विकासन्युज

सुजुकी कारको ‘सुपर स्याटरडे’ पुस १२ गते, नयाँ ग्राहकलाई विशेष अफर

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्ड गाडीको आधिकारीक बिक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो पुस १२ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउनेछन् । ‘सुपर स्याटरडे’ मा ग्राहकले नियमित सोरुम छुटभन्दा बढी नगद छुट पाउनेछन् साथै, ग्राहकहरुले सो दिन अधिकतम एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क विमा र स्वामित्व हस्तान्तरणको सुविधा पनि पाउनेछन् । यो अफर पुस १२ गते एक दिनका लागि मात्र देशभरका सबै ३६ वटा डिलरसिपमा लागू हुनेछ । नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको बिक्री गर्दै आएको छ ।  

सेयर बजारको सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकमको सेयर किन्ने बेला आएको हो ?

काठमाडौं । दूरसञ्चार संस्थानबाट २२ माघ २०६० मा रुपान्तरण भएर नेपाल टेलिकम कम्पनी (एनटीसी) को स्थापना भएको हो । हाल कम्पनीले जीएसएम, सीडीएमए, पीएसटिएन र डाटा सेवा अन्तरगत थ्रीजी, फोरजी, इभिडिओ, वाइम्याक्स, एडीएसएललगायतको सेवा दिदै आएको छ । बजार प्रतिस्पर्धाको आधारमा हेर्दा मोबाइल सेवा (जीएसएम) मा टेलिकम अग्रस्थानमा छ । दूरसञ्चार प्राधिकरणको असोजसम्मको तथ्यांक अनुसार एनसेलको जीएसएम प्रयोगकर्ता १ करोड ६८ लाख छ भने एनटीसीको २ करोड ९ लाख छ । तर, अहिलेको पछिल्लो प्रविधि फोरजीमा भने नेपाल टेलिकमको तुलनामा एनसेल अगाडी छ । एनसेलबाट ३४ लाख ९० हजारले यो सेवा लिदा टेलिकमबाट ८ लाख ३८ हजारले लिएका छन् । फोरजी सेवा विस्तारको लागि महंगो प्रस्ताव (१९ अर्ब रुपैयाँ) स्वीकर गरेकोले कम्पनीको दायित्व बढ्ने चर्चा पनि हुँदै आएको छ । इन्टरनेट सेवामा समेत टेलिकम दोस्रो स्थानमा छ । वल्र्डलिंकबाट ३ लाख ३४ हजारले सेवा लिदा टेलिकमबाट २ लाख ३५ हजारले सेवा लिइरहेका छन् । टेलिकमले बजार प्रतिस्पर्धाबाट सिर्जित चुनौंति कम गर्न पछिल्लो प्रविधिलाई सर्वसुलभ बनाउने लगायतका काम गर्ने वित्तीय विवरणमा उल्लेख गर्दै आएको छ । कम्पनी बजार पुँजीकरणको आधारमा सेयर बजारमा रहेको सबैभन्दा ठूलो कम्पनी हो । १५ करोड सेयर सूचीकृत भएको कम्पनीको हाल मूल्य ६ सय ५७ छ । यसको आधारमा बजार पूँजीकरण ९८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । सेयर बजारमा कम्पनीको हिस्सा आधारमा ६.५ प्रतिशतभन्दा धेरै छ । कम्पनीमा नेपाल सरकारको ९१.४९ प्रतिशत, नागरिक लगानी कोषको ०.०३ प्रतिशत र सर्वसाधारणको ८.४८ प्रतिशत सेयर लगानी छ । बन्द बोलपत्र आवहानबाट ९ माघ २०६४ मा कम्पनीको सेयर विक्री गरिएको थियो । प्रिमियम मूल्य सहित ६ सय रुपैयाँमा कम्पनीको सेयर बिक्री भएको थियो । हाल कम्पनीमा दिपक सुवेदी अध्यक्ष छन् भने प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी छन् । कम्पनीले ५ वर्षयता बार्षिक औसत ५१.