विकासन्युज

डिजिटल नेपाल निर्माण गर्न सबैले एकजुट हुनुपर्छ : नवराज कुँवर

यो समय सूचना प्रविधिको हो । बालकदेखि बृद्धसम्म सूचना प्रविधिमै रमाउन चाहन्छन् । पछिल्लो समय सूचना प्रविधिको प्रयोग गर्नेको संख्या पनि ह्वात्तै बढेको छ । सरकारले पनि डिजिटल नेपालको अवधारणा अघि सारेको छ । नेपालमा इन्टरनेटदेखि सफ्टवेरसम्म सम्बन्ध राख्ने कम्पूटर एशोसीएसन अफ नेपाल पनि आम जनमानसलाई प्रविधिमा संलग्न गराउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।  हालै कम्पूटर एशोसीएसन अफ नेपालको नेतृत्व नवराज कुँवरले पाएका छन् । उनै कुवँरसँग नेपालको सूचना प्रविधिको अवस्था, सूचना प्रविधिको विकासमा उनका आगामी योजनाका बारेमा  विकासन्यूजका लागि नबिन पोखरेलले गरेको कुराकानी : क्यान महासंघ सूचना प्रविधिको व्यवसाय प्रवर्द्दनका लागि कसरी अगाडि बढी रहेको छ ? व्यवसाय प्रवद्र्धन भन्दापनि हामीले समग्र प्रविधि बजारको हितकालागि काम गर्ने हो । सो कामकालागि आवश्यक रहेको ठाउँमा हामीले काम गर्दै आएका छौँ । विषेश गरेर हाम्रो उदेश्य भनेको ग्रामीण क्षेत्रमा काम गर्ने हो । अहिले ग्रामिण क्षेत्र भनेको डिजिटल रुपमा काम गर्न आवश्यक रहेको क्षेत्रपनि हो । क्यान महासंघले सरकारका लक्ष्य तथा योजनमा सघाउँदै आएको छ । मुख्यतः आवश्यक रहेको ठाउँका विभिन्न किसिमका कार्यक्रमहरु गर्दै हामीले अघि बढी रहेका छौँ । यस वर्ष हामीले उपत्यका बाहिरबाट कामको थालनी गर्ने लक्ष्य लिएका छौँ । सोही लक्ष्यअनुसार मुलुकका २६ ठाउँमा विविध कार्यक्रमहरु हुनेछन् । प्रविधिको साक्षरताका लागि के कस्ता कार्यक्रमहरुको आयोजना गर्नु भएको छ ? अहिलेको युगमा नयाँ पुस्तामा इन्टरनेटको ज्ञान राम्रो छ । सोही कारण नयाँ पुस्तामा भन्दा अघिल्ला पुस्ताकालागि हामीले कार्यकम तय गर्नु पर्छ । अघिल्ला पिढी तथा पछिल्ला पिढीलाई मिल्ने हिसाबले हामीले इन्टरनेटका कार्यक्रम अघि बढाइ रहेका छौँ । कार्यक्रमको तय कसरी गर्नु भएको छ,कार्यक्रम सञ्चालनका लागि सरकारसँग समन्वय गर्नु भएको छकि छैन ? हामीले कार्यक्रम स्थानीयतह,जिल्ला र प्रदेश अनुसार तय भइरहेको छ । जहाँ जस्तो आवश्यकता पर्छ हामी सोही अनुसार काम गर्न तयार छौँ । सरकारसँग समन्वय गर्ने कि नगर्ने भन्ने कुरा अवस्था हेरेर हुन्छ । हामी कतिपय अवस्थामा सरकारी तहसँग मिलेर काम गर्नेछौं भने कतिपय अवस्थामा हामी एक्लैपनि काम गर्नेछौं । विभिन्न आवश्यकता र अवस्थालाई नियाल्दै हामी अगाडि बढ्छौं । हामीलाई जरुरी पर्यो भनेपनि स्थानिय तह, प्रदेश सरकार र संिघय सरकारसँग पनि सहकार्य गरेर काम गर्छौं । क्यान महासंघलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन तपाईका आगामी योजना तथा रणनितीहरु के कस्ता छन् ? नेपालको सूचना प्रविधिको विश्व बजार भन्दा निकै पछाडि छ । विश्व बजारले ४० वर्ष पहिले प्रयोग गरि सकेका सूचना प्रविधि हामी अहिले प्रयोग गर्दैछौं । हामी भने अहिले ती सूचना प्रविधिमा हामी रमि रहेका छौं । सूचना प्रविधिको विकासमा निजी क्षेत्रबाट पनि धेरै विकासका प्रयासहरु भएका छन् ।  