विद्यालयमा दर्जनाैं कम्प्युटर प्रयोगविहीन, बालबालिका प्राविधिक शिक्षाबाट बञ्चित
महोत्तरी । बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित हुन पुगेका छन् । विद्यालयको भण्डारणमा १५ कम्प्युटर, १८ सिसीटिभी र एक थान एलसिडी थन्किएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत ती सामग्री प्रदान गरेका थिए । तर, शिक्षक नभएपछि ती सामग्री कोठामा त्यत्तिकै थन्किएका प्रधानाध्यापक सूर्यदेव महतो जानकारी दिए । “सामग्री भएर पनि हाम्रा विद्यार्थीले कम्प्युटर शिक्षा पढ्न पाएनन्”, उनले भने, “कम्प्युटर शिक्षकका लागि नगर कार्यपालिकाको कार्यालयमा हाम्रै विद्यालयका लागि विनियोजित रु पाँच लाख छ, तर नगर शिक्षा शाखाले शिक्षक पठाउने तत्परताचाहिँ देखाएन ।” नगर शिक्षा शाखाले नगरभित्रका सबै विद्यालयमा विषय शिक्षक मिलान गर्ने तयारी गरेको जनाएको छ । नगरका ५२ वटै सामुदायिक विद्यालयमा शिक्षक/विद्यार्थीको अनुपात र विषय मिलानका लागि गृहकार्य भइरहेको शिक्षा शाखाका निमित्त प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए । भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय, सीतापुर, सिद्धपुरमा पनि शिक्षककै अभावमा कम्प्युटर शिक्षाको अध्यापन हुनसकेको छैन ।विद्यालयका १५ थान कम्प्युटर प्रयोगमा आउन नसकेको प्रधानाध्यापक श्रीराम यादवले बताए । रासस
डाेटीमा ब्लड बैंक नहुँदा चारजनाले गुमाए अकालमा ज्यान
डोटी । रगत अभावका कारण अहिलेसम्म डाेटी जिल्लामा चार जनाको अकालमा ज्यान गुमाउनु परिसकेको बताइएको छ । निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले रगत अभावलाई अन्त्य गर्न स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुआत गरेको छ । दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी शनिबार अभियानको शुभारम्भ गर्दै सबैले रक्तदान गर्न अति जरुरी भएको बताए । उनले भने, “हामीले दान गरेको रगतले अन्यको ज्यान जोगिन्छ भने खेर जाने रगत किन दान नगर्ने, ज्यान बचाउन भए पनि रक्तदान गनुपर्छ ।” प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले रक्तदानले सबैभन्दा ठूलो पुण्य प्राप्त हुने भएकाले रक्तदान गर्न पछि हट्न नहुने बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तेजबहादुर डुम्रेलले जिल्लामा रगत अभावका कारण कयौं बिरामी मृत्यसवरणको दोसाँधमा पुग्ने भएकाले जिल्लामा ब्लड बैंक स्थापना हुनुपर्ने धारणा राखे । नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति विजय खड्काले जिल्लामा अनिवार्य रूपमा तत्कालै ब्लड बैंक स्थापना हुनुपर्ने बताएका छन् । शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले भने, “बिरामीका लागि सबैले रक्तदान गरुन् र बिरामीको ज्यान जोगाउन भन्ने हाम्रो उद्देश्य हो, रक्तदान गर्दा कोही बच्न सक्छ भने दान किन नगर्ने ।” जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणले हालसम्म ९७ बिरामीका लागि रक्तदान गरिसकेको निमित्त गणपतिसन्तोष ढुङ्गेलले जानकारी दिए । जिल्लामा बिरामीलाई रगतको आवश्यक परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नं गणले हालसम्म उपलब्ध गराउँदै आएका छन् । रक्तदान कार्यक्रममा ५० जनाले रगत समूह परीक्षण गरेको अस्पतालले जानकारी दिएको छ ।रासस
