सन नेपाललाइफ तेश्रो वर्षमा, विविध कार्यक्रम सम्पन्न
काठमाडौँ । सन नेपाललाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको दोश्रो वर्ष पूरा गरी तेश्रोे वर्षमा प्रवेश गरेको छ । कम्पनीले सोमबार तेश्रो वर्ष प्रवेश र समाजिक सेवा दिवसको अवसरमा कर्पोरेट कार्यालय लगायत शाखा कार्यायलहरुमा रक्तदान, सरसफाई, बृद्धाश्रम/हस्पिटलमा फलफुल वितरणको साथै अनाथ असाहयहरुलाई कापी, कलम वितरण गरी सम्पन्न गरेको छ ।
दशैंमा घर जाने यात्रुहरुलाई टिकट र गाडीको समस्या हुँदैन: महानिर्देशक हमाल
काठमाडौँ । दशै, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापन लगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले दशैं मनाउन काठमाडौं उपत्यकाबाहिर जाने यात्रुहरुलाई यातायातको कुनैपनि समस्या नपर्ने दाबी गरेका छन् । उनले भने,‘यात्रा सहज बनाउनको लागि हामी २०–२५ दिनदेखि छलफलमा छौं । हामीले यो वर्ष राम्रो तयारी गरेका छौं ।’ उनले काठमाडौं बाहिर जाने कोहीपनि यात्रुले सिट नपाएर वा गाडी नभएर घर जान नपाउने अवस्था नआउने जिकिर गरे । उनले यात्रुहरुको समस्यालाई ध्यानमा राखेर आफूहरुले १४ वटा नागरिक सहायता कक्ष सञ्चालमा ल्याएको सुनाए । नागरिक कक्षका कारण नागरिकहरुको गुनासो तत्काल सम्बोधन हुने पनि उनले विश्वास दिलाए । उनले यातायात क्षेत्रमा अनुगमन नै गर्न नपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले चाडपर्वलाई लक्षित गरेर प्रदेश, स्थानीय सरकाले पनि आफ्नो तवरबाट यातायात क्षेत्रको व्यवस्थापन गर्ने विश्वास दिलाए । महानिर्देशक हमालले भाडा पूरानै कायम गरिएको जनाए । तर, डिलक्स र सुपरडिलक्सको लागि भने क्रमशः २०-२० प्रतिशत भाडा थप हुने उनको भनाई छ । उनले दशैं लक्षित गरेर सरकारले असोज १० गतेभित्रै सबै खाल्डाखुल्डी परिसक्ने गरी काम गरेको पनि सुनाए । उनले भने,‘हामी समयमै सबै काम पूरा गर्छौं ।’ यसैगरी वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको सुनाए । उनले भने,‘साउनमा मात्रै हामीले एक हजार फर्ममा अनुगमन गरेका थियौं, त्यसमध्ये ३४० फर्म कारबाहीको दायरामा आएका छन् । १६० फर्मलाई त २० लाखसम्म जरिवाना गराएका छौं ।’ चाडपर्वको मुखमा कालोबजारी र मुल्यवृद्धि गरेको पाईए तत्काल कारबाही गर्ने पनि उनले चेतावनी दिए । अहिले देशभरि ७३ वटा सुपथ मुल्यका पसलहरु सञ्चालनमा रहेको पनि सुनाए । यो वर्षको दशैंलाई लक्षित गरेर विभागले तीन हजार खसी, बोकाको व्यवस्था गरेको सुनाए । उनले सरकारले आफैं घाटा व्यहोरेर भएपनि नुन, चिनी, डिडिसीको घ्यु, खसी बोका, चामलमा सहुलियत दिएको सुनाए । यस्तै ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरुले सोहीअनुसारको विशेष ट्राफिक व्यवस्थापन गरेको स्पष्ट पारे । त्यसैगरी उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले चाडपर्व नजिकिएसँगै अनुगमनको नाममा सरकारी नाटक सुरु भएको आरोप लगाएका छन् । उनले भने,‘अहिले सरकारी नाटक सुरु भएको छ । बास्तविक अनुगमन भएकै छैन् ।’ यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यानमा राखेर आफूहरुले यातायातको राम्रो व्यवस्थापन गरेको सुनाए । सिटौलालले भने,‘असोज १२ गतेदेखि १८ गतेसम्मको ६ दिनको अवधिमा झण्डै २० लाख यात्रु काठमाडौं बाहिर जान्छन् । हामी त्यसको लागि राम्रो व्यवस्थापन गर्ने गरी गृहकार्यमा जुटेका छौं ।’
युनाइटेड इन्स्योरेन्सको हकप्रद भर्ने अवधि १५ दिन थपियो
