चाडपर्व नजिकिँदै गर्दा भारतबाट खसी आयात रोकिएपछि बढ्यो मासुको मूल्य
बाँके । चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महिनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको हो । चार÷पाँच महिनाअघिसम्म खसीको मासु प्रतिकिलो रु ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासु बढ्दै गएको हो । अहिले बजारमा खसीको मासुको मूल्य प्रतिकेजी रु ८०० नाघेको छ । “एकातिर भारतबाट आउने खसीको आयातमा प्रतिबन्ध छ भने अर्कोतिर चाडबाड नजिकिँदै गएपछि बजारमा खसीको मासुको माग बढ्न थालेको छ”, नेपालगञ्ज रामबागको मासु बधशालामा मासु व्यवसाय गर्दै आएका मासु व्यवसायी सगदिक कुरेसीले भने, “पर्व नजिकिएकाले मासुको मूल्य अझै बढ्न सक्ने सम्भावना रहेको छ ।” भारतबाट सहजै आयात हुँदा प्रशस्त मात्रामा सस्तो मूल्यमा खसी पाइने भएकाले मासुको मूल्य कम थियो । अहिले भारतबाट आयतमा रोक लाग्नु र मासुको माग धान्ने आन्तरिक उपलब्धता नहुँदा मासुको मूल्यवृद्धि हुँदै गएको हो । दुई वर्षअघिसम्म किलोको ६५० मा पाइने मासुको मूल्य ८०० पुग्दा ग्राहक मर्कामा परेका छन् । “नेपालमा बजारको माग धान्ने खसी उपलब्ध छैनन्, पाइए पनि जिउँदो खसी भारतमा भन्दा महङ्गो छ”, मासु व्यवसायी कुरेसीले भने, “महङ्गो खरिद गर्नुपर्दा बिक्री मूल्य पनि बढेको हो ।” भारतबाट आयात असहज भएपछि सीमावर्ती जिल्लामा खसी तस्करी पनि हुने गरेको छ । पछिल्ला दिनमा प्रहरीले पटक–पटक भन्सार छलेर ल्याइएका खसी नियन्त्रणमा लिएर नेपालगञ्ज भन्सार कार्यालयमा बुझाउने गरेको छ । खसी भन्सार छलेर आउँदा राजश्व पनि नोक्सान भइरहेको छ । अहिले नेपालगञ्जमा दुब्लो–पातलो खसीको जिउँदो मूल्य प्रतिकेजी रु ५८०, मध्यमखालको रु ६०० र राम्रो स्वस्थ खसीको जिउँदो मूल्य रु ६५० सम्म छ । दशैँको समयमा नेपालगञ्जमा मात्र १० हजारसम्म खसीको माग हुने बताइन्छ । मासु व्यवसायी हनिफ कुरेसीले भारतबाट खसीबोका नआए मूल्य अझै आकाशिने बताए । उनका अनुसार, अहिले गैरकानूनी बाटोबाट केही मात्रामा खसी भित्रिरहेका छन् । उनले भने, “दशैँको समयमा भारतबाट खसी नआए मूल्य जिउँदाकै रु ७०० सम्म पुग्न सक्छ, जिउँदो रु ७०० पुगे मासुको मूल्य स्वभाविक रूपमा बढ्छ”, रामबागस्थित मासु बधशालामा भेटिएका नेपालगञ्ज उपमहानगरपालिका–१८ बस्ने राजेन्द्र सिंहले खसीको मासुको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी तिरेको बताएका छन् । नियमित रुपमा कुखुराको मासु प्रयोग गर्ने र महिनाको एक÷दुई पटक खसीको मासु खाने बताउने नेपालगञ्ज–१० का हिमाल खनाल खसीको मासुको मूल्य आकाशिएपछि खान नसकिने अवस्था सिर्जना भएको बताउँछन् । मासुको मूल्य बढेपछि मासुको व्यापार पनि पहिलेको तुलनामा कम भएको मासु व्यवसायीहरुको भनाइ छ । पहिले दैनिक तीन वटासम्म खसी काट्ने व्यवसायी हनिफले अहिले दैनिक एउटा खसीको मासु बिक्री गर्न मुस्किल भएको बताए । रासस
