विकासन्युज

५० हजार पर्यटक भित्र्याउने अभियानसँगै शुरु भयो प्याराग्लाइडिङ उडान

गाईघाट । उदयपुर जिल्लाको बेलका नगरपालिकाले नगरपालिकाको बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्याराग्गाइडिङ उडान सञ्चालन गर्ने अभियान तीव्र रुपमा शुरु गरेको छ । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको बेलकाको मैनामैनीस्थित बोपताङ डाँडा र चम्पाकोट डाँडाबाट पटक–पटक प्याराग्लाइडिङ उडान परीक्षण गरेर सप्तकोशी बगरसम्म अवतरणको परीक्षण भएपछि अब यो क्षेत्रलाई एक नम्बर प्रदेशकै एक नम्बर प्याराग्लाइडिङ ‘हब’को रूपमा विकास गरेर वार्षिक ५० हजारसम्म पर्यटक भित्र्याउने गरी यो अभियान शुरु गरिएको बेलका नगरपालिकाले बताएको छ । यसभन्दा अघि पनि बेलका क्षेत्रका २०० भन्दा बढी युवा तथा पर्यटक उद्यमीले प्याराग्लाइडिङ उडानको तालिम लिइसकेको र बेलका मैनामैनीको बोपताङ र चम्पाकोटबाट पटक–पटक प्याराग्लाइडिङ उडान सफल भएपछि अब आगामी कात्तिक महिनादेखि नै स्थायी र व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सञ्चालनमा ल्याउन अहिले अन्तिम तयारी कार्य भइसकेको नगपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताएका छन् । बेलकाको मैनामैनीको चम्पाकोट र बोप्ताङबाट सप्तकोशीको बगरसम्म उडान गर्नका लागि चाहिने आवश्यक भौतिक पूर्वाधार र निर्माण व्यवस्थापनको कार्य अहिले भइरहेको र यसका लागि बेलका प्याराग्लाइडिङ सङ्घ, सुनसरी चतरा प्याराग्लाइडिङ, पोखरा प्याराग्लाइडिङ तथा एशियन प्याराग्लाइडिङ समूहको आर्थिक लगानी र बेलका नगरपालिकाको पहलमा प्याराग्लाइडिङ सञ्चालन गर्ने कार्य तयारी तीव्र रुपमा भइरहेको पनि नगरपालिका प्रमुख थापाले बताए । बेलकामा अहिले आर्थिक समृद्धि हासिल गर्न कृषि र पर्यटन दुई क्षेत्र महत्वपूर्ण रहेको र पर्यटनका लागि सप्तकोशीमा बोटिङ र प्याराग्लाइडिङ महत्वपपूर्ण रहेको कारण पनि अब आगामी कात्तिक महिनादेखि पोखरामा जस्तै बेलकामा पनि व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान शुरु गर्ने उनले बताएका छन् । प्याराग्गाइडिङ र सप्तकोशीमा बोटिङबाट वार्षिक ५० हजारभन्दा बढी पर्यटक बेलकामा भित्रन सक्ने नगरपालिकाको अनुमान छ । प्याराग्लाइडिङ उडानका लागि पूर्वाधार तयार गर्न अहिले मैनामैनीको चम्पाकोटसम्म सडक व्यवस्थापन तथा पर्यटकको लागि खाने बस्नेसहितको होटल तथा घरबाससमेतको व्यवस्थापन कार्य भइरहेको नगरपालिकाले बताएको छ । मैनामैनीको बोपताङ तथा चम्कोट डाँडासम्म पुगेर पर्यटकले भोजपुर धनकुटा, खोटाङ तथा सुनसरी र सप्तरी जिल्लाहसहित उत्तरपट्टिको हिमालय अवलोकन गर्दै प्याराग्लाइडिङबाट उडेर मधेशको सप्तकोशीसम्म झर्न सक्ने र यसले पर्यटकलाई आकर्षण गर्नेसमेत बेलकाका पर्यटन व्यवसायी प्रवीन राई बताउँछन् । भारतको दार्जिलिङ, विहार, पश्चिम बङ्गाल, भूटान तथा नेपालको एक नम्बर प्रदेशका धेरै पर्यटक यसक्षेत्रमा प्याराग्लाइडिङ उडानका लागि आकर्षित हुने नगरपालिका प्रमुख थापाले बताए । प्याराग्लाइडिङ सञ्चालनबाट बेलका क्षेत्रका २ सय ५० युवाले प्रत्यक्ष रोजगारी पाउने, होटल, घरबास सञ्चालन हुँदा स्थानीयसमेत स्वरोजगार बन्ने र यसक्षेत्रको सांस्कृतिक तथा भौगोलिक अवस्थाको प्रचारप्रचार हुने अपेक्षा नगरपालिकाले गरेको छ । रासस

