विकासन्युज

नाराको निर्वाचन भदौ २४ मा

काठमाडौं । नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्ट (नारा) को निर्वाचन यही भदौ २४ मा हुने भएको छ । जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्न स्थापना भएको नाराको ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन हुन लागेको हो । नाराका कोषाध्यक्ष शिशिर खनालले वार्षिक साधारणसभा तथा निर्वाचनको तयारी तीव्रगतिमा भइरहेको जानकारी दिएका छन् । विसं २०४६ मा स्थापना भएको नारामा १०० हाराहारीमा व्यवसायी आबद्ध छन् । नाराको हरेक दुई वर्षमा निर्वाचन तथा प्रत्येक वर्ष साधारणसभा हुँदै आएको छ । जलयात्राका लागि साहसिक गन्तव्यको परिचय बनाएको त्रिशूली नदी विश्वका उत्कृष्ट नदीमध्ये एक हो । त्रिशूली नदीमा अहिले व्यावसायिक रूपमा जलयात्रा सञ्चालनमा छ । यस्तै, भोटेकोशी नदीमा पनि धेरै जलयात्री मनोरञ्जन लिन जाने गरेका छन् । नेपालमा रहेका छ हजार नदीनालामध्ये त्रिशूली, कर्णाली, कालीगण्डकी, मस्र्याङ्दी, भोटेकोशी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएका छन् । राजधानीबाट नजिक भएका कारण त्रिशूली नदीबाट नेपालको पहिला साहसिक जलयात्रा शुरु गरिएको थियो । रासस

आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ भदौ २० मा हुने

काठमाडौं । मानव संसाधन समाज नेपालले आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ आयोजना गर्ने भएको छ । मानव संसाधन विकासको क्षेत्रमा लागिपरेको मानव संसाधन समाज नेपाल (एचआरएसएन)ले यहि सेप्टेम्बर ६ तारिख अर्थात भाद्र २० गते आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ होटल र्याडिसनमा आयोजना गर्ने भएको हो । यस सम्मेलनको मुख्य नारा ‘अपस्किलिङ एण्ड रिस्किलिङ एचआर’ रहेको छ । यस सम्मेलनमा नेपालका विभिन्न संघ संस्थामा कार्यरत मानव संसाधन अधिकृत, व्यवसायीक व्यक्तित्वहरु, ट्रेनिङ्ग म्यानेजर, प्रमुख कार्यकारी अधिकृत, निर्देशकहरु, एचआर प्रोफेसनल लगायतको सहभागिता रहनेछ । राष्ट्रिय मानव संसाधन सम्मेलन संस्थाको नियमित वार्षिक कार्यक्रम हो । यो नियमित संम्मेलनबाट नेपालमा मानव संसाधनको अवस्था र यसको प्रयोगको बारेमा विश्लेषण गर्दै भविश्यको लागि कस्तो मानव संसाधन आवश्यक पर्छ भन्ने बारे दिशानिर्देशन गर्न सहयोग पुर्याउँछ । यस कार्यक्रममा पहिलो पटक नेपालमा गरिएको नेपाल स्कील रिपोर्टको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिनेछ । ‘नेपाल स्कील रिपोर्ट’ नामक प्रारम्भिक अध्ययन प्रतिवेदनमा नेपालका विभिन्न संघसंस्थाहरुमा के कस्तो सिप र योग्यता भएको मानव संसाधनको आवश्यकता रहेको छ भन्ने बारेमा अध्ययन गरिएको छ । राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ का संयोजक तथा मानव संसाधन समाज नेपालका उपाध्यक्ष मधु पौडेलले सम्मेलनमा पहिलो पटक विभिन्न संस्थाहरुमा गरिएको मानव संसाधनको अवस्था बारेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिए । ‘राष्ट्रिय एचआर सम्मेलनले आधुनिक र विकासको चरणमा रहेको नेपालको मानव संसाधन कस्तो हुनुपर्नेछ भन्ने बारेमा छलफल गर्ने प्लेटफर्म तयार पार्नेछ, मानव संसाधनको क्षेत्रमा देखिएका कमी कमजोरीलाई सुधार गर्ने र भविश्यमा स्तरिय मानव संसाधन विकास गर्न सहयोग पुर्याउनेछ,’ राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ का संयोजक तथा मानव संसाधन समाज नेपालका उपाध्यक्ष पौडेलले भने । अपस्किलिङ एण्ड रिस्किलिङ एचआर विषयमा केन्द्रित रहि विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय विषय विज्ञहरुले आफ्ना विचारहरु प्रस्तुत गर्ने छन् भने मानव संसाधन प्रकृयालाई प्रभावकारी बनाउन आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बारेमा समेत छलफल हुनेछ । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यवसायीक व्यक्तित्व र एकेडेमिसिएनहरुका विचमा प्यानल डिस्कसन समेत हुनेछ। राष्ट्रिय मानव संसाधन सम्मेलन पारेर ‘एचआर म्यानेजर अफ दि ईयर’को अवार्ड घोषणा तथा वितरण समेत गरिनेछ । स्वदेश र विदेशका गरि करिब २५० जना भन्दा बढि एचआर विज्ञ, व्यवस्थापन विज्ञहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंक, वित्तीय संस्थाहरु, बहुराष्ट्रिय कम्पनीहरु, गैरसरकारी संस्थाहरु, उत्पादनमूल्यक कम्पनीहरु, सूचना प्रविधि, पूर्वाधार, बीमा, निर्माण र परामर्शको क्षेत्रबाट सहभागिता जनाउने छ । राष्ट्रिय एचआर सम्मेलनमा एचआर विज्ञ तथा स्ट्राटेजी लिडर अफ सिम्प्लि एचआर सोलुसन एलएलपी, तथा एण्ड टु एण्ड एच आर सलुसनका रजनिश सिंहले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नेछन् । आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९लाई निम्बल अफिस एचआरएमले मुख्य प्रायोजन गरेको छ ।

