१२ वर्ष जेल पर्ने डरले कर्जा स्वीकृतिको अधिकार पन्छाउँदै बैंक सञ्चालक तथा व्यवस्थापन समिति
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति र व्यवस्थापन समिति दुबै पक्ष कर्जा स्वीकृत गर्ने अधिकारबाट पन्छिन खोजेका छन् । विगतमा कर्जा स्वीकृत गर्ने अधिकतम अधिकार खोज्ने प्रवृतिले बैंक तथा वित्तीय संस्थामा सञ्चालक समिति र व्यवस्थापन समितिमा संघर्ष हुने गरेकोमा हाल दुबै पक्ष उक्त अधिकारबाट पन्छन खोजिरहेको बैंकर्सहरुले बताएका छन् । बैंकिङ कसुर तथा सजाय ऐनले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा असुल नभएमा धितो मूल्याङकत गर्ने मूल्याङकनकर्तादेखि कर्जा स्वीकृत गर्ने प्रक्रियामा हस्ताक्षर गर्ने बैंकका कर्मचारी तथा सञ्चालक सबै दोषी ठहर हुने व्यवस्था गरेको छ । सोही व्यवस्थाका आधारमा पछिल्लो समय बैंक अफ काठमाण्डूका तत्कालिन प्रमुख कार्यकारी अधिकृतसहित धेरै कर्मचारीलाई प्रहरीले पक्राउ गर्न थालेको छ । बैंकका वहलावाला तथा पूर्व कर्मचारीहरुलाई प्रहरीले भटाभट पक्राउ गर्न थालेपछि बैंकका कर्मचारीहरु तथा सञ्चालकहरु त्रसित भएको नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघको निवर्तमान अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । कर्जा स्वीकृत सम्बन्धि फाइलमा हस्ताक्षेर गर्ने विषयले सबैको टाउको दुःखेको उनले बताए । विकास बैंकहरुमा पनि यस्तो समस्या देखिएको र सकेसम्म कर्जा सम्बन्धि फाइलमा हस्ताक्षर गर्नबाट पञ्छिन थालेको डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोविन्द प्रसाद ढकालले बताए । कर्जा स्वीकृतिको क्रममा धितो मूल्याङकनदेखि आयस्रोतसम्मका धेरै विषय अध्ययन गर्नुपर्ने र गल्ती भएमा आफू पनि दोषी हुने भएकोले कर्जा स्वीकृत फाइलनमा हस्ताक्षर गर्न नपरे हुन्थ्यो भन्ने सोच सञ्चालकहरु देखिएको उनले बताए । ‘पहिला काम छिटो गर्नको लागि प्रमुख कार्यकारी अधिकृतलाई एकल निर्णय गर्ने सुविधा पनि थियो । अहिले एकल निर्णय गर्न कोही पनि चाहादैनन् । सामूहिक निर्णयबाट मात्र कर्जा स्वीकृत हुन्छ’ उनले भने । बैंकिङ कसुर तथा सजाय ऐनका अनुसार कर्जा लगानी गर्दा दोषी भेटिएमा दश लाख रुपैयाँसम्म बिगो भए एक वर्षसम्म कैद, दश लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म बिगो भए दुई वर्षदेखि तीन वर्षसम्म कैद, पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म बिगो भए तीन वर्षदेखि चार वर्षसम्म कैदको व्यवस्था गरिएको छ । एक करोड रुपैयाँभन्दा बढी दश करोड रुपैयाँसम्म बिगोभए चार वर्षदेखि छ वर्षसम्म कैद, दश करोड रुपैयाँ भन्दा बढी पचास करोड रुपैयाँसम्म बिगो भए छ वर्षदेखि आठ वर्षसम्म कैद, पचास करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयासम्म बिगो भए आठ वर्षदेखि दश वर्षसम्म कैद र एक अर्ब रुपैयाँ भन्दा बढी जतिसुकै रुपैयाँ बिगो भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । एउटा कुनै ठूलो कर्जा डुबेमा कर्जा स्वीकिृत गर्नेहरु १२ वर्षसम्म जेल बस्नुपर्ने भएपछि कर्जा स्वीकृत गर्ने कार्यबाट सबै पन्छन खोजिरहेको बैंकर्सहरु बताउँछन् । हाल बैंकहरुले आफ्ना प्रमुख कार्यकारी अधिकृतरुलाई १० करोड देखि ५० करोड रुपैयाँसम्म कर्जा स्वीकृत गर्ने अधिकार दिएकोमा प्रमुख कार्यकारी अधिकृतहरुले उक्त अधिकार आफूले मात्र प्रयोग नगर्ने बताउन थालेका छन् । सीइओहरुले आफूमा रहेको अधिकार प्रयोग नगरी कर्जा स्वीकृत समितिबाट वा बैंक सञ्चालक समितिबाट स्वीकृत गराउने र त्यसमा सामुहिक दाहित्व लिने अभ्यास थालेका छन् ।
शेयर लगानीकर्तालाई लाभांश लिन चटारो, कसरी लिने नगद लाभांश ?