नेपाल रेमिट र रेमिट्ली बिच रेमिट्यान्स सम्झौता, युरोपेली राष्ट्रमा सेवा विस्तार

काठमाडौं। नेपाल रेमिट इन्टरनेशनल प्रा लि. ले अमेरिका, बेलायत र युरोप लगायतका मुलुकहरुमा थप सेवा बिस्तार गरेको छ। अब उक्त स्थानमा रहेका नेपालीहरुले रेमिट्लीको मोबाईल एप्लिकेसन डाउनलोड गरी सजिलै आफुले चाहेको आफन्तलाई आफ्नै मोबाईल बाट पैसा पठाउन र नेपालमा नेपाल रेमिट सँग आबद्द बैंक तथा ३००० भन्दा बढी पेमेन्ट काउन्टरहरु बाट सजिलै निकाल्न सक्नेछन्। रेमिट्लीको उच्च ब्यबस्थापनले नेपालमा नेपाल रेमिटसँग सम्झौता गर्न र आपसी सहकार्यमा आफ्नो सेवा बिस्तार गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा नयाँ र उत्कृष्ट किसिम का सेवाहरु थप गर्दै लैजाने जानकारी दिएका छन। नेपाल रेमिट ले बिगत १४ बर्ष देखी बिश्वभरि छरिएर रहेका आफ्ना शहयात्रीहरु एक्स्प्रेस मनी, वर्ल्ड रेमिट , ईन्स्ट्यान्ट क्यास, स्पिड रेमिट, क्यास एक्स्प्रेस, अलनसरी एक्स्चेन्ज, मनी ट्रान्स, स्मल वर्ल्ड, स्मार्ट मनी, सिग्यु, मनी ट्रान्स, युनीस्ट्रिम र नेपाल भरी छरिएर रहेका ३००० बढी एजेन्ट हरु बाट सेवा दिदै आएको छ, भबिस्यमा अझै सहज र उत्कृष्ट सेवा दिन निरन्तर लागि परिरहने कम्पनीका प्रमुख कार्यकरी अधिकृत रितेश मित्तलले जानकारी दिए।

एटीएम ह्याकको रिपोर्ट आउँदै, को को होलान् दोषी ?

काठमाडौं । चिनियाँ ह्याकरहरूले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी करोडौं रुपैयाँ चोरी गरेको घटना छानविन गर्न बनेको कमिटीले केही बेरमा राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीबि नेपाललाई प्रतिवेदन बुझाउने भएको छ । ह्याकरहरूले विभिन्न बैंकको नक्कली भिसा कार्ड प्रयोग गरी एटीएमबाट पैसा निकालेका थिए । सत्य तथ्य सूचना पत्ता लगाउन र आगामी दिनमा सूचना प्रविधिमा बलियो बन्न गर्नु पर्ने उपायहरूको खोजी समेत प्रतिवेदनमा उल्लेख गरिएको हुनेछ । प्रतिवेदनले यस घटनासँग सम्बन्धित दोषीहरूलाई पहिचान गर्नेछ । राष्ट्र बैंकका भुुक्तानी सेवा प्रणालीका कार्यकारी निर्देशन बमबहादुर मिश्रको संयोजकमा ५ सदस्यीय समिति बनेको थियो । समितिले आइतबारदेखि हिजो मंगलबारसम्म यस सम्बन्धि अध्ययन गरी रिपोर्ट बुझाउन लागेको हो । गत शनिबार ५ जना चिनियाँ लुटेराहरुलाई पक्राउ गरी प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार मध्यरातमा दरबारमार्ग स्थित नबिल बैंकको एटिएमबाट अनाधिकृत रुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेपछि थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेको थियो । पक्राउ परेकासँग प्रहरीले एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ ।