मेलम्चीमा अर्को लफडा, भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने समितिको चेतावनी

काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा फेरि अर्को लफडा सुरु भएको छ । मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने चेतावनी दिएका छन् । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका हुन् । समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्चीस्थित आयोजनाको कार्यालयमा आजदेखि पीडितहरू धर्ना बस्दै छन् । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले गत साता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सात दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको थियो । मेलम्ची खानेपानी आयोजना समाधान गर्छौं भन्ने प्रतिबद्धता सरकारले गरे पनि हालसम्म कार्यान्वयन नभएकाले आन्दोलन गर्नुपरेको समितिका संयोजक विष्णुमणि आचार्यले बताए । मेलम्चीको बाँकी काम पुरा गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिने तय भैसकेको छ र दशैँ अघिबाट नै निर्माण शुरु हुने भनिएको छ । आर्थिक वर्ष २०५८/०५९ देखि भौतिक कार्य शुरु भएको आयोजनाको करिब दुई दशक पुग्न लाग्दा समेत पानी कहिले आउँछ भन्ने अन्योलता कायमै रहेको हो । निर्माण कार्य शुरु भएदेखि पाँच वर्ष अर्थात आर्थिक वर्ष २०६४/०६५ मा पहिलो फेजमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा भित्र्याउने भनिएको थियो । पानी कहिले आउने हो यसको अहिलेसम्म टुङ्गो लागेको छैन । आयोजना अन्तर्गतको मुख्य निर्माण कार्य सुरुङ निर्माणको अवधि लम्बिदै जाँदा आयोजनाको काम सम्पन्न हुने समय संशोधित भई क्रमशः आव २०६८/०६९, आव २०७०/०७१, २०७२/०७३ र अन्तिममा आव २०७५/०७६ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो, यद्यपी त्यो पनि सम्भव हुन सकेन । यसरी मेलम्चीको पानी काठमाडौं ल्याउने आश्वासनहरु बेलाबखत हुँदै आएपनि पानी आउने समय तोक्न सकिने अवस्था नरहेको मेलम्ची खानेपानी आयोजनाका अधिकारी बताउँछन् । मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले इटालिएन ठेकेदारले राम्रै काम गरेका कारण छिट्टै सकिन्छ भन्ने अनुमान थियो, तर त्यसले छोडेर गएपछि अब कहिले निर्माण सम्पन्न हुन्छ भन्ने अनुमान गर्न नसकिने अवस्था आएको बताए । उनले भने,–‘मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने लगभग निश्चित भएको छ, उसको काम गर्ने जनशक्ति, निर्माण सामाग्रीहरु हेरेर मात्र कति दिन समय लाग्छ भन्ने आँकलन गर्न सकिने छ ।’ समयमै काम शुरु गरे १५ महिना भित्र काम सम्पन्न हुन सक्ने उनले बताए । एक वर्ष सुरुङ निर्माण र ६ महिना बाँध बाध्न समय लाग्ने उनले बताए ।