काठमाडौं । पुस मसान्त नजिकिएसँगै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्थालाई वार्षिक साधारणसभाको चटारो छ । पुस महिनासम्म साधारणसभा गर्नैपर्ने बाध्यताका कारण ती कम्पनीहरुलाई एजीएम गर्न भ्याईनभ्याई भएको हो । त्यस्तै, कम्पनीलाई मात्र नभई सूचीकृत कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्तालाई पनि लाभांश लिन हतार भएको छ । बैंक तथा वित्तीय संस्थाले धमाधम वार्षिक साधारणसभा गरी प्रस्तावित लाभांश पारित गरेसँगै शेयरधनीहरु वर्षभरी आफूले गरेको लगानीको लाभांश पाउन आतुर देखिएका छन् । कम्पनीले कहिले साधारणसभा बोलाउला र लाभांश लिन पाउँला भनेर कुरेर बसेका लगानीकर्ताहरु साधारणसभा सकिएको भोलिपल्टै आफ्नो खातामा लाभांश आओस् भन्ने चाहन्छन् । तर, आफूले लगानी गरेको कम्पनी वा संस्थाले वितरण गरेको नगद लाभांश कसरी लिने भन्ने बारे भने अधिकांश लगानीकर्ताहरु अझै पनि अनविज्ञ नै छन् । त्यसैले कतिपय लगानीकर्ताले आफूले लगानी गरेको वर्षाैं बित्दा पनि कम्पनीले वर्षैपिच्छे वितरण गरेको लाभांश नलिएर लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु परेकाे कयौँ उदाहारण छन् । त्यसैले, उक्त उदाहारणको पात्र नबन्नको लागि शेयरमा लगानी गर्ने लागानीकर्ताहरु भने अलि चनाखो वा प्रविधिसँग अपडेट हुन जरुरी हुन्छ । प्रविधिले गर्दा हाल शेयरधनीहरुले नगद लाभांश खातामै पाउने भईसकेको छ । जसका लागि उनीहरुले विभिन्न ४ वटा प्रकृया अपनाउनु पर्ने छ । अपनाउनुस् यी चार प्रकृयाः पहिलो त, शेयरधनीले हितग्राही(डिम्याट) खाता खोली आफूले खाता खोलेको निक्षेप सदस्य(डीपी) कोमा गएर आफ्नो प्रमाणपत्र डिम्याट गराउनु पर्ने छ । त्यस्तै, डिम्याट खातामा अनिवार्य बैंक खाता अद्यावधिक(अपडेट) गराउनु पर्ने छ । दोश्रो, डिम्याट गराइसकेको तर डिम्याट खातामा बैंक खाता अपडेट नभएको शेयरधनीले डीपीकोमा गएर बैंक खाता अपडेट गराउनु पर्ने छ । तेश्रो, शेयरधनीहरुले हितग्राही खातामा अपडेट भएको बैंक खातामा लाभांश वितरणको सूचना जारी भएपछि लाभांश बापतको रकम आईपीएस मार्फत साधारणतया ३ दिनदेखि १५ दिनभित्रमा सोही खातामा आफै आउने छ । चौथो, बैंक खाता अपडेट गरेको बढीमा १५ दिनभित्र नगद लाभांश खातामा जम्मा हुने हुँदा सो नभएमा शेयरधनीले आफूले खाता खोलेकोे डीपीमा गई आफ्नो बैंक खाताको विवरण रुजु(पुष्टि) गर्नुपर्ने छ । पुष्टि गर्दा फरक भेटिएमा सच्याउने र सही रहेता पनि बैंक खातामा जम्मा नभएको खण्डमा मात्र सम्बन्धित कम्पनीको शेयर रजिष्ट्रार कम्पनीमा सम्पर्क गुर्नपर्ने छ । यो सँगै शेयरधनीले विशेष ध्यान दिनुपर्ने कुरा के भने सीडीएससीबाट हरेक हप्ताको बिहीबार मात्र अद्यावधिक भएको शेयरधनीको लगत(अपडेटड डाटा बेस) उपलब्ध हुने भएकाले रजिष्ट्रार कम्पनीले शुक्रबारदेखि मात्र प्रशोधन कार्य शुरु गर्ने छ । किन जम्मा हुँदैन बैंक खातामा लाभांश ? डिम्याट खातामा उल्लेख भएको बैंक खाता नम्बर र नाम वास्तविक बैंक खाता नम्बर र नामसँग हुबहु नभएको खण्डमा शेयरधनीहरुको नगद लाभांश बैंक खातामा जम्मा हुँदैन।
नेपाल मेडिसिटीका चिकित्सकहरुसँग दक्षिण कोरीयाली सर्जनले गरे अन्तर्क्रिया
