बजेटको आकार १० प्रतिशत घटाए अर्थमन्त्रीले
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको आकार १० प्रतिशतले घटाएका छन् । सरकारले चालु आर्थिक वर्ष (आव) को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट ल्याएको थियो । अर्थमन्त्री डा. खतिवडाले आफैले ल्याएको बजेटको मध्यावधी समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएका हुन् । अर्थमन्त्री डा. खतिवडाले चालु आर्थिक वर्षमा १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान सार्वजनिक गरे । यो रकम विनियोजित बजेटको ९०.४ प्रतिशत मात्रै हो । विनियोजित बजेटमा चालु तर्फ ९ खर्ब ४ अर्ब ४६ कारेड ८ लाख (विनियोजित बजेटको ९४.५ प्रतिशत), पुँजीगतफर्त ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख (विनियोजित बजेटको ८०.१ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख (विनियोजित बजेटको ९२.२ प्रतिशत) मात्रै खर्च हुने अनुमान सरकारको छ । यस्तै, राजस्व संकलनको लक्ष्य पनि घटाइएको छ । राजस्व संकलनको संशोधित अनुमान शुरू अनुमानको ९५.६ प्रतिशत रहेको छ। चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोत (राजस्व र आन्तरिक ऋण) बाट ११ खर्व ३२ अर्व ५० करोड रूपैयाँ, वैदेशिक अनुदान तर्फ ४३ अर्ब ५५ करोड ४६ लाख र वैदेशिक ऋण तर्फ २ खर्ब ९ अर्व ९० करोड ९० लाख रूपैयाँ परिचालन हुने संशोधित अनुमान रहेको छ।
राष्ट्रिय गौरवका आयोजनाको ६ महिनामा १९ प्रतिशत खर्च
काठमाडौं । सरकारले उच्च महत्व दिएको राष्ट्रिय गौरबका आयोजनाको बजेट खर्चको अवस्था दयनीय देखिएको छ । सरकारले दिएको बजेट कम भयो भनेर गुनासो गर्ने विकास आयोजनाहरुले विनियोजित बटेज खर्च गर्न नै नसक्ने अवस्था देखिएको हो । अर्थमन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरबका आयोजनाहरुले १९ प्रतिशत बजेट खर्च गरेका छन् । सरकारले विभिन्न २३ आयोजनालाई राष्ट्रिय गौरबका आयोजना बनाएको छ । सरकारले चालु आर्थिक वर्षमा राष्ट्रिय गौरबका आयोजनाहरुको १ खर्ब २ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस्तो रकममध्ये गत पुस मसान्तसम्ममा २० अर्ब ४१ करोड अर्थात विनियोजित बजेटको १९ प्रतिशत मात्रै खर्च भएको मन्त्रालयको भनाइ छ ।
एमसीसी अनुमोदन नहुँदा सरकारको १० अर्ब बजेट खर्च हुन सकेन
काठमाडौं । अमेरिकी सरकारले अनुदानमा दिने भनेको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमोदन नहुँदा सरकारको बजेट कार्यान्वयनमा समस्या भएको छ । सरकारले एमसीसी कार्यान्वयको लागि छुट्टयाएको १० अर्ब रुपैयाँ बजेट खर्च हुन नसकेको हो । एमसीसी कार्यान्वयनका लागि सरकारले छुट्टयाएको १० अर्ब रुपैयाँ खर्च हुन नसकेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । एमसीसी संसदबाट अनुमोदन भएर कार्यान्वयनमा नआएको कारण सरकारले छुट्टयाएको बजेट खर्च हुन नसकेको उनको भनाइ छ । अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको मध्याबधी समीक्षा गर्दै यस्तो जानकारी दिएका हुन् । सरकारले चालु आर्थिक वर्ष (आव) को लागि छुट्टयाएको १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँमध्ये गत पुस मसान्तसम्ममा ४ खर्ब २२ अर्ब५५ करोड ६ लाख रुपैयाँ खर्च भएको सो अवसरमा जानकारी दिइयो । यस्तो खर्चमध्ये चालुतर्फ ३ खर्ब ९ अर्ब ६० करोड ६८ लाख रुपैयाँ (विनियोजित बजेटको ३२.४ प्रतिशत), पुँजीगततर्फ ६२ अर्ब ७६ करोड ६७ लाख (१५.४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फको ५० अर्ब १७ करोड ७० लाख (२९.९ प्रतिशत) बजेट खर्च भएको छ ।
भिस्ताराले शुरू गर्याे काठमाडौं-दिल्ली दैनिक उडान