एलजीको तीन माेडेलका टीभी सार्वजनिक, आर्टिफिसियल इन्टिलिजेन्सको समेत फिचर

काठमाडौं । एलजी टेलिभिजनले ओएलईडी टिभी सार्वजनिक गरेको छ । ललितपुरको सानेपास्थित होटेल भिभान्तामा आयोजित पत्रकार सम्मेलनमा एलजीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले उक्त टेलिभिजन सार्वजनिक गरेको हो । सीजीले एलजी ओएलइडी, एल जी एआई थिन क्यु र नानोसेल टेक्नोलोजी गरी ३ माेडेलका टेलिभिजन सार्वजनिक गरेको छ । पहिलो, एलजी ओएलइडी टेलिभिजन नविन प्रविधिमा आधारित टिभीहो । जसको मोटाई ४.३३ एमएम छ । कम्पनीका अनुसार यो टेलिभिजन नपत्याउने गरी हलुको र पातलो छ । यसमा नयाँ बनोटमा आधारित यो टिभीमा आर्टिफिसियल इन्टिलेजेन्स प्रविधि जडान गरिएको छ । जसमार्फत् टेलिभिजन बोलीको भरमा चलाउन सकिन्छ । त्यसका लागि गुगल एसिस्टेन्ट र अमेजन एलेक्सा प्रविधि जडान गरिएको छ । जसको सहायताले टेलिभिजन सञ्चालन गर्नका लागि आवाज मात्रै निकाले पुग्छ । जसलाई रिमोर्टमै सुविधा थप गरिएको छ । दोस्रो, एल जी एआई थिन क्यु जसले गुगल एसिस्टेन्ट र अमेजन एलेक्सा जस्ता सुविधा प्रयोग गर्न सकिन्छ । जसमा अल्फा ८ जेन२ प्रोसेसर सुविधा छ । जसले तपाईका हरेक गतिविधिलाई नियन्त्रण गर्छ । यसमा ४के एक्टिभ एचडीआर पनि छ । जसले चित्रको गुणस्तर बढाउँछ । तेस्रो, नानोसेल टेक्नोलोजीले बिस्तृत रंग छनोटले यसको रंग उन्नत गर्दछ । साथै हेर्न फराकिलो कोण दिन्छ । यसले जुन कोणबाट हेर्दां पनि राम्रो दृश्य दिन्छ । नानोसेल टेलिभिजन ५५ र ६५ इञ्चमा उपलब्ध छ । यसमा यूएचडी टिभी विशेष तरिकाले बनाइएको छ । यसको आईपीएस ४ के डिप्लेले इस्पस्ट र जीवित चित्र प्रदर्शन गर्दछ । टेलिभिजन सार्वजनिक गर्दै सीजी इलेक्ट्रनिक्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सूचना प्रविधिको आविष्कासरँगै ग्राहकहरुको आवश्यकता समेत नयाँनयाँ भएको अवस्थामा त्यस्ता आवश्यकताहरुलाई पूरा गर्ने क्रममा यी प्रोडक्टहरु आएको बताउँदै आगामी दिनमा पनि नयाँनयाँ प्रविधिका यस्ता प्रोडक्टहरु भित्र्याउँदै जाने बताए । साधारण एलईडी टेलिभिजनभन्दा निकै हलुको र पातलो रहेको उक्त टेलिभिजन घर र कार्यालयको भित्तामा राख्न उपयुक्त हुने गरी डिजाइन गरिएको इलेक्ट्रोनिक्सले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको धनकुटाको हिलेमा शाखा उद्घाटन

