विकासन्युज

प्रदेश नं. ३ को स्थायी राजधानी हेटौँडा नै राख्ने प्रदेशसभाको निर्णय, वाग्मती नामाकरण

काठमाडौं । नाम र राजधानीको सम्बन्धमा सर्वदलीय बैठकले प्रदेश नं ३ लाई वाग्मती नामाकरण गर्ने र स्थायी राजधानी हेटौँडालाई कायम गराउने एउटा मात्र प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । साथै सो प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मत पारित गराउने निर्णय भएको हो। स्थायी राजधानी र नामका विषयमा सर्वसम्मत गराउने प्रयासस्वरुप मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, विवेकशील नेपाली दल, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी, राप्रपा र राप्रपा संयुक्तका प्रदेशसभा सदस्यको उपस्थिति थियो । बैठकमा मुख्यमन्त्री पौडेलले महत्वपूर्ण विषयवस्तुमा यो वा त्यो दल भन्दा पनि सर्वदलीय सहमतिमा निर्णय गर्दा सकारात्मक सन्देश जाने र सकसमा रहेका अन्य प्रदेशले पनि प्रदेश नं ३ ले स्थापित गरेको नजिरबाट समस्या हल गर्न सक्ने बताए । उनले सकेसम्म स्थायी राजधानीको एउटा मात्र नाम हेटौँडा र एउटा मात्र प्रदेशको नाम वाग्मतीलाई सबै दलले समर्थन गरेका छन् । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले इतिहास लेखाउने बेलामा एक भएर जानुको विकल्प नरहेको जानकारी दिए । “राजनीति चुनावका बेला गर्ने हो, अहिले साझा मुद्दामा सबै दल एक छन् भन्ने सन्देश दिन एकढिक्का भएर निर्णय गर्नुपर्छ”, उनले भने । बैठकमा सहभागी हुनुअघि आफ्नो दलको संसदीय दलको बैठक बसेको र बैठकले प्रदेशसभामा प्रस्ताव हुने हेटौँडा र वाग्मतीको पक्षमा मत जाहेर गर्ने सर्वसम्मतिले निर्णय गरेको भन्दै नेता बानियाँले एकता प्रदर्शन गर्नुपर्ने बेलामा तलमाथि हुने देखिए ह्वीप लगाएरै भए पनि अगाडि बढ्ने बताए । नेकपा संसदीय दलका उपनेता तथा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले व्यक्तिगत रुचि र चाहनाभन्दा पनि माथि उठेर एकता प्रदर्शन गर्नेबेला भएको उनको भनाई छ । “हामीभित्र पनि विभिन्न धारणा थिए, अडान थिए तर छलफल र अन्तरक्रियाबाट एउटै धारणा बनाएका छौँ, अब सबै दलको धारणा एउटै भए जनतामा सकारात्मक सन्देश प्रवाह हुन्छ र राम्रो सन्देश जान्छ”, उनले भने। नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईंले प्रदेशको राजधानी उपत्यकाभित्र वा आसपास हुनुहुँदैन भनेर आफ्नो दलले पहिल्यैदेखि भन्दै आएको बताए । उनले नामसमेत कुनै जातजाति, धर्म र संस्कृतिलाई प्रतिनिधित्व गर्ने र विवाद निम्त्याउने खालको हुनुहुन्न भन्ने माग रहेकामा हाल अघि सारिएको स्थायी राजधानी हेटौँडा र नाम वाग्मती आफूहरुलाई स्वीकार्य हुने जानकारी दिए। राप्रपाका रीता माझीले प्रदेशसभामा ऐतिहासिक सहमति कायम हुनुपर्ने भन्दै नाम वाग्मती र सामरिक महत्वका हिसाबले हेटौँडा राजधानी उपयुक्त हुने बताए । राप्रपा संयुक्तका रीना गुरुङले आफूहरु शुरुदेखि नै हेटौँडाको पक्षमा रहेको र राजधानीको नामसमेत साझा आएकाले सर्वसम्मति गराउने मुख्यमन्त्रीको चाहनामा साथ दिने जनाए । छलफलमा विवेकशील नेपाली दलका रमेश पौडेलले आफ्नो दलले कसैले पनि नउठाएका बेला प्रदेश नं ३ को नाम वाग्मती प्रदेश हुनुपर्छ भनेर आवाज उठाउने काम गरेको भन्दै नाममा आपत्ति नरहेको र राजधानीका सम्बन्धमा भने बताए। त्यस्तै विवेकशील साझाकी शोभा शाक्यले आफ्नो दलले नामाङ्कनको बारेमा विगतमै धारणा बनाइसकेकाले वाग्मतीमा समर्थन गर्ने रहेको भन्दै राजधानीको सम्बन्धमा भने आधिकारिक धारणा दिने उनको भनाई छ । प्रदेशसभामा नेकपाका ८०, काँग्रेसका २२, विवेकशील नेपालीका तीन, नेपाल मजदुर किसान पार्टीका दुई, राप्रपाका एक, राप्रपा संयुक्तका एक र नयाँ शक्तिका एक गरी ११० सदस्य छन् । रासस