नेपाल शैक्षिक परामर्श संघको अध्यक्षमा प्रकाश पाण्डे निर्वाचित
काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे नियुक्त भएका छन् । संघको १४ औं वार्षिक साधारण सभाबाट पाण्डेलाई अध्यक्षमा नियुक्त गरिएको हो । सर्वसहमतिबाट पाण्डे अध्यक्षमा चयन भएकाे जनाइएकाे छ ।सहमति भए अनुसार प्रथम उपाध्यक्षमा राजेन्द्र रिजाल, द्वितिय उपाध्यक्षमा देवीदास भट्टराई, तृतिय उपाध्यक्षमा शेषराज भट्टराईको नाममा सहमति भएको हो । सचिवमा बासुदेव दाहाल र एन्ड्रयु पौडेल तथा कोषाध्यक्षमा भरत रेग्मी र बिके श्रेष्ठलाई बनाउने सहमति भएको जनाएको छ । यधपी, अहिले सम्म भइसकेको छैन । त्यस्तै सदस्यहरुमा सुस्मा आचार्य, रत्न रेग्मी, कर्ण गुरुङ, पुष्यराज भट्टराई र भवनाथ हुमागाइको नाममा सहमति जुटेको छ । इक्यान अन्तर्गत ३८८ वटा संस्था छन् । पछिल्लो दुई दशकदेखि नेपालमा शैक्षिक परामर्श केन्द्रको व्यवसाय निकै फस्टाएको छ । शुरुमा राजधानीकेन्द्रित शैक्षिक परामर्श केन्द्रहरू अहिले अन्य शहर हुँदै देशभर फैलिएका छन् । विदेशका कलेज/विश्वविद्यालयमा पढ्नका लागि परामर्श दिने यस्ता केन्द्रहरूले विद्यार्थीका लागि आवश्यक कागजात बनाउन सघाउनेदेखि आईईएलटीएस, टोफल, जिम्याट, जीआरई जस्ता विभिन्न योग्यता परीक्षाका तयारी कक्षा पनि सञ्चालन गरिरहेका छन् ।
पाम आयल निर्यातका लागि पहल थाल्न काँग्रेसको आग्रह
काठमाडौं । पाम आयल निर्यातका लागि पहल थाल्न काँग्रेसको आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रशोधित पाम आयलको आयातमा भारतले रोक लगाएपछि सो सम्बन्धमा कूटनीतिक पहल गरी अन्य मुलुकमा भएको हो । निर्यातका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत प्रशोधित पाम आयलको निर्यात रोकिएपछि उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीको लगानी जोखिममा पर्नुका साथै उद्योगका श्रमिक तथा कर्मचारीको रोजगारीमा समेत सङ्कट उत्पन्न हुने जानकारी दिए । नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये पाम आयल पनि एक हो । यसले राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पर्याइरहेको छ । सम्बन्धित समाचार । पाम तेलमा भारतले प्रतिबन्ध लगायो, नेपालको निर्यातमा वार्षिक २८ अर्बकाे धक्का
साताको शेयर बजारः चार अर्ब माथिको कारोवार
काठमाडौैं । साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ हासिल गर्याे । लगातार ओरालो लागेको बजारले करिब १०० बिन्दु माथि पुग्यो भने कारोवारमा समेत नयाँ उचाइ हासिल गर्याे । लगानीकर्तामा एक प्रकारको उत्साह जगाउन सफल साताको रुपमा यस हप्ता कायम रह्यो । साताभर कूल १७९ कम्पनीका १ अर्ब ४६ करोड ८२ हजार ५ सय ५३ कित्ता शेयर ४अर्ब २२ करोड ५६ लाख ३२ हजार ८ सय २७ रुपैयाँ बराबरमा कारोवार भयो । सन् २०२० को शुरुवातीसँगै