२ प्रतिशत लाभांश दिएको छ । नगद लाभांश वितरणमा जोड दिदै आएको कम्पनीको चुक्ता पुँजी स्थिर छ । गत आवको नाफापछि पनि बैंकले ४५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । १४ पुससम्म लगानी गर्नेले यस्तो लाभांश पाउने छन् । पहिलो त्रैमाशमा नाफा सुस्तियो कम्पनीले पहिलो त्रैमाशमा ३ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा ६.१ प्रतिशतले कमी आएको हो । सञ्चितीमा भने ८९ अर्ब ४६ करोड रुपैयाँ छ । कम्पनीले २३ पुसमा हुने साधारणसभामा सञ्चितीमा रहेको रकम बैंक तथा वित्तीय संस्था तथा अन्य कम्पनीको सेयरमा लगानी गर्ने प्रस्तावसमेत लैजादैछ । रणनीतिक तरिकाले लगानी गर्न सकेमा यसले कम्पनीको नाफामा वृद्धि समेत गराउन सक्नेछ । कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब ४ करोड र अन्य आम्दानी १ अर्ब ५६ करोड छ । प्रशासनिक खर्च १० प्रतिशतले बढेको कम्पनीको कुल खर्च ४ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड छ । कम्पनीमा उत्पादनको लागि र तयारी अवस्थामा रहेको सामग्री (इन्भेन्ट्रिज) २८ करोड बराबर छ । इन्भेन्ट्रिजमा ५० प्रतिशतको वृद्धि छ । उत्पादन बढाउने उदेश्यले समेत यो बढेको हुनसक्छ । यसको बिक्री पछि कम्पनीको नाफा थप बढ्न सक्छ । कम्पनीले व्यापार लगायतबाट २ अर्ब ६४ करोड उठाउन बाँकी छ । ग्राहकबाट उठाएको अग्रिम निक्षेप २ अर्ब दायित्वको रुपमा छ । कम्पनीको कुल सम्पत्ती र कुल दायित्व सन्तुलित छ । कम्पनीको १२ अर्ब बराबरको काम सञ्चालन (वर्क इन प्रोग्रस) को अवस्थामा रहेको उल्लेख गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८६ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात ७.१६ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ ६ सय ९६ रुपैयाँ छ । सेयर विश्लेषण कम्पनीको मूल्य वर्षकै न्यून बिन्दु (६ सय ६ रुपैयाँ) बाट केही माथि लागेको छ । यद्यपि ६ सय ७० को आसपासमा मूल्यले प्रतिरोध पाइरहेको रेखा चित्रले देखाउँछ । लाभांश प्रस्ताव र नजिकिदो बुक क्लोजले मूल्यमा सानो तिनो सुधारसहित सामान्य उतारचढाव देखिएको छ । कम्पनीको आरएसआई सूचक ५५.९ छ । यसले कारोबार सन्तुलित क्षेत्रमा रहेको संकेत गर्छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । ७ दिने सिम्पल मुभिङ एभरेज रेखा २१ दिनेभन्दा माथि रहेकोले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गरिरहेको छ । तर यी दुई रेखा नजिकिएका छन् । यो समय थप ध्यान दिनुपर्ने देखिन्छ । २१ दिने रेखा माथि लागेमा मूल्य वियरिश प्रवृत्तिमा आउने सम्भावना छ । पीभट विश्लेषणले आगामी महिना काराबोरमा ६ सय ७७ मा पहिलो प्रतिरोध र ६ सय २९ मा पहिलो टेवा पाउने संकेत गर्छ । कम्पनीको सेयर मूल्यले पछिल्लो तीन दिनमा पहिलो दुई दिन डार्क क्लाउड कभर आकृति बनाएको छ । जसमा सेतो लामो मैनवत्तिपछि बनेको कालो मैनवत्तिको आकार माथिसम्म गएको छ । यसले मूल्य घट्ने संकेत गर्छ । तर अन्तिम दिन डोजी स्टार बनेको छ । यसले भने लगानी गर्नुअघि विचार पु¥याउनु पर्ने देखाइरहेको छ । लगानीकर्ताहरु निर्णय गर्न नसकिरहेको यसले संकेत गर्छ । नजिकिदो मुभिङ एभरेज रेखालेपनि तत्काल लगानी गर्नुभन्दा आगामी दिनको गतिलाई याद गर्न सुझाव दिइरहेकोछ ।