निजी क्षेत्रले राम्रा सफ्टवेरको निमार्ण गरेर विदेशमा निर्यात गरेको उदाहरण पनि हामी कहाँ छन् । पछिल्लो समय नेपाल सरकारले सूचना तथा संचार निती २०७२ लिएर आएको छ । त्यसमा भएका राम्रा कुराहरु नै कार्यान्वयन हुन नसकेको अवस्था छ । सरकारी नितीमा रहेका राम्रा कुराहरु कार्यन्वयन भएमा सबैलाई फाईदा पुग्छ । हामीले सोही नितीमा रहेका कुरालाई कार्यान्वयन गराउँनुपर्छ भन्ने पक्षमा आवाज उठाउँदै आएका छौँ । सरकारको डिजिटल नेपाल सार्वजनिक निजी साझेदारीमा गर्ने योजना बनाएको छ । त्यसकालागि क्यान महासंघ सहयोगी हुने देखिन्छ । सरकारको योजना र हामीले गर्दै आएको काममा निकै हदसम्म समानता रहेकोे पाईन्छ । सोही कारण पनि सरकालाई हामी सहयोगीसिद्ध हुने कुरामा दुइ मत नहोला । तपाईको कार्यकालमा इन्टरनेटको विकासका लागि के गर्नु हुन्छ ? देशको ग्रामिण क्षेत्रमा इन्टरनेको पूर्वाधार नै पुगि सकेको छैन । इन्टरनेको पूवार्धारको विस्तार गर्ने काम नेपाल सरकारको हो । हामीले सरकारले पूवार्धार विस्तार गर्नुपर्छ भन्दै आएका छौँ । इन्टरनेटको विषयमा छुटाउनै नहुने कुरा भनेको नेपालको इन्टरनेट शुल्क महङ्गो छ । सरकारका नितीमा केही सुधार भएको अवस्थामा इन्टरनेट शुल्कमा हेरफेर हुने हाम्रो अनुमान छ ।  मुख्यतः मन्त्रालयमा नै एक किसिमको समन्वयको वातावरण छैन । सर्वप्रथम त सरकारी तहमा एक अर्काबीच राम्रो समन्वय हुन आवश्यक छ । सरकारले इन्टरनेटको शुल्कको बारेमा २०७४ सालको मन्त्री परिषद्बाट निर्णय गरेको थियो । त्यसलाई खरिदमा लाग्ने १० प्रतिशत ट्याक्सबाट ५ प्रतिशतमा ल्याएको कुरा छिटो भन्दा छिटो कार्यान्वयन गराउन आवश्यक छ । फागुनमा क्यान महासंघले इन्फोटेक मेलाको आयोजना गर्दैछ । यो पटक ग्राहकले नयाँ कुरा के पाउँछन् ? प्रविधि भनेको आफैमा नयाँ कुरा हो । सोही कारण क्यान इन्फोटेक मेलामा प्रविधिका अन्य समय जस्तै नयाँ प्रविधिको लाभ ग्राहकहरुले उठाउँन पाउने छन् । हामीले नेपाली विद्यार्थीद्धारा बनाएको सफ्टवेरलाई क्यान इन्फोटक मेलामा प्राथमिकता दिने छौँ । हाम्रै देशमा रहेका विद्यार्थीले प्रविधिको क्षेत्रमा गरेको मेहनत सबै समक्ष पुर्याउने हाम्रो उदेश्य रहेको छ । देशमा प्रविधिको क्षेत्रमा काम गर्नेहरुको अवस्था कस्तो छ ? प्रविधिमार्फत काम गर्नेहरु पछिल्लो समय बढ्दै गइरहेका छन् । दिनैपिच्छे तिनीहरुको संख्या पनि बढ्दै छ । देशभर प्रविधिकै क्षेत्रमै कतिले काम गर्छन् त्यसको भने एकिन तथ्याकं अहिलेसम्म राखेको छैन । प्रष्ट रुपमा भन्दा देशको सबैभन्दा धेरै रोजगार सिर्जना गरिरहेको क्षेत्र भनेको प्रविधि हो । साथै, प्रविधिमा रोजगार गर्न चाहनेलाई राम्रो वातावरण छ । क्यान इन्फोटेक जनचेतना वृद्धीका लागि कतिको उपयोगी छ ? मेलामा कतिपय कुराहरु अुनभव गर्नका लागि सहज हुन्छ भने कतिपय कुरा आँखाले देख्न पाउँदा नै राम्रो हुन्छ । डिजिटल नेपाल फेमवर्कमा ई हाटबजार कन्सेप्ट छ क्यान इन्फोटेकलाई ई हाटबजार को रुपमा पनि लिन सकिन्छ । सबै सफ्टवेर एकै ठाउँमा देखिने भएकाले प्रविधिमा विज्ञ,अनविज्ञ सबैका लागि प्रविधि मेला उपयोगी हुनेछ । अन्त्यमा के भन्न चाहानु हुन्छ ? प्रविधिको नकारात्मक र सकारात्मक दुई पाटा हुन्छन् यसलाई सबैले बुझ्न आवश्यक हुन्छ । अर्को, सरकारी तहबाट प्रविधि क्षेत्रलाई सुरक्षित बनाउन पहल गर्नु आजको आवश्यकता हो भन्ने मलाई लाग्छ ।

