अस्पतालमा ज्वरोका बिरामी हालसम्मकै उच्च
चितवन । भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए । तीमध्ये धेरैलाई डेङ्गु र केहीलाई इन्फ्लुएन्जा भएको पौडेलले जानकारी दिएका छन् । अस्पतालका मेडिकल विभाग प्रमुख डा. प्रकाश खतिवडाका अनुसार विभागमा पाँच जना मात्र विशेषज्ञ चिकित्सक रहेका छन् । नयाँ ९०० र पुराना ३०० भन्दा बढी बिरामी अस्पताल आएपछि चिकित्सकले सबै बिरामी हेर्न नसकेको उनले जानकारी दिए । बाँकी रहेका करिब १०० लाई आज पहिलो प्राथमिकतामा राखेर परीक्षण गरिएको उनले बताएका छन् । अहिलेको चिकित्सकको सङ्ख्याले यो चाप थेग्न नसक्ने खतिवडाको भनाइ छ । सामान्य समयमा ४५० हाराहारी नयाँ र १५० पुराना हेर्दै आएकामा एकाएक दोब्बरभन्दा बढी बिरामी थपिएको तर चिकित्सक उही भएपछि अस्पतालमा धान्न मुस्किल परेको खतिवडाको भनाइ छ । चाप निकै बढेका कारण अस्पतालभित्र ‘फिवर क्लिनिक’ सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उनले बताए । खतिवडाका अनुसार अस्पतालभित्रका अन्तरङ्ग सेवाका मेडिकल वार्ड र क्याबिनहरु पनि ज्वरोका बिरामीले भरिएका छन् । करिब १२० ज्वरोका बिरामी अस्पतालमा भर्ना भएको बताइएको छ । जिल्लाका दुई मेडिकल कलेज र २० निजी अस्पताल पनि ज्वरोका बिरामीले भरिएका छन् । स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार साउन यता आइतबार साँझसम्म तीन हजार ४०० जनाको डेङ्गु परीक्षण गरिएकामा एक हजार २०६ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गुकै कारण दुई जनाको मृत्यु भइसकेको छ । रासस
अदालतको आदेशसँगै कम्प्लेक्स निर्माणमा गरिएको अवरोध हट्यो
राँझा । अदालतको आदेशसँगै कोहलपुर बसपार्कमा आधुनिक शपिङ कम्प्लेक्स निर्माणका क्रममा गरिएको अवरोध हटेको छ । कोहलपुरका टेकराज आचार्यलगायत १७ जनाले अतिक्रमण हटाएर त्यस क्षेत्रमा आधुनिक शपिङ कम्प्लेक्स निर्माण अविलम्ब शुरु गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा तुलसीपुरस्थित उच्च अदालतको नेपालगन्ज इजलासले मागबमोजिम परमादेश जारी गरेकाले यसअघि गरिएका अवरोध हटाउन मार्गप्रशस्त भएको हो । जमिन अतिक्रमणका कारण लामो समयदेखि आधुनिक शपिङ कम्प्लेक्स निर्माण हुन सकेको थिएन । उक्त इजलासका न्यायाधीशद्वय ऋषिराम अधिकारी र गोपाल डाँगीको संयुक्त इजलासले मागबमोजिम बसपार्क क्षेत्रमा रहेका अतिक्रमण हटाएर शपिङ कम्पलेक्स निर्माणका लागि स्थानीय सरकार र स्थानीय प्रशासनका नाममा परमादेश जारी गरेको कानून व्यवसायी लोकबहादुर शाहले जानकारी दिएका हुन् । उक्त आदेशमा कोहलपुर नगर विकास समितिको जग्गामा भएको अतिक्रमणसमेत हटाउन भनिएको छ । विगत लामो समयदेखि अस्थायी बसपार्कका रुपमा रहँदै आएको कोहलपुर बसपार्क कालोपत्र गर्ने क्रममा त्यस क्षेत्रमा बस्दै आएका व्यवसायीहरु हट्न नमानेपछि विवाद भएको थियो । उक्त समितिले उपलब्ध गराएको जग्गामा ७२ व्यवसायीले टहरा निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएकामा समितिले २०७५ साउनदेखि व्यवसायीसँगको सम्झौता रद्द गरी त्यस क्षेत्रमा आधुनिक शपिङ कम्प्लेक्स निर्माण गर्ने निर्णय गरेको थियो तर लामो लमयदेखि बस्दै आएको स्थानबाट आफूहरुलाई विस्थापित गर्न खोजिएको भन्दै त्यस क्षेत्रका केही व्यवसायीहरुले जग्गा नछाड्ने अडान लिएका थिए । शपिङ कम्प्लेक्स निर्माणका लागि शहरी विकास मन्त्रालयले डिपिआरसमेत तयार गरिसकेकाले व्यवसायीहरुको अवरोधका कारण काम अगाडि बढ्न सकेको थिएन । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले फैसलाको पूर्ण पाठ प्राप्त भएपछि सोहीअनुसार अगाडि बढ्ने जानकारी दिएका छन् । रासस
सिर्जना फाईनान्सलाई लक्ष्मी मा.वि. को सम्मान
काठमाडौं। ४० औं शिक्षा दिवशको अवसरमा मोरङको उर्लावारी न.पा. ०८ अवस्थित लक्ष्मी माध्यमिक विद्यालयले सिर्जना फाईनान्सलाई सम्मान गरेको छ । कार्यक्रममा सिर्जना फाईनान्स लि.को तर्फबाट संचालक सुवास आचार्य तथा पथरी शाखाका शाखा प्रमुख सिताराम दरालको उपस्थिती रहेको थियो । विज्ञान प्रयोगशालाको समेत उद्घाटन रहेको कार्यक्रममा बोल्दै संचालक आचार्यले सिर्जना फाईनान्सले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप ब्यवस्थापन, वातावरण संरक्षण, साँस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, वित्तीय साक्षरता जस्ता कार्यक्रममा संस्थाले प्रत्यक्ष्य सहयोग गर्दै आइरहेको बताए । सिर्जना फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त विद्यालयलाई १०० थान रंगीन जस्तापाता वितरण गरेको थियो ।
काठमाडौं आइपुगे चीनका विदेशमन्त्री याङ यी
मित्रराष्ट चीनका विदेशमन्त्री याङ यी तीन दिने नेपाल भ्रमणका क्रममा आइतबार साँझ काठमाडौं आइपुगेका छन् । चार वर्षपछि काठमाडौं आएका वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री मा.डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले भव्य स्वागत गरेका थिए ।
नेपालको होटल व्यवसायमा विदेशीको मोह, ५ अर्बले लगानी प्रतिवद्धतामा वृद्धि
काठमाडौं। पछिल्लो समय नेपालमा होटल व्यवसायमा लगानी गर्न विदेशी लगानीकर्ताहरू आकर्षित भएका छन् । होटल व्यवसायमा लगानीकर्ताहरुको आकर्षण बढेसँग नेपालमा साना देखि ठूला होटल निर्माण तथा सञ्चालन भइरहेको सरकारी तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा होटल क्षेत्रमा रोजगारी र लगानी प्रतिवद्धतामा वृद्धि भएको छ। गत आर्थिक वर्षमा होटल व्यवसायमा करिब ५ अर्बले लगानी प्रतिवद्धतामा वृद्धि भएको छ। यदि सो प्रतिवद्धता अनुसारको होटल संचालमा आए थप ४ सयले रोजगारी पाउने छन्। लागनी बढे पनि होटलको प्रतिवद्धता संख्यामा भने कमी आएको छ । लगानी थपिएपनि वर्षको तुलनामा गत वर्ष १० वटा कम होटल प्रतिद्धता आएको हो। गत आर्थिक वर्षमा उद्योग विभागमा दर्ता भएका ६९ वटा होटलमा ४० वटा विदेशी होटल रहेका छन्। उक्त होटलहरुले ९ अर्ब ३० करोड ६२ लाख ३६ हजार ८८४ रुपैयाँ लगानी गर्ने प्रतिवद्धतासहित अनुमति लिएको विभागले जनाएको छ। सो लगानीमध्ये सबैभन्दा धेरै चीनको रहेको छ । चीनले मात्रै ९ वटा होटल दर्ताअनुमति लिएको छ। यस्तै भारत, कोरिया, अमेरिकाले ३-३ वटा होटल