दुई करोड लागतमा बन्दै हेलम्बु–गोसाइँकुण्ड जोड्ने ‘ग्रेट हिमालयन ट्रेल’
मेलम्ची । नेपाल सरकारको पर्यटकीय दृष्टिले १०० गन्तव्यभित्र पर्न सफल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा विभिन्न विकास निमार्णका साथै पर्यटकीय क्षेत्र बनाउने काम गरिरहेको छ । हयोल्मो संस्कृति झल्कने आकर्षक एकीकृत बस्ती, हेलम्बुको स्याउ र राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको ड्यामले गर्दा पनि हेलम्बु यतिबेला चर्चामा छ । ‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गाउँपालिकाले ‘ग्रेट हिमालयन ट्रेल’(पदमार्ग) निर्माणलाई तीव्रता दिएको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल रसुवाको गोसाइँकुण्डसँग हेलम्बुलाई जोड्ने उद्देश्यले सो पदमार्ग निर्माणमा जोड दिइएको हो । करिब ६० किलोमिटर लामो पदमार्ग निर्माणको काम धमाधम भइरहेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शोर्पाले बताएका छन् । स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणका रुपमा रहेको जिल्लाको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङटाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माणकार्य तीव्र पारिएको हो । गाउँपालिकाको विविध धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी सो निर्माण गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष कोपिला पण्डितको भनाइ छ । उनका अनुसार पर्यटन विभागले स्थानीय तहको समन्वयमा रु दुई करोड लागतमा सो पदमार्ग निर्माण भइरहेको हो । हेलम्बु, सिमिसिदाङ हुँदै लाङटाङ पुगिने ३० किलोमिटरमध्ये १५ किमीको काम सकिसकेको छ । पुरानो पदमार्ग हेलम्बु, गञ्जलापास हुँदै रसुवाको लाङटाङ पुगिने ४० किमीमा पनि १० किमी मात्रै काम बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिएका हुन् । बजेट र अनुमानित लागत उक्त कामका लागि प्रदेश नं ३ बाट रु ५० लाख अनुदान निकासा भएको थियो । त्यसैबाट प्राविधिकद्वारा हाल १० किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन तयार गरी बाँकी बजेटबाट पदमार्ग निर्माणकार्य शुरु गरिएको सव–इञ्जिनीयर शेरबहादुर राईले जानकारी दिए । पहिलो मार्गअन्तर्गत हाल निर्माण शुरु गरिएको हेलम्बु–१ स्थित बुद्धपार्क, सेर्माथाङ, ज्यामोथाङ, आमायाङ्ग्री, भेमटाङ हुँदै ग्याङजाला भञ्ज्याङमा गएर टुङ्गिने छ । त्यसैगरी दोस्रो रुटमा वडा नं ६ को इचोकस्थित घोप्टेग्याङ, पाकेडाँडा, ढाडेपाटी, सेमी सिदाङ हुँदै ग्याङजालामै गएर टुङ्गिने छ । दुवैतिरबाट शुरु गरी अन्तिम विन्दुमा पुगेपछि उक्त पदमार्ग अङग्रेजी अक्षरको ‘सी’ आकार अर्थात् अर्धचन्द्र आकारको हुनेछ । सम्पूर्ण निर्माणकार्य सम्पन्न भएपछि दुवैतर्फबाट रसुवाको चर्चित धार्मिकस्थल गोसाइँकुण्ड जान पनि सरल र सहज हुने बताइएको छ । पदमार्ग कडा चट्टाने ढुङ्गालाई काटेर इँटाका रुपमा