साताको शेयर बजार: झण्डै तीन अर्बको कारोवार
काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक घट्दो क्रममा रह्यो । साताभर कूल १ सय ७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार ८५ लाख ९५ हजार ५३१ कित्ता शेयर दुई अर्ब ८१ करोड ८८ लाख ९२ हजार ६ सय ९० रूपैयाँ मूल्यमा खरिदबिक्री भए । नेप्सेका अनुसार साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भयो । कूल १ सय ६७ कम्पनीका १४ लाख ८८ हजार ३०४ कित्ता शेयर रु ३७ करोड ४४ लाख ६६ हजार ४ सय ६५ मूल्यमा खरिद–बिक्री भए । सोमबार नेप्से १७.७७ विन्दुले बढेर एक हजार १ सय ६८.५८ मा पुग्यो । कूल १ सय ७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता शेयर ५९ करोड ५७ लाख ६४ हजार ५ सय ४४ रूपैयाँ बराबरको कारोवार भयाे । मङ्गलबार भने नेप्से पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार १ सय ६६.२१ मा पुग्यो । कूल १ सय ७१ कम्पनीको २० लाख २९ हजार ८ सय १५ कित्ता शेयर ७२ करोड १६ लाख ४२ हजार ९ सय ६५ रूपैयाँमा खरिदबिक्री भए । बुधबार नेप्से १.८२ अङ्कले बढेर १ हजार १ सय ६८.०३ मा पुग्यो । कूल १७५ कम्पनीको १६ लाख ८१ हजार ८ सय ३८ कित्ता शेयर ५३ करोड ८३ लाख ४० हजार ८ सय २९ रुपैयाँमा कारोवार भए । बिहीबार नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से आरोलो लागे पनि कारोवार रकम भने औसतमा रह्यो । कूल १७२ कम्पनीको कूल १६ लाख ४१ हजार २११ कित्ता शेयर ५८ करोड ८६ लाख ७७ हजार ८ सय ८७ रूपैयाँ मूल्यमा कारोवार भयाे । साताभर विभिन्न चार कम्पनीनको शेयर नेप्सेमा सूचीकृत भए । त्यसमा कामना सेवा विकास बैंकको तीन लाख ७५ हजार ३ सय ९८ कित्ता शेयर लाभांश, कुमारी बैंकको ८६ लाख ८५ हजार ५ सय ७३ कित्ता शेयर लाभांश, सिटिजन बैंकको २५ लाख ११ हजार ३ सय १९ कित्ता शेयर लाभांश र एभरेष्ट बैंकको परिवर्तित शेयर कूल चार लाख कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ । रासस
पर्यटकलाई कोदो, फापर, भेडा र चौँरीका परिकार खुवाउ
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन नेपाल र नेपालीका स्थापित पहिचान, संस्कार र संस्कृति प्रयोगलाई जीवन्त तुल्याउन सुझाइएको छ । भ्रमण वर्षलाई सफल बनाउन ‘अतिथि देव : भव’ अर्थात् पाहुनालाई स्वागत, सत्कार र आतिथ्यता प्रदान गर्ने सन्दर्भमा कमजोर हुँदै गएको पुराना सोमतिलोे संस्कार पुनर्जीवित तुल्याउन आवश्यक देखिएको पूर्वसञ्चारमन्त्री राम कार्की बताउछन् । नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने नेपालले घोषणा गरेको छ । विश्वका कतिपय पर्यटक गन्तव्य भनी भएका मुलुकका तुलनामा नेपाल निकै सुन्दर र मनोरञ्जन पर्यटक गन्तव्यका रुपमा परिचित छ । भ्रमणका लागि आएका पर्यटकलाई प्रवेश विन्दुमै नेपालीको मौलिक पहिचान बिर्साउने गरी लाभहानिका आधारमा गरिने व्यवहार सच्याउँदै पाहुना आकर्षित हुने गतिविधि