दर्ताअनुमति लिएका छन् । क्यानडा, जर्मन र जापान लगाएतका देशले पनि नेपालमा गत आर्थिक वर्षमा होटल दर्ता गर्ने प्रतिबद्धतासहित अनुमति लिएका छन् । नेपाली र विदेशीको संयुक्त लगानीमा १० वटा होटल दतागर्ने प्रतिवद्धतासहित अनुमति लिएको उद्योग विभागको तथ्यांकमा उल्लेख गरिएको छ। नेपालीको लगानीमा भने १९ वटा मात्रै होटल दर्तागर्ने प्रतिबद्धतासहित अनुमति लिएका छन। गत आर्थिक वर्षमा लगानी प्रतिबद्धता आएका होटलहरुले २ हजार एक सय ६८ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेका छन् । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८३ करोड ३६ लाख ४१ हजारको लगानी प्रतिवद्धतामा ८४ वटा होटल दर्ता गर्न प्रतिवद्धता आएको थियो भने ५० वटा विदेशी, १९ वटा स्वदेशी र १५ वटा संयुक्त लगानी गर्ने प्रतिवद्धता जनाएका थिए। विगतका वर्षको तुलनामा अहिले स्वदेशी र विदेशी लगानीकर्ताबीच होटलमा लगानी गर्ने संख्यामा वृद्धि हुँदै गएको छ। देशमा राजनीतिक स्थायित्व कायम भएसँगै अहिले पर्यटन क्षेत्रको विकासका लागि महत्वतपूर्ण आधारका रूपमा रहेको होटल क्षेत्रको पुर्वाधारले सकारात्मक छलाङ मारेको छ। विभागको तथ्यांङ अनुसार नेपालमा साना ठूला गरी १ हजार ४० वटा होटल संचालनमा रहेका छन्। हाल होटल व्यवसायमा ६६ अर्ब ८१ करोड ८५ लाख ९३ हजार ६७३ रुपैयाँ लगानी रहेको छ भने ४२ हजार ८१० जनालाई रोजगारी पाएका छन्। कहाँ कहाँ छन ५ तारे होटल ? नेपालमा हाल १४ वटा पाँच तारे होटल रहेका छन्। कुल संख्या मध्ये प्रदेश नम्बर १, २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पाँच तारे होटल छैनन् । यस्तै प्रदेश नम्वर ३ मा ९, गण्डकी प्रदेशमा २ र ५ नम्बर प्रदेशमा ३ वटा रहेका छन् । उद्योग विभागका सूचना अधिकारी वनोद खड्का भने सरकारले सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएकोले पनि होटल व्यवसायमा लगानी आर्कषण रहेको बताए । सरकारले गरेको लगानी सम्मेलनले पनि विदेशीे लगानीकर्ताले नेपालको होटल क्षेत्रमा लगानी प्रतिवद्धता बढउँदै गएको बताए। होटल एशोसिएसन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाहले भारत चीनबीचमा नेपाल परेको विदेशीहरुले नेपालको होटेलको क्षेत्रमा विदेशीले लगानी वृद्धि हुँदै गएको बताए। नेपालमा सडक र एयरपोटको विकास नभएको बताए । नेपाल राम्रो वातावरण भएकाले पनि होटल व्यवसायमा मनोवलसमेत वृद्धि भएको बताए।
आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ
ओखलढुंगा । आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । लुइँटेललाई आइबार साँझ सदरमुकामबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिएका छन् । आफूलाई पटक–पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएपछि बाध्य भएर सहकर्मीविरुद्ध उजुरी गरेको पीडित थापाले बताए । गाउँपालिकामा कर्मचारी र अन्य जनप्रतिनिधिले असुरक्षा महसुस गरेकाले सुरक्षाका लागि कानूनी उपचार खोजेको उनको भनाइ छ । रासस
पाँच दिनदेखि मालपोत कार्यालयको सेवा अवरुद्ध