मालढुङ्गा–बेनी सडक दैनिक साढे सात घण्टा बन्द

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँंग जोडने जिल्लाको मालढुंगा –बेनी सडक दैनिक साढे सात घण्टा बन्द गरिने भएको छ । यही भदौ १९ गतेदेखि पुरानो समयतालिका परिवर्तन गरी दैनिक साढे सात घण्टा बन्द गरिने भएको हो । यसअघि आठ घण्टा बन्द गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सर्वपक्षीय बैठकले सडक बन्द हुने समयतालिका परिर्वतन गर्दै दैनिक साढे सात घण्टा मात्रै सडक बन्द गर्ने निर्णय गरेको हो । यही भदौ १९ गतेदेखि २६ गतेसम्म बिहान ७ः०० देखि ९ः०० बजे र त्यसपछि बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म सडक बन्द गरिनेछ । दिउँसो २ः०० बजेदेखि अपराह्न ४ः३० बजेसम्म कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक बन्द हुनेछ । यसअघि यही भदौ ५ गतेदेखि बिहान १०ः०० देखि दिउँसो ४ः०० बजेसम्म सडक बन्द गरिँदै आएकामा दिउँसो १ः०० देखि २ः०० बजेसम्म एक घण्टा सडक सञ्चालन गर्ने निर्णय भएको थियो । अदुवाबारीदेखि बागलुङ नगरपालिकाको बाङगेचौर जोड्ने झोलुङ्गे पुल निर्माणका क्रममा सडक बन्द गरिँदै आएको छ । कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पुलको पर्वत खण्डमा लठो तान्नका लागि सहायक जग (एङ्कर ब्लक) निर्माण गर्नुपर्ने हुँदा मालढुङ्गा–बेनी खण्डको सडक बन्द गर्ने निर्णय गरिएको निर्माण कम्पनी थानी/बिएलटी/हिमशिखर जेभीका नरहरि खड्काले जानकारी दिएका छन् । दैनिक साढे सात घण्टा सडक बन्द हुने भएपछि पर्वतको मालढुङ्गा, जलजला हुँदै बेनी म्याग्दी, मुस्ताङ आवतजावत गर्ने सवारीसाधनलाई बागलुङ बजार, म्याग्दीको रत्नेचौरको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । साना र हल्का सवारीसाधन सहस्रधाराबाट पाङ हुँदै दमुवाखोलासम्मको वैकल्पिक सडकसमेत प्रयोग गर्न सकिनेछ । यो सडकको धेरै भाग कच्ची भएका कारण ठूला सवारीसाधन चल्न सक्दैनन् । थानी/बिएलटी/हिमशिखर कन्ट्रक्सनले निर्माण जिम्मा लिएको पुलको अहिले फाउण्डेशनको काम भइरहेको छ । यो झोलुङ्गे पुल हालसम्मकै सबैभन्दा लामो ५६७ मिटर र १३८ मिटर उचाइको हुनेछ । रासस