ललितपुर । नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग दक्षिण कोरियाका प्रतिष्ठित सर्जन डा. किमले प्यान्कृयास सर्जरीका विषयमा अन्तर्क्रिया गरेका छन् । दक्षिण कोरिया स्थित क्यंगपुक नेशनल विश्वविद्यालयका हेपाटो बिलियरी तथा जनरल सर्जरी विभागमा कार्यारत डा. सांगगोएलकिमले शुक्रबार नेपाल मेडिसिटी अस्पतालका सर्जन लगायतका चिकित्सकहरुसँग अन्तर्क्रिया गरेका छन् । अन्तर्क्रियामा फरक शैलीमा उनले गर्दै आएका हेपाटो बाइलयरी सर्जरी प्रक्रियाबारे प्रष्ट पार्दै यसका लागि आवश्यक पद्धतीबारे बताएका छन् । नेपाल मेडिसिटी अस्पतालका सर्जरी विभाग प्रमुुख डा. सुुनिलकुमार शर्मा ढकालले डा. किमको उपस्थिती र अन्तर्क्रिया नेपाली चिकित्सकहरुका लागि निकै फलदायी रहने अपेक्षा गरेका छन् । नेपाल मेडिसिटी अस्पतालमा अत्याधुनिक उपकरण र पद्धतिलाई अपनाउँदै बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको अवस्थामा थप नयाँ पद्धतिबारे जानकारी प्राप्त गर्नुु सबैका लागि सुनौलो अवसर रहेको उनले बताएका छन् । अस्पतालका महाप्रबन्धक विजय रिमालले स्वदेशमै विश्वस्तरिय उपचार प्रदान गर्दै आइरहेको र यस किसिमका कार्यक्रमलाई सधै प्रोत्साहन गर्दै आएको जनाए ।
आजदेखि मौसम सफा हुँदै जाने
काठमाडाैं । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भू–भाग हुँदै बाहिरिने मौसमविद् सजिना शाक्यले बताए । “आज मध्याह्नसम्म देशैँभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ”, मौसमविद् शाक्यले भने । बेलुकापखबाट मौसम क्रमिक सुधार भई जाने जनाइएको छ । राति देशका मध्यपूर्वी भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार देशका पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । आइतबार देशका पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा हुने सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन तथा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १३ दशमलव सात डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम डडेल्धुराकोे न्यूनतम तापक्रम माइनस शून्य दशमलव एक डिग्री सेल्सियसमा झरेको छ । रासस
वाणिज्य संघका सदस्यलाई पुरानो मेडिकल कलेजको सम्पूर्ण सेवामा २० प्रतिशत छुट
काठमाडौं । पुरानो मेडिकल कलेज चितवन र उद्योग वाणिज्य संघबीच आपसी सहकार्यमा छुट सम्बन्धी स्मरण पत्र नवीकरण भएको छ। गत वर्ष पनि उद्योग वाणिज्य संघका सम्पूर्ण बैध सदस्यहरुलाई निश्चित प्रतिशत छुट दिइने स्मरण पत्रमा हस्ताक्षर भएको थियो। यस स्मरण पत्रमा अस्पतालका अतिरिक्त निर्देशक डा. मनोहर प्रधान र निमित्त निर्देशक डा. राजेश यादवले र उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान तथा स्वास्थ्य विभाग प्रमुख शिरीष पन्तले हस्ताक्षर गरेका हुन् । यस वर्ष उक्त स्मरण पत्र परिमार्जन सहित हस्ताक्षर भएको उद्योग वाणिज्य संघका स्वास्थ्य समिति प्रमुख शिरीष पन्तले बताए् । नीजि क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा अब उद्योग वाणिज्य संघ चितवनका सम्पूर्ण बैध सदस्यहरुले अस्पताल तर्फका सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने छन । व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था उद्योग वाणिज्य संघ चितवनका बैध सदस्य ४ सय जति रहेका छन ।