विकासन्युज

सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’ पुस २३ देखि २५ गतेसम्म

काठमाडौं । सीजी मोटोकर्पले पुस २३ देखि २५ गतेसम्म । ‘विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउने भएका छन् । साथै, सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निःशुल्क कार वासको सुविधाका साथै एसडीटी डायग्नोसिसमा ५० प्रतिशत पाउने छन् । यस अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिन आयल, एसोसरिज र ह्विल एलाइनमेन्टमा १० प्रतिशत छुट पाउने छन् । सुजुकीको विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

एनआईबिएल सहभागिता फण्डको इकाइ बिक्रीका लागि गुडविल फाईनान्स र मुक्तिनाथ विकास बैंकबीच समझदारी

काठमाडौं । एनआईबिएल सहभागिता फण्डको इकाईहरुको खरिद बिक्रीलाई सहजीकरण गर्नका लागि गुडविल फाईनान्स र मुक्तिनाथ विकास बैंकबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा, गुडविल फाईनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर र मुक्तिनाथ बिकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल प्रसाद गुरुङ्गले हस्ताक्षर गरेका हुन् । गुडविल फाइनान्स तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट यहि माघ १ गते देखि “एनआईबिएल सहभागिता फण्ड” को ईकाइहरु लगानीकर्ताहरुले खरिद बिक्री गर्न सक्नेछन् । यस अघि सो योजनाका इकाईहरुको कारोबार नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट असोज २७ गतेदेखि हुदैं आइरहेको छ ।

