विकासन्युज

नबिल बैंकको ३४ प्रतिशत लाभांश पारित, प्रतिशेयर आम्दानी साढे ५० रूपैयाँ

काठमाडौं । नबिल बैंकको प्रस्तावित ३४ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले शेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी सो मात्राको प्रस्तावित लाभांश पारित गरेको हो । उक्त बोनस पछि बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ नाघेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६मा ४ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रतिशेयर आम्दानी ५०.५७ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब १ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको संचालन मुनाफा ६ अर्ब ३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ६.६१ प्रतिशत र ६.४५ प्रतिशतले वृद्धि भएको छ । बैंकको संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” २३ अर्ब १९ करोड रुपैयाँ रहेको छ । कार्यक्रममा अध्यक्ष पौड्यालले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएको बताएका छन् ।

घुस मागेको प्रमाणित गर्न दुर्गा प्रसाईलाई चुनौती, कागजात माग्दा घुस मागेको आरोप

काठमाडाैं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफुलाई अनावश्यक रुपमा घुस मागेको आरोप लगाउने दुर्गा प्रसाइलाई घुस मागेको प्रमाणित गर्न चुनौती दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफुविरुद्ध घुस मागेको भन्दै गलत र भ्रामक समाचारहरु आएकोले यसको प्रमाणित गर्न उनले चुनौती दिएका हुन् । झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन गिरीले २० करोड पैसा मागेको आरोप लगाएका थिए । प्रसाईंले बुधबार बानेश्वरमा पत्रकार सम्मेलन गरी गिरीले आफूलाई द्वारिका होटलमा बोलाएर २० करोड मागेको आरोप लगाएका थिए । त्यसको प्रतिकारका रुपमा गिरीले पनि बुधबार नै पत्रकार सम्मलेन गरी आफ्नो चरित्रहत्या गर्ने गरी गलत समाचारहरू सम्प्रेषण गरेको बताए । ‘बिएण्डसी मेडिकल कलेजका कलेजको सम्बन्धन प्रक्रियामा कागतजात पुरा नभएपछि सबै प्रक्रिया पुर्याएर आनुस् भन्दा उहाँले घुस मागेको आरोप लगाए ।’ उनले भने ।  गलत आरोपको कानुनी बाटो खोज्ने उनको भनाइ छ ।  

प्रिमियर इन्स्योरेन्सका सीईओ विश्व तिमिलाले गरे पदवहाली

काठमाडौं । प्रिमियर इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) विश्व तिमिलाले पदवहाली गरेका छन् । बीमा क्षेत्रमा करिब ४ दशकदेखि कार्यरत रहेका सीईओ तिमिलाले पुस २२ गते सीईओ पदको पदवहाली गरेका हुन् । कम्पनी संचालक समितिले सिफारिस गरेको तिमिलाको नियुक्तीलाई बीमा समितिले पुस १७ गते स्वीकृत गरेको थियो । नेको इन्स्योरेन्स कम्पनीमा सीईओको रुपमा नेतृत्व गरेका सीईओ तिमिलाले त्यसपछि केही समय सोही कम्पनीको संचालकको जिम्मेवारी सम्हालेका थिए । वि.स २०३७ साल देखि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा बजार अधिकृतका रुपमा करियर शुरु गरेका तिमिलाले वि.स २०५३ मा नेको इन्सुरेन्समा वरिष्ठ प्रबन्धकको रुपमा प्रवेश गरेका थिए भने २०७२ साल देखि २०७३ सालसम्म सीईओ पदको कार्यभार सम्हालेका थिए ।

१ लाख लगानीबाट १६ करोडकाे सम्पत्ति जाेडिन् सबिताले, अब ‘कीर्तिपुर होजियरी’काे ब्राण्डिङ गर्ने