काठमाडौं । ग्लोबल आइएमई बैंकले धनकुटा जिल्लाको हिले बजारमा रहेको शाखा कार्यालय मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग, नेपाल प्रहरीका एसपी सुदर्शन कोइराला, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार आयोजित एक समारोहबीच संयुक्तरुपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मेयर तामाङ्गले बैंक तथा वित्तीय संस्थाहरुले ठूला उद्योगपतिहरुलाई मात्र नभई साना किसान तथा व्यवसायीलाई पनि सहयोग गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने बैंकको मुल नारालाई चरितार्थ गर्दै देशको सबै क्षेत्रमा सेवा पु¥याउने बताए । ढकालले बैंकिङ्ग सेवाको पहुचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भएसम्म बैंक शाखा विस्तार गर्दै तथा शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाका माध्यमबाट सेवा विस्तार गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । उनले हाँले बैंकले प्रदान गरिरहेका सुविधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, घर कर्जा, रेमिट्यान्स सुविधा लगायतका सेवाको माध्यमबाट यस क्षेत्रको आर्थिक सम्वृद्धिमा टेवापुग्ने विश्वास व्यक्त गरे । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्ससँग एकीकृत कारोबार सुरु गर्न अन्तिम तयारी गरिरहेको बताउँदै उनले जनता बैंक नेपालसँग पनि मर्जरमा जाने सहमति गरेको बताए । धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष घिमिरेले बैंकले साना तथा स्थानीय व्यवसायीलाई फाइदा पुग्ने बताए । घिमिरेले बैंकको कर्जा सरल र सुलभ बनाउन पनि आग्रह गरे ।

एनआईसी एशियाको मोबाइल बैंकबाट मोबाइल किन्दा १० प्रतिशत छुट

काठमाडौं । एनआई सीएशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिजबीच क्यासब्याक सम्झौता भएको छ । टेक्नोलोजीको रिचार्जर एप प्रयोग गरी एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी क्युआर मार्फत् वान प्लस सेभेन मोडेलको मोबाइल फोन खरिद गर्दा १०% क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको हो । अरु बैंकको मोबाइल बैंकिङ मार्फत् उक्त मोबाइल फोन खरिद गर्दा भने ५% मात्रै क्यासब्याक पाइन्छ । यो योजना भदौ १८ देखि असोज १ गते सम्म सञ्चालन हुने जनाइएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष श्री किसन राईले हस्ताक्षर गरेका छन् । मुलुकभर २९७ शाखा कार्यालयहरु, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको एनआईशी एशिया करिब १८ लाख ग्राहकका साथ देशको सबैभन्दा ठूलो शाखासञ्जाल भएको बैंक हो ।

अख्तियारको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने ५ जना पक्राउ

काठमाडौं। अख्तियारको दुरुपयोग गरी व्यक्तिगत लाभलिने ५ जना अख्तियार दुरपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। घुस,नक्कली शैक्षिक प्रमाणपत्र र रकम हिनामिनाको आरोपमा अख्तियारले कन्चनपुर, कपिलवस्तु, रुपन्देही, नवलपरासी र पर्वत जिल्लाका एक एक जना विरुद्द बिशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले मुद्दा दायर गरेकामा सेवाग्राहीलाई भारतबाट ल्याएको सामन जफत गर्दिने भन्दै धम्काउँदै घुस माग्दै आएको आरोपमा रुपन्देहीका अनुसन्धान सहायक विरेन्द्र पाण्डे, शैक्षिक प्रमाणपत्र नक्क्ली भएको आरोपमा कन्चनपुरका निजी विद्यालयका शिक्षक नन्दलाल तिरुवा र कपिलवस्तुका प्रहरी नायब सुरेश बहादुर थापा, नवलपरासीको नाला निर्माण योजनामा सम्झौता अनुसारका काम नगरी रकम हिनामिनाको आरोपमा सब-ईन्जिनियर भिमदेव भट्टराई र अन्य व्यक्तीको नाममा रकम निकालेको आरोपमा पर्वत जिल्लाका गाउँ बिकास समितीका कार्यलय सचिव लील प्रसाद श्रेष्ठ परेका छन्।