काठमाडौंमा मोनोरेलको डीपीआर तयार, अनुमानित निर्माण लागत १६ अर्ब रूपैयाँ

काठमाडाैं । काठमाडौं उपत्यकालाई रेलले घेर्ने सरकारको ठुलो योजना छ । यही योजना र रणनीतिलाई आत्मसाथ गर्दै सरकारी मातहतका कार्यालयहरु रेल निर्माणको तिव्र अध्ययनमा जुटेका छन् । काठमाडौं महानगरपालिकाले निर्माण गर्ने भनिएको मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार भइसकेको छ । काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालन हुने मोनोरेलको डीपीआर तयार भएको महानगरले जनाएको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मोनोरेलको डीपीआर तयार भएको बताए । चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी)ले मोनोरेलको डीपीआर तयार पारेर महानगरलाई बुझाइसकेको छ । महानगर र सीआरसीबीच गत वर्ष पुसमा डीपीआर निर्माण गर्ने सम्बन्धि सम्झौता भएको थियो । महानगरका मेयर विद्या सुन्दर शाक्यले कोटेश्वरकलंकी, कलंकी९महाराजगन्ज र महाराजगन्ज ९कोटेश्वर खण्डमा मोनोरल सञ्चालन हुने बताए । ‘एक सय किलोमिटर प्रतिघण्टा गुड्ने रेलले एक पटकमा एक हजारभन्दा धेरै यात्रुलाई सेवा दिने अनुमान गरिएको छ, मोनोरेल चक्रपथमा तीन चरणमा निर्माण गरिनेछ ।’ उनले भने । डीपीआरमा रेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यस्थापनको अनुमान, उपत्यकाको साढे २७ किमि दूरीभित्रको माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्ने कार्यसमेत अघि बढेको छ । मोनोरेल सञ्चालन गर्न १६ अर्ब काठमाडौंको चक्रपथ क्षेत्रमा मोनोरेल सञ्चालन गर्न १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । शाक्यले डीपीआरअनुसार १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । उनले चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसनकै आर्थिक तथा प्राविधिक सहयोगमा डीपीआर तयार भएको बताए । मोनोरेलको सम्भाव्यता अध्ययन पनि सीआरसीसीले नै गरेको थियो। निजी सार्वजनिक साझेदारी अनुसार महानगरले नै सञ्चालन गर्ने गरी निर्माण कार्य अगाडि बढ्ने छ । काठमाडौंमा चल्ने रेलको मुख्य आर्थिक स्रोत यात्रु भाडा हो। औसत दैनिक कतिको संख्यामा यात्रु चढ्दा रेल सञ्चालन गर्न सम्भव हुन्छ । ३० लाखभन्दा माथि जनसंख्या भएको सहरको यातायात प्रणालीलाई व्यवस्थित गर्न मास ट्रान्सपोर्टको आवश्यकता पर्छ । हाल उपत्यकाको जनसंख्या करिब ६० लाख हाराहारी गेको अनुमान छ। यो जनसंख्यालाई व्यवस्थित गर्न पनि रेलको आवश्यकता छ । मेट्रो रेलको पनि अध्ययन गरिँदै काठमाडौंको उपत्यकाको ट्राफिक अवस्थालाई व्यवस्थित र सुसविधा सम्पन्न सहरका रुपमा विकास गर्न सरकारले मेट्रो रेल पनि सञ्चालन गर्ने भएको छ । लामो समयदेखि काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माण गर्ने भनिएपनि निर्माणको प्रक्रिया भने अहिलेसम्म अगाडि बढेको छैन । चीनको एक कम्पनीले मेट्रो रेलको डीपीआर अध्ययनमा जुटेको छ । यो रेल विभागको मातहतमा रहने छ । मेट्रोरेलको डीपीआर तयार हुन अझैं एक वर्ष लाग्ने रेल विभागका एक अधिकारीले बताए । सरकारले सातदोबाटो९रत्नपार्क९चक्रपथ मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने भएको छ । रेल विभागले पहिलोपटक काठमाडौंमा ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रो रेल’को डीपीआर बनाउन लागेको हो । यो रुटमा सन् २०११ मा विभागले सम्भाब्यता अध्ययन गरिसकेको छ । कोरियन कम्पनीमार्फत मेट्रोरेलको सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसैगरी विभागले सातदोबाटोबाट खोकना र नारायणगोपालचोकबाट बूढानीलकण्ठसम्म पनि मेट्रो रेल बनाउने बारे सम्भाब्यता अध्ययन गर्ने भएको छ । नागढुंगा९धुलिखेल रुट ४५ किलोमिटर र बूढानीलकण्ठ९खोकना ५४ किलोमिटर लम्बाइका हुनेछन् । दुवै मार्गका लागि ३५ मेगावाट विद्युत आवश्यक पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । २५ पुस ०७३ को बोर्ड बैठकले सम्भाव्यतासँगै मेट्रोको मोडेल र अनुदानबारे अध्ययनका लागि कमिटी गठन गरेको थियो । सरकारले यस्तो रेल सार्वजनिक-निजी-साझेदारीअन्तर्गत बुट मोडेलमा निर्माण गर्ने योजना बनाएको छ । लगानी बोर्डको अध्ययनअनुसार काठमाडौंमा दैनिक ४० लाख यात्रु एक ठाउँबाट अर्को ठाउँसम्म ओहोरदोहोर गर्छन् । लगानी बोर्डले २०७४ मा गरेको अध्ययनले निर्माण थालेको चार वर्षभित्र काठमाडौंमा रेल गुडाउन सम्भव रहेको देखाएको थियो । काठमाडौंमा मेट्रो रेलको सम्भाव्यताबारे अध्ययन गर्न बोर्डले एक उच्चस्तरीय कमिटी गठन गरेको थियो । कमिटीको प्रतिवेदनअनुसार काठमाडौंमा ७९ किलोमिटर रेलमार्ग सम्भव देखिएको छ, जसको लागत त्यतिबेला करिब तीन खर्ब १६ अर्ब हुने उल्लेख गरिएको थियो । अध्ययनले काठमाडौंमा दुईवटा रुटमा रेलमार्ग सम्भव देखाएको थियो । मोनोरेल र मेट्राे बनाउनेमा मतभेद काठमाडौंमा मोनारेल आवश्यक कि मेट्रोरेल भन्ने विषयमा बहस पनि चल्न थालेको छ । सरकारी निकायहरु नै एक आपसमा छलफल र बहस नगरी काम गर्न अगाडि बढेका देखिन्छन् । धेरैले उपत्यकामा मोनोरलभन्दा पनि मेट्रोरेल आवश्यक छ भनेर आफ्नो धारणा राख्न थालेका छन् । तर, नेताहरुले चुनावमा चुनावी नारा बनाएकै कारण चक्रपथमा मोनोरेल नै गुडाउने बताइरहेका छन् । हुनतः यी दुवै मास ट्रान्जिट हुन् । तुलनात्मक रुपमा मेट्रोले धेरै यात्रु बोक्छ । मेट्रोरेल भनेको ‘ह्विल एण्ड ट्रयाक’ अर्थात लिक र फलामको चक्का । आकाशमा, जमिनमुनि वा जमिनमा जता बनाएपनि मेट्रोरेलको संरचना ह्वील एण्ड ट्रयाक नै हो । यो लिग वा पट्रीमा दुई वटा रेलमा फलामको चक्का गुड्दछ । पूर्वाधार रेल विभागका एक अधिकारीले रेल सम्बन्धि महानगरसँग कुनै सहकार्य नभएको बताए । यसले पनि रेल विभाग र महानगरबीच कुन रेल बनाउँदा उचित हुन्छ भन्ने बारे बहस नभएकाे बुझ्न सकिन्छ ।  

