विकासन्युज

६ महिनामा बैंकको नाफाः बढाउनेमा लिड गर्यो एनएमबीले, ग्लोबल आईएमई र एनआईसी एसिया पछ्याउँदै

काठमाडौं । वाणिज्य बैंकहरुको चालु आर्थिक वर्ष (आव) को ६ महिनाको नाफा सार्वजनिक भएको छ । बैंकहरुले गत आवको ६ महिनाको तुलनामा चालु आवमा नाफा ८.८६ प्रतिशतले बढाएका छन् । बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले नाफा बढेको देखाएको हो । संचालनमा रहेका २७ वाणिज्य बैंकमा सबैभन्दा धेरै नाफा बृद्धि गर्नेमा एनएमबी बैंक (४७.४ प्रतिशत) र सबैभन्दा धेरै नाफा घटाउनेमा नेपाल बैंक (१८.६ प्रतिशत) रहेका छन् । एनएमबी बैंकले गत आवको ६ महिनामा १ अर्ब १० करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो । सो बैंकले चालु आवको ६ महिनामा भने १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ । एनएमबीसँग चालु आवको दोस्रो त्रैमासमा राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंक मर्ज भएको थियो । यस्तै, ग्लोबल आईएमई बैंकले नाफा गत आवको तुलनामा ३७.१३ प्रतिशतले बढाएको छ । गत आवको ६ महिनामा १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा गरेको ग्लोबल आईएमईले चालु आवको सोही अवधिमा भने १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । मेगा बैंकको नाफा पनि उल्लेख्य रुपमा बढेको छ । बैंकले गत आवको ६ महिनामा ७३ करोड २० लाख रुपैयाँ नाफा गरेकोमा चालु आवको सोही अवधिमा ९५ करोड २ लाख रुपैयाँ नाफा गरेको छ । मेगाको नाफा बृद्धि २९.८ प्रतिशत छ । गत आवको पुस मसान्तसम्मको तुलनामा सबैभन्दा बढी नाफा भने नेपाल बैंकको घटेको छ । नेपाल बैंकले गत आवको तुलनामा चालु आवको ६ महिनामा नाफा १८.६ प्रतिशतले घटाएको छ । नेपाल बैंकले गत आवको ६ महिनामा १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ नाफा गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ गरेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा पनि घटेको छ । गत आवको ६ महिनामा १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ नाफा गरेको इन्भेष्टमेन्ट बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ । कृषि विकास बैंकले नाफा २२.८ प्रतिशतले बढाएको छ । गत आवको ६ महिनामा १ अर्ब २८ करोड ८० लाख रुपैयाँ नाफा गरेको कृषि विकास बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । बैंक अफ काठमाडूको नाफा १९.८३ प्रतिशतले बढेको छ । बैंकले गत आवको ६ महिनामा ७३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको थियो भने चालु आवको सोही अवधिमा ८८ करोड ३८ लाख रुपैयाँ नाफा गरेको छ ।

एनआईसी एसिया र खल्तीबीच डिजिटल भुक्तानी सम्झौता

काठमाडौं । एनआईसी एसिया र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एनआईसी एसिया बैंकका तर्फबाट सीईओ रोशन कुमार न्यौपाने र खल्तीका तर्फबाट डाइरेक्टर अरविन्द साहले बैंकको थापाथली स्थित प्रधान कार्यालयमा आयोजित हस्ताक्षर समारोहमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब एनआईसी एसिया बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका निर्देशक साह भन्छन्, “हामी एनआईसी एसिया बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब एनआईसी एसिया बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको डिजिटल भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यस सहकार्य सँगै हामीले नगदपैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।” त्यसै गरी एनआईसी एसिया बैंकका सीईओ न्यौपाने भन्छन्, “हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरुमाझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ ।” सन् २०१७ को जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या १० लाख भन्दा बढि रहेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको बीमाशुल्क ३१ करोड बढी, पुर्नबीमा कमिशन आयमा वृद्धि

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड रुपैयाँले घटेको छ । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको बीमाशुल्क ३१ करोड ३७ लाख रुपैयाँ रहेको छ । गत आवमा भने कम्पनीको बीमा शुल्क ३६ करोड ८३ लाख रुपैयाँ रहेको थियो । आय: कम्पनीकाे आय चालु आवको दोस्रो त्रैमासमा ९७ करोड २० लाख रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा कम्पनीको आय ३६ करोड ८३ लाख रुपैयाँ रहेको छ । कम्पनीको आय गत आवको दोस्रो त्रैमासको तुलनामा चालुको दोस्रो त्रैमासमा ३ करोड रुपैयाँले घट्न पुगेको हो । पुर्नबीमा कमिशन आय चालु आवको दोस्रो त्रैमासमा कम्पनीको पुर्नबीमा कमिशनबाट आय ७ करोड ९५ लाख रुपैयाँ रहेको छ भने गत आवमा ५ करोड ८८ लाख रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य आयः कम्पनीको चालु आवको दोस्रो त्रैमासमा लगानी, कर्जा तथा अन्य आयमा ३ करोड १७ लाख रुपैयाँ रहेको छ भने गत अवाको दोस्रो त्रैमासमा कम्पनीको लगानी, कर्जा तथा अन्य आय ३ करोड १ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीको बीमा कोषमा ५८ करोड ९ लाख रुपैयाँ रहेको छ ।