आज उद्योग वाणिज्य संघ चितवनमा एक कार्यक्रमका बीच उक्त स्मरण पत्र सार्वजनिक गरियो । कार्यक्रममा बोल्दै अध्यक्ष सहनलाल प्रधानले गत वर्ष जस्तै यश वर्ष पनि धेरै सदस्यहरुले पुरानो मेडिकल कलेजबाट सहुलियतपुर्ण उपचार सेवा लिने विश्वास व्यक्त गरे । देशकै ठूलो आइसियु तथा सुपर स्पेसियलिटी सेवा उपलब्ध यश अस्पतालमा पहिला देखिनै स्वास्थ बीमा, कडा रोग , डायलाइसिस सेवा, निःशुल्क डट्स कार्यक्रम, कलेजो तथा मृगौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा सुचारु छ । सम्पूर्ण उद्योग वाणिज्य संघका सदस्य तथा पदाधिकारीहरुलाई अस्पतालबाट सहुलियत सहितको गुणस्तरीय सेवा दिइने कुरा अस्पतालका निमित्त निर्देशक डा. राजेश यादवले बताए । उद्योग वाणिज्य संघका सम्पूर्ण बैध सदस्यहरुलाई उपचार सेवा लिन सजिलो बनाउन छुट्टै बिलिङ काउन्टर तथा सम्पर्क व्यक्ति व्यवस्था गरिने र हरेक वर्ष उद्योग वाणिज्य संघ संगको सहकार्यमा पिछडिएको क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले जानकारी दिए ।
ट्राफिकद्वारा आज सार्वजनिक यातायातमा छड्के अनुगमन
काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल तथा अनुगमन समितिका पदाधिकारीहरूद्वारा आज सुन्धारामा २३ वटा भाडाका सार्वजनिक सवारीहरूलाई अनुगमन गरेका छन् । अनुगमनका क्रममा भाडाका सार्वजनिक सवारी तथा चालकमा देखिएका कमिकमजोरीहरूलाई सच्याउनको लागि चालकलाई प्रतिबद्धता पत्र समेत प्रदान गरिएको छ । सार्वजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउनका लागी सवारी चालकको महत्वपूर्ण भूमिका रहने भएकोले चालकहरुले पालना गर्नेपर्ने ट्राफिक नियम तथा यात्रुहरु प्रति सेवाभावका साथ आफुलाई बदल्न समेत यस अभियानले महत्वपूर्ण भूमिका खेल्न विश्वास गरिएको छ । सवारी दुर्घटना न्युनीकरण र सहज ट्राफिक व्यवस्थापनका लागि चालकहरु व्यवसायिक, अनुशासित र दक्षताका साथ आफुलाई उदाहरणीय बनाउदै चालकहरु प्रतिको विश्वासमा वृद्धि गर्न समेत चालकहरुलाई अनुरोध गरिएको छ । महाशाखाका प्रमुख ढकालद्वारा यहि पौष १७ गते भाडाका सार्वजनिक सवारी साधनहरुमा अनुगमन क्रममा देखिएका समस्या तथा महाशाखामा नागरिकहरुले गरेका गुनासोहरुको समेत विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरु, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा संचालित यात्रुवाहक सार्वजनिक सवारी साधनसंग सम्बन्धित विभिन्न कम्पनीरप्रा।लि। का प्रतिनिधिहरुको उपस्थितिमा पौष २० गते यस महाशाखामा व्यापक छलफल गरिएको थियो । उक्त छलफलबाट १९ वुँदे प्रतिबद्वता निर्णय भएको र उक्त निर्णयहरु कार्यान्वयन गर्न आजबाट अनुगमन शुरु गरिएको हो । उक्त १९ बुँदे कार्यान्वयन भए नभएको अनुगमनको लागि महानगररीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक तथा अनुगमन समितिका संयोजक प्र.उ. राजकुमार बैदवार उस्थित थिए । साथै, नेपाल यातायात व्यवसायी महासंघ सचिव नन्दलाल श्रेष्ठ, जिल्ला संयोजक अरुण श्रेष्ठ, सदस्य अर्जुन गौतम, अखिल नेपाल यातायात मजदुर संघका सचिव कमल पोखरेल, नेपाल यातायात व्यवसायी महासंघका ३ नं. प्रदेश संयोजक जगन्नाथ गौतम, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपाल तथा अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।