नेप्सेमा देखिएको सुधार साताभर नै कायम रहेका कारण बजारले गुणात्मक लय समात्न सफल भएको हो । कारोवार रकम र नेप्सेमा देखिएको दोहोरो अङ्कको वृद्धि त्यसैको परिचायक बन्न पुग्यो । सातामा कारोवार हुने पाँच दिनमध्ये बुधबार मात्रै नेप्से सामान्य अङ्कले घट्यो । अन्य दिन भने बजारमा सकारात्मक परिवर्तन देखियो । साताको पहिाले दिन नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०९ विन्दुले बढेर एक हजार १८२.३१ मा पुग्यो । नेप्सेको छलाङसँगै कारोवार रकममा समेत वृद्धि भयो । कूल १७३ कम्पनीको २० लाख ८२ हजार ८ सय ७४ कित्ता शेयर ७१ करोड २४ लाख २५ हजार ८ सय २७ मूल्यमा खरीद बिक्री भए । सोमबार पनि नेप्से परिसूचक १८ अङ्कले बढ्यो । त्यस दिन नेप्से १८.२६ अङ्कले बढेर एक हजार २००.६९ मा पुग्यो । लामो समयपछि नेप्सेमा लगातार वृद्धि हुँदा परिसूचक एक हजार २ सय नाघ्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि भारी वृद्धि भयो । स्टकका अनुसार कूल १ सय ७८ कम्पनीका २६ लाख ८३ हजार ६ सय १० कित्ता शेयर ८४ करोड २५ लाख ८२ हजार १ सय ५० रुपैयाँमा खरिद बिक्री भएको हो । मङ्गलबार पनि नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो । त्यस दिन नेप्से १६.२३ विन्दुले बढेर एक हजार २१६.९२ मा पुग्यो । धेरै पछि कारोवार रकम अर्बमाथि पुग्यो । लगानीकर्तामा विश्वास बढेपछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको हो । कूल १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता शेयर १ अर्ब १० करोड २७ लाख ३६ हजार ७ सय ४८ मूल्यमा खरिद–बिक्री भए । बुधबार भने नेप्से ७.३२ विन्दुले घट्यो । कूल १ सय ७२ कम्पनीका २१ लाख ८५ हजार ३ सय ९७ कित्ता शेयर ७३ करोड आठ लाख ५२ हजार ३ सय ४५ मूल्यमा खरिद बिक्री भए । बिहीबार भने नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो । त्यस दिन नेप्से ३.५१ ले वृद्धि भई एक हजार २१३.११ मा पुग्यो । नेप्सेमा जस्तै सुधार कारोवार रकममा पनि देखिएको छ । कूल १७७ कम्पनीको ३८ लाख ४९ हजार ७२२ कित्ता शेयर ८३ करोड ७० लाख ३५ हजार ७ सय ५७ मूल्यमा खरिद बिक्री भए । साताभर विभिन्न चार कम्पनीको शेयर सूचीकृत भए । त्यसमा अपि पावर कम्पनीको ७ लाख ६७ हजार कित्ता शेयर लाभांश, ग्लोबल आइएमइ बैंकको एक करोड ३३ लाख ६ हजार ५ सय ५७ कित्ता शेयर लाभांश, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ७ लाख ५१ हजार ८६० कित्ता शेयर लाभांश तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५७ हजार ६ सय कित्ता शेयर लाभांश सूचीकृत भएको छ । रासस
प्राइम बैंकको वार्षिक साधारणबाट शेयरधनीलाई १६ प्रतिशत बोनस प्रदान
काठमाडौं । प्राइम बैंकको १२ औं वार्षिक साधारणले शेयरधनीलाई १६ प्रतिशत बोनस वितरण गर्ने भएको छ । बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको प्राइम कमर्सियल बैंकले १२ औ साधारण सभा सम्पन्न गरेको हो । उक्त वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गर्दै कैलाश विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंकको ९४ कित्ता शेयर स्वरुप रेसियो कायम गरेको छ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति पश्चात शाखा संख्या १ सय ९९ हुनेछ । बैंकले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आपनो शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको जानकारी दिएको छ ।