चावहिल–साँखु सडक: आधा मात्रै मापदण्ड अनुसार

काठमाडौं। चावहिल–साँखु सडकमा झण्डै ५० प्रतिशत भागमा मात्रै मापदण्डअनुसार सडक चौडा हुने र पूर्वाधारको निर्माण हुने भएको छ । उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने भनी गत वर्ष मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सोही आधारमा काम अघि बढाउँदा सबै स्थानमा मापदण्डअनुसार सडक निर्माण हुन नसकेको हो । चार वर्ष पहिले २२ मिटर चौडाइ कायम गर्नेगरी ठेक्का सम्झौता भए पनि स्थानीयवासीको विरोधका कारण सबैतिर मापदण्डअनुसार चौडाइ कायम गर्न नसकिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा साँघुरा बस्ती रहेका स्थानमा पाँच/छ मिटरभन्दा बढी चौडाइ बढाउन नसकिएको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए। सडकमा कतिपय स्थानमा कालोपत्र त बाँकी ठाउँमा ग्राभेलको काम भइसकेको छ भने कतिपय स्थानमा अझै खाल्डाखुल्डी देखिन्छ । चौडाइ बढाउन नसकिएका स्थानमा सडकमा निर्माणका लागि आवश्यक तयारी नभएको उहाँको भनाइ छ । “अरु स्थानमा निर्माण सकिँदासम्म चौडाइ बढाउन सकिन्छ कि भनेर अन्तिममा काम गर्न लागिएको हो”, उनले भने । निर्माणाधीन सडक कागेश्वरी–मनोहरा, गोकर्णेश्वर र शङ्करापुर गरी तीन नगरपालिकामा पर्छ । सबै जनप्रतिनिधि चौडाइ बढाएरै कालोपत्र गर्नुपर्छ भन्ने पक्षमा रहेको र स्थानीयस्तरमा सहजीकरण गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताए। उनका अनुसार उपत्यकाका विस्तारका क्रममा रहेका कतिपय सडकमा जनप्रतिनिधिले स्थानीयवासीको घर भत्काउन हुँदैन भन्ने पक्षमा वा कतिपयले भने बेवास्ता गरिरहेका छन् । यहाँका जनप्रतिनिधिकै सहयोगका कारण सडक आधा लम्बाइमा मापण्डअनुसार कालोपत्र भएको उनको भनाइ छ । उनले भने, “जनप्रतिनिधि नियमितरूपमा सहजीकरण गर्ने र विवाद आउँदा त्यसको समाधानमा लाग्नुभएको छ ।” कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ का अध्यक्ष राजाराम पुडासैनीले मुआब्जा लिइसकेका घरधनीसमेत घर भत्काउन तदारुकता नदेखाएको बताए । मुआब्जा बुझिसकेका घर बहालमा लगाएर त्यसबाट भाडा उठाइरहेको उनको भनाइ छ । अदालतले घर नभत्काउन गरेको निर्णय बेवास्ता गरेको गरेको भनी हाम्रा विरुद्धमा मुद्दा गरेका छन् । उनले भने, “हामीले पटक–पटक भन्दा पनि अटेर भइरहेको छ, नेपाल सरकार आफैँ लाग्न आवश्यक छ ।” सडकमा कतिपय स्थानमा एक वा दुई घरका कारणले पनि सडक निर्माण हुन नसकेको इञ्जिनीयर श्रेष्ठले बताए। आयोजनाले चार वर्ष पहिले ठेक्का सम्झौता गर्दा पैदलयात्रुमार्ग, वर्षाको पानी जम्मा हुने पाइपलगायतका संरचनासमेत निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको थियो । आयोजनाले अहिले २२ मिटर नै खाली गर्न सकिएका स्थानमा यी पूर्वाधार निर्माण गर्ने र नभएका स्थानमा सडकमात्रै निर्माण गरिरहेको छ । उनले भने, “भविष्यमा त्यो सडक बढाउन सकियो भने त्यसपछि पैदलयात्रुमार्ग निर्माण गर्ने योजना छ ।” सलम्बुटार, डाँछी, थलीलगायत स्थानमा स्थानीयवासीले अहिले पनि अवरोध गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताए। हिमपाइप हाल्दा आफ्नो जग्गामा नदिने भन्दै उनीहरुले अवरोध गरिरहेका छन् । उनले भने, “संरचना बन्न जति ढिलाइ हुन्छ ती स्थानमा सडक कालोपत्र भइसक्न पनि उति नै ढिलाइ हुन्छ ।” सो सडकमा निर्माण सम्झौता भएको तीन वर्षपछि कालोपत्रको काम शुरु भएको थियो । आयोजनाले विसं २०७२ मा साढे १२ किमी लामो सो सडक विस्तार गर्न प्रक्रिया अघि बढाएको थियो । मुआब्जा विवादसँगै सो सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन विस्तार, टेलिफोन र बिजुलीका खम्बा, ढललगायत संरचनाले पनि काममा अवरोध पु¥याएको थियो । पटक–पटक पत्राचार गर्दा पनि सम्बन्धित निकायले संरचना सार्न ढिलाइ गर्दा कतिपय स्थानमा आयोजना आफैँले ती कुरा हटाएर ‘साइट’ खाली गराएर काम अघि बढाएको छ । विस्तारका क्रममा रहेका अरु सडकजस्तै आयोजनाले सो सडक २२ मिटरमा विस्तार गर्न ठेक्का लगाएको थियो । सडक विस्तार गर्दा ठूलो सङ्ख्यामा भौतिक संरचना भत्काउनुपर्ने अवस्था थियो । सडकसँगै घर भएका स्थानीयवासी शुरुदेखि नै आफ्नो घर भत्काएर सडक विस्तार गर्ने पक्षमा थिएनन् । सडक निर्माणका लागि ठेक्का सम्झौता भएसँगै यहाँलगायत उपत्यकाका विस्तारित सडकका पीडित स्थानीयवासी सङ्गठितरूपमा आन्दोलन गर्दा निर्माण अवरुद्ध बनेको थियो । अहिले पनि विस्तारका क्रममा रहेका अधिकांश सडक निर्माण हुनसकेको छैन । मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौँ उपत्यकाको सडक निर्माणमा चासो देखाएका छन्। गत साता उनले यस सडकको अनुगमन गर्दै स्थानीयवासीका गुनासो सुनेका थिए । चालू आवभित्रै सडक निर्माण सम्पन्न गर्ने मन्त्रालयको योजना छ ।

