मेची अस्पतालमा बेवारिसे अवस्थामा एक महिला, आफन्त खोजी गरिदिन प्रशासनकाे आग्रह
बनियानी । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा छ महिनादेखि एक महिला बेवारिसे अवस्थामा रहेकी छन् । प्रहरीले सडकबाट उद्धार गरी छ महिना अगाडि अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिदिएको थियो । उनी हाल रोगबाट मुक्त भए पनि आफन्त वा संरक्षक कोही पनि लिन नआएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले महिलाको आफन्त खोजी दिन वा संरक्षण गरिदिन सरोकारवाला निकायसमक्ष अनुरोध गरेको छ । राम्ररी बोल्न, आँखा देख्न र कान सुन्न नसक्ने ती महिला आफू भारतको दार्जिलिङ बजार छेउकी बासिन्दा भएको बताउने गर्छिन् । कसरी नेपाल आइन भन्ने उनी स्वयंलाई थाहा छैन । उनको छिरिङ नाम गरेको छोरो रहेको जानकारी दिएकी छिन् । दोहोरो कुराकानीसमेत गर्न नसक्ने उनी आफ्नो नाम डिकी तामाङ भएको बताउँछिन् । करिब ६० वर्षीया उनलाई प्रहरीले खुट्टा भाँचिएको अवस्थामा उद्धार गरेर अस्पतालमा उपचारका लागि भर्ना गराएको थियो । अस्पतालको मेडिकल वार्डका इञ्चार्ज बिपी चौधरीले आफन्तको खोजी गरे पनि पत्ता लाग्न नसेको बताए । “रेखदेख गर्ने आफन्त नभएका कारण अस्पतालले उनको सरसफाइमा दैनिक रु १०० खर्च गरिरहेको छ”, उनले भने, “बिरामी आफैँ हिँड्डुल गर्न सक्ने अवस्था छैन ।” यता, सामाजिक अभियन्ता पुण्यप्रभा सुब्बा महिलाको आफन्त खोजीका लागि सक्रिय भएको बताए। उनले विभिन्न सञ्चारमाध्यम तथा सम्पर्क व्यक्तिमार्फत महिलाको आफन्तको खोजी गरिरहेको बताएका छन्। उनले भने, “प्रयास भइरहेको छ, तर अहिलेसम्म फेला परेको छैन ।” रासस
अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन मन्त्री भट्टराईको आग्रह, नेपाल-अष्ट्रेलिया सिधा हवाई उडानकाे काम अघि बढ्दै
अष्ट्रेलिया । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन् । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बुधबार राति यहाँ आयोजित ‘भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले नेपालको पर्यटकीय महत्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरे। मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बीचमा सिधा हवाई उडानका लागि सरकारले काम अघि बढाएको उल्लेख गर्दै यसो हुन सकेमा पर्यटकको सङ्ख्या बढाउन र यहाँ भएका नेपालीलाई पनि सहज हुने बताए । अष्ट्रेलियामा भएको आगलागीबाट नेपाल सरकार मर्माहत भएको बताउँदै उनले यस दुःखको घडीमा सहयोगमा जुट्न नेपाली समुदायसँग आग्रह गरे । कार्यक्रममा अष्ट्रेलियका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्ष सफल बनाउन यहाँ रहेका नेपालीको उत्साह सराहनीय रहेको भन्दै सबैको साथ र सहयोग रहेमा लक्ष्यअनुसार पर्यटक नेपाल भित्र्याउन सकिने बताए । उनले आफू अष्ट्रेलिया आएदेखिनै यहाँका नेपालीको साथबाट उत्साहित भएको पनि जानकारी दिएका छन् । गैरआवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले आफ्ना परिवार र साथीभाइ भेट्न नेपाल जान सबैलाई आग्रह गरे । उनले नेपालीलाई आफू स्वदेश जान र आफूले चिनेका साथीभाइलाई लैजान पनि अनुरोध गरेका छन् । अष्ट्रेलियाका सङ्घीय सांसद ग्रलाडीस ल्यूले यहाँको अर्थतन्त्रमा आप्रवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै यस वर्ष आफू पनि नेपाल जान इच्छुक रहेको बताए । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियका अध्यक्ष केशव कँडेलले सरकारको लक्ष्यअनुसार पर्यटक भित्र्याउन आफूहरु लागि परेको बताए । यहाँको आगलागी पीडितका लागि सङ्घले ५० हजार डलर सहयोग गर्न लागेको पनि जानकारी दिए । सङ्घकै पहलमा मेलवन र सिड्नीमा एउटा एउटा बसमा भ्रमण वर्ष अङ्कित स्टिकर पनि टाँस्ने कार्यक्रम रहेको उनको भनाइ थियो । सो अवसरमा महावाणिज्यदूत चन्द्र योन्जन, भिक्टोरिया प्रदेशका सांसद नेटाली हुट्चिङ्, अष्ट्रेलियाको रेस कमिस्नार चिन्टाङलगायतले भ्रमण वर्ष सफलताको शुभकामना दिए । कार्यक्रममा नेपाल भ्रमण गरेका ट्रेभोर मोयलरी, स्टेफोनिक मे, लुइसिन्डा पेर्टसन, लुई गिलगायतले नेपालको पर्यटकीय महत्वका बारेमा वर्णन गरेका थिए । गत वर्ष यहाँबाट ३३ हजार पर्यटक नेपाल आएको तथ्याङ्क छ । अष्ट्रेलियामा एक लाख ५० हजारभन्दा बढी नेपाली रहेको अनुमान रहेको छ । रासस
