बैंकका तर्फबाट नारायणघाट शाखाका डेप्यूटी म्यानेजर प्रभात उप्रेती र जोन्टा क्लब काठमाडौंकी प्रेसिडेन्ट सीमा गोल्छाले स्कुल भ्रमण गरेर स्कुल कमिटीका अध्यक्ष र प्रधानध्यापकलाई निर्माणित शौचालय हस्तान्तरण गरेका छन् । जोन्टा क्लबका तर्फबाट जोली राजभण्डारी, प्रतिक्षा राणा र बिपाशी तुलाधरको पनि उपस्थीति रहेको थियो । बालिकाहरुले स्कुल छोड्नुको प्रमुख कारण नै विद्यालयमा शौचालयको अभाव हो । यसले गर्दा उनीहरुको शिक्षामा बाधा पु¥याउँछ जसले गर्दा उनीहरुको सर्वांगिण विकासमा प्रभाव पर्छ र आर्थिक सशक्तिकरणमा असर पार्दै चरम गरिबी, बाल विवाह र हिंसाको चक्रमा पार्दछ । विद्यालयका शिक्षकहरु, बालबालिका र सहभागीहरुले एभरेष्ट बैंक र जोन्टा क्लबको यस सहयोगको प्रशंसा गरेका छन् ।
नक्कली बीमा लेख जारी गरेर ६ लाख गोजीमा, दोषीलाई उन्मुक्ति दिन चोरी काम गुपचुप
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीका कर्मचारीले नक्कली बीमा लेख जारी गरेर बीमा शुल्क गोजीमा हाल्ने गरेको भेटिएको छ । कम्पनीमा जागिर खाने, तलव खाने र नक्कली बीमा लेख जारी गरेर बीमा शुल्क खल्तीमा राख्ने आपराधिक कार्यमा दोषी कर्मचारीलाई कम्पनीले संरक्षण दिएको पाइएको छ । कमला नदी नियन्त्रण आयोजनाको बीमा गर्दा सो कम्पनीमा कार्यरत कर्मचारीहरुले नक्कली बीमा लेख जारी गरी बीमा शुल्क कम्पनीमा नबुझाई आफै लिएको पाइएको हाे । तीन वटा नक्कली बीमा पोलिसी जारी गरी ६ लाख १९ हजार ५९५ रुपैयाँ १५ पैसा आफ्नै गोजीमा हालेको देखिएको छ । यूनाईटेड इन्स्योरेन्स कम्पनीका सञ्चालक रविन्द्र राज पन्त र कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले खटाएकाे अनुसन्धान टाेलीका अनुसार कम्पनीका कर्मचारीहरुले २ लाख ३३ हजार ३५० रुपैयाँ ६५ पैसा बीमा शुल्क लिएर पहिलो नक्कली बीमा लेख जारी गरेका छन् भने दोस्रो नक्कली बीमा लेख जारी गर्दा २ लाख ४६ हजार ४०२ रुपैयाँ १५ पैसा बीमा शुल्क लिएका छन् । त्यस्तै, तेस्रो नक्कली बीमा लेख जारी गर्दा १ लाख ३९ हजार ८४३ रुपैयाँ १५ पैसा बीमा शुल्क लिएका छन् । उनीहरुले ०१/०५/११/१०/११/१००४७ नम्बरको ‘कन्ट्याक्टर अल रिस्क’ बीमा लेख तीन पटकसम्म जारी गरेको पाइएको छ । यसरी नक्कली बीमा लेख जारी गर्नेमा तत्कालीन अण्डरराईटिङ शाखामा काम गर्ने शिबशंकर शाह, बरिष्ठ प्रबन्धक विवेक पाठक र एजेन्ट गौरी पाठक दोषी देखिएका छन् । त्यस्तै, शाखा प्रमुख मुकेश कुमार र अण्डरराईटिङका दिपा हलवाईको भूमिका पनि शंकास्पद देखिएको अनुसन्धानमा खटिएका अन्डरराइटिङ विभाग प्रमुख दिवस तिमल्सेना र दावी विभाग प्रमुख प्रशान्तराज न्याैपानेले तयार गरेकाे अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएकाे छ । जलस्रोत तथा सिंचाई विभागले ‘बीमाको म्याद थप गरी पेश गर्न’ गत मंसिर १६ गते कमलानदी नियन्त्रण आयोजनालाई पत्र लेखेको र बीमा लेख धारकको तर्फबाट लट्टु यादवले २०७५ साल मंसिरमा बीमा लेख नवीकरण गर्न युनाईटेड इन्स्योरेन्सले अनुरोध गरेपछि मात्र विगतमा गरिएको बीमा लेख नक्कली भएको कम्पनीले जानकारी पाएको स्रोतले बतायो । ‘परियोजनामा क्षति भई बीमा दाबी परेको भए कम्पनी डुब्ने रहेछ तर दाबी नपरेकोले सबै जोगिए’ स्रोतले भन्यो । कोही जेलमा, कोही कार्यालयमा यसअघि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाममा नक्कली बीमा लेख जारी गर्ने प्रकाश रेग्मीसहित केही व्यक्ति अहिले जेलमा छन् । तर युनाईटेड इन्स्योरेन्समा यसरी नक्कली बीमा लेख जारी गरेर बदमासी गर्नेलाई कम्पनीले जोगाई राखेको भेटिएको छ । यस विषयमा युनाइटेड इन्स्याेरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइसँग सम्पर्क गर्न प्रयास गर्दा सफल भएन । युनाइटेडमा दोषी देखिएको विवेक पाठक युनाईटेड इन्स्योरेन्स कम्पनीको बजार प्रमुखमा कार्यरत छन् । शिवशंकर शाह हाल जनरल इन्स्योरेन्स कम्पनीमा मुख्य प्रबन्धकको रुपमा कार्यरत छन् । त्यस्तै, एजेन्ट गौरी पाठक विवेक पाठकको आफन्त भएको स्रोतले जनायो । कमला नदी परियोजनाको बीमा गर्दा नक्कली पोलिसी जारी भएको विषय बीमा समितिको जानकारीमा नभएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘बदमासी भएको छ भने दोषीलाई कारवाही हुन्छ’ उनले भने । यस्तो किसिमको कार्यलाई बीमा क्षेत्रमा आपराधिक कार्य मानिने र यसको अनुसन्धान नेपाल प्रहरीले गर्ने उनले बताए ।