खानेपानी मन्त्रीद्वारा भीमदत्त नगरपालिकामा ओभरहेड खानेपानी ट्याङकीको शिलान्यास 

कंचनपुर । खानेपानी मन्त्री बिना मगरले कन्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत वडा नम्बर ६,८ र १० मा संचालन हुने खानेपानी ओभरहेड ट्याङकीको शिलान्यास गरेका छन्। सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आयोजना गरेको कार्यक्रममा खानेपानी मन्त्री मगरले एक समारोहका बीच ओभरहेड ट्याङकीको शिलान्यास गरेका हुन्। उक्त खानेपानी आयोजनाले भिमदत्त नगरपालिका तीन वडाका १७ सय २३ घरधुरीका करिब साढे ९ हजार  जनसंख्या लाभान्वित हुनेछन् । उक्त आयोजनाको कूल लागत १८ करोड ५३ लाख रुपैयाँ रहेको समितिले जनाएको छ । यो ट्याङकीको क्षमता साढे चार लाख लिटर रहेको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले खानेपानी र सरसफाइको क्षेत्रमा सिङ्गो देशको सपाट मार्ग चित्र कोर्न चाहिरहेको बताए । उनले स्थानीय, प्रदेश र संघीय सरकारको नेतृत्वमा देशको सरसफाइ गुरुयोजना बनाउने तयारी भैरहेको जानकारी दिए । ‘खानेपानीको पहुँचबाट पहुँचविहीन भएका जनताको समस्यालाई सम्बोधन गर्न देशै भरीको योजना बनाउदै छौं ।’ उनले भने, ” खानेपानी संगै सरसफाइ र ढलको पनि रोड म्याप तयार गर्नेछौं । ‘ उनले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्दै सूदुरपश्चिम क्षेत्रको विकासमा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख विद्यानाथ भट्टराईले यो आयोजना अबको १३ महिना भित्रमा सम्पन्न गरिसक्नुपर्ने बताए । उनले यो आयोजना एडीबी लगायत नगर विकास कोषबाट आर्थिक सहयोगमा बन्न लागेको जानकारी दिए । यसैबीच कन्चनपुरको बेलौरीमा भएको अर्को एक कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले जनताका  माझ गरिएका प्रतिबद्धता क्रमिक रूपमा पूरा गर्दै जाने बताएका छन्  । शुक्रबार कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ पचुईमा निर्मित त्रिपुरा सुन्दरी भगवती मन्दिरको शिलालेख अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले नागरिकलाई विकासको मूलधारमा ल्याउन  प्रयत्नशील रहेको उल्लेख गरेका छन् । मन्त्री मगरले नागरिकको जीवन स्तरमा सुधार ल्याउन र दैनिक जीवनसँग जोडिएका  विषयमा  सकारात्मक परिवर्तन ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

एनएमबि बैंकको ३५ प्रतिशत लाभांश पारित, सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । एनएमबि बैंकको प्रस्तावित ३५ प्रतिशत लाभांश पारित भएको छ । बिहीबार सम्पन्न बैंकको २४औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पुँजीको २१ प्रतिशत बोनस र कर प्रयोजन सहित १४ प्रतिशत नगद गरी सो मात्राको लाभांश पाउने छन् । उक्त सभा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा सम्पन्न भएको थियो । सभाले संस्थापक शेयरधनीको तर्फबाट ३ र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना गरी सञ्चालक पदमा ६ जना निर्वाचित गरेको छ । जसमध्ये संस्थापक शेयरधनीबाट पवन कुमार गोल्याण, एफएमओको तर्फबाट नीको पिल र कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले तथा सर्वसाधारण शेयरधनीबाट शिरिश कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोन निर्वाचित भएका छन् । हाल बैंकले १६३ वटा शाखा, ५ एक्स्टेन्सन काउन्टर तथा १२८ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