वन सहायक अधिकृत घुस रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जले वन सहायक अधिकृत आनन्दप्रसाद शाहलाई पक्राउ गरेको छ । उनलाई सोमबार बबई सव डिभिजन कार्यालय बारबर्दियाबाट पक्राउ गरिएको हो । सहायक वन अधिकृत शाहले काठको लगत मिलाइदिने भन्दै सेवाग्राहीबाट १० हजार रकम लिएका थिए । उनलाई आवश्यक कारबाहीका लागि नेपालगञ्जको कार्यालयमा लगिएको छ ।

नापी कार्यालय पर्साका सर्भेक्षक पासवान घुस रकमसहित रंगेहात पक्राउ

काठमाडौं । नापी कार्यालय पर्सामा कार्यरत सर्भेक्षक रामनरेश पासवान पक्राउ परेका छन्। जग्गाधनी प्रमाण पूर्जा बनाइदिने भनी बहाना गरी सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सोमबार रंगेहात पक्राउ गरेको हो। उनलाई ७५ हजार घुस लिँदै गर्दा पासवानलाई २ नम्बर नापी टोलीको कार्यालय पर्साबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। धनी पूर्जा बनाइदिँदा पटक(पटक घुस लिने गरेको गुनासोपछि अख्तियारको टोलीले उनको निगरानी गरिरहेको थियो।

नाडा प्रतिनिधि मण्डल र भन्सार विभागका महानिर्देशकबीच छलफल, व्यवसायीहरुलाई फेयर ट्रेडको अनुकरण गर्न सुझाव

काठमाडौं । नेपाल अटोमोबाईल डिलर एसोसिएशन (नाडा) को प्रतिनिधि मण्डल तथा भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच छलफल भएको छ । आइतबार नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १० सदसीय नाडा प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक सुमन दाहालसंग भेटी फेयर ट्रेड लगायत नेपालको भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरु बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ । उक्त भेटघाटमा विभागका महानिर्देशक दाहालले आफना कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दे नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गर्दै उपस्थित नाडाका पदाधिकारी तथा सदस्यहरुले भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरुबारे आ आफनो धारणा राखेका थिए । सो छलफलमा महानिर्देशक दाहालले व्यवसायीहरुले फेयर ट्रेडको अनुकरण गर्नुपर्ने र संस्थाले त्यसको लागि आवश्यक वातावरण तयार गरिदिनु पर्ने धारणा राखे । उनले पैठारी गर्ने कम्पनीहरु आफैले कर्मचारी राखी क्लियरेन्स एजेण्ट समेतको काम गर्न पाउने व्यवस्था गरिएको जानकारी दिदै नेपालको आधिकारिक एजेन्सीले मात्र पैठारी गर्न पाउनु पर्ने नाडाको सुझाव मननीय रहेको बताए । यसै क्रममा उनले विल अफ एक्सपोर्टको कागज नआइकन भन्सार क्लियरेन्स पनि हुन नसक्ने बताउदै भन्सार विभागको मुख्य जिम्मेवारी भनेको व्यापार सहजीकरण भएको र भन्सार विभागले अहिले झण्डै सतप्रतिशत आशिकुडा अनुसार कार्य गर्दे आएको बताए । त्यसैगरी,साफटा सुविधामा धेरै दुरुपयोग भएकोले यसमा सहकार्य गरेर अघि बढने बताउँदैनाडा जस्तो संस्था मार्फत काम गर्न सहज हुने भए पनि सरकारले संघसंस्थालाई वास्तविक रुपमा उपयोग गर्न नसकेको धारणा व्यक्त गरे । नाडासंग गरिएको समझदारीलाई आफना सवै सदस्यहरुमा पुर्याउनु पर्ने, व्यवसायको शुद्धीकरण आफैबाट शुरु गर्नु पर्ने, व्यवसाय गर्नेले भन्सार र कर सम्बन्धमा आवश्यक जानकारी राख्नु पर्ने धारणा राखे । छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल र कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।

