विकासन्युज

विशिष्ट व्यक्ति ओहोरदोहोर हुने पाँच क्षेत्रका प्रचार सामग्री हटाउने काम तीव्र

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाई राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको छ । अहिले वानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा पाँच टोली बनाएर होर्डिङबोर्ड हटाउने काम भइरहेको छ । कामपाले मङ्गलबार मात्रै साना–ठूला गरी १९२ अनधिकृत रूपमा राखिएका होर्डिङबोर्ड हटाएको छ । कामपाले अहिले मुख्य गरेर विशिष्ट व्यक्तिहरुको ओहोरदोहोर हुने क्षेत्रलाई केन्द्रित गरेर काम अघि बढाएको छ । कामपा नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार विभिन्न सङ्घ संस्थाले शहरको मुख्य स्थानमै प्रचार सामग्री राख्ने गरेकाले सोही स्थानलाई केन्द्रित गरेर काम गरिरहेको बताए । यसरी जहाँतहीँ प्रचार सामग्री राख्नेबाट कामपाले अहिलेसम्ममा रु दुई लाख जरिवाना पनि असुल गरिसकेको छ । त्यसैगरी सोमबार पसलको माथि, घरको भित्तामा राखेका अनधिकृत बोर्ड विमानस्थल आसपासबाट १७, बागदरबारबाट जमल होण्डा सो रूमसम्म ५०, जमलबाट लैनचौरसम्म २५ र टेकु पुलबाट कालिमाटीसम्म ११ गरी कूल १०३ बोर्ड हटाएको नगर प्रहरी महाशाखा प्रमुख सापकोटाले जानकारी दिए । सफा, स्वच्छ र सुन्दर शहर बनाउने योजनाअनुरुप नै विभिन्न ठाउँमा प्रचार सामग्री होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेटलगायत हटाउने प्रक्रिया शुरु गरेको सापकोटाको भनाइ छ । कामपाले अहिले तीनकुने, माइतीघर, टेकु र विष्णुमती पुलका आठ ठूला होर्डिङबोर्ड हटाइसकेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मौलिकता बचाउनु कामपाको जिम्मेवारी रहेको भन्दै शहरलाई कुरूप बनाउने गरी चोकचोकमा राखिएका होर्डिङबोर्डलाई हटाउने काममा ढिलासुस्ती नगर्न विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । प्रमुख शाक्यले जथाभावी राखिएको प्रचार सामग्रीका कारण कामपाले धेरै गुनासो सुन्नुपरेको भन्दै हटाउने कार्यमा ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् । रासस

‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि लक्ष्मी बैंक र एफवान सफ्टबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ । सम्झौता अनुसार लक्ष्मी बैंकले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ । ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रम सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । ‘क्वीक भुक्तानी’ यस्तो अनलाईन प्लेटफर्म हो जसले बिभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता र सप्लायरहरु, ती सामान र सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ । सप्लायरले, यो प्लाटफर्म प्रयोग गरी, आपूर्ति गरिएको सामान र सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछन् । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्र्पूण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ । अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सान्दर्भिक र लाभदायक हुने विश्वास लक्ष्मी बैंक तथा एफवान सफ्ट द्धारा लिइएको छ ।

बजार विस्तारमा आक्रामक बन्यो एलआईसी नेपाल, चाहेको पैसा व्याजसहित किस्ताबन्दीमा, ७५ लाखको दुर्घटना बीमा

काठमाडौं । एलआईसी नेपालले ‘जीवन बचत’ नामक एकल बीमाशुल्क जीवन बीमा योजना बजारमा ल्याएको छ । उक्त योजना बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले मंगलबार एक समारोहकाबीच सार्वजनिक गरेका छन् । १६ देखी ६५ वर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम १ लाख रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि न्युनतम ५ वर्ष र अधिकतम २५ वर्ष रहेको छ । बीमा परिपक्वतामा आर्जित बोनससहित बीमाड्ढ रकम एकमुष्ठ प्रदान गरिनेछ । साथै, यस योजनामा बीमा परिपक्वतापछि बीमितले इच्छा अनुसार ५ देखि १० वर्षभित्र सो रकम तोकिएको व्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता पनि समावेश गरिएको छ । न्युन बीमाशुल्क भएको यस ‘जीवन बचत’ योजनामा अधिकतम ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभसमेत उपलब्ध छ । बीमाशुल्क भुक्तानीको १ वर्ष पश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्नेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले यस बीमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरु जसले एकल बीमाशुल्क (मुद्दती निक्षेप जस्तै) भुक्तानी गरी जीवन बीमा समेत प्राप्त गर्न चाहन्छन्, उनीहरुको लागि ‘जीवन बचत’ योजना उपयोगी हुने बताए ।

भारतबाट लगानीकर्तालाई नेपाल ल्याउन भारतीय दुतावासको आग्रह

काठमाडौं । नेपाल परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा लगानीको वातावरण बन्दै गएको परिप्रेक्षमा भारतबाट लगानीकर्ताहरुलाई नेपाल ल्याउन दुतावासलाई आग्रह गरेका छन् ।  परिसंघका पदाधिकारीहरु तथा नेपालका लागि मित्रराष्ट्र भारतका चार्ज डे अफेयर्स डा. अजय कुमार बीच मंगलबार भारतीय दूतावासमा भएकाे भेटघाट एवं छलफलमा माेरले साे कुरा बताएका हुन् । साथै, अध्यक्ष मोरले नेपालले मनाई रहेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतीय पर्यटकहरुलाई नेपाल भित्र्याउन दूतावासलाई पहल गर्न समेत आग्रह गरेका थिए । चार्ज डे अफेयर्स डा. अजय कुमारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतमा यसको प्रचार–प्रसारलाई अझै तिब्र बनाउन आवश्यक रहेको जनाउँदै स्थलमार्गबाट नेपाल आउने भारतीय पर्यटकहरुलाई सरलिकृत व्यवस्था भए भारतबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन सक्ने बताए । विराटनगरम आइसिपि निर्माण सम्पन्न भई प्रयोगमा आउने अवस्थामा रहेको जानकारी गराउदै भारत नेपालमा लागनी बढाउन तथा यहाँको अन्तर्राष्ट्रिय व्यापारको सहजिकरण गर्न सधैँ तयार रहेको उल्लेख गरेका छन् ।

सुनको मूल्य निरन्तर उकालो लाग्दै, प्रतितोला ७६ हजार ५ सयमा कारोबार

काठमाडौं । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला ७५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार १ हजार रुपैयाँ बढेर ७६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा त्यसको असर परेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै मंगलबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार ७६ हजार २ सय रुपैयाँ बिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ९ सय रुपैयाँमा बिक्री भएको थियो भने बुधबार चाँदी प्रतितोलामा एकै दिन २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो रोकथाम जारीः भोली दिउँसो पनि सडक बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसोे पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरीे काम हुँदै आइरहेको छ । सो कार्य नसकिएको हुँदा भोली दिउँसो पनि सोही समयमा सडकखण्डमा सवारीसाधन रोकिने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिएका छन् । दुई हप्ताभित्र पहिरो नियन्त्रणको काम सक्नेगरी काम थालेको भए पनि काम नसकिएपछि दोस्रोपटक समयावधि थप गरिएको उनले बताए । सो अवधिमा अत्यावश्यक  सवारीसाधनलाई प्रवेश दिइनेछ । सडकखण्डको आठ ठाउँमा पहिरो रोकथामको काम भइरहेको छ । नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङ्गामा रोकिनेछन् । यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आँबुखैरहनीमा रोकिने आयोजनाले जनाएको छ । रासस

ईरानको मिसाईल हमलाप्रति ट्रम्प भन्छन्- ‘अल ईज वेल’

काठमाडौं । ईरानले गरेका मिसाईल हमलाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल ईज वेल भन्दै प्रतिकृया दिएका छन् । बुधबार बिहान ईरानले गरेको मिसाईल हमला प्रति अमेरिकाका राष्ट्रिपति डोनाल्ड ट्रम्पले यस्तो प्रतिकृया दिएका हुन् । ट्रम्पले ट्विटर मार्फत ‘अल ईज वेल । ईराकमा अवस्थित मिलिटेरी क्याम्पबाट ईरानले मिसाईल हमला गरेको छ । मिसाईले गरेको क्षतिको मापन गरिदैं छ । अहिलेसम्मै हामीसँग संसारकै शक्तिशाली सेना रहेका छन् । म भोली एउटा व्यक्तव्य जारी गर्नेछु ‘ लेखेका छन् । आफ्ना प्रमुख सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि इरानले अमेरिकासँग बदलास्वरूप मिसाइल हमला गरेको हाे ।