इलेक्ट्रिक सेल्टोस एसयुभिको उत्पादन शुरु गर्दै किया, फुल चार्जमा दिनसक्छ ४०० किलोमिटरको रेन्ज

काठमाडौं । किया मोटर्सले ‘अल–इलेक्ट्रिक सेल्टोस एसयुभि’ को उत्पादन शुरु गर्नेभएको छ । सेल्टोस एसयुभि इभि को निर्माण कार्य अघि बढिसकेको र अब केही महिना भित्रमै यो मोडेललाई अनावरण गर्ने तयारी चलिरहेको कम्पनीले जनाएको छ । सेल्टोस इभिमा स्ट्याण्डर्ड सेल्टोसमा प्रयोग भएकै सस्पेन्सन, ब्रेक, बडि प्यानल्स, इन्टेरिअर लगायतहरु प्रयोग गरिनेछन् । तर स्ट्याण्डर्ड सेल्टोस भन्दा केही फरक देखाउन निरो इभि र सोल इभिमा जस्तै गरी यसको स्टाइलिङ्गमा थोरै परिमार्जन भने गरिनेछ । सेल्टोस इभिमा किया सोल इभि र हुण्डाई कोना इभिमा भएकै पावरट्रेन समावेश हुनेछ । भारतीय अटो मिडियाहरुले लगाएको अनुमान अनुसार यस कारमा २०४ एचपी इलेक्ट्रिक मोटर र ६४ केडब्लूएचको ब्याट्री जडित हुनसक्छ । पावर उस्तै प्रदान गर्ने भएतापनि सेल्टोस इभिले सोल र कोनाको तुलनामा केही थोरै रेन्ज प्रदान गर्नेछ, कारण हो यसको ठूलो डाइमेन्सन र बढी तौल । फुल चार्जमा सेल्टोस इभिले ४०० किलोमिटरको रेन्ज प्रदान गर्न सक्छ भनेर समेत अनुमान गरिएको छ । कियाले उक्त मोडेलको डेलिभरी पहिले कोरियन मार्केटमा गर्नेछ र केही पछि मात्र यसलाई भारत लगायतका देशहरुमा पठाउने छ । कियाको नेपालका लागि आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा.लि.ले केही दिन अघिमात्र शुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोक्दै सेल्टोस एसयुभि (स्ट्याण्डर्ड) लाई नेपाली बजारमा भित्र्याएको थियो । स्मरण रहोस्, किया मोटर्स कोरियाको दोस्रो ठूलो अटोमोवाइल उत्पादन कम्पनी हो जसले सन् २०१५ मा मात्रै आफ्नो ३३ लाख उत्पादनको बिक्री गरेको थियो ।

कृषि विकास बैंक र राष्ट्रिय कृषक समूहबीच कर्जासम्बन्धी सम्झौता

काठमाडौं । कृषि विकास बैंक र राष्ट्रिय कृषक समूह महासंघ नेपालबीच कर्जा कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले राष्ट्रिय कृषक समूह महासंघ नेपालसँग गरिएको यस प्रकारको सम्झौताले नेपालको ग्रामिण क्षेत्रहरुमा रहेका कृषक समूह तथा कृषि सहकारीमा आबद्ध विशेष गरी सिमान्तकृत, भूमीहिन तथा महिला कृषकहरुलाई कृषि तथा पशुपालन परियोजना संचालनका लागि बैंकले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने बताएका छन् । साथै, विभिन्न सामाजिक सामुदायिक कार्यक्रम संचालन गरी स्थानीय स्तरमा रोजगारीको वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छन् । उपाध्यायका अनुसार कृषि विकास बैंक सदैव कृषकको बैंक रही आएको र आगामी दिनमा समेत बैंकले कृषि तथा पशुपालनको व्यवसायिकीकरण र आधुनिकीकरणमा अग्रणी भुमिका निभाउने प्रतिबद्धता व्यक्त गरे । यस्तैगरी, राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले बैंकसँग गरिएको सम्झौताबाट दूरदराजमा रहेका उपेक्षित गरीब कृषकहरुलाई बैंकको सहुलियतपूर्ण कर्जाको माध्यमबाट उनीहरुको आर्थिक स्तर माथि उठाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरे । बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार बैंकले राष्ट्रिय कृषक समूह महासंघ नेपालमा आबद्ध देशका ५७ जिल्लाका करिब ५ हजार २ सय कृषक समुह तथा सहकारीका १ लाख कृषकहरुलाई कृषि तथा पशुसँग सम्बन्धित परियोजना संचालन गर्न आवश्यक पर्ने कर्जा उपलब्ध गराउने बताएका छन् । साथै, महासंघको सिफारिसमा स्थानीय कृषकहरुलाई आवश्यकता अनुसार सहुलियतपूर्ण कर्जाका अतिरिक्त उद्यमशीलता विकासका लागि तालिम, बाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न कार्यक्रम संचालन समेत गर्ने छ ।