काठमाडौं । युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन गर्ने अवधि थपिएको छ । इन्स्योरेन्सले जारी गरेको १ः२.४ अनुपातको हकप्रद शेयर भर्ने समयावधि १५ दिनका लागि थपिएको हो । यसअघि साउन १४ गतेदेखि असोज ६ गतेसम्म रहेको समयावधि थपिएसँगै अब शेयरधनीहरुले असोज २३ गतेसम्म हकप्रद भर्न सक्नेछन् । सो अवधिसम्म पनि हकप्रद नभर्ने शेयरधनीहरुले पाउनुपर्ने शेयर भने लिलाम बढाबढमा बिक्री हुनेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको १ अर्ब चुक्ता पुँजी तोक्दै सो पुँजी पुर्याउन गत असार मसान्तसम्म समयावधि दिएपछि युनाइटेड इन्स्योरेन्सले हकप्रदको बाटो लिएको थियो । हाल ३० करोड २४ लाख चुक्ता पुँजी भएको युनाइटेडको हकप्रदपश्चात् पुँजी १ अर्ब २ करोड ८१ लाख रुपैंया पुग्नेछ । युनाइटेडले हकप्रद भर्न असोज २३ गतेसम्म समय दिए पनि असोज १८ गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा भएका कारण दशैंपछि भने १ दिन मात्रै शेयर भर्ने समय हुनेछ ।
मेगा बैंकद्वारा बालबालिकालाई खाद्यान्न सहयोग
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले फुड फर लाइफ नेपाललाई १५ दिनका लागि पुग्ने चामल, नुन, तेलसहित बिभिन्न प्रकारका खाद्य सामाग्रीहरु सहयोग गरेको हो । फुड फर नेपालले सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई नियमित रुपमा आफैले पकाएर खाजा सहयोग गर्दै आएको छ । सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएका विपन्न परिवारका बालबालिकालाई खाजा खानबाट बञ्चित हुन नपरोस् र त्यसले गर्दा पढाईमा कुनै असर नहोस् भन्ने उद्देश्यले मेगा बैंकले फुड फर लाइफ नेपालमार्फत बालबालिकाका लागि खाद्यान्न सहयोग गरेको हो । ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा प्रदान गर्दै आएको मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत असहाय तथा विपन्न वर्गका बालिबालिकाको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ । अहिले मेगा बैंकका १०२ शाखामार्फत १÷१ जना बालिकालाई पनि बैंकले छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
निजगढ विमानस्थल बनाउन अघि बढ्यो प्रक्रिया, स्विस कम्पनी छनौट
काठमाडौँ । बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ । लगानी बोर्डले उक्त विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट (एजी) लाई छनौट गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा भएको लगानी बोर्डको बैठकले प्रस्तावित विभिन्न देशका सात कम्पनीमध्ये मापदण्ड पुगेका आधारमा ज्युरिच एयरपोर्टलाई छनौट गरी विस्तृत प्रतिवेदन माग गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । विमानस्थलको विस्तृत परियोजना प्रस्तावका लागि कम्पनीलाई ४५ दिनको समयावधि दिइएको छ । यो विमानस्थल निर्माणका लागि अघिल्लो वर्ष चैत महीनामा भएको लगानी सम्मेलनमा सात देशका कम्पनीको प्रस्ताव परेको थियो । लगानी सम्मेलनमा आशय पेश गर्नेमध्येबाट ज्युरिच एयरपोर्ट एजीसँग विस्तृत प्रस्ताव रिक्वेष्ट फर प्रपोजल (आरएफपी) मागिएको बोर्डले जनाएको छ । यो कम्पनीले ज्युरिचकै एयरपोर्ट सञ्चालन गरिरहेको छ । ज्युरिच एयरपोर्ट निर्देशनालय र एयरपोर्ट रियल इस्टेट कम्पनीसँग गाभेर सन् २००० मा यो कम्पनीको स्थापना गरिएको थियो । ज्युरिच एयरपोर्ट एजीले अन्य देशमा पनि एयरपोर्ट सञ्चालन र व्यवस्थापनको जिम्मा लिँदै आएको छ । अन्तर्राष्ट्रिय मापदण्डको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि तीन अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कूल आठ हजार हेक्टर क्षेत्रफलमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछ । तीन हजार ६०० मिटर लामो र ४५ मिटर फराकिलो धावनमार्ग निर्माण गरिनेछ । यो विमानस्थलले वार्षिक ६ करोड यात्रुको चाप धान्ने बताइन्छ । आरएफपी मूल्याङ्कनपछि उपयुक्त भएमा सार्वजनिक–निजी साझेदारी (पिपिपी)मा विमानस्थल निर्माणका लागि सम्झौता प्रक्रिया अघि बढाइने जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल निर्माणको ढाँचाबारे सम्बद्ध सबै पक्षबीच छलफल गरेर अघि बढ्ने बताउएका थिए । निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) भइसकेको छ । रूख कटान तथा वातावरणसँग सम्बन्धित विषयका कारण लामो समयदेखि विमानस्थलको कामले गति लिन सकेको थिएन । सरकारले कमभन्दा कम वन क्षति हुने गरी विमानस्थल निर्माण गर्ने जनाएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पनि विमानस्थल क्षेत्रमा पर्ने वनको न्यून सङ्ख्यामा रूख कटानी गरेर आयोजना अघि बढाउने बताउदैँ आएका छन् ।
शेयर खरिदबिक्रीमा लाग्दै आएको शुल्क घटाइने, प्रक्रियामा अघि बढ्यो धितोपत्र बोर्ड
काठमाडौं । शेयरको कारोबार र राफसाफमा लाग्दै आएको शुल्क घटाउन नेपाल धितोपत्र बोर्डले प्रक्रिया अघि बढाएको छ । बोर्डले सोमबार शुल्क पुनरावलोकन र संस्थागत सामाजिक उत्तरदायित्वका सम्बन्धमा अध्ययन गर्न उपकार्यकारी निर्देशकको नेतृत्वमा चार सदस्यीय तथा तथा म्युचुअल फण्ड, सीडीएससी, डीपी लगायतका कार्यहरु व्यवस्थित गर्ने ट्रष्टी ऐनसम्बन्धि कार्य अघि बढाउन नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्को पाँच सदस्यीय समिति गठन गरेको हो । बोर्डले अर्थ मन्त्रालयले गठन गरेको पुँजीबजार र मुद्राबजारसम्बन्धी अध्ययन गर्न गठित समितिले दिएको सुझाव अनुसार शुल्क पुनरावलोकन र संस्थागत सामाजिक उत्तरदायित्वका सम्बन्धमा अध्ययन गर्न तथा ट्रष्टी ऐनसम्बन्धि कार्य अघि बढाउन छुट्टाछुट्टै समिति गठन गरेकाे हाे । अर्थ मन्त्रालयले गठन गरेको समितिले अघिल्लो वर्ष नै दिएको सुझावमा अनलाइन कारोबार सञ्चालन भइसकेको र स्वचालित कारोबार प्रणालीलाई नेप्से र सीडीएससीको सिस्टममा आवद्ध गरी सञ्चालनमा ल्याउने र सोपश्चात् धितोपत्र व्यवसायीले लिने शुल्कमा पुनरावलोकन गर्नुपर्ने सुझाव दिएको थियो । बोर्डले हाल स्वचालित कारोबार प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा आएको र लगानीकर्ताहरुले शुल्क घटाउनुपर्ने माग गर्दै आएको सम्बन्धमा सुझाव दिन समिति गठन गरिएको उल्लेख गरिएको छ । बोर्डले सो समितिले कारोबार र राफसाफको शुल्क मात्रै नभएर सूचीकृत कम्पनीहरुसँग नेप्से र सीडीएससीले लिँदै आएको शुल्कका सम्बन्धमा पुनर्विचार गर्ने जनाएको छ । बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले समितिले धितोपत्र बजारमा लाग्दै आएका सबै प्रकारका शुल्कहरुबारे अध्ययन गर्ने जानकारी दिए । अर्थमन्त्री युवराज खतिवडाले पनि केही दिन अघि मात्रै कारोबार र राफसाफमा लाग्दै आएको शुल्क घटाएर बजारलाई उच्च स्रोत प्रवाह गर्न सहयोग गर्नुपर्ने बताएका थिए ।
उपयोगी नेपाल टेलिकमको एप, एपबाटै बिल तिर्न सकिने