बागलुङ बसपार्कको निर्माण कार्य तीव्र गतिमा, वर्षौंदेखिको योजना साकार
बागलुङ । बागलुङ बसपार्कको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । ठेक्का सम्झौताअनुसार सरासर काम भएमा आउँदो वैशाखभित्रै बागलुङ बसपार्क बनिसक्नुपर्छ । अहिलेसम्म निर्माणको भौतिक प्रगति ५० प्रतिशत नाघेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माणाधीन बसपार्कका लागि विसं २०५८ देखि जग्गाको जोहो गर्न थालिएको थियो । पुनः नक्साङ्कनसहित प्राविधिक पक्ष हेरफेर गर्दा बसपार्कको लागत रु एक करोड १३ लाख थपिएको छ । ठेक्का हुँदा निर्माण कम्पनीले रु सात करोड ६६ लाख ९९ हजारमा बसपार्क निर्माणको जिम्मा पाएको थियो । ‘डिजाइन’ परिवर्तनसँगै लागत बढेर रु आठ करोड ७९ लाख ९९ हजार पुगेको छ । जसमध्ये नगर विकास कोषको ऋण लगानी ९० प्रतिशत, नेपाल सरकारको सात र बागलुङ नगरपालिकाको साढे दुई प्रतिशत लगानी छ । वार्षिक पाँच दशमलव पाँच प्रतिशत ब्जाजदरमा २० वर्षभित्र तिर्ने गरी नगरपालिकाले कोषसँग ऋण सम्झौता गरेको थियो । उक्त ऋणको रकम बसपार्कमा आउजाउ गर्ने सवारी साधनबाट उठेको पैसाबाट तिर्ने लक्ष्य छ । बसपार्क बन्ने आशमा झण्डै रु एक अर्ब पर्ने १७ रोपनी जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका थिए । जग्गा व्यवस्थापन भए पनि बसपार्क निर्माणको योजना अलपत्र थियो । बागलुङ नगरपालिकाले विसं २०७४ फागुनमा नगर विकास कोषसँग ऋण सम्झौता गरेपछि बसपार्क बन्ने निश्चित भएको थियो । विसं २०७५ कात्तिकमा ठेक्का टुङ्गाएपछि गएको फागुन १५ गतेदेखि ‘आशिष फेवा जेभी’ले निर्माणको काम थालेको हो । तत्कालीन शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बसपार्कको शिलान्यास गर्नुभएको थियो । बसपार्कको मुख्य संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिए । उनका अनुसार ‘टर्मिनल’ भवनसहित बसपार्कको मैदान चौडा बनाउने काम सकिएको छ । व्यावसायिक भवन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । “आउँदो वैशाख मसान्तभित्रै निर्माण सक्ने लक्ष्यसहित धमाधम काम भइरहेको छ”, इञ्जिनीयर शर्माले भने । ‘टर्मिनल’, व्यावसायिक भवनसँगै ३५ मिटर चौडा र ९८ मिटर लम्बाइ भएको ‘पार्किङ’स्थल, सवारी मर्मत केन्द्र, फोहर सङ्कलन केन्द्र, भूमिगत ट्याक्सी ‘पार्किङ’, बगैँचालगायतका संरचना बसपार्कभित्र बन्नेछन् । बसपार्कको शुरुको ‘डिजाइन’मा केही फेरबदल हुँदा गत असारदेखि भदौसम्म निर्माण कार्य प्रभावित भएको थियो । बसपार्क निर्माणमा अब ढिलाइ नहुने निर्माण कम्पनीले जनाएको छ । “बसपार्कको ५० प्रतिशत काम पूरा भएको छ, तोकिएकै समयभित्र निर्माण सकिन्छ”, निर्माण कम्पनीका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले भने । अब पनि बसपार्क निर्माणमा ढिलासुस्ती भए जग्गादातामाथि ठूलो अन्याय हुने जग्गा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारीले बताए । समितिको नाममा रहेको स्थानीयवासीको ५९ रोपनी जग्गामध्ये १७ रोपनी जग्गा विसं २०७१ मा बसपार्क बनाउन नगरपालिकालाई दिइएको थियो । तीमध्ये ५० प्रतिशत भने जग्गाधनीले फिर्ता पाउने छन् । ५० प्रतिशतमध्ये नगरपालिकालाई दिएर बचेको १२ रोपनीमा बस्ती