विकासन्युज

फागुन ८ गतेदेखि विज्ञान तथा प्रविधिको प्रदर्शनी हुँदै, विजेताले ४ लाख रुपैयाँ पाउने

काठमाडौं । आगामी फागुन ८ गतेदेखि विज्ञान तथा प्रविधिको प्रदर्शनी एवं महोत्सव (ग्राण्ड साइन्स फेष्टिभल २०७६) हुने भएको छ । उक्त कार्यक्रम सो दिनदेखि १० गते अर्थात ३ तीनसम्म नेपालगञ्जको सडक डिभिजन कार्यालय परिसरमा हुने आयोजकले बताएको छ । उक्त प्रतियोगिता नेपालगञ्जका तीन वटा संस्थाः ए वान एजुकेशन एक्स्प्रेस, धुब्रतारा एजुकेशन र ग्रेस इन्टरनेशनले आयोजना गर्न लागेकाे आयोजक समिति ग्राण्ड साइन्स फेष्टिभल २०७६ ले जानकारी दिएको छ । आयोजकका अनुसार यो एक खुल्ला प्रतियोगिता हो जसमा देशैभरिबाट युवा वैज्ञानिकहरुले आफ्नो प्रतिभा प्रदर्शनी गर्न सक्ने छन् । प्रदेश नं. ५ कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुले वैज्ञानिक प्रतिभा प्रदर्शन गर्नेछन् । उक्त प्रतियोगितामा विज्ञान र प्रविधि विषयसँग सम्बन्धित रहेर कविता, वादविवाद र नाटकको पनि सहभागिता गराइने छ । त्यस्तै, प्रतियोगिताका विजेतालाई पुरस्कार राशी स्वरुप ४ लाख रुपैयाँ दिइने आयोजक समितिले जनाएको छ । साथै, प्रतियोगिहरुले माघ २९ गतेभित्र आफ्नो सहभागिता दर्ता गराइसक्नु पर्ने छ । राष्ट्रका कुनाकुनामा छरिएर रहेका वैज्ञानिक चेत र प्रतिभा भएका व्यक्तिहरुको उचित प्रोत्साहन गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष आतंक बस्नेतले बताए ।

शुक्रबार सार्वजनिक विदा

काठमाडौं । बाग्मती प्रदेश सरकारले सोनाम लोसारको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको गत पुस २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो दिन बिदा दिने निर्णय गरेको हो ।

अस्ट्रेलियामा अग्निनियन्त्रक बिमान दुर्घटना, चालक दलका तीन अमेरिकीको मृत्यु

सिड्नी । अस्ट्रेलियाको सिडनीबाट दक्षिणपश्चिमी भागमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्याँकर बिमान बिहीबार दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरुका अनुसार बिमानमा सवार चालक दलका तीन जना अमेरिकीको मृत्यु भएको छ । न्यू साउथ वेल्सको ग्रामीण अग्निनियन्त्रण सेवाका आयुक्त शेन फिट्सिमन्सले क्यानाडाली कम्पनीको सी–१३० हर्कुलस विमानसँग स्थानीय समयअनुसार बिहीबार अपराह्न १.३० बजे सञ्चार सम्पर्क बिच्छेद भएको बताए । उक्त जहाज स्लोई मोनारो क्षेत्रमा खटिएको थियो । फिट्सिमन्सले दुर्घटनामा चालक दलका तीनै जना सदस्यको मृत्यु भएको र उनीहरु संयुक्तराज्य अमेरिकाका बासिन्दा रहेको जानकारी दिएका छन् । अष्ट्रेलियाको जंगलमा लागेको विनाशकारी डढेलो नियन्त्रणमा सघाउन उनीहरुलाई संयुक्तराज्य अमेरिका सरकारले खटाएको थियो । उनले मारिने तीनै जना निकै अनुभवी रहेको पनि बताए । गतवर्ष सेप्टेम्बरमा शुरु भएको यस विनाशकारी डढेलोमा परेर कम्तीमा ३२ जनाको मृत्यु भइसकेको छ । यस दुर्घटनाको कारण तत्कालै थाहा हुन सकेको छैन, तर फिट्सिमन्सले तीव्र बेगको हावाका कारण पानी बोक्ने ठूला बिमानको उडानलाई “धेरै गाह्रो” बनाइरहेको बताएका थिए । विमानको स्वामित्व रहेको क्यानाडाली फर्म कउल्सन एभिएसनले न्यू साउथ वेल्स र भिक्टोरियामा आगलागी नियन्त्रणमा प्रयोग गरिरहेका अन्य ठूला एयर ट्याङ्कर संचालनलाई तत्काल स्थगन गरेको जनाएको छ ।रासस

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी, ८० प्रतिशत मत खस्यो

काठमाडाैं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिएका छन् । मतदान केन्द्रमा पुगेर मतदाता बिहान बजेदेखि नै लाइनमा बसेकाे देखिन्थ्याे । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचनमा ५ सय ५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख एक हजार ५ सय ६ गरी कूल दुई हजार ५६ मतदाता रहेका छन् । निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । मतदान सकिनासाथ राजनीतिक दलको सहमतिमा मतगणना कार्य प्रारम्भ हुने छ । आजै राति सातै प्रदेशबाट निर्वाचनको नतिजा प्राप्त हुनेछ । यसैबीच, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तद्वय नरेन्द्र दाहाल र इश्वरीप्रसाद पौड्यालले वाग्मती प्रदेशको ललितपुर नगरपालिका–४ स्थित वडासमितिको भवन परिसरमा कायम गरिएको मतदान केन्द्रमा भइरहेको मतदानको निरीक्षण गरे । उक्त मतदान केन्द्रमा प्रदेशसभा सदस्यतर्फ १ सय १० र स्थानीय तहतर्फ २ सय ३८ मतदाता कायम छन् । रासस