भृकुटीमण्डपमा शुरु भयो ‘काठमाडौं ट्रेड शो’ पुस १३ गतेसम्म सञ्चालन हुने

काठमाडौं । राजधानीको भृकृटीमण्डपमा ‘काठमाडौँ ट्रेड शो’ शुरु भएको छ। डेली रोल मिडिया एण्ड इभेन्टले क्रिसमसको अवसरमा बुधबारदेखि उक्त कार्यक्रमको आयोजना गरेको हो । वस्तु तथा सामाग्रीको बृहत प्रर्दशनी मेला पुस १३ गतेसम्म सञ्चालन हुनेछ। मेलामा नेपाल, भारत , चीन, बांगलादेश लगायत एक सय भन्दा बढी स्टलहरु रहेको आयोजकले जनाएको छ। यस्तै मेलामा नेपालमा उत्पादन भएका हस्तकलाका सामाग्री, कृषिका सामाग्री, नेपाली कपडा लगायतका सामाग्री रहेका छन्। डेली रोलिङ मिडिया एण्ड इभेन्टका निर्देशक धिरज ढकालले नेपालको व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले व्यापारिक मेलाको आयोजना गरिएको बताए। उनले यस्ता व्यापारिक मेलाले नेपाली बजार र अन्तर्राष्ट्रिय बजारको व्यापारिक सम्बन्ध अगाडी बढाउन सहयोग पुग्नुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई पनि मद्दत गर्ने बताए। उनले भने, ‘हामीले एक लाख अवलोकनकर्ताको अपेक्षा गरेको छौँ। मेलामा हामीले नेपालमा उत्पादन भएका सामाग्रीलाई बढी फोकस गरेका छौँ । यस्तै कार्यक्रमको अवलोकन गर्दै पर्यटन वर्ष २०२० का सदस्य सचिव बच्चुनारायण श्रेष्ठले यस्ता मेलाले पर्यटन वर्षमा सहयोग पुर्‍याउनुका साथै नेपाली बजार नेपाली बजारलाई विश्वबजारसम्म पुर्‍याउन कच्चा प्रदार्थको सही तरिकाले प्रयोग गरी विश्वबजारको मागलाई पूर्ती गर्न सक्नु पर्ने बताए।  उनले मागसँगै वस्तुको गुणस्तरमा पनि त्यतिकै ध्यान दिन जरुरी रहेको बताए। उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा जाँदा कुनै पनि वस्तुको दुई तीन थानले पुग्दैन। त्यसका लागि बजारको जनघनत्वलाई ध्यान दिएर काम गर्न सके सफल हुन्छौँ।’ उनले अन्तर्राष्ट्रिय बजारको माग र आपूर्ति पूरा गर्न सकिन्छ या सकिँदैन भन्ने कुराको पनि त्यति नै महत्व रहेको बताए।

औद्योगिकीकरण तथा लगानी प्रर्वद्धनका लागि उद्योग मन्त्रालय र परिसंघले सघन रुपमा सहकार्य अघि बढाउने