नक्साङ्कन, बाटो, ढल, नाली, पानी, बिजुलीजस्ता पूर्वाधार निर्माण गरिनेछ । बसपार्कका लागि १८ वर्षदेखि जग्गा बाँझै छाडेका स्थानीयवासीले जग्गा फिर्ताको माग गरेका छन् । नगरप्रमुख जनकराज पौडेलले प्राविधिक समूहबाट अध्ययन गराई तत्काल जग्गादाताको समस्या समाधान गरिने बताए । व्यवस्थित र सुविधायुक्त बसपार्क निर्माण गर्ने वर्षौंदेखिको योजना साकार हुन लागेको उनको भनाइ छ । “बागलुङ विकासको प्रमुख पूर्वाधार बसपार्क हो । त्यसैले समयमै पूरा गर्न आफैं लागिपरेका छौं” उनले भने, “ठेकेदारलाई दैनिक भेटेरै काम सक्न निर्देशन दिइरहेका छौं । पहिलेभन्दा तीव्र रूपले काम भइरहेको छ ।” अहिले बागलुङ नगरपालिका–३ चिप्पलेटीमा अव्यवस्थित रुपमा अस्थायी बसपार्क सञ्चालित छ । रासस
एनआइसी एशिया बैंकको ‘सपोर्ट सेवा’ २४ सै घण्टा सञ्चालनमा
काठमाडाैं । एनआइसी एशिया बैंकले ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको ल्याएको छ । यस सुविधाअनुसार बैंकले ग्राहकको गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने छ । सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा [email protected] मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सक्नेछन् । आफ्ना ग्राहकलाई कुनै पनि सहायता दिनका लागि बैंकले वर्षभरी नै सपोर्ट सेवा दिन लागेको बैंकले जनाएको छ ।
अक्सिजन खरिदका लागि महाकाली अस्पताललाई साढे चार लाख सहयोग
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले यहाँस्थित महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि रु चार लाख ५६ हजार आर्थिक सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र विष्टले अक्सिजन आपूर्तिका लागि बुधबार एक समारोहबीच उक्त सहयोग रकम अस्पताललाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगरप्रमुख विष्टले अक्सिजन खरिदका लागि अस्पतालसित आर्थिक अभाव रहेको खबरले सो सहयोग रकम उपलब्ध गराइएको जानकारी दिए । अस्पतालका प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा हरिकृष्ण श्रेष्ठले अस्पताललाई गरेको सहयोगप्रति नगरपालिकालाई आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताएका छन् । यसअघि भीमदत्त नगरपालिकाले जिल्ला रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई समेत ब्लड बैंकका लागि आर्थिक सहयोग गरेको थियो । रासस
पाम तेलमा भारतले प्रतिबन्ध लगायो, नेपालको निर्यातमा वार्षिक २८ अर्बकाे धक्का
काठमाडौं । भारतले मलेसिया, नेपाल सहित विभिन्न देशबाट हुने पाम तेल आयातमा प्रतिबन्ध लगाएको छ । यसले नेपालको निर्यात व्यापारमा फेरी ठूलो धक्का लाग्ने भएको छ । भारतले नेपालबाट निर्यात हुने पाम तेलमा प्रतिबन्ध लगाएको जानकारी आज पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले जानकारी दिए । ‘पाम तेल निर्यातमा भारतले रोक लगाएको जानकारी हामीले पाएका छौं । त्यसको असर कति पर्छ र नेपालले अब के गर्ने भन्ने विषयमा अध्ययन तथा विश्लेषण हुन बाँकी नै छ’ विकासन्युजसँग उनले भने । नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले भारतमा निर्यात गर्न नपाउँदा पाम तेल प्रशोधन गर्ने उद्योग संकटमा पर्ने बताए । कुटनीतिक पहलबाट छिट्टै नै भारतमा पाम तेल निकासी खुला हुने उनको विश्वास छ । नेपालले कात्तिकसम्ममा कुल निर्यात ३६ अर्ब २७ करोड रुपैयाँ बराबरकाे निर्यात गरेकाेमा पाम तेल मात्रै ८ अर्ब ३६ करोड रुपैयाँको निर्यात भएको छ । यहि अनुपातमा वर्षभरी निर्यात हुने हुँदा करिब २८ अर्ब रूपैयाँ बराबरकाे निर्यात हुने थियाे । मलेसियासँगकाे विवादकाे असर कास्मिर विवादको विषयमा मलेसिया सरकारले भारत सरकारको आलोचना गरेपछि भारतले मलेसियासँग प्रतिशोध लिँदै मलेसियाबाट आयात