तयार गरी निर्माण भइरहेको छ । सो मार्ग एक मिटर पूरा गर्न रु ३० हजार लाग्नुका साथै समय पनि बढी लाग्ने गर्दछ । झण्डै चीनको ‘ग्रेटवाल’को झल्को दिने उक्त पदमार्ग हेर्दा आकर्षक देखिने बताइएको छ । ह्योल्मो भूमि र धार्मिकस्थलका रुपमा चर्चित हेलम्बु कलात्मक मौलिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण गरिएको हो । यसले हेलम्बुमा पर्यटक विकासका लागि धेरै सहयोग गर्ने गाउँपालिका अध्यक्ष शोर्पाको भनाइ छ । समग्र हेलम्बुलाई पदमार्गले घेर्ने लक्ष्य गाउँपालिकाले लिएको शेर्पाले जानकारी दिएका छन् । “लाङटाङ जोड्ने यी दुई पदमार्ग मात्रै हुन्, अर्को हेलम्बुको कुटुम्साङ, माग्नीकोट, ठाडेपाटी गोसाइँकुण्ड रसुवाको स्याफ्रुबेँसी जोड्ने पदमार्ग निर्माणाधीन अवस्थामा छ”, अध्यक्ष शेर्पाले भने, “हेलम्बु हुँदै लाङटाङ अनि पवित्रस्थल गोसाइँकुण्ड पुग्ने पदयात्रीलाई सुरक्षाका लागि पनि पदमार्ग निर्माण जरुरी देखिएको छ, त्यहीअनुरुप हामीले काम थालेका हौँ ।” झण्डै १०० किलोमिटर दूरीमा रहेको काठमाडौँको सुन्दरीजल हुँदै नुवाकोट र सिन्धुपाल्चोकको सीमागाउँ कुटुम्साङबाट ठाडेपाटी, मेलम्चीघ्याङ, नाकोते, तार्केघ्याङ, घ्याङुल, शेर्माथान, ककनीसम्म जोड्ने पुरानो पदमार्ग अहिले पनि चलिरहेको छ । सो पदमार्गले गर्दा स्थानीयवासीलाई दैनिक काम गर्नसमेत सहज भएको छ । वडा नं १ का वडाध्यक्ष मिङ्मार लामाले पदमार्गले सिन्धुपाल्चोक र रसुवा दुवै जिल्लाको पर्यटन प्रवद्र्धनका लागि टेवा पुग्ने बताएका छन् । ‘धर्मचक्र पर्खाल’ लामो दूरीका दर्जनौँ पदमार्गलाई पहिलेकै अवस्थामा ल्याउनको लागि गाउँपालिकाले पर्यटकीय पदमार्ग कार्ययोजना बनाएको छ । जसमा लाङटाङबाट हेलम्बु भित्रिने पर्यटकले ह्योल्मो परम्परा, धार्मिकस्थल घुम्दै डुब्कुबाट मेलम्ची खानेपानीको मुहान हेर्ने ‘प्याकेज ट्रेकिङ स्पट’ बनाएर काम थालेको छ । वडा नं १ का अध्यक्ष लामाका अनुसार पदमार्ग निर्माणले पवित्रस्थल ‘छुह्यालागेन्जेन’ हेर्ने पर्यटक पनि वृद्धि हुनेछ । उनले ‘छुह्यालागेन्जेन’को अर्थ १०८ पानीको मूल फुटिरहेको बालुवा भएको चौर भएको बताए । प्राचीन गुम्बैगुम्बाको शहर शेर्माथान, ह्योल्मो बस्ती हेर्न पाइने मेलम्चीघ्याङ, घ्याङुल, झिचेन मिलारेपा गुफा, ढुक्पु, महागुरु रेन्पोछे छापसम्म एक दर्जन पदमार्ग जोड्दै लगिएको छ । हिउँदमा हिउँले ढाकिने पदमार्ग पर्खाल यात्राका क्रममा पाँचपोखरी, गोसाइँकुण्डका साथै जुगल, गणेश, याङ्ग्री, लाङटाङ माउन्टेन फ्लाइटबाट हेर्न सकिने ८० प्रतिशत हिमाल देखिने अध्यक्ष शेर्पाले जानकारी दिए । पर्खालमा पर्ने पाकेडाँडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचरोसमेत देख्न सकिन्छ । शेर्पाका अनुसार सम्पदा, प्रकृति तथा पर्यावरणीय दृश्य, जङ्गली जनावर र स्थानीय धर्म, संस्कृति अवलोकन पदयात्रा प्रमुख विशेषता हुनेछन् । रसुवा र नुवाकोटका बस्तीसमेत