काठमाडाैं । सफल व्यवसायी बिलगेट्सले भनेका छन्- ‘ठूलो सफलता प्राप्त गर्नका लागि ठूला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ ।’ हो, यो भनाई काठमाडौं कीर्तिपुरकी सबिता महर्जनसँग पनि ठ्याक्कै मिल्छ । संघर्षका पाटा र बाटाहरु पृथक किसिमका हुन्छन् । तिनै पाटा र बाटाहरुलाई आत्मसाथ गरी आफ्नो कामलाई निरन्तरता दिए सफल बन्न सकिन्छ भन्ने यो भनाई सबिताको जीवनमा पनि लागू हुन्छ । २०३६ सालमा काठमाडौंको कीर्तिपुरमा जन्मिएकी सबिताका संघर्षका भित्रिपाटाहरु अनगिन्ती छन् । अहिले सबिता ४० वर्षकी भइन्। तर, उनमा आफ्नो कामप्रतिको लगाव झुकाव भने निरन्तर बढ्दै गइरहेको छ । कामप्रति जति लगाव झुकाव छ त्यति नै शालिनता, भद्रता छ सबितामा । उनी आफ्नै व्यापार व्यवसाय गरेर जति उदाहरणीय बनेकी छिन् , त्यति नै गाउँलेहरुलाई सहयोग गरी नाम कमाउन सफल भएकी छिन् । हाल उनी कीर्तिपुर नगरपालिकाको महिला उद्यमी समितिकी उपाध्यक्षको रुपमा काम गरिरहेकी छिन् । सबिता महर्जनको जीवनमा समस्या, चुनौती र अवरोधहरु आए । तर, ती समस्या र चुनौतीहरुलाई उनले एउटा अवसर र सिकाईका रुपमा लिँदै अगाडि बढ्दै गइन् । डेढ लाखमा होजियरी उद्योग समिता महर्जनले वि.सं २०६७ साल चैत महिनामा ‘कीर्तिपुर होजियरी इन्डस्ट्री’ शुरु गरिन् । त्यो समय सबिताको लागि निकै चुनौतिपूर्ण थियो । उनी भन्छिन् ‘म त्यो समय सम्झन पनि चाहँदैन, न घरपरिवारले साथ दिए, न बैंकले ऋण पत्यायो । तर, मैले आँट गरें र अहिले यो अवस्थामा पुगेँ ।’ उनले शुरुमा करिब डेढ लाख रुपैयाँ खर्च गरेर होजियरी उद्योग सञ्चालन गरिन् । अहिले उनले व्यवसाय गरेको पनि ९ वर्ष बितिसक्यो । हाल उनले त्यही व्यवसायबाट करौडौंको सम्पत्ति जोडेकी छिन् । मैले हालसम्म १६ करोड रुपैयाँ आम्दानी गरिसकेकी छु, गार्मेन्ट फ्याक्ट्रीमा ४० जना नियमित काम गर्ने कामदार छन्, घरमै बसेर बुनाइको काम गर्ने ३ सय जना छन्’ उनले भनिन् । भनिन्छ नि- ‘जो घोडा चढ्छ उही लड्छ ।’ हो, यस्तै सबिताले पनि आफ्नो जीवनमा धेरै हण्टर ठक्करहरु खाईन् । लामो समयको संघर्षपछि हाल उनी आफ्नो समाजमा एक सफल उद्यमीका रुपले चिनिएकी छिन् । उनी उद्योगमा उत्पादित सामाग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि पहल गरिरहेकी छिन् । उनी हाल विभिन्न ब्राण्डका कपडा उत्पादन गर्दै आएकी छन् । बजारमा चर्चित शेर्पा ब्राण्ड उनकै उद्योगबाट उत्पादित ब्राण्ड हो । आफ्नै ब्राण्ड बजारमा ल्याउनका लागि आर्थिक समस्याका कारण पछाडि परेकी सबितामा आजभोली एक किसिमको उत्साह थपिएको छ । कीर्तिपुर होजियरी ब्राण्ड ल्याउने योजनामा गायक भक्तराज आचार्यले आफ्नो गीतमार्फत भनेका छन्- ‘हजार सपनाहरुको माया लागेर आउँछ, बाँच्ने रहर जस्तो फेरी भएर आउँछ ।’ कति सन्देश दिन खोजेको छ यी हरफहरुमा । यस्तै, उद्यमी सबिता महर्जनसँग पनि धेरै सपना छन् । जसलाई उनी पुरा गरेरै छोड्ने प्रतिज्ञा गर्छिन् । सबिताको एउटा ठूलो सपना छ । त्यो सपना हो कीर्तिपुर होजियरीको ब्राण्ड बजारमा ल्याउने । उनी आफ्नै होजियरीको ब्राण्ड बजारमा स्थापित गर्ने सोचमा छिन् । हाल उनको उद्योगमा महिनाको कम्तिमा ५ हजार स्विटर उत्पादन हुन्छन् । धेरै युवाहरुलाई प्रत्यक्ष रोजगारी दिने उनको अर्को सपना छ । यसै होजियरीलाई ठूलो उद्योग बनाएर धेरै मानिसकाे माग अनुसारकाे ब्राण्ड नेपाली बजारमा ल्याउने उनकाे सपना छ । विभिन्न डिजाइनका कपडाको अर्डरअनुसार उत्पादन गर्दै आएको उक्त उद्योगमा हातले बुनेका सामानको माग बजारमा पनि बढ्दै गएको उनी बताउँछिन् । सिलाई बुनाइले फेरिएको जीवन सबिता महर्जन घरकी पहिलो सन्तानका रुपमा जन्मिएकी थिइन् । मध्यम परिवारमा जन्मेकी उनी सानैदेखि केही गर्नु, आफ्नै खुट्टामा उभिन सक्नुपर्छ भन्ने भावनाकी थिइन् । कीर्तिपुरकै जनसेवा माद्यामिक विद्यालयबाट वि.स २०५० सालमा एसएलसी दिएकी उनले सानै उमेर देखिनै सिलाई बुनाइको काम गर्ने गर्थिन् । कक्षा ७ मा पढ्दै उनले घरमा सिलाइ बुनाइको काम गर्ने गरेको सुनाइन् । ‘म सानैदेखि केही सीप सिक्नुपर्छ भन्ने मानसिकतामा थिएँ, त्यति बेलै गाउँघरका दिदीबहिनीहरुलाई सिलाइ बुनाइ सिकाउँथेँ ’ उनले भनिन् । महर्जनले यो क्षेत्रमा काम गरेको २५ वर्ष भयो । त्यो समयमा छोरीलाई पढाउनुहुन्न, राम्रो घरकेटालाई रोजेर विवाह गराइदिने चलन थियो, त्यतिबेला म आफ्नो लागि खर्च आफै जुटाउने हुँदा घरबाट विवाहको दबाब नआएको उनले बताइन् । एसएलसी पास गरेलगत्तै उनले घरेलु तथा साना उद्योगबाट दिईने तालिम लिइन् । उनी काम गर्दै सिक्दै गइन् । उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट दक्ष श्रमिकको सम्मानसहित पाइन् । यो सम्मानले पनि उनको जीवनका एउटा इँटा थपियो । उनको कामप्रति लगाव झुकाव बढ्दै गयो । कामसँगै उनले पढाईमा पनि निरन्तरता दिइन् । उनले पद्मकन्या क्याम्पसमा आईए अध्ययन शुरु गरिन् । पढाईसँगसँगै उनले कलंकीको एक निट वयरमा काम शुरु गरिन् । २०५७ सालमा स्नातक तहको अन्तिम वर्षको परीक्षा सकिएसँगै उनको विवाह पनि भयो । जतिखेर उनी २१ वर्षको थिइन् । उनको जीवन अब कीर्तिपुरकै विकास महर्जनसँग जोडियो । हरेक महिलाले आफ्नो श्रीमान आफ्नो काममा साथ दिओस् । आफूलाई सहयोग गरोस् भन्ने नै हुन्छ । सबिताले पनि त्यस्तै सोचेकी थिइन् । तर उनलाई परिवारबाट सहयाेग भएन । घर परिवारको सहयोग विना नै उनले आफ्नो सिलाई, बुनाईको काममा निरन्तरता दिइन् । आफ्नो काम सँगसँगै उनले सामाजिक काममा पनि हात हालिन् । समाजमा असाय मानिसहरुलाई सहयोग गर्ने, सीप सिकाउने काम पनि गरिन् । महिलाले घर तथा खेतीपाती र घरलाई व्यवस्थित बनाउने हो भन्ने गलत मानसिकता बोकेको समाजमा महिलालाई आफूले चाहे बमोजिकको कार्य क्षेत्रमा स्थापित गर्न असाध्यै गाह्रो हुने उनको भनाइ छ । आफ्नो कामका साथै लक्ष्य चुम्नका लागि उनी निरन्तर लागि रहिन् ।  महिलालाई हरेक क्षेत्रमा आफूलाई स्थापित गर्नका लागि धेरै चुनौतीको सामना गर्नुपर्ने अवस्था छ । सानो रकमका लागि कर्जा लिन बैंक जाँदा पनि उद्यमी महिलाको मात्र नभई सहायको हस्ताक्षरको खोजी बैंकिङ्ग क्षेत्रमा नै हुँदा एकल महिला उद्यमीलाई कर्जा लिनका लागि गाह्रो भईरहेको उनको भनाई छ । अझै पनि महिलाले केहि गर्न सक्दैनन् भन्ने मानसिकता बोकेको समाजले असहज वातावरण सिर्जना गरेको छ ।

गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको मुर्गियामा

काठमाडौं । गरिमा विकास बैंकले बुधबार रुपन्देही स्थित मुर्गिया शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले गरेका हुन् । कार्यक्रममा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औधोगिक तथा व्यवसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देही जिल्लाको मुर्गियास्थित शाखा कार्यालयले त्यस क्षेत्रको पूँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको बताए । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले आधुनिक सुविधा सहित स्थापना गरिएको मुर्गिया शाखाबाट ग्राहकहरुले सहज रुपमा सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्ने उल्लेख गरे । यस बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले २०७६ पौष १३ गतेसम्म ३७ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३३ अर्ब २५ करोड कर्जा लगानी गरेको छ ।

साढे ३१ कराेड लागतमा बृहत् खानेपानी आयोजना शुरु, घण्टौँ लगाएर खोलामा जानुपर्ने बाध्यताकाे अन्त्य

रोल्पा । रोल्पा नगरपालिकामा बृहत् खानेपानी योजना शुरु भएको छ । नगरपालिकाका वडा नं १, २ र ४ मा उक्त आयोजना सञ्चालन गरिएको हो । खानेपानीको समस्या भोग्दै आएका नगरवासीमा खानेपानी योजनाको काम शुरु भएपछि खुशियाली छाएको छ । आयोजनाबाट उक्तमा रहेका एक हजार ६० घरधुरीका पाँच हजार ८०७ जनसङ्ख्या लाभान्वित हुने बताइएको छ । एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उक्त आयोजनाको कूल लागत रु ३१ करोड ५२ लाख ४२ हजार ९६४ रहेको छ । आयोजनाका लागि ७० प्रतिशत रकम एशियाली विकास बैंकको ऋण सहायताबाट व्यहोरिने छ । यस्तै २५ प्रतिशत रकम नगर विकास कोषबाट खानेपानी उपभोक्ता समितिले ऋण लिएर व्यवस्थापन गरिने भएको छ । पाँच प्रतिशत रकम स्थानीय उपभोक्ताले नगद लगानी गर्ने भएका छन् । आयोजनाबाट सम्पवेल चार, रिजरवयर ट्याङ्की आठ र कार्यालय भवन निर्माण हुने लिवाङ बजार खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष लिलाधर आचार्यले जानकारी दिए । आयोजनाको मुख्य लाइन १० किलोमिटर र शाखा लाइन ४७ किलोमिटर हुने बताइएको छ । आयोजनाले एउटा सार्वजनिक शौचालयसमेत निर्माण गर्ने भएको छ । खानेपानीको उचित व्यवस्थापनको अभाव झेल्दै आएका नगरवासीमा आयोजनाले खुशी ल्याएको नगरवासीको भनाइ छ । “विद्यमान योजना निकै पुराना भएका कारण खानेपानी आपूर्तिमा असहजता हुँदै आएको थियो”, स्थानीय तीर्था आचार्यले भने, “खानेपानीको अनिश्चितता तथा सरसफाइका लागिसमेत घण्टौँ लगाएर खोलामा जानुपर्ने बाध्यता छ ।”