हुने पाम तेलको आयातमा रोक लगाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । मलेसियाका प्रधानमन्त्री महाथिर महमदले भारत सरकारले कस्मिर क्षेत्रमा मुस्लिममाथि दमन गरेको बताउँदै त्यसको विरोधमा संयुक्त राष्ट्र संघका महासचिवलाई समेत पत्र लेखेको थिए । नेपालले मुलतः मलेशियाबाट कच्चा पाम तेल आयात गरि प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएको छ । भारत सरकारले अरु देशमा उत्पादित पाम तेलको तुलनामा नेपालमा उत्पादित पाम तेलमा कम भन्सार दर लगाएकोले नेपालीहरुले फाइदा लिन पाएका थिए । भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेका अनुसार पाम तेल भारतमा अन्य मुलुकहरूले निर्यात गरे करिब ४० प्रतिशत भन्सार महसुल लाग्छ । नेपालबाट निर्यात गर्दा महसुल लाग्दैन । त्यसैले व्यवसायीहरूले नेपाल ट्रान्जिट बनाई तेल प्रशोधन गरेर यो तेल निर्यात गरिरहेका हुन् । हालै भारतले नेपालकाे परराष्ट्र मन्त्रालयमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नेपालले पाम तेल प्रशाेधन गर्दा कति प्रतिशत भ्यालु एड गर्छ भनि प्रश्न गरेकाे थियाे । जवाफमा नेपालले करिव ३० प्रतिशत भ्यालु एड हुने गरेकाे बताएकाे थियाे ।
सामना बैकिङ पत्रकारिता पुरस्कार यज्ञ बञ्जाडेलाई
काठमाडौं । यो वर्ष ‘सामना बैंकिङ पत्रकारिता पुरस्कार’ यज्ञ बञ्जाडेलाई प्रदान गरिएको छ । आर्थिक पत्रकारितामार्फत वित्तीय क्षेत्रको विकास तथा विस्तारमा महत्वपूर्ण योगदान पु¥याए बापत सामना बैकिङ गुठीले बञ्जालेलाई उक्त ‘तेस्रो सामना बैकिङ पत्रकारिता’ पुरस्कार प्रदान गरेको हो । हाल कान्तिपुर दैनिकमा कार्यरत बञ्जाडेले यसअघि नया“ पत्रिका दैनिक र आर्थिक अभियान दैनिकमा काम गरिसकेका छन् । पुरस्कार गुठीले बञ्जाडेलाई २०७४ र २०७५ सालको उत्कृष्ट बैकिङ पत्रकारिता पुरस्कार प्रदान गरेको हो । गुठीको ११औं साधारणसभाको अवसरमा बुधबार उक्त पुरस्कार वितरण गरिएको हो । लामो समय आर्थिक पत्रकारिता गरी वित्तीय क्षेत्रको विकास तथा विस्तारमा योगदान पु¥याएको भन्दै बञ्जाडेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष एवं अर्थविद रेवतवहादुर कार्कीद्वारा अक्षयकोष राखी २०६२ सालमा सामना बैंकिङ पुरस्कार गुठी स्थापना भएको हो । नेपालको वैकिंग वित्तीय क्षेत्रमा उच्च कोटीका ग्रन्थहरुको लेखन तथा प्रकाशनलाई प्रोत्साहन गरी यस क्षेत्रको विकासमा योगदान गर्ने मुख्य उद्देश्यले कोषको स्थापना गरिएको बताइएको छ । गुठीले उत्कृष्ट बैंकिङ पत्रकारिता, त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातकोत्तर तहमा अर्थशास्त्रमा विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी, इकोनोमिक्स डेभलमेण्ट एण्ड प्लानिङ विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी, उत्कृष्ट बैंकिङ वर्ष पुस्तक गरी चार विधालाई पुरस्कृत गर्दै आएको छ । गुठीले २०७१, २०७२ र २०७३ मा अर्थशास्त्र विषयमा स्नातकोत्तरमा उत्कृष्ट अंक ल्याउने क्रमशः सुदिप घिमिरे, तिलक सिंह महरा र मानव प्रकाश पौडेललाई एकै पटक यो वर्ष पुरस्कार प्रदान गरेको छ । यो वर्ष कुनै पनि पुस्तक छनोटमा नपरेको भन्दै गुठीले उत्कृष्ट बैंकिङ वर्ष पुस्तक वितरण नगरिएको विज्ञप्तिमा उल्लेख छ ।
सन नेपाल लाइफद्वारा गुलरिया र भूरीगाउमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गुलरिया र भूरीगाउमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पुस २२ गते उक्त दुई स्थानमा सो कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरु सम्मानित भएका छन् । साथै, महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए । साथै, सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन कम्पनीले आग्रह गरेको छ ।