शाक्यद्वारा आश्रममा दुई लाखको अक्षयकोष स्थापना

बागलुङ । बागलुङ बजार निवासी समाजसेवी कृष्णलाल शाक्यले मानवसेवा आश्रममा रु दुई लाखको अक्षयकोष स्थापना गरेका छन् । शाक्यले आफ्ना स्व. हजुरबुबा जनकलाल र बुबा रामलालको स्मृतिमा ‘मानव सेवा कोष’ स्थापना गरेका हुन् । सहयोगपेक्षी व्यक्तिको सेवाका लागि कोष स्थापना गरेको शाक्यले बताए । कोषबाट वार्षिक आउने ब्याज रकम आश्रित व्यक्तिहरुको सेवामा खर्च गरिने आश्रमका संयोजक सुमिरा लामाले जानकारी दिएका छन् । आश्रम दान र सहयोगकै भरमा चल्दै आएको छ । आश्रममा अहिले २८ जना सहयोगपेक्षी नागरिकले आश्रय लिइरहेका छन् । मनोरोग, अपाङ्गता र गरिबीजस्ता कारणले सहराविहीन बनेका व्यक्ति आश्रममा छन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले तीन वर्षअघि बागलुङमा आश्रम खोलिएको हो । आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवा पनि प्रदान गरिँदै आएको छ । रासस

सुन तोलामा १ हजारले बढ्यो, ७३ हजार ५ सयमा कारोबार

काठमाडौं। सुनको मूल्य आज फेरि प्रतितोला १ हजार ले वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासङघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७३ हजार ५०० पुगेको छ । मंगलबार छापावाला सुन प्रतितोला रु ७२ हजार ५ सयमा खरिदबिक्री भएको थियो। त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार ले वृद्धि भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । यसअघि तेजाबी सुन प्रतितोला रु ७२ हजार २०० मा कारोबार भएको थियो । सुनको मूल्य वृद्धि भएसँगै चाँदीको मूल्यमा पनि असामान्य वृद्धि भएको देखिएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला रु ४५ ले वृद्धिभई ९४० पुगेको छ । साउन महिनाको शुरुवातदेखि नै नेपाली बजारमा सुनको मूल्य उकालो लाग्न थालेको हो । साउन महिनामा मात्रै सुनको मूल्य करिब रु सात हजार ५०० ले वृद्धि भएको थियो । बढ्दो क्रममा रहेको चीन–अमेरिका व्यापार युद्ध, अमेरिकी केन्द्रीय बैङ्कद्वारा ब्याजदरमा कटौतीलगायत कारणबाट विश्वबजारमा सुनको मूल्य प्रभावित भइरहेको छ । पछिल्लो समय अमेरिका र चीनले एकअर्का देशका उत्पादनमा थप कर वृद्धिको घोषणागरेसँगै सुनको मूल्य झन् प्रभावित हुने आकलन गरिएको छ ।