बैतडी । मालपोत कार्यालय बैतडीले प्रदान गर्ने सम्पूर्ण सेवा पाँच दिनदेखि अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । यही भदौ १९ गतेदेखि मालपोल कार्यालयका सम्पूर्ण सेवा अवरुद्ध भएका छन् । कार्यालय सार्ने काम भइरहेकाले सेवा अवरुद्ध भएको मालपोत कार्यालयले जनाएको छ । कार्यालयले यसअघि गोठलापानीबाट सेवा दिइरहेको भए पनि गढीमा आफ्नै नवनिर्मित निर्माण सम्पन्न भएकाले सोही भवनमा कार्यालय सारिन लागिएको सूचना अधिकारी अनिल चन्दले जानकारी दिएका छन् । आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गर्ने र त्यसका लागि कार्यालयको सरसामानसहित आवश्यक उपकरण जडान गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको उनले बताए । नयाँ भवनमा कार्यालय सार्नका लागि कार्यालयले एक सूचना प्रकाशन गरेर भदौ १९ देखि २४ गतेसम्म आफ्ना सम्पूर्ण सेवा अवरुद्ध हुने जानकारी दिएको छ । मालपोत कार्यालयले दिने सेवाहरु भदौ २५ गतेबाट नियमित रूपमा गढीबाट सञ्चालन हुने कार्यालय प्रमुख गोविन्दप्रसाद लेखकले जानकारी दिएका छन् । रासस
फोर्स मोटर्सको शोरुम हेटौंडामा, ग्राहकलाई ४ लाख सम्मको छुट
काठमाडौं । हिमालय अर्गनाईजेशन पोखरा अन्तर्गतको फोर्स मोटर्सको शोरुम हेटौंडाको सानोपोखारामा शुभारम्भ भएको छ । शोरुमको आईतबार एक कार्यक्रमका विच मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुब थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रदेश नं.३ को राजधानी हेटौंडामा साना सार्वजनिक सवारीहरुको माग उच्च रहेको र स्थानीयमा फोर्स गाडीको माग बढेकोले फोर्सको शाखा हेटौंडामा विस्तार गरिएको बताइएको छ । कम्पनीले महान् चाड बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै आइतबारबाटै ग्राहक वर्गलाई विशेष छुटको योजना ल्याएको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का अध्यक्ष ध्रुब थापाले बताएका छन् । कम्पनीका अनुसार दशै तिहारमा फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकहरुले अधिकतम ४ लाख सम्मको छुट तथा विषेश उपहारहरु प्राप्त गर्न सक्ने बताइएको छ । फोर्स ब्राण्डका गाडीहरु बढी टिकाउ हुने, ईन्धन किफायती र आरामदायीको लागी प्रख्यात छन् । यो गाडीहरुमा ३ वर्ष वा ३ लाख कि.मी सम्मको वारेन्टी सुविधाका साथै ६ पटक सम्म निशुल्क सर्भिस सुविधा पनि उपलब्ध रहेको बताइएको छ । बिगत ५ बर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आईरहेको छ । फोर्स मोटर्सले नेपालमै सबै भन्दा बढी सिट क्षमता भएको १४ सिटे ट्रयाक्स क्रुजर जिप बिक्री गर्दै आईरहेको छ भने कार्गो किङ्ग पिकप , ट्राभलर बस, मिनि बसहरु तथा एम्बुलेन्स पनि नेपाली बजारमा उपलब्ध गराउदै आएको छ । यस गाडीको काठमाण्डौंको गैरीधारामा र पोखराको चाउथेमा आफ्नै शोरुम रहेको छ । देशभर २२ वटा डिलर तथा सर्भिस नेटवर्कबाट फोर्स विक्री भईरहेको प्रवन्ध निर्देशक निरन के.सीले बताए । विक्री संगै विक्री पछिको सेवाका साथै सहज रुपमा स्पेयर पार्टसहरुको उपलब्धतालाई आयाम इन्टरकन्टिनेन्टलले प्रमुख प्राथमिकतामा राखेको जनाएको छ ।