पञ्चकन्याले ल्यायो सीपीभीसीको नयाँ ग्रेडको दुई पाइप, यस्ता छन् विशेषता

काठमाडौं । विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या गु्रपले सीपीभीसीको नयाँ दुई ग्रेडको पाईपहरु नेपाल भित्र्याएको छ । कम्पनीले शुक्रबार एक पत्रकार सम्मेलन गरी ‘फेल्म प्रो पाईप तथा फिटिङ्गस्(फाइर स्प्रिंकल सेरिज)’ र ‘ट्रान्सप्यारेन्ट फिटिङ्स’ नामक दुई उक्त ग्रेडका पाईपहरुको आधिकारिक अनावरण गरेको हो । जसमध्ये फेल्म प्रो पाईपहरु आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन-कोरोसिब, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त भई वातावरण हिसावले अनुकूल, तुलनात्मक रुपले किफायती र सस्ता छन् । यो उत्पादनलाई फाइर स्प्रिंकलको लागि अति उत्तम रुपमा लिन सकिने कम्पनीले जनाएको छ । त्यसैगरी, ट्रान्सप्यारेन्ट फिटिङ्स तातो चिसो पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महंगो सामग्री नचाहिने, सामान्य सीपीभीसी पाईप भन्दा बलियो र बढी चाप बहन गर्न सक्ने क्षमताका हुन्छन् । यो उत्पादनलाई प्लम्बिङ सिष्टममा नया“ विकल्पको रुपमा लिन सकिने कम्पनीले जनाएको छ । दुवै उत्पादन विश्व प्रसिद्ध जापानिज सेकिस्यूइ कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने र आईएसओ ९००१ः२००१५ स्ट्याण्र्डडबाट बनाईने हु“दा कम्तिमा ५० वर्षसम्म टिकाउ हुन्छ । पछिल्लो समय सीपीभीसी पाईप तथा फिटिङ्गस्मा नेपाल गुणस्तर चिन्ह र भारतीय मानक ब्यूरो आईएसआई चिन्ह प्राप्त गर्ने एकमात्र पहिलो कम्पनी हुन सफल भएको छ ।

नेपाल हस्तकला व्यवसायी संघकाे प्रथम साधारण सभा सम्पन्न

काठमाडाैं । नेपाल हस्तकला व्यवसायी संघकाे  प्रथम वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सघंकाे प्रथम साधारण सभा शुक्रबार सम्पन्न भएकाे हाे । साधारण सभामाले स्थापना भएकाे छाेटाे समयमा गरेका गतिविधीहरू प्रस्तुत गरेकाे थियाे । २०७६ असारमा स्थापना भएकाे संघले हालसम्म गरेका कार्यक्रमहरू शुक्रबारकाे साधारणसभामा प्रस्तुत गरिएकाे थियाे । नेपाल हस्तकला महासंघले आयोजना गरेको १७ औं हस्तकला व्यापार मेलामा संस्थाका ८ जना सदस्यहरु संयुक्त रुपमा सहभागी भएकाे साधारण सभामा जानकारी गराइएकाे छ । कार्यक्रममा संस्थाले उत्कृष्ट स्टलको अवार्ड प्राप्त गरेको थियो।  २०७६ मंसिर १६ गते समान उद्देश्य भएका हस्तकला क्षेत्रका १६ वटा जिल्ला संघ तथा वस्तुगत संघका प्रतिनिधिहरुबीच परिचय तथा छलफल गरी सुसम्बन्ध कायम गर्न पहल गरेको जानकारी गराइएकाे छ ।