र आतिथ्यता प्रदान गर्न आवश्यक देखिएको छ । यद्यपि, नेपाल भ्रमणमा आउने पाहुनाको आतिथ्य सत्कारसँग सम्बन्धित विषयमा तालीम र प्रशिक्षणको कामलाई तीव्र तुल्याइएको छ । विमानस्थलमा ओर्लिएका पाहुनालाई अध्यागमनमा खटिएका कर्मचारीबाट अनुशासित र मर्यादित ढङ्गबाट व्यवहार गर्ने, होटलसम्म पुर्याउने चालकले यात्रा दूरी, समय जानकारीबारे जानकारी गराउँदै हार्दिकताका साथ सामान राखिदिने र यात्रालाई सहज तुल्याउन इच्छाएका वा नेपाली मौलिकतामा आधारित गीत–सङ्गीत सुन्ने व्यवस्था गरेमा नेपालप्रतिको आकर्षण बढ्नेछ । नेपालका संस्कृति, वेशभूषा, कला, रहनसहन र परिकार खाना, हेर्न, बुझ्न, सिक्न, थाहा पाउन आएका पर्यटकलाई पिज्जा, चाउचाउ, बर्गर, कोकफ्यान्टा खुवाउनुको साटो यहाँका कोदो, फापर तथा भेडा र चौँरीका उत्पादनका परिकार खुवाउन सके नेपालको समृद्धिमा योगदान पुग्नेछ । राईको जस्तोे दियायी, गुरुङको सत्कार र नेवारी खानाद्वारा हाम्रा मौलिक संस्कारबारे पाहुनालाई जानकारी गराउने तथा बाटै अवरुद्ध हुने र झन्झट हुने गरी नभई पर्यटकले राखेको जिज्ञासाको मात्र उत्तर संस्कार स्थापित गर्न सकेको खण्डमा पनि पाहुना नेपालप्रति लोभिन्छन् । यद्यपि सरकारले नेपाल भ्रमण वर्षलाई लक्षित गरी काठमाडौँका विभिन्न स्थानमा ‘नमस्ते सेन्टर’ स्थापना गरी नेपालको मौलिक पहिचान देखाउन कोसिस गरेको छ । प्लेन चार्टर गरेर ल्याउने अनि उनीहरुकै खाना खुवाउँदा जति नै पर्यटक आए पनि पनि मुलुकले आर्थिक समृद्धि हासिल हुन नसक्ने हुनाले हाम्रा डाँडाकाँडा, रहनसहन, संस्कृति, हिमाल, वन्यजन्तु, पर्यावरण, तालतलैया र जीवजन्तुबारे जानकारी गराउन मुलुक कुनाकाप्चामा पर्यटकलाई पुर्याउनुपर्ने देखिएको छ । नेपालीले विश्वमै पाहुनालाई आतिथ्यता प्रदान गर्ने उत्तम जातिका रुपमा पहिचान स्थापित गरे तापनि पछिल्लो समयमा त्यो पहिचान भने खस्कँदै गएको छ । नेपालमा पर्यटन भित्र्याउने सन्दर्भमा यातायात सम्पर्क सञ्जाल र आधारभूत पूर्वाधार चुनौतीका रुपमा रहेका छन् । उक्त चुनौतीलाई सम्बोधन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता वृद्धि, भैरवास्थित गौतमबुद्ध विमानस्थल शीघ्राती शीघ्ररुपमा सञ्चालनमा ल्याउने तथा पोखरा विमानस्थलको निर्माण कार्यलाई तीव्रता दिने काम भइरहेको छ । नेपालमा पर्यटन प्रवद्र्धनका लागि छिमेकी मुलुकका अतिरिक्त भियतनाम, कम्बोडिया, म्यान्मा तथा मध्यपूर्वी देशमा विभिन्न कार्यक्रम अघि बढिरहेको पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए । विश्वको चर्चित फोब्स पत्रिकाले यो दशका विश्वका उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा नेपाललाई छनोट गरेपछि एकाएक नेपालप्रति पर्यटकको मोह बढेको अनुमान गरिएको छ । नेपाल सहासिक पर्यटनका रुपमा मात्र होइन, पर्यापर्यटन, वन्यजन्तु, धार्मिक, सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण गन्तव्य मानिन्छ । नेपाल भ्रमण वर्षलाई भव्यरुपमा सम्पन्न गर्ने सन्दर्भमा सरकारले उद्घाटन समारोहमा विश्वका १५ भन्दा बढी मुलुकका सञ्चारकर्मीलाई आमन्त्रण गरिएको छ । भर्खरै दक्षिण एशियाली खेलकुदको सफल आयोजना गरिएको दशरथ रङ्गशालामा हुने उद्घाटन समारोहमार्फत नेपाल भ्रमण वर्षको सन्देश विश्वभर पुर्याउने तयारी गरिएको छ । विश्वमा पर्यटन छिटो प्रवद्र्धन हुने मुलुकको सूचीमा नेपाल पर्दछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने उक्त समारोह अपराह्न ३ बजेबाट हुने र सो अवसरमा नेपालका सांस्कृतिक गतिविधि प्रस्तुत गरिनेछ । समारोहलाई प्रधानमन्त्रीबाट सम्बोधन हुनेछ भने भ्रमण वर्षसम्बन्धी कार्यक्रम मुलुकका सातै प्रदेशमा सोही दिन थालनी हुनेछन् । नेपालमा वार्षिक पर्यटन वृद्धिदर २५ प्रतिशतको हाराहारीमा छ । नेपालको समृद्धिको आधार पर्यटन नै हो । पर्यटन क्षेत्रका विकास र विस्तार गर्ने क्रममा मुलुकका विभिन्न भागमा तीव्ररुपमा होटल निर्माणको क्रम बढेको छ । नेपाल भ्रमण वर्षको तयारीसँगै सरकार अब कुनै सिजनमा मात्र होइन, वर्षैभर पर्यटक नेपाल भ्रमणमा आउने वातावरण बनाउने तयारीमा जुटेको छ । भ्रमण वर्षमार्फत नेपालको सांस्कृतिक सम्पदा र वन्यजन्तुसम्बन्धी जानकारी लिन र अध्ययन गर्न आउने पर्यटकका लागि बाह्रै महिना अनुकूल रहने सन्देश दिन खोजिएको छ ।रासस
भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक : मन्त्री भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताए । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भ्रमण वर्ष नेपालको समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेश स्थित कूटनीतिक नियोगबाट विभिन्न कार्यक्रम सञ्चालन भई रहेको उल्लेख गर्दै उहाँले पर्यटन प्रवद्र्धनका काम पनि त्यही गतिमा अघि बढेको जानकारी दिए । पर्यटन प्रवद्र्धनको महत्वपूर्ण आधारका रुपमा रहेको हवाइ सेवालाई व्यवस्थित गरिने बताउँदै उनले हाल २१ घण्टा सञ्चालनमा आएको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तनोन्नति गरी २४सै घण्टा सञ्चालन गर्ने तयारी भईरहेको जनाए । भ्रमण वर्षको पर्यटन प्रवद्र्धनका लागि सचिवालयले ६५ करोड रुपैयाँको माग गरेपनि सरकारले १० करोड छुट्याएको बताउँदै उनले आवश्यक रकम सरकारले उपलब्ध गराउने जानकारी दिए । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समय सीमाभन्दा छ महिना अगावै सम्पन्न भई सक्ने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले विमानस्थल सञ्चालन हुनुपूर्व पर्यटनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी सक्नुपर्ने बताए । हालसम्म विमानस्थलको निर्माण कार्य ५२ प्रतिशत सम्पन्न भई सकेको उनको भनाइ थियो । विमानस्थलका लागि थप आवश्यक पर्ने १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको बताउँदै जग्गा धनीलाई उचित मुआब्जा दिने स्पष्ट पारे। पोखराको रत्नमन्दिर र हिमागृहलाई पर्यटकीयस्थलको रुपमा उपयोग गरिने बताउँदै उनले यो विषयमा भने पर्यटन मन्त्रालयमार्फत नभई नेपाल ट्रष्टअन्तर्गत रहेको उल्लेख गरे । रासस