तातोपानी नाका सञ्चालनमा आएसँगै बढ्यो अवैध सामग्रीको ओसारपसार

मेलम्ची । चीन र नेपालबीचको ठूलो व्यापारिक तातोपानी नाकामा तस्कर सक्रिय हुन थालेका छन् । चार वर्षपछि खुलेको नाकामा सीमाक्षेत्रको बाटो भएर तस्कर सक्रिय हुन थालेको पाइएको छ । भूकम्पपछि बन्द भएका बेलामा चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले नाका खोल्न आनकानी गर्दै आएको थियो । अहिले नाका खुलेको दुई महिना बित्न नपाउँदै नाकाबाट अवैध सामग्रीको ओसारपसारको प्रयास भएको छ । केही दिनयता मात्रै नेपालको बाटो हुँदै तातोपानी नाकाबाट चीन लैजान लागिएको ८३ किलो रक्तचन्दनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियोे । रक्तचन्दन र दुई भरियासहित काठमाडौँको बौद्धबाट प्रहरीले पक्राउ गरेको हो । केही साताअघि पनि तातोपानी नाका हुँदै राजधानी काठमाडौँ भित्र्याउन लागेको अवैध खाद्य सामग्री बरामद गरिएको थियो । लोड गरेर फिर्ता आउने क्रममा मितेरी पुलबाट अवैध मादक पदार्थसहित खाद्य सामग्रीको बोलेरो गाडी पक्राउ परेको हो। पक्राउ परेको बोलेरो र चालक रु एक लाख ८६५ धरौटीमा रिहा भएका थिए । तर, अवैध सामग्री पक्राउ परे पनि बाहिर कुनै सूचना आएको थिएन । पक्राउ परेका चालक रिहा भइसकेपछि मात्रै रहस्य बाहिर आएको थियो । सुरक्षाको दृष्टिले चुस्त पारेको हुनाले अहिलेसम्म कुनै अवैध गतिविधि नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले दाबी गरेका छन् । “खासाबाट लोड भएर आएका सबै सामान बन्दरगाहमा आएर जाँच हुन्छ, यताबाट उता प्रवेश नै कठिन छ”, प्रनाउ काफ्लेले भने, “त्यसैले अहिले कुनै अवैध सामग्री ओसारपसार हुनसकेको छैन ।” अवैध व्यापार अवस्था यस्तो थियो सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पअघि अवैध व्यापारमा चर्चित थियो । सुन, रक्तचन्दनलगायतका अन्य बहुमूल्य सामग्री ओसारपसारको केन्द्र थियो । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिने सुन, रक्तचन्दन अरनिको राजमार्ग हुँदै काठमाडौँ प्रवेश गर्न लाग्दा धेरैपटक प्रहरीले पक्राउ गरेको थियो । केही वर्षअघि रक्तचन्दनको अवैध ओसारपसार हुँदा प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल, दोलालघाट, उग्रचण्डीनाला, धुलिखेललगायतका क्षेत्रबाट विभिन्न व्यक्तिलाई पक्राउ गरेको थियो । यता सिन्धुपाल्चोकका विभिन्न ठाउँबाट पनि रक्तचन्दन बरामद हुनुका साथै तस्करसमेत समातिएका थिए । तातोपानी नाका बन्द भएपछि तस्कर व्यापारिक केन्द्र परिर्वतन गरेको पाइन्छ । तातोपानी नाका बन्द भएपछि अवैध सुन रसुवाको केरुङ नाकाबाट समेत पक्राउ परेको थियो । तस्करले विभिन्न ठाउँबाट धेरै संयन्त्र अपनाएर तस्कारी गर्दै आएका थिए । यसरी, तातोपानी नाकाबाट पहिलेको जस्तो अवैध व्यापार नियन्त्रण गर्नका लागि चिनियाँ पक्षले नेपाली टोलीसँगको वार्तामा पटक–पटक भन्दै आएको थियो । नेपाली सरकारी टोलीले सुरक्षा प्रत्याभूत गराएपछि मात्रै चिनियाँ टोली नाका सञ्चालनमा तत्पर भएको थियो । गृहमन्त्री रामबहादुर थापाले नाका सञ्चालनको एक साता अगाडि नाकाको सुरक्षा अवस्था चुस्त राख्न निर्देशन दिएका थिए । सवारीसाधन र रक्तचन्दन अलपत्र तातोपानी नाकाबाट बरामद भएका रक्तचन्दन र सवारीसाधन अहिले अलपत्र अवस्थामा थन्किएर बसेका छन् । बरामद भएका रक्तचन्दन सड्ने अवस्थामा पुगेका छन् भने सवारीसाधन कवाड बनिसकेका छन् । अवैधरूपमा भित्र्याउने क्रममा प्रहरीले बरामद गरेको करिब ४० हजार किलोभन्दा बढी रक्तचन्दन कुहिने अवस्थामा छ । चीनको खासा लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । बरामद भएका सामग्रीको विषयमा कानून नहुँदा के गर्ने भन्नेमा अन्योलता छाएकै कारणले अलपत्र परेको हो । जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा विसं २०६२ देखि बरामद गरिएको रक्तचन्दन र कवाड बनिसकेका सवारी थन्किएर बसेका छन् । विसं २०६२ मा बाह्रबिसे प्रहरीले बरामद गरेको सात हजार ८०० किलो, २०६४ मा जिल्ला प्रहरी कार्यालयले बरामद गरेको छ हजार ६०० किलो, २०६४ मै विशेष अनुगमन टोलीले बरामद गरेको आठ हजार २०० किलोलगायत रक्तचन्दन अपलपत्र अवस्थामा छ । सीमा क्षेत्रका बासिन्दाको आयआर्जनमा टेवा नाका सञ्चालन भएपछि तातोपानी नाकाको व्यापारमा वृद्धि भएको छ । गत जेठ १५ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको नाकामा अहिले विस्तारै व्यापारमा वृद्धि हँुदै आएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिएका छन् । नाकामा व्यापार वृद्धि भएपछि राजश्व सङ्कलनमा समेत वृद्धि भएको उनले बताए । नाका सञ्चालन भएपछि करिब डेढ महिनाको अन्तरालमा रु ५३ लाख मात्र राजश्व सङ्कलन भएको थियो । यसअघि यस नाकाबाट दैनिक करौडौँ राजश्व सङ्कलन हुँदै आएको थियो । रासस

