त्रिभुवन विमानस्थलबाट डेढ किलो सुनसहित ३ जना पक्राउ
काठमाडौँ । कतारबाट काठमाडौँ ओर्लिएका नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित पक्राउ परेका छन्। हिमालय एयरलाइन्समार्फत काठमाडौं आएका तनहुँका होमबहादुर गुरुङ डेढ किलो सुनसहित पक्राउ परेका हुन् । गुरुङ मसला पिँध्ने ओखलमा लुकाएर डेढ किलो सुन ल्याएको अवस्थामा पक्राउ परेका हुन् । उक्त सुन लिन विमानस्थल पुगेका मोरङ पथरीका अनिल लुइँटेल र भोजराज घिमिरे पनि पक्राउ परेको प्रहरी श्रोतले जानकारी दिएको छ ।
महुली लघुवित्तले मर्जरका लागि बनायो तीन सदस्यीय समिति, तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लि.ले प्राप्ती गर्ने, गाभ्ने वा गाभिने कार्यका लागि ३ सदस्यीय मर्जर उपसमिति गठन गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सञ्चालक भानुभक्त निरौला संयोजक र सञ्चालक केशवप्रसाद भण्डारी तथा प्रबन्ध सञ्चालक रोशनकुमार मंगर सदस्य रहेको मर्जर उपसमिति गठन गरेको हो । उक्त उपसमितिले ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने उपसमितिका सदस्य प्रबन्ध सञ्चालक मंडरले जनाएका छन् ।
खराब मौसमका कारण माउण्टेन एयरको हेलिकप्टर आकस्मिक अवतरण
दैलेख । सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ । आज बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ । बिहान ७ः३० बजे बारुदथानको खुला चौरमा हेलिकप्टर अवतरण गरिएको र करिब ढेड घण्टापछि पुनः उडान गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिएका छन् । हेलिकप्टरमा चालक दलका तीन सदस्य मात्र थिए । हेलिकप्टर दैलेखदेखि नेपालगञ्जतर्फ उडान भएको र मौसम सुधार भएपछि नेपालगञ्जबाट पुन उडान गर्ने चालक दलले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । दैलेखमा आज बिहानैदेखि लगातार वर्षा भइरहेको छ । रासस
काठमाडौंमा चल्न थाल्यो इलेक्ट्रिक बस, भाडा २० प्रतिशत सस्तो, डेढ वर्षदेखिको अभिष्ट पूरा
काठमाडौं । बहुप्रतिक्षित विद्युतीय सवारी आजबाट सञ्चालनमा आएको छ । निजी क्षेत्रको विद्युतीय यातायात कम्पनी सुन्दर यातायात प्रा.लि.ले चीनबाट ल्याएका ४ ओटा विद्युतीय बस साेमबारबाट व्यवसायिक रुपमा सञ्चालन गर्ने तयारी गरेको हो । सोमबार दिउँसो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साे बसकाे उद्घाटन गरे । उद्घाटनलगत्तै सुन्दरले चक्रपथमा टेष्ट ड्राइभ गर्ने तयारी गरेकाे छ । उद्घाटनलगत्तै अहिले ३ बजे सुन्दर यातायात यातायत व्यवस्था विभागमा बस दर्ताको लागि जाँदैछ । यातायातले दर्ता दिए आजै साँझदेखि व्यवसायिक रुपमा बस सञ्चालन गर्नेगरी तयारी गरेको छ । डेढ वर्षदेखिको अभिष्ट पूरा सुन्दर यातायातले विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको अहिलेदेखि होइन । डेढ वर्ष अघिदेखि योजना बनाएको भए पनि सवारीसाधन आयात, सवारी दर्ता, रुट व्यवस्थापन, चार्जिङ स्टेशन निर्माणका लागि विद्युत लाइनको प्राप्ति लगायतमा कठिनाई हुँदा यति समयसम्म सुन्दरले ल्याएका बसहरु ‘आइडल’ रुपमा सञ्चालन हुँदै आएका थिए । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले सबैतिरको अप्ठ्यारो पार गर्नुपर्दा सुन्दर यातायात विद्युतीय सवारी सञ्चालन गर्ने सोचबाटै पछि हट्ने सोचमा पुगिसकेको समेत स्मरण गरे । तर, मिडियाकर्मीहरुको साथ, हौसला र दबाबका कारण आफू पछि हट्न नपरेको समेत उनले बताए । खासगरी विद्युतीय सवारीसाधन दर्तामा यातायात मन्त्रालयबाट भएको असहयोगले सुन्दरलाई सबैभन्दा बढी असहयोग गर्यो । ४ पांग्रेभन्दा बढी विद्युतीय सवारीलाई दर्ता अनुमति दिने कानूनी व्यवस्था नै नभएको अवस्थामा मन्त्रालयका