सुदूरपश्चिम प्रदेशमा नेपाल भ्रमण वर्षको तयारी
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ हुने दिन यही पुस १६ गते अर्थात् जनवरी १ लाई यहाँ उत्सवको रूपमा मनाउने तयारी गरिएको छ । प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकले गरेको निर्णयअनुसार नेपाल भ्रमण वर्ष शुरु हुने आगामी जनवरी १ लाई उत्सवका रूपमा मनाउने तयारी भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन शाखाका प्रमुख भोजराज पाठकले बताए । सङ्घीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदानमा नेपाल भ्रमण वर्ष २०२० को मुख्य समारोह गर्ने गरी तयारी भइरहको छ । मुख्य समारोह अघि प्रदेशका नौवटै जिल्लाको लोकसंस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न लागिएको छ । पहिलो दिनलाई उत्सवका रूपमा मनाएर वर्षभरि गरिने पर्यटन गतिविधिलाई अगाडि बढाउने तयारी भएको मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले बताए । भ्रमण वर्षलाई सफल तुल्याउन प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसारलाई बढी महत्व दिइएको छ । यसका लागि भ्रमण वर्षलाई लक्षित गरेर प्रदेशमा भित्रिने पर्यटकको स्वागतका लागि चिसापानी, खक्रौला, त्रिनगर, गड्डाचौकी, झुलाघाटलगायतका सीमानाका र धनगढी विमानस्थलमा स्वागतद्वार निर्माण गर्न लागिएको छ । स्वागतद्वारमा प्रदेशका पर्यटकीय गतिविधि र पर्यटन गन्तव्य झल्किने र आवश्यक सूचना दिने खालका पोष्टर र होर्डिङ बोर्डसमेत राख्न लागिएको छ । सञ्चारमाध्यम मार्फत प्रचारप्रसार गर्ने योजना बनाइएको छ । ‘भिजिट नेपाल २०२०’ को लोगोसहित प्रदेशको पर्यटकीय गन्तव्य झल्किने लोगोसमेत अङ्कित ‘स्टीकर’ सार्वजनिक यातायातका साधनमा टाँसेर प्रचारप्रसार गर्ने योजना पनि बनाइएको छ । प्रदेशको पर्यटन झल्किने गरी तयार पारिएको लोगो पर्यटक प्रवद्र्धन समितिको बैठकले अनुमोदन गरिसकेको छ । ‘देव भूमि सुन्दर भूमि’नारा लेखिएको लोगोमा प्रदेशका प्राकृतिक र मानव निर्मित पर्यटकीय क्षेत्रको तस्वीरसमेत राखिएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले भ्रमण वर्षलाई लक्षित गरी ‘भ्रमण वर्ष २०२०, हाम्रो मूल नारा राष्ट्र विकास, सबैको विकास, जुटौं हामी सारा’ भन्ने मूल नारासहित पर्यटनमैत्री गतिविधि गर्ने योजना बनाएको छ । अभियानअन्तर्गत सीमानाकामार्फत भित्रिने पर्यटकको विवरण सङ्कलनका साथै पर्यटकलाई लक्षित गरी नाकाबाट भित्रिने गाडीका चालकका लागि सचेतना कार्यक्रम शुरु गरिसकेको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । यस्तै सीमानाकाबाट भित्रिने भारतीय गाडीका चालकले रुट परमिट(सडक इजाजत) लिनका लागि झन्झट