साग विजेता आयशा शाक्य र आशिष बस्नेत सम्मानित

काठमाडौँ महानगरपालिका वडा नं ३१ ले स्वर्णपदक विजेता आयशा शाक्य र रजत पदक विजेता आशिष बस्नेतलाई सम्मान गरेको छ । कामपा वडा नं ३१ ले शुक्रबार आयोजना गरेको सम्मान कार्यक्रममा आफ्नो वडावासी तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)का पदक विजेतालाई सम्मान गरेको हो । शाक्यले तेक्वान्दो खेलको पुम्से एकल तथा युगल जोडीतर्फ २९ वर्ष माथिको उमेर समूहमा गरी दुईवटा स्वर्ण पदक हासील गरेका थिए भने बस्नेतले बास्केटबलमा रजत पदक प्राप्त गर्नुभएको थियो । कार्यक्रममा शाक्यलाई ५० हजार रुपैयाँ र बस्नेतलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको हो । सो अवसरमा तेक्वान्दो खेलका प्रशिक्षक दीपक बिष्ट, कराँते खेलका प्रशिक्षक तुलसी महर्जन, बास्केटबल खेलका प्रशिक्षक निरञ्जन सत्याल, व्याडमिन्टनका किरण थापालाई सम्मानित गरिएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य गणेश दुलालले खेलाडीलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए । वडाध्यक्ष नारायण भण्डारीले स्वस्थ समाज निर्माणका लागि महानगरले खेलकुदलाई प्राथमिकतामा राखेको बताए । महानगरको सम्मानबाट आफूहरुलाई खेलमा लाग्न थप हौसला मिलेको सम्मानित खेलाडीहरु शाक्य र बस्नेतले धारणा राखेका थिए ।