नियाल्न सकिने पदयात्रा घुम्दा गर्दा हेलम्बु क्षेत्रमा रहेका पूरै धार्मिक तीर्थस्थल परिक्रमा हुने भएकाले गाउँपालिकाले निर्माणाधीन ‘ग्रेट हिमालयन ट्रेल’लाई ‘धर्मचक्र पर्खाल’का रुपमा समेत जोडेको छ । पदमार्गको पर्खाल स्थानीय स्लेट ढुङ्गा प्रयोग गरेर बनाइँदैछ । आकर्षक ढङ्गले काटिएका ढुङ्गा बिछ्याइएका पर्खालको भुइँमा हरेक खण्ड १० दरका सिँढी (खुड्किलो) बनाउँदै जोडिनेछ । साढे दुई मिटर चौडा हुने पदमार्गको दायाँ–बायाँ साढे एकदेखि साढे दुई मिटर अग्लो पर्खाल लगाइनेछ । “ठाउँ–ठाउँमा पर्यटक बिसौनी हुने पर्खालमा बिछ्याइएको ढुङ्गामा स्थानीय संस्कृति झल्काउने शिलालेख खोप्छौँ”, अध्यक्ष शेर्पाले भने । ह्योल्मो संस्कृतिको प्रवद्र्धन नेपालमा ह्योल्मो समुदायको लोपोन्मुख संस्कृति हेलम्बुमा मात्रै देख्न पाइन्छ । हेलम्बु गुम्बाको गाउँ नामले समेत चर्चित छ । शेर्पा, ह्योल्मो समुदायको बाहुल्य रहेको सो गाउँपालिकामा बौद्धधर्म गुरु पद्यमसम्भवको साधनास्थलका रुपमा समेत प्रसिद्ध छ । त्यसैले यहाँ घुम्नका साथै ध्यान, साधना गर्न वार्षिक हजारौँको सङ्ख्यामा देश तथा विदेशबाट पर्यटक तथा बौद्धमार्गी आइपुग्छन् । हेलम्बु धार्मिक, सांस्कृतिक पर्यटनको गन्तव्यसमेत रहेकाले पदमार्ग पर्खालको महत्व अझ बढ्ने उनको विश्वास छ । उनका अनुसार ६० किमी पदमार्ग पर्खाल घुम्न पदयात्रा एक साताको समय लाग्नेछ । पदमार्ग पर्खालका ठाउँ–ठाउँमा सौर्यबत्ती, उद्यान, दृश्यावलोकन स्तम्भ आकर्षणका रुपमा रहनेछन् । पदमार्ग पर्खालमा पर्ने भेन्थाङमा रहेको बिहाल चौरलाई हिमाल आरोहरणको तालीम केन्द्र बनाउने नीति गाउँसभाबाट पारित गरेको छ । भेन्थाङ आधा दर्जन हिमालको आधार शिविर पनि हो । तर अहिलेसम्म आरोहण शुरु हुन नसकेको अध्यक्ष शेर्पाले जानकारी दिएका छन् । रासस
अब एक करोड सम्मका योजनामा डोजर प्रयोग गर्न नपाइने
जाजरकोट । वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर/स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने निर्णय गरेको हो । रु एक करोडभन्दा कम बजेटका आयोजनामा यसै आर्थिक वर्षदेखि डोजर प्रयोग गर्न नपाइने गरी कार्यपालिकाले निर्णय गरेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताएका छन् । तर प्राविधिकले डोजर प्रयोग नगर्दा आयोजना सम्पन्न गर्न नसकिने भन्दै सिफारिश गरेको खण्डमा भने प्रयोग गर्न सकिने जनाइएको छ । गाउँपालिकाले दुई वर्षको अवधिमा १२ सडक आयोजनाअन्तर्गत १४२ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न गरेको छ । अब तीन वटा सडकको मात्र ट्र्याक खोल्न बाँकी छ । ट्र्याक खोल्न बाँकी र सडकको स्तरोन्नति पनि स्थानीय युवा परिचालन गरेर गरिने अध्यक्ष बस्नेतले बताएका हुन् । उनले भने, “गाँउका सडक आयोजनामा डोजरबालाको एकाधिकार देखियो, युवाहरु काम नपाएर खाडी मुलुक र भारत जान थालेपछि युवा पलायन रोक्न पनि डोजर प्रतिबन्धको