काठमाडौंको कमलाक्षीमा गण्डकी विकास बैंक, थप तीन स्थानमा विस्तार गर्ने तयारी

काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको कमलाक्षीमा शाखा कार्यालय विस्तार गरेको छ । यो सहित विकास बैंकको शाखा संख्या ९२ वटा पुगेको छ । त्यसैगरी विकास बैंकले जनकपुरको जनकपुरधाम, काठमाडौंको गल्कोपाखा, बद्रियाको बाँसगढीमा थप ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यी शाखा सञ्चालनमा आय पछि बैंकको कुल शाखा संख्या ९५ पुग्नेछ । हाल यस विकास बैंकको कुल चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, गत मंसिर मसान्तसम्ममा कुल निक्षेप ३२ अर्ब ९७ करोड संकलन गरी २६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १७.३२ प्रतिशत नगद लाभांस वितरण गर्न गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई सकेको छ भने पुस मसान्तमा सम्पन्न हुन लागेको बाह्रौ वार्षिक साधारण सभाले पारित गरे पश्चात उक्त लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।

नाट्टाको अध्यक्षमा उत्रिए तीन प्रतिस्पर्धी, कसले मार्ला बाजी ?

काठमाडाैं ।  नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्डस् (नाट्टा)को आसन्न निर्वाचनले सम्बन्धित व्यवसायीबीच माहोल तताएकाे छ । २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वाकांक्षी योजना सहित शुरू भएकाे नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन नाट्टाकाे भूमिका पनि महत्वपूर्ण हुन्छ । यसले पनि नाट्टाको नेतृत्व कसले पाउँछ भन्ने विषयले पर्यटन क्षेत्रमा महत्व पाएकाे छ । नाट्टाको अध्यक्ष पदमा तीन जनाबीच प्रतिस्प्रर्धा हुँदैछ भने उनीहरूले अलग अलग टिम बनाउने काम गरिरहेका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाई र पूर्व महासचिव भिम प्रसाद पन्त नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरिसकेका छन् भने पूर्व महासचिव तथा पर्यटन व्यवसायी मिहिका शाह धाख्वा नेतृत्वमा तेस्राे समूह बन्ने बताइएकाे छ । मिहिका शाहकाे टाेलीले आइतबार उम्मेदवारी घोषणा गर्ने तयारी गरेकाे छ । नाट्टामा वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव र सदस्य भएइसकेका अच्युत गुरागाँइ हाल अध्यक्षका उम्मेदवार बनेका छन् । गुरागाइँकाे समूहमा हेमराज बास्तोला वरिष्ठ उपाध्यक्ष, यज्ञमुर्ति आचार्य उपाध्यक्ष, महासचिवमा राकेश धमाला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमार मणि थपलिया र सह कोषाध्यक्षमा पासाङ दावा शेर्पा रहेका छन् । त्यस्तै, नाट्टाको पूर्व महासचिव शाहकाे समूहमा वरिष्ठ उपाध्यक्ष नारायण गुरुङ उपाध्यक्ष रमेश थापा, महासचिव कमला गुरुङ, सचिवमा अमृत ढकाल, कोषाध्यक्षमा देवकी गुरुङ,सहकोषाध्यक्षमा फुडोमा शेर्पा रहेका छन् । पन्तको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा बिनय बस्नेत, उपाध्यक्षमा वरुण मेहता र महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल उम्मेदवार बनेका छन् । उनकाे समूहमा सचिवमा जिस्वान तुलाधर श्रेष्ठ, कोषध्यक्षमा हरिभक्त श्रेष्ठ र सहकोषाध्यक्षमा युविका भण्डारी उम्मेदवार दिएका छन् । पन्तले यसअघि नाटामा महासचिवको भूमिका निर्वाह गरिसकेका छन । माघ ३ गते हुने निर्वाचनमा सबै समूहहरू अहिले चुनावकाे प्रचार प्रसारमा जुटिसकेका छन् । अध्यक्षका प्रत्याशीत तीन उम्मेदवारसँग हामीले तपाईको अध्यक्षको उम्मेदवारी किन र अध्यक्ष हुने तपाईका एजेण्डाहरु के-के छन् भनेर सोधेका छौं । अच्युत गुरागाई, अध्यक्षका प्रत्यासी मेरो नेतृत्वको समूहले नाट्टाका सदस्यहरुको हकमा काम गर्छ । सदस्य कम्पनीहरुलाई प्रविधीमैत्री बनाउन सोसियल मिडिया, डिजिटल मार्केटिङ लगायतका समयानुकुल तालिमहरु संचालन गर्नेछ । सदस्य कम्पनीहरुको सहज पहुँचका लागि नाट्टा सचिवालयलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधीमैत्री बनाउने हाम्राे प्रतिवद्धता हाे । होटल तथा एयरलाइन्सहरुले एजेन्टहरुलाई