वर्षमा सात लाख पर्यटक भित्र्याउँछ कनकाई, टिकट बिक्रीबाट दुई करोड राजश्व सङ्कलन

भद्रपुर ।  झापाको मध्य भागस्थित कनकाई नगरपालिका जिल्लामा सबैभन्दा बढी पर्यटक भित्र्याउने नगरको रुपमा चिनिन्छ । पर्यटकीय गन्तव्य थोरै भए पनि मुलुकमा कहलिएको जामनुखाडी सामुदायिक वन र व्यक्तिगत लगानीमा सञ्चालित ह्याप्पीलेण्ड फनपार्कले मात्र वर्षमा सात लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदै आएका छन् । स्थानीय दिनेश शिवाकोटी र मनोज शिवाकोटीले रु १६ करोड खर्च गरेर कनकाई नगरपालिका–३ मा ह्याप्पीलेण्ड स्थापना गरेका हुन् । जहाँ वर्षमा मात्र पाँच लाख आन्तरिक तथा बाह्य पर्यटकले दृश्यालोकन गरेको उनीहरुको भनाइ छ । उनीहरुले साढे पाँच बिघा जमिनमा आकर्षक पार्क, सेल्फीडाँडा, वाटरफल्स, आइफल टावर, पानीको फोहरा, बगैँचा र बाल उद्यानलगायतका कृत्रिम स्थान तयार गरी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्दै आएका छन् । दुई वर्ष अघि स्थापना गरेको पार्कमा फिल्म, टेलिसिरियल, म्युजिक भिडियो र विवाहको फोटो सेसन गर्न आउनेको दैनिक भीड लाग्ने गरेको सञ्चालक दिनेश शिवाकोटीले बताए । सुरुङ्गा बजारबाट करिब एक किलोमिटर उत्तर रहेको पार्कको प्रवेशद्वारमा रु १०० को टिकट काटेर प्रवेश गरेपछि सबैकुरा निःशुल्क हेर्न र पार्कभित्र रहेको पिङ, स्वमिङपुलमा निःशुल्क खेल्न सकिने उनको भनाइ छ । “नाफामुखी भन्दा सेवामुखी बनेका छौँ”, उनले भने, “हाम्रो उद्देश्य भनेको सस्तो मल्यमा बहुआयमिक मनोरञ्जन गराउने हो ।” पार्कमा नेपालका विरगञ्ज, हेटाैंडा, सिरहा, सप्तरीदेखि भारतको दार्जिलिङ, सिक्किम, आसम सिलुगढीदेखि विहारका विभिन्न स्थान, भूटान र बङ्लादेशका पर्यटक आउने गरेका छन् । पार्कभित्रै २५ वटा वनभोज (पिकनिक) स्थल सञ्चालन भइरहेका छन् भने थप २० वटा बनिरहेका छन् । कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वन नेपालकै पहिलो पर्यापर्यटन प्रवद्र्धन गर्ने सामुदायिक वन हो । जहाँ वर्षमा दुई लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन् । पूर्वपश्चिम राजमार्गको सडकखण्डबाट दुई किलोमिटर उत्तरमा रहेको सो वनलाई प्रदेश सरकारले प्रादेशिक प्राणी उद्यान केन्द्र तथा मिनी चिडियाखाना बनाउनका लागि पूर्वधार तयार गरिरहेको छ । चार सय ३४ हेक्टर क्षेत्रफलमा रहेको सामुदायिक वनभित्र, पाँचवटा ठूला पोखरी, झोलुङ्गे पुल, बाल उद्यान केन्द्र, ४० बढी वनभोजस्थल र विभिन्न जातका वन्यजन्तु रहेका छन् । जैविक विविधताले भरिपूर्ण