निर्णय गर्न बाध्य भएका हौँ ।” अर्कोतर्फ वातावरणीय प्रभाव मूल्याङ्कनविनै जथाभावी डोजर प्रयोग गर्दा पहिराको जोखिम बढ्दै गएपछि पनि सचेतना अपनाइएको गाउँपालिकाले जनाएको छ । “डोजरले काम छिटो भए पनि भू–क्षयको जोखिम निकै बढाउँदोरहेछ, त्यही भएर पनि प्रतिबन्ध लगाउन बाध्य भएका हौँ”, उनले भने । डोजर प्रतिबन्धको निर्णय नगर्न डोजर मालिक रहेका केही जनप्रतिनिधिले कार्यपालिकाको बैठकमा विरोध गरेका थिए । विरोधका बाबजुद पनि निर्णय गरिएको छ । निर्णय कार्यान्वयन गरेर युवा परिचालनका माध्यमबाट गाउँमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने उनले जानकारी दिएका छन् । अध्यक्ष बस्नेतले भने, “कुशे गाउँपालिकाका नौ वटै वडामा सडकको ट्र्याक खुलिसकेको छ, अब स्तरोन्नति गर्न बाँकी छ, त्यो सबै काम स्थानीय नागरिकबाटै गराउँछौं ।” कुशेका तीन वडाध्यक्ष डोजर मालिक छन् । वडा नं २ का वडाध्यक्ष जनकबहादुर शाही, वडा नं ३ का वडाध्यक्ष टेकबहादुर हमाल र वडा नं ६ का वडाध्यक्ष अमरबहादुर शाहीले चुनाव जितिसकेपछि डोजर किनेका बताइएको छ । गाउँपालिकाभित्र खनिएको अधिकांश सडकमा उनीहरुकै डोजरको प्रयोग गरिएको थियो । सडक खन्न डोजर प्रतिबन्ध लगाउने गाउँपालिकाको निर्णयको स्थानीयवासीले स्वागत गरेका छन् । केही वर्षयता डोजर भित्रिएपछि गाउँलेले कामै पाउन छाडेका थिए । काम नपाउँदा उनीहरु कालीपार (भारत) जान बाध्य रहेका थिए । थानीयवासी रामचन्द्र शर्माले भने, “यो एकदमै राम्रो र जनपक्षीय निर्णय छ ।” रु एक करोडमुनिका आयोजना स्थानीय उपभोक्तामार्फत हुने र डोजरवालाले मनोमानी काम गरेर सबैको रोजगारी खोसेकाले यस्तो निर्णय गरिएको वडा नं १ का वडाध्यक्ष गोपाल नेपालीले बताएका छन् । रासस
नबिल बैंकले ल्यायो दश लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना
काठमाडौं । नबिल बैंकले आफ्ना व्यक्तिगत बचत खाता ग्राहक वर्गलाई रु १०,००,०००(दश लाख) को सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ । यो योजना भाद १५ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त बीच सम्झौता भएको छ । यस योजना अन्तर्गत, दैनिक मौज्दात रु. ५,००० वा सो भन्दा बढी राख्ने जुनसुकै प्रकारका नेपाली मुदाका व्यक्तिगत बचत खातावालाहरुलाई रु. १०,००,००० को सामुहिक व्यक्तिगत दुर्घटना बीमा गरिएको छ । यस योजना अन्तर्गत बचतकर्ताको दुर्घटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुस्ठ रु. १०,००,००० बीमा रकम प्रदान गरिनेछ । यस योजना अन्तर्गत आफ्नो नेपाली मुदाका खातामा न्यूनतम रु. ५,००० मौजदात राख्ने सम्पूर्ण बचत खाता वालाहरुको बीमा स्वत रुपमा १५ भदाैमा भैसकेको छ । साथै, यो योजनामा सामिल भैरहन बचतकर्ताले सधैं रु. ५,००० वा बढी मौज्दात कायम राख्नुपर्नेछ । त्यसैगरी रु. ५,००० वा बढी मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनैपनि महिनाको