अत्याधिक चिसोका कारण अस्पतालमा ज्वरो ,रुघाखोकी, निमोनियाका बिरामी बढे

डोटी । हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. ज्योति पाण्डेले जानकारी दिए । उनले भने, “चिसोले बालबालिका र ज्येष्ठ नगरिकमा बढी समस्या देखिएको छ, बिरामीको चाप बढेको छ ।” जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा दैनिक ३० देखि ४० बिरामी उपचारका लागि आउने गरेका छन् । चिसोका कारण बिरामीको चाप बढेपछि उपचारमा समस्या भइरहेको अस्पतालका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले बताए । उनले भने, “अस्पतालमा चिसोका कारण बिरामीको सङ्ख्या बढेको छ, उपचारमा समस्या भइरहेको छ ।” यस्तै यहाँका ग्रामीण क्षेत्रमा भएका स्वास्थ्यचौकीमा समेत बिरामीको चाप बढेको जोरायल गाउँपालिका स्वास्थ्य एकाइ प्रमुख गोविन्द विष्टले जानकारी दिए । उनका अनुसार अहिले यहाँका स्वास्थ्यचौकीमा दैनिक १० देखि २० सम्म उपचारमा बिरामी आउने गरेका छन् । स्वास्थ्यचौकीमा निमोनिया, रुघाखोकीका बिरामीले भरिएको केआइसिंह गाउँपालिका–५ रानागाउँ स्वास्थ्यचौकीका अहेव रमेश जोशीले जानकारी दिए । उनले भने, “चिसोका कारण बिरामी थपिने क्रम बढेको छ ।” जिल्ला आयुर्वेद अस्पताल दिपायलमा चिसो बढेसँगै बाथरोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । अहिले दैनिक ४० देखि ५० को सङ्ख्यामा बाथरोगी उपचारका लागि आउने गरेको अस्पतालका वैद्य खड्क बमले जानकारी दिए । चिसो मौसम भएकाले तातो झोलिलो खानेकुरा खान चिकित्सकले सल्लाह दिएका छन् । रासस

कर्णालीका पाँच हजार युवाले यस वर्ष रोजगारी पाउने

सुर्खेत ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् । सिटीइभिटीका आङ्गिक, साझेदारी सङ्घसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालिमबाट ती युवाले रोजगारी पाउने भएका हुन् । सिटीइभिटी कर्णाली प्रदेश कार्यालयले सोमबार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा चालू आर्थिक वर्षमा पाँच हजार युवालाई स्वरोजगार बनाउने जानकारी दिएको छ । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सिटीइभिटीले सञ्चालन गर्ने कार्यक्रम पारदर्शी हुनुपर्ने बताए । “सिटीइभिटीले राज्यको लगानीलाई दुरुपयोग हुन नदिन प्रभावकारी अनुगमन संयन्त्रको विकास गर्नुपर्छ, गरिब र न्यून आयस्रोत भएका व्यक्तिका लागि यसका कार्यक्रम उपयोगी छन्”, उनले भने, “तर, बिचौलियाले कार्यक्रम लिएर झारा टार्ने, बजेट सक्ने काम भएको गुनासो पनि सुनिने गरेको छ, अब सिटीइभिटीले यसतर्फ ध्यान दिनुपर्छ ।” सिटीइभिटीका कर्णाली प्रदेश निर्देशक हेमन्त पराजुलीले प्रदेश सरकारसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । “चालू आवमै पाँच हजारलाई रोजगारी दिएर आफ्नै गाउँ–ठाउँमा बस्ने वातावरण बनाउँछौँ”, उनले भने । कार्यक्रममा प्रदेशअन्तर्गतका सिटीइभिटीबाट सम्बन्धनप्राप्त शिक्षण संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । रासस