मन्त्री र उच्च अधिकारीहरु नै त्यसमा असहयोगी देखेपछि आफ्नो योजना नै त्याग्ने मनस्थितिसम्म पुगेको दुखेसो उनको थियो । विद्युतीय यातायात सञ्चालनको अर्को अप्ठ्यारो भनेको चार्जिङ स्टेशनका लागि विद्युत लाइनको प्राप्ति र सवारी चार्ज गर्ने शुल्क निर्धारण हो । सुन्दरले चार्जिङ स्टेशन समेत आफैं ल्याएकोले शुल्कको विषयमा समस्या नरहे पनि विद्युतीय लाइन विस्तारका लागि पनि कयौं कानूनी कठिनाई पार गर्नुपरेको थापाको भनाई थियो । यद्यपि त्यसका लागि उर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको सहयोगप्रति भने उनी सन्तुष्ट छन् । प्रदेश १ र प्रदेश ५ लाई जोड्दै सोमबारदेखि काठमाडौंमा सञ्चालन सुरु गर्न लागेको सुन्दर यातायातले प्रदेश १ र प्रदेश ५ लाई समेत जोड्ने योजना बनाएको छ । त्यसका लागि वुटबलदेखि विराटनगर हुँदै झापासम्म सञ्चालन हुनेगरी विद्युतीय बस सञ्चालनका लागि अन्तिम तयारी भइरहेको समेत थापाले बताए । त्यसका लागि बुटवलमा चार्जिङ स्टेशन मंगबारसम्म बनिसक्ने पनि उनले बताए । काठमाडौंमा भने चक्रपथका अतिरिक्त काठमाडौंका भित्री रुटहरुमा समेत सो बस सञ्चालन हुनेछ । त्यस्तै पहिले ट्रलिबस सेवा सञ्चालन भएको काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्याविनायकसम्मको रुट पनि थपिएको छ, विद्युतमा आधारित ट्रलिबसको गरिमा र स्मरण गराउने समेत थापाले बताए । ११ ओटा बस कोलकत्तामा काठमाडौंमा रहेका ७ ओटा बसमध्ये ४ ओटा बसको व्यवसायिक सञ्चालनको तयारी भइरहँदा चीनबाट आएका ११ ओटा बस कोलकत्ता बन्दरगाहमा आइपुगेको र केही दिनभित्रै त्यो नेपाल आइपुग्ने जानकारी दिए । सो बस आएपछि सुन्दरका १८ ओटा बस हुनेछन् । सो बस सञ्चालनका लागि सुन्दर यातायातको तर्फबाट ११ करोड लगानी भएको र चिनियाँ कम्पनीले कुल भुक्तानीको ७० प्रतिशतसम्म क्रेडिट सुविधा दिएको बताइएको छ, त्यसो गर्दा १८ ओटा बसका लागि करिब १८ करोड रुपैंया लगानी गरेको अध्यक्ष थापाको भनाई थियो । २० प्रतिशत भाडा सस्तो सरकारले हाल विद्युतीय सवारीसाधनको लागि कुनै भाडादर निर्धारण गरेको छैन । सरकारले भाडादर निर्धारण नगरे पनि सामान्य सवारीहरुको भाडादरकै आधारमा सुरुवाती भाडादर सुन्दरले कायम गरेको छ । तर सो भाडामा आन्तरिक रुपमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको यातायातले जानकारी दिएको छ । सरकारले छुट्टै भाडादर तोक्यो भने सोही भाडादरअनुसार चल्ने योजना सुन्दरको छ ।
निर्माणाधीन गेटा मेडिकल कलेजको काम ८० प्रतिशत सम्पन्न
घोडाघोडी । सुदूरपश्चिम प्रदेशको कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज निर्धारित समयमै निर्माण सम्पन्न हुने भएको छ । गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधीन उक्त कलेजको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ । भौतिक पूर्वाधार निर्माणको काम भइरहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७३÷७४ देखि सात प्याकेजमा कलेज निर्माणको काम शुरु भएको हो । “भवनको भित्री सबै काम पूरा भइसकेको छ”, साउदले भने । छ सय श्यया रहने सो कलेज निर्मणको काम कुमार श्रेष्ठ निर्माण सेवाले गरिरहेको छ । दुई प्याकेजमा भवन निर्माण गरिरहेको साउदले बताएका छन्। कलेजमा हाल सानाठूला गरी २७ वटा भौतिक संरचना निर्माण भइरहेका छन् । कलेजको छात्रवास निर्माणको जिम्मा पाएको लुम्बिनी रमण केएस जेभीले ७० प्रतिशत काम सम्पन्न गरेको छ । “एक वर्षपछि चिकित्सा शिक्षाको पढाइ शुरु हुनेछ”, साउदले भने । सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएको उक्त कलेज निर्माणको घोषणा आव २०६६ र ०६७ मा भएको हो । कलेज सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको छ । “आवश्यकताअनुसार थप पूर्वाधार निर्माण गर्दै जानेछौँ”, उनले भने । प्रदेशमा हालसम्म एउटा पनि मेडिकल कलेज छैन । रासस