लक्ष्मी लघुवित्तद्वारा २ महिने सिलाई कटाई तालिम प्रदान

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्थाले रुपन्देही जिल्लाको सुर्यपुरा, शाखामा आबद्ध ग्राहकहरुलाई २ महिने सिलाई कटाई तालिम प्रदान गरेको छ । उक्त तालिम पुस १० देखि माघ ८ गते सम्म सञ्चालन भएको थियो । तालिममा व्यवसाय उन्मुख २० जना ग्राहकहरुलाई सहभागी गराइएको थियो । टेलरीङ्ग व्यवसायमा आर्कषण गरी महिला ग्राहक सदस्यहरुलाई सफल उद्यमी बनाउने र जीविकोपार्जनलाई सहज बनाउन उक्त सीपको माध्यमबाट आयआर्जनको क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले सिलाई कटाई तालिम आयोजना गरिएको थियो । तालिम समापन कार्यक्रममा उपस्थित गैडहवा गाँउपालिकाकी उपाध्यक्ष सुभावती यादवले “सबैले जागिर नै खानु पर्छ भन्ने छैन् आफ्नो सिप र क्षमता अनुरुपको कार्यबाट व्यावसायिक भई आत्मनिर्भर तिर लाग्न सकिने” कुरा बताएकी थिइन् । लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंकसँंगको सहकार्यमा शाखा रहित बैंकिङ्ग सुविधा सँगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले यस्ता किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।

२७ प्रहरीको हवल्दार पदमा बढुवा

काठमाडौँ । प्रहरी जवान पदबाट २७ प्रहरी हवल्दार पदमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्र आदेशले बढुवा भएका सबै प्रहरी हवल्दारहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले दर्ज्यानी चिन्हद्वारा शुशोभन गरेका छन् । उक्त अवसरमा ढकालले पदोन्नती भएका प्रहरी हवल्दारहरूलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी सबैको भरोसाको केन्द्र भएकोले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न थप जिम्मेवार र लगनशील भई तोकेको दायित्व पूरा गर्न निर्देशन दिए । कर्मचारीहरुको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाशिल रहेको बताउँदै व्यवसायिकता, कार्यप्रतिको निष्ठा र सामुहिक भावना सहित अघि बढेमा सफलता प्राप्त हुने विश्वास उनले व्यक्त गरे । उनले भने ‘विगतका नराम्रा बानी भए सबै छोडनुस्, नयाँ काम गर्न थप उर्जाका साथ तयार र एकजुट हुनुस्, जनताको मन जित्ने काम गर्नुहोस् ।’ त्यस्तै, सोही अवसरमा महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिक तथा कार्यदक्षता लगायत पेशागत जिम्मेवारी निर्वाहमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै पदोन्नति गरिएको चर्चा गरेका थिए । साथै, आगामी दिनहरुमा समेत उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल र फौजी अनुशासनमा रहेर नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत विपत उद्धार कार्यमा सामूहिक भावनाका साथ तल्लीन रहन निर्देशन दिएका छन् ।

सेञ्चुरी बैंकद्वारा २५० थान टर्चलाइट हस्तान्तरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई श्रद्धालु भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन २ सय ५० थान टर्चलाइट हस्तान्तरण गरेको छ । बैकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले समितिका महासचिव एल.पि.श्रेष्ठलाई र्टचलाईट हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य कार्यक्रमहरु पनि गर्दै आएको छ ।

भ्रष्टचार सूचकांककाे ११३औं स्थानमा नेपाल

काठमाडौं । नेपाल भ्रष्टाचार निवारण सम्बन्धी विश्‍वव्यापी सूचकांककाे ११३औं स्थानमा रहेकाे छ ।  ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक ‘करप्सन पर्सेप्सन इन्डेक्स (सिपिआई)-२०१९’मा नेपाल यसपटक ११३औं स्थानमा उक्लिएको छ। गत वर्षकाे तथ्याकं भन्दा याे वर्ष थाेरै सुधार भएकाे छ । गत वर्ष १२४औं स्थानमा रहेको थियो। टीआइलेले जम्मा १ सय ८० देशको भ्रष्टाचार तथा सुशासनको अध्ययन गरी तयार गरेको रिपोर्ट बिहीबार विश्वव्यापी रुपमा सार्वजनिक गरिएको हो। विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क देखिएको छ । एक सय पूर्णांक आधार मानेर गरिएको सर्वेक्षणमा डेनमार्कले ८७ नम्बर ल्याएको छ । नेपालले भने ३४ नम्बर ल्याएको छ । अघिल्लो वर्ष ३१ मात्रै ल्याएको थियो । विश्वमा सबैभन्दा कम अंक ल्याउने अर्थात् सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक सोमालिया रहेको रिपोर्टले देखाएको छ । जसको जम्मा ९ अंक रहेको रिपोर्टले देखाएको छ । ४३ नम्बर आएको खण्डमा भ्रष्टाचार निवारणको अवस्थामा सामान्यतः सन्तोषजनक मानिन्छ । ५० बढी ल्याउँदा भ्रष्टाचार निवारणमा प्रगति भएको मानिन्छ ।