सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा लम्जुङ र तनहुँमा
काठमाडौं । सनराइज बैंकले लम्जुङको ठुलीेबेसीमा र तनहुँको टुहुरेपसलमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सोमबार लम्जुङको ४४औं शाखारहित बैंकिङ्ग सेवा मस्र्याङ्दी गाँउपालिकाका वडा अध्यक्ष लिलाप्रसाद घलेले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि कर्ण सिंह तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन् । यसै क्रममा मंगलबार ४५औं शाखारहित बैंकिङ्ग सेवा भानु नगरपालिकाका प्रमुख तारा नरेश पौडेलले उद्घाटन गरेका हुन् । नगरपालिकाका प्रमुख श्री तारा नरेश पौडेल र गण्डकी प्रदेशका कार्यालय प्रमुख रबिन्द्र केसीले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि बिष्णु शिलवाललाई पोइन्ट अफ सेल मेसिन संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । दुबै शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
प्राइम लाइफद्वारा बीमा रकम भुक्तानी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले बीमाबापत ११ लाख रुपैयाँ भुक्तानी गरेको छ । बागलुङ्ग जिल्ला निवासी ओम प्रसाद बि.क. ले २ वर्ष पहिले प्राइमलाइफ इन्स्योरेन्स क.लि मा बीमा गरी बैदेशिक रोजगारका लागि कतार गएका थिए । वैदेशिक रोजगारबाट छुट्टीमा घरमा आएका बिकको आफ्नै काममा बागलुङ्गको लाम्मीलाबाट घर फर्कदा जिप दुर्घटना भइ कात्तिक ८ गते मृत्यु भएको थियो । कम्पनीको नियमानुसार भुक्तान गर्नुपर्ने बिमाङ्क १० लाख र दाहसंस्कार खर्च रु. १ लाख गरी जम्मा रकम रु ११ लाखको चेक कम्पनीको बागलुङ्ग शाखा कार्यालयबाट शाखा प्रमुख ज्ञान प्रसाद ढुङगानाले स्व. बिकको श्रीमती भावनालाई हस्तान्तरण गरेका हुन् ।
बनेपाका १० विद्यालय भवन पुनःनिर्माणले बल्ल लियाे गति, साढे ४० कराेडकाे ठेक्का
बनेपा । भारतीय दूतावासले जिम्मा लिएको विद्यालय भवनको पुनः निर्माण बल्ल अगाडि बढेको छ । यहाँका १० विद्यालयका भवन निर्माण चारवर्षपछि सुरु भएको छ । ठेक्का आह्वान भई मङ्गलबार निर्माण कम्पनी छनोटको भएपछि पुन निर्माणले गति लिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यवन एकाइ (शिक्षा) काभ्रेपलाञ्चोकका इञ्जिनीयर सोभित श्रेष्ठका अनुसार आह्वान गरिएको ठेक्कामा खानी/ब्राइट जेभी पोखरीचौरी काभ्रेपलाञ्चोकलाई रु ४० करोड ७१ लाख ९२ हजार ३७६ को ठेक्का परेको छ । सात दिनभित्र उक्त निर्माण कम्पनीले केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)सँग सम्झौता गरेपछि निर्माण अगाडि बढ्नेछ । पाँचखाल नगरपालिकामा रहेको भगवती मावि, दुग्धेश्वर मावि र आजाद मावि, बनेपा नगरपालिकाको आजाद मावि, नमोबुद्ध नगरपालिकाको लक्ष्मीनारायण मावि र कानपुर मावि, चौरीदेउराली गाउँपालिकाको खाँडादेवी मावि, पनौती नगरपालिकाको शारदा मावि, महाभारत गाउँपालिकाको भैरव मावि र खानीखोला गाउँपालिकाको जनहित माविका भवन सो सहयोगले बन्नेछ । भवन निर्माण नहुँदा विद्यार्थी जीर्ण भवनमा नै बसेर अध्ययन गर्दै आइरहेका छन् । चौरीदेउराली गाउँपालिका– २ नार्गेगगर्चेस्थित खाँडादेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य राजीव लामाले समयमा विद्यालय भवन नबन्दा विद्यार्थी जीर्ण भवनमै जोखिममा अध्ययन गर्न बाध्य भएको बताउनुभयो । महाभारत गाउँपालिका–१ गोकुलेस्थित भैरव माध्यमिक विद्यालयका विद्यार्थीको अवस्था पनि उस्तै छ । प्रधानाध्यापक खुवनाथ दुलालले समयमा विद्यालयको भवन नबन्दा अझै दुई वर्षसम्म विद्यार्थीलाई टहरामै राख्नुपर्ने अवस्था रहेको बताउनुभयो । –––
शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर भक्तपुरका विद्यार्थीलाई ऋण प्रदान
भक्तपुर । भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता शुरु गरेको छ । गरिब र इमानदार ९१ विद्यार्थीलाई चालू आर्थिक वर्षमा ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुनिल प्रजापतिले कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गरे । स्थानीय सरकार सञ्चालन ऐन २०७४ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण वितरण गर्ने नीति पारित गरी गतवर्षदेखि नै कार्यान्वयनमा ल्याएको थियो । कार्यक्रममा –९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वर्षदेखि नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर छ प्रतिशत ब्याजदरमा रु पाँच लाखसम्मको रकम वितरण गर्दै आएको जानकारी दिएका छन् । नगरपालिकाले शैक्षिक ऋण दिन निर्देशिका तयार गरेको छ । नगरपालिकाले गत आव २०७५/७६ मा ३७ नगरवासी विद्यार्थीसँग शैक्षिक ऋणको सम्झौता गरेको थियो ।
शितलहर प्रभावितलाई मेगा बैंकले दियो न्यानो ब्ल्याङ्केट, २०० बालबालिका लाभान्विन्त
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि ब्ल्याङ्केट सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले लुम्बिनी विकास मञ्चमार्फत लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि न्यानो ब्ल्याङ्केटको व्यवस्था गरेको हो । शितलहरबाट प्रभावित हुने जोखिम रहेका मुसहर र नेटुवा बस्तीमा सहयोग पुग्ने उद्देश्यले लुम्बिनी विकास मञ्चमार्फत १ सय ५० थान ब्ल्याङ्केट सहयोग गरेको बैंकले जनाएको छ । लुम्बिनी विकास मञ्चको आयोजनामा ‘न्यानोको अभावमा कोही मर्न नपरोस्, आफ्नो घरमा प्रयोग नभएको कपडा खेर नफालौं’ भन्ने मुल नाराका साथ ‘निःशुल्क न्यानोपन अभियान २०७६’ सञ्चालन भइरहेको जसमा बैंकले गरेको सहयोगबाट यी समुदायमा रहेका करिब १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिका लाभान्विन्त भएका छन् । ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा प्रदान गर्दै आएको मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व मार्फत विभिन्न सहकार्य एवं सहायताका साथै असहाय तथा विपन्न वर्गका बालिकाहरुको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ ।
नेपाल बंगलादेश बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको प्रशिक्षण
फिदिम । नेपाल बंगलादेश बैंकले पाँचथरस्थित श्री गढी माध्यमिक विद्यालयका ३० दृष्टिविहीन विद्यार्थीहरुलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको १ हप्ते प्रशिक्षण सम्पन्न गरेको छ । सो प्रशिक्षणमा कुल १७ छात्र तथा १३ छात्राहरु भाग लिएका थिए । प्रशिक्षण मैत्री समाज नेपालकाे सहायतामा पुस ४ सम्पन्न भएकाे हाे । यस प्रशिक्षणले विद्यार्थीहरुलाई सामान्य मार्गनिदेशन, दिशा परिवर्तन, सागुँरो ठाउँमा हिँडडुल, भ¥याङ्ग, माथिल्लो तथा तल्लो शरीरको भागको सुरक्षा, विभिन्न ठाउँमा बस्ने तरिका, एक्लै हिँडडुल गर्ने तरिका सिकाई सेतो छडी लिएर हिँड्ने तथा सो छडीका भागहरु बारे पर्चा वितरण गरिएको थियो । यस प्रशिक्षणको अन्त्यमा सहभागी विद्यार्थीहरुलाई बैंकको फिदिम शाखाका शाखा प्रमुख राजकुमार थापाले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । यस्ता कार्यक्रमले समाजका अशक्त असहाय वालवालिकाहरुलाई अति आवश्यक प्रशिक्षण दिने र भविष्यमा यस्ता कार्यक्रम गरिरहनु पर्ने भनी शाखा प्रमुखले बताए ।
उखु किसानकाे पैसा भुक्तानी हुने भएपछि सर्लाहीको महालक्ष्मी सुगर मिल आजदेखि सञ्चालनमा