महाकाली भन्सार नाकाबाट निर्यात शून्य, राजश्वमा गिरावट

बैतडी । जिल्लास्थित नेपाल–भारत सीमानाका महाकाली भन्सार कार्यालय झुलाघाटबाट गत आर्थिक वर्षमा रु ५५ करोडको सामग्री आयात भएको भए पनि निर्यात भने शून्य रहेको छ । भन्सार कार्यालयबाट भारततर्फ केही पनि निकासी नभएको महाकाली भन्सार कार्यालयले जनाएको छ । उत्पादनको कमी हुनु, व्यावसायिक उत्पादन नहुनु र मोटरेबल पुल नभएका कारणले निर्यात हुन नसकेको महाकाली भन्सार कार्यालयका प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिएका छन् । कृषिजन्य उत्पादनमा कमी आउनु, कृषि क्षेत्रलाई राज्यले उपेक्षा गरेका कारण निर्यात हुने खालका सामग्री नै उत्पादन हुन नसकेको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खीमानन्द भट्टले जानकारी दिएका हुन् । रिठा, भटमास र घ्यू निर्यात हुने भए पनि पछिल्लो समयमा यो पनि रोकिएको छ । लक्ष्यअनुसार राजश्व सङ्कलन भएन पछिल्ला वर्षमा भन्सारले लक्ष्यअनुसारको राजश्व सङ्कलन गर्न सकिरहेको छैन । भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा रहेको भन्सार कार्यालयले तोकेको लक्ष्यअनुसार गत आर्थिक वर्षमा पनि राजश्व सङ्कलन गर्न सकेको छैन । गत आवमा रु एक करोड नौ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले रु ८९ लाख ७७ हजार मात्रै राजश्व सङ्कलन गरेको छ । अघिल्लो आव २०७४/७५ मा रु एक करोड १९ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ७१ लाख ७७ हजार मात्रै राजश्व सङ्कलन गर्न सफल भएको थियो । तर आव २०७३÷७४ मा रु एक करोड ४४ लाख र आव २०७२/७३ मा रु एक करोड ४० लाख राजश्व सङ्कलन भएको थियो । मोटरेबल पुल निर्माणका लागि अनशनकोे तयारी भारतसँग सीमा जोडिएको झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि दबाब दिन रिले अनशन बस्ने तयारी गरिएको छ । झुलाघाट मोटरेबल पुल निर्माण सङ्घर्ष समितिको गोठलापानीमा बसेको बैठकले यही भदौ २२ गतेदेखि अनिश्चितकालीन रिले अनशन बस्ने निर्णय गरेको सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिएका छन् । झुलाघाट नाकामा पक्की पुल नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाको अर्थतन्त्रमा व्यापक असर परेकाले पुल निर्माणका लागि सरकारलाई दबाब दिन रिले अनशन बस्ने निर्णय भएको हो । भदौ २२ गतेदेखि बिहान १०ः०० बजेबाट शुरु भएको अनशन प्रत्येक दिन साँझ ५ः०० बजेसम्म चल्नेछ । अनशनमा उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्था र सङ्घर्ष समितिको सहभागिता रहनेछ । रासस