मुक्तिनाथ विकास बैंकद्वारा छात्रवृत्तिका लागि तीन लाख सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले समावेशीताको आधारमा गरिब, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई सी पास भई काठमाडाैंमा अध्ययन गर्न इच्छुक ६ जना विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी तीन लाख वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल गुरुङ्गले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेक राज शाहीलाई हस्तान्तरण गरेका हुन् । यस बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारका लागि उक्त छात्रवृत्ति दिएको हो । हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।
नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली पोखरातर्फ प्रस्थान
काठमाडौं । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार टोलीमा गोलरक्षक विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना, डिफेन्डर विशाल बस्नेत, रन्दीप पौडेल, पद्म भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्बा र अञ्जन महर्जन, मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल र नितिन थापा तथा फरवार्डमा ब्रिजेश चौधरी, सच्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नुराम चौधरी छन् । प्रतियोगिता आगामी असोज ३ देखि १२ गतेसम्म काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा हुनेछ । च्याम्पियनशिपमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा माल्दिभ्स र भुटान छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र भारत छन् । रासस
लामखुट्टेको लार्भा नष्ट नगरेसम्म डेंगुबाट बच्ने कुनै पनि उपाय छैन: डा. अनुप बास्तोला
काठमाडौं। देशभर डेंगुले मानिसहरुको जीवन प्रभावित भएको छ। जाडोमा केही समय लुकेर बस्ने र गर्मी महिनाको आगमनसँगै सकृय हुने डेंगुले यसपटक भने महामारीको रुप लिएको हो। धरानबाट सुरु भएको डेंगु हालै देशको ४८ जिल्लामा फैलिसकेको छ। गत सालहरुमा काठमाडौंमा फाट्टफुट्ट देखिएको डेंगुका बिरामीको संख्या यसपटक भने असामान्य तरिकाले बढेको छ। काठमाडौंका अस्पतालहरु डेंगु परीक्षण गर्ने मानिसको चाप बढेको बढ्यै छ। अझै स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल अस्पतालमा डेंगु जाँच निशुल्क गराएपछि अस्पताललाई बिरामीको चाप थेग्न गार्हो भएको हो। बिरामीको चाप अत्याधिक बढेका कारण वीर अस्पतालमा पनि शुक्रबारदेखि डेंगु परीक्षण थालिएको छ। सरकारी तथ्यांकले ३ हजार ८ सय ९९को हाराहारीमा डेंगुको बिरामी देखाए पनि बिरामीहरु यसको दोब्बर भएको डाक्टरहरु बताउँछन्। शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै दैनिक १५० जना भन्दा बढी व्यक्तिहरुमा डेंगु देखिएको छ। यसबाहेक देशका अन्य निजी अस्पतालहरुमा पनि बिरामीको चाप बढेको बताउँछन्। टेकुस्थित राष्ट्रिय प्रयोगशालामा मात्रै सेप्टेम्बर १ देखि ४ तारिखको अवधिमा मात्रै ३८४ जना व्यक्तिले डेंगु परीक्षण गराएका छन्। ४ दिनको अवधिमा परीक्षण गराएका ३८४ मध्ये १४४ जनामा डेंगु पोजिटिभ देखिएको छ। जबकी सरकारी तथ्यांकले २ महिनाको अवधिमा काठमाडौंमा २५४ मा डेंगु देखिएको बताउँछ। मानिसहरुको बिच अहिले त्रासको रुपमा रहिरहेको डेंगुलाई यदी हामीले थोरै मात्र पनि ध्यान दियौं भने सजिलै रुपमा यसबाट बच्न सक्छौं। टेकु अस्पतालका डा. अनुप भन्छन्,’जब मानिसहरुले लामखुट्टेको लार्भा नै कस्तो हुन्छ भनेर चिन्दैनन् त कसरी डेंगुको नियन्त्रण हुन्छ।’ मानिसहरुले सरसफाइलाई ध्यान दिएर घर अगाडिका पानी जमेका ठाउँहरु पुरिदिने, खाली भाँडामा जम्मा भएका पानी फ्याँकिदिने र घर बाहिर निस्कँदा लामो बाहुला भएका लुगा लगाउने हो भने डेंगुबाट डराउनु पर्ने कुरै छैन।’ उनी भन्छन्, लार्भा नस्ट नगरेसम्म डेंगुबाट बच्ने कुनै उपाय नै छैन।’ कसरी लाग्छ डेंगु ? कुनै पनि क्षेत्रमा डेंगु देखिनको लागि उक्त क्षेत्रमा संक्रमित लामखुट्टे हुन जरुरी छ। जब ती संक्रमित लामखुट्टेले फुल पार्छ त्यसमा भएको डेंगुको संक्रमण बच्चामा सर्न गई मानिसलाई टोकेको खण्डमा सर्न जान्छ। साथै यदी कोही संक्रमित मानिस आवातजावत गर्छ र उसलाई आवतजावतको क्रममा कुनै लामखुट्टेले टोकेको अवस्थामा उक्त लामखुट्टे संक्रमित भई अन्तत अन्य लामखुट्टेमा उनको संक्रमण सर्न जान्छ। लामखुट्टेको लार्भा एडिज इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्दछ। यो प्रजातिका लामखुट्टेले मुख्यतः सफा जमेको पानीमा अण्डा पार्दछ र दिउँसोको समयमा मानिसहरुलाइ टोक्ने गर्दछ। यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ, जुन अरु प्रजातिका लामखुट्टेमा पाइदैन। कुन समयमा लामखुट्टे बढी सकृय हुन्छन् ? लामखुट्टेहरु विशेष गरेर दिउँसोको समयमा सकृय हुन्छन्। अझै दसैंको समयमा यो बढी सकृय हुने गर्दछ। उक्त समयमा लामखुट्टेको अण्डाहरु पानीसँग बगेर ठाउँठाउमा पुग्ने, मानिसहरु अत्याधिक आवतजावत गर्ने समय भएको कारण मानिसहरुबाट सर्ने गर्दछ। लक्षण डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ । – असाध्यै टाउको दुख्ने – आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने – ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने – शरीरमा बिमिरा आउने – वाकवाकी लाग्ने – पेट दुख्ने – नाक वा गिजाबाट रगत बग्ने – रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ । कसरी बच्ने ? – पानी जमेको ठाँउमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले खाल्डाखुल्डी पुर्ने – ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुका साथै पानीलाई जम्न नदिई बग्ने बगाउने। यसले लामखुट्टेको प्रजननमा बाधा पुर्याई नियन्त्रण गर्न सजिलो बनाउँछ। – जुनै समयमा पनि सुत्दा अनिवार्य झुल प्रयोग गर्ने, बजारमा अहिले झुलमा पर्नेबितिकै लामखुट्टे मर्ने झुल पाइन्छ, यसको प्रयोग गर्ने – घरका झ्याल–ढोकामा लामखुट्टे भित्र जान नदिन जाली प्रयोग गर्न – लामखुट्टेको टोकाइबाट बच्न पाइने क्रिमको प्रयोग गर्ने, सुत्ने वेलामा जिउमा क्रिम लगाएर बिहान नुहाउने – घर बाहिर जाँदा लामो बाहुला भएको कपडाको प्रयोग गर्ने विश्वव्यापी अवस्थाहरु विगत केही दशक देखि विश्व भरी नै डेंगु रोगको संक्रमण अत्याधिक रुपमा बढ्दै गइरहेको छ । बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइन्छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन् : १२८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्दछन् । प्रत्येक वर्ष झन्डै ३९ करोड डेंगु रोगको संक्रमण हुने गर्दछ भने २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गर्दछ । मृत्युदर सामान्य डेँगुमा मृत्यु हुने सम्भावना ज्यादै न्यून हुन्छ। २००४ देखी २०१९ सम्मा आउँदा नेपालमा डेंगुको कारण १५ जनाको मात्रा मृत्यु भएको छ। Dengue Haemorrhagic Fever (DHF) and Dengue Shock Syndrome (DSS): कुनै उपचार नगरेको खण्डमा ५० प्रतिशतसम्म बिरामीको मृत्यु हुन सक्छ। समयमा राम्रो उपचार पाएको खण्डमा मृत्युदरलाई १-२% सम्म झार्न सकिन्छ। (सरुवा रोग बिशेषज्ञ अनुप बास्तोलासँगको कुराकानीमा आधारित)