काठमाडौं । भारतको पूर्ण सेवा वाहक , टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम(जोइन्ट भेन्चर) ले मंगलबार दिल्ली र काठमाडौंका लागि दैनिक उडान गर्ने भएकाे छ । काठमाडौं भारत बाहिरको पाँचौ अन्तरराष्टिय गन्तव्यको रुपमा रहेको छ । दिल्लीबाट भिस्ताराको उद्घाटन उडानका लागि आएका यात्रुहरुलाई काठमाडौंमा ठूलो उत्साहका साथ स्वागत गरिएको थियो । भिस्ताराका प्रमुख व्यापारिक अधिकत विनोद कन्ननले नेपाल जाने र नेपालबाट आउने याात्रुहरुलाई विश्व स्तरीय र अनुपम सेवा दिन आफु वचनबद्ध रहेको बताए । साथै, तीन श्रेणीको व्यवस्थापनसहितको हवाइजहाज तुरुन्त सेवामा प्रयोग गर्ने र उक्त सेवा भारत नेपालीबीच यात्रा गर्ने यात्रुहरुका लागि प्रिमियम इकोनोमी वर्गले मात्र प्रस्ताव गर्ने उल्लेख गरे । भिस्ताराको सहज उडान तालिकाको एक स्टप जडानले बैंगलोर, चेन्नाइ, मुम्बई र पुनेसहित भारतका अन्य शहरबाट जान आउन यात्रुलाई सहज हुनेछ । यस हवाई सेवाले सन् २०१९ को अगष्ट महिनामा सिंगापुर उडान भरि आफ्नो अन्तराष्ट्रिय उडानको उद्घाटन गरेपश्चात दुबई, बैंकक, र कोलोम्बोमा सेवा विस्तार गरेको थियो । भिस्तारा तीव्रगतिमा भारत तथा विदेशमा वृद्धि भई रहेको र सन् २०२३ सम्ममा न्यारो बडी र वाइड बडी गरि ४० वटा हवाईजहाज थप गर्दैछ । नयाँ हवाईजहाजले भिस्तारालाई भारत भित्र वृद्धि हुनुको साथै मध्यम तथा लामो दुरीको अन्तरराष्टिय गन्तव्यमा उडान भर्न मद्दत गर्दछ । भिस्तारा स्काइ टयाक्स र टिप एडभाइजरमा भारतको सबैभन्दा धेरै खोजिएको हवाईसेवा रहेको र विभिन्न बेष्ट एयरलाइन्स पुरस्कार बिजेता रहेको छ ।भिस्ताराले भारतीय हवाई उद्योगमा संचालन तथा सेवा प्रदानमा यात्रीहरुलाई उत्तम हवाईयात्राको मापदण्ड तर्जुमा गरेको छ जसलाई आज भारतको एक मात्र पाँच तारे होटल भनेर चिनिएको छ ।
हिमालयन बैंकको २२ प्रतिशत लाभांश पारित, सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित
काठमाडौं । हिमालयन बैंकको प्रस्तावित २२ प्रतिशत लाभांश पारित भएको छ । माघ २९ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर सहित १२ प्रतिशत नगद लाभांश पाउने छन् । त्यस्तै, ८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको १० प्रतिशत बोेनस सेयर पछि ९ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ । बैंकले आ.व. २०७५/७६ अन्त्यसम्म १ खर्ब १३ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन र ९८ अर्ब २० करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशतले बढी हो । बुधबार सम्पन्न सभाले संस्थापक सेयरधनीको तर्फबाट ५ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । सभाले आगामी कार्यकालको लागि आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैजल एन ललानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेको हो । सञ्चालक पदमा निर्वाचनको लागि यी ५ जनाको मात्रै उमेदवारी परेकाले सभाले निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित सञ्चालक मध्ये शर्मा पूर्वराजदुत दीपकुमार उपाध्यायका छोरा हुन् । शर्मा यसअघि नविल बैंकको संचालक समिति सदस्य भइसकेका छन् भने युनाइटेड इन्स्योरेन्स कम्पनीको संचालक समिति अध्यक्ष पनि भइसकेका हुन् । श्रेष्ठ यसअघि पनि बैंक संचालक समिति सदस्य थिए । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादर थापाका छोरा तथा पूर्वमन्त्री हुन् । हिमालयन शमशेर जवराका ज्वाइँ थापा पृथ्बीबहादुर पाँडेसमूहको प्रतिनिधित्व गर्दै आएका हुन् । त्यस्तै, ललानी पाकिस्तानको हबिव बैंकको प्रतिनिधित्व गर्दै संचालक समितिमा आएका हुन् । गौतम कर्मचारी संचय कोषको तर्फबाट संचालक बनेका हुन् । शर्मा पूर्वराजदुत दीपकुमार उपाध्यायका छोरा हुन् । नवनिर्वाचित संचालकहरुलाई बधाई दिंदै बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले चालु आर्थिक वर्षमा कम्तीमा १२ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने जानकारी दिएका छन् । साथै अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने पनि बताए । साथै, सभाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरिक्षकमा वर्तमान लेखापरिक्षक बि आर एस न्यौपाने एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ । निजको लागि २० लाख रुपैयाँ पारिश्रमिक तोकिएको सभाले जानकारी गराएको छ ।
चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ
काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे, खैरेनी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चन्द्र प्र्रसाद सापकोटा, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर र दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठलाई सोधेका छौं । उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले सरकारसँग सहकार्य र व्यवसायीका समस्या सुनिदिने होस् भन्ने धारणा राखेका छन् । हामीले अपेक्षा गरे अुसारको काम गर्ने नेतृत्व भए पुग्छ तारानाथ घिमिरे, अध्यक्ष ताप्लेजुङ उद्योग वाणिज्य संघ हामीले अपेक्षा गर्ने मात्र हो । अपेक्षा अनुसारको काम कहिल्यै हुँदैन । अबको नेतृत्व सबै व्यवसायीका भावना बुझ्ने खालको होस् भन्ने चाहना छ । आगामी नेतृत्वले साना तथा मझौला व्यवसायीहरुका समस्याहरु बुझ्ने र आफ्नो भूमिका निर्वाह गर्न सक्नु पर्छ । समस्यालाई गहन रुपमा लिन सक्नु पर्दछ । सबै व्यवसायीले मान्ने र अपनत्व महसुस गर्ने खालको नेतृत्व हामीलाई चाहिन्छ । हाम्रा धेरै समस्या छन् । व्यवसायीहरुको भ्याटमा एकरुपता छैन । यसले गर्दा हामी व्यवसायीहरुले अनावश्यक रुपमा भ्याट पनि तिर्नु परेको अवस्था छ । हामी साना व्यवसायीका मर्म बुझ्ने खालको नेतृत्व आजको आवश्यकता हो । मूख्य नेतृत्व नभएकै कारण हाम्रा गुनासा सुनुवाई हुँदैन । हामी साना व्यवसायीले भनेको कसैले सुन्दैनन् । ठूला व्यवसायीहरु यो प्रति ध्यान दिँदैनन् । अबको नेतृत्वले व्यवसायीले तिर्नु परेको व्याजदर घटाउन सकोस् चन्द्र प्रसाद सापकोटा, अध्यक्ष, खैरेनी उद्योग वाणिज्य संघ, चितवन नेपाल उद्योग वाणिज्य महासंघमा अब आउने नेतृत्वले सबै उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्न सकोस् । देशमा रोजगार सिर्जना गर्ने मूख्य भूमिका उद्यागी व्यवसायीको हुन्छ । यसका लागि नीति नियमहरु सजिलो बनाउनका लागि अबको नेतृत्वले भूमिका खेल्न सक्नु पर्छ । एउटा कुखुरा पाल्ने व्यवसायीले तीन प्रतिशतमा ऋण पाउन सक्छ तर सयांैं मानिसलाई रोजगारी प्रदान गर्ने उद्योगीले १२/१३ प्रतिशत व्याजमा ऋण लिनु परेको अवस्था छ । यो किसिमको विभेद हुनु हुँदैन । अहिले सम्मका नेतृत्वले त्यस्तो किसिमको उल्लेख्य काम गरेको अवस्था छैन । सरकार र व्यवसायीबीचमा ब्रिजीङ गर्ने नेतृत्व चाहिन्छ प्रकाश मानन्धर, अध्यक्ष, काभ्रे उद्योग वाणिज्य संघ हामीलाई सवल नेतत्वको आवश्यकता छ । देशको सम्वृद्धिका लागि र व्यवसायीको हकहितका लागि काम गर्ने नेतृत्व हामीलाई चाहिन्छ । अहिले व्यवसायी निराश छन् । यो अवस्थालाई सहजै समधान गरी सफल नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति नेपाल उद्योग वाणिज्य महासंमा चाहिएको छ । हुनतः प्रयासहरु भइरहेका छन् । नीति नियमले