सञ्चार सहकारीको पाँचौ अधिवेशनमा चापागाई
काठमाडौं । सञ्चार वचत तथा ऋण सहकारी संस्था प्रालिको पाँचौ अधिवेशनले प्रदीपकुमार चापागार्ईको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सो सहकारीको अधिवेशनले उपाध्यक्षमा जगत नेपाल, सचिवमा विष्णु गौतम, कोषाध्यक्षमा गोविन्द लुइटेल र सदस्यहरुमा प्रकाश आचार्य, कालिका खड्का, रुक्मणि पोखरेल, रमेश लम्साल र द्धवारिका काफ्ले रहेका छन् । उक्त सहकारीको सल्लाहकारहरुमा सहकारीका संस्थापक अध्यक्ष विष्णु निष्ठुरी, पूर्व अध्यक्ष तथा राससका पूर्व महाप्रबन्धक निर्मला आचार्य तुलाधर छन् । संस्थापक अध्यक्ष निष्ठुरीका अनुसार पत्रकारहरुले कमाएको थोरै थोरै बचत गरेर सञ्चार क्षेत्रमै लगानी गर्ने र पत्रकारलाई सानो सानो रकम खोज्ने अन्त जानु नपर्ने उद्देश्यले सञ्चार सहकारीको स्थापना गरेको बताए । श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा, सीप विकास र क्षमता अधिवृद्धि गर्ने र सानोतिनो गर्जो टार्ने उद्देश्यले स्थापना भएको सो सञ्चार सहकारीको १९४ सदस्यहरु रहेका छन् ।
हार्ले डेभिडसनले कम मूल्यका बाइक उत्पादन गर्ने, लक्षित बजार एशिया
काठमाडाैं । अमेरिकन मोटरसाइकल उत्पादक कम्पनी हार्ले डेभिडसनले चाइनिज मोटरसाइकल कम्पनी चेज्याङ् च्याङ्जाङ्सँग साझेदारी गर्दै एशियाली बजारका लागि भनेर साना सीसीका मोटरसाइकल उत्पादन गर्ने भएको छ । चेज्याङ् च्याङ्जाङ् वेनेली ब्राण्डको प्यारेन्ट कम्पनी पनि हो । हार्लेको सानो मोटरसाइकल यस प्रकारको हुनेछ भन्ने किसिमको संकेत गर्ने फोटो पनि वाहिरीसकेको छ । विभिन्न अनलाइन मिडियाहरुका अनुसार हार्लेको सो मोटरसाइकल ३३८ सीसीको हुनेछ भने सो मोटरसाइकल आगामी जुन महिनामा सार्वजनिक गरिनेछ । त्यसैगरी ३३८ सीसी हार्ले डेभिडसन बेनेलीको ३०२ प्ल्याटफर्ममा आधारित हुने अनुमान गरिएको छ । सो प्ल्याटफर्मका मोटरसाइकलमा बेनेलीले ३०० सीसी प्यारालल ट्वीन इञ्जिन समावेश गरेको छ जसले ३८.२६ एचपीको पावर र २६.५ एनएमको टर्क उत्पादन गर्दछ । निर्माण पश्चात् हार्लेको सो मोटरसाइकललाई शुरुमा चाइनामा सार्वजनिक गरिनेछ भने त्यसपछि मात्र थाइल्याण्ड, इण्डोनेशिया, भियतनाम, फिलिपिन्स, मलेशिया, जापान, इण्डिया र नेपाल लगायतका देशहरुमा पुर्याइनेछ । हाल नेपाली बजारमा उपलब्ध हार्ले मोटरसाइकलको न्यूनतम मूल्य २२ लाख रुपैयाँ पर्दछ भने उक्त ३३८ सीसीको मोटरसाइकल नेपाली बजारमा आइपुग्दा अझ कम मूल्य पर्न जाने निश्चित छ । आफ्नो लुक्स, साउण्ड, पावर, कम्फर्टनेस लगायतका कारण संसारभर कैयौं प्रशंसकहरु कमाउन सफल रहेको ब्राण्ड ‘हार्ले डेभिडसन’ को नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स प्रा.लि. रहेको छ ।