व्यहोर्नुपरेको अवस्था रहेको परिपे्रक्ष्यमा भ्रमण वर्षलाई मध्यनजर गरी सीमानाकामा नै ‘रुट परमिट’ उपलब्ध गराउने व्यवस्था गर्न लागिएको पनि उनले बताए । प्रदेश सरकारले भ्रमण वर्षलाई प्रत्यक्ष अप्रत्यक्ष सघाउ पुग्ने गरी पर्यटन व्यवसायीलाई सक्रिय बनाउने योजनासहितका कार्यक्रम सञ्चालन गर्ने योजना बनाउन लागेको छ । यसका लागि तेस्रो मुलुकका पर्यटकलाई प्रदेशका पर्यटकीय गन्तव्यस्थलमा घुमाइदिने व्यसायीलाई तोकिएको मापदण्डका आधारमा अनुदान उपलब्ध गराउने गरी तयारी भइरहेको छ । प्रदेशमा नगण्यरूपमा भित्रिने तेस्रो मुलुकका पर्यटकलाई भित्र्याउन यस्तो रणनीति बनाउन लागिएको हो । यो प्रदेशमा तेस्रो मुलकको तुलनामा भारतीय पर्यटक बढी आउने गरेका छन् । रासस
साहित्यकार डा.भट्टले पाए वनिता लघुकथा सम्मान
काठमाडौं । वनिता लघुकथा सम्मान २०७६ द्वारा साहित्यकार डा.पुष्करराज भट्ट सम्मानित भएका छन् । वर्षेनी साहित्यकारलाई प्रदान गरिँदै अाएको पुरस्कार यो वर्ष डा.भट्टलाई प्रदान गरिएको हो । कार्यक्रमकी सभापति रञ्जुश्री पराजुलीले वनिता त्रैमासिकमार्फत पुरस्कार प्रदान गर्ने गरी एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेेको बताइन् । वनिता परिवारको तर्फबाट मञ्जिला उप्रेतीले स्वागत मन्तव्य राखेकी हुन् । समारोहमा वनिता त्रैमासिककी सम्पादक, प्रकाशक लक्ष्मी उप्रेती, सम्मानित स्रष्टा डा.पुष्करराज भट्ट एवम् प्रेस काउन्सिलका सदस्य चेतनाथ धमलाले मन्तव्य राखेका थिए । उक्त वनिता लघुकथा विशेषांक विमोचन कार्यक्रममा वरिष्ठ बालसाहित्यकार, नियात्राकार रञ्जुश्री पराजुलीको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य मातृका पोखरेलको प्रमुख आतिथ्य एवम् कथाकार इन्द्रकुमार श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कामपाले शुरु गर्याे प्रचार सामग्री हटाउने कार्य
काठमाडौं । महानगरपालिकाले प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङ बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत सहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने काम शुक्रबारदेखि शुरु गरेको छ । शुक्रबार बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका ठूला बोर्ड हटाइएको नगर प्रहरी महाशाखा प्रमुख एवं नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले जानकारी दिए। उनले भने, “भित्तेलेखन, पोल र भित्तामा टाँसिएका पर्चा पम्प्लेट, ब्यानरलगायत शहरलाई कुरूप बनाउने सबै सामग्री हटाउँदैछौँ, शहरलाई सुन्दर बनाउन होर्डिङ बोर्ड मात्र व्यवस्थापन गरेर पुग्दैन, भित्तेलेखन, पर्चा, पोष्टर, पम्प्लेट सबै हटाउनु पर्छ ।” शहरी दृश्य प्रदूषण हटाउन परमादेशको माग गर्दै सर्वोच्च गएका अधिवक्ता पदमबहादुर श्रेष्ठले भने, ‘महानगरको रेकर्ड भएका प्रचार सामग्रीलाई विधिअनुसार व्यवस्थापन गर्नुपर्छ, अभिलेखमा नआएका बिजुलीको पोल, भित्ता तथा अन्य सार्वजनिक ठाउँ वा सार्वजनिक ठाउँबाट देखिने ठाउँका सबै प्रकारका प्रचार सामग्री हटाउनुपर्छ ।’ कारवाही स्वरुप ५८ हजार रुपैयाँ जरिवाना शुक्रबार मात्रै कामपाले भित्ते लेखन तथा सडकमा जथाभावी माटो खसाल्ने १० कम्पनी र व्यक्तिलाई कारवाही गरेको छ । जथाभावी होर्डिङ बोर्ड र पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चाबहिललाई १० हजार रुपैयाँ र काठमाडौं जब इम्प्लोइमेण्टलाई पाँच हजार रुपैयाँ जरिवाना तिराएको पनि सापकोटाले जानकारी दिए । सेन्ट जेभियर्स र गोल्डेनगेट मल्टिपर्पोजलाई पनि कामपाले क्रमशः पाँच–पाँच हजार रुपैयाँ जरिवाना तिराएको छ । शुक्रबार मात्रै विभिन्न व्यक्ति र संस्थाबाट कामपाले ५८ हजार जरिमाना असुलेको छ । भित्ते लेखनलगायत सहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने कामलाई महानगरले सोमबारबाट कम्तीमा तीन वटा टोली बनाएर महानगरभरि नै परिचालन गर्ने भएको छ । ‘नेपाल पर्यटन वर्ष २०२०’ लाई लक्षित गरेर शहर सुन्दर बनाउने अभियानलाई कामपाले तीव्रता दिएको हो । बिहीबार मात्रै गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा कामपा प्रमुख विद्यासुन्दर शाक्यसहित बसेको बैठकले सरोकारवाला निकायका अधिकारीबीच शहरी सुन्दरता कायम गर्ने काममा सघाउ पु¥याउन सबै पक्षलाई आग्रह गरिएको थियो । रासस
हेलिकप्टर जसरी उड्यो मोटरसाइकल, मूल्य ६ कराेड भन्दा बढी (भिडियोसहित)
काठमाडौं । त्यो समयको कल्पना गर्नुहोस् जब तपाईं एउटा बटनको सहारामा आफ्नो मोटरसाइकललाई हावामा उडाउँदै गन्तव्य सम्म पुग्नुहुन्छ । सडक जाममा परिएको वेला त यस्तो कल्पना झन् कसलाई पो नआउला र ! तर वास्तविक रुपमै त्यस्तो कल्पनालाई साकार तुल्याएको छ फ्रान्सको एउटा कस्टम अटोमोवाइल कम्पनीले, जसको नाम हो ‘ल्याजरेथ’ । यहि कम्पनीले निर्माण गरेको एउटा मोटरसाइकल अन्य मोटरसाइकल सरह गुड्न त सक्छ नै साथै हेलिकप्टर जसरी आकासमा उड्न पनि सक्छ । एलएमभि ४९६ नाम दिइएको यस मोटरसाइकलाई कम्पनीले केहि महिना अघि सफलतापूर्वक परिक्षण पनि गरेको थियो । यस्ता छन् विशेषता यस मोटरसाइकलमा चार वटा चक्काहरु रहेका छन् भने मसेराती कारको ५२०० सीसी भि८ इञ्जिन समावेश गरिएको छ । मसेराती आफ्नो अल्ट्रा लक्जरियसका साथै रफ्तार कारहरुका लागि प्रख्यात मानिन्छ । ल्याजरेथ एलएमभि ४९६ को सवै टायरहरुको बिचमा ९६००० आरपीएमको जेट टर्वाइन जडान गरिएको छ । यस मोटरसाइकलको सवैभन्दा राम्रो पक्ष भनेको यो राइड मोडबाट फ्लाइ मोडमा प्रवेश गर्न केवल ६० सेकेण्डको मात्र समय लाग्छ । कम्पनीले यसको परिक्षणको समयमा यसलाई एक मिटरको उचाइसम्म उडाएर देखाएको थियो । यस मोटरसाइकलको तौल जम्मा १४० के.जी मात्र रहेको छ भने फ्लाइट मोडमा चाहिँ यसले १२० के.