पहिलो कार्य दिनबाट सधैं उक्त मौजदात कायम राखी यस योजनामा सामिल हुन सक्नेछन् । नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली रु ५,००० वा बढीको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन सकिनेछ । यस योजनामा सामिल हुन कुनै उमेरहद नभएता पनि नावालकको हकमा खाता संरक्षक यस योजनामा विमित हुन सक्नेछन् । बैंकले प्रदान गरिरहेको समान बीमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यहोर्नुपर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामिल हु“दा लाग्ने बीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ । यस योजना सम्बन्धि सम्पूर्ण जानकारी बैंकको वेभसाइट (डब्लुडब्लुडब्लु नबिल बैंक डट कम) वा नजिकैको नबिल बैंकको कुनैपनि शाखा कार्यालय वा फोन न. १६६००१६२२४५ बाट प्राप्त गर्न सकिनेछ । यस नबिल बैंकको ७९ शाखा, १४० एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्। साथसाथै बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको प्रमुख वजार व्यवस्थापन अधिकृत विनय कुमार रेग्मीले जानकारी दिएका छन् ।
छिटो पुँजी पुर्याउन बीमा समितिको विकल्पः संस्थापकबाट अग्रिम रकम उठाउनू
काठमाडौ । बीमा समितिले संस्थापक शेयरधनीहरुबाट अग्रिम रुपमा पैसा उठाएर भए पनि तत्कालै चुक्ता पुँजी पुर्याउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । असार मसान्तसम्म समय दिएर चुक्तापुँजी पुर्याउन समितिले समयावधि दिएकोमा ७ ओटा बीमा कम्पनीहरुले पुँजी पुर्याउन नसकेपछि समितिले त्यस्तो निर्देशन दिएको हो । साउनको पहिलो हप्ता समितिले ती कम्पनीहरुलाई समयमा चुक्तापुँजी पुर्याउन नसक्नुको कारण माग गरेको थियो, यसको जवाफ दिएका कम्पनीका प्रतिनिधिहरुलाई समितिले छुट्टाछुट्टै रुपमा बोलाएर निर्देशन दिन थालेको समिति स्रोतले जनाएको छ । केही दिनअघिमात्रै गुराँस लाइफ इन्स्योरेन्सका सञ्चालकहरुसँग समितिले ०.५ प्रतिशतभन्दा बढी शेयर होल्डिङ गर्ने शेयरधनीहरुसँग त्यस्तो रकम उठाउन निर्देशन दिएको थियो । अरु कम्पनीका सञ्चालकहरुलाई पनि क्रमशः निर्देशन दिने तयारी समितिको छ । चुक्ता पुँजी नपुगेका सबैजसो कम्पनीहरुले थप हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाएका छन् तर त्यसका लागि लामो समय लाग्ने भएपछि समितिले यस्तो विकल्पसहित संस्थापकहरुलाई निर्देशन दिएको हो । हाल जीवन बीमातर्फ सूर्या लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थानको चुक्तापुँजी पुग्न बाँकी छ । त्यस्तै निर्जीवनतर्फ यूनाइटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्ता पुँजी पुग्न बाँकी छ । राष्ट्रिय बीमा संस्थान ऐनअन्तर्गत् राष्ट्रिय बीमा संस्थानको चुक्तापुँजी पुर्याउन अहिले कानूनी र व्यवहारिक समस्या देखिएकोले यसलाई छाडेर अन्य ७ कम्पनीलाई भने चुक्ता पुँजी छिटो पुर्याउने ‘कल इन एड्भान्स’को विकल्पमा जान समितिले निर्देशन दिन थालेको हो ।