सिभिल बैंकको १०७ औं शाखा जितपुरमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिकम थापा तथा जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा कृष्ण प्रसाद पौडेलले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको जीतपुर शाखाको समुद्घघाटन गरेका छन् । देशकै विकासोन्मुख शहरहरु मध्येको एक प्रमुख शहर जीतपुर सिमरामा शाखा उद्घघाटन गर्दै थापाले देशको आर्थिक बिकास बैंकहरुको सहभागिता बिना हुन नसकिने भएकोले सिभिल बैंकले जीतपुरमा शाखा बिस्तार हुँदा यस क्षेत्रको बित्तीय गतिबिधिमा टेवा पुग्ने कुरा बताए । यस्तै मेयर डा. कृष्ण प्रसाद पौडेलले जीतपुरमा सिभिल बैंकले शाखा खोलेकोमा खुसी व्यक्त गर्दै बैंक प्रति कृतज्ञता ज्ञापन गर्दै साथै सिभिल बैंकले यस क्षेत्रको जनताको घरदैलोसम्म पुगी वित्तीय सेवा उपलब्ध गराई त्यहाँको जनताको जीवनस्तर उकास्न सघाउ पुर्याउने कुरामा विश्वास व्यक्त गरेका छन् । उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले देशको औद्योगीक नगरी विरगंजसंग नजिक जीतपुरमा प्रशस्त औद्योगिक अवसरहरु रहेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सान्दर्भिक सेवा तथा सुविधाहरु प्रदान गर्ने कुरा बताए । साथै सोही कार्यक्रमबीच सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु कुमार सिंहलाई विद्यालयको इ–लाईब्रेरीको लागि एक थान कम्प्युटर हस्तानतरण गरे ।

आइएमई जनरलको आय ९ करोडले बढ्यो

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ करोड रुपैयाँले बढ्न पुगेको छ । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको आय ७१ करोड ६५ लाख ८३ हजारु रुपैयाँ छ भने अघिल्लो आवमा कम्पनीको आय ६२ करोड ५६ लाख ३३ हजार रुपैयाँ रहेको थियो । खुद बीमा शुल्कः कम्पनीको चालु आवको दोस्रो त्रैमासमा खुद बीमा शुल्क ३० करोड ६२ लाख ६६ हजार रुपैयाँ छ भने अघिल्लो आवमा २६ करोड ४५ लाख ८५ हजार रुपैयाँ रहेको छ । उक्त कम्पनीको ४ करोड रुपैयाँले बीमा शुल्क वृद्धि हुन पुगेको छ । पुर्नबीमा कमिशन आयः पुर्नबीमा कमिशन आय चालु आवको दोस्रो त्रैमासमा ८ करोड ९ लाख ७३ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीको पुर्नबीमा कमिशन आय ७ करोड ५ लाख रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य आयः लगानी, कर्जा तथा अन्य आयमा आइएमई जनरल इन्स्योरेन्सको १ करोड ९३ लाख ३८ हजार रुपैयाँ छ भने गत आवको दोस्रो त्रैमासमा १ करोड ६५ लाख रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ६ लाख रुपैयाँ रहेको छ ।  

शिखर इन्स्योरेन्सको बीमाशुल्क साढे ९० करोड नाघ्याे

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क गत आर्थिक वर्षको तुलनामा ७ लाख रुपैयाँले वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क ९० करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा ९० करोड ४९ लाख ५० हजार रुपैयाँ रहेको थियो । आय: शिखर इन्स्योरेन्सको आय चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ छ भने २ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ रहेको थियो । पूनर्बीमा कमिशन आय: कम्पनीको पूनर्बीमा कमिशन आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड २६ लाख रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा २० करोड ४६ लाख ५८ हजार रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य आयः शिखर इन्स्योरेन्सको लगानी, कर्जा तथा अन्य आयमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आवमा ९ करोड ३३ लाख ७९ हजार रहेको थियो । हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

सिद्धार्थ ईन्स्योरेन्स र सिप्रद्धिबीच सम्झौता

काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्स तथा सिप्रदि ट्रेडिङ बिचमा बीमितहरुलाई नगद रहित सवारी साधन मर्मत सम्भार गर्ने सम्वन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार सिप्रदि ट्रेडिङले विक्रि गरेको र सिद्धार्थ ईन्स्योरेन्समा बीमा भएका सवारी साधनहरु क्षति भई मर्मत गर्नु परेमा सिप्रदि ट्रेडिङ प्रा.लि.को नेपालभरीका कुनै पनि आधिकारीक वर्कशपमा मर्मत सम्भार गर्दा बीमितहरुले बीमालेखको रक्षावरण सम्मको रकम वर्कशपलाई सिद्धार्थ ईन्स्योरेन्सवाट भुक्तानी हुनेछ । सम्झौता पत्रमा ईन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा र सिप्रद्धि ट्रेडिङ प्रा.लि.का तर्फवाट भाईस प्रेसिडेण्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका थिए । यस सम्झौताबाट बीमितले झन्झट रहित र प्रभावकारी बीमा दाबीको सेवा प्राप्त गर्न सक्ने कम्पनीले विश्वास गरेको बताएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको आय २९ करोडले बढ्यो

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २९ करोड रुपैयाँले बढेको छ । इन्स्योरेन्स कम्पनीको आय १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । खुद बीमा शुल्कः सगरमाथा इन्स्योेरेन्स कम्पनीको बीमा शुल्क ५६ करोड ८३ लाख रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा ५१ करोड ९९ लाख रुपैयाँ रहेको थियो । पुनर्बीमा कमिशन आयः सगरमाथा इन्स्योरेन्स कम्पनीको पुनर्बीमा कमिशन आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ४० लाख रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा १५ करोड ७ लाख रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्यबाट आयः चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सगरमाथा इन्स्योरेन्स कम्पनीको लगानी, कर्जा तथा अन्यबाट आय ४ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ भने गत आवमा ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ रहेको थियो । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको छ ।