दर्ता नभई प्रदेश नं ३ सरकारले गर्‍यो अस्पताल घोषणा, यन्त्र छ तर सुविधा छैन

काठमाडौं। प्रदेश नं ३ सरकारले अस्पताल स्वीकृत नगरी प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘अस्पताल’ घोषणा गरेको पाइएको छ । स्थानीयवासीले पाउनुपर्ने सेवा पाउन नसकेपछि सो विषय जानकारी भएको हो । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर नजिकै सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रलाई गत असार १६ गते ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १५ शय्यासहितको प्राथमिक अस्पताल घोषणा गरेका थिए। हाल नगरपालिकाअन्तर्गत सञ्चालन भएको अस्पताल भनेर बोर्ड राखिएको छ तर सेवा भने दिन सकेको छैन । अस्पतालमा पाइने सेवा पाउन नसकिएको नगरपालिकाकै दुर्गमस्थल तारेभीरबाट स्वास्थ्य सेवा लिन आउनुभएका सेवाग्राही सोमबहादुर तामाङले गुनासो गरे । तारेभीरमै नगरपालिकाको पहलमा निर्माण भएको सहरी स्वास्थ्य सेवा केन्द्र भएकाले सेवा लिन आएको तर सेवा पाउन नसकिएको उनको दुःखेसो थियो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जग्गा भवन नभई रु ५० लाख बजेट दिएर अस्पताल घोषणा गरिए पनि सेवा दिन नसकिएको स्वीकार छन् । अस्पताल दर्तासमेत हुन नसकेको उनले जानकारी दिए । स्वास्थ्य मन्त्रालयलगायत निकायमा अस्पताल दर्ताका लागि पहल गरिएको नगरपालिकाले जनाएको छ । विसं २०२८ मा स्थापना भएको स्वास्थ्य भवनमा सबै सेवा सञ्चालन हुन सक्ने अवस्था छैन । भवन बनाउन जग्गाको खोजी भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र नै चलाउन पनि भवनका कारण समस्या रहेको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए । प्रदेश सरकारले गत असारमै अस्पताल घोषणा गरेपछि नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य केन्द्रलाई प्राथमिक अस्पतालमा स्तरोन्नति गर्ने उल्लेख गरेको थियो । जसअनुसार २०७६ मङ्सिर २ गतेको नगर कार्यपालिकाको बैठकले १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । स्थानीय तह सञ्चालन ऐन २०७४ मा एउटा स्थानीय तहमा कम्तीमा एक प्राथमिक अस्पताल स्थापना गरिने उल्लेख छ । केन्द्रका लागि विसं २०७४ भदौ २३ गते स्वास्थ्य सेवा विभाग, आपूर्ति महाशाखाले किनिदिएको एक्सरेयन्त्र राख्ने ठाउँ र चलाउने जनशक्ति नभएका कारण थन्क्याएर राखिएको छ । “यो एक्सरे यन्त्र पुरानो प्रविधि हो, हाल सबै स्वास्थ्य संस्थाले डिजिटल एक्सरे चलाउन थालिसके, अब यसलाई जडान गर्ने कि नगर्ने प्राविधिकसँग सल्लाह गर्छौँ, त्यसपछि मात्र के गर्ने भन्न सकिन्छ”, स्वास्थ्य शाखा प्रमुख उपाध्यायले भने । नगरपालिकाको ४ नं वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको संयोजकत्वमा रहेको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले भने हाल एक्सरेयन्त्र राख्ने कोठा बनाउने काम भइरहेको जनाएको छ । केन्द्र व्यवस्थापन समितिका सदस्य राजकुमार श्रेष्ठले निर्माण छिट्टै सम्पन्न गर्नेगरी काम भइरहेको राससलाई जानकारी दिए । हाल केन्द्रमा निःशुल्क पाइने सबै औषधी भने पर्याप्त मात्रा रहेको जनाइएको छ । नगर क्षेत्रका एक स्वास्थ्य केन्द्र, चार स्वास्थ्य चौकी र एक सहरी स्वास्थ्य केन्द्रमा औषधी भने नियमित रुपमा पठाइएको शाखाले जनाएको छ । नगरपालिकाले नगर क्षेत्रमा स्वास्थ्य एवं सफाइलाई व्यवस्थित गर्न ‘स्थानीय आधारभूत स्वास्थ्य तथा सरसफाइ सेवा कार्यविधि २०७६’ मस्यौदा जारी भइरहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । रासस

सिद्धार्थ बैंककाे ‘महिला उद्यमशील कर्जा’: ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने

काठमाडौं। सिद्धार्थ बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागी पन्ध्रलाखसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ “महिला उद्यमशील कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ । सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्धारा प्रधान गराईने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफनो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ र ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ । महिला उद्यमशील कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग पु¥याउने बैंकको विश्वास रहेको छ । ९० प्रतिशत सम्म फाइनान्सिङ सुविधा (अधिकतम रू १५ लाख सम्म), वार्षिक ६।०२५ सम्मको आकर्षक ब्याजदर , प्रशासनिक शुल्क नलाग्ने, अग्रिम भुक्तानी शुल्क नलाग्ने, सरल भुक्तानी सुविधा र ५ कार्य दिन भित्रै कर्जा स्वीकृत हुने यस कर्जा योजनाका प्रमुख आकर्षणहरू हुन्। यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको साझेदारी प्रोजेक्टद्धारा देशका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न डिजाईन तथा सञ्चालन गरिएको हो । सिद्धार्थ बैंकले हाल देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९७ एिटिएम र १,६०० भन्दा बढी पिवोस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवाप्रदानगर्दै आएको छ ।