भन्दा कन्जुमरहरुलाई सस्तो रेट उपलब्ध गराइरहेको वर्तमान अवस्थामा एजेन्टहरुलाई प्रतिस्पर्धात्मक रेट उपलब्ध गराउने होटल तथा एयरलाइन्सहरुको नामलाई फेवरेट होटल र एयरलाइन्सको रुपमा नाटा वेबसाइट, नाटा न्यूज लेटरलगायत विभिन्न माध्यमबाट प्रवर्धन गरिनेछ । नाट्टा सदस्यहरुलाई कुनै आपतकालीन स्थिति आइपर्दा सहयोग पुर्याउने हेतुले राहत कोष खडा गराउने छु । गैरकानुनी टुर अपरेटरलाईलाई निरुत्साहित गर्दै नो टुर विद आउट गाइड एण्ड अपरेटरको अवधारणालाई कार्यान्यवन गराउन प्रयत्न गरिनेछ । काठमाडौं तथा अन्य मुख्य पर्यटकीय नगरीहरुमा टुरिष्ट बस टर्मिनल र पार्किङ व्यवस्थापनका लागि प्रभावकारी पहल गर्न कुनै कसर बाँकी राखिने छैन । पर्यटन व्यवसायको प्रवर्द्धनका लागि बैंक तथा वित्तिय संस्थाहरुबाट कृषि क्षेत्रलाई जस्तै गरी सहुलियतपुर्ण व्याजसहित ऋण उपलब्ध गराउने नीतिगत व्यवस्था हुनका लागि पहल गर्नेछु । नेपाल भ्रमण वर्ष २०२० को सफलताका लागि सदस्य व्यवसायीहरुको सक्रिय संलग्नतामा बर्षभरी देशभित्र र बाहिर प्रबर्द्धनात्मक कार्यक्रमहरु आयोजना गर्नेछु । नेपाललाई आकर्षक गन्तव्यको रुपमा प्रचारप्रसार गर्न अन्तर्राष्ट्रिय रुपमा विशेष प्रवर्द्दनात्मक कार्यक्रमहरु संचालन गरेर युरोप, अस्ट्रेलिया, अमेरिका र एसियाका ठुला टर अपरेटरहरुलाई नेपालमा फामट्रिप गराउने छु । पर्यटकीय सुविधाका लागि प्रमुख सम्पदा, गन्तव्यस्थल र राष्टिय राजमार्गहरूमा सार्वजनिक शौचालय निर्माण गर्न भूमिका खेल्नेछु । आगामी दुई वर्षभित्र प्रदेश नम्बर २ र ६ प्रादेशिक संघ विस्तार गर्न पहल गर्नेछु ।  मिहिका शाह धाख्वा, अध्यक्षका प्रत्यासी परिवर्तनका निम्ति एकता भन्ने नाराका साथ हामी चुनावमा आएका छौं । एक सक्षम र अनुभवी टिम बनाएर हामी चुनावमा उत्रिएका छौं । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने हाम्रो प्रमुख ऐजेण्डा हो । हामी अन्तर्राष्ट्रिय बजारमा नेपाली पर्यटनको प्रचार प्रसार गरेपनि हामीले त्यसको नतिजा पाइरहेका छैनौं । यसलाई पनि हामी नतिजामुखि बनाउनो छौं । हाम्रो पर्यटकलाई दिने सुविधाहरु बढाउने छौं । राजमार्गहरुमा सुविधा सम्पन्न भौतिक पूर्वाधारहरु निर्माण गर्न विशेष पहल गर्नेछौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जनशक्तिहरु परिचालन सहयोग गर्नेछौं । टुरिष्ट बसहरु सञ्चालन गर्न भूमिका खेल्नेछौं ।  भिमप्रसाद पन्त, अध्यक्षका प्रत्यासी म अन्तरर्राष्ट्रिय बजार प्रबर्द्धनमा क्षेत्रीय बजार भारत, चीन, दक्षिण कोरिया, भियतनाम, श्रीलंका, बंगलादेश र मलेसिया लगायतका विभिन्न देशहरूमा पर्यटकहरूको रूचि पहिचान गरि विशेष प्रबर्द्धनात्मक अभियानको संचालनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल सरकारसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरू संचालन गर्नेछु । साथै, विश्वका अन्य विभिन्न मुलुकहरूमा नेपालको पहिचान हुने गरी पर्यटन क्षेत्रको प्रबर्द्धन गर्नेछु । सीमा क्षेत्रमा पर्यटक आगमनमा रहेका समस्याहरू समाधान गर्नुका साथै पर्यटकहरूको सहज आवागमनको लागि सम्बन्धित निकायसँग समन्वय गरी कार्य गर्ने पहल गर्नेछु । विदेशी टूर अपरेटरहरूले नेपाल भ्रमण गराउँदा हुने गरेका भ्रामक तथा आपत्तिजनक क्रियाकलापलाई यथाशीघ्र रोक्न पहल गर्ने मेरो दायित्व रहने छ । होटल एशोसिएशनसँग समन्वय गरी स्वदेशी एजेन्सीहरूलाई प्राथमिकताका साथ प्रतिस्पर्धी दर रेट निश्चित गरी लागू गराउ प्रमुख भूमिकामा रहनेछु । यथाशीघ्र काठमाडौं र पोखरामा पर्यटक बसपार्क निमार्ण गर्न जोडदार पहल गरिने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेका सेवा, सुविधा र समस्याहरूको निराकरणका साथै विमानस्थलदेखि उपत्यकाको विभिन्न स्थानमा हवाई यात्रुका लागि मात्रै सार्वजनिक शटल बसका लागि पहल गर्नेछु । साथै, पर्यटन व्यवसायीहरुको षमता वृद्धिका लागि विशेष तालिमका कक्षाहरु सञ्चालन गरी प्रविधिमैन्त्री पर्यटन व्यवसायी बनाउन भूमिका खेल्नेछु ।  