सामुदायिक वनमा भारतको पश्चिम बङ्गाल, विहारदेखि नेपालकै विभिन्न स्थानबाट अध्ययन अनुसन्धानका लागि विद्यालयले विद्यार्थीसमेत लिएर आउने गरेको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खेमप्रसाद सिटौलाले बताए । वनले पर्यटकलाई असुविधा नहोस् भनेर विभिन्न स्थानमा शौचालय, बिजुली बत्ती, खानेपानी र टहरासमेतको व्यवस्था गरेको उनको भनाइ छ । सो क्षेत्रमा आउने पर्यटकलाई खाना बस्नका लागि राम्रो प्रबन्ध भएका होटलसमेत छन् । नयाँ वर्ष २०७७ देखि स्थानीय क्षेत्रमा होमस्टे सञ्चालनको तयारी, कोसेली घर निर्माण सम्पन्न गर्ने योजना रहेको अध्यक्ष सिटौलाको भनाइ छ । यहाँ आउने पर्यटकले रु ५० तिरेर वन क्षेत्रको अवलोकन भ्रमण गर्ने व्यवस्था मिलाइएको छ । वन्यजन्तु हेर्ने पोखरीमा नौका विहार गर्ने पर्यटकले थप रु ५० का दरले तिर्नुपर्ने व्यवस्था गरिएको छ । वार्षिक टिकट बिक्रीबाट रु दुई करोड राजश्व सङ्कलन गर्दैै आएको वनले पाँच प्रतिशत स्थानीय सरकारलाई करबापत बुझाउने गरेको छ । वन परिसरमा ३०० व्यक्ति अटाउने क्षमताको हलसमेत बनाइएको छ । जहाँ जिल्लाबाट दैनिक जसो विभिन्न सङ्घसंस्थाका साधारणसभा, तालीम, गोष्ठी सञ्चालन भइरहने गरेको उहाँको भनाइ छ । अध्यक्ष सिटौलाले नेपाल भ्रमण वर्षलाई सफल पार्नका लागि बनमा आवश्यक पूर्वाधार थप भइरहेको बताउँदै भने, “यो वर्ष दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखेका छौँ ।” उनले विद्यालयको आधिकारिक परिचयपत्र लिएर आएमा विद्यार्थीले २५ प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको जानकारी दिए । कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले नगरले चालू आर्थिक वर्षमा मात्र पर्यापर्यटनका लागि रु एक करोड बजेट विनियोजन गरेको बताए । उनले निजी क्षेत्रमा सञ्चालन गरिएका पर्यटकीयस्थललाई प्रवद्र्धन गर्न र सामुदायिक रुपमा सञ्चालित स्थानको पर्यापर्यटनलाई थप आकर्षक बनाउनका लागि सो बजेट खर्च गरिने बताए । उनकै संयोजकत्वमा नेपाल भ्रमण वर्षलाई सफल पार्न र नगरका पर्यटकीय स्थानमा जतिसक्दो धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउनका लागि २१ सदस्यीय नगर पर्यटन समितिसमेत बनेको छ । समितिले पर्यटकीय क्षेत्रमा आउने पर्यटकलाई पर्यटकमैत्री व्यवहार गराउने र पर्यटकीय सम्भाव्यता रहेको स्थानको अध्ययन गरेर पूर्वाधार निर्माण गरिने बताए । कनकाई नगरपालिकाभित्र कोटीहोम, धनुषकोटी धाम र निजी लगानीमै सञ्चालित कनकाई फनपार्कलगायतका पर्यटकीय स्थान रहेका छन् । रासस