गर्दा व्यवसायी निराश छन् । लगानीमैत्री वातावरण सिर्जना गरिदिनु पर्छ । अहिले व्यस्त छु भन्ने नेतृत्व हामीलाई चाहिएको छैन इन्द्रबहादुर श्रेष्ठ, अध्यक्ष, दोलखा उद्योग वाणिज्य संघ आगामी नेतृत्वले जिल्ला र नगरका व्यवसायीहरुमा भएका समस्यालाई मध्यस्तकर्ताको रुपमा जिम्मेवारको भूमिका खेलोस् । पहिलेको जस्तै प्रवृति अबको नेतृत्वले नदोहोरयाओस् । अबको नेृत्वले कहिले फोन नउठाउने कहिले व्यस्त छु भन्ने खालको बाहना नगरोस् । हाम्रा समस्या सुनिदिने नेतृत्व चाहिन्छ । अहिले सम्मका नेतृत्वले खासै केही गर्न सकेका छैनन् । हाम्रा धेरै समस्या छन् । पहिले शाखा बचाउनका लागि महासंघबाट धेरै कार्यक्रहरु आउँथे । अहिले ती कार्यक्रमहरु आउन छाडेका छन् । अबको नेतृत्वले सबै जिल्ला नगरमा पनि व्यवसायीहरुलाई लाभ हुने खालका सिर्जनात्मक कार्यक्रहरु राखोस् । स्थानिय तह आइसकेपछि त्यहाँ हाम्रो उपस्थिति राम्रो हुुनु पर्छ ।
पूर्णरुपमा विज्ञान र प्रविधिमा आधारित विश्वविद्यालय खुल्दै
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पूर्णरुपमा विज्ञान र प्रविधिमा आधारित शिक्षा दिने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न बनेको विधेयक माथिको छलफलमा उनले सो विश्वविद्यालय मकवानपुरको चित्लाङमा निर्माण हुने स्पष्ट गरे । मन्त्री पोखरेलले नेपालका अरू विश्वविद्यालयभन्दा उक्त विश्वविद्यालय फरक हुने र संसारका उत्कृष्ट विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्ने गरी स्थापना गरिने पनि बताए । छलफलमा सांसदहरुले सो विश्वविद्यालय खोलिनु सामयिक भएको उल्लेख गर्दै यसको नाम मदन–आश्रित विश्वविद्यालय हुनुपर्नेमा जोड दिएका थिए । नेपाली काँग्रेसका सांसद गगन थापाले विश्वविद्यालय कुन प्रकारको हुने र कस्तो शिक्षा दिने भन्ने विषयमा प्रष्ट गराउन मन्त्री पोखरेललाई आग्रह गरेका थिए । बैठकमा सांसद एवं पूर्वमन्त्री खगराज अधिकारीले प्राविधिक शिक्षा दिने उद्देश्यले स्थापना गर्न लागेको विश्वविद्यालयमा अरू विषय समावेश गर्न नहुने धारण व्यक्त गरे । नेकपाका सांसद विद्या भट्टराईले नयाँ पुस्ताका लागि युग सुहाउँदो शिक्षा पाउने आशामा रहेका युवाहरु सो विश्वविद्यालयको प्रतीक्षामा रहेकाले चाँडोभन्दा चाँडो विधेयक अघि बढाउन आग्रह गरे । समितिका सभापति जयपुरी घर्तीले विधेयकमाथि दफावार छलफल गरी विज्ञ र संशोधनकर्ताको सुझावका आधारमा संशोधनसहित पारित गरिने जानकारी दिए । रासस
लोकसेवा आयोगले माग्यो साढे तीन सय कर्मचारी
काठमाडौं । विभिन्न प्राविधिक पदका लागि लोक सेवा आयोगले ३ सय ५८ जना कर्मचारीको माग गरेको छ । राजपत्र अंकित प्रथम श्रेणाको खुला र समावेशी पदमा आयोगले विज्ञापन खुलाएको हो । प्रतियोगात्मक परीक्षाद्धारा पदपूर्तिका लागि विज्ञापनमा योग्यता पुगेका उम्मेवारले लोकसेवा आयोगमा आवेदन दिन पाउने छन् । उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत आवेदन दिने व्यवस्था गरेको छ । सबै तहलाई मध्यनजर गर्दै सातै वटा कार्यालबाट खुला गरिएको छ । धनकुटा कार्यालयबाट २९ वटा कोटा खुलाएसँगै ६१ जनाको माग छ । त्यस्तै जलेश्वर कार्यालयबाट १६ पदमा ३७ जना, काठमाडौं कार्यालयबाट ५३ पदका लागि ९० जनाको लोक सेवा आयोगले माग गरेको छ । लोक सेवा आयोग, पोखरा कार्यालयले २१ पदमा ४१ जनाको माग छ भने बुटवल कार्यालयले २८ पदमा ५७ जनाको संख्या खुलेको छ । सुर्खेत कार्यालयले विभिन्न तह तथा पदमा ३० पदमा ४२ जना कर्मचारी मागेको छ । त्यस्तै सुदुरपश्चिमको दिपायल कार्यालयले १९ पद ३० जना खुल्ला गरेको लोक सेवा आयोगले सूचना प्रकाशित गरेको छ ।