नेपालकै ठूलो स्टार्टअप प्रदर्शनी ‘जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९’ शनिबार हुँदै

काठमाडौं। नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले शनिबार आयोजना गर्न लागेको स्टार्टअप प्रदर्शनी जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९ मा २०० भन्दा धेरै स्टार्टअपहरुको प्रदर्शनी रहने भएको छ । जिबिजि बिजफेस्ट र बिजस्टार्ट नेपालमा यस प्रकारको पहिलो र एकमात्रै प्रविधि तथा स्टार्टअप व्यबसाय सम्बन्धि प्रदर्शनी हो । नेपालमा गत वर्षदेखि गर्न लागिएको कार्यक्रमको यो दोस्रो संस्करण हो । नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम गर्ने कम्पनी जेनेस सफ्टवेयर सोलुसन सँगको मुख्य सहकार्यमा गर्न लागिएको यस मेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको छ । यस कार्यक्रममा स्टार्टअप प्रदर्शनीसँगै विशेष वर्कशप कार्यशालाहरु पनि संचालन गरिनेछ जहाँ नेपालका स्टार्टअप संस्थापकहरूले विशेषज्ञहरू मार्फत आफ्नो व्यवसायमा उपयोगी हुने गुगलका विभिन्न व्यापार प्रविधिहरु सिक्ने र उक्त प्रविधि प्रयोग गरेर आफ्नोे व्यवसाय विस्तार गर्ने अवसर पाउने छन् । कार्यक्रमको अवधारणाको बारेमा बोल्दै गुगल बिजनेस ग्रुप काठमाडौंका प्रवन्धक अमित अग्रवाल भन्छन्, “जिबिजि बिजफेस्ट विश्वका विभिन्न देशहरुमा वार्षिक रुपमा आयोजना हुने कार्यक्रम हो । हामी नेपालमा यस कार्यक्रमको दोस्रो संस्करण आयोजना गर्न  उत्साहित छौँ । नेपालमा स्टार्टअप गर्ने ट्रेन्ड भर्खरै मात्र सुरु भएको छ । हाल हामीले स्टार्टअपहरु हामीले यत्रतत्र देख्न सक्छौँ । यद्यपि, धेरै जनालाई स्टार्टअप भनेको के हो र के–कस्ता स्टार्टअप कम्पनीहरु नेपाली बजारमा आएका छन् र तिनीहरुले के–के काम गर्छन भन्ने धेरैलाई थाहा छैन ।  त्यसैले गुगल बिजनेस ग्रुपले नेपाली स्टार्टअपका यिनै समस्याहरुको मध्यनजर गरी सबैलाई एकै ठाउँमा ल्याउने, निःशुल्क प्रदर्शनी गर्ने र उनीहरुका संभावित ग्राहकसँग जोडिने अवसर प्रदान गर्ने हेतुले यो प्रदर्शनी आयोजना गरेको हो । ” मेलामा देशभरका दुई सयभन्दा बढी स्टार्टअपहरूले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्दै छन् । साथै, कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने र स्टार्टअप गर्न इच्छुक दस हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ । गत वर्ष आयोजना गरिएको पहिलो संस्करणको कार्यक्रममा देशका विभिन्न ठाउँबाट उदाउँदै गरेका १२०ंं स्टार्टअप र ५ हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको थियो । साथै, प्रदर्शनीमा ’गुगल माई बिजनेस’ लक्षित एउटा विशेष स्टल रहने छ । प्रदर्शनीमा सहभागी स्टार्टअपहरूले उक्त स्टल मार्फत आफूलाई गुगलको व्यापार निर्देशिका (गुगल बिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्नेछन् । उक्त निर्देशिकामा सुचिकृत भए पश्चात ग्राहकहरूले व्यवसाय र त्यसको विवरणहरू पत्ता लगाउन सक्नेछन् । यसका साथै उक्त व्यबसायहरु गुगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखा पर्ने सम्भावना बढ्नेछ । यस कार्यक्रमले स्टार्टअपहरुको प्रवर्धन र विकासमा टेवा पुर्याउने आयोजकको विश्वास छ । धेरै भन्दा धेरै स्टार्टअपहरु लाभान्वित होउन् भनेर मेलामा सहभागी स्टार्टअपहरुका लागि स्टल बुकिङ निःशुल्क गरिएको थियो । साथै, मेलाको अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएको छ ।