काभ्रेका दुई वडाको सिमा विवाद ४४ वर्षपछि समाधान

काभ्रेपलाञ्चोक । कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाका दुई वडाको सीमा विवाद ४४ वर्षपछि समाधान भएको छ । विसं २०३२ मा साविक पिपलटार र भुम्लुटार गाउँपञ्चायतको सीमा (हाल भुम्लु गाउँपालिकास्थित दुई वडा) विवाद हालै समाधान गरिएको हो । तत्कालीन सीमा विवादका कारण ४४ वर्षदेखि दुई वडाका करिब एक हजार परिवार लालपूर्जावहीन अवस्थामा रहँदै आएका छन् । “तत्कालीन गाउँपञ्चायतको सीमा विवाद हालै मात्र समाधान भयो”, वडा नं ८ का वडाध्यक्ष मोतिलाल तामाङले भने । उनका अनुसार विसं २०३२ सालमा जग्गा नापीका बेला साविक पिपलटार गाउँपञ्चायतमा रहेको खेतीयोग्य जमिनबारे स्थानीय ‘उप्रती र खेरेल समुदायबीच’ विवाद भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाउँपञ्चायत भएको थियो । त्यसयता स्थानीय बासिन्दा लालपूर्जाविहीन बन्न पुगेका थिए । सीमा विवादकै कारण स्थानीय बासिन्दा लालपूर्जाविहीन अवस्थामा रहेपछि सीमा विवाद समाधानका लागि सरकारी एवं गैरसरकारी पक्षबाट निकै पहल भएको ७ नं का वडाध्यक्ष रमेशराज खरेलले बताए । हाल दुई वडाको सिमानामा पिल्लर गाड्ने काम भइरहेको उनले बताए । वडा नं ७ का ३६५ र ८ नं वडाका ५८९ पीडित परिवारसँग सीमा विवादकै आफ्नो जमिनको लालपूर्जा नभएको वडाध्यक्ष तामाङले जानकारी दिए । उनका अनुसार सीमा–विवाद समाधानका लागि प्राकृतिक स्रोत द्वन्दरुपान्तरण केन्द्रले विसं २०७५ कात्तिकदेखि विभिन्न चरणमा स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दासँग छलफल एवं बैठक गराएको थियो । सीमा विवाद समाधानार्थ स्थानीयसँग परामर्श तथा ६२ बैठकबाट सीमा विवाद समाधान गरिएको केन्द्रका मध्यक्षेत्रीय संयोजक रिता मानन्धरले बताए । “केन्द्रको आफ्नै द्वन्द्वरुपान्तरणको प्रक्रियाबाट गाउँपालिकाका दुई वडाको सीमा विवाद समाधान भयो” उनले भने । उनका अनुसार केन्द्रद्वारा पाँच वर्षको अवधिमा जिल्लाका प्राकृतिक स्रोतमा आधारिक बहुसरोकारवाला १५ प्राकृतिक स्रोत द्वन्द्व समाधान भएका छन् । दुई वडाका भूकम्पपीडित लालपूर्जाविहीन भएपछि भूकम्पको दुई वर्षपछि जग्गाधनीले जमिन कर ‘तिरो’ तिरेको तथा अनुगमनकर्ता इञ्जिनीयरले दिएको निस्साका आधारमा मात्रै सरकारी राहत अनुदान उपलब्ध गराइएको थियो । “भूकम्पको दुई वर्षपछि सरकारी आवास निर्माण राहात अनुदान उपलब्ध गराइएपछि यहाँका भूकम्पपीडितले घर बनाउन थालेका थिए” वडाध्यक्ष तामाङले भन । उनका अनुसार त्यसअघि परिचयपत्र, नागरिकता भए पनि जग्गाको लालपूर्जा नभएका कारण भूकम्पपीडितले अनुदान सम्झौता गर्न पाएका थिएनन् । सरकारले लालपूर्जाविहीन पीडितको समस्यालाई मध्यनजर गर्दै २०७५ भदौमा आवास निर्माणसम्बन्धी कार्यविधि बनाएपछि लालपूर्जाविहीनले किस्ताबन्दीमा सरकारी अनुदान लिएर घर बनाउन थालेका हुन् । लालपूर्जाविहीन परिवारलाई पुनःनापी गरी लालपूर्जा वितरण गर्न जिल्लास्थित नापी कार्यालयले गत मङ्सिर २० गते ८ नम्बर वडास्थित भुम्लुमा फिल्ड कार्यालय स्थापना गरेको छ । दुवै वडाको ७५ प्रतिशत नापी तथा लालपूर्जा निर्माणको काम सकिएपछि वितरणको काम शुरु गरिने नापीप्रमुख कृष्णप्रसाद न्यौपानेले बताए । उनका अनुसार वडा नं– ७ मा पनि केही महिनापछि अर्को फिल्ड कार्यालय स्थापना गरी चार महिनाको समयमा लालपूर्जा वितरणको काम सकिनेछ । वडा नं ८ का चित्रबहादुर श्रेष्ठले सीमा विवाद समाधानपछि लालपूर्जा वितरण गर्न गाउँमै फिल्ड कार्यालय स्थापना भएकामा खुशी व्यक्त गरे । उनले भने “हामी खुशी छौँ, अब लालपूर्जा पाएपछि जग्गा बेचविखन तथा बैंकिङलगायतका काम गर्न सजिलो हुने आशामा छौँ ।” उनका अनुसार यसअघि ‘बीऊबिजन’का आधारमा जग्गाको किनबेच तथा अंशबण्डा हुँदै आएको थियो । रासस