म्युचुअल फण्डकाे प्रतिफल शेयरको भन्दा बढी, दोस्रो बजारमा किन्नेलाई झन् फाइदा

काठमाडौं । म्युचुअल फण्डहरुले यो वर्षको लागि धमाधम लाभांश घोषणा गर्न थालेका छन् । आर्थिक वर्ष २०७५/७६ को कारोबारबाट फण्डहरुले आफ्ना इकाईधनीहरुका लागि लाभांश घोषणा गर्न थालेका हुन् । हालसम्म ८ ओटा कम्पनी ७७ करोडको लाभांश घोषणा गरिसकेका छन् । घट्दो बजारसँगै घट्दो प्रति इकाई खुद मूल्य (एनएभी)का बाबजुद पनि म्युचुअल फण्डहरुको लाभांश दरभने उच्च देखिएको छ । एनएभी घटेसँगै बजार मूल्य समेत घटेर अधिकांश इकाईको मूल्य अंकित मूल्यभन्दा कम भएको अवस्थामा समेत ती फण्डहरुले दोहोरो अंकमा लाभांश वितरण गर्दा इकाईधनीहरु  लाभान्वित भएका छन् । हालसम्म बजारका ८ फण्डहरुले अघिल्लो वर्षको नाफाबाट लाभांश दिएका छन् जसमध्ये लक्ष्मी भ्यालु फण्ड र एनएमबी  सुलभ इन्भेष्टमेन्ट फण्डले १५/१५ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले ११ प्रतिशत, एनएमबी हाइब्रिड फण्ड, एनआईशी एशिया ग्रोथ फण्ड र सानिमा इक्विटी फण्डको १०/१० प्रतिशत, सिटिजन म्युचुअल फण्डको ७ प्रतिशत र एनआईबीएल समृद्धि फण्डले ६.५ प्रतिशत लाभांश दिने घोषणा गरेका हुन् । साधारणसभा गर्नुपर्दैन, तत्कालै नगद म्युचुअल फण्डहरुले घोषणा गरेको लाभांश वितरण गर्न अन्य कम्पनीहरुको जस्तो साधारणसभा गर्नुपर्दैन । लेखापरीक्षकले लेखापरीक्षण गरेको विवरणलाई नियामक नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेपछि तत्कालै इकाईधनीहरुको खातामा नगद पठाउन सकिन्छ । यसैले गर्दा इकाईधनीहरुले छोटो समयमै लाभांश पाउनसक्ने एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरे बताउँछन् । उनले म्युचुअल फण्डहरुले दशैंलाई लक्षित गरेर लाभांश घोषणा गरेको भन्दै हालसम्म लाभांश घोषणा गरेका फण्डहरुलाई दशैंसम्म लाभांश वितरण गर्न कुनै कठिनाई नहुने समेत बताए । शेयरमा भन्दा बढी फाइदा घट्दो बजारका बाबजुद पनि दोहोरो अंकको लाभांश दिएका फण्डहरुको लाभांशको स्थिति हेर्दा त्यस्ता इकाईहरुको प्रतिफल शेयरको भन्दा बढी देखिएको छ । अंकित मूल्यभन्दा बजारमूल्य कम भएको अवस्थामा दोस्रो बजारबाट इकाई किन्नेहरुको वास्तविक प्रतिफल तोकिएको प्रतिफलभन्दा धेरै हुने अवस्था देखिन्छ । हाल शेयर बजारका अधिकांश कम्पनीको मूल्य आम्दानी अनुपात समेत कम भएको अवस्थामा दोहोरो अंकमा लाभांश दिने इकाईहरुको वास्तविक लागत १० प्रतिशत भन्दा पनि बढी देखिएको हो ।