काठमाडौं । नेपाल उद्योग परिसंघ र उद्योग मन्त्रालयले सरकार र उद्योगी व्यवसायीहरुबीच विश्वासको वातावरण बनाउदै औद्योगिकीकरण तथा लगानी प्रर्वद्धनमा सघन रुपमा सहकार्य गर्ने भएका छन् । बिहीबार परिसंघमा भएको छलफलमा उद्योग सचिव यामकुमारी खतिवडाले उद्योगी व्यवसायीहरुका तर्फबाट परिसंघले प्रस्तुत गरेका औद्योगिकीकरण, निर्यात वृद्धि तथा आयात प्रतिस्थापनका विषयमा सघन सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको हुन् । सचिव खतिवडाले एकल बिन्दु सेवा केन्द्रको प्रभावकारिता, वातावरणीय मापदण्ड सम्बन्धी व्यवस्थामा लचकता, निकासी अनुदान प्याकेजमा विस्तार र नेपाली आत्मनिर्भर हुने गरी स्वदेशी उद्योगहरूको विकास तथा विस्तार र आधुनिकीकरणका लागि प्रोत्साहन गर्ने लगायतका विषयमा मन्त्रालयले थप सहकार्य गर्दै अघि बढ्ने बताएका छन् । छलफलको प्रारम्भमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकार र उद्योगी व्यवसायीबीच विश्वासको वातावरण बनाउन आपसी छलफललाई निरन्तरता दिदै जाने । बताएका छन् । अध्यक्ष मोरले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्दै निर्यात वृद्धि सँगसँगै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई थप लगानीका लागि उत्प्ररित गर्न आवश्यक वातावरण बनाउन आग्रह गरे । अध्यक्ष मोरले उद्योग विभागमा रहेको एकल बिन्दु सेवा केन्द्रको प्रभावकारिता बढाउन तथा निर्यातमा विविधिकरण र उद्योग सम्बन्धी कानूनको सुधारमा मन्त्रालयले देखाएको अग्रसरताले उद्योग स्थापना तथा सञ्चालनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले विशेष आर्थिक क्षेत्र सञ्चालन तथा अन्य औद्योगिक क्षेत्रमा उद्योग स्थापना तथा सञ्चालनमा देखिएका अवरोध हटाउन पहल भइरहेको जानकारी गराए । उद्योग विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाले उद्योगी व्यवसायी तथा लगानीकर्ताका लागि विभागले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको उल्लेख गरे । उद्योग विभागमा रहेको उद्यमी सहजकर्ता सेण्टरको उपयोग गर्न पनि महानिर्देशक सिटौलाले आग्रह गरेका छन् । सो अवसरमा परिसंघका उपाध्यक्षहरु अनुज अग्रवाल, विष्णु अग्रवाल, कृष्णप्रसाद अधिकारी, सुलभ अग्रवाल र राजेश अग्रवालले उद्योग तथा लगानी विस्तारका विषयमा प्रस्तुती गर्दै औद्योगिकीकरणको वातावरण बनाउन तत्कालीन तथा दीर्घकालीन रणनीतिहरु अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

एनआईसी एशियाको नयाँ शाखा ललितपुरको सानेपामा

काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुरस्थित सानेपामा  नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बिहीबार आयोजित उक्त सानेपा शाखाको उद्घाटन महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका हुन् । बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । यस बैंकको मुलुकभर ३ सय १३ शाखा कार्यालयहरु, ४सय ५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।  

सनराइज बैंकको १२९औं शाखा ताप्लेजुङको फुङलिङमा

काठमाडौं । सनराइज बैंकले ताप्लेजुङस्थित फुङलिङमा १२९औं शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित कार्यक्रममा फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सोही कार्यक्रममा क्षेत्रपटी प्याकुरेलले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पुर्याउनुका निमित्त बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । साथै, डोरेन्द्र निरौलाले कृषि क्षेत्रलाई बैंकले सधैँ प्राथमिकतामा राख्दै आएको र आर्थिक विकासलाई  प्रभावकारी बनाउन आगामी दिनमा पनि यस क्षेत्रमा अझै बढी लगानी गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । हालसम्म सनराइज बैंकले १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा दिंदै आएको छ ।