खाडीको पसिनाले थेग्दैछ नेपाली अर्थतन्त्र, वार्षिक ५ लाख नेपाली विदेशिदै

काठमाडाैं । वैदेशिक रोजगारका लागि दैनिक हजारको संख्या नेपाली युवा जनशक्ति बाहिरिने गर्छ । विदेशमा काम गर्ने युवाले कमाएर नेपाल पठाएको रकमले नै नेपाली अर्थतन्त्रलाई थेगेको अवस्था छ । स्वदेशमा नै रोजगारी सिर्जना गर्ने भन्दै सरकारले वार्षिक ठूलो परिमाणको रकम खर्च गर्ने गरेपनि यसले अपेक्षित उपलब्धी प्राप्त गर्न सकेको छैन । रोजगारीको खोजीमा लाखौं युवा जनशक्ति विदेशिनु पर्ने बाध्यता छ । सरकारले देशमा वार्षिक ५ लाख युवालाई रोजगारी दिने लक्ष्य राखेको छ । अहिले संचालनमा रहेको १५औं आवधिक योजनाले पनि वार्षिक ५ लाख जनशक्ति श्रम बजारमा आउने र त्यसलाई रोजगारी प्रदान गर्नु चुनौति रहेको उल्लेख गरेको छ । वार्षिक ५ लाखको संख्यामा नयाँ रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता रहेपनि त्यसमा सरकार आफैले आपूर्ति गर्न सक्ने रोजगारीको संख्या निकै कम हुन्छ । आवश्यक रोजगारी प्रदान गर्ने कार्यमा निजी क्षेत्रको भूमिका नै सर्वाेपरी हुने गरेको छ । वार्षिक ५ लाख नेपाली विदेशिदै बैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ३ लाख ६२ हजार २३ जना बैदेशिक रोजगारीको लागि विदेश गएका थिए । यस्तै २ लाख ५८ हजार ६ सय ३ जनाले श्रम स्वीकृति नविकरण गरेर विदेश गए । यी दुबै तथ्यांक जोड्दा सो आर्थिक वर्ष ६ लाख २० हजार ६ सय २६ नेपाली विदेश गएका थिए । यस्तै, गत आर्थिक वर्षमा पनि ५ लाखभन्दा बढी नेपाली विदेश गएका थिए । सो आर्थिक वर्ष २ लाख ४३ हजार ८ सय ६८ जना विदेशमा रोजगारी खोज्दै विदेशिएका थिए भने २ लाख ७२ हजार ६ सय १८ जनाले श्रम स्वीकृति नविकरण गरेर विदेश गए । सो वर्ष ५ लाख १६ हजार ४ सय ८६ नेपाली विदेशमा रोजगारी खोज्दै गए । चालु आर्थिक वर्षको ४ महिना (साउनदेखि कात्तिकसम्म) मा पनि ठूलो संख्यामा नेपाली विदेश गएका छन् । विभागका अनुसार सो अवधिमा ७९ हजार ६ सय ८० जना नेपाली रोजगारी खोज्दै विदेश गए । यस्तै ८० हजार ८ सय ९१ जनाले श्रम स्वीकृति नविकरण गरेर विदेश गए । विदेश जाने ७५ प्रतिशत कामदार अदक्ष वैदेशिक रोजगारमा ७५ प्रतिशत अदक्ष नेपाली युवा जाने गरेको श्रम मन्त्रालयको एक प्रतिवेदनमा उल्लेख छ । जम्मा २ प्रतिशत दक्ष नेपाली श्रमिक वैदेशिक रोजगारका लागि बाहिरिने गर्छन् । २३ प्रतिशत अर्धदक्ष श्रमिक वैदेशिक रोजगारका लागि जाने गरेको मन्त्रालयको तथ्यांकमा समावेश छ । रेमिटान्सले थेगेको अर्थतन्त्र आर्थिक वर्ष २०७४/७५ मा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ व्यापार घाटा थियो । गत आर्थिक वर्ष १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ व्यापार घाटा थियो । चालु आर्थिक वर्षको ४ महिना (साउनदेखि कात्तिकसम्म) ४ खर्ब १४ अर्ब रुपैयाँ व्यापार घाटा छ । व्यापार घाटाको अवस्था कहालिलाग्दो रहेपनि विदेशमा काम गर्ने नेपालीले पठाएको रेमिटान्सको कारण नेपाली अर्थतन्त्रको जग हल्लिन पाएको छैन । अर्थात रेमिटान्सले नै नेपाली अर्थतन्त्रको जग थेगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको छ । यस्तै, गत आर्थिक वर्ष ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको ४ महिना (साउनदेखि कात्तिकसम्म) मा नै ३ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ रेमिटान्स नेपाल आएको छ । व्यापार घाटाको कारण समस्या पर्न सक्ने नेपाली अर्थतन्त्रलाई रेमिटान्सले बचाएको तथ्यांकले देखाउँछ । तर कम छैनन् सास्ती नेपाली अर्थतन्त्रको जग थेग्ने रेमिटान्सको आधार बनेको बैदेशिक रोजगारीमा समस्याको चाङ छ । विदेश जानेक्रममा नै ठगिने, गन्तव्य देशमा भनेको काम नपाइने, त्यहाँ पनि अनेकन समस्या भोग्नुपर्ने जस्ता वाध्यता रहेका छन् । श्रमिकको सहजतालाई मध्यनजर गर्दै पछिल्लो समय वैदेशिक रोजगार विभागले नयाँ ई–टोकन तथा ई–स्टीकर सेवा प्रदान गरेको छ । यस्तो व्यवस्थाले केही हदसम्म राहत भने दिएको छ । वैदेशिक रोजगारीमा गएकामध्ये दैनिक दुई जनाको मृत्यु हुने गरेको बैदेशिक रोजगार वोर्डको तथ्यांक छ । पछिल्लो समय वैदेशिक रोजगारमा गएर त्यहाँको नियम कानुन नबुझ्दा कयौं नेपाली विदेशको जेलमा छन् । रोजगारका लागि विदेश गएकामध्ये ८ हजार नेपालीले दुर्घटना तथा विरामी भएको कारण ज्यान गुमाउनु परेको छ । यस्तै, २३ जना नेपाली विभिन्न देशमा गम्भीर स्वास्थ्य अवस्थाको कारण उपचाररत छन् ।