सिद्धार्थ इन्स्योरेन्सको पोखरामा प्रादेशिक कार्यालय उद्घाटन

काठमाडाैं । सिद्धार्थ इन्स्योरेन्सको गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालयको समुद्घाटन गरिएको छ। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईद्वारा समुद्घाटन गरिएको हो । सो समारोहमा अध्यक्ष चापागाँईले व्यवसाय वृद्धि संगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिंदै प्रादेशिक कार्यालयले बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । कार्यक्रमका सभापति एवं कम्पनीका सञ्चालक पवन कुमार अग्रवालले अहिले सम्म गण्डकी प्रदेशका ११ वटा जिल्ला मध्ये ८ वटा जिल्लामा ११ वटा शाखा सञ्जाल मार्फत स्तरिय बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भविष्यमा बाँकी जिल्लामा समेत शाखाहरुको विस्तार गरी अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रिले मन्तव्य राख्दै उत्कृष्ट बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताउनु भयो । सो समारोहमा स्थानिय बैंक तथा वित्तीय संस्थाहरु प्रमुख एवं व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न, खुद मुनाफा करिब १३ कराेड

काठमाडौं। इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको पच्चिसौं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले यस आर्थिक बर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रु. ४ अर्ब ६३ करोड र कर्जा सापट रु. ४ अर्ब २८ करोड पुगेको तथा यस बर्षको सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनस तथा कर व्यवस्था पछि) रु. १२ करोड ९९ लाख भएको जानकारी साधारणसभालाई गराए । कम्पनीको चुक्ता पूँजी रु.८१ करोड पुगेको तथा साधारणसभामा अनुमोदनको लागि पेश गरिएको उक्त चुक्ता पूजिँका १३ प्रतिशतको लाभाँश बितरण (बोनश शेयर २.३५५ तथा नगद लाभाँश १०.६५५) सम्बन्धी प्रस्तालाई २५ औं साधारणसभाबाट अनुमोदन गरियो । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष पाण्डेले बिषम परिस्थितीको बावजुद पनि कम्पनीको व्यवसायीक कारोवार बृद्धि हुनुमा आफ्ना ग्रहकहरुसंगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा व्याज असुलितर्फ प्रभावकारी अनुगमन मुख्य रहेको कुरा बताउनु भयो । कम्पनीले २०७६ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधिभित्र रहि व्यवसायीक कार्य गर्दै उक्त बैंकको निर्देशनहरु पूर्णरुपमा पालना गरिएको जानकारी समेत सभालाई गराए। छलफलको क्रममा शेयरधनीहरुबाट उठाईएका विभिन्न प्रश्न तथा जिज्ञासाहरुको उत्तर अध्यक्षज्यूको अनुमतिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दिए पश्चात साधारणसभाबाट वित्तीय विवरण लगायत सभामा छलफलका लागि पेश गरिएका साधारण तथा विशेष प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको थियो।