क्याभास एट थिएटर मलमा सामूहिक चित्र प्रदर्शनी, माघ ४ गतेसम्म जारी
काठमाडौं । कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालीन कलाका युवा कलाकारहरुको सिर्जना प्रदर्शनीमा राखिएको हो । नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चनसँगै कीर्तिपुर रंगमञ्चमा इचिङ र पेन्टिङगरी दुई विधाका ३० चित्रहरु प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा रहेका चित्रहरुले समकालीन नेपाली समाजप्रतिको चिन्ता र चासो अभिव्यक्त गरिएका छन् । युवा कलाकारहरुले आफ्नो सिर्जनामा चेनतशील मानव सभ्यताका विकृति, कुसंस्कार, उत्पीडनलाई प्रतिरुप स्वरुप उतारेका छन् । त्यस्तै मानवीयता, लैंगिकता, भूमण्डलीकरण प्रकृति, आशा र संघर्षलाई रंगका माध्यमबाट अभिव्यक्त भएका चित्र सिर्जनाहरुमा प्रदर्शनीमा रहेका छन् । प्रदर्शनीमा भिजिट नेपाल २०२० को लोगोका सिर्जनाकारदेखि विभिन्न विश्वविद्यालयबाट दिक्षित सक्रिय १३ कलाकारहरुको सिर्जना राखिएको छ । कलाकारहरु उद्धवराज रिमाल, टिकादत्त दाहाल, दीपमाला महर्जन, नारायणप्रसाद बोहजु, भिषण राजभण्डारी, मनिषा मानन्धर, रुकुमणी श्रेष्ठ, विद्यमान तामाङ, सन्तोष सिग्देल, सुजिता महर्जन, सुमन महर्जन, सुवास तामाङ, सोनी राईको सामूहिक प्रदर्शनीलाई ‘क्यानभास एट थिएटर’ नाम दिइएको हो । सहभागी कलाकारहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार तथा प्रदर्शनीहरुमा सहभागिता जनाइसकेका छन् । कलाका माध्यमहरु आफै पृथक र एक अर्काका परिपूरक रहेको औंल्याउँदै प्रिन्ट मेकीङ कलाकार सुजिता महर्जनले थिएटरमा कला प्रदर्शनीको संयोजन गरेकी हुन् । प्रदर्शनीको उद्घाटनमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुरमा युवा कलाकारहरुको स्वागत गरेका थिए । साथै कीर्तिपुरलाई कलानगरीको रुपमा विकास गर्न आफू तयार रहेको मेयर महर्जनले प्रतिबद्धता जाहेर गरे । प्रदर्शनीको उद्घाटनमा थिएटर मलका कलाकारहरुको ‘हामी बोल्छौं’ शीर्षकको बिम्बात्मक प्रस्तुति पनि दिएका थिए । जसमा रंगकर्मीहरु मनिष व्याञ्जु, स्नेहा रसाइली, कञ्चन संग्रौला, रोसन केसी, अनिल थपलिया, कुमार थापा, सरोज राई, शंकर भण्डारीको अभिनय तथा शक्ति पाख्रिनले निर्देशन गरेका थिए । थिएटर, कलाका विविध माध्यमहरुको संगम रहेको बताउ“दै थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले कला–संस्कृतिको अभियानमा समन्वय र सहकार्यको अत्यावश्यकतामाथि बहसको आशा गरेको उल्लेख गरे । प्रदर्शनी आगामी माघ ४ गतेसम्म जारी रहनेछ । साथै नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’ पनि माघ ४ सम्म मञ्चन हुनेछ ।
तनहुँको घिरिङमा बस दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, दर्जनाैं घाइते
दमाैली । तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा आज बिहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार थापाको घटनास्थलमै र गुरुङको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।