काठमाडौ । नेपाल टेलिकमले ग्राहकहरुलाई प्रविधिमैत्री सुविधा दिन एप सञ्चालन गर्दै आएको छ । उक्त एपको प्रयोगबाट ग्राहकहरुले ब्यालेन्स ट्रान्सफर गर्ने देखी गिफ्ट प्याक हेर्ने सम्मको सुविधाहरु पाउने छन् । नेपाल टेलिकमका एक अधिकारीका अनुसार–‘प्रविधि समय अनुसार परिवर्तन हुँदै जान्छ र सोही अनुसार हामीले पनि आवश्यकता अनुसार प्रबिधि परिमार्जन गर्दै आएका छौँ ।’ नेपाल टेलिकमको एपका के छन् विषेशता ? नेपाल टेलिकमको एपबाट ग्राहकहरुले प्याक किन्न सक्ने छन् । एपको प्रयोग मार्फत नै ग्राहकहरुले नेपाल टेलिकमको रिचार्ज गर्न सक्ने छन् । विभिन्न समयमा नेपाल टेलिकमले निकालेको गिफ्ट प्याकका बारेमा समेत एपबाट जानकारी लिन सक्ने जनाइएको छ । एपबाटै बिल तिर्न सकिने नेपाल टेलिकमको एप मार्फत ग्राहकहरुले ल्याण्ड लाईन फोन, एडिएसएल लगायतका विभिन्न सेवाका बिल तिर्न सक्ने छन् । यस्तै, विभिन्न ट्यारिफ दरहरु हेर्ने सुविधा एपमा उपलब्ध छ । ग्राहकहरुले नेपाल टेलिकमको सिम मार्फत फोन गर्दा कति मूल्य पर्छ भन्ने जानकारी प्राप्त गर्न सक्छन् । स्टार १४१५ ह्याज डायल गर्न नपर्ने एप प्रयोग गर्ने ग्राहकहरुले स्टार १४१५ ह्याज डायल गर्नु पर्दैन । सो नम्बर डायल गर्दा ग्राहकहरुले विभिन्न प्याक तथा अफरको बारेमा धेरै पटक हेरेपछि मात्र जानकारी पाउछन् । तर एपमा भने सबै जानकारीहरु एकै पटक हेर्न सकिन्छ । उपयोगी एप नेपाल टेलिकमको एपमा सबै शीर्षक एकै पटक हेर्न मिल्ने भएकाले नै एप उपयोगी मानिदै आएको छ । प्रविधि मैत्री बन्ने उद्देश्यले टेलिकमले ग्राहकहरुमा यस्तो सुविधा ल्याएको बताउँदै आएको छ । ग्राहकलाई विगतको दिनमा दिँदै आएको सेवा सुविधामा वृद्धी गर्न लागि परेको नेपाल टेलिकमले जानकारी दिएको छ । हालसम्म काठमाडौँ उपत्यका र पोखरामा सञ्चालन हुँदै आएको फोर जी सेवा देशैभर सञ्चालन गर्ने अन्तिम तयारीमा टेलिकम जुटेको छ । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले भनिन्–‘ग्राहकको सहजताको निम्ती हामीले एप सञ्चालन गरेका हौँ, एपबाट ग्राहकहरुले आफूलाई आवश्यक परेको सुविधा उपयोग गर्न सक्नु हुनेछ ।’ यस्तै, सेवा सुविधा लिने क्रममा ग्राहकहरुलाई केही असुविधा परेमा समेत एपबाटै गुनासो गर्न मिल्ने व्यवस्था गरिएको प्रवक्ता बैद्यले बताइन् ।
चाडपर्वमा सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन
काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बडा दशैँ, दीपावली, नेपाल सम्वत्, छठ लगायत राष्ट्रिय पर्वमा सुरक्षा लगायतको उचित व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकपछि सभापति शशी श्रेष्ठले नेपालीको महान् पर्वमा उपत्यकाबाट लाखौँ मानिस चाड मनाउन आ–आफ्नो घर फर्कने भएकाले यहाँ हुनसक्ने आपराधिक घटना, चोरी लगायत नियन्त्रण गर्न निर्देशन दिएका छन् । “भारत लगायत देशमा काम गर्न गएका नेपाली यही पर्वको अवसर पारेर घर फर्कने क्रममा नाका लगायत स्थानमा हुने चोरी डकैती नियन्त्रण गर्न पनि सरकारले ध्यान दिनुपर्छ, कालो बजारी, कृत्रिम अभाव लगायत समस्या समाधान होस्”, उनले भने । लामा, छोटा दूरीका सवारीमा सरकारले तोकेभन्दा बढी भाडा लिए कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ । सडकको अवस्थाका बारेमा बेलैमा ध्यान दिई सवारी दुर्घटनालगायत हुनसक्ने घटना नहुने व्यवस्था मिलाउन सरोकार भएका निकायसँग समन्वय गरी काम गर्न पनि समितिले भनेको छ । भारतमा काम गर्न जाने नेपालीले ल्याउने रु ५०० र रु १००० का नोट नचल्दा चाडबाडमा समस्या हुने भएकाले साट्ने व्यवस्था मिलाउन पनि सरोकार भएका निकायलाई निर्देशन दिइएको सभापति श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिएका हुन्। रासस