आन्तरिक राजस्व कार्यालय बाराका कर्मचारी घुससहित पकाउ
काठमाडौं। आन्तरिक राजस्वो कार्यलय सिमरा बाराका कम्प्युटर अपरेटर सुदिप लामा ४० हजार घुससहित पक्राउ परेका छन्। लामो समय देखी कारोबार नभएको प्यान नम्बर बन्द गरिदिने र राजस्वो रकम छुर्ट गरिदिने भन्दै लामाले लामो समयदेखी घुस माग्दै आएका थिए। लामालाई सुचनाको आधारमा अख्तियार दुर्पायोग अनुसन्धान आयोग हेटौंडाबाट खटाईएका टोलीले घुसरकम सहित पक्राउ गरेको हो। लामालाई घुस लिईसकेको अवस्थामा जितपुर सिमारा उपमहानगरपालिका वडा नं १ सिमरा बजारमा रहेको किराना पसल अगाडीबाट पकाउ गरी अनुसन्धान सुरु गरिएको छ।
सानिमा बैंकको लाभांश घोषणा, १० प्रतिशत बोनस ११ प्रतिशत नगद
काठमाडौं । सानिमा बैंकले १० प्रतिशत बोनससहित २१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको सोमबार साँझ बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश दिन लागेको हो जसमा ०.५२६ प्रतिशत कर प्रयोजनको लागि प्रयोग हुनेछ। उक्त लाभांश घोषणासँगै सानिमा बैंक योे वर्ष लाभांश घोषणा गर्ने छैटौं बैंक बनेको छ । यसअघि एनआईसी एशिया, बैंक अफ काठमाण्डू, सिटिजन्स, माछापुच्छ्रे र कुमारी बैंकले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।
रौतहटमा प्रभु बैंकको ३ एक्स्टेन्सन काउण्टर
काठमाडौं। प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रौतहट जिल्लाको मौलापुर र गरुडा मालपोत कार्यालय तथा नवलपुर जिल्लाको कावासोती मालपोत कार्यालयमा एकैसाथ तीन वटा एक्स्टेन्सन काउण्टर कार्यालयहरु सञ्चालनमा ल्याएको छ । मौलापुर र गरुडा स्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको भाद्र १६ गते कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख भिमार्जुन ज्ञवाली र त्यसैगरी कावासोती स्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको सोही दिन जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपुरका कार्यालय प्रमुख मोहन शरण भण्डारी र कावासोती मालपोत कार्यालय प्रमुख नारायण गैरेले संयक्त रुपमा एक समारोहका विच समुद्घाट्न गरेका हुन्। प्रभु बैंकले १९३ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । रौतहट तथा नवलपुर जिल्ला स्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिहेको प्रभु बैंक लिमिटेडले मालपोत कार्यालयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व जम्मा गर्न सहज हुनुका साथै तीनै वटा मालपोत कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । प्रभु बैंकका तीनै वटा एक्स्टेन्सन काउण्टर कार्यालयहरुबाट प्रवाह हरने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने तथा दुवै मालपोत कार्यालयको राजश्व संकलन प्रक्रियामा सहजता आई राजश्व संकलनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।