शहरी विकास मन्त्रालयले ट्राफिक प्रहरीलाई दियाे १२० थान स्टप बोर्ड 

काठमाडाैं । शहरी विकास मन्त्रालयका राज्य मन्त्री रामबिर मानन्धरले ट्राफिक प्रहरीलाई १२० थान स्टप बोर्ड हस्तान्तरण गरेका छन् । शहरी विकास मन्त्रालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा मन्त्री मानन्धरले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकाललाई एक समारोहकाबीच साे मात्रामा स्टप बोर्ड हस्तान्तरण गरेकाे हाे । काठमाडाैं उपत्यकाको विभिन्न स्थानहरुमा पैदल यात्रुहरुलाई अनिवार्य रुपमा जेब्राक्रसिङ, आकाशे पुल तथा तोकिएको ठाउँबाट बाटो काट्न सु-सुचित गर्ने प्रयोजनका लागि उक्तस्टप बोर्ड हस्तान्तरण गरेका हुन् । राज्य मन्त्री रामबिर मानन्धरका अनुसार कुनै पनि पैदल यात्रुहरुले सवारी दुर्घटनाबाट अनाहकमा ज्यान गुमाउन नपरोस् तथा सुरक्षित रुपमा तोकिएको स्थानबाट मात्र बाटो काट्न सजिलो होस भनेर यो बोर्ड हस्तान्तरण गरिएको हो । महाशाखाका प्रमुख ढकालले भने – ‘उक्त बोर्डहरु काठमाण्डौं उपत्यकाको सम्पूर्ण जेब्राक्रसिङ, आकाशेपुल तथा पैदल यात्रुहरुले बाटो काट्ने स्थानमा बोर्ड देखाएर बाटो काट्न लगाउने र  पैदल यात्रुहरुले पनि यसलाई प्रभावकारी र परिणाममूखी बनाउँदै सुरक्षितयात्रामा सहयोग गर्न समेत अनुरोध गर्दुछ ।’ उक्त बोर्डहरु सेफर नेपाल ट्राभल्स एण्ड टुर प्रा.ली.ले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै तयार पारेको हो।