जी सम्मको तौल लिएर उड्न सक्ने कम्पनीकाे दावी छ । पोलिष्टर र कार्वन फाइवरको चेसिसमा निर्माण भएको हुनाले पनि यस मोटरसाइकलको तौल तुलनात्मक रुपमा कम रहेको हो । यसरी उड्छ मोटरसाइकल यस मोटरसाइकलमा जडित हाइड्रोलिक एक्यूएटर्सले चारओटा व्हिल्सलाई माथितर्फ मोडिदिन्छ । त्यसपछि सम्पूर्ण चक्काहरुमा भएको टर्बाइन चालु भएर मोटरसाइकललाई माथितर्फ धकेलिदिन्छ र यो उड्न थाल्छ । चेसिसको बिच भागमा समावेश गरिएका थप दुई जेटले मोटरसाइकललाई माथि उड्न थप वल प्रदान गर्छ जसका कारण यसले बढि वजन लिएर पनि उड्न सक्छ । कति पर्छ मूल्य ? कम्पनीले ल्याजरेथ एलएमभि ४९६ को मूल्य ५ लाख ६० हजार अमेरिकन डलर तोकेको छ, नेपाली रूपैयाँमा परिवर्तन गर्दा यसकाे मूल्य ६ कराेड रूपैयाँ भन्दा बढी पर्छ ।
पर्यटन वर्षलाई लक्षित गर्दै ताप्लेजुङको पाथीभरा उडान शुरु
काठमाडौं । इलामबाट धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथीभरा उडान शुरु गरिने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सिम्रिक एयरले सो उडान शुरु गर्ने भएको हो । इलामको सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडाबाट ताप्लेजुङका लागि उडान शुरु गरिने बताइएको छ । पूर्वका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले इलामसहित पूर्वका तीन स्थानबाट ताप्लेजुङको पाथीभरासम्म हेलिकप्टर यात्रा गराउने उद्देश्यले उडान शुरु गरिएको सिम्रिक कम्पनीले जनाएको छ । सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडासहित धनकुटाको भेडेटार र ताप्लेजुङको सुकेटारबाट पुसको तेस्रो साताबाट ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गराउने सिम्रिकका प्रमुख कार्यकारी अधिकृत योगेश सापकोटाले जानकारी दिए । इलाम पर्यटकीय क्षेत्र भएकाले यहाँबाट पहाडी जिल्लासहित भारतका पर्यटक लक्षित गरेर उडान शुरु गरिएको सापकोटाको भनाइ थियो । पूर्णे डाँडाबाट १५ देखि २० मिनेटमा पाथीभरा पुग्ने बताइएको छ । दर्शनार्थीले एक घण्टा पाथीभरामा बिताउने र त्यसपछि पुनः सोही स्थानमा ल्याएर छोडिने सिम्रिकका इलाम प्रतिनिधि प्रेमप्रसाद आचार्यले जानकारी दिए । पर्यटन वर्षमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि पूर्वका स्थानमा नयाँ ‘उत्पादन’ थप गरेको सापकोटाले बताए । सिम्रिकले इलामबाट २८ हजार ९९९ रुपैयाँमा पाथीभराको दर्शन गराउने छ । त्यसैगरी भेडेटारबाट २९ हजार ९९९ रुपैयाँमा र सुकेटारबाट ६ हजार ९९९ रुपैयाँमा भ्रमण गराउने बताइएको छ । गाडीमा यात्रा गर्न असहज हुने दर्शनार्थीका लागि यो नौलो अवसर भएकाले पनि प्रचार गर्न आवश्यक रहेको पर्यटनकर्मीले बताउँदै आएका छन् । यसले पर्यटन वर्षलाई सफल बनाउन मद्दत गर्ने अपेक्षा लिइएको छ । इलामबाट शुरु गरिने उडानबाट जिल्लावासी मात्र होइन तराई र भारतको दार्जिलिङ, सिक्किम, सिलिगुडीसहितका दर्शनार्थीलाई समेत सहज हुनेछ । इलाम प्रतिनिधि आचार्यका अनुसार इलामबाट बुकिङ शुरु गरिसकिएको छ । भ्रमण वर्ष मनाउन जिल्लाका स्थानीय तहले पनि तयारी थालेका छन् । रासस