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मा गरिदिएपछि आजदेखि सञ्चालनमा आउन लागेको हो । सञ्चालक कनौडियाले रु ११ करोड २६ लाख भुक्तानीका लागि बैंकमा जम्मा गरिदिएका थिए ।गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले किसानको पाउनुपर्ने रकम जम्मा गरिदिएपछि मिल सञ्चालनमा आउने जानकारी दिएका हुन् । सो मिलले किसानको करिब रु २१ करोड बाँकी भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । “किसानको खातामा बुधबारदेखि पैसा भुक्तानी हुन्छ”, उनले भने, “किसानको खातामा पैसा राख्ने भएपछि उद्योग पनि आजदेखि सञ्चालन हुन्छ ।” रासस
बाकसभित्र लुक्दै विमान चढेर भाग्न सफल भएका थिए निशानका पूर्व कार्यकारी प्रमुख कार्लोस गोन
काठमाडौं । जापनिज कार उत्पादक कम्पनी निशानका पूर्व प्रमुख कार्लोस गोन नजरबन्दकै समयमा पनि सुटुक्क भाग्न सफल भएको समाचारले अहिले विश्वभरका मिडियाहरुमा विशेष स्थान पाएको छ । केहि दिन अघि मात्र जापान स्थित आफ्नो अपार्टमेन्टबाट भाग्दै लेवनन पुगेका गोनलाई जापानी अधिकारीहरुले कुनै पनि हालतमा जापान फर्काउने र कानुन बमोजिम कारवाहि गरिछाड्ने अठोट लिएका छन् । भाग्न अपनाएको शैली सीसीटीभी फुटेजमा देखिए अनुसार स्थानिय समय अनुसार दिउँसो दुई बजेर ३० मिनेट जाँदा कार्लोस आफ्नो निवासबाट एक्लै बाहिर निस्कन्छन् । उनी एउटा मास्कको सहायताले अनुहार ढाक्दै कुनै होटलमा पुग्छन् जहाँ उनको भेट दुई जना व्यक्तिहरुसँग हुन्छ । ती दुई सहित कार्लोस शिनागावा स्टेशन पुग्छन् र ओसाका जाने रेल चढ्छन् । ओसाकामा पुगेर उनीहरु विमानस्थल नजिकैको एउटा होटलमा बस्छन् । अधिकारीहरुले जनाए अनुसार होटलबाट एयरपोर्ट जाने क्रममा कार्लोसका दुई साथीहरु सांगितीक उपकरण बोक्ने एउटा ठूलो बाकस लिएर निस्कन्छन् । कार्लोस लुकेर बसेको सो बाकस ठूलो साइजको भएको हुनाले एयरपोर्टको एक्सरे मेशिनमा अटाउँदैन र विना कुनै सुरक्षा जाँच नै एयरपोर्ट भित्र रहेको एउटा निजी विमानसम्म पुग्न सफल हुन्छ । कार्लोस गोनसँग लेवनन, ब्राजिल र फ्रान्सका गरी तीन ओटा देशहरुको पासर्पोट थियो । लेवनन सरकारसँग नजिकको सम्बन्ध रहनु र त्यसैगरी लेवनन र जापानका बीच प्रत्यर्पण सन्धी पनि नहुनुले कार्लोसलाई लेवनन जान उचित लागेको हुनसक्छ । यदी उपरोक्त दुई देश बीच प्रत्यर्पण सन्धी गरिएको हुन्थ्यो भने लेबननले कार्लोसलाई पक्राउ गरी जापानलाई सुम्पिन सक्थ्यो । मौनता भङ्ग गर्ने सम्भावना अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएअनुसार उक्त निजी विमानमार्फत् टर्की हुँदै लेवनन पुग्न सफल भएका कार्लोस गोनले बुधवार यसै विषयका बारेमा पत्रकार सम्मेलन गरी आफ्नो मौनता भङ्ग गर्ने सम्भावना प्रवल रहेको छ । यस्तो थियो कार्लोस माथि लागेको आरोप ६५ वर्षिय कार्लोस् गोनलाई कम्पनीमा आर्थिक अपचलन गरेको आरोपमा पक्राउ गरिएको थियो भने लगत्तै उनी कम्पनीबाट निलम्वनमा पनि परेका थिए । १०८ दिनसम्मको हिरासत बसाइपश्चात् उनी धरौटीमा रिहा भएका थिए । हिरासतबाट बाहिर निस्किए पनि उनलाई देश छाडेर बाहिर जान तथा आफ्नी श्रीमतीसँग भेट्न लगायतका प्रतिबन्ध चाहिँ लागिरहेको थियो । यस किसिमका नजरबन्दीको बावजुद पनि केहि दिन अघि मात्र उनी टोकियो स्थित आफ्नो घरबाट नाटकिय शैलीमा भागेर लेवनन पुग्न सफल भएका थिए । एक समय नायक मानिन्थे कार्लोस हाल आर्थिक अनियमितताको आरोप खेपिरहेका कार्लोसलाई जापानमा कुनै समयमा नायकको संज्ञा दिइएको थियो । सन् २००१ मा उनले टाट पल्टिन लागेको निशान कम्पनीमा प्रमुखको भूमिका सम्हाले पछि सो कम्पनीको अवस्थामा काया पलट नै ल्याइदिएका थिए ।